Showing posts with label प्रदोष. Show all posts
Showing posts with label प्रदोष. Show all posts

Dec 9, 2019

आज सोमप्रदोष व्रत || यसरी शिवलाई प्रसन्न तुल्याउनु होस्

प्रदोष व्रत
व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ । भगवान शङ्कर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रन्थहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ । यिनै विधानहरू मध्ये एउटा व्रत हो - प्रदोष व्रत ।

के हो प्रदोषकाल
प्रत्येक दिन सूर्यास्तपछिको दुई घडी (लगभग ४८ मिनेटको समय) प्रदोष काल हो ।(प्रदोषोऽस्तमयादूर्द्ध्वं घटिकाद्वयमिष्यते ॥) तर ज्योतििषीय मतमा  रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ ।  कतैकतै सूर्यास्तपछि तीनप्रहरसम्म त कतै मध्यरात्रीपर्यन्त प्रदोषकाल रहने बताइएको पाइन्छ । सामान्यतया प्रदोषकाल प्रत्येक शुभ कार्यका निमित्त निषिद्ध समय मान्ेद गरिन्छ । तर त्रयोदशी तिथिको संयोगले उक्त समय अमृत काल बन्ने गर्दछ । यस प्रसङ्गमा विभिन्न धर्मग्रन्थ र स्मृतिहरूमा निम्नानुसार वर्णन गरिएको भेटिन्छ :-

रात्रौ यामद्वयादर्वाम्यदि पश्येत्रयोदशीम् । सा रात्रिः सर्वकर्मघ्नी शङ्कराराधनं विना ? ॥ - बृद्धमनुः
(रात्री प्रारम्भ भएको दुई प्रहरभित्र त्रयोदशी तिथि देखिएमा भगवान् शङ्करको आराधना नगरेमा समस्त कर्मको नाश हुन्छ ।)

त्रयोदशी यदा रात्रौ यामस्तत्र निशामुखे। प्रदोष इति विज्ञेयो ज्ञानार्थी मौनमाचरेत् ॥ - बृद्धगार्ग्यः
(रात्रीकाल प्रारम्भ भएको समय यदि त्रयोदशी तिथि छ भने त्यसलाई प्रदोष मान्ने गरिन्छ, उक्त समयमा ज्ञानार्थी सज्जनहरूले मौन रहेर ईश्वर आराधना गर्नुपर्दछ ।)

भोजनं मैथुनं यानमभ्यङ्गं हरिदर्शनम् । अन्यानि शुभकार्याणि प्रदोषे नैव कारयेत् ॥ - बृद्धगार्ग्यः
(भोजन, मैथुन, यात्रा, शरीरमा तेल लगाउने, भगवान् श्रीहरिको दर्शन वा पूजाअर्चना लगायत अन्यान्य शुभकार्यहरू प्रदोषकालमा गर्नुहुँदैन)

प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ । प्रदोष कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत सम्पादन गरिने दिन हो । यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ । व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ । प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ । सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ । यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ । 

Dec 4, 2017

ऋणसापटीले चिन्ता बढाएको छ भने लिनै पर्ने व्रत : भौम प्रदोष

मङ्गलबारका दिन साँझमा पहिलो प्रहरमा त्रयोदशी तिथि परेको दिनलाई भौम प्रदोष भन्दछन् । पद्मपुराणमा बताइए अनुसार यस दिन मङ्गल देवता (ग्रह) को नामसङ्कीर्तन गर्ने व्रतालुले ऋणबाट छुट्कारा पाउँछ । के पौराणिक मान्यता छ भने मङ्गल ग्रहको उत्पत्ति भगवान शिवबाट भएको हो । कतै रगतको छिटा उछिट्टिएर त कतै आँसुको थोपा उछिट्टिएर पृथ्वीले गर्भधारण गरेकाले मङ्गल ग्रहको उत्पत्ति भएको कथा प्रसङ्ग सुन्न पाइन्छ । भगवान् शिवको कृपाले मङ्गलले ग्रहका रूपमा मान्यता प्राप्त गरी आकाशगङ्गामा आफ्नो स्थान सुरक्षित तुल्याएको प्रसङ्ग पनि पौराणिक स्रोतमा उल्लेख गरिएको छ । त्यसैले मङ्गलबारको प्रदोष व्रतको छुट्टै महत्त्व छ । एकातिर भौम प्रदोष परेको दिन भगवान् शिवको आराधना गरेमा सबै दु:खहरुको अन्त्य हुन्छ भने अर्कातिर मङ्गल ग्रहको आराधनाबाट व्यक्तिले हरेक नराम्रो परिस्थितिबाट मुक्ति प्राप्त गर्दछ, किनभने ज्योतिषशास्त्रमा मङ्गल ग्रहलाई प्रत्येक विपरीत स्थिति र कठिन समयसँग जुध्ने शक्ति प्रदान गर्ने ग्रहका रूपमा वर्णन गरिएको पाइन्छ । उता मङ्गलबारलाई हनुमानको आराधना गर्ने दिनका रूपमा पनि लिइन्छ । हनुमान् पनि भगवान् शिवकै अंशावतार हुन् भनी बताइन्छ । कुण्डलीमा मङ्गल र शनिश्चर ग्रहको अनिष्ट फल निवारण गर्न हनुमानको आराधना गर्ने सुझाव पनि प्राप्त हुन्छ । यसरी मङ्गलबारका दिन पर्ने भौम प्रदोषको व्रत लिएमा शिवजी, मङ्गल ग्रह, गणेशजी र हनुमानको एकसाथ उपासना र आराधना गर्न सकिन्छ । भौम प्रदोष व्रतको व्रत कथा यस प्रकार छ -

