Showing posts with label चाडपर्व र उत्सव. Show all posts
Showing posts with label चाडपर्व र उत्सव. Show all posts

Dec 12, 2019

धान्य पूर्णिमा/योमरी पुन्ही/साकेला/चासोक ताङनाम || सबै नेपालीको साझा पर्व || Dhanya Purnima

आज मंसिर २६, २०७६ बिहीवार । धान्यपूर्णिमा । धान पाकेर जताततै पहेंलपुर देखिने र जूनको प्रकाशमा अझ सौन्दर्यपूर्ण एवं प्रकृतिको आभा झल्कने महत्त्वपूर्ण दिन ।

कृषि नै मुख्य जीवनवृत्ति भएका नेपालमा बाहुन, खसक्षेत्री, याक्खा, लिम्बू, राई, सुनुवार, तामाङ, भोटे, मगर, गुरुङ, थारु, मधिसे आदि सबैले कुनै न कुनै विधिविधानको प्रयोग गरी नयाँ अन्न भित्र्याउने र कुल–पितृ/पिता–पुर्खालाई समर्पण गरी उपभोग गर्न थाल्ने महत्त्वपूर्ण दिन । आउनुहवस् यस पर्वको शास्त्रीय, सामाजिक र आर्थिक महत्त्वलाई बुझ्ने प्रयास गरौं :-




Dec 1, 2019

विवाह पञ्चमी




राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग शुक्ल पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ। सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ। उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ। राम र जानकीको स्वयंवर भएको जनविश्वास रही-आएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा-लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । हजारौं वर्ष पूर्व त्रेतायुगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ। अहिले पनि हिन्दु जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा मुलुकलगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।


हुन त जनकपुरधाममा हरेक महिनाको पूर्णीमाका दिन पनि मासिक रूपमा मेला लाग्छ। त्यस्तै चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा एवं त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ, त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा(जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ, तर ती सबै उत्सव, चाडपर्व र समारोहहरूमध्ये हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ।



यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा(बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ। अयोध्याबाट आउने जन्ती समूह(बाराती समूह)लाई यस अघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ। यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव(कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुन्छ। त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परा-अनुसार कन्यापक्षका तर्फबाट गरिने 'मटकोर'कर्म गंगासागरमा पुगेर निर्वाह गरिन्छ। पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ। त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल(घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्‍याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ। राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्‍याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा-अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।

Nov 21, 2017

वैकुण्ठ चतुर्दशी


कार्तिक महिनाको शुक्लपक्षको चतुर्दशी तिथिलार्इ वैकुण्ठ चतुर्दशी भन्ने गरिन्छ । यस दिन भगवान् शिव र विष्णुको संयुक्त रूपमा भक्तिअाराधना गर्दै व्रत/उपवास सम्पादन गर्ने गरिन्छ ।

वैकुण्ठ चतुर्दशीको पूजा
वैकुण्ठ चतुर्दशीका दिन भगवान् नारायण र भगवान् भोलेशङ्करको विधिवत पूजा गरिन्छ । व्रतालुले प्रातः ब्रह्ममुहूर्तमा उठेर नित्यकर्मबाट निवृत्त भर्इ शुद्ध वस्त्र धारण गरी पूजास्थलमा पवित्र अासनमा बसी दीप, कलश र गणेशको पूजनोपरान्त भगवान् विष्णु र भगवान् शिवको प्रतिमा प्रतिष्ठा गरी पाद्य, अर्घ्य, चन्दन, अक्षता, पुष्प, तुलसीपत्र, बेलपत्र, धूप, दीप, नैवेद्यादि षोडशोपचार पद्धतिले पूजा सम्पन्न गरी अारती र प्रदक्षिणादि गरिदिनु पर्छ । पूजा गर्दा सम्भव भएसम्म कमलको फूल प्रयोग गर्नुपर्छ । त्यसपछि गीता, भागवत, श्रीसूक्त, रुद्री अादि पाठ र इष्टदेवताको मन्त्रजाप गर्नुपर्छ । यसरी भक्तिअाराधना, मन्त्रजाप, पाठ र कथाश्रवण गर्नाले भक्तका इहलाैकिक मनोरथ पूर्ण हुनुका साथै मरणोपरान्त वैकुण्ठलोक प्राप्त हुने विश्वास गरिन्छ ।

वैकुण्ठ चतुर्दशीको पौराणिक महत्व (Methodological Importance of Baikunth Chaturdashi)
पद्मपुराणको एउटा प्रसङ्गमा उल्लेख भएअनुसार एक पटक देवर्षि नारदले सामान्य नरनारीले सरल भक्तिका माध्यमले सहजै मुक्ति प्राप्त गर्ने कुन उपाय होला भनी भगवान् विष्णुसित प्रश्न गरेका थिए । नारदको जिज्ञासालार्इ शान्त तुल्याउन भगवान् विष्णुले भन्नुभयो -  हे नारद ! कार्तिक शुक्लपक्षको चतुर्दशीका दिन वैकुण्ठको ढोका खुल्ला हुन्छ । त्यसैले त्यस दिन जेजति भक्तजनले व्रत सम्पादन गरी श्रद्धाभक्तिपूर्वक पूजाअाराधना गर्दछन् तिनले सहजताका साथमा वैकुण्ठलोक प्राप्त गर्दछन् ।

वैकुण्ठ चतुर्दशीको वैशिष्ट्य (Importance of Baikunth Chaturdashi)
वैकुण्ठ चतुर्दशी व्रतको वैशिष्ट्य के हो भने यस दिन स्नानादि नित्यकर्मबाट निवृत्त भर्इ एक हजार कमलका फूल अर्पण गरी भगवान् विष्णुको पूजा गरी जसले शिवको पूजा गर्दछन्, ती भवबन्धनबाट मुक्त भर्इ वैकुण्ठ धाम प्राप्त गर्दछन् । त्यसैले सम्भव भएसम्म यस दिन कमलको पुष्पले भगवान् विष्णु र शिवको पूजाअाजा गरेमा भगवानले अानन्दको अनुभूति गर्नुहुन्छ र भक्तजनले शुभफल प्राप्त गर्दछन् । वैकुण्ठ चतुर्दशीको सन्ध्याकालमा नदी, सरोवर, तलाउ, पधेंरो वा धारामा चाैधवटा लोकको प्रतीकका रूपमा १४ वटा दियो पनि बालेर पूजा गर्ने गरिन्छ ।

कार्तिक शुक्ल चतुर्दशी तिथि भगवान् विष्णु र शिवजीको ऐक्यबद्धताको प्रतीक पनि हो । पाैराणिक मान्यताअनुसार यस दिन भगवान् विष्णुले भारतको वाराणसी (काशी) को मणिकर्णिका घाटमा भगवान् शिवको अाराधना गर्नुभएको थियो । अाषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा गएर सुत्नु भएका विष्णुले कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिन जागा भर्इ वैकुण्ठमा गर्इ पुनः सृष्टि सञ्चालनको कार्यभार जिम्मा लिनुअघि उक्त दिन भगवान् शिवको अाराधना गर्नुभएको हो । भगवान् विष्णुको अल्पनिद्राको समयमा सृष्टिसञ्चालनको अभिभारा भगवान् शिवले लिनु हुने विश्वास गरिन्छ । त्यसैले भगवान् शिवले कार्यवाहक भर्इ जिम्मा लिएको अभिभारा पुनः भगवान् विष्णुलार्इ सुम्पिएको दिन पनि हो, वैकुण्ठ चतुर्दशी ।

यस क्रममा भगवान् विष्णुले एक हजार स्वर्णपुष्प (सुनको कमलको फूल) चढार्इ शिवलार्इ प्रसन्न बनाउने सङ्कल्प गर्नुहुन्छ । शिवले विष्णुको परीक्षा लिने विचारले चढाउन ठिक्क पारेका कमलका फूलमध्ये एउटा फूल लुकार्इ दिनुहुन्छ । त्यसपछि एउटा पुष्पको सट्टामा अाफ्नै एउटा अाँखा झिकेर शिवलार्इ अर्पण गर्न खोज्नुहुन्छ र शिव प्रसन्न भएर भगवानसामु उपस्थित भर्इ भगवानको शयनकालमा जिम्मा लिएको सृष्टिसञ्चालनको अभिभारा र सुदर्शन चक्र विष्णुलार्इ हस्तान्तरण गर्नुहुन्छ । जिम्मेबारी प्राप्त गरेपछि भगवान् विष्णु पुनः वैकुण्ठलोकतर्फ प्रस्थान गर्नुहुन्छ । त्यसैले यस दिन वैकुण्ठको ढोका खुल्ला रहन्छ भन्ने मान्यता विकसित भएको हो । यो दिन विष्णु र शिवको एकीभवनको दिन हो । भक्तजन दुबै देवताको एकीकृत स्वरूप 'हरिहर' को पूजासमेत यसै दिन गर्ने गर्दछन् । शिवलार्इ कमल पुष्पको अभावमा अाँखा नै अर्पण गर्ने खोजेकाले विष्णुको नाम 'कमलनयन' र 'पुण्डरीकाक्ष' रहन गएको हो ।

Nov 20, 2017

भीष्म पञ्चक र वराहक्षेत्र तीर्थ


हरेक वर्षको कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनलाई भीष्म पञ्चक भनिन्छ । यस पर्वमा सुनसरी जिल्लाको वराह क्षेत्र तीर्थमा पाँच दिनसम्म मेला लाग्दछ । सनातन धर्मका विभिन्न धर्मग्रन्थमा कार्तिक महिनामा पर्ने भीष्मपञ्चक व्रतको विशेष महत्त्व बताइएको छ । त्यसै पनि कार्तिक महिनाको सनातन धर्ममा ठूलो महत्त्व छ, अनि चान्द्रमानअनुसार यो अवधि कार्तिक महिनाको अन्तिम पाँच दिन हो, त्यसैले पनि महिनाभरि स्नानदानादि गर्न नसकेकाहरूले यस अवसरमा तीर्थस्नान गर्ने र दानादि गर्ने प्रावधान बनेको हो । यसै अवसरमा महाभारतका प्रमुखपात्र भीष्म पितामहले भगवान् श्रीकृष्ण र पाण्डवहरूलाई ज्ञान र उपदेश दिएको हुँदा यस पर्वको नाम भीष्मपञ्चक रहन गएको हो । स्कन्दपुराणको दोस्रो वैष्णव खण्डको कार्तिक माहात्म्यको ३३ औं अध्यायमा यस व्रतको महत्तालाई यसरी वर्णन गरिएको छ -

कार्तिकस्याऽमले पक्षे स्नात्वा सम्यग्यतव्रतः । एकादश्यां तु गृह्णीयाद् व्रतं पञ्चदिनात्मकम् ॥
शरपञ्जरसुप्तेन भीष्मेण तु महात्मना । राजधर्मा मोक्षधर्मा दानधर्मास्ततः परम् ॥ 
कथिता पाण्डुदायादैः कृष्णेनाऽपि श्रुतास्तदा । ततः प्रीतेन मनसा वासुदेवेन भाषितम् ॥ 
धन्यधन्योऽसि भीष्म त्वं धर्माः संश्रावितास्त्वया । एकादश्यां कार्तिकस्य याचितं च जलं त्वया ॥ 
अर्जुनेन समानीतं गाङ्गं बाणस्य वेगतः । गाङ्गं तोयं  ततो लोके कौशिकीति विदुर्जनाः ॥
तुष्टानि तव गात्राणि तस्मादद्यदिनावधि । पूर्णान्तं सर्वलोकास्त्वां तर्पयन्त्वर्घ्यदानतः ॥
तस्मात्सर्वप्रयत्नेन मम सन्तुष्टिकारकम् । एतद्व्रतं प्रकुर्वन्तु भीष्मपञ्चकसंज्ञितम् ॥

