Showing posts with label लोकसंस्कृति. Show all posts
Showing posts with label लोकसंस्कृति. Show all posts

Dec 6, 2017

बाला चतुर्दशी पर्वको सामाजिकता


हुन त सनातन हिन्दुधर्मप्रति श्रद्धा राख्ने मानिसहरू नेपाल र भारत लगायत संसारका भिन्नभिन्न देशमा छरिएर बसेकाछन्, जाति र संस्कृतिअनुरूप तिनका संस्कार र परम्परा पनि भिन्नभिभिन्न छन्, अनि देश, काल र परिस्थितिबमोजिम तिनले भिन्नभिन्न शैली र परम्परामा विविध चाडपर्व मनाउने गर्दछन्, तर समयअनुरुप सँस्कृतिमा विभिन्नता हुन सक्छ। कुनै चाडपर्वले धार्मिक भावना व्यक्त गरेको हुन्छ भने कुनै सांस्कृतिक चाडपर्वले सामाजिक जीवनका विविध पक्षको गरिमाको अभिव्यक्ति गर्दछ। तिनै चाडहरूमध्ये पौराणिक र धार्मिक आस्थाअनुसार मनाइने पर्व बाला चतुर्दशी पनि हो ।  यो पर्व चान्द्र पात्रोको गणनाअनुसार मंसिर महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन पर्दछ । यस दिन आमा(बाबु नभएका सन्तान अथवा सन्तान नभएका आमाबाबुले मरेका आफन्तको चिरशान्ति र मोक्षको कामनासहित पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा गई शतबीज छर्ने गर्दछन् । सतबीज भन्नाले धान, गहुँ, जौ, मास, मुगी, मास, कागुनु र सामा मिसाएर बनाइएको पदार्थको साथै केरा, सुन्तला, स्याउ, मुला, काँक्रो, सखरखण्ड, पिँडालु आदि सय किसिमका फलफूल मिसाई बनाइएको पदार्थको सम्मिश्रण हो । सप्तधान्यादि अन्नहरू भुइँमा छर्ने वा रोप्ने दिन भएकाले यस दिनलाई शतबीज छर्ने दिन भनिएको हो ।

यद्यपि यस पर्वको सन्दर्भ पौराणिक र ऐतिहासिक ग्रन्थहरू नेपाल महात्म्य, स्कन्द पुराणको हिमवत्खण्ड, शिव पुराण आदिमा पनि भेटिन्छ, तथापि बाला चतुर्दशी नेपाली मौलिक पर्व हो भन्दा फरक पर्दैन। शिवपार्वतीको प्रणयलीलाका क्रममा भगवान् भोलेशङ्करले मृगको रूप धारण गर्नु भएको पौराणिक आख्यानलाई यस पर्वसँग गाँसिएको पाइन्छ। भगवान् शिवले मृगरूप लिएर विचरण र विहार गर्नुभएको स्थललाई पुण्य क्षेत्र मानिन्छ र त्यस पुण्यभूमिमा शतबीज (सद्बीज) छर्दा उक्त बीजहरूमध्ये एक गेडो अन्नबाट मात्र पनि एक रत्ति सुन छरे झैं पुण्यप्राप्ति हुन्छ भनी मृगावतारका समयमा शिवजीले आकाशवाणीबाट आदेश गर्नुभएको विश्वास गरिन्छ। त्यसैले यस पर्वको कथा र त्यसको कार्यपीठिका शिवले मृगरूप लिई विचरण गरेको पशुपतिनजिकैको श्लेष्मान्तक वन र त्यस वरपरको क्षेत्र रहेको देखिन्छ। त्यसैले पनि यो पर्व नेपाल अझ पूर्वी नेपालमा बसोबास गर्ने पाहाडी मूलका नेपालीहरूमाझ बहुप्रचलित छ। जे होस् यस पर्वलाई मनाउने क्रममा अघिल्लै दिन अर्थात् मार्गकृष्ण त्रयोदशीका दिन श्रद्धालु भक्तजनहरू आआफ्नो परम्परा र संस्कृतिअनुसार पशुपतिनाथ मन्दिरको प्राङ्गण र छेउछाउमा बास बसी आआफ्ना दिवङ्गत पितृको आत्माको चिरशान्तिका लागि रातभरि 'महादीप' बालेर भजन कीर्तन र जाग्राम गरी बस्दछन् र भोलिपल्ट बिहानै वागमतीमा नुहाई पशुपति क्षेत्रका सम्पूर्ण देवीदेवताको परिक्रमा गरी पशुपति क्षेत्रमा शतबीज छर्दछन् । यसलाई चतुर्दशी यज्ञ पनि भनिन्छ । काठमाडौंको पशुपतिमा आउन नसक्नेहरू आफ्नै ठाउँपायकका शिवमन्दिरमा गई शतबीज छर्दछन् । यस पर्वले कृषि र पशुपालनसँग सम्बद्ध सामाजिक जीवनलाई प्रतीकात्मक ढङ्गले पुष्टि गर्दछ। जीवनचर्याका क्रममा पशुपंक्षी र कीटपतङ्गको भूमिकालाई अपरिहार्य मानेको जैविक तथ्यलाई पनि यस पर्वसँग गाँस्न सकिन्छ। परोपकारको भावनाले ‘शतबीज’ अर्थात् सयथरी विभिन्न गेडागुडी छर्नाले ती अन्नका दाना पंक्षीको चारा बन्छ र छर्ने क्रममा जमिनमुनि गाडिन पुगेका अन्नका दाना केही समयपछि उम्रिएर पशुको खाना अर्थात् घाँस बन्दछ, यस पर्वले यसरी फ्यालेको अन्नबाट बन्ने चारा र घाँसले मनुष्येतर अन्य जङ्गली प्राणीहरूको जीवनरक्षा हुनजान्छ र पृथ्वीको उर्वरतालाई सबै प्राणीहरूले समानताका साथ उपभोग गर्नुपर्ने सन्देश प्रदान गरेको देखिन्छ।

बालाचतुर्दशीका दिन श्लेष्मान्तक वन क्षेत्रमा शतबीज छर्ने चलन कहिलेदेखि सुरु भएको भन्ने निश्चित र प्रामाणिक तिथिमितिको यकीन छैन। यस पर्वलाई खास गरी शिवभक्ति र पितृभक्ति गरी दुईवटा आधारमा मनाउने गरेको देखिन्छ। विभिन्न पुराण र स्वस्थानीकथामा नै भगवान् शिवको मृगरूप धारण गरेको कथाप्रसङ्ग प्राप्त हुन्छ। कथाअनुसार शिवले श्लेष्मान्तक वनमा मृगको रूप धारण गरी लामो समय व्यतीत गरेपछि छट्पटिएकी पार्वतीले बागमती किनारस्थित मृगस्थलीमा भगवान् शिवले मृगको रुपमा विहार गर्नुभएको थाहा पाई शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीजहरु छरेको र तिनै बीजबाट केही दिनपछि घाँसबिरुवा उम्रिएको, ती घाँसबिरुवामा आकर्षित भई मृगको बथान जम्मा भएको अनि पार्वतीले शिवजलाई मृगका रूपमा भेटेको वृत्तान्तसँग गाँस्दै पार्वतीले सुरु गरेको शतबीज छर्ने काम पछि गएर परम्परा बनेको बताइन्छ। यस दिन पशुपतिनाथ, गुह्येश्वरी र वासुकी आदि देवताको दर्शन गर्नाले प्रशस्त फल मिल्ने र मृगस्थलीमा टेक्ने व्यक्तिको मोक्ष हुन्छ भनी हिमवत्खण्डमा उल्लेख गरिएको छ।

बाला चतुर्दशी पर्वसँग अर्को एउटा जनश्रुति पनि गाँसिएको प्रसङ्ग सुन्न पाइन्छ, प्रसङ्गअनुसार कुनै समयमा नेपालमा भुवनकेशरी नाम गरेका राजा थिए। उनको समयमा बालानन्द नाम गरेको एउटा वैश्य त्यस राज्यमा बसोबास गर्दथ्यो। एक दिन एकजना गुठियार मरेकाले सद्गति गर्न उसलाई खटाइयो। सद्गति गर्ने क्रममा मलामीहरू मसानघाटमा पुग्दा थाक्ने र भोकाउने भएकाले पुगेपछि चितामा लाश पोल्दापोल्दै खाजा खाने चलन थियो। बालानन्दले खाजा खाने क्रममा संयोगले चिताको आगोमा मुर्दाको टाउको पड्कियो र गिदी उछिट्टिएर बालानन्दले खाँदै गरेको खाजामा मिसियो, गिदी मिसिएको पत्तो नपाई उसले गिदीसमेत खानुपर्यो। गिदी मुखमा पर्नासाथ बालानन्दको स्वरूपमा अचानक परिवर्तन आयो र ऊ झल्झलाकार तेजिलो चाँदी झैं टाउको भएको बालासुर नाम गरेको राक्षस भयो अनि त्यस लाशलाई खपाखप खान थाल्यो। मलामीहरू डराएर आआफ्ना घरतर्फ फर्किए। त्यसपछि त्यहाँ सद्गति गर्न जेजति लाशहरू ल्याइन्थ्यो, ती लाशलाई बालासुरले खोस्दै खाँदै गर्न थाल्यो। त्यस राज्यमा कसैको पनि मरणपछि सद्गति हुन छाड्यो। मृतकको शरीरलाई आफ्नो रीतिस्थितिअनुसार सद्गत गर्न नपाउँदा जनताले राजा भुवनकेशरीलाई जाहेरी गरे। जनताले निवेदन गरेबमोजिम राजाले बालासुरलाई मार्न निकै प्रयास गरे, तर उनी सफल भएनन्। अन्त्यमा बालानन्द वैश्यकै मित वृषसिंहलाई राजाले बोलाए र उसलाई बालानन्दको वृत्तान्त सुनाई परोपकारका निम्ति मितलाई मार्न सहयोग मागे। त्यसो गरेमा जनहीत हुने भएकाले राजाले वृषसिंहलाई प्रशस्त धनसम्पत्ति र जग्गाजमिन उपहार दिने आश्वासन पनि दिए। उसले पनि आफ्नो मितलाई मार्न अनेक जुक्ति रच्यो तर सफलता पाएन। अन्ततः भगवान् शिवको तपस्या गरी प्रसन्न तुल्याई बालासुरलाई मार्ने शक्ति प्राप्त गर्यो। त्यसपछि गाउँमा आई एक घ्याम्पो रक्सी र सोहीअनुसारको मासुचिउरा आदि खानेकुराहरु लिई १५–२० जवान भरियालाई बोकाएर स्मशानघाट गयो। घाटमा त्यत्तिका धेरै मानिस आउँदै गरेको देखेर लाश आएको ठानी बालासुर पनि घाटमा आयो। वृषसिंहले आफ्ना मित बालासुरलाई अभिवादन गरी गाउँबाट ल्याएको सामाग्री उपहारका रूपमा प्रदान गर्यो। बालासुरले पनि रमाई रमाई जम्मै चीजबीज खायो र रक्सीको नशाले मातेर अचेत भयो । त्यही मौकामा वृष सिंहले आफुसँग आएका भरियाको सहयोगले बालासुरलाई डोरीले कसेर इनारमा खसाले र उसलाई माथिबाट ढुंगामुढा हानेर मारे। मित्रहत्या गरी आमजनतालाई खुसी तुल्याएपनि वृषसिंहलाई पश्चात्ताप हुनथाल्यो। फेरि भगवान् शिवजीको आराधना गरी उसले प्रायश्चित्त कसरी हुन्छ भनी उपाय बताउन भगवान् शिवलाई अनुरोध गर्यो। त्यसपछि महादेवले वृष सिंहलाई बालासुर मरेको दिन हरेक वर्ष श्रीपशुपतिनाथको मूर्तिमा पूजा गरेमा र श्लेष्मान्तक वनमा सद्बीज छरेर श्री पशुपतिनाथको क्षेत्रमा खुट्टाले टेकेमा यस हत्याको दोष नलाग्ने कुरा बताए, साथै यसको अनुकरण गरी अन्य श्रद्धालुहरूले प्रतिवर्ष त्यसै गरेमा उसका समस्त पितृहरूले मोक्ष प्राप्त गरी शिवलोक पुग्ने आज्ञासमेत शिवबाट प्राप्त भयो। त्यसै बेलादेखि बालासुर मरेको दिन अर्थात् बाला चतुर्दशीका दिनमा सद्बीज छरेर श्री पशुपतिनाथको दर्शन गर्न जाने चलन चलेको मानिन्छ। त्यसैले नेपाली समाजमा आफ्ना दिवङ्गत पितृका नाममा धान, जौ, तिल, गहुँ, मकै, कागुनो, चना, फलफूल, कन्दमूलादि मिसाएर खासगरी पशुपतिनाथ र हलेसी, जलेश्वर, दिङ्गला, पिण्डेश्वर, सतासीधाम लगायत अन्य शिवालय र देवालयमा गई सद्बीज छर्ने गर्दछन्। ब्राह्मण, क्षेत्री, नेवार, मगर, गुरुङ, राई, लिम्बू, तामाङ आदि विभिन्न वर्ग र जातिका मानिसहरू सबैले यस पर्वलाई मनाएको पाइन्छ । यस पर्वमा लिङ्ग, धर्म र सम्प्रदायको भेदभाव छैन । नेवार समुदायमा यस दिनलाई ‘बालाचह्रे’ भन्ने गरिन्छ।