एक पटकको कुरा हो । भगवती पार्वती आफ्ना सँगीहरूसित रमाइला कुराहरूमा भुलिनु भएको थियो । यसरी गफमा मस्त रहेका वेला पार्वती माता अचानक खित्का छाडेर हाँस्नुभयो । पार्वतीको हाँसोका साथमा उहाँको हास्यबाट एउटा डरलाग्दो विकराल पुरुष उत्पन्न भयो र हेर्दाहेर्दै ऊ पर्वतसरह विशालकाय आकृति भएको राक्षस बन्यो । पार्वतीले आफ्नो हाँसोबाट उत्पन्न भएको सन्ततिवत ठानेर उसको नाम ममतासुर राखिदिनु भयो र उसलाई आफ्ना दाजु गणेशको उपासना गर्ने सुझाव दिंदै भन्नुभयो - गणेशको उपासनाबाट तिमीले आफूलाई आवश्यक सबै वस्तु प्राप्त गर्न सक्दछौ । ममतासुरले पार्वतीलाई अनुरोध गर्यो, माते म दाजुको उपासना त गर्नेछु, तर मैले उपासना गर्न जानेकै छैन । त्यसपछि माता पार्वतीले 'भगवान् गणेशको षडक्षरी मन्त्र 'वक्रतुण्डाय हुम्' मन्त्रश्रवण गराउँदै गणेशजी प्रसन्न नहुन्जेल यही मन्त्रलाई निरन्तर उच्चारण गरेर बस' भन्नुभयो ।

माता पार्वतीलाई प्रणाम गरी ममतासुर तपस्या गर्न वनतर्फ लाग्यो । त्यहाँ उसले सम्बरासुर नामको अर्को दैत्यलाई भेट्यो । उसले ममतासुरलाई समस्त आसुरी विद्या सिकाई दियो । ती विद्याबाट विभूषित भएको ममतासुरले भगवान् गणेशको उपासनामा पनि उत्तिकै जोड दिंदै तपस्या गर्न थाल्यो । आफूमा भएको आसुरी शक्तिको प्रयोग गरी पृथ्वी र आकाशको मध्यभागमा वायुमण्डलमा अडिएर हज्जारौं वर्षसम्म गणपतिको षडक्षरी मन्त्र जाप गरी ममतासुर तपस्यामा लीन भयो । उसको अखण्ड र अटल तपस्याबाट प्रसन्न भई आदिपूज्य भगवान् गणेशले ममतासुरलाई दर्शन दिन बाध्य हुनुभयो । भगवान् गणेशको दर्शन पाएर कृतकृत्य भएको ममतासुरले सर्वप्रथम निष्ठा र भक्तिपूर्वक उहाँको पूजा गर्यो र अनुरोध गर्यो - 'भ्राताश्री ! यदि हजुर मसँग साँच्चिकै प्रसन्न हुनु भएको हो भने मलाई हजुरले यस ब्रह्माण्डको राज्याधिकार प्रदान गर्नुहोस् । युद्धका समयमा मैले कहिल्यै पराजित हुनु नपरोस् । ब्रह्मा, विष्णु वा साक्षात् त्रिलोकेश्वर महादेव नै मेरासामु आउनु भएमा वहाँहरूलाई मैले जित्न सकौं । म अजेय बन्न सकौं ।' ममतासुरका यस्ता इच्छा सुनेपछि गम्भीर हुँदै भगवान् गणेशले भन्नुभयो - 'बालक ! तैंले असाध्य र दुरूह वरको याचना गरेको छस् । मेरो उपासना गरेको हुँदा मैले यी समस्त इच्छा पूर्ण हुने वरदान प्रदान गरें, तथास्तु । तर जुन दिन मैले आफ्नो अपमान भएको अनुभूति गर्नेछु, त्यसदिनबाट यी वरदान स्वतः समाप्त हुनेछन् ।'