यसको अर्थ हो - महाभारतको युद्ध समाप्त भई पाण्डवहरूले विजय गरिसकेपछि भगवान् श्रीकृष्णले युधिष्ठिरादि पञ्चपाण्डवलाई शरशय्यामा सुतिरहेका भीष्म पितामहका समीपमा लिएर जानुभयो र भीष्मसँग राजधर्म, मोक्षधर्म र दानधर्मका बारेमा उपदेश गर्न आग्रह गर्नुभयो । इच्छामृत्युको वरदान प्राप्त गरेका भीष्म आफ्नो समुचित मरणका लागि उत्तरायणको प्रतीक्षा गरी शरशैय्यामा सुतेका थिए । श्रीकृष्णको अनुरोधपछि उनले कृष्णसमेत पाण्डवहरूलाई अर्ती दिए । यसरी भीष्मले ज्ञानप्रदान गरेको समय कार्तिक महिनाको एकादशीदेखि पूर्णिमासम्मको पाँच दिन परेको थियो । भीष्मबाट ज्ञान प्राप्त गरेपछि भगवान् श्रीकृष्णले प्रसन्नतापूर्वक भन्नुभयो - हे पितामह, हजुरले कार्तिक महिनाको एकादशीका दिन पानी खाने इच्छा गर्नुभयो । अर्जुनले हजुरलाई तृप्त तुल्याउन वाण हानेर गङ्गा उत्पन्न गरे, जुन गङ्गा मोक्षकारक कोशी नदीका नामले प्रख्यात भईन् । उक्त जलले घाइते अवस्थामा शरशैय्यामा सुत्नुभएका तपाईंको शरीरलाई तुष्टि मिल्यो । त्यसपछि लगातार पाँच दिनसम्म ज्ञान प्रदान गर्नुभयो, अतः यी दिन अत्यन्त पवित्र र मङ्गलकारी बनेका छन् । त्यसैले अबउपरान्त भविष्यमा यी दिनहरूलाई तपाईंकै नामद्वारा भीष्म पञ्चक भनी सम्बोधन गरिने छ । जसमा लोकले तपाईंलगायत आफ्ना मृतपितृहरूलाई तर्पण गरी निष्ठापूर्वक व्रतदानादि सम्पन्न गर्दछन्, तीबाट म सन्तुष्ट रहने छु ।

व्रतविधान
भीष्म पञ्चकको व्रतसम्पादन गर्न एउटा वेदी वा मण्डप तैयार गरी त्यसलाई गाईको गोबरले लिपपोत गरी वा नमिल्ने सिमेन्टले बनेको ठाउँ छ भने गङ्गाजलले पवित्र तुल्याउनु पर्दछ । मण्डपको बीच भागमा पीताम्बर कपडा ओछ्याएर त्यसमा तिल राखी तिलमाथि एउटा जलपूर्ण कलशस्थापना गर्नु पर्दछ । अनि कलशमाथि पञ्चपल्लव र त्यसमाथि अष्टदलयुक्त थालीमा शालिग्राम भगवान् वा भगवान् नारायणको प्रतिमा राखी विधिपूर्वक पूजादि गर्नु पर्दछ । यस व्रतको क्रम कार्तिक महिनाको शुक्लपक्षको एकादशी (हरिबोधिनी वा ठूली एकादशी) बाट प्रारम्भ हुन्छ र निरन्तर पाँचदिनसम्म यसरी नै पूजासम्पन्न गर्नु पर्दछ । यस क्रममा सुरुमा बालिएको दियो अखण्ड बलिरहनु पर्दछ । व्रतान्तमा पूर्णिमाका दिन गङ्गापुत्र भीष्म र आफ्ना पितृहरूको तृप्तिका निमित्त तर्पणादि गरी ब्राह्मण, गरीवगुरुवा र साधुसन्तलाई भोजन, वस्त्र, दक्षिणादि समर्पण गरी यज्ञ गरी व्रत समापन गर्नुपर्दछ ।

भीष्म पञ्चकको महत्त्व
भीष्म पञ्चक व्रत अत्यन्त मङ्गलकारी र पुण्यदायी व्रत मानिन्छ । जसले यस व्रतको निष्ठापूर्वक व्रत गर्दछ, उसले मृत्युपछि उत्तम गति प्राप्त गर्दछ । यस व्रतले जन्मजन्मान्तरदेखि सञ्चित समस्त ज्ञातअज्ञात पापराशिको अन्त्य हुन्छ, साथै भगवान् श्रीकृष्ण र पितृहरूको आशीर्वादले मानसिक विचलन, दीर्घरोग र आर्थिक विपन्नतामा रहेका व्यक्तिले सदैव स्वस्थ, प्रसन्न र सम्पन्न रहने अनुकूलता प्राप्त गर्दछ ।

भीष्मपञ्चकमा वराहक्षेत्र मेला
कार्तिक शुक्लपक्षको ठूली एकादशीदेखि पूर्णिमासम्मको यिनै पाँच दिनमा नेपालको पूर्वी भागमा रहेको सप्तकोशी र कोका नदीको सङ्गममा रहेको पवित्र तीर्थस्थलमा भव्य मेला लाग्ने गर्दछ । वराह क्षेत्र कोसी अञ्चलको सुनसरी जिल्लामा रहेको प्राचीन र महत्त्वपूर्ण तीर्थस्थल हो । मनोरम र रमणीय दृश्यद्वारा सुशोभित पवित्र तीर्थस्थल वराह क्षेत्रमा गणेश वराह‚ गुरु वराह‚ सूर्य वराह‚ कोका वराह‚ इन्द्र वराहका मन्दिर तथा लक्ष्मीको मन्दिर लगायत जम्मा ९ वटा मन्दिर र धर्मशालाहरू रहेका छन् । कोका नदीको सङ्गममा श्राद्ध गर्दा पितृहरूको उद्धार हुनुका साथै श्राद्धकर्ताको सांसारिक जीवन सुखमय भई मोक्ष प्राप्त हुने तथा उसका अघिपछिका कुल र वंशजको समेत मुक्ति प्राप्त हुने प्रसङ्ग वराह पुराणमा उल्लेख गरिएको छ । कोसी नदीको शास्त्रीय नाम कौशिकी हो र गङ्गामा गएर मिसिने नदीहरूमध्ये हिमालयदेखिकै जलराशि समेटेर समाहित हुने अन्तिम नदीका रूपमा यस नदीलार्इ लिइन्छ, त्यसैले आफ्ना मृत आफन्तको अस्थिसञ्चय गरी यहाँ जलप्रवाहित गरेगराएमा मृतकले मोक्ष प्राप्त गर्ने जनविश्वास रही आएको छ । त्यसैले यस ठाउँमा अस्थि विसर्जन गर्ने तथा श्राद्ध गर्ने गरिन्छ । महाभारत, विभिन्न पुराणहरू र संस्कृत काव्यमा वराहक्षेत्रको मुक्तकण्ठले महिमा गायन गरिएको छ र सप्तकोसीमा कोकाहा नदीको सङ्गम भएको यो देवस्थलमा परापूर्वदेखि श्रद्धाभक्ति र पूजाआजा हुँदै आएको छ । कौशिक गोत्रका राजर्षि विश्वामित्रको तपोभूमि मानिएको यस ठाउँमा बहने कौशिकी नदी विश्वामित्रकै बहिनी भएको धार्मिक आख्यान छ । दुर्गासप्तशती चण्डीमा भगवती दुर्गाको शरीरको कोशबाट कौशिकी नदी उत्पत्ति भएको प्रसङ्ग छ ।

भगवान् विष्णुको दशावतारमध्ये तेस्रो अवतारका रूपमा वराह (शूकर) को अवतारलाई लिइन्छ । वराहपुराणमा कोका नदी र वराहक्षेत्रको राम्रो वर्णन पाइन्छ -

अस्ति मत्स्यशिला नाम गुह्यं कोकामुखे वरम् । धाराः पतन्ति तिस्रो वै कौशिकीमाश्रिता नदीम्
शिलाचन्दनसंकाशं देवानामपि दुर्लभम् । वराहरूपमादाय तिष्ठामि पुरुषाकृतिः 
गुह्यानां परमं गुह्यमेतत्स्थानं परं महत् । सिद्धानां परमा सिद्धिर्गुह्यं कोकामुखं परम् 

वराहक्षेत्रमा प्रत्येक वर्षको कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीदेखि पूर्णिमासम्म र पौष कृष्ण प्रतिपदा, पौषे औंसी, माघेसङ्क्रान्ति आदिमा मेला लाग्ने गर्दछ । जहिले पनि तीर्थयात्री र दर्शनार्थीको आकर्षणका रूपमा रहेको यस तीर्थमा सङ्क्रान्ति, एकादशी, औंसी, पूर्णिमा र अन्य धार्मिक महत्त्वका दिनहरूमा यात्रुहरूको घुइँचो लाग्ने गर्दछ । यहाँ नेपाल, भारत, भूटान र अन्य ठाउँबाट पनि तीर्थाटनमा श्रद्धालुहरू आउने गर्दछन् ।

वराहक्षेत्रमा उत्तरबाट दक्षिणतर्फ कोसी नदीको वहाव रहेको छ । यस ठाउँको पूर्वतर्फ डाँडामा पवित्र तीर्थस्थल विष्णुपादुका र हालको उदयपुर जिल्लामा पर्ने पश्चिमको डाँडामा चौदण्डीकोट भन्ने ठाउँ रहेको छ । चौदण्डीकोटमा शाहवंशभन्दा पहिले नेपालमा शासन गर्ने सेनवंशी राजाहरूको ऐतिहासिक गढी रहेको छ । वराह क्षेत्र जाने तीर्थयात्रीले पूर्वपश्चिम राजमार्गको रामधुनी भासि (झुम्का) मा ओर्लिएर उत्तरतर्फ करिब २२ किलोमिटर यात्रा गरी जानुपर्ने हुन्छ । पूर्वपश्चिम राजमार्गको इटहरी र झुम्काबाट अथवा कोसी राजमार्गको धरानबाट वराहक्षेत्र जाने सवारी साधनहरू उपलब्ध हुन्छन् । यहाँ बस्न ठूलाठूला होटल र लज नभए पनि धर्मशालाको राम्रो व्यवस्था छ ।

Nov 16, 2017

गुप्तदान गर्ने दिन : कुष्माण्डा नवमी


कार्तिक महिनाको शुक्ल पक्षको नवमी तिथिलाई कुष्माण्डा नवमी भन्ने गरिन्छ । यसै तिथिलाई आमलकी नवमी र अक्षय नवमी भन्ने चलन पनि छ । यस नवमीको दिनबाट सत्ययुग प्रारम्भ भएको धार्मिक मान्यता छ । यस दिन गरिएको कुभिण्डोको दानादि र ब्राह्मणभोजनबाट दान कर्ताले अक्षय पुण्य प्राप्त गर्नुका साथै उसले दान गरेको फलादिमा जतिवटा बियाँ हुन्छन्, त्यति नै दिव्यवर्षपर्यन्त स्वर्गमा निवास गर्ने अनुकूलता प्राप्त गर्दछ । त्यस्तै अक्षय नवमी भएकाले यस दिन कसैले एउटा अमलाको बोट रोप्यो र आजीवन त्यसको सेवासुश्रुषा गर्यो भने उसले राजसूय यज्ञ सम्पादन गरेको फल प्राप्त गर्दछ भन्ने धार्मिक विश्वास लिने गरिन्छ । यसरी दान गर्दा कुभिण्डोभित्र लुकाएर स्वर्णादि धातु राखी गुप्तदान गर्ने प्रचलनसमेत छ, अनि यस दिन नेपालको मकवानपुर जिल्लामा रहेको कुष्माण्ड सरोवरमा विशेष मेला लाग्ने गर्दछ ।

ब्रह्माण्डको सृष्टिहुनु अघि सबैतिर अन्धकारमय अवस्था थियो । यस समयमा सृष्टिको कुनै अस्तित्व थिएन। यस्तो परिस्थितिको प्रारम्भमा आद्याशक्ति जगन्माता भगवतीको मन्दमुस्कानद्वारा अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति भयो। अतः संसारमा यिनलाई कुष्माण्डा भगवतीका नामले प्रसिद्धि प्राप्त भएको हो। कुभिण्डोलाई संस्कृत भाषामा ‘कुष्माण्डम्’ पनि भनिन्छ । बलिहरूमध्ये सर्वाधिक प्रिय बलिका रूपमा भगवती दुर्गालाई कुभिण्डो मन पर्ने हुनाले पनि यिनलाई कुष्माण्डा भगवती भनिएको हो। कुष्माण्डा भगवती सूर्यमण्डलको भित्री तहमा निवास गर्छिन्। यिनको शरीरको ज्वाज्ज्वल्यमान कान्ति पनि सूर्य झैं देदीप्यमान भएर सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ। यिनको तेजको तुलना यिनैसँग मात्र गर्न सकिन्छ, अरू कुनै पनि देवीदेवताको तेजलाई यिनको तेजोमय देदीप्यमान प्रकाशसँग समता गर्न सकिँदैन । शास्त्रीय मतानुसार श्री कुष्माण्डा भगवतीले आफ्ना आठवटा हातहरूमा दाहिनेपट्टि क्रमशः कमण्डलु, धनुष, वाण र कमलको फूल एवं देब्रेपट्टिका हातहरूमा क्रमशः अमृतपूर्ण कलश, चक्र, गदा र अणिमादि समस्त सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी हुन्छिन् । यसरी भगवतीले कुष्माण्डाको स्वरूप धारण गरेको पवित्र दिन, सृष्टिको पहिलो दिन र सत्ययुगको पहिलो दिन भएकाले यो दिन कुष्माण्डा नवमीका रूपमा प्रख्यात भएको हो ।

