Showing posts with label राशिफल. Show all posts
Showing posts with label राशिफल. Show all posts

Dec 21, 2019

राशिफल नयाँ वर्ष 2020 AD (Yearly Horoscope Prediction)



Check out your Nepali Rashifal 2020 now and know how the year is going to be for you. This Nepali horoscope for 2020 is based on the ancient principles of Vedic Astrology. It will guide you through thick and thin of the year. You will also get remedial measures to avoid pitfalls. Let’s have a look at it now:


२०२० मा तपाईँका ग्रह नक्षत्र कस्ता छन्? वार्षिक राशिफल २०२० सुनेर/हेरेर आफ्नो भविष्यबारे पूर्णरूपेण जानकारी प्राप्त गर्नुहोस् । यो फलादेश वैदिक ज्योतिषमा आधारित ग्रहगणनाका आधारमा तैयार गरिएको हो । तपाईँको जीवनका विभिन्न पक्षहरू जस्तै नोकरी, व्यापार, सम्पत्ति शिक्षा र स्वास्थ्यका विषयमा यी भविष्यवाणिको माध्यमबाट थाहा पाउनुहोस्।




Nov 28, 2017

बिहीबारका दिन के गर्ने र के नगर्ने ?


बिहीवारको दिनलाई सुख, शान्ति,सम्मृद्धिका साथै मनोकामना पुरा गर्न प्रयोग गर्न सकिन्छ । यहाँ केही उपायहरूको चर्चा गरिएको छ, जसले तपाईंको भाग्य परिवर्तन हुन सक्छ ।

अपनाउनुहोस् यी क्रियाकलाप -

ज्योतिषशास्त्रमा वृहस्पति ग्रहलाई 'भाग्यको कारक' मान्ने गरिन्छ । यो ग्रह धनु र मीन राशि हुनेहरूको राशिस्वामी हो भने मेष र कर्कट राशि हुनेहरूको भाग्यको मालिक तथा सिंह र बृश्चिक राशि हुनेहरूको बुद्धिको मालिक पनि हो । यसले बृश्चिक र कुम्भ राशि हुनेलाई धन प्रदान गर्दछ, कन्या र धनु राशिलाई गृहसुख दिन्छ, मिथुन र कन्या राशिको दाम्पत्यसुख अर्थात् प्रेमजीवन सफल बनाउँछ, मिथुन र मीन राशि हुनेलाई रोजगारी वा व्यवसायको सिर्जना गर्दछ भने मेष र मकर राशि हुनेहरूलाई वैदेशिक यात्राको अवसर जुटाउँदछ । त्यस्तै यसको शुभ प्रभावले वृष र कुम्भ राशि हुनेहरूले राजनैतिक प्रतिष्ठा तथा तुला र मकर राशि हुनेहरूले सामाजिक सद्भावसमेत प्राप्त गर्दछन् । त्यसैले यो त्यस्तो शुभ ग्रह हो, जसले कुनै न कुनै किसिमले हरेक व्यक्तिलाई सहयोग गरिरहेको हुन्छ । वास्तविक रूपमा यस ग्रहको के कति शुभफल प्राप्त हुन्छ भन्ने निर्क्यौल गर्न तपाईंको कुण्डली नै हेर्नुपर्ने हुन्छ, तथापि प्रत्येक हप्ताको बिहीवारका दिन तल लेखिएका उपायहरूको अवलम्बन गर्नुभयो भने पक्का पनि तपाईंको जीवनमा परिवर्तन आउन सक्छ ।

बिहीवारका दिन वृहस्पति ग्रहलाई बलियो र शुभफलदायक बनाउन अपनाउन सकिने विभिन्न उपायहरू - 

१. बिहीवार बिहान झिसमिसेमा नै अर्थात् सूर्य उदाउनु भन्दा पहिले नै उठ्नुस् र स्नानादि नित्यकर्मबाट निवृत्त भएर विधिपूर्वक भगवान् विष्णुको चोखो मनले पूजा गर्नुहोस् । जसले यस दिन सकेको सामाग्री जुटाएर भगवान् विष्णुको पूजा गर्छ ऊसँग महालक्ष्मी प्रसन्न भएर घर-परिवारमा धनधान्य र सुखसमृद्धि बढ्न थाल्दछ । भगवान् विष्णुको पूजा गरिसकेपछि गुरु वृहस्पतिको मुर्ति अथवा फोटो पहेंलो कपडामाथि राखेर पूजा गर्नुस् । पूजा गर्दा अन्य पूजासामाग्रीका अतिरिक्त केशरी, चन्दन, पहेंलो अक्षता, पहेलो फूल र नैवेद्यका रूपमा पहेंलो परिकार अथवा फलफूल चढाउनु आवश्यक छ । त्यसपछि 'ॐ वृं वृहस्पतये नम:' वृहस्पति ग्रहको यो बीज मन्त्रको कम्तीमा १०८ पटक जाप गर्नुहोस् । पूजा र जाप समाप्त भएपछि केसरीको टीका लगाउनु होस् र दिनको सुरुवात गर्नुहोस् ।

२. बिहीवारको दिन केराको बोटमुनि दियोमा घिउको वर्तन राखी पाँच जोर पाँच सुते बातीको दियो बाल्नुस्, केरा वा मौसमअनुसार पाकेका पहेंला फलफूल गरिबगुरुवा, बुढो ब्राह्मण वा केटाकेटीलाई बाँडिदिनुहोस् । बाँड्ने अनुकूलता हुँदैन भने गाईलाई खान दिनुहोस् वा मन्दिरअगाडि भेटिने भिखारीलाई दिनुहोस् ।

३. बिहीवारका दिन घरैमा बस्दा वा बाहिर कतै जाँदा सकेसम्म पहेंलो कपडा लगाउनुस् र नुन नभएको अलिनो खान्की खानुहोस् र भरिसक्य खाने कुराको रङ पनि पहेंलो नै होस्, जस्तै बेसनको लड्डु, केरा, चना वा रहरको दाल आदि । 

४. हरेक बिहीवार शिवजी लाई बेसनको लड्डुको भोग लगाएमा समेत वृहस्पति ग्रहको शुभफल प्राप्त हुन्छ ।

५. तपाईं बिहीवारका दिन व्रत लिन सक्नुहुन्न भने बृहस्पति ग्रहको प्रसन्नताका निमित्त पहेंलो फूलको प्रयोग गरी इष्टदेवको पूजाआजा गर्नुहोस्, पितृसूक्त, श्रीमद्भागवत, श्रीमद्भगवद्गीता वा विष्णुसहस्रनाम स्तोत्रको पाठ गर्नु होस्, गाई, गरीबगुरुबा, ब्राह्मण र बृद्धबृद्धाको सेवा गर्नुहोस् । त्यस्तै कुलदेवताको दैनिक आराधना गर्ने एवं घरका बृद्धसदस्य, अभिभावक वा आफ्ना गुरुको आशीर्वाद प्राप्त गर्ने बानी विकसित गर्नुहोस्, प्रत्येक बिहीबारका दिन पहेंलो फलफूल, रहरको दाल वा बेसार अनाथालय, बृद्धाश्रम वा मठमन्दिरमा दान गर्नुहोस्, प्रत्येक वर्षको जन्ममहिनामा कम्तीमा नौजना बृद्धबृद्धा भेला पारी पेटभरि खिर भोजन गराउनु होस्, प्रत्येक दिन घर छेउछाउमा रहेको केराको बोटलाई पूजा गरी त्यसको फेदमा शुद्ध जलले सिञ्चन गर्नुहोस् र प्रत्येक बिहीबारका दिन सन्ध्याकालमा केराको बोटमा दियो बाली दिनुहोस् । त्यसरी नै बिहीबारका दिन गहुँको पीठोको घोलमा चनाको दाल, गुड र बेसार मिसाएर गाईलाई खान दिनुहोस् । तपाईंले कुनै धार्मिक वा कुलपरम्परासँग सम्बद्ध मठ, मन्दिर वा धार्मिक/सामाजिक स्थानमा निःशुल्क सेवा गरेमा वा त्यस्तो ठाउँको जीर्णोद्धार गरेमा पनि कुलगुरु बृहस्पति प्रसन्न हुन्छन् । यस्तै बृहस्पतिलाई खुसी बनाउन तपाईंले हरेक दिन श्वेत चन्दन (श्रीखण्ड) चनौटोमा घसेर त्यसमा केसरी मिसाई निधारमा टीका लगाउँदा पनि हुन्छ । त्यस्तै यात्राका क्रममा कतै जाँदा कुनै देवस्थल, मठमन्दिर वा पुराना घर वा स्मारक भेटिएमा तिनलाई टाउको निहुर्याई प्रणाम र सम्मान गर्नु पर्दछ । 