भगवान् गणेशबाट दिव्य वरदान प्राप्त गरेपछि ममतासुर सम्बरासुरकहाँ पुग्यो र आफूले अजेय वरदान प्राप्त गरेको समाचार सुनायो । ममतासुरको पुरूषार्थ प्राप्ति भएकोमा हर्षित हुँदै सम्बरासुरले आफ्नी अत्यन्त सुन्दरी छोरी मोहिनीको विवाह गरिदियो । यो समाचार दैत्यहरूका कुलगुरु शुक्राचार्यले पनि चाल पाए, त्यसपछि उनले ममतासुरलाई दैत्यहरूको राजा बनाए । राजा भएको केही समयपछि कुलगुरु शुक्राचार्यसँग आफूले विश्वविजय गर्न चाहेको इच्छा ममतासुरले  प्रकट गर्यो । शुक्राचार्यले उसलाई आज्ञा दिंदै भने - 'हे राजन् ! हजुरको इच्छा पूर्ण हुनेछ, तर हजुरले याद राख्नुपर्छ, आफ्नो विजयअभियान अघिपछि कहिल्यै पनि विघ्नेश्वर भगवान् गणपतिको विरोध कदापि गर्नु हुँदैन, किनभने आदिपूज्य भगवान् गणपतिको कृपा र आशीषद्वारा नै तपार्इंले यो पद, प्रतिष्ठा र वैभव प्राप्त गर्नु भएको हो ।' ममतासुरले आफ्नो आत्मबल, हिम्मत, साहस र दृढताको उपयोग गर्दै पराक्रमी सेनाका माध्यमले समस्त पृथ्वी र पाताल लोकमा कब्जा गर्यो । उसको लक्ष्य स्वर्गमाथि कब्जा गर्ने थियो, परिणामतः उसको र इन्द्रका बीचमा भीषण युद्ध भयो । उक्त युद्धमा रगतको खोलो नै बग्यो ।

ममतासुरका अगाडि इन्द्रको केही लागेन अन्त्यमा उसले स्वर्गमाथि कब्जा गरी छाड्यो । देव र दानवको युद्धमा भगवान् विष्णु र साक्षात् शिवले समेत ममतासुरका अगाडि घुँडा टेक्नु परेको थियो । अब सम्पूर्ण ब्रह्माण्डमा ममतासुरको शासन कायम भयो । देवताहरूमध्ये पनि कत्तिले स्वर्ग त्यागेर भाग्नु पर्यो भने कत्तिलाई ममतासुरले बन्दी र दास बनायो । ममतासुरको शासनकालमा धर्म, कर्म र वैदिक क्रियाकलापमा कसैको वास्ता भएन, सबै भोगविलास र मोजमज्जामा भुलिए । त्यसपछि देवताहरूले आफ्नो दुःख र कष्ट निवारण गर्ने अनेकौं उपाय गरे । तर उनीहरूको प्रयास निष्फल भयो । एक दिन आफ्नो दुःख र पीडा निवारणका लागि कुनै उपाय सुझाउनका लागि भगवान् शिवको आराधना गरे । देवताहरूको दुःखहरण गर्ने उपाय बताउँदै भोलेनाथले भन्नुभयो - ममतासुर मेरै अंशबाट पार्वतीको हास्यका माध्यमबाट उत्पन्न भएको हो । यसले भगवान् गणेशको आराधना गरी दिव्यशक्ति र सामर्थ्य प्राप्त गरेको छ । त्यसैले तिमीहरूले भगवान् गणेशको प्रिय दिन मङ्गलबार र मेरो प्रिय तिथि त्रयोदशीको संयोग भएको प्रदोषका दिन व्रत गरी मेरो र गणेशको आराधना गर । उक्त व्रतको प्रभावले प्रसन्न भएका गणेशले तिमीहरूको उद्धार गर्नेछन् ।'