कुष्माण्डा नवमीका दिन भगवान् विष्णुले कुष्माण्डक नाम गरेको दैत्यको बध गर्नु भएको प्रसङ्गसमेत विभिन्न पुराणमा उल्लेख गरिएको छ । मरणोपरान्त त्यही कुष्माण्डक दैत्य एउटा लहराका रूपमा प्रकट भएको र उक्त लतामा फर्सी आकारको एउटा फल उत्पन्न हुन थालेको हुँदा उक्त फलको नाम नै कुष्माण्ड (कुभिण्डो) रहन गएको हो भन्ने मान्यता छ । त्यसैले यस दिन कुभिण्डो दान गर्ने प्रचलन सुरु भएको हो । यसरी यस पावन दिनमा कुभिण्डो वा कुभिण्डोबाट बनेका परिकार दान गरेमा उत्तम फल प्राप्त हुने विश्वास गरिन्छ । यस दिन कुभिण्डो दान गर्दा सुरुमा विधिपूर्वक त्यसलाई चन्दन, अक्षता र पुष्पादिले पूजन गरी त्यसभित्र कुनै बहुमूल्य वस्तु लुकाएर दान गर्नुपर्दछ । त्यस्तै यस दिन विधिपूर्वक तुलसीको विवाह गरिदिएमा कन्यादानको फल प्राप्ति हुन्छ भन्ने कुरा व्रतराज नामक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ, तर नेपाली परिवेशमा यस दिनको दुई दिनपछि पर्ने हरिबोधिनी (ठूली एकादशी) का दिन धूमधामका साथ तुलसी विवाह गर्ने गराउने प्रचलन रहेको देखिन्छ ।

कुष्माण्डा नवमीको अर्को नाम अक्षय नवमी पनि हो । सामान्यतया प्रत्येक युगको प्रारम्भ भएका तिथिलाई युगादि भन्ने चलन छ, त्यसैले यो दिन पनि युगादि तिथि हो ।  स्कन्दपुराण र नारदपुराणमा उल्लेख भएबमोजिम युगादि तिथिहरू कार्तिक शुक्ल नवमी (सत्ययुगादि), वैशाख शुक्ल तृतीया (अक्षय तृतीया, त्रेतायुगादि), माघको पूर्णिमा (द्वापरयुगादि) र भाद्र कृष्ण त्रयोदशी (कलियुगादि) मानिन्छन् र यी चारवटा तिथिमा जेजति दानादि गरिन्छ, तिनको अक्षय फल प्राप्त हुन्छ ।

नवमी कार्तिके शुक्ला कृतादिः परिकीर्तिता ।
वैशाखस्य तृतीया या शुक्ला त्रेतादिरुच्यते ॥
माघे पञ्चदशीनाम द्वापरादिः स्मृता बुधैः ।
त्रयोदशी नभस्ये च कृष्णा सा हि कलेः स्मृता ॥ स्कन्दपुराण ५।१२१-१२३ ॥
तृतीया माधवे शुक्ला भाद्रे कृष्णा त्रयोदशी । 
कार्तिके नवमी शुद्धा माघे पञ्चदशौ तिथिः ॥ 
एता युगाद्याः कथिता दत्तस्याक्षयकारिकाः ॥ (नारदपुराण पूर्वभाग २५।५०–५१)

त्यस्तै नारदपुराणमा कार्तिक शुक्ल नवमीका दिन पिपलको फेदमा देवता, पितृ र ऋषिहरूको तर्पण गर्नाले अक्षयपुण्य प्राप्त हुने तथा सूर्यलाई अर्घ्य दिने एवं गरीवगुरुवा र ब्राह्मणलाई भोजनदक्षिणादि प्रदान गर्ने तथा हवन र जापादि गर्ने विधान बताइएको छ ।

कार्तिके शुक्लनवमी याऽक्षया सा प्रकीर्तिता ।
तस्यामश्वत्थमूले वै तर्प्पणं सम्यगाचरेत् ॥
देवानां च ऋषीणां च पितॄणां चापि नारद ।
स्वशाखोक्तैस्तथा मन्त्रैः सूर्यायार्घ्यं ततोऽर्पयेत् ॥
ततो द्विजान्भोजयित्वा मिष्टान्नेन मुनीश्वर ।
स्वयं भुक्त्वा च विहरेद्द्विजेभ्यो दत्तदक्षिणः ॥ 
एवं यः कुरुते भक्त्या जपदानं द्विजार्चनम् ।
होमं च सर्वमक्षय्यं भवेदिति विधेर्वयः ॥ नारदपुराण, पूर्वभाग ११८।२३-२६ ॥

यसरी नै वराह पुराणमा नवमी तिथिका दिन आद्याशक्ति जगन्माता भगवतीको पूजाअर्चना गर्ने प्रसङ्ग उल्लेख गरिएको छ –

इयं देवी वरारोहा यातु शैलं हिमाचलम् ।
तत्र यूयं सुराः सर्व्वे गत्वा नन्दतमाचिरम् ॥
नवम्याञ्च सदा पूज्या इयं देवी समाधिना ।
वरदा सर्व्वलोकानां भविष्यति न संशयः ॥
नवम्यां यश्च पिष्टाशी भविष्यति हि मानवः ।
नारी वा तस्य सम्पन्नं भविष्यति मनोगतम् ॥

अझ कार्तिक महिनाको शुक्लपक्षको कुष्माण्डा नवमीका दिन जगद्धात्री भगवती दुर्गाको विशेष आराधना गर्ने प्रसङ्ग विभिन्न तन्त्रग्रन्थमा उल्लेख भएको पाइन्छ –

प्रपूजयेज्जगद्धात्रीं कार्त्तिके शुक्लपक्षके ।
दिनोदये च मध्याह्ने सायाह्ने नवमेऽहनि ॥ इति मायातन्त्रे १७ पटलः ॥
कुम्भराशिगते चन्द्रे नवम्यां कार्त्तिकस्य च ।
उषस्यर्द्धोदितो भानुर्द्दुर्गामाराध्य यत्नवान् ॥
पुत्त्रारोग्यधनं लेभे लोकसाक्षित्वमेव च ।
तां तिथिं प्राप्य मनुजः शनिभौमदिने यदि ।
प्रपूजयेन्महादुर्गां धर्म्मकामार्थमोक्षदाम् ॥ इति कात्यायनीतन्त्रे ७८ पटलः ॥

मथुरा-वृन्दावन परिक्रमा

अक्षय नवमीका दिन भगवान् श्री कृष्णले आफ्ना मामा कंसको बध गर्नुपूर्व मथुरावृन्दावन क्षेत्रमा रहेका तीनवटा वनको परिक्रमा गर्दै शङ्खनाद गर्नु भएको थियो भन्ने मान्यता छ । यसै परम्पराको अनुसरण गर्दै अहिले पनि कुष्माण्डा नवमी (अक्षय नवमी) का दिन असत्यका विरुद्ध सत्यको जीतका निमित्त मथुरावृन्दावनको संयुक्त परिक्रमा गर्ने प्रचलन छ । मथुरा, वृन्दावन र कार्तिक महिनालाई साक्षात् राधादामोदर स्वरूप मान्ने गरिन्छ । यसै महिनामा भगवान् श्रीकृष्णले गाई चराउन (गोचारण) का निमित्त पिता नन्द गोपसित आज्ञा लिनु भएको थियो ।

अमलाको पूजा

कुष्माण्डा नवमीको अर्को नाम आमलकी नवमी पनि हो । त्यसैले यस दिन अमलाको वृक्षको पूजा गर्नाले गृहिणीहरूले अखण्ड सौभाग्य, गृहस्थ जीवनमा सुखशान्ति, आयु एवं सन्तानवृद्धिको फल प्राप्त गर्दछन् । आमलकी नवमीका दिन अमलाको बोटबाट अमृतका थोपा झर्दछन् भन्ने मान्यता छ । त्यसैले यस दिन यस रुखको फेदमा बसी भोजनादि गर्नाले कतिपय असाध्य रोगबाट निवृत्ति हुन्छ भन्ने विश्वाससमेत लिने गरिन्छ । यस दिनदेखि कार्तिक पूर्णिमासम्म सात दिन भगवान् विष्णुले अमलाको वृक्षमा निवास गर्नुहुन्छ । धर्मग्रन्थ र आयुर्वेदमा अमलामा प्रशस्त औषधीय गुण विद्यमान हुने प्रसङ्ग उल्लेख गरिएको पाइन्छ । चाडपर्व र व्रतादिमा खाएको अमलाले शरीरमा भएको गरिष्ठ भोजनलाई पचाउनुका साथै यसले पतिपत्नीका बीचको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुर्याउने हार्मोनको परिपूर्ति गर्ने बताइन्छ । अझ कुष्माण्डा नवमीका दिन युगल दम्पतीले गरेको अमलाको पूजा, सेवन र व्रतदानादिबाट सन्ततिलाभ, वंशोन्नति, शान्ति, सद्भाव र सुखसम्मृद्धि हुनुका साथै श्रद्धालुले जन्ममरणको चक्रबाट छुटकारा पाई पुनर्जन्मको बन्धनबाट मुक्त हुने अवसर प्राप्त गर्दछ ।

अक्षय नवमीको पूजा गर्ने विधान

सबैभन्दा पहिले आद्याशक्ति जगन्माता भगवती कुष्माण्डाको पूजाआराधना गर्नुपर्दछ । उनको स्मरण गर्दै निम्न मन्त्रको उच्चारण गर्नुपर्दछ - 

दुर्गतिनाशिनि त्वं हि दारिद्र्यादिविनाशिनीम्।
जयदां धनदां देवि कूष्माण्डे प्रणमाम्यहम् ॥

यसपछि कर्पूरबाती बालेर तल लेखिएका मन्त्रको उच्चारणका साथ अमला वा पिपलको अथवा दुबै वृक्षको पूजा गरी परिक्रमा गर्दै अक्षय सुखसमृद्धि र आरोग्यको कामना गर्नुपर्छ ।

अमलाको बोट वा पिपलको प्रार्थना गर्ने मन्त्र :-

मूले विष्णु: स्थितो नित्यं स्कन्धे केशव एव च ।
नारायणस्तु शाखासु पत्रेषु भगवान् हरि: ।।
फलेऽच्युतो न सन्देह: सर्वदेवै: समन्वित: ।।
स एव विष्णुर्द्रुम एव मूर्तो महात्मभि: सेवितपुष्यमुल: ।
यस्याश्रय: पापसहस्त्रहन्ता भवेन्नृणां कामदुघो गुणाढ्य: ।।
अश्वत्थ सुमहाभागसुभग प्रियदर्शन।
इष्टकामांश्च मे देहि शत्रुभ्यस्तु पराभवम् ॥
आयु: प्रजां धनं धान्यं सौभाग्यं सर्वसम्पदम्।
देहि देवि महावृक्ष त्वामहं शरणं गत:॥

यस क्रममा अमला वा पिपलको वृक्षलाई परिक्रमा गर्दै काँचो धागोले १०८ पटक बेर्ने चलन छ । परिक्रमा पूर्ण भएपछि अमला वा पिपलको वृक्षको फेदमा पूर्व दिशामा निहुरिएर ॐ धात्र्यै नमः मन्त्रको उच्चारण गरी दूधको धाराले पितृहरूलाई तर्पण गरी कपूरबातीले आरती गरिदिनु पर्दछ । त्यसपछि घरमा आएर दानादि गर्ने नियम छ । यस नवमी तिथिमा अमला, कुभिण्डो, फर्सी (सीताफल) आदि बाटुलो आकारको फलफूलका साथमा भोजन, द्रव्य, वस्त्र, स्वर्णादि योग्य ब्राह्मण र गरीवगुरुवालाई दान गर्नुपर्दछ । दान गर्दा सङ्कल्प उच्चारणका साथमा ममाऽखिलपापक्षयपूर्वकं सुखसम्मृद्धिसौभाग्यादीनामुत्तरोत्तराभिवृद्धये कूष्माण्डदानं तदभावे अन्य फलदानमहं करिष्ये भनी दान गर्नु पर्दछ । त्यसपछि अक्षय नवमीको कथा श्रवण गर्नुपर्दछ ।

