यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा 'भाइटीका'लार्इ लिइन्छ। यो पर्व दिदीबहिनीले दाजुभाइलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गरी, मेवामिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने र वस्त्रअलङ्कारआदि उपहार दिने, अनि त्यसैगरी दाजुभाइले दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्राभूषण प्रदान गर्ने परम्परा छ । भाइटीकाको पौराणिक कथाअनुसार परापूर्व कालमा मृत्युलोकका राजा यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा बस्दथिन् । टाढा रहेको मृत्युलोकका अति व्यस्त आफ्ना दाजु यमराजलाई भेटघाट गर्न यमुनाले निम्तो पठाइन् । बहिनीको निम्तो स्वीकार गरी यमराज पृथ्वीतलमा ओर्लिए । त्यो बेलामा यमपञ्चक परेको थियो र यमपञ्चकका पाँचै दिन यमराज बहिनी यमुनाका घरमा बसे । भाइटीकाका दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिईन् र उनीसित आशीर्वाद लिईन् । त्यही बेलादेखि नै भाइटीकाको प्रारम्भ भएको विश्वास छ । बहिनी यमुनाले यसरी दाजु यमराजलाई विशेष मानसम्मानका साथमा पूजा गरेको धार्मिक महत्त्व र भावना यस पर्वमा अन्तर्निहित छ :-
तस्यां स्वसुः करतलादिह यो भुनक्ति प्राप्नोति वित्तसुभगं धनमुत्तमं सः ॥
त्यस्तै यमपञ्चकका यी पाँच दिन इन्द्रादि दश दिक्पाल विदामा बसी पाताल लोकका राजा दानवराज बलिका निमित्त आफ्नो पदाधिकार त्याग्ने कथा पनि सुन्न पाइन्छ ।
दिदीबहिनीले भाइटीकाभन्दा पहिल्यै नै र कतैकतै त यमपञ्चक सुरु हुनु अगावै दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पानसुपारी, फूल आदि दिने चलन छ। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने भनाइ छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी आठ जनालाई अष्टचिरञ्जीवी मान्ने गरिन्छ । भाइटीकाको विधि सम्पन्न गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको माङ्गल्यको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ साथै पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाई दिएर सगुनका रूपमा दही खुवाउने चलन पनि छ । भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुष्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति बर्सिन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता समेत झल्किने गर्दछ । दिदीबहिनीले टीका लगाउने क्रम सिद्धिएपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्दछन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको प्रतीकात्मक अर्थ हो, आफ्ना दिदीबहिनी र दाजुभाइ दुबै पक्षको सुखसमृद्धि, आरोग्य एवं दीर्घायु हुने धारणा ।
हाम्रो देश नेपाल धार्मिक र सांस्कृतिक रुपमा धनी देश हो । त्यसैले आधुनिक नेपालका निर्माता बडामहाराज पृथ्वीनारायणले उद्घोष गरेका हुन् - नेपाल चार जात र छत्तीस वर्णको साझा फूलबारी हो । यो प्रसङ्ग आज पनि हामी नेपालीसँग कुनै न कुनै रुपमा मेल खाएको पाइन्छ । हामी एउटै पर्वलाई परापूर्व कालदेखि नै आ-आफ्नो चलन र रङले घोलेर मनाउने गरेका छौं । प्रसङ्ग आजको भाइटीकाबाट नै उठाऔं । यस पर्वलाई पहाडे मूलका व्यक्तिहरूले भाइटीका भनी धुमधामसँग मनाउने चलन छ भने उत्तिकै उत्साह र उमङ्गका साथमा मधेशमा यस पर्वलाई भरदुतिया वा भैया दूज भनी मनाउने गरिन्छ । जसले जे नामले वा जेजसरी मनाए पनि पर्वको सारतत्त्व र आधार एउटै हो । पौराणिक कथा अनुसार परापूर्वकाल सत्ययुगमा