पौराणिक आख्यान वा लोकगाथाको प्रभावबाट प्रारम्भ भएपनि यस पर्वले मनुष्यले प्रकृतिको कोखबाट जन्मलिने र अन्त्यमा प्रकृतिमा नै विलीन हुनुपर्ने यथार्थ पक्षलाई समातेको छ। चराचर प्राणी प्रकृतिका अनन्य अङ्ग हुन् र तिनको निकटस्थ अन्तर्सम्बन्ध छ भन्ने भावलाई पनि बाला चतुर्दशीले ग्रहण गरेको छ। सारांशमा यस पर्वले मनुष्य र अन्य जीवजन्तुसँगको आत्मीय सम्बन्धलाई उजागर गर्दै मेलमिलाप, भाइचारा र विश्ववन्धुत्वको सन्देशलाई जीवन्त तुल्याएर मृतकका प्रति आफन्तहरूले प्रकट गर्नुपर्ने भाव र कर्तव्यबोधलाई समेत उपस्थापन गरेको देखिन्छ। यसरी यस पर्वले प्रकृति र पूर्वज दुबैलाई सम्झिने साझा दिनका रूपमा आफुलाई उभ्याएको छ। यो पर्वको नेपाली समाज र संस्कृतिमा महत्त्वपूर्ण स्थान छ।

Nov 21, 2017

‘सामा–चकेवा’ पर्व


आजको यस आधुनिक युगमा तीब्रतर विकासका बावजूद पौराणिक एवं लोकोक्तिमा आधारित परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ । त्यसैले होला द्वापर युगदेखि चली आएको ‘सामा–चकेवा’को लोकपर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि सोल्लास र लोकाचारका साथमा मनाउने गरिन्छ । नेपालमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व 'सामा-चकेवा' पर्व कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइन्छ । यो पर्व पूर्वी नेपालमा खासगरी थारु जनजातिले विशेष उत्साहका साथ मनाउने गर्दछन्।

परिचय
साम चको साम चको अहिय है ….
जोतला खेतमे बैसिय है ….
सबरंग पटिया ओछाबिय है..
ओई पटियापर क्या क्या जना
यस्तैयस्तै कर्णप्रिय तथा श्रुतिमधुर लोकगायनको आलाप गुञ्जाउँदै, टोलटोल र घरघर चाहार्दै गाउँभरिका अविवाहित किशोरीहरूले एकसाथ एउटै मञ्चमा जम्मा भई नाचगान र हर्षोल्लासका साथमा मनाइने दाजुभाइ र दिदीबहिनीको आत्मीयता र मायाको प्रतीकका रूपमा उपस्थापन गरिने पौराणिक लोकपर्व हो, सामाचकेवा । ‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो । आज पनि नेपालको खासगरी पूर्वी तराइको गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गदर्छन् । कलामर्मज्ञहरूद्वारा यसको कथासूत्रको रोचकता, आकर्षक दृश्यात्मकता, गीत–सङ्गीत–नृत्य र यसको पारम्परिक स्वरूपलाई अवलोकन गरी यसको अभिनेय पक्षलाई पारम्परिक ‘लोकनृत्य’का रूपमा व्याख्या गरेको पाइन्छ । यसको बहुआयामी स्वरूप, गायन–विविधता, प्रकृतिप्रतिको अगाधप्रेम, माइति र चेली बीचको स्नेहपूर्णसम्बन्ध, चुगला (समाजविरोधी)प्रतिको सामूहिक–सङ्गठित विरोध, लोककल्याणको भावना, संस्कारगत–प्रशिक्षण जस्ता अनेक खण्डमा बाँडेर यस पर्वलाई विश्लेषण गर्न सकिन्छ । त्यसैले यस बहुआयामी लोकनृत्यमा मूलभूत स्वरूप एउटै भए पनि व्रतालु र प्रदर्शनकारी समूहको विचार, चिन्तन, श्रुतिपरम्परा र सामजिकताका आधारमा यस पर्वको विवेचन र व्याख्या फरक फरक हुन्छ । यही यस लोकनृत्यको निजीपन र विशेषता पनि हो ।

ऐतिहासिक पृष्ठभूमि
खास गरी नेपालको पूर्वी तथा मध्य तराईमा छठ पर्वको एकदिन अगाडि र कतैकतै छठको भोलिपल्टदेखि मनाइने यो पर्व कहिलेदेखि मनाउन थालिएको हो ? यसको ऐतिहासिक पृष्ठभूमि स्पष्ट देखिएको छैन । यो पर्वका सम्बन्धमा संस्कृतिविद्हरूबीच पनि मतभिन्नता पाइन्छ । पद्मपुराण, स्कन्दपुराण र साम्बपुराण जस्ता विभिन्न पुराणमा यो पर्वको सम्बन्धमा चर्चा गरिएको पाइन्छ । ‘सामा–चकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान् कृष्णको समयदेखि नै भएको हो । यो पर्व भगवान् श्रीकृष्णकी छोरी साम्बा र छोरा साम्बको कथामा आधारित छ । यस कथाप्रसङ्ग–अनुसार भगवान् श्रीकृष्णकी पत्नी जाम्बवतीतर्फ १० भाइ छोरा र एउटी छोरी गरी एघारजना सन्तति थिए । ती मध्ये जेठा छोराको नाम साम्ब र छोरीको नाम साम्बा थियो । साम्बा जति सुशीला र चरित्रवती थिइन् त्यत्तिकै उनको सुन्दरताको बखान हुने गर्थ्यो । साम्बाको सौन्दर्यमा मोहित भई भगवान् श्रीकृष्णकै पुरी द्वारिकामा बसोबास गर्न ‘चूडक’ लट्ठ भएको थियो । तर उसको एकतर्फी प्रेम साम्बालाई थाहा नै थिएन । उता साम्बाको ‘चारुवाक’नामक युवकसित गान्धर्व विधिले विवाह सम्पन्न हुन्छ । त्यसपछि आफ्ना पतिको घरमा सानन्द बसोबास गर्न थाल्छिन् । साम्बालाई आफूले प्राप्त गर्न नसकेकाले प्रेमान्ध चूडक श्रीकृष्णको दरबारमा जाने र उनकी छोरी साम्बाको चरित्रबारे चियोचर्चा गर्न थाल्छ । वृन्दावनको दिव्य जङ्गलको बीचमा गोपेश्वर महादेवको मन्दिर थियो । आफ्नो दाम्पत्य जीवनमा उतारचढाव नआओस् र दीर्घ सौभाग्य प्राप्ति होस् भन्ने उद्देश्यले उनी पति चारुवाकको आज्ञा लिई नित्य प्रति उक्त मन्दिरमा गई पूजा आराधना गर्दछिन् । उक्त पूजाअर्चनाको प्रभाव तथा भगवान् भोलेनाथको असीम अनुकम्पाले साम्बाका पति चारुवाकको स्वरूप देवतातुल्य मनोहर र दिव्य हुन पुग्छ र त्यसपछि उनी पति चारुवाकसँगै विभिन्न सुरम्य स्थलमा वनविहार पनि गर्न थाल्छिन् । तर यसै प्रसङ्गलाई जोड्दै ‘साम्बाले पतिको हत्या गरी परपुरूषसँग वृन्दावनमा विहार गर्दै गरेको’ कुरो गाँसेर चूडकले भगवान् श्रीकृष्णलाई भएनभएको उपाख्यान सुनाई पोल लगाउँछ । कुरो सुन्नासाथ सत्यताको निरूपण नै नगरी श्रीकृष्णले छोरी साम्बालाई पक्षी हुने शराप दिनुहुन्छ्र । चारुवाकले देख्दादेख्दै पत्नी पक्षी भएको दृश्य देखेर उनी रुँदै कराउँदै भगवान् श्रीकृष्णको शरणमा पुग्दछन् र बास्तबिकता बताउँदछन् । कृष्णलाई आफ्नो निणर्यप्रति पछुतो हुन्छ र चूडकलाई चुगलखोरी गरेवापत् देशनिकालाको सजाय हुन्छ । उता ससुरा कृष्णसँग आँफू पत्नीविना बाँच्न नसक्ने भन्दै चारुवाकले विलाप गर्दछन् । अनि भगवान् श्रीकृष्णले आफ्नो श्राप आँफै फिर्ता लिन नमिल्ने बताउनु हुन्छ । त्यसो भए पत्नी पक्षी नै रहने भएपछि आँफूलाई पनि पक्षी बनाइदिन ज्वाइँले अनुरोध गरेपछि भगवान् श्रीकृष्णले उनलाई पनि पक्षी नै बनाइदिनुभयो । यसरी पक्षीका रूपमा साम्बाका दम्पती रहनलागे । बहिनीले श्राप प्राप्त गरेको र पक्षी भएको समाचार दाजु साम्बले प्राप्त गर्दछन् । उनी पनि निर्दोष बहिनीज्वाइँलाई पक्षीयोनीबाट मुक्त तुल्याउन पिता श्रीकृष्णसित अनुनय–विनय गर्दछन् । तर भगवान् श्रीकृष्णले राजधर्मको बाध्यता र विवशताका कारण उक्त शराप फिर्ता लिन नसक्ने बताउनुहुन्छ । अनि पितासित साम्बले बहिनीज्वाइँ मुक्त हुने उपाय बताउने आग्रह गर्दछन् । भगवान् श्रीकृष्णले समस्त ब्रज क्षेत्रका साध्वीहरूलाई साम्बाको पातिव्रत्य धर्म डगेको छैन भनी विश्वस्त तुल्याई ती सम्पूर्णले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन प्रत्येक दिन सायंकालमा गोपेश्वर महादेवको मन्दिर परिसरमा गीत र नृत्य गरी भगवान् भोलेनाथलाई प्रसन्न तुल्याएमा ती दम्पतीको पक्षीयोनीबाट छुट्कारा हुने उपाय बताउनुहुन्छ । यसै उपायलाई अनुसरण गरी साम्ब महिलाहरूलाई सङ्गठित बनाउँदछन् र आँफूले पनि शिवको आराधनामा घनघोर तपस्या गर्दछन् ती सङ्गठित साध्वी स्त्रीहरूले शिवालयको परिसरमा साथै भगवान् श्रीकृष्णको दरबार जाने चौबाटोमा प्रत्येक साँझ गीत र नृत्य प्रस्तुत गर्दछन् । साम्ब र द्वारिका पुरीका समस्त साध्वी स्त्रीको आराधनाले शिव प्रसन्न हुनुहुन्छ र साम्बाका जोडीलाई पंक्षीयोनीबाट मुक्त बनाउनु हुन्छ । स्त्रीहरूको सङ्गठित प्रतिरोध, चेलीबेटी र माइतिबीचको अटूट प्रेम र घुसघुसे एवं पोल्याहा(चुगला)हरूलाई सजाय दिने सन्देश बोक्ने यही उत्सव हो–‘सामा–चकेवा’पर्व ।