कुष्माण्डा नवमीको कथा

भारतको वाराणसी (काशी) सहरमा एउटा व्यापारी निवास गर्दथ्यो । ऊ असाध्यै धर्मात्मा र दानी थियो ।  उसकी पत्नी पनि शील र स्वभावले युक्त तथा धर्माचरण र कर्तव्यपथमा निरन्तर अघि बढिरहने सुन्दर नारी थिई । दाम्पत्यसूत्रमा बाँधिएको लामो समय बित्दा पनि तिनका कुनै सन्तान थिएनन् । सन्तानहीनताका कारण व्यापारीकी पत्नी खिन्न र निराश हुने गर्थी । उसमा वैराग्यका भावना वहन थालेका थिए, एकान्तमा बस्ने, काममा मन नलाउने र झर्कोफर्को गर्ने बानी विकसित हुँदै थियो । व्यापारी पनि पत्नीको चिडचिडेपना देखेर दिक्क मान्न थालेको थियो ।

यस्तैमा साहुनीसित कुनै एउटा तान्त्रिक योगीको भेट भयो । उसले योगीलाई उसले आफूले सन्तान प्राप्त गर्न नसकेको र निराशाभाव बढ्न थालेको कुरा बताई । तान्त्रिकले सन्तानप्राप्तिको उपाय बताउँदै भने - आफ्नो कोखमा सन्तान भएको देख्न चाहन्छ्यौ भने तिमीले कालभैरवको मन्दिरमा कुनै जीवित बालकको बलि दिनुपर्दछ । तान्त्रिकका कुरामा पत्यार लागेर उसले सन्तान प्राप्त गर्न कुनै बालकको खोजी गरी बलि चढाउनका लागि पतिसमक्ष अनुरोध गरी । तर धार्मिक स्वभावको व्यापारीले कसैको हत्या गरी आफू पिता बन्नु समुचित नहुने ठानेर पत्नीका कुरामा ध्यान दिएन । तर व्यापारीकी पत्नीमा सन्तानको इच्छाले जरो गाडिसकेको थियो । उसको इच्छा र मोहका कारण कुन कुरो ठिक र कुन कुरो खराब भन्ने विवेक गर्ने क्षमता नाश भयो ।

एक दिन पतिलाई जानकारी नै नदिई उसले एउटा बालकको खोजी गरी कालभैरवलाई बलि चढाएरै छाडी । मानवको वा पशुको बलि दिएर देवता प्रसन्न हुने होइनन्, तान्त्रिकले कुनै साधना पूरा गर्न उसद्वारा बलि दिलाउन हौस्याएको मात्र थियो । त्यसैले साहुनीले गर्भधारण गर्नु त परै जाओस्, प्रारम्भदेखि नै उसमा देखा परेको मनोरोगका साथमाा उसका शरीरमा नानाथरिका चर्मरोग र कुष्ठरोगले आक्रमण गरे । केही समयपछि व्यापारीले  पत्नीले गोपनीय ढंगले मानवबलि दिएको र विभिन्न रोगव्याधिको प्रकोप सहनु परेको कुरो चाल पायो । साहु यो कुरो थाहा पाएर असाध्यै खिन्न र आफ्नी पत्नीका गलत क्रियाकलापप्रति क्रोधित पनि भयो ।

जीवनसाथी र अर्द्धाङ्गिनी भएका कारण रोगव्याधिबाट ग्रस्त पत्नीको उपचार गर्नुबाहेक उसँग कुनै विकल्प थिएन । त्यसपछि शरीरमा उत्पन्न समस्त रोग र विकारको नाशका लागि दिनहुँ गङ्गास्नान गरी प्रायश्चित्तका लागि ईश्वरसँग प्रार्थना गर्न पत्नीलाई अह्रायो । साहुनीलाई पनि पछुतो भइसकेको थियो, उसले पतिको आज्ञा पालना गर्न थाली । ऊ दिनहुँ दशाश्वमेध घाटमा गएर गङ्गास्नान गर्दथी, माता गङ्गाको आराधना गरेर विश्वनाथ महादेवको मन्दिरमा गई प्रार्थना गर्ने गर्दथी । यसरी लामोसमय सम्म गङ्गास्नान र ईश्वर आराधना गरेपछि एक दिन प्रसन्न भएकी गङ्गामाताले एउटी बृद्ध स्त्रीको रूप लिई साहुनीलाई दर्शन दिंदै बताइन् - हे स्त्री ! कार्तिक महिनाको शुक्लपक्षको नवमी तिथिका दिन ब्रज क्षेत्रको वृन्दावनमा गएर अमलाको फेदमा भगवान् नारायणको पूजा गर्नु, ब्राह्मण भोजन गराउनु साथै कुभिण्डो वा त्यसबाट बनेका खाद्य परिकारको दान गर्नु तेरो शरीरमा भएका समस्त रोगव्याधि र विकार दूर हुनेछन् । गङ्गामाताको आदेशानुसार साहुनीले विधिपूर्वक अमलाको बोटमा भगवान् नारायणको प्रतिष्ठा गरी पूजादि सम्पन्न गरी । उसका शारीरिक रोगव्याधिको नाश भयो । उसले पूर्ववत् सुन्दर शरीर प्राप्त गरी । केही समयपछि उसले गर्भधारण गरी र एउटा सुन्दर पुत्रसमेत प्राप्त गरी । त्यसैले सन्तानहीन महिलाले यस नवमीको व्रत सम्पादन गर्न थाले ।

सन्तान नहुनेले मात्र होइन, सन्तान भएका महिलाले समेत यस कुष्माण्डा नवमीको व्रत सम्पादन गरेमा सन्तान स्वस्थ र निरोगी हुनुका साथै तिनको उन्नतिप्रगतिको मार्गमा देखिएका विघ्नबाधा दूर भई तिनले धनधान्य, मानसम्मान र सुखसुविधा प्राप्त गर्ने गर्दछन् ।

Nov 3, 2017

गोवत्स द्वादशी व्रत (कार्तिक १८, २०७५) - Govatsa Dwadashi


गाईको महत्व अनन्त छ। गाईबाट प्राप्त हुने हरेक वस्तु अमृतसमान हुन्छ, जुन कुरा धर्मशास्त्रमा पनि उल्लेख भएको छ। पछिल्ला दिनमा विज्ञानले पनि गाईको दूधमा विभिन्न किसिमका रोगलाई प्रतिरोध गर्नसक्ने सामर्थ्य र शक्ति हुन्छ भनेर प्रमाणित गरिसकेको छ। गाईको खुरले जमिनमा रहेको विषादितत्त्व ग्रहण गरी त्यसको नकारात्मकताको अन्त्य गर्दछ, त्यसैले त्यही खुरको स्पर्श भएको जल खानाले मान्छेको स्वास्थ्यमा सकारात्मक फाइदा पुग्दछ । गाईलाई विष पिलाए पनि उसले दूधका धाराबाट अमृत बर्साउँछ । गाईको गलामा रहेको मालमा विष ग्रहण गर्न सक्ने शक्ति हुन्छ, अर्थात् गाईले आफ्नो घाँटीमा रहेको मालको सहयोगबाट विष ग्रहण गर्ने एवम् आफ्नो शरीरका अन्य अङ्गहरूमा त्यसको असर पर्न नदिने एक किसिमको संरचना हुन्छ। गाईलाई माताका रूपमा मान्ने परम्परा हाम्रो सनातन परम्परा हो । गाईको समग्र शरीरमा समस्त देवीदेवताको निवास हुन्छ । गाईको पुच्छरलाई शेष नागको प्रतीक र दुर्इ वटा सिङलाई कुमेरु र सुमेरु पर्वत मानिन्छ । सनातन संस्कृतिमा जुनसुकै शुभकर्म सम्पादन गर्न पञ्चगव्यको अपरिहार्यता हुन्छ । पञ्चगव्यमा गाईको दुध, दही, घ्यू, गहुँत र गोबरको सम्मिश्रण हुन्छ । नियमित रूपमा गाईको दुधको सेवन गर्ने मनुष्यको स्मरण शक्ति तीक्ष्ण हुन्छ, त्यसैले दैनिक शयनकक्षमा जानुअघि एक गिलास दूध खानुपर्छ भनिएको हो । प्रत्येक गृहस्थीले गाईको केवल पालनपोषणमात्र गरे पनि अक्षय पुण्य प्राप्त हुन्छ, त्यसबाहेक उसको दैनन्दिनीमा आवश्यक अमृतसमान दुध, दही, मोही प्राप्त गर्न सक्दछ ।

गोमहत्त्वको सन्दर्भमा एउटा श्लोक यस्तो छ :-

गोस्पर्शनविहीनस्य गोदोहनमजानत । गोपोषणविहीनस्य तस्यजन्मनिरर्थकम् ॥

(गाईको संसर्ग नभएको, गाई दुहुन नजान्ने, गाईको सेवा गर्न नजान्ने व्यक्तिको जन्म निर्रर्थक हुन्छ।)

सन्तान नभएकाहरूले गाईको सेवासुश्रुषा गरे सन्तान हुने जनविश्वास छ। राजा दिलीप र सुदक्षिणा नामका दम्पत्तिले सन्तान नहुँदा नन्दिनी गाईको सेवासुश्रुषा गरी सन्तान प्राप्त गरेको प्रसङ्ग विभिन्न धर्मग्रन्थका साथै महाकवि कालिदासको रघुवंश महाकाव्यमा उल्लेख गरिएको छ । मान्छे जन्मँदा पनि गाईको गोबरले लिपेको स्थानमा जन्माउने एवम् जन्मिसकेपछि पनि जन्मेको ठाउँमा गाईकै गोबरले लिपेर चोख्याउने गरिन्छ। मान्छे मर्दा समेत मरेको एवम् काजक्रिया गरेको ठाउँमा गाईको गोबरले लिपेमा ठाउँ पवित्र हुने धार्मिक विश्वास छ। गाईले लिपेको स्थानमा कुनै पनि किटाणुको सहजै प्रवेश हुनसक्दैन र सानातिना किटाणुहरू समेत नष्ट हुन्छन् भनी विज्ञान पनि प्रमाणित गरिसकेको छ । सनातन हिन्दु धर्म संस्कारमा आधारित पद्धति हो, यसमा रहेका षोडश संस्कारको अनुसरण गरी हरेक मानिसको जन्मदेखि मृत्युपर्यन्तका कर्म सम्पादन हुन्छन् । ती समस्त १६ वटै संस्कार सम्पन्न गर्नुअघि र पछि गोविकार प्रयोग गर्नु पवित्र मानिन्छ ।

गाईबाट प्राप्त दूध मानवीय स्वास्थ्यका दृष्टिकोणले समेत अतीव स्वस्थकर हुन्छ। गाईलाई उचित स्याहारसुसार एवं संरक्षण गर्न सकेमा पारमार्थिक यश र पुण्य त प्राप्त हुन्छ नै, व्यवसायिक र निर्वाहमुखी दृष्टिले पनि एउटा गृहस्थीको सहज जीवनयापन हुन्छ । भगवान् श्रीकृष्ण स्वयं गोठालाकुलमा ग्वालबालका रूपमा अवतरित हुनुभएको थियो र उहाँको अधिकांश समय गाईको सेवासुश्रुषामा वितेको थियो । प्रत्येक वर्षको कार्तिक कृष्णपक्षको द्वादशी पर्व पशुपालन गरी कृषिमा आधारित जीविका चलाउने गोठाले संस्कृतिको प्रतिनिधि पर्व हो । यस दिन गाई र तिनका बाछा (बहर) हरूको पूजा र सेवा गर्ने गरिन्छ। यस दिन बिहानै उठेर नित्यकर्मबाट निवृत्त भई गाई र बहरको विधिवत् पूजा गर्ने प्रावधान छ । वर्तमान जीवनवृत्ति कृषिकर्ममा मात्र आधारित छैन । त्यसैले सहरी जीवन धान्ने क्रममा कतिपय व्यक्तिहरूका घरमा गाई हुँदैनन्, त्यस्ता व्यक्तिले गौशालामा वा छरछिमेकीका घरमा गएर पनि गाईको पूजा गर्नुपर्दछ भनिएको छ । घरका छेउछाउमा गौशाला पनि छैन र छरछिमेकीका घरमा पनि गाई पालिएको छैन भने माटो भिजाएर गाईको प्रतिमा बनाई वा कुनै धातुबाट निर्मित गाई र बहरको प्रतिमाको पूजा गर्दा पनि हुन्छ। यस व्रतको पालना गर्दा यस दिन गाईको दूधबाट निर्माण हुने खाद्यपदार्थ र हतियारको प्रयोग गरी तैयार गर्नुपर्ने तरकारीको उपयोग गर्न निषेध गरिएको छ।

गोवत्स द्वादशीको पूजा विधि (Govatsa Dwadashi Puja Vidhi)