पृथ्वीमा बस्ने बहिनी यमुनाले स्वर्गमा बसेर पापधर्मको निर्क्यौल गरी दण्डाधिकारीको काम गर्ने दाजु यमराजलाई आफ्नो कामबाट फुर्सद लिई केही दिनका निमित्त आफ्नो घरमा आउन निम्ता गरेपछि आफ्नो निम्तो स्वीकार गरी घर आएका दाजु यमराजलाई पूजाआजा गरी विभिन्न प्रकारका मिठोमिठो खानेकुरा खुवाएर खुब सम्मान र सत्कार गरेको प्रसङ्ग नै यस पर्वको मुख्य आधार हो । बहिनीको सम्मान र सत्कारवाट खुसी भई यमराजले बहिनी यमुनालाई वरदान माग्न भने । बहिनीको इच्छानुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छासिद्धि गर्न पाऊन् भनी यमराजले बरदान दिएकाले त्यसै बेलादेखि कात्तिक शुक्ल द्वितीयाका दिन भातृ द्वितीया गर्ने परम्परा बसेको धार्मिक विश्वास छ । बाल्यावस्थामा एउटै घरआँगनमा खाइखेली समान मातापिताको लाडप्यार र काखमा लुटुपुटु गरी जीवनयापन गरेपनि कालान्तरमा व्यवहारिक कारणले भिन्नभिन्न स्थानमा बसाइ भएका दाजुभाइ र दिदीबहिनीको पुनर्मिलन गराउने भाइटीकाको सारतत्त्व पनि एउटै हो । सारांशमा पर्वको भावना र उद्देश्य एउटै भए पनि तिनलाई मनाउने तरिका र शैली भने फरकफरक रहेको पाइन्छ । जेजसरी मनाए पनि दाजुभाइ र दिदीबहिनीका लागि यो दिन विशेष उत्सवको दिन हो । घरवाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न भाइटीका/भरदुतिया/भैयादुज वा भ्रातृद्वितीयाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जसरी मनए पनि हामी नेपालीको एक अर्काको पर्वमा हामी रमाउनु पर्छ र एकअर्काका राम्रा पक्षको अनुसरण र नराम्रा पक्षको निषेध गरी नयाँ नेपालको निर्माण गर्न सक्दछौं । यहाँ भाइटीका मनाउने तरिकाका बारेमा चर्चा गरिएको छ :-
आआफ्नो संस्कार, चलन र परम्परामा थोरै भिन्नता भए पनि भाइटीकामा विशेषतः पहाडीमूलका व्यक्तिले निम्न विधिको अनुसरण गरिएको पाइन्छ :-
१)निमन्त्रणा - दिदीबहिनीले भाइटीकाभन्दा पहिल्यै नै र कतैकतै त यमपञ्चक सुरु हुनु अगावै दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पानसुपारी, फूल आदि दिने चलन छ ।
२)भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने भनाइ छ ।
३)टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी आठ जनालाई अष्टचिरञ्जीवी मान्ने गरिन्छ ।
४)भाइटीकाको विधि सम्पन्न गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ ।
५)सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ ।
६)त्यसपछि दाजु-भाइको माङ्गल्यको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ ।
७)त्यसपछि पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ ।
८)अनि क्रमशः फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाई दिएर सगुनका रूपमा दही खुवाउने चलन छ ।
१०)टीका लगाइसकेपछि फूलको माला पहिर्याई दिनुपर्छ । भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ ।
११)अन्तिममा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता समेत झल्किने गर्दछ ।
१२)दिदीबहिनीले टीका लगाउने क्रम सिद्धिएपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्दछन् ।
१३)दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् ।
यसरी भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको प्रतीकात्मक अर्थ हो - आफ्ना दिदीबहिनी र दाजुभाइ दुबै पक्षको सुखसमृद्धि, आरोग्य एवं दीर्घायु हुने धारणा ।