परम्परा र विधान

आज पनि मिथिलाञ्चलका गाउँगाउँमा स्त्रीहरू ‘सामा–चकेबा’को अभिनय गर्दछन् । यस पर्वमा यो र यसै कथानकसँग जोडिएका पात्रहरू शाम्बा(सामा), चकेवा(चारुवाक)का अतिरिक्त शाम्ब, सतभैया, खडरीच, चुगला(चूडक), वृन्दावन, चौकीदार, झांझी, कुकुर(कुत्ता) आदिको माटोको मूर्ति निर्माण गरी असाध्यै रोचक अभिनय गरिन्छ । दाजु र बहिनीबीचको आत्मीय प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछन् । तराई-मधेसको लोकनाटकको झझल्को दिने यस पर्वका दुईवटा प्रमुख पात्र हुन्छन् सामा र चकेवा । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र । त्यसैगरी समाजको खलपात्रको प्रतीकको रूपमा चुक्ली लगाउने अर्को पात्र 'चुगला' पनि हुन्छ । विभिन्न पात्रको प्रतीकको रूपमा बनाइएको माटोका मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल पञ्चमीको साँझदेखि टोलछिमेकका दिदी बहिनीहरू गाउँको बाहिर खुला ठाउँमा एकभित्र भई सामा-चकेवासम्बन्धी गीतहरू गाउँछन् र अभिनय गर्दछन्। यस क्रममा समूहमा महिलाहरू डाला(ढाकी)मा मूर्तिहरू सजाउँदै कार्तिकको शुक्लपक्ष पञ्चमीको बेलुकाबाट शुरु गरी गाउँगाउँको दोबाटो, चौबाटो, चौक आदि स्थलमा भेला भई लोकगीत गाउँदै नृत्य गर्दछन् । सामा खेले चलली सखी संग सहेली हो.., साम चके साम चके अइहो हे जोतला खेत में बैसिहो है.., चुगला करे चुगलपन बिलैया करे म्याउँऊं, चुगला के फांसी देंऊ जस्ता लोकगीत गाउँदै चुगलाको मूर्तिमा टाँसिएको दाह्री र जुँघालाई प्रत्येक दिन डढाउँदै त्यस चुगलाको प्रतिमालाई महिलाहरू कुटेपिटे झैं पनि गर्दछन् । गीतमा आफ्ना दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ । त्यसैगरी सामा-चकेवालाई शीत र दूबो खुवाइन्छ ।
सामा-चकेवालाई शीत र दूबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बीचमा राखी त्यहाँ उपस्थित दिदीबहिनीहरू वृत्ताकारमा बस्दछन् र टोकरीलाई दाहिने हातले एकले अर्कालाई दिंदै बाँया हातले फेरि लिने गर्दछन् । दिने र फर्काउने यो क्रम नथाकेसम्म गीत गाउने र अभिनय गर्ने क्रम चलिरहन्छ । त्यसपछि असत्य, पाप र असामाजिक तत्वको प्रतीकको रूपमा रहेको चुक्ली लगाउने पात्रको जीउमा आगो लगाइन्छ । त्यसपछि दिदी-बहिनीहरू सामा-चकेवाको गीत गाउँदै आ-आफ्नो घर फर्कन्छन् । घर पुगेपछि सामा-चकेवाको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ । यो क्रम पञ्चमीदेखि चतुर्दशीको दिनसम्म चलिरहन्छ र पूर्णिमाका दिन यो लोकपर्वको विसर्जन गरिन्छ । पूर्णिमाका दिन बिहान मूर्तिलाई सफासुग्घर बनाई रङरोगन गरी विशेष किसिमले सजाइन्छ । त्यसपछि किशोरीहरूले आँफूले गाउँगाउँ डुली अभिभावकवर्गबाट सङ्कलन गरेको रकम र अन्नादिको उपयोग गरी तैयार गरिएको प्रसाद दही, चिउरा, चिनी र मिठाईसहित विभिन्न परिकारको भोजन तैयार गर्दछन् । साँझ सर्वप्रथम मूर्तिहरूलाई भोजन गराइन्छ अनि त्यसपछि दिदी-बहिनीहरूले आआफ्ना दाजुभाइलाई मूर्तिकै जुठोस्वरूप त्यही भोजन प्रसादका रूपमा दिन्छन् । प्रसाद ग्रहण गरेपछि दाजुभाइले ती मूर्तिलाई आफ्नो घुँडामा राखी भाँच्छन् । त्यसबेला दाजुभाइले दिदीबहिनीलाई नगद, गहना, लुगा कपडा आदि उपहार दिन्छन्। अनि सामा, चकेवा र अन्य भाँचिएका मूर्तिहरूलाई गाउँनजिकैको खोला, पोखरी वा तलाउमा विसर्जित गरिन्छ, तर चुगलाको मुर्तिलाई भने फोहोर ठाउँमा (शौचालय क्षेत्र)मा फ्याल्ने गरिन्छ र यस पर्वको समापन गरिन्छ ।

Nov 14, 2017

विछट्टको छठ पर्व

- धीरेन्द्र प्रेमर्षि

नेपालमा दसैं र तिहारपछि सामान्यतया मानिसहरू चाडपर्वबाट फुर्सद लिने मनस्थितिमा हुन्छन्। तर नेपालकै सांस्कृतिक प्रदेश मिथिलामा भने तिहारको लगत्तै छठी पर्वको चटारो सुरु हुन्छ। यद्यपि केही दसक अघिसम्म मिथिला क्षेत्रमा मात्र सीमित छठी पर्व आजको दिनमा समस्त हिन्दु धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण पर्वको रूपमा स्थापित भइसकेको छ। यतिमात्र नभई मिथिलालाई आ-आफ्नो भूभागमा बाँडेका दुई स्वतन्त्र देश भारत र नेपालको यो राष्ट्रिय पर्वसमेत बनिसकेको छ। खासगरी नेपालको कुरा गर्ने हो भने आजको दिनमा छठी पर्वको नामबाट कुनै पनि नेपाली अनभिज्ञ छैनन्। सरकारले यस दिनमा सार्वजनिक विदा दिनथालेबाट मात्र नभई राजधानी काठमाडौंमा मिथिलावासीहरूले यो पर्व मनाउन सुरु गर्नुले विशेष भूमिका निर्वाह गरेको छ। विगतमा तराई विकास समाज, तराई सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरूले गएको दुई दसकदेखि काठमाडौं उपत्यकामा छठी पर्वका लागि सहज वातावरण बनाई आयोजना गर्ने विभिन्न कार्यक्रमले पनि मद्दत पुर्या।यो। जनयुद्धताका आवागमन कष्टकर हुँदै गएपछि काठमाडौं उपत्यकामा बस्ने मिथिलावासीहरूले राजधानीमै छठी मनाउन थाल्नुले पनि यसको विस्तृतिलाई मलजल गर्यो।

छठी पर्वको प्रारम्भ कहिलेदेखि भएको हो भन्ने कुराको कुनै प्रामाणिक आधार उपलब्ध छैन। साथै छठी परमेश्वरीको भाकल गरिने यस पर्वमा सूर्यलाई किन अर्घ दिइन्छ भन्ने कुरा पनि त्यति स्पष्ट छैन। ब्रह्मवैवर्त पुराणमा सूर्यसँग षष्ठी तिथिको सम्बन्धको उल्लेख छ। षष्ठीबाटै अपभ्रमसित भएर यो छठी हुनगएको कुरा स्पष्ट नै छ। यस पुराणअनुसार प्रकृति देवीले आफूलाई पाँच भागमा बाँडेकी छिन्। ती भागहरू हुन्- दुर्गा, लक्ष्मी, सरस्वती, राधा र सावित्री। प्रकृतिको छैठौं अंश षष्ठीलाई मानिएको छ। षष्ठी देवीको पूजा-आराधनाका विषयमा भविष्य पुराण र ब्रह्मवैवर्त पुराणमा चर्चा गरिएको पाइन्छ। मैथिल महाकवि विद्यापतिकृत वर्षकृत्यमा भने सूर्य षष्ठीको चर्चा प्रतिहार षष्ठीको रूपमा गरिएको छ। यिनै आधारहरूलाई लिएर छठी पर्वलाई सूर्य षष्ठी तथा प्रतिहार षष्ठीको नामबाट पनि जानिन्छ। यी प्रत्येक नाममा षष्ठी तिथिको प्रधानता छ। तर षष्ठीयुक्त सप्तमी तिथिको यसमा प्रधानता हुन्छ। खासगरी प्रतिहारको अर्थ भोलिपल्टका लागि पूजा भन्ने पनि हुन्छ। प्रतिहार शब्दले षष्ठीलाई गौण गरी सप्तमीलाई मुख्य बनाएको छ। खासगरी सप्तमी तिथिलाई सूर्यको तिथि मानिन्छ। त्यसैले पनि मुख्यतः भोलिपल्ट गरिने पूजाका लागि षष्ठीलाई विशेष महत्त्व दिइएकोले यसमा सूर्य, षष्ठी र सप्तमीको समागम हुन गएको हो।

यो पर्व मूलतः चारदिने पवित्र अनुष्ठान हो। यसमा चतुर्थी तिथिका दिन स्नान-ध्यानपश्चात पूर्ण सात्विक भोजन गर्ने गरिन्छ, जसलाई अर्वा-अर्वाइन भनिन्छ। पञ्चमीका दिन व्रत बस्नेले एकछाकी व्रत बस्छन्। यसदिन साँझपख सक्खरमा बनाइएको खिर भगवानलाई भोग लगाई स्वयम् व्रतीले पनि त्यही ग्रहण गर्ने गर्छन्। त्यसबेलादेखि सप्तमीको बिहानसम्मका लागि छठीको निराहार व्रत प्रारम्भ हुन्छ। षष्ठीका दिन दिनभरि प्रसादहरू बनाउने काम गरिन्छ। प्रसाद बनाउनमा व्रती स्वयम्को पनि संलग्नता हुन्छ भने उनलाई सघाउनेहरूले पनि पवित्रता र शुद्धताको यथेष्ट ध्यान राख्ने गर्छन्। कतिसम्म भने छठीका लागि भनेपछि बजारमा बेच्न राखिएको वस्तुमा स्वयम् व्यापारीहरूले पनि शुद्धतामा पर्याप्त ध्यान दिने गर्छन्। कतिपय परिवारमा छठीका लागि भनेर दसैंपछि नै माछामासुको प्रवेश वर्जित गर्ने गरिन्छ।

हालका दिनमा छठी पर्वमा तडकभडक र तामझाम देखिनथाले तापनि वस्तुतः यो ग्रामीण र कृषि पर्व हो। यो पर्व सामान्य आय भएका कृषि क्षेत्रसँग सम्बद्ध जोसुकैले पनि मनाउन सक्छन्। त्यसैले यसलाई वास्तविक अर्थमा भन्ने हो साम्यवादी पर्व भन्न सकिन्छ। यसमा धनी र गरिब बीचको फरक नछुट्टनिुका साथै छुवाछूत, जातीय वा लिङ्गीय विभेद पनि पाइँदैन। यसमा प्रसादका रूपमा चढाइने सामग्रीहरूको संख्या ७० सम्म पुर्यायउनुपर्ने मान्यता रहेको छ। यस्ता सामग्रीमा मूला, गाँजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन्। कुनै कारणले ७० प्रकारका सामग्रीहरू पुर्याछउन सकिएन भने गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ। गम्हरीलाई औषधीय गुणयुक्त धान मानिन्छ। गम्हरी लगायत सबै सामग्री एउटा कर्मशील व्यक्तिले आफैं उत्पादन गर्न सक्छन्। त्यसैले यो धनधान्य तथा आर्थिक हैसियत देखाउने नभई कृषिप्रधान क्षेत्रका मानिसको कर्मशीलता प्रदर्शनको पर्व हो। अर्को महत्त्वपूर्ण कुरा के छ भने यसमा एउटै पोखरीको चारैतिर विभिन्न जातिका व्यक्तिले घाट बनाई आ-आफ्नो पूजा गर्ने गर्छन्। यसप्रकार छुवाछूतबाट यो पर्व मुक्त रहेको छ। यसैगरी मिथिला क्षेत्रका कतिपय इस्लाम, बौद्ध, इसाई धर्मावलम्बीहरूले समेत छठी परमेश्वरीको भाकल गर्ने गर्छन्।

छठी पर्वको सबैभन्दा आह्लादकारी पक्ष हो- यसको समय, शैली र रमझम। झिसमिसे साँझ अनि मिरमिरे बिहानीमा व्रतालुका साथै घरका सदस्यहरूको लस्कर जलाशयसम्म जाँदा र र्फकंदाको दृश्य अत्यन्तै लोमहर्षक हुने गर्छ। सबैको हातमा पूजाका कुनै न कुनै सामग्री, यी सामग्रीहरूमाथि बलिरहेको दियोले वातावरणलाई उल्लासपूर्ण बनाएको हुन्छ। जलाशय छेउमा लहरै बनाइएका पूजाका घाटहरू, मैथिल ललनाहरूद्वारा घाटैपिच्छे समूह-समूहमा आबद्ध भई छठी परमेश्वरी र सूर्यदेवको आराधनामा गाइने गीतहरू, पोखरीको डिलमा ढोल, पिपहीजस्ता परम्परागत बाजाको सुरम्य वादन, पोखरीभरि पानीमा रुझेर सूर्यलाई अर्घ दिइरहेका व्रतालुहरू, परालको सानो बुजोमाथि बलिरहेको दियो, पोखरीभरि तैरिरहेको दीप समूहले बिछट्ट रोमाञ्च र भक्तिभाव सिर्जना गर्छ।

छठीलाई आरोग्य र उन्नतिदायक पर्व मानिन्छ। यसमा पुजिने सूर्य र जल दुवै आदिशक्ति हुन्। पुराणमा सूर्यलाई आरोग्यदायक मान्दै आरोग्यं भाष्करादिच्छेत् भनिएको छ। छठी पर्व मनाउनाले आरोग्य र विशेषगरी चर्मरोगहरूबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। चर्मरोगहरूको कारणमा प्रदूषित पानी पनि एक रहेको परिप्रेक्ष्यमा छठीले जलाशयहरू सफा राख्ने सन्देश दिएको भान हुन्छ। सबै चाडपर्वमा झैं यसबाट पनि सुख-समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने मान्यताअनुसार यो पनि सही नै हो। छठीले अस्ताउँदो सूर्यको समेत पूजा गरेर मानवीयताको सन्देश पनि दिइरहेको हामी पाउँछौं। 

छठीमा केरा, अदुआ, बेसार, पिँडालु आदि झुप्पावाल कुरा प्रसादका रूपमा चढाइन्छ, जसले सङ्गठनको सन्देश दिन्छ। छठीको मुख्य प्रसाद ठकुआ र भुसवा हो, जसमध्ये ठकुवाको मुटुजस्तो आकृतिलाई प्रेमको प्रतीक मान्न सकिन्छ भने भुसवा (कसार) पिठोका कण-कण एक-आपसमा जोडिएर बनेको ठोस पदार्थ कार्यगत एकताको प्रतीक हुनसक्छ। आज देशको संक्रमणकालमा सम्पूर्ण जनताले केराको काइँयोझैं सामूहिकता देखाउँदै भुसवाको संरचनागत सुदृढतालाई आत्मसात गरी अघि बढ्नुपर्छ। जनतारूपी जलाशयमा उभिएर देशरूपी सूर्यलाई सबैले पूर्ण आस्थाका साथ अर्घ दिने हो भने छठी परमेश्वरीले सम्पूर्ण नेपालीका लागि दाहिने हुनैपर्छ।