बिहानै स्नानादिबाट निवृत्त भई स्वच्छ वस्त्र धारण गर्नुपर्दछ र आफुले पूजा गर्ने जीवित वा प्रतिमाको गाई र बाच्छालाई पनि नुहाई दिनुपर्छ। नुहाएपछि ती दुबै गाई र बाच्छालाई नया लुगा ओढाउनु पर्दछ, गाई र बाछा दुबैलाई फूलको माला पहिर्याउनु पर्दछ, अनि दुबैको टाउकोमा चन्दनको तिलक लगाई दिनुपर्दछ, सिङलाई सिंगारी दिनुपर्दछ। त्यसपछि गाईलाई पूजा गरी दुबै हात जोडेर प्रार्थना गर्नुपर्दछ ।


गावो मे अग्रतः सन्तु गावो मे सन्तु पार्श्वतः । गावो मे हृदये सन्तु गवां मध्ये वसाम्यहम् ॥नमो गोभ्य: श्रीमतीभ्य: सौरभेयीभ्य एव च। नमो ब्रह्मसुताभ्यश्च पवित्राभ्यो नमो नम: ॥यया सर्वमिदं व्याप्तं जगत्स्थावरजङ्गमम्। तां धेनुं शिरसा वन्दे भूतभव्यस्य मातरम् ॥त्वं माता सर्वदेवानां त्वं च यज्ञस्य कारणम् । त्वं तीर्थं सर्वतीर्थानां नमस्तेऽस्तु सदाऽनघे ॥

त्यसपछि तामाको भाँडामा सुगन्ध, अक्षता, तिल, पानी र फूल मिसाएर तलका मन्त्र पढी गाईलाई अर्घ्य प्रदान गर्दै अभिषेक गर्नु पर्दछ, मन्त्र निम्नानुसार छन :-

क्षीरोदार्णवसम्भूते सुरासुरनमस्कृते।
सर्वदेवमयि मातर्गृहाणार्घ्यं नमो नम: ॥

यस मन्त्रको अर्थ हो - समुद्रमन्थनका समयमा क्षीरसागरबाट उत्पन्न देवता र असुरहरूद्वारा नमस्कार गरिएकी देवस्वरुपिणी माता हजुरलाई बारम्बार नमस्कार छ। मैले समर्पण गरेको अर्घ्यलाई हजुरबाट स्वीकार गरियोस्।

यस कृत्यपछि गाई र बाछालाई कालो दाल (मास) मिसाएको अन्न (चामल) खाद्यपदार्थका रूपमा खान दिनुपर्छ अनि तलका मन्त्र उच्चारण गर्दै प्रार्थना गर्नुपर्दछ, मन्त्र यस प्रकार छ - 

सुरभि त्वं जगन्मातर्देवी विष्णुपदे स्थिता।
सर्वदेवमयि ग्रासं मया दत्तमिमं ग्रस ॥
तत: सर्वमयि देवि सर्वदेवैरलड्कृते।
मातर्ममाभिलषितं सफलं कुरु नन्दिनी ॥

माथिका श्लोकको अर्थ हो- हे जगदम्बे, हे स्वर्गवासिनी देवी, हे सर्वदेवमयी हजुर मैले अर्पण गरेको यस अन्नलाई ग्रहण गर्नुहोस्। समस्त देवताहरूद्वारा अलङ्कृत माता नन्दिनी! हजुरले मेरा समस्त मनोरथ पूर्ण गर्नुहोस्।

गौमाताको पूजा गरेपछि गोवत्सद्वादशीको कथा सुन्नुपर्दछ, दिनभरि निराहार व्रतसम्पादन गरी सायंकालमा आफ्ना इष्टदेव र गौमाताको बाछोसहित आरती गर्नुपर्दछ, त्यसपछि भोजनादि ग्रहण गर्नुपर्दछ।

गोवत्स द्वादशीको व्रतकथा (Govatsa Dwadashi Katha)

प्राचीन समयमा भारतवर्षको पूर्वीक्षेत्रमा पर्ने सुवर्णपुर नामको सहर थियो। त्यस नगरमा देवदानी नामका राजा राज्य गर्दथे। ती राजसँग एउटा गाई र एउटा भैंसी थिए। राजाका दुईवटी रानी थिएँ। एउटीको नाम सीता र अर्कीको नाम गीता थियो। सीताले भैंसीलाई एउटी साथी(सखी)लाई झैं प्यारो मान्ने गर्दथिन्, त्यस्तै गीता भने गाई र त्यसको बाछोलाई यसरी नै माया गर्दथिन्। एक दिन भैंसीले आफ्नी मालिक्नी सीतासँग भन्यो- गाईको बाछोसमेत भएकाले तपाईंकी सौता गीता मसँग अलि ईर्ष्या गर्दछिन्। भैंसीका यस्ता गुनासा सुनेपछि रानी सीताले असाध्यै दुःख मानिन् र आफ्नो प्यारो भैंसीलाई खुसी पार्न गीताले छोरोसरह माया गर्ने बाछोलाई काटेर गहुँको थुप्रोभित्र छोपिन्। यस घटनाको पत्तो कसैले पाएन। दिउँसो भोजनादि ग्रहण गर्ने बेलामा जब राजा भोजन गर्न बसे, अचानक खानामाथि मासु र रगतको वर्षा हुन थाल्यो। दरबारमा चारैतिर रगत र मासु देखिन थाल्यो, राजाकै भोजनपात्रमा मलमूत्र बर्सियो । यस्तो दृश्य देखेर राजा असाध्यै डराए र उनलाई ठूलो चिन्ता भयो । त्यसै समयमा आकाशवाणी भयो - 'हे राजन् ! तिम्री रानी सीताले गाईको बाछोलाई काटेर गँहुको थुप्रोभित्र लुकाएकी छन् । त्यसै अनिष्टका कारण यी घटना घटेका हुन् । संयोगले भोलि गोवत्स द्वादशीको पुण्य दिन परेको छ, त्यसैले भोलि गीताले पाल्ने गरेको भैंसीलाई सहरबाट बाहिर निकाली देऊ र गाई तथा मृत बाछालाई विधिवपूर्वक पूजा गर।  भोलि तिमीले गाईको दूध र हतियारले काटेर पकाइने फलफूल र तरकारी नखानु। यस कृत्यलाई सम्पादन गरेपछि तिम्रा र तिम्री रानी सीताका समस्त पाप नष्ट हुनेछन् अनि बाछो पनि बाच्नेछ ।

राजाले आकाशवाणीबाट व्यक्त भएका सबै कुरा निष्ठापूर्वक पालना गरे र भनेजस्तै भयो। धेरै वर्षसम्म पृथ्वीतलमा शासन गरी राजा देवदानी सपरिवार मृत्युपछि गोलोकधाममा जाँदा भए।

Nov 1, 2017

प्रेमगाथाको अनुपम पर्व : श्री राधाष्टमी

धार्मिक ग्रन्थहरूमा राधाष्टमी पर्व वर्षमा दुई पटक पर्ने कुरा उल्लेख भएको पाइन्छ । कतैकतै कार्तिक महिनाको कृष्णपक्षको अष्टमी तिथि राधाष्टमी हो भनिएको पाइन्छ, तर अधिकांशले भदाै महिनाको शुक्ल पक्षको अष्टमी तिथिलार्इ 'राधाष्टमी' पर्वका रूपमा मान्ने गर्दछन् । मतान्तर देखिए पनि यी दुबै राधाष्टमीका दिन भारतको उत्तरप्रदेशमा वृन्दावनधाम नजिकै रहेको बरसाना भन्ने पर्वतको गहवर वनको परिक्रमा गर्न भक्तजनहरूको घुइँचो हुने गर्दछ र यो रौनक खासगरी भाद्र शुक्ल अष्टमीका दिन विशेष हुन्छ । भगवान् श्रीकृष्णका अनुयायी र भक्तजनहरूले उक्त दिन ठाउँठाउँमा विशेष गरी राधाकृष्णको मन्दिरमा सांस्कृतिक कार्यक्रमको अायोजना गर्ने गर्दछन् । मन्दिरलार्इ सजिसजाउ पारिन्छ र श्रीराधा रानीको विशेष विधिविधानका साथमा पूजाअर्चना गर्ने गरिन्छ ।

राधाष्टमीको प्रसङ्ग र कथा

के राधा भगवान् श्रीकृष्णकी प्रेमिका थिर्इन् वा हुन् ? यदि थिर्इन् भने श्रीकृष्ण र राधाको विवाह किन भएन ? हामी पढेका इतिहास र पुराणमा श्रीकृष्णकी मुख्य पत्नी अाठवटी र अन्य रानीसमेत सोह्र हजार एकसय अाठवटी पत्नीको उल्लेख गरिन्छ । ती अाठवटी मुख्य पत्नीहरू क्रमशः रुक्मिणी, जाम्बवती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा हुन् भने नरकासुरको दरबारमा बन्दी जीवन बितार्इ भगवान् श्रीकृष्णद्वारा मुक्त तुल्याइएका सोह्र हजार एक सय राजकन्याहरू बाँकी पत्नी थिए । तीमध्ये कुनै पनि श्रीराधा होइनन् । अाजको यस अालेखमा श्रीराधाको जीवनकथा र राधाकृष्णको प्रणयलीलालार्इ बुझ्ने चेष्टा गराैं -

राधा श्रीकृष्णकी सुप्रसिद्ध बालसखा, उपासिका र वृषभानु नामका ग्वालाकी छोरी हुन् । राधा र कृष्ण शाश्वत प्रेम का प्रतीक हुन् । राधाकी अामाको नाम 'कीर्ति' हो र उनलार्इ 'वृषभानुपत्नी' पनि भन्ने गरिन्छ । पद्मपुराणको एउटा प्रसङ्गमा राधालार्इ वृषभानु नामका राजाकी छोरी भनी उल्लेख गरिएको छ । एक पटक वृषभानु राजाले यज्ञभूमि तैयार गरिरहेका वेला भुइँ बढार्दाबढार्दै एउटी नवजात कन्या प्राप्त गर्दछन् र तिनलार्इ उनले पालनपोषण गरी हुर्काउँदछन् । तिनै कन्या राधा हुन् । उक्त कथानकमा बताइएको छ - वैकुण्ठनाथ भगवान् विष्णुले कृष्णावतार लिने क्रममा अाफ्ना पार्षद र देवताहरूलार्इ वृजभूमिमा गर्इ कुनै न कुनै अवतार लिनु भनी अाग्रह गर्नुभयो । त्यसैले विष्णुका पार्षद र देवीदेवताले भगवदाज्ञा शिरोधार्य गरी समस्त ग्वालबाल र नरनारीका रूपमा अवतार ग्रहण गरे, तर माता लक्ष्मीलार्इ भगवान् विष्णुले केही पनि नभनेको हुँदा उनी राधाका रूपमा वृषभानुको यज्ञमण्डपमा अवतरित भर्इ भगवान् श्रीकृष्णको बाललीला हेर्न उपस्थित भएकी हुन् ।