शिवाज्ञा प्राप्त गरी सबै देवताहरूले भौमप्रदोषका दिनदेखि विघ्नराज गणेशको पूजा गरे । त्यसपछि आउने प्रत्येक प्रदोषको व्रत लिई एक वर्षसम्म देवताहरूले शिवजी र गणेशको लगातार उपासना गरे । अर्को भौमप्रदोषका दिन भगवान् गणेशको दर्शन पाए । देवताहरूले वहाँसित धर्मको उद्धार गर्न र ममतासुरको अत्याचारबाट मुक्ति दिलाउन अनुनय विनय गरे । त्यसपछि गणेशले नारदजीमार्फत सन्देश पठाउँदै ममतासुरलाई धर्मको आचरण गर्न र अत्याचार समाप्त गर्न आदेश दिैदै उसले आफ्नो शरणमा आउनु पर्ने आदेश दिनुभयो । ममतासुरमा सुखसुविधा र पदको घमण्ड बढेको थियो । उसले नारदमार्फत सुनेको कुरालाई वास्ता गरेन । शुक्राचार्यले पनि उसलाई निकै सम्झाउने प्रयत्न गरे । तर पनि उसमा चेतना आएन । ममतासुरको यस्तो दुष्ट प्रवृत्ति देखेर गणेशजी क्रोधित हुनुभयो र उसले आफूलाई अपमान गरेको ठहर्याउनु भयो । गणेशजीलाई खिन्नता हुनासाथ ममतासुरमा प्राप्त भएका समग्र बल समाप्त भयो । उसको सामर्थ्य घटेको चाल पाउनासाथ देवताहरूले उसमाथि आक्रमण गरिहाले । ममतासुरको पतन भयो र देवताहरूले पुनः राज्यश्री र सुखसम्मृद्धि प्राप्त गरे ।

सूतजीले बताउनु भएबमोजिम मङ्गलबारका दिन पर्ने प्रदोष व्रतलाई विधिविधानपूर्वक सम्पादन गर्नाले भगवान् शङ्कर र आदिपूज्य गणपतिले यसरी नै भक्तहरुलाई साक्षात दर्शन दिएर कृतार्थ गर्ने गर्दछन् । शिव र गणेशको एकसाथ उपासना गर्न सकिने भौम प्रदोषको ठूलो महिमा छ । जोसुकैले यस व्रतको सम्पादन गरेमा आफूले गुमाएका पदप्रतिष्ठा, राज्यवैभव, सुखसम्मृद्धि र धनसम्पत्ति प्राप्त गर्न सक्दछन् । आनन्दपूर्वक जीवनयापन गरी तिनले अन्त्यमा शिवलोक प्राप्त गरी सायुज्यमुक्ति प्राप्त गर्दछन् । ऋणसापटीबाट मुक्ति प्राप्त गर्न पनि भौम प्रदोषको व्रत लिन सकिन्छ ।

Oct 6, 2017

शनिप्रदोष

शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ । खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ । पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ । चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ लग्न भएका जातकले यो व्रत आजीवन लिनु राम्रो हुन्छ । आजीवन व्रत सम्पादन गर्न कठिनाइ हुने मनुष्यले कम्तीमा १६ वटा, १६ महिना, १६ वर्ष आदि १६ को सङ्ख्या पुर्याएर व्रतको उद्यापन गर्नु पर्दछ ।

शनिप्रदोष व्रतको व्रतकथा


प्राचीन समयको कुरा हो । एउटा सहरमा शिवधन नाम गरेका वैश्य भौतिक सुखसुविधा र सम्पन्नताका साथमा वैभवपूर्ण जीवनयापन गरी बसोबास गर्दथे । उनको धन र वैभवको तुलना त्यस नगरमा अरु कसैसँग हुँदैनथ्यो । साहुजी अत्यन्त दयालु थिए । उनकहाँ पुगेको कुनै व्यक्तिले खाली हात फर्कनु पर्दैनथ्यो । जसलाई पनि उनी इच्छाएको वस्तु प्रदान गरेरै पठाउने गर्दथे । यसरी अर्काको सुख र हीत चाहने ती साहुजीका कुनै सन्तान थिएनन् ।

सन्तानहीनताका कारण ती वैश्यका पतिपत्नी अतीव चिन्तित थिए । बुढ्यौली आउन लाग्दा समेत सन्तान नभएको खिन्नताका कारण एक दिन ती दुबै दम्पतीले तीर्थमा गएर बाँकी जीवन बिताउने निर्णय गरे । आफ्ना समस्त कारोबार र व्यवसाय नोकरचाकरलाई सुम्पिएर ती साहुसाहुनी सहरबाट बाहिरिए । तिनीहरू त्यस नगरको सीमाबाहिर मात्र पुगेका थिए, उनीहरूले एउटा ठूलो रुखमुनि समाधि लगाएर बसेका एक जना साधुलाई देखे । हेर्दा ती साधु तेजस्वी देखिन्थे । यसभन्दा पहिले नदेखिएका ती साधुसित आशीर्वाद प्राप्त गरेरमात्र यात्रामा जाँदा राम्रो हुने विचार ती दुबैको मनमा आयो । समाधिस्थ योगीको आशीर्वाद ग्रहण गर्ने काम चुनौतीपूर्ण थियो किनभने उनी अविचल भई ध्यानपूर्वक समाधिमा लीन भई बसेका थिए । योगीलाई ब्युझाउँदा उल्टै रिसाउने र श्राप दिने डर पनि थियो ।