सूर्योपासनाको पर्व : छठ

-    सहप्रा.  कृष्णप्रसाद कोइराला
पिण्डेश्वर क्याम्पस, धरान – १४, सुनसरी



प्रत्येक वर्ष कार्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिका दिन नदी वा जलाशयमा शरीरको अर्द्धभाग पानीमा राखी उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई सूर्यको उपासना गर्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई त्यसै गरी अर्घ्य दिई व्रतको समापन गरिने पर्व हो, छठ । यो पर्वको पौराणिक नाम हो सूर्यषष्ठी र लोकजीवनमा यसलाई छइठ, छठी, डाला छठ आदि समेत भन्ने चलन छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । आस्था र श्रद्धाको यस महापर्वमा गरिने प्रकृति पूजा परम्परा र संस्कृतिको इतिहासमा अनुपम र उल्लेखनीय मानिन्छ । हुन त भगवान् सूर्यको उपासना र आराधना विश्वका सबै जातजाति, वर्ग, समुदाय र धर्मसंस्कृतिमा हुने गरेको उदाहरण र संस्कृति पाउन सकिन्छ । तर छठ पर्वमा बाहेक अस्ताउँदो सूर्यको उपासना र अर्चना गर्ने परिपाटी संसारका कुनै परम्परामा पाउन सकिन्न । यस महापर्वमा सुरुमा अस्ताचलमा डुब्दो सूर्यको पूजा गरिन्छ, अनि रातभरि जाग्राम बसी पुनः भोलिपल्ट बिहान उदयाचलमा देखिने सूर्यको पूजा गर्ने गरिन्छ ।

पूर्वको जापानदेखि प्राचीन ग्रीसेली–युनानी सभ्यतामा समेत सूर्यको पूजा र उपासना गर्ने पद्धति रहेको देखिन्छ । उदाउँदो सूर्यको देश जापानका नागरिक आफूलाई सूर्यपुत्र मान्ने गर्दछन् । त्यस्तै युनानी संस्कृतिमा हिलियसका नामबाट सूर्यको उपासना गर्ने प्रचलन छ । सनातन हिन्दू परम्परामा त वैदिक कालदेखि नै सूर्यको उपासनाको महनीय परम्परा विद्यमान रहेको छ । भारतवर्षमा सूर्य देवताका मन्दिर निर्माणको समयावधि ईश्वीको पहिलो शताब्दी मानिन्छ । भारतको अहिलेको विहार र झारखण्डको भूभागलाई पुरानो समयमा मगध देश भनिन्थ्यो । यसको राजधानी पाटलीपुत्र (अहिलेको पटना) थियो । त्यहाँ बसोबास गर्ने पहिलो समुदाय पारस देश (अहिलेको इरान) बाट आएका मग जातिका मानिसहरू थिए । यिनै मग जातिले मागधी सभ्यताको विकास गरे र सूर्योपासनाको परम्परालाई विकास गरे भन्ने संस्कृतिविद्को धारणा छ । विद्वान् चाणक्यको कर्मभूमि पनि यही मगध देश हो । वस्तुतः पतीत पावनी गंगाको सिञ्चन क्षेत्रबाट यस व्रतलाई सम्पादन गर्ने परम्पराको सुरुवात भएको हो र  नेपालको मिथिलाञ्चल क्षेत्र अर्थात् जनकपुर अञ्चल र त्यसभन्दा पूर्वको तराइका केही गाउँहरू तथा भारतको उत्तरी विहार र पूर्वी उत्तरप्रदेशका गाउँहरूमा मनाइने यो पर्वले अहिले आफ्नो आयाम विश्वका कुनाकुनासम्म पुर्याइसकेको देखिन्छ । 

यस व्रतका बारेमा विभिन्न पौराणिक आख्यानहरू भेटिएका छन् । तीमध्ये देवीभागवत महापुराणको एउटा कथा यस्तो छ । स्वायम्भुव मनुका पुत्र राजा प्रियव्रत सुरुमा सन्तति सुखबाट वञ्चित थिए । उनका कुनै सन्तान थिएनन् । विवाह भएको लामो समयपछि उनले गर्भमा नै मरेको एउटा छोरो जन्माए । बल्लबल्ल जन्मिएको छोरो जन्मँदै मृत रहेको थाहा पाएपछि राजा शोकमग्न भई नवजात शिशुको शव बोकेर श्मशान घाटमा पुगे र विलाप गर्न थाले । एउटी सुन्दरी स्त्रीले राजाले डाँको छोडेर रोएको र विलाप गर्दै गरेको देखिन् । उनी ब्रह्माकी मानसपुत्री देवसेना थिइन् । उनको विवाह शिवपार्वतीका पुत्र भगवान् स्कन्दकुमार कार्तिकेयसँग भएको थियो । उनी मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी थिइन् । त्यसैले तिनलाई षष्टिका देवी पनि भनिन्थ्यो । उनले राजा प्रियव्रतको वृत्तान्त थाहा पाइन् र राजालाई आफ्नो परिचयका साथमा सम्झाइबुझाई गरी त्यस मृतशिशुलाई जीवित तुल्याएर ब्युँझाई दिईन् र अन्तर्धान भईन् । संयोगले यो घटना शुक्ल पक्षको षष्ठी तिथिका दिन घटेको थियो, त्यसैले यसै दिनबाट षष्टिका देवीको आराधना गर्न थालिएको जनविश्वास छ । कालान्तरमा यही पर्व छठी पर्वका रूपमा प्रख्यात भएको हो ।

छठ पर्वसँग जोडिएको अर्को कथा सूर्य पुराणमा उल्लेख गरिएको छ, जसमा सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र प्रतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको मान्ने चलन पनि छ । त्यस्तै सातौँ शताब्दीमा सरापबाट पीडित संस्कृत भाषाका प्रसिद्ध कवि मयूर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेको प्रसंगलाई पनि छठ पूजासँगै जोडिएको पाइन्छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्बले सूर्यको आराधना गरे र रोगमुक्त भए भन्ने चर्चा छ । त्यस्तै महाभारतमा पनि सूर्यपूजाको प्रसङ्ग छ, जसबमोजिम द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी उनीहरूले सूर्यदेवको आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरूले मिथिला क्षेत्रकै किराँत प्रान्तमा बसोबास गरेको उल्लेख छ ।

छठ पर्व मनाउनुको पृष्ठभूमिभित्र धार्मिक मान्यताका साथै वैज्ञानिक र ज्योतिषीय धारणासमेत रहेको देखिन्छ । वैज्ञानिक, ज्योतिषी र चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको प्रमाण भेटिन्छ । संसारका सम्पूर्ण भौतिक विकासमा सूर्यको ऊर्जा र शक्तिको ठूलो योगदान छ । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणद्वारा गरिने चिकित्सा पद्धतिका बारेमा कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । कैंयौ असाध्य तथा दुरुह रोगको आश्चर्यजनक उपचारसमेत सूर्यको विकिरण र प्रकाशबाट भएको छ । त्यसैले पनि छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति माइन्छ भन्ने जनविश्वास रहेको हो ।

चार दिनसम्म मनाइने यस पर्वमा अत्यन्त आस्था, निष्ठा र पवित्रतालाई आचरण गरिन्छ । यद्यपि यस पर्वमा चाहिने भाँडाकुँडा र चिजबिज आदिको बन्दोवस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । यस पर्वमा चढाइने प्रसादलाई सम्भव भएसम्म समूह, झुत्तो र झुप्पाका रूपमा तैयार गरिन्छ । यस पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न हुने र व्रतालुका घरपरिवार लगायत कुटुम्बमा समेत भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा चढाइने पदार्थको सङख्या ७० पुर्याउनुपर्छ । यद्यपि चढाउने सामर्थ्य नभएकाहरूले ‘गम्हरी’ धानको चामलमात्र चढाए पनि सूर्य देवता प्रसन्न हुन्छन् भन्ने मान्यता छ । यसमा जसले सामर्थ्य र असक्षमताका कारण व्रत बस्न सक्दैनन् तिनले पनि प्रतिनिधिका माध्यमबाट व्रतसम्पादन गराउन सक्ने प्रावधान छ । आर्थिकरूपले अभावग्रस्त मानिसहरूले भिक्षा मागेर भए पनि यो पर्व मनाउने गर्दछन् । प्रत्येक वर्षको कार्तिक शुक्ल चतुर्थीका दिन नङ, केस आदि काटी नुवाइधुवाइ गरी व्रतालुले यस व्रतको सुरुवात गर्ने चलन छ  । पहिलो दिन चतुर्थीको दिनलाई ‘अरवा–अरबाइन’ वा 'नहानखान' भन्ने गरिएको छ । व्रतालुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर आदि वस्तुको परित्याग गर्नुपर्दछ । पञ्चमी तिथि (दोस्रो दिन)लाई खरना (पापको क्षय) भनिन्छ । गाईको गोबरले लिपपोत गरी आफ्नो घरआँगन सफा बनाई अरबा चामलको पिठोबाट तयार पारिएको झोलले रेखी र चित्रका माध्यमले वरिपरि सिंगारेर चिटिक्क बनाइन्छ र व्रतालुले यो दिन दिनभरि अन्नपानी केही पनि नखाई निर्जला व्रत बस्छन् अनि बेलुका घाम डुबेपछि तर चन्द्रमा अस्ताउनु अघि नै पुनः स्नान गरी सक्खर र दूधमा पकाइएको गम्हरी धानको खिर र रोटी पकाएर चन्द्रमालाई अर्पण गरी प्रसाद ग्रहण गरी त्यस दिनको कर्मसमापन गर्ने गर्दछन् । तेस्रो दिन अर्थात् षष्ठीका दिन विशेष दिन हुन्छ । यस दिन नदी, तलाउ, पोखरी वा कुनै जलाशयको घाटमा मण्डप बनाई आफूले तैयार बनाएका विभिन्न खाद्य परिकार, फलफूल र प्रसाद फिंजाएर सजाइन्छ र पानीमा आधा शरीर डुबाई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ तथा व्रतालु र घरपरिवारका सबैले जाग्राम गर्दछन् । यस दिन बिहान गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामाग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुरुवा, खजुरी, पेरुकिया तथा मुला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती आदि ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरूका साथमा व्रतालुहरू विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्दछन् । परिकारहरू जलाशयका किनारमा राख्नुअघि त्यसठाउँ र पूजा सामाग्रीलाई व्रतालुले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतालुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतालुले दुवै हत्केलामा ‘पिठार’ र सिन्दुर लगाएर अक्षता र फूल हालेर अन्य अर्घ्यसामाग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । कार्तिक शुक्ल पक्षको सप्तमी छठपर्वको अन्तिम दिन हो । यस दिन पुनः उदाउँदो सूर्यको पूजापछि यस पर्वको समापन हुन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन सूर्यलाई अर्घ्य दिन्छन् । प्रातःकालीन अर्घ्यमा दीप मालाले सजिएको जलाशयमा अपूर्व दृश्य र अनुभूति जागृत हुन्छ । अर्घ्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतालुले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । त्यस कथामा एउटी सासू र बुहारीको सम्बन्धबारे चर्चा गरिएको छ । सासू दुष्ट र कन्जुस प्रवृत्तिकी थिइन् । कन्जुस्याईंले गर्दा सासूले उखुको एक टुक्रा पनि बुहारीलाई खान दिन्नन्, फलस्वरूप उनलाई कुष्ठरोग हुन्छ, तर बुहारीले सबैलाई उखु खान दिन्छिन्, त्यसैले उसको घरभरि सुनैसुन हुन्छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र नेपालमा विविध जातजाति, वेषभूषा, रीतिरिवाज, धर्म, संस्कृति, रहनसहन र परम्पराहरू रहेका छन् । त्यसैले यहाँ असंख्य चाडपर्वहरू मनाइने गरिन्छन् । यी चाडपर्वहरूमा विशेष गरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वको महत्वपूर्ण स्थान छ । छठ पर्व धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव एवं एकता बढाउने विशिष्ट पर्व हो ।

Sep 30, 2017

जितीया पर्व (सन्ततिको भविष्यका लागि आमाहरूले पानी पनि नखाई लिइने व्रत) - JITIYA FESTIVAL