श्रीकृष्णकी उपासिका : राधा

राधालार्इ अधिकांश संस्कृत काव्य र पुराणमा श्रीकृष्णकी प्रेमिका र कतिपय स्थानमा पत्नीका रूपमा उल्लेख गरिएको पाइन्छ । ब्रह्मवैवर्तपुराणको एउटा प्रसङ्गमा बताइएबमोजिम राधा श्रीकृष्णकी बालसखा हुन् र उनको विवाह 'रायाण' नामका ग्वालासँग भएको हो । गर्गसंहितामा राधा र कृष्णको विवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ । राधा र कृष्णको यस विवाहका अायोजक जगत्पितामह ब्रह्मालार्इ मान्ने गरिन्छ । ब्रह्माले मथुराको भाण्डीरवनमा यज्ञवेदी निर्माण गरी राधा र कृष्णको वैदिक विधिपूर्वक विवाह सम्पादन गरी ब्रह्मलोक फर्किएको कथा उक्त प्रसङ्गमा उल्लेख छ । त्यहाँ विवाहोपरान्त राधा र कृष्ण प्रेमभावमा चुर्लुम्म डुबेको विषयको चर्चा छ :- जसअनुसार एक दिन अचानक हुण्डरी चल्न थाल्दछ । बिजुली चम्कन्छ । हेर्दाहेर्दै चारैतिर अन्धकार हुन्छ । यसै अन्धकारमा एउटा दिव्य तेज अाकाशमार्गबाट पृथ्वीतलमा झर्छ । माैसममा अाएको परिवर्तनका कारण नन्दबाबा अाफ्नो नवजात शिशुलार्इ काखमा लिर्इ सुरक्षित तुल्याउने प्रयास गर्दछन् । उनले अाकाशबाट झरेको तेजस्वी धारालार्इ नियालिरहेका हुन्छन् । उनले घटनालार्इ सचेततापूर्वक अध्ययन गरिरहेका हुन्छन् । उनले कुरो बुझे, पृथ्वीतलमा भूभार हरण गर्न अवतरित भएका श्रीकृष्ण मेरा काखमा नवजात शिशुका रूपमा उपस्थित छन् । पक्का पनि माता लक्ष्मी अाफ्ना प्राणबल्लभको वियोगबाट व्याकुल भर्इ यहाँ अाेर्लेकी हुन् । अाकाशबाट अोर्लिएको त्यो दिव्य तेज एउटी सुन्दर स्त्रीका रूपमा परिवर्तित हुन्छ । नन्दबाबा तिनलार्इ भावविभोर भर्इ साष्टाङ्ग प्रणाम गर्दछन् । उनी ती स्त्रीलार्इ भन्दछन् - म कत्ति भाग्यशाली छु, जगन्नियन्ता प्रभुलार्इ मैले काखमा राख्ने साैभाग्य पाएको छु, अनि अहिले हजुरको दर्शन पाएर म कृतकृत्य बन्न पुगेको छु । यत्ति भनी सकेर भगवान् श्रीकृष्णलार्इ ती देवीको काखमा राखेर अाफू घरतर्फ फर्किए । त्यसपछि हावाको गति बन्द हुन्छ, अाकाश सफा हुन्छ । एकछिनअघिको अँध्यारो एउटा दिव्य प्रकाशमा परिणत हुन्छ । भगवान् श्रीकृष्णले अाफ्नो नवजात स्वरूप परिवर्तन गरी किशोर बालकको रूप धारण गर्नुहुन्छ । भाण्डीर वनको नजिकमा एउटा वंशी वन छ, जहाँ श्रीकृष्णले अाफ्नो बाँसुरीको धुन बजाउने गर्नुहुन्छ । वृजभूमिमा अहिले पनि विश्वास गर्ने गरिन्छ - हजाराैं वर्षअघिदेखि उक्त वन अद्यापि अस्तित्वमा छ र त्यहाँ रहेको एउटा पुरानो वृक्ष पनि अद्यापि जीवित छ, जसमा भगवान् श्रीकृष्णको वंशीको धून बज्ने गर्दथ्यो । यतिसम्म विश्वास गरिन्छ कि अहिले पनि उक्त वृक्षमा मन एकचित्त बनार्इ सुन्यो भने बाँसुरीको धून र तबलाको अावाज मनमस्तिष्क र मनमा गुन्जने गर्दछ । यसरी राधा र कृष्णको मिलन भएको उक्त अवसरमा नै ब्रह्माजी मूल पुरोहित भर्इ ती दुबैको विवाह सम्पन्न भएको थियो । राधासित विवाह गरेपछि भगवान् श्रीकृष्ण लामो समयसम्म त्यसै वनमा विहार गर्दै बस्नुभयो । त्यसपछि एकदिन अाफ्नो कृष्णावतारको प्रयोजन र नन्दयशोदाको सम्झना अाएकाले श्रीकृष्ण पुनः नवजात शिशुका रूपमा परिणत हुनुभयो । कृष्ण पुनः बालक बन्नु भएपछि राधाले बिलाैना गर्न थालिन् । त्यत्तिकैमा अाकाशवाणि भयो - 'राधे ! यत्ति वेला शोक नगर, भगवान् यस धराधामको भार हरण गर्न अवतरित हुनुभएको हो, वहाँको प्रयोजनमा बाधक नबन । काम पूरा भएपछि तिम्रो र वहाँको पुनः मिलन हुनेछ । तिमीले धैर्य गरी प्रतीक्षा गर्नुपर्छ ।' त्यसपछि राधाले भगवान् श्रीकृष्णलार्इ पुनः नन्दबाबाको काखमा राखिदिर्इन् ।

गर्ग संहितामा जसरी शिव र शक्ति एकाकार हुने गर्दछन् त्यसरी नै राधा र कृष्णको स्वरूप पनि हो । कृष्णकी शक्ति नै राधा हुन् अनि श्रीकृष्ण यस जगतका अाधारशक्ति हुनुहुन्छ । गर्ग संहिता र ब्रह्मवैवर्त पुराणबाहेक अन्य अधिकांश पाैराणिक गाथामा राधा र कृष्णको विवाह भएको प्रसङ्गको उल्लेख छैन, अतः उनी कृष्णकी बालसखा र अनन्य उपासिका मात्र हुन् । उनको कृष्णप्रतिको प्रेमभाव वासनामिश्रित थिएन र उनले भक्ति र उपासनाको चरमका रूपमा भगवान् श्रीकृष्णको उपासना गरेकी थिर्इन् ।

श्रीकृष्णकी प्राणकी अधिष्ठात्री देवी : राधा

वस्तुतः राधा भगवान श्रीकृष्णकी परम प्रिया हुन् र उनकी अभिन्न मूर्ति पनि । राधाको पूजा नगर्ने हो भने मनुष्यले कृष्णको भक्ति गर्ने अधिकार प्राप्त गर्न सक्दैन । अतः राधा भगवान् श्रीकृष्णको प्राणलार्इ सकारात्मक ऊर्जा सम्प्रेषण गर्ने अधिष्ठात्री देवी हुन् । त्यसैले भगवान् श्रीराधाको अधीनमा रहनुहुन्छ । राधाका धेरैवटा नाम छन्, तीमध्ये एउटा नाम 'कृष्णवल्लभा' पनि हो । यसको अर्थ श्रीकृष्णलार्इ अानन्द प्रदान गर्ने नारी भन्ने हुन्छ । एक पटक माता यशोदाले राधाको नामको व्युत्पत्ति के हो भनी प्रश्न गर्दा राधाले भनिन् - मेरो नामको सुरुको अक्षर 'रा' ले महाविष्णुलार्इ बुझाउँदछ भने 'धा' अक्षरको अर्थ हुन्छ, चराचर जगत् अर्थात यस विश्वब्रह्माण्डका प्राणिको मातृवाची धार्इ । पूर्वकालमा श्रीहरिले उनलार्इ राधा नामले सम्बोधन गर्नुभएको हो । भगवान् श्रीकृष्ण दुर्इवटा स्वरूपमा अवतरित हुनु भएको छ - द्विभुज र चतुर्भुज । चतुर्भुज रूपमा वहाँ वैकुण्ठमा देवी लक्ष्मी, सरस्वती, गङ्गा र तुलसीका साथमा रमण गर्नुहुन्छ, तर द्विभुज स्वरूपमा वहाँले गोलोक धाममा श्रीराधाका साथमा निवास गर्नुहुन्छ । राधा र कृष्णको प्रेम अनुपम थियो, एउटाले कष्ट वा पीडा ब्यहोर्दा अर्कोलार्इ अनुभूति हुने गर्दथ्यो । यस प्रसङ्गमा एउटा अाख्यान छ, महाभारतको युद्धसमाप्तिपछि सूर्योपरागका समयमा श्रीकृष्ण, रुक्मिणी आदि रानीहरू, वृन्दावनवासी आदि सबै कुरुक्षेत्रमा जम्मा भएका वेला राधा पनि त्यहाँ अार्इ पुगीन् । रुक्मिणीले राधाको स्वागत सत्कार गर्दै दुग्धपान गरार्इन् । विश्रामका समयमा रुक्मिणीले श्रीकृष्णका पाउ थिच्दा वहाँको पाउमा ठेला उठेको देखियो । यसको कारण के हो भनी प्रश्न गर्दा श्रीकृष्णले जवाफ दिनुभयो - मेरा पाउको निवास राधाको हृदयमा हुने गर्दछ, तिमीले अघि दुग्धपान गराउँदा राधालार्इ तात्तातो दूध दियाै, परिणाम मेरा पाउमा देखियो र अागोले पोलेजस्ता ठेला उब्जिए ।

राधा र कृष्ण : शरीरमात्र दुर्इ, तर एक अभिन्न अङ्ग

श्रीराधा श्रीकृष्णकी अभिन्न अङ्ग हुन् । वृन्दावनमा जब श्रीकृष्णले दिव्यानन्दको अनुभूति गर्नुभयो, त्यही दिव्यानन्द राधाका रूपमा प्रकट भर्इन् र श्रीकृष्णकी प्राणशक्ति बनिन् । राधा र कृष्णको प्रेमप्रसङ्गको सुरुवात बाल्यावस्थामा नै प्रारम्भ भएको हो । कृष्णको बाल्यावस्था गोकुल र नन्दगाउँमा बितेको थियो भने राधाको बाल्यावस्था बरसानामा । नन्दगाउँ र बरसानाको दूरी लगभग ४५ किलोमिटर टाढा छ । पुराना र प्रचलित पुराणमा राधाको नामोल्लेख छैन । संस्कृत साहित्यको मध्यकाल वा भक्तिकालमा राधा र कृष्णको दिव्य प्रेमकथाको विस्तार भएको मान्ने गरिन्छ । राधाकृष्णको भक्तिको प्रारम्भ निम्बार्क सम्प्रदाय, वल्लभ-सम्प्रदाय, राधावल्लभ सम्प्रदाय, सखीभाव सम्प्रदाय आदि सम्प्रदायमा बहुप्रचलित हुन पुग्यो । यी पाँचवटा सम्प्रदायमध्ये सबैभन्दा प्राचीन निम्बार्क र राधावल्लभ यी दुर्इवटा सम्प्रदाय हुन् । दक्षिण भारतका अाचार्य निम्बार्कले सर्वप्रथम राधा र कृष्णको युगल उपासनाको परम्परा विस्तार गरेका हुन् । जगद्गुरु निम्बार्काचार्यको जन्म तेह्राैं शताब्दीको मध्यभागमा भएको मान्ने गरिन्छ । राधावल्लभ सम्प्रदायका प्रवर्तक श्रीकृष्णको वंशीका अवतार मानिने तथा वृन्दावनको प्राचीन गौरवलार्इ पुनर्स्थापित गर्न योगदान दिने रसिकाचार्य हित हरिवंशजी महाप्रभुको सम्प्रदायका अाचार्य राधा हुन् । यी दुबै सम्प्रदायमा राधाष्टमी उत्सवको विशेष महत्त्व छ । निम्बार्क र राधावल्लभ सम्प्रदायको मुख्य स्थान वृन्दावन हो । वैष्णवाचार्यहरूले राधाकृष्ण उपासनाका भिन्नभिन्न पद्धतिको अनुसरण गरेका छन्, तिनका मतमा पनि एकरूपता पाइँदैन । निम्बार्क सम्प्रदायको मतमा श्याम र श्यामाको स्वरूप अभिन्न छ । भगवान् श्रीकृष्णले अाफ्ना लीलाका निमित्त अाफ्नै शरीरबाट राधालार्इ प्रकट गरी एकबाट दुर्इवटा शरीर धारण गर्नु भएको हो ।

राधाष्टमीको महत्त्व

विभिन्न धार्मिक गाथाहरूमा राधालार्इ 'कृष्णवल्लभा' भनेर गुणगान गरिएको छ । राधाष्टमीको उपासना, व्रत र कथाश्रवण गर्नाले व्रतालुका मनोकाङ्क्षा पूर्ण हुन्छन् । यस व्रतको पुण्यप्राप्त हुनाले भक्त सुखी, धनी र सर्वगुणसम्पन्न बन्दछ । श्रीराधाको नामोच्चारण र स्मरणबाट व्यक्तिले सायुज्य मुक्ति प्राप्त गर्दछ । राधाष्टमीका दिन बिहान सबेरै उठेर घर र कोठाचोटाको सरसफाइ गरेर स्नानादिबाट निवृत्त भर्इ शुद्ध मनले सङ्कल्प गरी व्रत थाल्नु पर्दछ । त्यसपछि सर्वप्रथम श्रीराधाको प्रतिमालार्इ पञ्चामृतले स्नान गराउनु पर्दछ, अनि विभिन्न वस्त्राभूषणले उक्त प्रतिमालार्इ सिंगार्नु पर्दछ । त्यसपछि राधा र कृष्णको युगलस्वरूपको पूजाअाराधना गर्नु पर्दछ । पूजा गर्दा धूप, दीप, नैवेद्यादि षोडशोपचार पद्धतिको प्रयोग गर्नु उचित हुन्छ । अन्त्यमा अारती र प्रदक्षिणा गरी दिनभरि राधाकृष्णको नामोच्चारण र सङ्कीर्तन गरी व्रत बस्नु पर्दछ । सायंकालमा सन्ध्या आरती गरेर एक छाक फलाहार वा हविष्यान्नद्वारा निर्मित सात्विक भोजन गर्नु पर्दछ । यसरी विधिविधानका साथमा व्रत लिनाले प्रेममा सफलता पाइने र अनेकानेक भाैतिक सुखसम्मृद्धिको भोग गर्दै यस जीवनमा अटल साैभाग्य प्राप्त भर्इ दाम्पत्यसुखको अानन्दलार्इ भोग गर्दै मरणोपरान्त सायुज्य मुक्ति मिल्नुका साथै गोलोकधाममा निवास गर्न पाइन्छ भन्ने विश्वास गरिन्छ । जय राधेश्याम ॥