६. बृहस्पति ग्रहको शुभफल प्राप्त गर्न एउटा पुष्पराज रत्न (कम्तीमा ५ क्यारेटको) सुन वा पञ्चधातुमा औंठी बनाएर दाहिने हातको चोर औंलामा धारण गर्दासमेत लाभ हुने विश्वास गरिन्छ । तर रत्नधारण गर्नुअघि योग्य ज्योतिषीको परामर्श लिनु आवश्यक छ ।

बिहीवारका दिन केके गर्नुहुँदैन

बिहीवारको दिन धार्मिक महत्त्वको दिन हो । बृहस्पति देवसभाका गुरु हुन्, त्यसैले यिनलाई देवगुरु वा गुरु मात्र पनि भन्ने गरिन्छ । अतः बिहीवार गरेको धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वास गरिन्छ । तर बिहीवारका दिन केही काम गर्न निषेध गरिएको छ, जुन यस्तो छ -

१. लक्ष्मीको मात्र पूजा
बिहीवारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पूजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पूजा गर्दा लक्ष्मी नारायणको पूजासँगै गर्नु राम्रो हुन्छ । यसले पतिपत्नीबीचको सम्बन्ध पनि राम्रो हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

२. कपाल नुहाउनु हूँदैन
शास्त्रमा बिहीवार कपाल नुहाउन निषेध गरिएको छ । खासगरी विशेष परिस्थितिमा बाहेक महिलाहरूले बिहीवार कपाल नुहाउनु अशुभ मानिन्छ । बिहीवार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने प्रसङ्ग शास्त्रमा उल्लेख छ ।

३. रौं काट्नु हुँदैन
बिहीवारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । बिहीवार रौं काट्दा गुरु ग्रह कमजोर हुने मानिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने कुरा शास्त्रमा उल्लेख छ ।

४. नङ काट्नु हुँदैन
बिहीवार नङ काट्नु अशुभ मानिन्छ । यस दिन नङ काटेमा पेसा वा व्यवसायमा असर पर्ने वा समस्या देखिने र पदोन्नति हुनुको साटो घटुवा हुने समेत सम्भावना हुन्छ । यस दिन कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौं काट्ने, फेसियल गर्ने कामसमेत कहिले पनि गर्नु हुँदैन । त्यस्तै घरको सरसफाइ, माकुराको जालो हटाउने काम आदि पनि बिहीवारका दिन नगर्नु नै उत्तम हुन्छ ।

५. भारी कपडा धुनु हुँदैन
बिहीवारको दिन भारी कपडा धुनु राम्रो मानिंदैन । बिहीवार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहीवारका दिन नगर्नु नै राम्रो हुन्छ ।

Nov 17, 2017

शनिको राशि परिवर्तन : कस्को भाग्य, कस्को दुर्भाग्य ?

शनिलाई ग्रहसभाको न्यायाधीश र दण्डाधिकारीको दर्जा प्राप्त भएको छ । मर्त्यलोकका जुन प्राणिले अनुचित कार्य गरेको हुन्छ, त्यसलाई आफ्नो महादशा वा गोचरका समयमा शनिश्चरले दण्ड दिने गर्दछ । शनि ग्रहाधिपति सूर्यको छोरो हो, नातामा बाबुछोराको सम्बन्ध भए पनि कुनै व्यक्तिको जन्मकुण्डलीमा यी दुईको परस्परमा युतिसम्बन्ध वा दृष्टिसम्बन्ध भएको अवस्थामा दुबै ग्रहले अत्यधिक अशुभ फल प्रदान गर्ने गर्दछन् । शनिलाई त्यस्तो ग्रह मानिन्छ, जसले राजालाई भिखारी र भिखारीलाई राजा बनाउने सामर्थ्य राखेको हुन्छ । त्यसैले शनि शत्रु र मित्र दुबै हो । तुला राशिको शनि उच्च र मेष राशिको शनिलाई नीच मान्ने प्रचलन छ । तुला राशिमा शुक्र ग्रहको र मेष राशिमा मङ्गल ग्रहको अधिकार हुन्छ । त्यस्तै मकर र कुम्भ राशि शनिका आफ्नै राशि हुन् । शनिश्चर ग्रहले गत वि. सं. २०७३ साल फागुन ०५ र ०६ को राती बृश्चिक राशिबाट धनु राशिमा प्रवेश गरेको थियो, तर शनि बक्री भई पुनः बृश्चिक राशिमा नै गएर अहिले पाँच महिनापछि पुन २०७४ साल मंसिर २ गते बिहान पुनः धनु राशिमा प्रवेश गरेको छ । अब शनिश्चर ग्रहले लगातार आगामी २०७६ साल माघ २४ गतेसम्म धनु राशिमा उपस्थिति जनाउने छ ।

सामान्यतया शनि बलियो छ भने आफू बसेको घरमा अत्यन्त शुभ फल प्रदान गर्दछ, त्यस्तै उक्त घरबाट तेस्रो, सातौं र दसौं घरमा पनि शनिको शुभफल प्राप्त हुने गर्दछ । सामान्यतया दैनिक राशिफल लेख्दा चन्द्रमा र मासिक राशिफलको आकलन गर्दा सूर्यको अनि वार्षिक र समग्रतालाई राशिका आधारमा राशिफलको विवेचना गर्दा शनि र बृहस्पतिको अवस्थितिको मुख्य गणना गर्ने गरिन्छ । त्यसरी ग्रहको गणना गरी राशिफल लेख्दा देशकालको गणना हुनु पनि उत्तिकै अनिवार्य हुन्छ । शनिको राशिपरिवर्तनलाई केन्द्रबिन्दुमा राखी मैले आज यो राशिफल लेख्दा खास गरी काठमाण्डौंलाई केन्द्रमा राखी तैयार गरिएको हो । काठमाण्डौंमा शनिश्चरको राशि परिवर्तन आज २०७४ साल मंसिर ०१ गतेको राती (०२ गते बिहान) मध्यरात्रीपछि ०२:०० बजे हुनेछ, जबकि अक्टोबर २६ मा नै भारतमा शनिले राशिपरिवर्तन गरेको समाचार विभिन्न मिडिया र पत्रपत्रिकामा प्रकाशित भएको थियो ।  यसरी नै विभिन्न देश र त्यस ठाउँको अक्षांश र देशान्तरलाई विचार गरी फलादेश लेख्नु वाञ्छनीय हुन्छ । अहिले धनु राशिमा प्रवेश गरेको शनिश्चर आगामी २०७६ साल माघ २४ गतेसम्म धनु राशिमा रहने छ ।

यसरी बृश्चिक राशिबाट धनु राशिमा शनिले प्रवेश गरेपछि मकर राशिका जातकका लागि शनिको आद्य साढेसातीको प्रकोप प्रारम्भ हुन्छ, जबकि तुला राशिमा रहेको साढेसातीको प्रकोप समाप्त हुन्छ । उता बृश्चिक राशि हुनेहरूका लागि यो अन्तिम साढेसातीको समय हुनेछ भने धनु राशि हुनेहरूका लागि मध्य साढेसातीको समय रहने छ । त्यस्तै धनु राशिमा शनि रहेका वेला बृष र कन्या राशिका जातकलाई अढैयाको समय रहने छ । शनिले धनु राशिमा प्रवेश गर्नासाथ मेष र सिंह राशिको अढैयाको समय पनि समाप्त हुँदैछ । अढैया र साढेसातीको प्रकोप पर्ने जातकको जीवनमा विविध उतारचढाव र हलचल उत्पन्न हुनसक्छ । साढेसातीको समयमा न्यायप्रेमी शनिश्चर ग्रहले व्यक्तिको पूर्वजन्मदेखि सञ्चित र यस जन्ममा आर्जन गरेका दुष्टकर्मका निमित्त सजाय र शुभ कर्मका लागि पुरस्कार प्रदान गर्ने गर्दछ । त्यसैले शनिको यस अवधिमा कसैले सुखदायी परिस्थिति भोग्न पाउने अनुकूलता प्राप्त गर्दछन् भने कसैले अतीव कष्टका साथमा यो समय गुजार्नु पर्ने हुन्छ ।

के हो साढ़ेसाती र अढैया ?