समग्र मिथिलाञ्चल प्रदेशमा मनाइने विशिष्ट पर्व हो 'जितिया पर्व' । यो पर्व चान्द्रगणनामा आधारित पात्रोअनुसार भाद्र शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) देखि आश्विन कृष्णपक्षको नवमी (मातृनवमी) सम्मको दस दिनसम्म धूमधामका साथमा मनाइन्छ । हिजोआज संक्षिप्तीकरण गरेर आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म तीन दिन मनाउने गरिएको देखिन्छ । यद्यपि यस पर्वको मुख्य दिन चाहिं आश्विन कृष्ण पक्षको अष्टमी तिथि हो, जुन दिनलाई जितिया भन्ने गरिन्छ । परिवारमा सुखसम्मृद्धिको कामना गरी मनाइने यस पर्वमा मूलतः सन्ततिको सुस्वास्थ्य, दीर्घायु र समुन्नतिको कामना गरी व्रतसम्पादन गर्ने प्रचलन छ । नेपालका पहाडे मूलका आर्यहरूले तीजको व्रत सम्पादन गर्दा जुन विधि र परम्पराको पालना गर्दछन्, त्यस्तै यस पर्वमा पनि माइती पक्षले साता/दस दिनअघि नै चेलीबेटीलाई निमन्त्रणा गर्ने, मिठोमसिनो बनाएर खुवाउने, पानीसमेत नखाई व्रत लिने र व्रतमा अटल सौभाग्य, सन्ततिको सुखसम्मृद्धि आदिको कामना गर्ने प्रचलन छ । हिन्दू धर्मावलम्बीहरूले उपवास गर्ने पर्वहरूमा सबैभन्दा बढी समयसम्म उपवासमा बस्नुपर्ने र सो अवधिमा थुक पनि निल्न नपाउने कडा बन्देजका कारण यो पर्वलाई सबैभन्दा कठोर पर्वका रुपमा पनि चित्रण गरिएको पाइन्छ ।

१. परिचय

जितिया पौराणिक पात्र जीमूतवाहनसँग जोडिएको पर्व हो । यो पर्व नेपालको दक्षिणी भूभाग र भारतको गङ्गावारिको उत्तरी विहारको भूभागमा फैलिएको मिथिला प्रदेशमा आस्था, श्रद्धा र विश्वासका साथ भक्तिभावपूर्वक मनाउने गरिन्छ । यस पर्वमा विशेषतः एउटी आमाले आफ्नो पुत्रको आरोग्य र सम्मृद्धिका लागि ब्रत बस्ने र पूजा गर्ने परम्परा छ । यस दिन सन्ततिसुख प्राप्त गर्न नसकेका वा पुत्रसन्तानको आकाङ्क्षा राख्ने स्त्रीहरूले पुत्रप्राप्तिका लागि पनि पूजा गर्ने र व्रत लिने गर्दछन् । जितिया पर्वमा थारु चेलीले सूर्यलाई जितवहान बाबाको नामले पूजा गर्ने गर्दछन् । जितिया पर्वमा व्रतसम्पादन र पूजाआजा गर्नाले आफ्ना सन्तानहरूले सधैं विजय प्राप्त गर्ने र जीवनसङ्घर्षका विविध आयाममा उनीहरूले सफलताको शिखर चुम्ने विश्वास गरिन्छ । यस व्रतको प्रभावले एकातिर सन्ततिले विजय र उच्च सफलता प्राप्त गर्दछन् भने अर्कोतिर पतिले आरोग्यरहित दीर्घ जीवन प्राप्त गर्दछन् भन्ने सामाजिक मान्यता पनि छ । विशेषतः पूर्वी नेपालको थारु समुदायमा विवाह भई पराइ घरमा पुगेका चेलीबेटीलाई माइती पक्षले निमन्त्रणा गरी यस पर्वको अवसरमा बोलाउने प्रचलन छ । त्यसैले यो पर्व माइती पक्ष र विवाह भई परगृहमा पुगेकी छोरीले एकआपसमा भेटघाट गरी सुखदुःख साट्ने तथा वर्षदिनदेखि टाढा रहेका आफन्तहरूलाई भेटघाट गराउने मिलनबिन्दु हो भन्न सकिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुटाउँछ ।

२. इतिहास र परम्परा

जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि चल्यो भन्ने कुरामा यकिन छैन । तथापि थारु समाजमा यसको प्रचलन परापूर्वकालदेखि रहँदैआएको देखिन्छ । यसको इतिहास खोतल्दै जाँदा पौराणिक पात्र जीमूतवाहनसँग यस पर्वको सम्बन्ध जोडिन पुग्छ । भविष्य पुराणमा उल्लेख गरिएको छ, एकपल्ट पार्वतीले महादेवसमक्ष यस्तो कुन व्रत वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुँदैन भनी जिज्ञासा राख्नुभएको थियो । यस विषयमा महादेवले जीमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराउनुभएको सो पुराणमा उल्लेख गरिएको छ । जीमूतवाहन गन्धर्व राजकुमार थिए । यिनी उदार र परोपकारी थिए । यिनका पिताले वृद्धावस्थामा वानप्रस्थ आश्रममा प्रस्थान गर्नुअघि यिनलाई राजसिंहासनमा बसाले, तर यिनी राजकाजमा चासो दिंदैनथे । अन्त्यमा यिनले पनि राज्यभार आफ्ना भाइहरूलाई सुम्पिएर स्वयं वनमा पिताको सेवा गर्न गए । वनमा नै यिनको मलयवती नामकी राजकन्यासित विवाह भयो । एक दिन शिकार खेल्दाखेल्दै यिनी वनको मध्यभागमा पुगे । त्यहाँ यिनले एउटा दृश्य देखे, एउटा पाकरीको रुखको फेदमा बसेर एउटी वृद्धा विलाप गरिरहेकी थिइन् । जीमूतवाहनले सोधीखोजी गरेपछि ती बृद्धाले भनिन् – म नागवंशकी स्त्री हूं र मेरो एउटा मात्र छोरो छ । पक्षिराज गरुडसित नागहरूले प्रत्येक दिन तिनको आहाराका निमित्त आफूहरूमध्येबाट एउटा नाग समर्पण गर्ने प्रतिज्ञा गरेका छन् । आज मेरो छोरो शंखचूडको पालो छ र नागहरूले मेरो पुत्रलाई गरुडको आहारा बन्न बधशीलामा लिएर जानेछन् । म पुत्रविहीन हुने भएँ र बिलखबन्दमा परेर यहाँ विलाप गरेर बसेकी हुँ । बृद्धाका त्यस्ता कुरा सुनेर जीमूतवाहनलाई दया लाग्यो । तिनले बुढीआमैलाई आश्वस्त तुल्याउँदै भने – आमै नडराऊ, म तिम्रो छोरालाई बचाउने प्रयास गर्ने छु । आज तिम्रो छोराले लगाउने गरेको रातो कपडाले ढाकेर मलाई बधशीलामा लडाइ दिनू । यति भनेपछि जीमूतवाहनले शंखचूडको रातो लुगा पहिरिए र गरुडलाई आहारा सुम्पिने गरेको शीलामा गएर सुते । सधैंको समयमा आफ्नो आहारा प्राप्तिका लागि आकाशमार्गबाट वेगपूर्वक गरूड आए र रातो कपडामा बेरिएका जीमूतवाहनलाई आफ्ना पञ्जाले अँट्ठ्याएर कुनै एउटा पहाडको शिखरमा गएर बिसाए । आफ्ना पञ्जामा परेको प्राणिको आँखामा आँसु र मुखमा सधैंजस्तो चित्कार नसुनेपछि गरूडलाई आश्चर्य लाग्यो । त्यसपछि उनलाई आफ्नो शिकारसँग कुरा गर्न मन लाग्यो । उनले परिचय बताउन भने । जीमूतवाहनले सविस्तार आफ्नो परिचय बताए । वनमा बृद्धाको विलाप सुनेर उनको छोरोको सट्टामा आफूलाई बलि दिन तैयार भएको प्रसंगसमेत सुनाए । गरुडजी यिनको बहादुरी, त्याग र परोपकारी स्वभावबाट असाध्यै प्रभावित भए । गरुडले यिनलाई जीवनदान दिनुका साथै अबउप्रान्त नागहरूको बध नगर्ने प्रतिज्ञासमेत गरे । यसरी जीमूतवाहनको अदम्य साहसका कारण नाग जातिको रक्षा भयो र त्यसपछि आआफ्ना पुत्रको सुरक्षाका निमित्त जीमूतवाहनको पूजाको प्रथा सूरु भएको इतिहास प्राप्त हुन्छ ।

हिजोआज जितिया पर्व मनाउने क्रममा विभिन्न उत्सव, मेला, सार्वजनिक कार्यक्रम पनि सम्पन्न हुने गरेका छन् । पहाडे समुदायमा एक महिनाअघिदेखि नै दर खुवाउने विकृति भित्रिएसँगै झापा, मोरङ, सुनसरी र सप्तरीलगायत तराईका सहरी क्षेत्रमा सामूहिक रुपमा ओटघन (दर) खुवाउने कार्यक्रम व्यापक रुपमा देखिन थालेको छ । यो पर्व थारुसमुदायमा मात्र सीमित छैन । हिजोआज दनुवार र अन्य मधेसीमूलका चेलीबेटीले पनि यस पर्वलाई मनाउन सुरु गरेका छन् । तराईका मूल बासिन्दा थारुहरूको यस महान् पर्वले थारु समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउँदै लगेको देखिन्छ । यो पर्व पूर्वीया थारुहरूले मात्र मनाउँछन् । कपिलवस्तुदेखि पूर्व झापासम्मका थारुले धुमधामका साथ मनाउने गरेको यो पर्वलाई पश्चिमका दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुरका थारुले मनाएको देखिंदैन । पश्चिमका थारुहरू जितियाको सट्टा अतवारी र अष्टिम्की पर्व मनाउँछन् । अतबारी र अष्टिम्की पर्वमा पनि व्रत बस्ने चलन छ र चेलीबेटीलाई उपहार दिएर मनाउने गरिएको पाइन्छ ।

३. व्रतको विधिविधान

यो व्रत सामान्यतया भाद्र शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) देखि नै प्रारम्भ भएको मानिन्छ । यद्यपि यस पर्वको विशेष कृत्य भनेको आश्विन कृष्ण सप्तमीका दिनदेखि सुरु हुन्छ । सप्तमीका दिन मिठोमसिनो खाएर यसको कृत्य प्रारम्भ हुन्छ । आश्विन कृष्ण अष्टमी तिथिको दिन मुख्य व्रतको दिन हुन्छ । व्रतको दिन कुशको मूर्ति बनाएर जीमूतवाहनको पूजा गर्ने चलन छ । सो क्रममा कुशको मूर्ति कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पाकरीको रुखको हाँगा गाड्नुपर्दछ । त्यसपछि, हाँगामाथि चिलको आकृति र सोमुनि एउटा पोथी स्यालको आकृति बनाएर विधिपूर्वक पूजा गर्ने गरिन्छ । यस पर्वको खास महत्वका रुपमा जितिया पर्वको कथालाई पनि लिइन्छ । टोल–टोलका व्रतालु र अन्य महिलाहरू एकै ठाउँमा भेला भएर बडो रुचि र श्रद्धाका साथमा कथा श्रवण गर्ने प्रचलन छ । यो व्रतमा नियम र निष्ठाको ठूलो महत्त्व छ । त्यस्तै यस पर्वलाई खण्डित गर्न नहुने मान्यता पनि छ । यसरी विधिपूर्वक नियमनिष्ठाका साथ व्रत गर्नाले बाँचुन्जेलसम्म माताहरूले सन्तानको सुखसम्मृद्धि, उन्नतिप्रगति र दीर्घायुष्य प्राप्त गर्ने विश्वास गरिन्छ । नेपालमा मैथिली र थारु समुदायमा विशेष प्रचलित यो व्रतलाई कठोर व्रतको रूपमा लिइएको पाइन्छ । यो पर्वको मुख्य समय आश्विन कृष्ण सप्तमीका दिन सुरु हुन्छ । सप्तमीको दिनलाई नहाय खाय भनिन्छ र यसै दिन बेलुका ओटघन (दर खाने काम) हुन्छ । यो व्रतको पहिलो दिन हो । अति नियमनिष्ठाका साथ मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूले पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जीमूतवाहन देउताको व्रतको सङ्कल्प गर्नुपर्ने हुन्छ । यसै दिन व्रतालु मैथिल ब्राह्मणीले आ–आफ्ना सन्तानको दीर्घायुका साथै दिवङ्गत सासू र आमाको मोक्षप्राप्तिका लागि अन्य गोत्रकी सधवा ब्राह्मणीलाई निम्तो दिई भोजन गराउँछन् । भोजन गर्ने ब्राह्मणीलाई पितराइन भन्ने गरिन्छ । त्यसपछि, सोही दिन सधवा व्रतालु महिलाले कोदोको रोटी साथै माछा र विधुवाहरू अरूवा अरूवाइन खाने गर्छन् । अन्य पर्वमा नहाय खाएपछि चोखो खाने कुरा खाने चलन रहे पनि यस पर्वमा माछा र कोदोको रोटी खाने चलन छ । माछमरुवा गरेकी श्रद्धालु स्त्रीले भोलिपल्ट अष्टमीका दिन विहान काग कराउनुअघि नै भगवान् जीमूतवाहनको पूजा गर्नु पर्दछ । त्यसपछि आफ्ना स्वर्गीय आमा, सासुलगायतका महिला पितृहरूलाई प्रसाद चढाउनु पर्छ । पितृ पक्षमा पुरुष पितृहरूलाई तर्पण गरिन्छ तर स्वर्गीय महिलाहरूलाई प्रसाद चढाउने परम्परा जितिया पर्वमा रहिआएको देखिन्छ । ओटघन परेको दिनदेखि नै प्रारम्भ हुने जितिया व्रत आश्विन कृष्णपक्षको अष्टमी तिथिभरि निराहार रही सम्पादन गर्नुपर्ने र नवमी तिथिको प्रवेश भएपछि मात्र जितिया पर्व पूरा हुने नियम रहेको छ । व्रतको समय पूरा भएपछि एक अन्य गोत्रको ब्राह्मणलाई निम्तो दिएर भोजन गराएर मात्र व्रत पारण गरी व्रत लिने महिलाले आफूले भोजन गर्ने नियम रहेको छ । यस व्रतमा नारीहरूले कामधन्दा गर्नु हुँदैन भन्ने चलन छ । कुनै कारणले यो व्रत सम्पादन गर्दा त्रुटि हुन पुग्यो भने व्रतालु महिलाले आजीवन यो पर्व मान्न पाउँदैनन्, त्यसैले व्रतमा कुनै किसिमको विघ्न नरहोस् भन्नाका निमित्त महिलाले यो पर्वमा काम नगरेको भनाइ छ ।