Sep 21, 2017

वामन जयन्ती २०७५

प्रत्येक वर्षको भाद्र महिनाको शुक्ल पक्षमा पर्ने द्वादशी तिथिलाई भगवान् विष्णुको पाँचौं अवतार वामनको जन्मदिनका रूपमा भक्तिभाव र हर्षोल्लासका साथमा मनाउने गरिन्छ । त्यसैले यस दिनलाई वामन जयन्ती भन्ने गरिन्छ । सनातन हिन्दूधर्मका पौराणिक ग्रन्थहरूमा देवताहरूकी आमा अदितिले भगवान् विष्णुको तपस्या गरेर उक्त तपस्याबाट प्रसन्न भई विष्णुले उनको पुत्रका रूपमा उत्पन्न भई अवतार लिएको कथाप्रसङ्ग उल्लेख गरिएको छ । वामनले अदितीलाई प्रदान गरेको वरदानका कारण पुत्र देवगण र राजा इन्द्रलाई असुरराज बलिका भयबाट मुक्ति प्रदान गर्न भाद्र महिनाको शुक्ल पक्षको द्वादशी तिथिका दिन कश्यपपत्नी माता अदितिका कोखबाट जन्म लिनु परेको थियो।

उहिले त्रेता युगमा हिरण्यकशिपुको पनाति, प्रह्लादको नाति र विरोचनको छोरा बलि नाम गरेको दैत्यले पाताल लोकमा शासन गर्ने गर्दथ्यो । ऊ भगवान् विष्णुको परम भक्त थियो । विविध प्रकारका वेद सूक्तहरूद्वारा विष्णुको पूजन गर्ने गर्थ्यो र नित्यप्रति ब्राह्मणहरूको पूजन तथा यज्ञको आयोजना गर्दथ्यो, तर इन्द्रसित द्वेष भएका कारण उसले इन्द्रलोक तथा सम्पूर्ण देवताहरूमाथि विजय प्राप्त गरेको थियो। देवताहरू आफ्नो अधिकार प्राप्तिका लागि चिन्तित भए र सबै एकत्र भई गहन छलफलपछि भगवान् विष्णुको धाम वैकुण्ठलोकमा गए । बृहस्पतिसहित इन्द्रादिक देवता विष्णुसमक्ष गई नतमस्तक भएर वेदमन्त्रद्वारा विष्णुको पूजा र स्तुति गर्न थाले । देवताहरूको कल्याणका लागि बलिलाई बलहीन तुल्याउन विष्णुले वामन रूप धारण गर्नुपर्यो, यो विष्णुको पाँचौ अवतार थियो, विष्णुले वामनअवतार लिई ऋषि कश्यप र देवी अदितीको पुत्रका रूपमा स्वर्गका राजा इन्द्रको भाइ (अनुज)का रूपमा छल गरी राजा बलिलाई जिते। इन्द्रको भाइ भएर जन्मिनु परेकाले उनको नाम नै 'उपेन्द्र' रहन गयो ।

बलिले तिनै लोक र चौधै भुवनमाथि आफ्नो अधिकार जमाएको थियो । उसमा ठूलो अहङ्कार र घमण्ड भरिएको हुँदा ऐश्वर्य, सम्मृद्धि र श्रीसम्पत्तिको मादकता देखिन थालेको थियो । यस्तैमा उसले एउटा ठूलो यज्ञको आयोजना गरी गरीबगुरुवा र ब्राह्मणलाई इच्छामाफिकको दान गर्ने कार्यक्रम राखेको थियो । यसै अवसरमा विष्णुले वामन रूपधारी ब्रह्मचारी भएर राजा बलिसित तीन पाइला भूमि भिक्षा मागे । बलिले त्यसरी जम्मा तीन पाइलामात्र जमिन माग्ने वामनको छद्मरूप चिनेको थिएन । थोरै मागेको देखेर त्यसलाई तुच्छ ठान्दै अझ धेरै माग गर्न सामान्य ब्राह्मण ठान्दै उसले वामनसँग प्रार्थना गर्यो, तर वामन रूप धारण गरेका विष्णुले उसलाई भने - 'म ब्रह्मचारीलाई धेरै सम्पत्ति जम्मा पारेर के काम, अन्त्यकालमा समाधि लिन तीन पाइला नै काफी हुन्छ । त्यसैले हे, राजन् ! यो तीन पाइला जमिन मेरा लागि तीनै लोकसमान हुनेछ, तिमीले त्यत्ति जमिन दान गर्न प्रतिबद्ध भए पुग्छ ।'

राजा बलिका लागि यो कुरो सामान्य थियो, उसले याचनाको रहस्य खोतल्ने सोच राखेन । झटपट दान गर्न कुश, तिल र पानी समातेर सङ्कल्प गर्न आँट्यो, तर बलिका गुरु शुक्राचार्यले विष्णुको याचनाको रहस्य चाल पाएका थिए । आफ्ना यजमानको सर्वोपरि रक्षा गर्नु पुरोहितको कर्तव्य हुन्छ । त्यसैले सङ्कल्प गर्न ठिक्क परेको बलिलाई रोक्न खोजे ।  तर बलिको घमण्डका कारण बुद्धिभ्रष्ट भैसकेको थियो ।  ऊ सङ्कल्पबाट पछि हटेन र विष्णुलाई तीन पाइला जमिन दान गर्ने सङ्कल्प गरी छाड्यो । सङ्कल्पको कुश समात्नासाथ विष्णुले ठूलो रूप धारण गर्न थाले,  विष्णुको यस रूपले तीनलोक र चौधै भुवनलाई ढाक्यो । उनको यस स्वरूपलाई त्रिविक्रम भन्ने गरिन्छ । यस त्रिविक्रम स्वरूपले भूलोकमा पद, भुवर्लोकमा जङ्घा, स्वर्गलोकमा कम्मर, मह:लोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कण्ठको स्थापना गरी सत्यलोकमा मुख, त्यस माथि आफ्नो मस्तक स्थापित गर्यो । यस स्वरूपलाई सूर्य, चन्द्रमा आदि सबै ग्रहगण, योग, नक्षत्र, इन्द्रादिक देवता र शेष आदि सबै नागगणले विविध प्रकारले वेद सूक्तद्वारा प्रार्थना गरे । अनि विष्णुले राजा बलिको हात समातेर सोधे - 'हे राजन् ! मैले पहिलो पाइलामा पृथ्वी र अर्को पाइलामा स्वर्गलोकमा कुल्चिएँ, अब तेस्रो पाउ कहाँ राखौं ?' बल्ल बलिले विष्णुको छलमा परेंछु भन्ने थाहा पायो । आफ्ना आराध्य इष्टदेवको दर्शन पाएकाले उसलाई कुनै पछुतो भएन । भगवान् वैकुण्ठनाथलाई दर्शन दिलाउन बाध्य तुल्याउन र उनको अनुकम्पा प्राप्त गर्न उसले त्यस दानयज्ञको  आयोजना गरेको थियो । उसले तुरुन्त आफ्नो शिर झुकायो र तेस्रो पाइलाका लागि ठाउँ बनाइदियो । विष्णुले आफ्नो खुट्टा उसको मस्तकमा राखिदिए अनि विष्णुको त्यो भक्त पाताललोकमा गयो। उसको बिन्ती र नम्रता देखेर भगवान् विष्णुले भने - 'हे बलि ! म सदैव तिम्रा नजिकै बस्नेछु ।' विरोचनका पुत्र बलिले अनुरोध गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा विष्णुको प्रतिमा स्थापित भयो ।

बलिको पाताल गमनपछि ऋषिमुनि र देवताहरूले भगवान् वामनको पूजा र स्तुति गरे । परम्परागत रूपमा त्यसै दिनदेखि नै भाद्र महिनाको शुक्ल पक्षको द्वादशीका दिन वामनरूपी भगवान् नारायणको पूजाआजा गर्ने चलन चलेको हो । यस दिन श्रद्धालु भक्तहरू स्नान गरी शुद्ध वस्त्र धारण गरी भगवान् वामनको विधिपूर्वक पूजा गर्दछन् ।

धार्मिक मान्यताअनुसार वामन जयन्तीका दिन श्रवण नक्षत्रयुक्त हुँदा यस व्रतको महत्ता अझ बढ्न जान्छ । भक्त र श्रद्धालुहरू यस दिन भगवान् वामनको स्वर्णप्रतिमा बनाउन लगाई त्यसको वैदिक विधिपूर्वक प्रतिष्ठा गरी व्रत उपवास गर्दा सुयोग्य सन्तति प्राप्त हुने तथा भएका सन्ततिहरूको आयु, आरोग्य र सम्मृद्धिमा वृद्धि हुने साथै भगवान् वामनले तिनलाई समस्त कष्टहरूबाट त्यसरी नै मुक्त बनाउनुहुन्छ जसरी प्रभुले देवताहरूलाई राजा बलिको कष्ट निवारण गर्नु भएको थियो भन्ने कुरामा विश्वास गर्दछन् ।

Sep 10, 2017

लोभ कति गर्ने अनि दान कति गर्ने ? || वामन द्वादशी || भोज र बलि राजाको कथा || Vaman Dwadashi

आज वामन द्वादशी (२०७६ भाद्र २४ गते मङ्गलवार/10th September 2019)
यस भिडियो अति लालसा वा तृष्णा गर्ने र अति दान गर्ने दुबैले विपरीत परिस्थिति भोग्नुपर्छ भन्ने शास्त्रीय कथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । आउनुहोस् यो प्रेरक प्रसङ्गको श्रवण गरौं ।


Sep 4, 2017

तीज सकिंदा कृष्ण गुरुबाट यस्तो आयो प्रतिक्रिया - तरहरा एफएम इटहरीबाट अन...



तीज सनातन धर्मावलम्बी नेपाली हिन्दू महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान् शिवको आराधना गर्नुका साथसाथै नाचगान र मनोरञ्जन समेत गर्ने गरिन्छ । महिलाहरूद्वारा स्वतन्त्र र आनन्दसँग मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

अन्तर्वार्ता लिने :- गणेश निराैला
अन्तर्वार्ता दिने :- कृष्णप्रसाद कोइराला

स्थान : तरहरा एफएम, इटहरी २०, तरहरा, सुनसरी
मिति : २०७६ भाद्र १६ सोमबार । समय : दिनको ३ बजेदेखि ४ बजेसम्म


Sep 2, 2017

चौथी हान्ने दिन (चोरचन )

प्रत्येक वर्षको भाद्रपद शुक्लपक्षको चतुर्थी तिथिका दिन भगवान् गणेशको जन्मदिन भव्यताका साथमा मनाउने प्रचलन छ । यस पटक २०७५ साल भाद्र २७ गते बेलुका चतुर्थी तिथि परेको हुँदा चन्द्रदर्शन दोषको यो पर्व तीजकै दिन परेको छ ।

नेपाली सामाजिक जीवनमा यस दिनलाई चौथी हान्ने दिन पनि भनिन्छ। तराई मधेशमा यस दिनलाई चोरचन भन्ने गरिन्छ। चन्द्रमाको दर्शन गरेमा कलंकको भागी हुनु पर्छ भन्ने भनाइ छ, अर्थात् अपकीर्ति हुन्छ । भगवान् श्रीकृष्णले पनि सत्राजितसित भएको स्यमन्तक मणि चोरेको आरोप व्यहोर्नु परेको थियो । स्वयं रुक्मिणीपति कृष्णले यसलाई ‘मिथ्याभिशाप’ (भागवत(१०:५६:३१) भनेर मिथ्या कलंकको संकेत गर्नुभएको छ र देवर्षि नारदका भनाइमा श्रीकृष्णले भाद्र महिनाको शुक्लपक्षको चतुर्थी तिथिको चन्द्रमाको दर्शन गर्नु भएकोले व्यर्थको फत्तुर व्यहोर्नु परेको हो –

त्वया भाद्रपदे शुक्लचतुर्थ्यां चन्द्रदर्शनम् । कृतं येनेह भगवन् वृथा शापमवाप्तवान् ।।

– भागवतको श्रीधरी टीकामा स्कन्दपुराणको एउटा श्लोक उल्लेख गरिएको छ, त्यसको तात्पर्य के हो भने भाद्र महिनाको शुक्ल पक्षको चतुर्थीको चन्द्रमाको दर्शन गरेमा  कलंक नै हुन्छ, हुँदैन, त्यसको परीक्षण गर्ने कुनै नियम छैन, तर भाद्र शुक्ल चौथीको चन्द्रदर्शन त्याज्य छ । रामचरित मानसका रचयिता गोस्वामी तुलसीदासले पनि सुन्दरकाण्डको एउटा प्रसंगमा ‘चउथि के चंद नाई’ — (सुन्दरकाण्ड,३८:६) भनेका छन् ।

कलङ्कको कारण के हो त ?