एउटा राशिचक्रमा भ्रमण गरेको लगभग ३० वर्षपछि शनि पुनः त्यसै राशिमा फर्किएर आउने गर्दछ । त्यसैले लगभग ०२ वर्ष ०६ महिनाको समय शनिश्चरको एउटा राशिको भोग अवधि हुन्छ । धनु राशिका मालिक वा स्वामी देवगुरु बृहस्पतिलाई मान्ने गरिन्छ । यो शनिश्चरको गोचर भ्रमण भएकाले विभिन्न राशिमा यसको केकस्तो प्रभाव रहने हो, त्यसको निर्क्यौल केवल राशिका आधारमा निर्धारण गर्ने परम्परा छ । राशिका आधारमा व्यक्तिजीवनका दैनन्दिनी र मानसिक आयाममा मात्र विशेष प्रभाव रहने गर्दछ, जबकि व्यक्तिको जन्मकुण्डली र यसअन्तर्गतका सप्तवर्गीय वा षोडश वर्गीय कुण्डलीका आधारमा उसको समग्र जीवन, वास्तविक व्यक्तित्व र सुखदुःखमा विशेष भूमिका निर्वाह गरिरहेको हुन्छ । गोचर (राशि) का आधारमा शनिको साढेसातीको समयावधि ०७ वर्ष र ०६ महिना तथा अढैयाको समयावधि ०२ वर्ष ०६ महिनाको हुने गर्दछ, जबकि जन्मकुण्डलीका आधारमा शनिको विंशोत्तरी महादशा जम्मा १९ वर्षको र त्रिभागी महादशा १२ वर्ष ०८ महिनाको हुने गर्दछ । साढेसाती र अढैया तथा विंशोत्तरी र त्रिभागी महादशा बेग्लाबेग्लै विषय हुन् ।

एउटा पूर्ण आयु भएको व्यक्तिको जीवनमा तीन पटकसम्म शनिश्चरको साढेसाती र छ पटकसम्म अढैया शनिको अवसर प्राप्त गर्दछ । त्यसैले पनि अरु ग्रहका तुलनामा ज्योतिषीहरूले प्रायः शनिश्चर ग्रहको स्वस्तिशान्ति र उपाय अवलम्बन गर्ने सल्लाह दिएको देखिन्छ । जुन राशिमा शनिले प्रवेश गर्दछ, उक्त राशि र त्यसभन्दा अगाडि र पछाडिका दुबै राशिमा समेत गरी एक पटकमा तीन वटा राशिमा शनिको साढेसातीको प्रकोप हुन्छ । जुन राशिमा शनि उपस्थित भएको हुन्छ, त्यस राशिमा मध्य साढेसाती, अघिल्लो राशिमा अन्त्य साढेसाती र पछिल्लो राशिमा आद्य साढेसातीको समय हुन्छ । त्यस्तै आफ्नो राशिबाट चौथो र आठौं घरमा शनिश्चर भए अढैया शनिको दशाकाल मान्ने गरिन्छ ।

धनु राशिमा उपस्थित शनिको आमजनजीवन र अन्य राशिमा पर्ने प्रभाव (राशिफल)

शनि धनु राशिमा रहेको समयमा देश र दुनिया दुबै क्षेत्रमा उथलपुथल र सङ्घर्षको स्थिति उत्पन्न हुन्छ । यसको प्रभावले विभिन्न राष्ट्रका राजनैतिक मुद्दाहरू चुलिने सम्भावना हुन्छ । उच्च शिक्षा, धार्मिक सङ्घसंस्था र धार्मिक स्थलमा शनिको नकारात्मक फल प्राप्त हुन्छ । वाहन दुर्घटना, दैवीप्रकोप आदिका साथमा सामाजिक वातावरणमा पनि उथलपुथलको स्थिति सिर्जना हुन्छ । यस अघि २०४३ सालदेखि २०४६ सालसम्म शनिले धनु राशिमा भ्रमण गरेको थियो । उक्त समयको नेपालकै परिप्रेक्ष्यलाई नियाल्दा २०४५ सालको भूकम्प र नाकाबन्दी तथा २०४६ सालको राजनैतिक आन्दोलन र परिवर्तन स्मरणीय छन् । सन्‌ १९८६ मा यूक्रेनको चर्नोबिल नगरछेउ एउटा परमाणु कारखानामा भएको दुर्घटना, हरिद्वारको धार्मिक महोत्सव महाकुम्भमा भएको भागदौड र दुर्घटना, अमेरिकी अन्तरिक्ष यान 'च्यालेन्जर' को दुर्घटना, सन् १९८८ मा बाङ्गलादेशमा जनविद्रोह, पाकिस्तानका राष्ट्रपति जनरल जिया उल हकको हवाई दुर्घटनामा निधन र राजनैतिक परिवर्तन, सन् १९८९ मा जापानी सम्राट् हिरोहितोको निधन, कोलम्बियामा विमान अपहरण, पूर्वी यूरोपमा साम्यवाद (कम्युनिज्म) समाप्त गर्ने उद्देश्यले पोल्याण्डमा गोलमेज वार्ता प्रारम्भ, अफगानिस्तानबाट सोभियत सेनाको फिर्ता, इरानका धार्मिक नेता अयातुल्लाह रोहेल्लाह खुमैनीको देहान्त, बर्लिनको साम्यवादी पर्खाल भत्काइएको, रोमेनिया, चेकोस्लोभाकिया आदि देशमा कम्युनिज्मको समाप्ति आदि अन्तर्राष्ट्रिय परिघटना समेत विगतमा शनिश्चर धनु राशिमा बसेको समयमा घट्न गएको देखिन्छ ।

व्यक्तिवृत्तमा केन्द्रित रहेर विचार गर्ने हो भने बृश्चिक, धनु र मकर राशिलार्इ क्रमशः आद्य, मध्य र अन्त्य साढेसाती तथा बृष र कन्या राशिलार्इ अढैया शनिको प्रभाव रहने त छँदैछ, त्यसबाहेक राशिबाट केन्द्रमा रहेको शनिलार्इ कण्टक शनि भन्ने गरिन्छ अर्थात् आफ्नो राशिबाट चौथो, सातौं र दसौं घरमा आइपुगेका शनिलाई पनि अरिष्ट नै मान्ने प्रचलन पनि छ । कण्टक शनिश्चरले व्यक्तिलाई मानसिक तवरले दुःखित तुल्याउँछ, जीवनचर्या अव्यवस्थित बन्दछ अनि व्यक्तिले अनेकानेक दुःख र कष्ट व्यहोर्नु पर्दछ । चौथो चन्द्रमाले व्यक्तिको स्थानान्तरण गराउने सम्भावना हुन्छ, साथै स्वास्थ्यस्थितिमा विविध समस्याहरू देखिन सक्छन् । सातौं शनिश्चरले व्यक्तिलाई देशपरदेशको यात्रा गर्ने र परदेशमा लामो समय बिताउनु पर्ने अवस्थाको सिर्जना गर्दछ, अझ सातौं राशि चर स्वभावको राशि भए व्यक्ति दुःखित भई परदेशमा निवास गर्ने परिस्थितिमा पुग्दछ भन्ने गरिन्छ । शनि दसौं घरमा शनिश्चर हुँदा पेसा वा रोजगारीका क्षेत्रमा विविध समस्या सिर्जना हुने सम्भावना हुन्छ, व्यापारव्यवसायमा अचानक नैराश्यता देखिन सक्छ, गरेका काममा कहिल्यै सफल भइँदैन । त्यसरी नै व्यक्तिको जन्मकुण्डलीमा रहेका अशुभ स्थानका शनिश्चरले प्रदान गर्ने दुष्प्रभावहरू समेत शनिको महादशा तथा अन्तर्प्रत्यन्तर दशाबाहेक साढेसाती र अढैयाको समयमा पनि प्राप्त हुने गर्दछन् ।

 शनिले कसैको जीवनमा कस्तो फल प्रदान गर्दछन् र त्यो प्रभाव शुभ वा अशुभ केकस्तो हुन्छ, यसको विवेचना जन्मकुण्डलीको बाह्रवटै भाव, बाह्रवटै राशि, २७ वटै नक्षत्र, शनिको दृष्टिसम्बन्ध, गति (बक्री वा मार्गी), स्थिति, कारकत्व, व्यक्तिको चलिरहेको महादशा, गोचर, साढेसाती वा अढैयाको स्थिति, उच्च, नीच वा शत्रु गृह, भिन्नभिन्न ग्रहसँगको युति वा दृष्टिसम्बन्ध, अंशादिको बल, विभिन्न शुभ र अशुभ नैसर्गिक योगको निर्माण, होराद्रेष्काणादि विविध कुण्डली आदिका अधारमा निर्धारण गर्ने परम्परा छ । केवल एउटा सूत्रका माध्यमबाट मात्र यो यस्तै यकिन फल हुन्छ भनी निर्क्यौल गर्न सकिंदैन । त्यस्तै जुन भावमा शनिको उपस्थिति हुन्छ, त्यस भावको फल शुभ हुन्छ, तर त्यहाँबाट तेस्रो, सातौं र दसौं भावमा शनिको दुष्प्रभाव हुन्छ ।  अतः केवल राशिका आधारमा मात्र फलादेश गर्ने र उक्त फलादेशका आधारमा मात्र स्वस्तिशान्ति आदि उपाय गर्नाले शनिको समुचित दशानिवारण सम्भव छैन । उदाहरणका लागि विश्वको कुल जनसङ्ख्याको १२ भागको एक भाग एउटै राशिका मानिस हुन सक्छन् । एउटै अक्षरबाट नाम प्रारम्भ हुने मानिस पनि त्यत्तिकै होलान् । तीमध्ये कोही राजा छन्, कोही भिखारी, कत्ति महलमा बसेका होलान्, कति खुल्ला आकाशमुनि निदाउन बाध्य छन्, त्यस्तै कत्ति अस्पतालमा रोग र कष्टपूर्ण जीवन धान्दै होलान्, कत्ति कारागारमा बन्दीजीवन, अनि कत्ति चाहिं मोजमज्जा, भ्रमण तथा हनिमुनको आनन्द लुट्दै होलान् । शनिले आफ्नो नियमित भ्रमणका आधारमा आज राशि परिवर्तन त गरेको छ, तर व्यक्तिले त्यसको शुभ र अशुभ के प्रभाव प्राप्त गर्दछ, उसले आफ्नो जन्मकुण्डलीका साथमा तुलना गरी जानकारी लिनु असल हुनेछ । अस्तु ।