४. जीमूतवाहनको पूजा

आश्विन कृष्ण अष्टमीका दिन व्रतालुहरूले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ्य अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिलाहरू एकठाउँमा भेला भएर एउटी व्रतालु महिलाका मुखबाट जीमूतवाहन व्रतको महत्त्व, पर्वको शुभारम्भ, जीमूतवाहन देउताका बारेमा कथाश्रवण गर्दछन् र सबैले कथा सुनेपछि आ–आफ्ना घर फर्किन्छन् । साँझमा आआफ्नो घरको आँगनलाई गाईको गोबरले लिपेर एउटा सानो खाल्डो खनी पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोको चिलको र हाँगामुनि स्यालको आकृति बनाइन्छ । त्यहाँ जलले भरिएको कलशमा कुशको जीमूतवाहनको मूर्ति राखिन्छ र हातमा फलफूल लिएर स्तुति गर्दै जीमूतवाहनको पूजा गरिन्छ ।

५. जितियामा ओटघन

जितिया पर्वको ओटघन भनेको एक किसिमको दर खाने कार्यक्रम हो । तर यो सजिलो भने छैन । यसमा पात्रोको गणनाको विशेष भूमिका हुन्छ । ओटघन सप्तमी तिथिको उत्तरार्द्धमा मनाउने चलन छ र सप्तमीको उत्तरार्द्ध अनिवार्य रूपमा मध्यरात्रीकालमा व्याप्त हुनुपर्दछ । मध्यरातमा सप्तमी तिथि परेमा मात्र ओटघनको संयोग बन्छ नत्र ओटघनको प्रक्रियाविना नै व्रत सुरु गर्नुपर्छ । त्यसैले कतिपय वर्षमा ओटघनको साइत जुर्दै जुर्दैन । यसरी ओटघनको साइत जुरेन भने जितियाको व्रतको अवधि अझ लम्बिने गर्दछ । तिथिको समयको हेरफेर भएर ओटघनको साइत परेन भने व्रतालुहरूले लगातार ३६ घन्टासम्म निराहार बस्नुपर्ने हुन्छ । ओटघन खाएर उठेपछि फेरि पानी वा केही खान पाइँदैन । ओटघनपछि व्रत शुभारम्भ भएको मानिन्छ । आश्विन कृष्ण सप्तमी तिथिको उत्तरार्द्धमा खासगरी मध्यरात्रिको समयमा व्रतालु महिलाका साथै परिवारका सम्पूर्ण सदस्यहरू सँगै बसेर दहीचिउरा, मिठाइ, फलफूललगायतका भोजन सामग्री खाने गर्दछन् । यसैलाई ‘ओटघन’ भनिन्छ । वर्षमा एक दिन मध्यरात्रिको समयमा मिष्ठान भोजन गर्न पाइने भएकाले बालबालिकाहरू ओटघनको व्यग्र प्रतीक्षामा रहेको देख्न पाइन्छ । अष्टमी तिथिभर उपवासमा बसेकी व्रतालुले नवमी तिथिका दिन अन्य गोत्रका कम्तीमा एकजना ब्राह्मणलाई भोजन गराई दानदक्षिणा अर्पण गर्नुपर्ने हुन्छ । ब्राह्मणले भोजन गरेपछि व्रतालुलाई अन्नजल ग्रहण गर्न आदेश नदिएसम्म व्रत सम्पन्न नभएको मानिन्छ ।

६. जितिया पर्व कथा

जितिया पर्वको मुख्य प्रसंग पौराणिक पात्र जीमूतवाहनसँग जोडिएको भए पनि यस पर्वका अवसरमा श्रुतिपरम्पराबाट प्राप्त भएका विभिन्न कथा र उपाख्यान सुनाएको देखिन्छ । ती उपाख्यानमध्ये बहुप्रचलित दुईवटा कथाले यस पर्वको महत्त्व र वैशिष्ट्यको उजागर गरेको पाइन्छ ।

एउटा किंवदन्ती अनुसार प्राचीनकालमा एक जना सारिबाहन (शालिवाहन ?) नामक राजाकी छोरी मसवासीले कुमारी अवस्थामै गर्भधारण गरेर एउटा बालकलाई जन्म दिन्छिन् । उक्त बालक निकै तीक्ष्णबुद्धिको हुन्छ र बलियो पनि हुन्छ । ऊ आफ्ना साथीहरूसँग कहिल्यै पराजित हुँदैन । कहिल्यै नहार्ने जित्नेमात्र भएकाले उसको नाम पनि जितुवा नै हुन्छ । उसले जताततै विजय प्राप्त गरेको र सफल मात्र भएको देखेर उसका साथीहरू उसको ईर्ष्या गर्न थाल्दछन् । अनि उसका साथीले सल्लाह गरेर उसलाई जसरी भए पनि हराउने योजना बनाउँदछन् । सल्लाहबमोजिम जितुवाका साथीहरूले उसलाई खेल्ने बहानामा एउटा पहाडको गुफामा लिएर जान्छन् र गुफाभित्र छिर्ने नियम बताउँछन् । तिनै साथीमध्ये एउटाले भन्छ, ल साथी हो यो गुफामा सबैले आआफ्नो आमाको नाम उच्चारण गर्दै प्रवेश गर्नुपर्दछ र आआफ्ना पिताको नाम उच्चारण गरी बाहिर निस्कनु पर्दछ । जो पहिला भित्र पसेर बाहिर निस्कन्छ, त्यसैले आजको खेल जित्नेछ । जितुवा प्रतिस्पर्द्धामा पछि हँट्दैनथ्यो, विचार नगरी आफ्नी आमाको नाम उच्चारण गर्दै भित्र पसिहाल्यो, तर बाबुको नाम त के उसले अनुहार नै देखेको थिएन, त्यसैले के भन्नु के भन्नु भएर अकमक्क परी गुफाभित्रै बसिरह्यो । सबै साथी आआफ्ना बाबुको नाम काढ्दै बाहिरिए । जीवनमा पहिलो पटक खेलमा जितुवाले हार्नु पर्यो । आफ्ना बाबुलाई नचिनेको, नाम थाहा नपाएको आदि कुरा सम्झिंदै खिन्न भएर जितुवा गुफाभित्र नै बसिरह्यो । सबै साथी घर गए । जितुवाकी आमाले साथीहरूलाई आफ्नो छोराका बारेमा जिज्ञासा राख्दा ऊ गुफामा पसेको र बाहिर ननिस्किएको विवरण उसका साथीहरूले सुनाए । यो कुराको जानकारी पाएपछि जितुवाकी आमा मसवासी गुफामा गएर उनको बाबुको नाम सूर्य भगवान् हो भनेर बताउँछिन र ऊ गुफाबाट बाहिर निस्कन्छ । आमाले बाबुको नाम सूर्य भगवान् बताए पनि उसलाई भने विश्वास लाग्दैन । आमालाई पुनः बाबुको नाम बताउन बारम्बार आग्रह गर्छ । बाबुको नाम सूर्य नै हो भनेपछि उसले आमालाई बाबु भेटाइदिन आग्रह गर्छ । तर आमाले बाबुलाई भेट्न जाँदा जलेर नष्ट भइन्छ भनेर बताए पनि जितुवा मान्दैन । ऊ आफ्नै जिद्दीले बाबुसँग भेट्न भनी घरबाट एक्लै निस्कन्छ । यसरी जितुवाले आमासँग जिद गरेको र बाबुको खोजीमा घरबाट बाहिरिएको कुरा सूर्यले चाल पाउँछन् र जितुवालाई भेट्न जोगीको भेषमा बाटोमा निस्कन्छन् । जितुवालाई तिमी कहाँ जाँदैछौं भनेर सोध्दा उसले बाबु सूर्यसँग भेट्न निस्केको जबाफ दिन्छ । तर सूर्य त आगोको झिल्को भएकाले जलेर नष्ट भइन्छ भन्दासमेत ऊ जोगीको कुरा नसुनी अगाडि बढ्छ । जोगीले म नै तिम्रो बुवा सूर्य भगवान हुँ भने पनि विश्वास गर्दैन, अनेक तरहले सूर्यले जितुवालाई सम्झाईबुझाई गर्दा पनि नमाने पछि उनले आफ्नो स्वरुपको दर्शन दिएर जितुवालाई विश्वस्त तुल्याउँछन् । त्यसपछि जितुवालाई तँ असाध्यै साहसी, पराक्रमी र उत्साही बालक भएको हुनाले संसारभरिका चेलीबेटीहरूले आश्विन महिनाको कृष्णपक्षको सप्तमीदेखि नवमी तिथिसम्म उपवास बसी तेरो पूजापाठ गरेमा तिनीहरूको सन्तानको विजय हुने, सर्वत्र सफलता हुने तथा दीर्घायु हुने वरदान दिएर सूर्य अन्तर्धान हुन्छन् र जितुवा घर फर्किएर आउँछ ।

जितिया पर्वसँग गाँसिएको अर्को कथा पनि छ । कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रूखको फेदमा एउटा स्याल बस्थ्यो र त्यही रुखको हाँगामा चिलको बसोबास थियो । ती दुबैको बीचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिलाहरू नर्मदा नदीमा स्नान गरी त्यही रूखको फेदमा बसेर जीमूतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गर्दै थिए । व्रतालु महिलाहरूको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत सम्पादन गर्ने इच्छा जागृत भयो । दुइटैले सल्लाह गरी व्रत लिने निधो गरे । उनीहरूले व्रत प्रारम्भ गरेपछि त्यसै रातमा नर्मदा नदीको किनारमा एकजना व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांश भाग जलेपछि छोडेर घर फर्के । उनीहरू फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिई मासु पनि खायो । त्यस मासुमध्ये केही मासु स्यालले भोलिपर्सीलाई पनि चाहिन्छ भनेर लुकाएर राख्यो । राखेको दृष्य चिलले पनि देख्यो । यसरी मासु लुकाएर राखेको देखे पनि चिललाई तिर्सना जागेन । व्रत पूर्ण गरेपछि मात्र आहारा लिने भन्ने कुरामा ऊ दृढ रह्यो र मासु खाएन । तर यसरी खाने कुराको लोभ गर्नाले गर्दा त्यस स्यालको व्रत भङ्ग भयो । आयु पूर्ण भएपछि ती दुबै मित्र चिल र स्यालको मृत्यु भयो । अर्को जन्ममा दुवैको जन्म भास्कर नामक ब्राह्मणका घरमा भयो । पूर्वजन्मको चिल ब्राह्मणकी जेठी छोरी शीलावती र स्याल ब्राह्मणकी कान्छी छोरी कर्पूरावतीका रूपमा जन्मन पुगे । जेठी शीलावतीको विवाह धनमानको घरमा र कान्छी कर्पूरावतीको विवाह राजाका घरमा भयो । शीलावतीका सात भाइ छोरा जन्मिए तर महारानी भएकी कर्पूरावतीको एउटा छोरो जन्मियो, त्यो छोरो पनि अल्पायुमा नै दिवङ्गत भयो । वर्षौसम्म दिदीबहिनीको सम्बन्ध हुन सकेको थिएन । कुनै दिन कालान्तरमा दिदीबहिनीको भेट हुँदा दिदी शीलावतीले आफ्नी बहिनीलाई पूर्वजन्मको घटना स्मरण गराउँदै अघिल्लो जन्ममा व्रत भङ्ग गरेको हुनाले यस जन्ममा उनको सन्तानको मृत्यु भएको बताइन् । दिदीबाट समस्त वृत्तान्त थाहा पाएपछि बहिनी कर्पूरावतीले जीमूतवाहनको विधिवत् व्रत लिइन् । त्यस व्रतको प्रभावले उनका प्रशस्त सन्तति भए र सुखसम्मृद्धिका साथ बाँकी जीवन बिताइन् । त्यसै कारणले यो व्रत जति कठोर भए पनि व्रतलाई कसैले खण्डित गर्न चाँहदैनन् ।