गणेशजीले चन्द्रमा लाई दिनु भएको श्राप यसको कारण हो, जसको कथाप्रसंग यस्तो छ – भाद्र महिनाको चौथी तिथिका दिन गणेश जी लड्डू खाँदै आफ्नै सुरमा कतै जाँदै हुनुहुन्थ्यो, हिलोमा चिप्लिएर लड्नु भएछ, चन्द्रमाले त्यो दृश्य देखेर हाँसेछन्, लम्बोदरले रिसको झ्वाँकमा श्राप दिनुभयो, आजदेखि आजकै दिन कसैले तिम्रो दर्शन गर्यो भने दोषको भागी बन्नुपरोस् ।

स्कन्दमहापुराणमा भगवान् श्रीकृष्णले बताउनु भएको छ, भाद्र शुक्लपक्षको चन्द्रमाको दर्शन मैले गोठमा गाईको खुरमा रहेको पानीमा देखिएको बिम्बमा गरेको हुनाले मलाई स्यमन्तक मणि चोरेको आरोप लाग्न गयो –
मया भाद्रपदे शुक्लचतुर्थ्याम् चन्द्रदर्शनम् । गोष्पदाम्बुनि वै राजन् कृतं दिवमपश्यता ।।

ल भाद्र महिनाको आजको चन्द्रमालाई देख्न नचाहँदा नचाहँदै देखिहालियो भने के गर्ने त ?

१. भाद्र शुक्ल द्वितीया (दर खाने दिन) को चन्द्रमाको दर्शन गरिएको छ भने दोष लाग्दैन, भन्ने मान्यता छ ।
२. भागवतमा भएको स्यमन्तक मणिको कथा सुन्नुपर्छ ।
३. तल लेखिएको मन्त्रलाई २१ पटक जप गर्नुपर्छ –
सिंहः प्रसेनमवधीत् सिंहो जाम्बवता हतः । सुकुमारक मा रोदीस्तव ह्येष स्यमन्तकः ।।
४. माथि लेखिएका कुनै उपाय पनि अपनाउन नसकिएमा मात्र छिमेकीको गाली खाने गरी उसकै अगाडि बिगार गर्नुपर्छ, तर विगार गर्ने उद्देश्यले लुकिछिपी अर्कालाई दुःख दिने मनसायले कुनै असभ्य र अभद्र व्यवहार गर्नु हुँदैन त्यसो गरेमा झन् ठूलो दोषको भागी बन्नु पर्नेछ ।

तीज पर्व || गणेश चतुर्थी || Teej | Ganesh Chaturthi || २०७६ भाद्र १६ गते सोमबार || 2 September 2019

२०७६ भाद्र १६ गते सोमबार । 2 September 2019 । तीज पर्व । गणेश चतुर्थी । Teej । Ganesh Chaturthi

तीज सनातन धर्मावलम्बी नेपाली हिन्दू महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । यस पटक तीज र गणेश चतुर्थी पर्व एकै दिन परेको । अझ सोमबार भगवान् शिवको प्रियदिनमा तीज पर्व परेको छ, त्यसबाहेक यस दिन हस्ता नक्षत्र, बज्र योग र कन्या राशिको चन्द्रमाको संयोगले यस पटकको तीज विशेष बनेको छ । तीजमा भगवान् शिवको आराधना गर्नुका साथसाथै नाचगान र मनोरञ्जन समेत गर्ने गरिन्छ । महिलाहरूद्वारा स्वतन्त्र र आनन्दसँग मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

तीजको धार्मिक पृष्ठभूमि



धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको पूजा गर्न थालिन् । उनको विवाह विष्णुसँग हुँदैछ भन्ने सूचना पार्वतीले आफ्ना सखीहरूमार्फत थाहा पाएकी थिइन् र तिनै साथीहरूले लुकाएर यिनलाई वनमा पुर्याइएको थियो । संस्कृत भाषामा सँगीसाथी अर्थ बुझाउने शब्द आलिकाले अपहरण गरी वनान्तरमा पुर्याएको हुँदा यस व्रतको अर्को नाम हरितालिका पनि हो । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बस्न थालिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई 'चिताएको कुरा पुगोस्' भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन गयो । कतिपय ग्रन्थमा यसरी विवाह भएको त्यो दिन पनि भाद्र शुक्ल तृतीयाकै दिन थियो, तर प्रामाणिक रूपमा शिवपार्वतीको विवाह भएको दिन अक्षय तृतीयालाई मान्ने गरिन्छ । यस परिघटनाको स्मरणमा नारीहरूले यस दिनलाई उत्सवकारुपमा मनाउन थाले र यो तीजका रूपमा मनाउने चलन पौराणिक कालदेखि नै चल्दै आएको मानिन्छ ।
व्रत बस्ने दिन

तीजको व्रत अन्य व्रतभन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ । दरमा खासगरी खीर र ढकनेका साथमा ठाउँअनुसारका मिठामिठा परिकार बनाएर खाने गरिन्छ । तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती अबेरसम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो । दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको व्रत बसिन्छ । यस दिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ।


यस पटक तीजकै दिन भगवान् गणेशको जन्म दिन र चन्द्रदर्शन दोष, चथा पर्व समेत परेको छ । श्रीगणेशको जन्म भदौ महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको थियो । त्यसैले प्रत्येक वर्ष यस दिन धूमधामका साथमा गणेश जयन्ती पर्व मनाउने गरिन्छ । गणेश चतुर्थीका दिन निम्न आठवटा उपायलाई अवलम्बन गरेमा मनोकामना पूर्ण हुन्छ :-

(४) सबै किसिमका विघ्न समाप्त गरी जीवनपथमा विनाअवरोध अगाडि बढ्नका लागि ‘ॐ गं ग्लौं गणपतये विघ्न विनाशिने स्वाहा’ मन्त्रलाई २१ माला (एउटा मालामा १०८ दाना हुन्छन्) जाप गर्नु पर्दछ ।
आदिदेवता शिवपुत्र श्रीगणेशको जन्म भदौ महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको थियो । विघ्नहर्ता, बुद्धि प्रदाता, लक्ष्मी प्रदाता भगवान् गणेशलाई प्रसन्न तुल्याउने सबैभन्दा उत्कृष्ट समय हो, यो । यसको विकल्पमा कुनै मङ्गल चतुर्थीको संयोग परेमा पनि यी उपायलाई प्रयोग गर्न सकिन्छ, नत्र अब यसपछि अर्को वर्षमात्र यो पुण्यसमय प्राप्त हुन्छ । आफ्ना जेजस्ता इच्छा भए पनि मनोकाङ्क्षा सिद्धिका निमित्त उक्त दिन तलका आठवटा उपायलाई उपयोग गर्ने राम्रो अवसर जुटेको छ :-


(१) ‘ॐ गं गणपतये नम:’ यस मन्त्रको २१, ५१ वा १०८ आवृत्ति जाप गरी विधिपूर्वक प्रज्वलित अग्निमा शुद्ध घिउको १०८ आहुति दिएमा मानसिक प्रसन्नता र घरपरिवारमा सुखसम्मृद्धिको प्राप्ति हुन्छ ।


(२) विवाह, दाम्पत्यसुख, सन्ततिप्राप्ति वा कुनै उन्नतिप्रगतिमा बाधा भएको छ भने ‘ॐ वक्रतुंडाय हुं’ मन्त्रको प्रयोग गर्नु पर्दछ । यस मन्त्रको जाप गर्दा सकेसम्म मुगाको मालाको प्रयोग गरेमा शीघ्र लाभ हुन्छ ।


(३) कसैलाई आफूप्रति आकर्षण जगाउनु छ वा वशीकरण गर्नु छ भने ‘ॐ वक्रतुंडाय हुं’ मन्त्रको जाप गर्न हकीक (एक किसिमको पत्थर) को मालाको प्रयोग गर्ने विधान छ ।



(५) शत्रुदमन गरी रिस, इबी र डाहा गर्नेहरूबाट मुक्त हुन चाहनु हुन्छ भने ‘ॐ हस्ति पिशाचि लिखे स्वाहा’ मन्त्रको जाप गर्नु पर्दछ ।


(६) शक्ति विनायक गणपतिको प्रतिमा स्थापना गरी आराधना गर्नाले व्यक्ति सर्वशक्तिमान हुन पुग्दछ । यस विधिका लागि भगवान् गणेशको ‘ॐ ह्रीं ग्रीं ह्रीं’ मन्त्रको जाप गर्नु उचित हुन्छ ।

अस्तु ।
(७) ‘ॐ श्रीं गं सौम्याय गणपतये वरवरद सर्वजनं मे वशमानय स्वाहा।’ यस मन्त्रको ४४४ पटक उच्चारणका साथ अञ्जुली प्रदान गरेमा गणेशजीको शीघ्र कृपा प्राप्त हुन्छ ।


(८) ऋणबाट ऊऋण हुन यस दिन व्रतालुले विधिपूर्वक श्रीगणेशको पूजा गरी तल लेखिएको ऋणहर्ता मन्त्र ॐ श्री गणेश ऋण छिन्धि वरेण्य हुं नमः फट् को १०८ माला जाप गरी त्यसको दशांश हवन गरिदिनु पर्दछ ।

पूर्ण विवरण र विधिविधान प्रयोग गर्ने तरिकाका लागि पूरा भिडियो हेर्नुहोला ।


Mar 19, 2017

रङ्ग र उल्लासको पर्व होली, किन मनाइन्छ होली ? (Why is Holi celebrated?)

सनातन हिन्दू संस्कृतिमा रङ्गीन पर्व होलीको आफ्नै धार्मिक तथा पौराणिक मान्यता छ । चलनचल्तीमा होली भनिने फागु पूर्णिमा एउटा प्राचीन उत्सव हो । उत्तरी भारतको अधिकांश क्षेत्र तथा नेपालको मधेशमा होली पर्व सबैभन्दा ठूलो र विशिष्ट चाडका रुपमा मनाउने गरिन्छ । हामी र हाम्रा यावत् चाडपर्व र उत्सव कृषि जीवनमा आधारित छ । समयचक्रमा ऋतुपरिवर्तनका साथमा हाम्रा मानसिक उतारचढाव र कामधन्दाको चपेटालाई दृष्टिगत गरी हाम्रा कतिपय व्रतउत्सव र चाडपर्वको आयोजना हुने गर्दछ । यसै क्रममा उराठलाग्दो चिसो मौसमलाई विदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एक साता लामो पर्व फागु उत्सव हो र यसको उत्कर्षको दिन नै फागुपूर्णिमा हो । प्रत्येक वर्षको फाल्गुन शुक्ल पक्षको पूर्णिमा तिथिलाई फागु पूर्णिमा, होली, चीरदाह, फगुवा आदि नामले चिनिन्छ । सबै जाति, सबै धर्म र सम्पूर्ण संस्कृतिप्रेमीको यो सिङ्गो चाड नेपाल, भारतलगायत सनातन हिन्दू धर्मावलम्बीहरू बसोबास गर्ने विभिन्न क्षेत्रमा अत्यधिक उत्साह उमङ्ग र हर्षोल्लासका साथमा मनाइन्छ । धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक आदि सबै दृष्टिकोणबाट फागू पूर्णिमाको विशिष्ट महत्त्व देखिन्छ ।


Mar 3, 2017

महा शिवरात्री (Maha Shivaratri) - जस्तोसुकै बाधा र कष्ट दूर गर्ने महाव्रत

भोलि सोमवार, २० गते, महाशिवरात्री
सोमवारका दिन महाशिवरात्री परेको यो विशेष दिन हो । यस्तो पुण्यदायी संयोग ५१ वर्षपछि परेको छ ।
आउनुहवस् यस व्रतको विशेषता, महत्त्व, व्रतकथा र श्रद्धालुले व्यक्तित्व विकासका केकसो गर्दा फाइदा हुनेछ भन्ने विषयमा चर्चा गरिएको भिडियो हेरौं ।