अब शनिश्चर ग्रहले बृश्चिक राशि त्यागी धनु राशिमा प्रवेश गर्दा विभिन्न राशिमा पर्ने राम्रा र नराम्रा प्रभावको वर्णन गरिएको छ :-


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

शनि नवौं घरमा रहेको छ । यस अवधिमा प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । भएगरेका प्रयासको राम्रो परिणाम हात पर्ने समय छ । राजनैतिक/प्रशासनिक पदका व्यक्तित्व रं मातापितासँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको यात्राबाट लाभ मिल्नेछ । मित्र र सहयोगीले पूर्णरूपेण सहायता गनेछन् । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । नयाँ किसिमले व्यापार गर्नुहुने अथवा रोजगारीको प्रकृतिमा परिवर्तनको सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट कुनै भय हुँदैन । सानातिना रोगले भने सताउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

शनि आठौं घरमा रहेको छ । यसको प्रभावले कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत छ । साथीभाइ र सहयोगीले दिएका आश्वासन पूरा हुँदैनन् । घरपरिवारका सदस्यको व्यवहारमा पनि फरक भएको अनुभूति हुनेछ । त्यसो त गूढ ज्ञान आध्यात्मिक विषय वा परामनोविज्ञान क्षेत्रबाट कुनै लाभ पाउन सकिन्छ । आफ्नो योग्यता र प्रतिभामा निर्भर हुँदा राम्रो हुनेछ । अचानक धनसम्पत्ति प्राप्त हुने वा भौतिक उन्नति हुनसक्छ । घरपरिवार र आफन्तमा मरिमराउका समाचार आउन सक्छन् । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

शनि सातौं घरमा रहेको छ । साझेदार वा सहयोगीहरू सँग मतभेद बढ्न सक्छ, आफूलार्इ हीनताबोध हुनसक्छ र तिनले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । दैनिकी सञ्चालनका क्रममा पनि समस्या आउने छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । सानातिना झन्झट वा विवादबाट जोगिनु बेस हुनेछ । पति वा पत्नीसँग राम्रो सम्बन्ध रहने छैन ।  अनावश्यक यात्राबाट जतिसक्दो जोगिनु राम्रो हुन्छ । व्यवसायिक, व्यापारिक र विकाससम्बद्ध ठूलठूला निर्णय लिनुअघि पूर्णरूपेण सोचविचार र जाँचपरख गर्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

शनि छैठौं घरमा रहेको छ । आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । नोकरी वा व्यवसायको क्षेत्रमा राम्रो सुधार आउने छ । प्रभावशाली व्यक्तिसित सम्पर्क बढ्ने छ । दैनिकी सञ्चालनका क्रममा फुर्तीको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धीले काम बिगार्न वा अपजस लाउन सक्दैनन् । आर्थिक रूपले यो समय अनुकूल रहने छ । ससाना यात्रा उपयोगी हुनेछ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहने छ । यस अवधिको मध्यभागमा सानातिना रोगव्याधिको मारमा पर्न सक्नुहुन्छ । नत्र हाँके/ताकेका काममा सफलता आर्जन गर्न सकिने समय नै रहेको देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

शनि पाँचौं घरमा रहेको छ । यसको प्रभावले सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्न र बुद्धिविवेकको ह्रास हुनेछ । के गरी समुचित निर्णय लिन सकिन्छ भन्ने विषयमा ध्यान दिनु आवश्यक छ । सन्ततिको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । मित्र एवं सहयोगीले वाचा पूरा गर्न सक्दैनन् । बढी आशावादी हुनु उचित होइन र देश परदेशको यात्राबाट सोचे जस्तो लाभ प्राप्त हुन सक्दैन । आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । जोखिम ब्यहोर्नु पर्ने प्रवृत्तिलाई पूर्णरूपेण अङ्कुश लगाउनु बेस हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

शनि चौथो घरमा रहेको छ । यसको प्रभावले गर्दै नगरेको र थोरै सहभागिता जनाएको काम र कारोबारका कारण झूठो आक्षेप ब्यहोर्नु पर्ने हुनसक्छ । पारिवारिक सुखको अभाव हुनेछ । गरेका प्रयासहरूमा असफल हुनाले मानसिक खिन्नता बढ्नेछ । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । दीर्घ रोगको प्रकोपमा रहेका व्यक्तिले पूर्ण रूपमा परहेजमा बस्नु राम्रो हुनेछ । शत्रु र प्रतिस्पर्धीहरूले छवि धमिल्याउने प्रयास गर्नेछन् । झैझगडा र वादविवादमा नफँस्दा उचित हुनेछ । सांसारिक सुखका दृष्टिकोणले पनि राम्रो समय छैन, यद्यपि धार्मिक र आध्यात्मिक कार्यमा सहभागी हुँदा कुनै राहतको अनुभूति हुने सम्भावना देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

शनि तेस्रो घरमा रहेको छ । लक्ष्यप्राप्ति गरी पराक्रम र प्रतिष्ठा बढाउने समय हो, यो । प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । आत्मविश्वासको मात्रामा बृद्धि हुनेछ । नोकरी र बन्दव्यापारमा उत्साहबर्द्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारी प्राप्त हुने सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । सञ्चारका माध्यमबाट कुनै शुभ समाचार सुन्न पाइने छ । दाजुभाइबाट राम्रो सहयोग जुटाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आर्थिक रूपमा गम्भीर ढङ्गको उतारचढावका साथमा शनि दोस्रो भावमा शनिश्चर उपस्थित भएको छ । आम्दानीका मार्गहरू ठीक रहने छैनन्, दैनिकी सञ्चालनका क्रममा सावधान हुनु आवश्यक छ । नयाँ व्यवसाय र उद्योग धन्धामा सम्बद्ध नहुनु बेस हुनेछ । परिवारका सदस्यका आकाङ्क्षाहरू पूरा हुन सक्दैनन् । आफन्तहरूसित सम्बन्ध बिग्रन्छ । मुद्दामामिलाको भय छ, त्यसैले महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि र साक्षीजमानी बस्नु अघि पटक पटक सोचविचार गरी काम गरेको राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा पनि अङ्कुश लगाउनु उचित हुनेछ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा समेत उतारचढाव आइरहने सङ्केत छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

आफ्नै राशिमा शनि ग्रहको उपस्थिति छ । यसको प्रभावले प्रत्येक काममा बाधा आउने र ढिलो गरी सम्पादन हुने समय सुरु भएको छ । कहिलेकाँही हीनभावना र असुरक्षाको महसुस हुनेछ । कामको बोझ बढ्ने छ । व्यर्थको काममा फँस्ने सम्भावना छ । स्वास्थ्यमा उतारचढाव आइरहने सङ्केत छ । पारिवारिक जीवन पनि सुखद हुनेछैन । प्रियजन वा आफन्तको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित हुनुपर्ने छ । साझेदार वा सहयोगीको लापरवाहीका कारण हानि पुग्नसक्छ । शनि मकर राशिमा सर्ने वेलामा भने केही राहत मिल्नेछ । आशावादी भर्इ हिम्मतका साथमा काम गर्दा केही लाभ मिल्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