समाधिस्थ मुनिका सामु हात जोडेर धैर्यतापूर्वक उनको समाधि टुट्ने आशामा ती दुबै प्रतीक्षा गर्न थाले । बिहानदेखि नै  करबद्ध भएर बसेका साहुसाहुनी हात जोडेकोजोडै भए, साँझ पर्यो, रात पर्यो, रात बित्यो तर साधुको समाधि भङ्ग भएन । भोलिपल्ट उज्यालो भएपछि मात्र जोगी ब्युँझिए । वैश्य पतिपत्नी धैर्यपूर्वक हाथ जोड़ेर बसिरहेका थिए । आफ्ना अगाडि सहरका धनाढ्य व्यापारीका जोइपोइलाई देखेर मन्दमन्द मुस्कुराउँदै आशीर्वाद स्वरूप हात उचाल्दै मुनिले भने - ‘मैले तिमीहरूको अन्तर्मनको व्यथा पहिचान गरिसकेको छु अनि मेरो समाधि खुल्ने प्रतीक्षा गर्दागर्दै तिमीहरूले अज्ञानतामा नै ठूलो पुण्य प्राप्त गरिसकेका छौ । हिजो शनिबार र प्रदोष व्रत परेको महत्त्वपूर्ण दिन थियो । त्यसैले तिमीहरूको व्रत पूर्ण भएको छ । तिमीहरूलाई सन्तान प्राप्त हुनेछ । अब तीर्थवास गर्ने आवश्यकता छैन । बरु अहिले तीर्थयात्राका लागि जाओ र फर्किएर सँधै भक्तवत्सल भगवान् भोलेशङ्करको आराधना गरेर सुखी गृहस्थी जीवन आफ्नै घरमा बसेर यापन गर ।'

साधुका कुरा सुनेर प्रसन्न भएका ती दम्पत्तीले साधु र भगवान् भोलेशङ्करको भूरिभूरि प्रशंसा गरे र त्यसपछि आफूले नजानीकन लिएको प्रदोष व्रतको महात्म्य र व्रतविधान बताइदिन ऋषिसँग प्रार्थना गरे । साधुले निष्ठापूर्वक सम्पादन गर्दा सुयोग्य सन्तान दिलाउने शनि प्रदोष व्रत लगायत समस्त प्रदोष व्रतको महात्म्य र विशेषता बताएर व्रतसम्पादन गर्ने विधिविधान र नियम बताइदिए । मुनिसित आशीर्वाद र विदा प्राप्त गरी ती दम्पती त्यहाँबाट तीर्थयात्राका लागि बाटो लागे । तीर्थयात्रा पूर्ण भएपछि घरमा आएर शनि प्रदोष व्रतको दिनबाट सुरु गरी प्रत्येक प्रदोषका दिन निष्ठा र विधिपूर्वक व्रत लिन थाले । कालान्तरमा शिवधन वैश्यका घरमा एउटा सुन्दर पुत्रको जन्म भयो । यसरी शनि प्रदोष व्रतको प्रभावले ती वैश्यको जीवनमा छाएको अन्धकार लुप्त भयो । ती दम्पती पुत्र प्राप्त भएपछि आनन्दपूर्वक जीवनयापन गर्न थाले ।

त्यसैले पुत्रप्राप्तिको मात्र होइन, सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्ने दम्पतीले शनिप्रदोषको व्रत लिनु पर्दछ । शनिबारबाहेक अन्यबारका दिन परेको भएपनि प्रदोष व्रतको निष्ठापूर्वक पालना गर्नाले तपार्इंको कुण्डलीमा देखिएको शनि ग्रहको अनिष्ट फल र नराम्रा प्रकोपहरू शान्त हुने गर्दछन्, अनि रोगव्याधि, दरिद्रता, घरभित्रको अशान्ति, नोकरी वा व्यापारव्यवसायमा देखिएको कठिनाइ पनि निवारण हुन्छन् ।

Sep 18, 2017

दु:खनिवारणको उपाय - प्रदोष व्रत

व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ । भगवान शङ्कर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रन्थहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ । यिनै विधानहरू मध्ये एउटा व्रत हो - प्रदोष व्रत ।