Sep 25, 2017

चेपाङ जनजाति र चोनाम पर्व

प्रायशः खोलाको शिर र जंगलको पुछारमा वस्ने चेपाङ जातिलाई प्रजा जाति पनि भनिन्छ । नेपालको मध्यपहाडी क्षेत्रका चितवन, धादिङ, मकवानपुर र गोरखा जिल्लाका विकट पहाडी भेगमा सघन रूपमा बसोबास गर्ने चेपाङ (प्रजा) जाति आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले पिछडिएको जाति हो । राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ/प्रजा जातिको जनसंख्या ६८ हजार ३ सय ९९ जना रहेको छ । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास देखिन्छ । चेपाङ समुदायको परम्परागत बासस्थान भीरपहराका ओडारहरू हुन्, विश्वसमुदाय एक्काईसौं शताब्दीका आधुनिक प्रविधि र सुखसुविधालाई उपभोग गर्दछ, तर अहिले पनि चेपाङ जातिका एकाध परिवार ओडारमै बसेर जीवन धानिरहेका छन् । चेपाङ बसोबास गर्ने क्षेत्रमा प्रायशः भिरालो ठाउँ, पाखो बारी, नजिकै जंगल र भीरपहरा, आसपासमा ससाना झुपडी भएको बस्ती हुने गर्दछ । थोरै अन्न उत्पादन हुने भएकाले वर्षमा चार महिना पनि आफ्नो उत्पादनले यिनीहरूको परिवार धानिदैंन । त्यसैले बाँकी समय यिनीहरू वनजंगलबाट कन्दमूल, वनस्पति, फलफूल सङ्ग्रह गरी जीविकोपार्जन गर्छन् । जङ्गलमा फिरन्ते जीवन बिताउनु, माछा मार्नु र शिकार खेल्नु यिनीहरूको दिनचर्या हो । गिठ्ठा, भ्याकुर, चित्राफुंगा, चिउरी आदि वनजङ्लमा प्राप्त हुने खाद्यसामाग्रीबाट यिनीहरूको छाक टर्छ । चेपाङ बस्तीमा कमसल पाखो खोरिया जमिन रहेको देखिन्छ भने जमिनमा पर्याप्त उब्जनी नहुनु एवं शुद्ध खानेपानीको अभाव रहनु यिनका आम समस्या हुन् । अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरबहुत आम्दानीले गुजारा चलाउनु पर्छ । पहिला जग्गा नापी दर्ता हुँदा सरकारी कर लाग्ने डरले आधाभन्दा बढी चेपाङहरूले आफूले कमाउँदै आएको जग्गा पनि आफ्नो नाममा दर्ता नगरेको कारण आधाभन्दा बढीसँग जग्गाधनी प्रमाणपूर्जा पनि छैन ।


चेपाङ संस्कृति
चितवन र धादिङको सिमानामा रहेको कान्द्राङगढी र चितवनको उपप्रधाङगढी चेपाङ वंशको ऐतिहासिक थलो रहेको 'चेपाङ जातिको चिनारी' (२०६७) पुस्तकमा उल्लेख छ । चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । भूमिसँग अति निकट सम्बन्ध रहेको चेपाङ जातिभित्र माटोको बनोटको आधारमा उनीहरूको थर, उपथरहरूको वर्गीकरण भएको पाइन्छ । उनीहरूको मूलथलो, गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै रहेका छन् । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ ।  चेपाङ समुदायमा नयाँ घर बनाउन घडेरीको माटो सुब्बे/फाब्बे हुने र नहुने हेर्ने काम पान्दे (चेपाङ पुरोहित) ले गर्छ । उनै पान्देले घरको मूलखम्बा कुलदेवता पुज्ने गर्छन् । जन्मदेखि न्वारन, पास्नी, छेवर, विवाहदेखि मरणसम्मको कार्यमा उनै पान्देको मुख्य भूमिका रहन्छ । चेपाङको लिखित वंशावली नभए पनि ७० भन्दा बढी थर र उपथरहरू छन् । ती थरहरू भूमिबाट उत्पत्ति भएको आधार, बसाइँ/सराइ, व्यवसाय, वैवाहिक सम्बन्ध, कामकाज आदिका आधारमा बनेका छन् । चेपाङहरू मूलतः प्रकृतिपूजक हुन्, परम्परादेखि नै हिन्दू र बौद्ध धर्मको मिश्रित प्रभावमा रहेको देखिन्छ, यद्यपि गरीबी र अशिक्षाको फाइदा बटुल्दै क्रिश्चियनहरुले यो जातीमा पनि धर्म परिवर्तनको रोगले सङ्क्रमण गरिसकेको पाइन्छ ।

चेपाङहरूको दशैं : चोनाम पर्व
भदौ महिनाको पूर्णिमाको दिन चेपाङ जातिको विशेष महत्त्वको दिन हो । यस दिनलाई यिनीहरू मुख्य चाडका रूपमा मनाउँछन् । आफ्ना पाखापखेरा र भिरालो जमिनमा उत्पादन भएका नयाँनयाँ अन्नपात जम्मा पारी यस दिन न्वाँगी खाने गर्दछन् । यस पर्वलाई चेपाङहरू चोनाम (छोनाम) भन्ने गर्दछन् । चोनामका दिन घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ । छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । मकै, धान, पिडालु, घिरौला तथा विभिन्न अमिलो फलफुलहरु र घरमा पालेका कुखुराको मासु चोनामको दिनका मुख्य खानेकुरा हुन् । 

Sep 11, 2017

आज दर खाने दिन

कुनै पनि देशको सभ्यता र संस्कृतिको निर्माण तथा विकासमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । आर्यसंस्कृतिमा जगद्धात्री, आद्याशक्ति, मातृत्व, स्रष्टत्वरूपा गृहलक्ष्मी महिलाहरूले आफ्नो त्याग, तप, नियम, पातिव्रत्य आदिको प्रभावले अभीष्ट वरलाई मात्र वरण गरेका छैनन्, अपितु मृत पतिलाई जीवित र स्वर्गच्युत भएका पतिलाई पनि पुनः स्वर्गमा प्रतिष्ठित गराएका छन् ।

दीनहीन पतिकुलमा विवाहित भए पनि आफ्नो शील, सौजन्य, उदारता र सहनशीलताले पतिलाई परमेश्वर र घरलाई स्वर्ग बनाएर धनधान्य र सुखसम्मृद्धिको वर्षा गराएका छन् । त्यसैले हाम्रा ईश्वर पनि अर्द्धनारीश्वर छन् भने नारीहरूले पतिलाई नै परमेश्वर मानेका छन् । तसर्थ आफ्ना अभिन्न अङ्ग, जीवनसाथी, पतिपरमेश्वरका साथमा सदासर्वदा रही सौभाग्यवती बन्ने विवाहिता महिलाहरूको मनोरथ हुन्छ भने कन्याकेटीहरूको मनोकामना इच्छित पतिपरमेश्वर पाउनु रहेको हुन्छ । अतएव कन्याकेटी र सौभाग्यवती महिलाहरूको मनोवाञ्छा पूर्ण गर्ने चाडपर्वहरूमा तीज पर्व अग्रगण्य हुन गएको छ । हाम्रो परम्परामा प्रत्येक वर्षको भाद्र महिनाको शुक्लपक्षको तृतीया तिथिका दिन हरितालिका व्रत अथवा तीज पर्व मनाउने गरिन्छ । वस्तुतः तीज पर्व भगवती पार्वतीको व्रत हो । अतएव यस दिनमा आर्यसंस्कृतिका आदर्श दम्पती शिवपार्वतीको शास्त्रविधिअनुसार पार्थिवपूजन, पुराणकथा, कीर्तन आदि गरी आआफ्नो सफल दाम्पत्य जीवनको कामना गरिन्छ । यसको महात्म्यलाई पार्वतीकै अनुरोधमा शिवजीले यसरी सुनाउनु भएको छ –
नक्षत्रहरूमा चन्द्रमा, ग्रहहरूमा सूर्य र नदीहरूमा गङ्गा, इन्द्रियहरूमा मन र पुराणहरूमा महाभारत श्रेष्ठ भए झैं व्रतहरूमा सर्वश्रेष्ठ रहेको तीज व्रतले सम्पूर्ण दुःख नाश गरी अचल सौभाग्य दिई मोक्षपद प्रदान गर्दछ । यसको व्रत लिन नसकेपनि व्रतकथा मात्र सुन्न पाउँदा समेत अश्वमेध यज्ञ गरेबराबर फल पाइन्छ । 

भविष्योत्तरपुराणअनुसार पतिरूपमा लक्षित शिवजीलाई पाउन हावा, पात आदि खाएर कठोर तपस्यामा प्रवृत्त पार्वतीलाई नारदले विष्णुका लागि माग्दा पार्वतीका पिता हिमवानले स्वीकृति दिएकोमा दुःखित पार्वतीलाई सखीहरूले भगाएर (हरण गरी) वनान्तरमा लगे । यसरी पार्वती अलि अर्थात् सखीहरूद्वारा हरित अर्थात् हरण गरिएकी हुँदा यस पर्वलाई हरितालिका पनि भनिएको पाइन्छ । पार्वतीले भाद्र शुक्ल तृतीयाको यसै दिनमा बालुवाको शिवमूर्ति बनाएर पुज्दा प्रसन्न शिवजी प्रकट भई आफूलाई पार्वतीपतिका रूपमा वरदान दिए । यसरी तीज व्रतले गर्दा नै पार्वतीको विवाह शिवजीसँग भएको तथा शिवपार्वतीको दाम्पत्यजीवन मङ्गलमय, सुखमय र सुमधुर रहेबाट पनि तीजको महत्त्व स्पष्ट भएको छ । 

यस पटक तीजको यो महाव्रत भोलि २०७५ साल भाद्र २७ गते बुधबारका दिन परेको छ । व्रत लिने सनातन धर्मावलम्बी नेपाली महिलाहरूले खासगरी खिर, ढकनी जस्ता दुग्धजन्य विभिन्न परिकार तथा मिठाईसमेत तैयार पारेर व्रतभन्दा अघिल्लो दिन द्वितीयाको बेलुका अर्थात् आज दर (विशेष दरिला परिकार) खाने प्रचलन छ । तीजको दिन महिलाहरू दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । टाढा टाढा रहेका चेलीहरू शनिबार माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन् । दर खाने दिनबाट तीज सुरू भएको मानिन्छ ।

पतिगृहमा सासुको बुहार्तनबाट शरीर क्षीण भएका छोरीचेलीलाई माइतघरमा बोलाएर एक छाक भए पनि मिठोमसिनो र पौष्टिक चिजबीज खुवाएर भोलिपल्ट पर्ने तीजको निराहार व्रतका निमित्त दरो बनाउने उद्देश्यले दर खुवाउने चलन चलेको हो । सूचना र सञ्चारसम्पर्कभन्दा टाढा रहेका दिदीबहिनीलाई दाजुभाइ गएर उनका सासुससुरा र पतिसित बिन्तीभाउ गरी माइतघरमा लिइआउने गर्दथे र दरखाने राती परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर दुःखसुखका कुराकानी गर्दै दर खाने गर्दथे । अहिले परिवेश फेरिएको छ, हिजोका बुहारीहरू झैं अहिलेका चेलीबेटीले बुहार्तन खेप्नु पनि पर्दैन र भलाकुसारी गर्न तीज कहिले आउँछ भनी कुर्नु पनि पर्दैन । त्यसैले होला, परम्परामा पहिलेपहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि हिजोआज खासगरी सहरबजारमा  आलोपालो गरी पहिलेदेखिनै दर खाने नाममा तडकभडक गर्ने चलन बसेको छ । यस प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रूपमा लिएमा राम्रो नै मान्न सकिन्छ तर पर्वको निहुँमा फजुलखर्च बढाउने र मासुमदिरा जस्ता व्रतादिमा निषेध गरिएका वस्तुको उपभोग गर्ने विकृति भित्रिनु चाहिं समुचित होइन  ।

Sep 9, 2017

कुशे औंसी, बाबुको मुख हेर्ने दिन र मोती जयन्ती

सनातन धर्ममा सूर्य र चन्द्रमाको उदयास्त र गतिका आधारमा विभिन्न चाडपर्व, व्रत र उत्सव मनाउने प्रचलन छ । पृथ्वीबाट हेर्दा सूर्य र चन्द्रमा सीधा सरल रेखामा देखिने परिस्थिति औँसी तिथिका दिन पर्ने गर्दछ । वैदिक ग्रन्थहरूमा चन्द्रलोकको नजिकै पितृलोक रहेको कल्पना गरिएको हुनाले यस तिथिलाई खास गरी पितृकार्यका लागि विशेष दिन मान्ने गरिन्छ । अतः नेपाली समाजमा प्रत्येक महिनाको औंसीका दिन निशि बार्ने (बेलुका हविष्यान्न ग्रहण गर्ने, अन्नादि नखाने र मद्यमांसको प्रयोग नगर्ने) चलन छ । हरेक औंसीको उत्तिकै महत्त्व भए पनि भाद्र महिनाको कृष्ण पक्षमा पर्ने कुसे औंसीको नेपाली समाजमा विशिष्ट महत्त्व रहेको देखिन्छ । यो पर्व धार्मिक सन्दर्भमा ब्राह्मणहरूले घरघरमा कुश ल्याइदिएर कुसे औंसीका रूपमा र हरेक छोराछोरीले आफ्ना पिताको सम्मानादि गरी बावुको मुख हेर्ने दिनका रूपमा तथा साहित्यिक वृत्तमा नेपाली साहित्यलाई प्रकाशनको युगमा पुर्याउने श्रेय पाएका युवाकवि तथा प्रथम गजलकार मोतीराम भट्टको जन्मदिन मनाएर मोती जयन्तीका रूपमा नेपाली समाजमा मनाउने गरिन्छ । कुसेऔंसी, पितृभक्तिको प्रतीक र मोतीजयन्ती यी तीनै पर्वको त्रिवेणीसमेत बनेको यस पर्वले हामीलाई आफूभन्दा ठूलाको मान सम्मान र मर्यादा कायम गर्न प्रेरणा प्रदान गर्दछ ।