खर्चबर्चको भाव बाह्रौं राशिमा शनिले प्रवेश गरेको छ । यो कालखण्ड जीवनीशक्तिमा कमी आउने तथा हीनताबोधको उदय हुने समय हो ।  कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जाको नाश हुनेछ । धनधान्यको हानि र सम्पत्ति अपचलनको योग छ । घरपरिवारका सदस्य र आफन्तजनको स्वास्थ्यमा प्रतिकूलता देखिन सक्छ । आम्दानीका तुलनामा खर्चको मात्रामा अत्यधिक बृद्धि हुनेछ । दूरदराजका क्षेत्र वा प्रवासमा मानसिक सङ्कटका साथमा समय बिताउनु पर्ने छ । सांसारिक दृष्टिकोणले यो श्रेष्ठ समय होइन । अब तपार्इंले शिवोपासना, शनि उपासना र धार्मिक, सामाजिक काममा दिलचस्पी दिएमा मात्र यी प्रकोपको न्यूनीकरण हुन सक्छ । खास गरी शनिको बक्रता, अस्तसमय र शत्रुपीडित अवस्था तपार्इंका लागि हानिप्रद बन्नसक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

शनि एघारौं घरमा रहेको छ । यसको प्रभावले समस्त इच्छा र आकाङ्क्षाहरू पूर्ण हुनेछन् । नयाँ काम र उद्यम प्रारम्भ गर्न उपयुक्त समय छ । मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । व्यापारका माध्यमबाट लाभ पाइने छ । घरपरिवारको कुनै सदस्य वा निकटतम नातेदारले उच्च सफलता वा भाैतिक उन्नति गरेको खबर सुन्न पाइने छ । दूरदराजका वा विदेशका उच्च व्यक्तित्वसँग घुलमिल र सम्पर्क भर्इ लाभ मिल्नसक्छ । टाढा बसेका व्यक्तिहरूसित राम्रो सम्बन्ध कायम हुनेछ । भ्रमण उपयोगी हुनेछ । प्रणय सम्बन्धका लागि पनि राम्रो समय छ । परिवारका सदस्यहरूको व्यवहार तपाईंप्रति अनुकूल रहने छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

शनि दसौं घरमा रहेको छ । यसको प्रभावले मनले इच्छाएको परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । हुन त ठोस परिणाम हात पर्दैन, तर काम ढिलो सम्पन्न हुनेछ । पेसा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्न खोज्नु हानिकारक हुन्छ । प्रत्येक क्रियाकलापमा संलग्न हुँदा धैर्य गर्नु अनिवार्य छ । नजिकको साथीको स्वास्थ्यले चिन्तित तुल्याउन सक्छ । बन्दव्यापार र नोकरीका सिलसिलामा गरिएका यात्राहरू लाभकारी सिद्ध हुनेछन् । जग्गाजमिनको किनबेच गर्ने प्रक्रियालाई स्थगित राख्नु बेस हुनेछ ।

शनिश्चरको साढ़ेसाती र अढैया दशाको शान्ति उपाय

साढेसाती वा अढैया शनिको दशा अवधि भएका व्यक्तिले शनिश्चर ग्रहका विविध उपायमध्ये कुनै उपायलाई नियमित अवलम्बन गर्नु राम्रो हुन्छ । शनिश्चर ग्रहलाई प्रसन्न तुल्याउने केही उपायहरू निम्नानुसार छन् :-


  • शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु पर्दछ ।
  • शनिवारका दिन फलाम, छाला, काठबाट निर्मित वस्तु वा कुनै किसिमको तेल (खाने तेल वा पेट्रोलियम) किन्नु हुँदैन ।
  • शनिवारका दिन कपाल छाँट्नु वा खौरनु हुँदैन, दाह्री वा नङ काट्नु हुँदैन ।
  • कुनै नीच जाति वा जोगीलाई तोरी वा सर्स्युंको तेल दान गर्नुपर्दछ ।
  • कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नुपर्दछ वा खान दिनुपर्छ ।
  • कोही कुनै गुनासो पोख्न वा सहयोग माग्न आयो भने त्यसका कुरा सुनेर सकेको आश्वासन र सहयोग प्रदान गर्नुपर्दछ । कोही गुनासो गर्दै रोएमा त्यसका आँसु आफ्ना हातले पुछिदिंदा शनिश्चर अतीव प्रसन्न हुने गर्दछन् । कसैलाई दिएको वचन वा कुनै देवस्थलमा गरेको भाकल तुरुन्त पूर्ण गर्नुपर्दछ ।
  • घर बनाउँदा कालो मार्बलको प्रयोग गर्नुपर्दछ ।
  • शनिको महादशा वा साढेसातीको समय चलिरहेको छ भने शनि ग्रहको थप उर्जा प्राप्त गर्न दिनैपिच्छे काग, गिद्ध वा भुस्याहा कुकुरलाई खानेकुरा प्रदान गर्ने एवं छोराछोरी, नोकरचाकर वा भाइबहिनीलाई मिश्री, चकलेट आदि गुलियो पदार्थ बाँड्ने बानी विकसित गर्नु पर्दछ ।
  • प्रत्येक शनिबारका दिन गच्छेअनुसार काला चिजबिज जम्मा पारेर जोगीलाई वा कुनै मठमन्दिर अथवा शनिमन्दिरमा गई दान गर्नुपर्छ ।
  • प्रत्येक वर्षको जन्मतिथिमा शनिमृत्युञ्जय स्तोत्रको १०८ आवृत्ति पाठ गर्न लगाई शिवार्चन (रुद्रीपूूजा) गर्नुपर्छ वा कुनै देवालयमा गई कम्तीमा दस जना भिखारी वा मगन्तेलाई पेटभरि भोजन गराउनु पर्छ ।
  • शनिबार बिहान झिसमिसेमा उठी स्नानादिबाट निवृत्त भई पीपलको रुखमा जल चढाउनु पर्छ ।
  • शिव स्तोत्र व शनि स्तोत्रको पाठ गर्नु पर्छ । 
  • शनि यन्त्र धारण गर्नु पर्छ ।
  • हनुमान् जीको उपासनाबाट पनि लाभ लिन सकिन्छ ।
  • दिनैपिच्छे चराचुरुङ्गी वा माछालाई खानेकुरा प्रदान गर्नुपर्दछ र शनिबार मांसाहार गर्नुहुँदैन ।
  • यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र शनि ग्रहको अशुभ प्रभावको निवारण र शुभफलको प्राप्तिका निमित्त शनिवारका दिन, शनि ग्रहको नक्षत्र (पुष्य, अनुराधा र उत्तरभाद्रपद) वा शनिको होराबाट प्रारम्भ गर्नु उचित हुनेछ ।


शनि ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-

शनि ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - भगवान् शिव/मृत्युञ्जय
वैदिक मन्त्र – ॐ शन्नो देवी रभिष्टय आपो भवन्तु पीतये । शंय्योरभिस्रवन्तु नः ।
पौराणिक मन्त्र – ॐ नीलाञ्जन समाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।
शनि गायत्री – ॐ भगभवाय विद्महे मृत्युरुपाय धीमहि, तन्नो सौरिः प्रचोदयात् ।
तन्त्रोक्त मन्त्र – ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।
लघु बीज मन्त्र - ॐ शं शनैश्चराय नमः ।
शनि ग्रहलाई अर्घ्य दिने मन्त्र – नीलाम्बर नीलवपो किरीटिन् रविनन्दन । छायासुत ! गृहाणार्घ्यं प्रसीद सूर्यजः मम ।
जाप संख्या – २३०००
रत्न – शनिको अशुभ फल निवारण र शुभ फलको बृद्धिका लागि २, ३, ६, ७, १० वा ११ क्यारेटको नीलम रत्न चाँदीको औंठीमा बनाई दाहिने हातको माझको औंलामा धारण गर्ने प्रचलन छ ।
दानसामाग्रीहरू :– फलाम, तिल, मास (कालो दाल), तोरी वा सस्र्यूंको तेल, कालो कपडा, काली गाई, गहत, फलामको भाँडो, छाता, जुत्ता, भैंसी, कस्तूरी, सुन, नरिवल, कालो वा नीलो फूल ।


यदि व्यक्ति धार्मिक स्वभावको छ, उसको कर्म असल छ र कर्तव्य एवं संस्कारलाई उचित ढङ्गले पालना गर्दछ भने त्यसलाई शनिको अढैया र साढेसातीमा कुनै किसिमको दुष्प्रभाव पर्दैन । शनिको महादशा वा गोचरकालमा दुष्ट, पाखण्डी, भ्रष्ट र शोषकहरूले मात्र अशुभ फल प्राप्त गर्दछन् भन्ने मान्यता छ ।

Oct 4, 2017

बृहस्पति ग्रहको राशि परिवर्तन : चारवटा राशि हुनेछन् मालामाल (Scorpio Transit Of Jupiter)