के हो प्रदोषकाल

प्रत्येक दिन सूर्यास्तपछिको दुई घडी (लगभग ४८ मिनेटको समय) प्रदोष काल हो ।(प्रदोषोऽस्तमयादूर्द्ध्वं घटिकाद्वयमिष्यते ॥) तर ज्योतििषीय मतमा  रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ ।  कतैकतै सूर्यास्तपछि तीनप्रहरसम्म त कतै मध्यरात्रीपर्यन्त प्रदोषकाल रहने बताइएको पाइन्छ । सामान्यतया प्रदोषकाल प्रत्येक शुभ कार्यका निमित्त निषिद्ध समय मान्ने गरिन्छ । तर त्रयोदशी तिथिको संयोगले उक्त समय अमृत काल बन्ने गर्दछ । यस प्रसङ्गमा विभिन्न धर्मग्रन्थ र स्मृतिहरूमा निम्नानुसार वर्णन गरिएको भेटिन्छ :-

रात्रौ यामद्वयादर्वाम्यदि पश्येत्रयोदशीम् । सा रात्रिः सर्वकर्मघ्नी शङ्कराराधनं विना ? ॥ - बृद्धमनुः

(रात्री प्रारम्भ भएको दुई प्रहरभित्र त्रयोदशी तिथि देखिएमा भगवान् शङ्करको आराधना नगरेमा समस्त कर्मको नाश हुन्छ ।)

त्रयोदशी यदा रात्रौ यामस्तत्र निशामुखे। प्रदोष इति विज्ञेयो ज्ञानार्थी मौनमाचरेत् ॥ - बृद्धगार्ग्यः

(रात्रीकाल प्रारम्भ भएको समय यदि त्रयोदशी तिथि छ भने त्यसलाई प्रदोष मान्ने गरिन्छ, उक्त समयमा ज्ञानार्थी सज्जनहरूले मौन रहेर ईश्वर आराधना गर्नुपर्दछ ।)

भोजनं मैथुनं यानमभ्यङ्गं हरिदर्शनम् । अन्यानि शुभकार्याणि प्रदोषे नैव कारयेत् ॥ - बृद्धगार्ग्यः

(भोजन, मैथुन, यात्रा, शरीरमा तेल लगाउने, भगवान् श्रीहरिको दर्शन वा पूजाअर्चना लगायत अन्यान्य शुभकार्यहरू प्रदोषकालमा गर्नुहुँदैन)

त्रिमुहूर्त प्रदोषस्याद्रवावस्तङ्गते ततः । मितसन्ध्यस्त्रयोदश्यां न स्मरेचात्मनोऽहितम्' ॥ - स्कन्दपुराण

(सूर्यास्तपछिको तीन मुहूर्तसम्म प्रदोष र त्रयोदशीको समागम भएको अवस्थामा व्यक्तिले आफ्नो अहित चिताउनु हुँदैन ।)

अहोऽष्टमांशसंयुक्तं रात्र्यर्धं मौनमाचरेत् । त्रयोदशी कलामात्रा दृष्टा यदि निशामुखे' ॥ - स्कन्दपुराण

(दिनको अन्तिमको अष्टमांश समय तथा रात्रीकालको मध्यभागसम्म त्रयोदशी तिथि परेको अवस्थामा ज्ञानीजनहरूले मौन रहनु पर्दछ ।)

न प्रदोषे हरिं पश्येत् त्रयोदश्यामतत्क्रिया । यदि पश्येत्प्रमादेन द्वादशाब्दं न रक्षति ' ॥ - स्कन्दपुराण

(त्रयोदशी तिथिको प्रदोषकालमा शिवाराधन नगरी विष्णुको पूजाआजा गर्नुहुँदैन, गरेमा बाह्र वर्षसम्म मात्र आयु रहने सम्भावना हुन्छ ।)

अर्चकान् परिचारांश्च वैष्णवान् ज्ञानिनो यतीन् । दासीदासादिकांश्चैव प्रदोषो नैव बाधते ! ॥ - स्मतिग्रन्थः

(पूजारी, परिचर, वैष्णवजन, ज्ञानी, सन्न्यासी, दासदासी आदिलाई माथिको प्रतिबन्ध लागू हुँदैन, अर्थात् प्रदोषको दोष लाग्दैन ।)

प्रदोषोक्तषु दोषेषु पापं नैवेति शासनम् । असिते च सिते पक्षे प्रदोषो यदि सम्भवेत् ॥
श्रौतवद्देवमभ्यर्च्य वन्दनादीनि कारयेत् । आयुश्रीश्पुष्टिकामी च शत्रुसंहारमीयिवान् ॥
पुत्रक्षेत्रादिकामी च उदयास्तमयं चरेत् । स्त्रीभिश्च पुरुषैर्वापि भक्तियुक्तैस्सुखार्थिभिः ॥
यथाविधि च निर्वर्त्या स्नानदानादिकाः क्रियाः । कालोऽस्ति दाने कालोऽस्ति यज्ञे कालोऽति सज्जये ॥ - स्मतिग्रन्थः 