बावुको मुख हेर्ने दिन

हाम्रो नेपाली संस्कृतिले माता-पितालाई 'मातृदेवो भवः' र 'पितृदेवो भवः' भनी साक्षात् जीवित देवताकै रूपमा मानेको छ । भाद्रकृष्ण औसी अत्यन्त विशिष्ट धार्मिक पर्व मात्र नभएर यो पितृसम्मानको पर्व र पारिवारिक पुनर्मिलनको सामाजिक पर्व पनि हो । त्यसैले हामी नेपालीहरूले देवतुल्य आफ्ना माता-पिताको स्मृतिमा मातृ एवम् पितृदिवसका दिन जीवित पितालाई तिनका सन्तानले मिष्ठान्न, अनेकौ प्रकारका लत्ताकपडा आदि चढाई ढोग गर्ने चलन छ । पिताको सम्मान गर्ने प्रसङ्गमा हिन्दु धर्मशास्त्रमा निश्चित यसै दिन उक्त कर्म गर्नु भनेर लेखिएको भेटिंदैन, तर बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा भाद्र महिनाको अमावस्याका दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बताइएको छ भनिन्छ । त्यसैले यो पर्व काठमाण्डौं उपत्यका र बौद्धधर्मावलम्बी नेवार समुदायबाट क्रमशः प्रसार हुँदै मनाउन थालिएको हो भन्न सकिन्छ । सुरुमा नेवार समुदायमा मात्र सीमित रहे पनि आफूलार्इ जन्म र कर्म दिने पिता र पितृतुल्य व्यक्तित्वहरूको सेवा र सम्मानका लागि कमसे कम वर्षमा एक दिन भए पनि छुट्याउने उद्देश्यले सबै धर्म र समुदायका नेपालीहरूले यस पर्वलाई उत्साहका साथमा मनाउँदै गए र आज यो नेपालको र जहाँजहाँ नेपालीहरूको बसोबास छ, ती स्थानको राष्ट्रिय र जातीय पर्व बन्न पुगेको छ । अतः यस पर्वमा छोराछोरीहरूद्वारा परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ र मातापिताले पनि आफ्ना प्यारा सन्तानलाई सुख, शान्ति, समृद्धि तथा दीर्घायुको आशीर्वादसहित सुरक्षाको अनुभूति गराउँदछन् । बुबा जीवित हुनेहरूले आफ्ना पिताको सहृदयता, सान्निध्यता र सत्प्रेरणा सदासर्वदा पाइरहुँ भन्ने उद्देश्यले तथा आफूलाई हुर्काउँदा पाएको लाडप्यार र मायालाई सम्झेर बुबाको सधैं भलो होस् भनी मन पर्ने लत्ताकपडा उपहार, मिठामिठा परिकार र फलफूल चढाएर सगुन दिई मुख हेर्ने, त्यस्तै विवाहोपरान्त पराइघर पुगेकी छोरीचेलीहरूले यस्तै यस्तै सामानहरु दिएर र अझ भर्खरै विवाह भएका छोरीचेलीहरुले नयाँ व्यवहार भनेर अझ धेरै सामाग्रीहरु राखेर श्रृङ्गारपटार गरी बुबाको मुख हेर्न आउने र बुबाको आशीर्वाद लिने चलन छ । 

यस पर्वलाई गोकर्णे औँसी पनि भन्ने गरिन्छ । कुशेऔंसीका दिन आफ्ना मृत पिताको सम्झना र शान्तिका लागि 'गोकर्णेश्वर' को मन्दिरमा गई महादेवको पूजा गरेर मृत पितालाई पिण्डदान गरिने हुँदा यो दिन 'गोकर्णे औंसी' को नाउले पनि प्रसिद्ध छ । बाबु नहुनेहरूले विशेषगरी आजको दिन वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थल, उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव, सुनसरीको विष्णुपादुका, रसुवाको वेत्रावती आदि स्थानमा गएर वा पायक पर्ने नजिकैको तीर्थ, नदी, पवित्र स्थान आदिमा गई बाबुलगायत आफ्ना मृत पितृको नाममा तर्पण, श्राद्ध, पिण्डदान र ब्राह्मणभोजनादि गर्ने प्रचलन छ । गोकर्णे औंसीले पिताहरूको स्मरणमा मान सम्मान र मृतात्माको मङ्गलको कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन गोकर्णजस्तो पुत्रको कामना गरेको देखिन्छ । यस दिन गोकर्ण तीर्थमा हिन्दु तथा बौद्ध दुवै भक्तहरूको पितृलाई श्राद्धतर्पण आदि दिन विशेष भीड लाग्दछ । धार्मिक सहिष्णुतामा विश्वास गर्ने सम्पूर्ण नेपाली चाहे हिन्दु होस् अथवा बौद्ध सागसागै बसी पूजा गर्ने गर्दछन्। हिन्दुहरू यस मन्दिरमा रहेको लिङ्गलाई महादेव र बौद्धहरू गगनगञ्ज बोधिसत्वको रूपमा पूजाआजा गर्दछन् । नक्षत्रचक्रका २७ वटा नक्षत्रमध्ये मघा नक्षत्रका अधिदेवता पितृदेव हुन् । भाद्रको औंसी प्रायशः मघा नक्षत्रमा वा त्यसको आसपासमा पर्ने गर्दछ । त्यसैले पनि यस दिन श्राद्ध र तर्पणादिका निमित्त विशेष कृत्य सम्पादन गर्ने नियम सुरू भएको हुनुपर्छ, जे होस्, हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बीहरूका लागि पितृ स्मरण गर्ने महत्त्वपूर्ण दिवस हो, आजको दिन ।

पितृ देवो भवः भनी पितालाई पनि देवताको दर्जा प्रदान गर्ने हाम्रो संस्कृतिमा जुनसुकै जाति, जुनसुकै समूह वा जुनसुकै तहभित्रका नरनारी भए पनि आखिर आफूलाई जन्म दिने आमाबाबुहरुप्रति जसको पनि सहृदयता हुन्छ । अतः बाबुको मुख हेर्ने दिन एउटा सामाजिक, सांस्कृतिक र सार्थक पर्व हो, तर पर्वका दिनमात्र बाबुको सान्निध्यता र सहृदयताको खोजी गर्ने तर बाँकी ३६४ दिन आफ्ना मातापिताको वास्ता नगर्ने व्यक्तिका लागि यो पर्व बहाना र आडम्बर बन्नु राम्रो हुँदैन ।

कुसे औंसी

यस दिन सतातन धर्मावलम्वीहरूले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउने प्रचलन पनि छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । धार्मिक मान्यतानुरूप कुशमा साक्षात् ईश्वरको वास रहेको हुन्छ । संसारका सृष्टिस्थिति र लय कर्ता ब्रह्मा विष्णु र महेशको निवास कुशमा हुने गर्दछ । कुशको मूलमा ब्रह्मा, मध्य भागमा विष्णु र अन्त्य भागमा शिवजीको निवास हुने गर्दछ । कुश देवकार्य र पितृ कार्यका निम्ति आवश्यक पर्दछ । जसको धारण र प्रयोगले हरेक कार्यमा पवित्र बनाउने गर्दछ । देवकार्यमा कुशका पवित्र, उपयवन, ब्रह्मा, कंकण, दण्ड आदि बनाएर धारण गरिन्छ भने पितृकार्यमा ब्रह्मा, मोटक, पवित्र आदि बनाउने गरिन्छ । कुश नभएको स्थानमा दुवोको प्रयोग पनि गरिन्छ । जुन कुशको विकल्प हो । नफुलेको कुशलाई संस्कृतमा दर्भ भनिन्छ । जसका सात भेद रहेको कुरा धर्मसिन्धुमा उल्लेख पाइन्छ :-
कुशाः काशा यवा दूर्वा उशीराश्च सकुन्दकाः ।
गोधूमा व्रीहयो मुञ्जा दश दर्भाः सबल्वजाः ।।
अर्थात् कुश, काँस, जौ, दुवो, उशिर, गहुँ, धान, मुज र बावियो दर्भका दश भेद रहेका छन् । सात पात एकै नालमा भएको दर्भ वा तिलको खेतमा उम्रेको कुशलाई शुभ मानिन्छ । यसरी प्राप्त कुश धार्मिक कार्यका निम्ति पवित्र मानिन्छ । कर्मकाण्डका हरेक अध्यायमा कुशको विशेष महत्व रहेको छ । विशेषतः देव र पितृ कार्यका आशन, अर्घ लगायत अन्य कार्यका निम्ति पनि कुशको आवश्यकता हुने गर्दछ । कुश देवकार्य र पितृकार्यका लागि प्रयोग गरिने पवित्र वस्तु हो । जसको प्रंयोगले सम्पूर्ण कुरा पवित्र हुन्छन् भन्ने वैज्ञानिक मत रहेको पाइन्छ । कुशे औँशीका दिन प्रातः पवित्र गङ्गामा स्नान गरी कुश भएको घाँसे मैदानमा गई पवित्र स्थानमा कुश उम्रिएको छ छैन अवलोकन निरीक्षणादि गरी पूर्वोत्तर तर्फ फर्की विशेष मन्त्रको उच्चारणका साथमा कुश उखेली घरमा भित्र्याउने धार्मिक विधि छ । विशेष गरी तिल उम्रिएको स्थानमा रहेको कुशलाई उत्तम मान्ने चलन छ ।
पूर्वं मन्त्रं समुच्चार्य ततः पूर्वोत्तरा मुखः ।
हुँफट्कारेण मन्त्रेण सकृच्छित्वा समुद्धरेत् ।।
(मन्त्रोच्चारण पूर्वक पूर्वोत्तर दिशातर्फ अर्थात् ईशान कोणतर्फ फर्की हुँ फट्को उच्चारण गरी कुश उखेल्नु पर्दछ ।)

जरा सहित कुश उखेल्ने शास्त्रीय विधान छ । यसको कारण हो – कुशको मूलमा ब्रह्मा, मध्यभागमा विष्णु र अन्त्यमा शिवको निवास हुन्छ । त्यसैले कुश उखेल्नु पूर्व निम्न मन्त्रको उच्चारण अनिवार्य मानिन्छ :-
विरञ्चिना सहोत्पन्नः परमेष्ठी निसर्गतः ।
नुद सर्वाणि पापानि दर्भः स्वस्तिकरो भव ।।
यसरी प्रार्थना गरिसकेपछि हुँ फट् भन्दै कुशलाई उखेल्नु पर्दछ । यसरी उखेलेको कुश घरमा ल्याई पवित्र स्थानमा राख्नु पर्ने विधान छ । यसछि सोही नयाँ कुश प्रयोग हुने गर्दछ । यसरी राखिएको कुश वर्षदिन सम्म देव र पितृ कार्यका निम्ति प्रयोग गर्न योग्य मानिन्छ । त्यस्तै कुश उखेल्नुपूर्व त्यसलाई उमार्न र हुर्काउन उचित वातावरण प्रदान गर्ने पृथ्वी माताको प्रार्थना गर्ने नियम छ :-
कुशाग्रे वसतो रुद्रः कुशमध्ये तु केशवः ।
कुशमूले वसेद् ब्रह्मा कुशान् मे देहि मेदिनि ।।
(अग्र भागमा शिव, मध्य भागमा विष्णु र मूलभागमा ब्रह्माले निवास गर्ने यो कुश मलाई प्रदान गर्नुहोस्)

मोती जयन्ती



माध्यमिक कालीन नेपाली साहित्यका प्रणेता श्रृङ्गारिक युवा कवि मोतीराम भट्टको जन्मजयन्तीका रूपमा विशेष कार्यक्रम सहित ज्ञानअज्ञात साहित्यकारहरूप्रति समेत श्रद्धाञ्जली समर्पण गर्न मोतीरामका साहित्यको चर्चा र कथा, निबन्ध, कविता, अझ खासगरी गजल वाचनद्वारा भव्य र रमणीय श्रद्धाञ्जली कार्यक्रमहरू साहित्यिक संघसंस्था र विद्यालय महाविद्यालयहरूमा आयोजना गरिन्छन् ।

Jun 5, 2017

किन मनाइन्छ ईद पर्व ? के हिन्दु पर्व र ईदको कुनै सम्बन्ध छ ? - Id Mubarak - जेठ २२ गते (JUNE 05th)

इस्लाम धर्मावलम्बीहरू एक महिनासम्म पवित्र व्रत सम्पादन गर्ने गर्दछन्। प्रत्येक वर्ष इस्लामी पात्रोबमोजिम हिजरी संवतको नवौं महिनामा महिनाभरि विश्वभरिका उमेर पुगेका बालिग मुसलमानले रोजा (व्रत) लिने गर्दछन्। रमजान सकिएको भोलिपल्ट मुसलमानले महान् पर्व 'इद-उल फित्र' हर्षोल्लासपूर्वक मनाउँछन् । यस पटक इदउल फित्र पर्व जेठ २२ गते तदनुसार ५ जुनका दिन परेको छ ।