२०७५ साल असोज १९ गते एकाबिहानै नेपालको परिप्रेक्ष्यमा बिहान ०५ बजेर ०९ मिनेटमा देवताका गुरु मानिने बृहस्पति ग्रहले तुला राशि त्याग गरी बृश्चिक राशिमा प्रवेश गर्नेछन् । अब यसपछि लगभग १३ महिनासम्म गुरु बृहस्पतिको तुला राशिमा परिभ्रमण हुनेछ । तर यस अवधिमा गतिमा अतिचार हुने भएकाले फाल्गुन १९ गते दिउँसो केही समयका लागि धनु राशिमा प्रवेश गरी पुनः बक्री भई २०७६ साल जेठ ०८ गते बृश्चिक राशिमा नै बृहस्पति फिर्ता आउने छन् र आगामी २०७६ साल कार्तिक १३ गतेसम्म लगातार बृश्चिक राशिमा नै गुरु बृहस्पतिको उपस्थिति रहने छ । हामीले मान्ने गरेका सूर्यबाहेकका ग्रहहरूमध्ये बृहस्पति ठूलो आकारको ग्रह हो । बृहस्पतिको एउटा राशिमा लगभग एक वर्ष (१३ महिना ?) को भोग हुन्छ । वर्षैपिच्छे बृहस्पतिले राशि परिवर्तन गर्ने भएकाले फलित ज्योतिषमा यस ग्रहको प्रभावलाई महत्त्व दिने परिपाटी रही आएको छ । आम जनमानसलगायत सामाजिक, धार्मिक, राजनैतिक वृत्तमा पनि बृहस्पतिको गोचर फलले उत्तिकै महत्त्व राखेको देखिन्छ ।


बृश्चिक राशि मङ्गल ग्रहको घर हो ।  देवगुरु यस पटक शत्रुको घर छाडी मित्रको घरमा प्रवेश गर्दैछन् । त्यसैले यस वर्ष आम मानिसहरूले विभिन्न माङ्गलिक कृत्यहरू सम्पादन गर्नेछन् । ज्ञान, विज्ञान, विद्वत्ता आदिका क्षेत्रमा खट्नेहरूले मानसम्मान र वर्चस्व कायम राख्नेछन् । शेयर मार्केट र वित्तीय क्षेत्रमा सकारात्मक सङ्केत देखा पर्नेछ । तर प्राकृतिक प्रकोप र आसुरी शक्तिमा बृद्धि हुनेछ, फलतः आगामी १३ महिना हावाहुण्डरी, बाढी, अग्निभय आदिको प्रकोप बढ्ने छ । राजनैतिक वृत्तमा पनि सकारात्मक सङ्केत हुँदैन, जनस्तरमा विभिन्न सङ्घर्ष र झैझडाको वातावरण उत्पन्न हुनेछ ।  मङ्गल ग्रहको प्रत्यक्ष सम्बन्ध राष्ट्र, राष्ट्रियता, देशभक्ति, सैन्यशक्ति, जमिन, जङ्गल, इन्धन, अग्निसम्बन्धी सामाग्री आदिमा हुने गर्दछ । त्यसैले राष्ट्रियता र देशभक्तिको विषय नै मूल मुद्दा बन्नाले आमसमुदायमा बहस, झगडा र तनाव सिर्जना हुनसक्छ । सेना, प्रहरी र अन्य सैन्यबलमा असन्तुष्टि वा विद्रोह सुरु हुनसक्छ । जग्गाजमिन, हाउजिङ, प्लटिङ र वन तथा वातावरणका क्षेत्रमा काम गर्नेहरूले नोक्सानीको सामना गर्नु पर्ने हुन्छ । सत्तापक्ष र विपक्षका बीचको दूरी बढ्ने छ ।

बृश्चिक राशिको प्रतीक चिह्न बिच्छू हुन्छ । यस राशिमा गुरु बृहस्पतिको प्रवेश भएकाले अर्कालाई लडाउने, भिडाउने, अप्ठ्यारामा पार्ने, साथीभाइका गल्ती र कमजोरी औंल्याउनु र उसलाई तल पार्न खोज्नु, कटुतापूर्ण बोलीवचन, शीघ्र क्रोध आदि बृश्चिक राशिको विशेषता हुनेहुँदा यो वर्ष जनमानसमा विद्रोहको परिस्थिति सिर्जना हुनेछ । यसअघि २०६३/६४, २०५१/५२, २०३९/४० मा पनि देवगुरु बृहस्पतिले बृश्चिक राशिमा परिभ्रमण गरेका थिए ।

त्यसैले यस वर्ष सामान्यतया बृष, कर्कट, बृश्चिक र मीन राशिका जातकहरूमा बृहस्पतिको अत्यन्त सकारात्मक प्रभाव देखिने छ । विवाहयोग्य उमेरका बृष, कर्कट, बृश्चिक र मीन राशिका केटा र केटीको वैवाहिक जीवन सुरु हुने सम्भावना छ, तर मेष, सिंह र धनु राशिका व्यक्तिको प्रेमसम्बन्ध टुट्नसक्छ, हुनै लागेको विवाह वा उन्नतिप्रगतिमा बाधाअड्चन आउने सम्भावना देखिन्छ, अन्य राशिका जातकमा बृहस्पतिको मध्यम प्रभाव पर्नेछ । बृहस्पतिको बृश्चिक राशिमा प्रवेश हुँदा राजनैतिक र सामाजिक क्षेत्रमा त्यति सकारात्मक संकेत प्राप्त हुनेछैन । बहस, छलफल र विचारविमर्शको वातावरण बन्द हुनेछ ।  सरकार स्वेच्छाचारी, निरङ्कुश र लापरवाह बन्नसक्छ । जनभावनाविपरीत नचिताएको र अचम्मलाग्दो सरकारी निर्णय देख्न वा सुन्न पाइनेछ । सामाजिक र पारिवारिक जीवन पनि अशान्त र कलहयुक्त देखिने छ । यद्यपि मङ्गलको राशिमा बृहस्पति आएको बेलामा समाजमा धार्मिक, सामाजिक र सामूहिक ढंगले आयोजना हुने काममा भने बृद्धि हुनेछ । प्राज्ञिक र बौद्धिक क्षेत्रका काममा उत्साहजनक सफलता र उन्नति हुनेछ । व्यक्तिले धर्म, ज्ञान र बुद्धिको प्रयोग गरी प्रशस्त धनसम्पत्ति जोड्ने अनुकूलता प्राप्त हुनेछ । तर व्यक्तिको जन्मकुण्डली र गोचरमा रहेको बृहस्पतिको अवस्थितिका आधारमा प्रत्येक व्यक्तिले बेग्लाबेग्लै प्रभाव प्राप्त गर्नेछन् । सामान्यतया गुरु बृहस्पतिले राशि परिवर्तन गर्नासाथ बेग्लाबेग्लै राशि र नक्षत्रमा जन्मिएका मनुष्यहरूमा यसको शुभ र अशुभ प्रभाव पर्ने गर्दछ, उनीहरूको जीवनचर्यामा पनि परिवर्तन आउन थाल्दछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

गोपनीय कर्म, तन्त्रसाधना, सङ्कट, दुर्घटना, चोटपटक, परदेश गमन र कामुकताको प्रभाव कुण्डलीको आठौं भावको अध्ययन गरी पत्ता लगाउन सकिन्छ । तपाईंको भाग्य र खर्चभावको मालिक मानिएको बृहस्पति ग्रहले आठौं घरमा प्रवेश गर्नु राम्रो सङ्केत होइन । यसको प्रभावले सधैं असुरक्षाको भावना विद्यमान रहने छ । मानसिक चिन्ताका कारण कष्ट हुनेछ । शरीरमा दीर्घ प्रकृतिका रोगहरू देखिन सक्छन् । मस्तिष्कलाई आराम हुनेछैन । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । रहस्य, अध्यात्म, गूढविज्ञान र परामनोविज्ञानका विषयमा रूचि बढ्ने छ वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ । तर अयाचित किसिमले धन लाभ हुने सम्भावना त छ, उता जोखिमको सम्भावना पनि उत्तिकै देखिंदैछ । नयाँ ठाउँमा लगानी गर्ने प्रयत्न नगर्दा राम्रो हुन्छ, किनभने मनले इच्छाए झैं परिणाम प्राप्त हुनेछैन । मित्र र सहयोगीले आफ्नो बाचा पूरा गर्ने छैनन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

अष्टमेश र लाभेश पदको बृहस्पतिले सप्तम भावमा प्रवेश गरेको छ । सातौं घर वैदेशिक यात्रा, साझेदारीको कारोबार, दाम्पत्य जीवन र प्रेमसम्बन्धको घर हो । त्यसैले विवाहयोग्य उमेर भएका बृष राशिका जातकको मनमाफिकको जीवनसाथी प्राप्त हुने वर्ष हो, आगामी १३ महिनाको समय । यस राशिका आमव्यक्तिले दाम्पत्य जीवनमा उतारचढावको परिस्थिति भोग्नु पर्नेछ । व्यापार वा नोकरी आदिमा उत्तरोत्तर प्रगति हुने परिस्थिति नै छ, तर साझेदारमा खटपट बढ्ने छ । पारिवारिक वातावरण सुमधुर नै रहने छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मन निडर रहने छ र शत्रुगणले सामु पर्ने हिम्मत गर्दैनन् । दर्शन एवं साहित्यमा रूचि बढ्ने छ । विद्वानसित सम्पर्क बढ्ने छ । सामाजिक सम्मान प्राप्त हुनेछ । वैदेशिक यात्रा सफल हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