(कृष्ण पक्ष वा शुक्लपक्षमा पर्ने त्रयोदशी युक्त प्रदोषमा श्रुतिस्मृतिको पालना गरी सन्तति, भूमि, आयु, सुखसम्मृद्धि, पुष्टि, शत्रुनाशको कामना गरी कुनै पुरुष वा स्त्रीले भक्ति र निष्ठापूर्वक स्नान, दान, यज्ञयागादिका साथमा देववन्दना गरेमा प्रदोषकालमा बताइएका माथिका प्रतिबन्ध र अनुशासन लागू हुँदैनन्, अर्थात् कुनै दोषको भागी हुनुपर्दैन ।)

प्रदोष व्रत

प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ । प्रदोष कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत सम्पादन गरिने दिन हो । यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ । व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ । प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ । सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ । यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ । सायंकालमा व्रत लिने व्यक्तिले फलामको कराईमा कालो दाल, मोटा चामल, तिल आदि मिसाएर खिचड़ी पकाएर भोजन गर्नुपर्दछ । त्यसरी पकाइएको खिचड़ीको चारभागको एक भाग कालो कुकुर वा गाईलाई खान दिनुपर्छ । प्रदोष व्रत ती व्यक्तिहरूका निमित्त मनोकाङ्क्षा पूर्ण गर्ने व्रत पनि हो, जसले चन्द्रमा ग्रहको पीडा भोग्नु परेको छ, त्यस्तै चन्द्रमा ग्रहको पीडाबाट मुक्ति प्राप्त गर्न वर्षभरि आउने समस्त प्रदोष व्रतलाई सम्पादन गर्नु, फलाम, तिल, कालोदाल, सुठुनी(शकरखण्ड), मूला, पिंडालु, कम्बल, जूत्ता र कोइला आदि दान गर्दा लाभ प्राप्त हुन्छ । शनिबार वा मङ्गलबार परेको प्रदोष व्रतका दिन भगवान् शिवजीको मन्दिर, हनुमानको मन्दिर वा भैरव मन्दिरमा पूजा मात्र गर्दा पनि लाभ प्राप्त हुन्छ । यद्यपि जुनसुकै बारमा परे पनि प्रदोष व्रतको महत्त्व उत्तिकै हुन्छ, तथापि सोमवार, मङ्गलवार र शनिवारका दिन परेको प्रदोष व्रतलाई अत्यधिक प्रभावकारी मानिएको छ । प्रदोष व्रतको निष्ठापूर्वक गरिने आराधनाको प्रभावले सांसारिक दुःखको निवृत्ति हुन्छ । केवल चन्द्रमाको दशानिवारण र सन्तानप्राप्तिका लागि मात्र होइन यस व्रतले सुखसम्पदायुक्त जीवन शैली, यश, कीर्ति, ख्याति र वैभव प्रदान गर्दछ । विशेषतः श्रावण, भाद्रपद, कार्तिक र माघ महिनामा पर्ने प्रदोष व्रतले वर्तमान युगको प्रभावबाट सिर्जना हुने समस्त शारीरिक र भौतिक कष्टको निवारण गर्न ठूलो सघाउ पुर्याउँछ ।