छैठौं घर झैझगडा, तर्क, प्रतिस्पर्द्धा, न्याय र रोगव्याधिसँग सम्बद्ध भाव मानिन्छ । यस भावमा आएको सप्तमेश  र कर्मेश मानिएको बृहस्पतिको प्रभावले व्यक्तिले थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । पेसागत र व्यवसायिक परिस्थति बिग्रँदै जानेछ । स्वास्थ्य सम्बन्धी विविध समस्याले दिक्क लगाउने छ । परिजनसितको सम्बन्ध पनि राम्रो हुनेछैन । शत्रु र प्रतिस्पर्धीहरू बलिया हुनेछन् । अनावश्यक यात्राबाट जोगिनु बेस हुनेछ । त्यसो त मुद्दामामिला र अड्डाअदालतको कामका लागि राम्रो समय छ । जीवनी शक्ति र स्फूर्तिमा कमीको अनुभूति हुनाले झैझगडा र झंझटबाट टाढा रहने प्रयत्न गर्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

प्राज्ञिक क्षमता र सन्ततिसँग सम्बद्ध गृह पञ्चम भावलाई मान्ने गरिन्छ । यस भावमा प्रविष्ट बृहस्पतिको प्रभावले आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुनसक्छ । प्रणय र प्रेमसम्बन्धका निमित्त राम्रो समय छ । आफ्नो बुद्धिमत्ता र तीक्ष्ण दृष्टिकोणका कारण उचित समयमा सही निर्णय लिन सकिने छ । बन्दव्यापार वा पेसाबाट लाभ प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध बढ्ने छ । धार्मिक क्रियाकलापमा सहभागी भइने छ । मित्रवर्ग र हितैषीले पूर्ण सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

चौथो घरमा आमा, गृहसुख, वैदेशिक यात्रा आदिको सम्बन्ध हुन्छ । तपाईंको गोचरमा चतुर्थभावमा बृहस्पतिको प्रवेश भएको छ । यसको प्रभावले सुविधासम्पन्न जीवन यापन हुनेछ । पारिवारिक सुख मिल्नेछ । घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । अचानक अयाचित लाभ मिल्नेछ । उच्चपदस्थ र शक्तिशाली व्यक्तिहरूको सम्पर्कमा पुग्ने सम्भावना छ । ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ । व्यापारमा परिवर्तन हुने वा नोकरीमा बढुवा वा प्रशंसा समेत पाउने सम्भावना छ । धार्मिक क्रियाकलापप्रति झुकाव बढ्ने छ र पवित्र स्थलको भ्रमणको सम्भावना पनि छ । यस समयावधिमां मस्तिष्क सन्तुलित रहने छ र सुखभोग गर्न पाइने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

उत्साह, पराक्रम, प्रसिद्धि, दुर्घटना र दाजुभाइको सङ्केत तृतीय भावबाट हुने गर्दछ । यस भावमा बृहस्पतिको प्रवेश भएकाले तपाईंले गरेका काम र क्रियाकलापको प्रशंसा र सम्मान प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा कायम हुनेछ । आत्मविश्वास बढ्ने छ । आफ्नो क्षेत्रमा वर्चस्व स्थापना हुनेछ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । वैवाहिक जीवन वा प्रेमप्रसङ्ग सुखद हुनेछ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । कुनै मान्यजनबाट साथसहयोग प्राप्त हुनेछ । सानातिना रोगव्याधि र छुटपुट चोटपटकको प्रकोपको सङ्केत पनि छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

वाणि, भोजन, धनधान्य र सुखसम्मृद्धिको फल दोस्रो भावमा बसेको ग्रहले प्रदान गर्दछ, तपाईंको गोचरको दोस्रो भावमा बृहस्पतिले प्रवेश गरेको छ । अतः आगामी एक वर्षको अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । सामान्यतया सबै किसिमका सुखभोग प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

व्यक्तिको समग्र व्यक्तित्वको लेखाजोखा गोचरको प्रथम भावबाट निर्क्यौल गर्ने चलन छ । अहिले तपाईंको आफ्नै राशिमा बृहस्पतिले प्रवेश गरेको छ । त्यसैले आगामी एक वर्ष इच्छा, उद्देश्य र प्रतिष्ठा प्राप्तिका लागि दत्तचित्त भएर लाग्ने समय आएको छ । यस समयमा मन प्रसन्न र फुर्तिलो रहनेछ । परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । आम्दानीका मार्ग बढ्ने छन् र उच्च पदमा आसीन राजनैतिक प्रशासनिक पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ । योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । परिवारमा सुखसुविधाको जोहो हुनेछ । मन दर्शन र चिन्तनमा केन्द्रित रहने छ । मस्तिष्क पूर्णरूपेण सक्रिय रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

दान, धर्म, परोपकार, अनायास खर्च आदि बाह्रौं भावबाट हेर्ने गरिन्छ, जसमा आजबाट तपाईंको आफ्नै राशिपति बृहस्पतिले प्रवेश गरेको छ । त्यसैले तपाईंको आगामी १३ महिनाको समय अनुकूल रहने देखिंदैन । कुनै काममा पनि लगाव नहुनाले आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । असुरक्षाको भावना जाग्नेछ । व्यर्थको काममा समय र पैसा बरबाद हुनसक्छ । अर्काका लागि काम गर्नुपर्ने हुन्छ । खर्च धेरै हुनेछ । शत्रु र प्रतिस्पर्धीले तनावको सिर्जना गर्नेछन् । वैदेशिक प्रयोजनका काम र यात्राबाट पनि हानि नै हुनेछ, स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । घरपरिवारका सदस्यहरू आआफ्नै समस्याका कारण तनावग्रस्त रहने छन्, साथ पाइँदैन, चालचलनमा पनि फरक व्यवहार देखिन सक्छ । विपरीत परिस्थितिलार्ई सामना गर्न आँफूभित्र प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

सरकार, राज्यपक्ष, सामाजिक प्रतिष्ठा र अधिकारको विवेचना कुण्डलीको एघारौं भावबाट हुने गर्दछ । तपाईंको कुण्डलीको एघारौं घरमा बृहस्पतिको प्रवेश भएको छ, त्यसैले यसको प्रभावले आगामी १३ महिनाको अवधि उत्साहपूर्ण समय रहनेछ । बढुवा वा उन्नतिप्रगतिको संकेत छ, विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । नयाँनयाँ उद्यम र इलममा संग्लग्न हुनु पर्ने छ । दाजुभाइ र दिदीबहिनीका माझमा खुसीको वातावरण बन्नेछ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन गर्नुहुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । छोराछोरीले सन्तुष्ट तुल्याउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

पिता, पैत्रिक सम्पत्ति, कर्म, व्यापार आदिमा दसौं भावको महत्त्वपूर्ण भूमिका हुने गर्दछ । आजबाट बृहस्पति तपाईंको दसौं राशिमा प्रवेश गरेको छ । यसको प्रभावले व्यापार, नोकरी वा कारोबारमा गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा अधिकतम समय घुमफिरमा बित्नेछ । शत्रुको प्रतिष्ठा गिराउन सफल भइने छ । पारिवारिक जीवन सुखद हुनेछ । कर्मचारीले राम्रो फाइदा बटुल्न सक्नेछन्, इच्छाएको जिम्मेबारी प्राप्त गर्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

धर्म, परोपकार, भाग्य, ससुराली र अनायास लाभमा कुण्डलीको नवौं भावको प्रभाव हुने गर्दछ । बृश्चिक राशि तपाईंको राशिबाट नवौं राशि हो, अतः त्यहाँ उपस्थित भएको बृहस्पतिले यो अवधिलाई तपाईंको जीवनकालकै सर्वश्रेष्ठ समय प्रमाणित गर्नसक्ने सङ्केत छ । अत्यधिक सफलता र सम्मान प्राप्त हुनेछ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत यस अवधिको उपयोग गर्नुपर्छ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ । आफ्नो कामलाई पूर्ण गर्ने अत्यधिक उत्साह हुनेछ । परिवारिक वातावरणबाट पनि सहयोग मिल्नेछ । लामो यात्रा फलदायी सिद्ध हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ ।