प्रदोष  व्रतको महात्म्य गङ्गा नदीको पावन तटमा कुनै समय वेदवेदाङ्ग शास्त्रका ज्ञाता एवं भगवान् नारायणका परम भक्त श्री सुतजीले सौनकादि ऋषिहरूलाई सुनाउनु भएको थियो । सुतजीले भन्नुभयो – कलियुगमा मनुष्य धर्मको आचरण विपरीत अधर्मको मार्गमा तत्पर हुन्छन्, चारैतिर अन्याय र अत्याचारको बोलबाला हुनेछ, मनुष्य आफ्नो कर्तव्यबाट विमुख भई नीच कर्ममा संलग्न रहने छन्, त्यस समयमा प्रदोष व्रत यस्तो व्रतका रूपमा प्रतिष्ठित हुनेछ, जसले मानवमात्रलाई भगवान् शिवको कृपापात्र बनाउन सक्नेछ र यस व्रतको विधिवत् सम्पादन गर्नाले मनुष्य नीच गतिबाट मुक्त भई उत्तम लोक प्राप्त गर्नेछ । त्रयोदशीको सायंकालमा (रात्रिकालको प्रारम्भको प्रथम प्रहर) मा जुन मनुष्यले यथायोग्य पूजनसामाग्रीका साथमा भगवान् शिवको मन्दिर गएर शिवलिङ्गको दर्शन गर्दछ, त्यसले समस्त पापबाट छुटकारा पाउँछ । सौनकादिक ऋषिहरूलाई सुतजीले आज्ञा गर्नुभयो – प्रदोष व्रतको पुण्यका कारण कलियुगमा मनुष्यका सबै किसिमका कष्ट र पाप नष्ट हुने गर्दछन् । यो व्रत अत्यन्त कल्याणकारी व्रत हो, यस व्रतको प्रभावले मनुष्यले मनोवाञ्छित अभीष्ट फल प्राप्त गर्दछ । बेग्लाबेग्लै बारमा परेका प्रदोष व्रतको बेग्लाबेग्लै फल पनि प्राप्त गर्न सकिन्छ, ती भिन्नभिन्न दिनमा लिएको प्रदोष व्रतका माध्यमबाट के लाभ हुन्छ भन्ने विषयमा पनि सुतजीले उक्त अवसरमा सविस्तार चर्चा गर्नु भयो । वहाँले सौनकादिक ऋषिहरूको जिज्ञासा शान्त तुल्याउँदै भन्नुभयो – प्रदोष व्रतको महात्म्य सर्वप्रथम भगवान् शङ्करले माता सतीदेवीलाई सुनाउनु भएको थियो । मैले यस व्रतको पावन कथा र विशिष्ट महात्म्य महर्षि वेदव्यासको मुखारविन्दबाट सुन्ने मौका पाएको हुँ र यो उत्तम व्रत एवं महात्म्य अहिले हजुरहरू ८८,००० मुनिहरूलाई श्रवण गराउने अवसर पाएको छु ।

बारअनुसार प्रत्येक प्रदोषको छुट्टाछुट्टै महत्त्व छ, तिनको फरकफरक महत्त्व र वैशिष्ट्यको जानकारी लिन तलका लिङ्कहरूमा जानुहुन :-

मुद्दामामिलामा विजयी हुन, निर्णयक्षमता बढाउन र स्वास्थ्यलाभ गर्न रविप्रदोष व्रत

मानसिक अशान्ति, बेचैनी र मनोरोगको निवारण गर्न तथा पारिवारिक सुखसम्मृद्धिका लागि सोमप्रदोष व्रत

पुत्रलाभ, सन्ततिको सुखसम्मृद्धि र आत्मबल, साहस र हिम्मत बढाउन मङ्गलबार परेको प्रदोषव्रत

दाम्पत्यजीवन, प्रेमसम्बन्ध, सुखसुविधा, चातुर्य वृद्धिका लागि बुधप्रदोष व्रत

राजकीय क्षमता, प्रशासनिक क्षमता बृद्धि गरी शत्रुनाश गर्न तथा कुल र पितृको दोषशमनका लागि गुरुप्रदोष व्रत

प्राविधिक ज्ञान, सीप, कामशक्ति, बुद्धि बढाउन एवं प्रेम र दाम्पत्यजीवन सफल बनाउन शुक्र प्रदोष

शनिग्रहको कुप्रभाव हटाउन, कर्मक्षेत्रमा सफलताका लागि र सन्तति तथा वेशबृद्धिका निमित्त शनिप्रदोष व्रत

May 31, 2017

शुक्र प्रदोषको व्रतकथा (Shukra Pradosh) - नल दमयन्तीको अमर प्रेमकथा Nala Damayanti

आज प्रदोष व्रत हो । हरेक १५ दिनमा जुन दिन प्रदोष काल (सूर्यास्तपछिको लगभग २ घण्टाको समय) मा त्रयोदशी तिथि परेको दिन प्रदोष व्रत लिने विधान छ । प्रदोष भगवान् शिवको जन्मतिथि हो । त्यसैले आशुतोष भगवान् भोलेशंकरको प्रसन्नताका निमित्त प्रदोष व्रत लिने गरिन्छ । वारअनुसार हरेक प्रदोषको बेग्लाबेग्लै महत्त्व छ, शुक्रवार परेको प्रदोष व्रतबाट घरायसी सुखशान्ति, दाम्पत्यजीवनका हरेक समस्याको समाधान, भोगविलासले भरिपूर्ण जीवन, यौनसुख, प्रेमसुख आदि विशेष फल प्राप्त हुन्छ । आउनुहवस् यस व्रतको व्रतकथा प्रस्तुत भिडियोका माध्यमले श्रवण गरौं । यस कथामा नलदमयन्तीको प्रख्यात प्रेमकथाको वर्णन छ ।