द्रष्टव्य : जन्मकुण्डलीमा बृहस्पतिको उपस्थिति राम्रो छैन भने माथिका गोचरमा लेखिएका शुभ फलहरू आंशिक रूपमा मात्र लागु हुने गर्दछन्, अनि बलशाली बृहस्पति जन्मकुण्डलीमा रहेको छ भने अशुभ परिणाम पनि न्यूनरूपमा मात्र प्राप्त हुने सम्भावना हुन्छ । अतः समग्रतामा आफ्नो जन्मकुण्डलीमा बृहस्पति ग्रहको भूमिका र उपस्थिति विचार गरेरमात्र यस फलादेशको विचार गर्नु बेस हुनेछ ।

Jun 24, 2017

मङ्गल ग्रहको नीच घरमा प्रवेश, कसलाई फाइदा ? कसलाई बेफाइदा ? (Mars Transits to Cancer)



ज्योतिषीय गणना अनुसार मङ्गल ग्रहले २०७६ साल असार ०९ गतेदेखि श्रावण २५ गतेसम्म कर्कट राशिको यात्रा गर्नेछ । यस अवधिमा सुरुको १७ दिन र अन्तिमको एक साता मङ्गल र बुधको सँगसँगै विचरण हुने सङ्केत छ । त्यस्तै साउन महिनाको प्रारम्भपछि २५ गतेसम्म नै सूर्य र मङ्गल पनि एक साथ हुनेछन् । जुनसुकै ग्रह सूर्यका नजिकमा पुगेको वेलामा अस्त अवस्था हुने गर्दछ, मङ्गल ग्रह पनि यस पटक २०७६ असार २५ गतेदेखि कार्तिक ०४ गतेसम्म अस्थ अवस्थामा रहने देखिन्छ । नीच राशिमा मङ्गल ग्रहको भ्रमण सामान्यतया हरेक १८ महिनाको अन्तरालमा हुने गर्दछ, नीच राशिमा यसको भ्रमण हुँदा मौसमी प्रतिकूलता हुने, हुरीबतास चल्ने, भूक्षय र भूस्खलनका समस्या देखिने, गर्मीजन्य ज्वरोको प्रकोप र महामारी बढ्ने फल बताउने गरिन्छ । कर्कट राशिमा बसेको मङ्गल ग्रहको तुला, मकर र कुम्भ राशिमा पूर्णदृष्टि रहने छ, त्यसैले कर्कटलगायत यी राशिका व्यक्तिहरूमा हडबड, शीघ्रता, अहङ्कार, रिस र आवेगको मात्रामा बृद्धि हुने सङ्केत देखिन्छ । यस पटक नीच गृहमा बसेको मङ्गल ग्रहको धनु राशिमा बसेका केतु र शनिश्चरसँग षडष्टक सम्बन्ध बनेकाले एवं बृश्चिक राशिमा रहेको बृहस्पतिको नवौं पूर्णदृष्टि कर्कट राशिउपर रहेकाले 'नीचभङ्ग राजयोग' सिर्जना भएको छ । यस योगको शुभ परिणाम मिथुन, कन्या, धनु र मीन राशिका व्यक्तिहरूले पाउने भएकाले यिनीहरूले विशेष लाभ लिनसक्ने समयको आगमन भएको छ ।

प्रस्तुति - सहप्रा. कृष्णप्रसाद कोइराला



Jun 19, 2017

कुन वार जन्मिएका मानिसको कस्तो भाग्य हुन्छ ? What kind of people are born on what day ?

कुन वार जन्मिएका मानिसहरू कस्ता हुन्छन् ?
मानिस जन्मिने बितिक्कै घरपरिवारका सदस्यहरूले के वार परेछ भनी विचार गर्ने गर्दछन् र वारअनुसार मान्छे कस्तो हुन्छ त ? भनेर अनुमान गर्न थाल्दछन् । ज्योतिषशास्त्रमा पनि वारअनुसार मानिसको जन्म र उसको भविष्यका बारेमा केही चर्चा गरिएको छ । तर वारअनुसार मान्छै यस्तै हुनुपर्छ भन्ने प्रसङ्ग चाहिं सबै हुबहु मिल्नु पर्छ भन्ने हुँदैन, किनभने तपाइँको जीवनलाई प्रभावित पार्न राशि, लग्न, नक्षत्र, नवमांश आदिले बेग्लाबेग्लै भूमिका निर्वाह गरेको हुन्छ । आज म यस भिडियोमा मानिस जन्मिएको वार र त्यसको फल, स्वभाव र चरित्रका वारेमा चर्चा गर्नेछु ।

आइतवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
सोमवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
मङ्गलवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
बुधवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
बिहिवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
शुक्रवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
शनिवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?




May 21, 2017

बृहस्पति ग्रहको उल्टो गति, चारवटा राशिमा हुनेछ चमत्कार - Jupiter Transit in Scorpio

२०७६ साल जेठ ०८ गते राती ११ बजेर १० मिनेटमा देवताका गुरु मानिने बृहस्पति ग्रहले आफ्नै राशि धनुबाट बक्र गति अवलम्बन गरी बृश्चिक राशिमा प्रवेश गर्नेछन् । अब यसपछि आगामी कार्तिक १२ गतेसम्म गुरु बृहस्पतिको बृश्चिक राशिमा नै परिभ्रमण हुनेछ, तर यस अवधिमा बृहस्पतिको बक्र गति आगामी श्रावण २९ गतेसम्म कायम हुने र त्यसपछि मार्गी गति अवलम्बन गरी कार्तिकमा बृहस्पतिले पुनः धनु राशिमा नै भ्रमण गर्नेछन् ।

यस भिडियोमा मेषादि बाह्रवटै राशिमा पर्नसक्ने प्रभावको सटीक वर्णन गरिएको छ ।


May 9, 2017

अब ४५ दिनसम्म मङ्गल र राहु एकसाथमा - के हुन्छ ? (वैशाख २६ – आषाढ ०९) ANGARAK YOG

मङ्गल र राहु सँगै रहँदा अङ्गारक (अँगारको गोलो) योग सिर्जना हुन्छ
यसको प्रभाव कस्तो हुन्छ ?
के छ यस दुष्प्रभावबाट जोगिने उपाय ?
हरेक राशिमा पर्ने प्रभाव र उपायको वर्णन




Apr 11, 2017

नयाँवर्ष २०७६ सालको वार्षिक राशिफल - Yearly Horoscope 2019/20

प्रस्तुत छ, सं. २०७६ को वार्षिक राशिफल

अरुको भन्दा छुट्टै र अरुको भन्दा विशिष्ट, हरेक आयामका व्यक्तिका लागि फरकफरक फलादेश

सबैभन्दा सटीक, सबैभन्दा लामो र सर्वथा तथ्य र सत्यता आधारित विश्लेषण

गणितीय र शास्त्रीय प्रमाणका साथमा

अवश्य हेर्नुहोला



Mar 25, 2017

मङ्गल ग्रहको राशि परिवर्तन र यसको असर (Zodiach Analysis)

२०७५ साल चैत्र १० गतेका दिन ४५ दिनका लागि मङ्गल ग्रहले बृष राशिमा प्रवेश गरेको छ । मङ्गल ग्रहको यो गोचर परिवर्तनले जीवन र जगतमा के प्रभाव पर्छ त ? तलको भिडियोमा विस्तृत विवेचना गरिएको छ ।

Mar 3, 2017

धनु राशिमा बृहस्पतिको गोचर — सबैलाई फाइदैफाइदा, हेर्नुहोस् शुभफल (Live O...

आज फाल्गुन १९ गतेबाट बृहस्पति ग्रहले राशि परिवर्तन गरी बृश्चिक राशि छाडेर धनु राशिमा प्रवेश गरेको छ । यसबाट सामान्यतया सबै राशिमा केही न केही शुभ प्रभावमा बृद्धि भएको छ । तर राशिअनुसार बेग्लाबेग्लै राशिमा फरकफरक प्रभाव पर्नेछ, आआफ्नो राशिमा के कस्तो प्रभाव परेको छ र कुन सेक्टरको काम गर्दा तपाईंलाई बढी लाभ मिल्न सक्ला ? थाहा पाउन यो भिडियो नछुटाइकन हेर्नु राम्रो हुन्छ ।

तपाईं आफ्ना वा परिवारका कुनै सदस्यको चिनाटिपन हेराउने र कुनै ज्योतिषीय जिज्ञासा शान्त तुल्याउने विचारमा हुनुहुन्छ भने हरेक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म मलाई प्रत्यक्ष सम्पर्क गर्नुहोस् ।
सोमबार भाइवर नं. Contact no. +977 9814348111
बिहीवार ह्वाट्सअप नं. Contact no. +977 9814348111
अरु दिन एनसेलमा डाइरेक्ट Contact no. +977 9814348111