मधेशमा यस पर्वलाई भरदुतिया, भैयादुज वा भ्रातृद्वितीया भन्ने गरिन्छ । साररूपमा माथिका सबै विधिविधानको पालना नगरे पनि यहाँ गरिने भाइपूजाको महत्ता र वैशिष्ट्य उस्तै हो ।
१)निमन्त्रणा :- "यमूना न ओतै त छथी यम के, हम ने ओतै त छी भाईके, हमर भाइ कुम्हरक फूल, बजरी खाय बज्र भके जीवे, जेना गंगा यमूना धार बह्य,
तहिना हमर भाईके और्दा बर्हैय.......।" ('जसरी यमुनाले यमराजलाई घर आउन निम्तो दिन्छिन्, त्यसरी नै म पनि आफ्नो दाजुभाईलाई निम्तो दिन्छु । मेरो दाजुभाइ कुभिण्डोको फूल जस्तै होस् (तुरुन्तै नओइलिने), बजरी (एक प्रकारको कडा दाना चट्टानको जस्तो) खाओस् र बज्र भएर बाँचोस् । गङ्गा र यमुना निरन्तर बगिरहे झैं मेरो दाजुभाइको जीवन निरन्तर अघि बढोस्) आदि मैथिली लोकभाकाको उच्चारण गर्दै भाइटीकाको पूजा सुरु हुनुअघि दाजुभाइलाई चेलीबेटीले निमन्त्रणा गर्दछन् ।
२)सबैभन्दा पहिले प्रातःकालमा उठी स्नानादि नित्यकर्म सम्पादन गरी मधेशका घरघरमा दिदीबहिनीले हर्षोल्लासका साथ आफ्ना दाजुभाइका लागि मिठोमिठो खानेकुराको परिकार बनाउने चलन छ ।
३)घरको आँगनको मध्यभागमा पिठारको (चामलको पिठो) अर्पणा बनाई (रेखी हाली) त्यसमाथि सिन्दूर र अबिरले सजाएर काठको पीर्का ओछ्याइन्छ ।
४)उक्त काठको पिर्कामाथि दाजुभाइलाई बसाइन्छ र निधारमा टीका लगाई दाजुभाइको पूजा गर्ने गरिन्छ ।
५) पुजाको क्रममा दाजुभाइले दुबै हात अञ्जली बनाएर बस्दछन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिण्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधि अनुरुप मन्त्रोउच्चारण सहित दाजुभाइलाई तीन पटक पूजा गर्दछन् ।
६)पूजाका बेलामा दिदीबहिनीले माथि निमन्त्रणाका क्रममा उच्चारण गरिएको मन्त्रको पुनः उच्चारण मन्त्रोच्चारण गर्ने गदर्छन्, "यमूना न ओतै त छथी यम के.......
७)पूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो हैसियत अनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा अथवा रुपैंया पैसा दक्षिणास्वरूप दिने प्रचलन छ ।
८)त्यसपछि दिदीबहिनीले पकाएको मिठोमिठो परिकार दाजुभाइले ग्रहण गर्छन् ।
९)दाजुभाइले खाएपछिमात्र दिदीबहिनीले भोजनादि ग्रहण गर्ने नियम छ ।
नेपालका प्रमुख पर्वहरुमध्ये गाइतिहार वा लक्ष्मीपूजा एउटा विशिष्ट पर्व हो । तिथिअनुसार सामान्यतया कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । यसै दिनलाई नेपालको तराई क्षेत्र र भारतमा 'दीपावली' वा 'दिवाली' भन्ने गरिन्छ । पूर्वी तराईमा भने सुकराइत (सुखरात्री) पनि भनिन्छ । वर्षका चारवटा महत्त्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्री भनेर शास्त्रमा नामकरण गरिएको पाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। यस दिन स्त्रीजाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ । यस दिन दिनभरि व्रत बसी साँझमा लक्ष्मीको पूजा गर्ने मनुष्यले धनधान्यबाट वञ्चित हुनु नपर्ने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको पाइन्छ :-
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । त्यसैले सनातन धर्मावलम्बीहरूले गार्इलार्इ विशेष महत्त्वका साथमा पूजाअाराधना र भक्तिभाव प्रदान गर्ने गर्दछन् । लक्ष्मीपूजाका साथमा गोमाताको पनि पूजा गरिने भएकाले यस दिनलार्इ गार्इतिहार भन्ने गरिएको हो । लक्ष्मीपूजा र गार्इतिहार दुबै पर्व अाैंसीका दिन सम्पन्न गर्ने विधान छ, तर लक्ष्मीपूजा गर्न सायंकाल (प्रदोष) मा अाैंसी तिथिले छुनु अावश्यक छ भने गार्इ पूजाका लागि प्रतिपदा मिश्रित अाैंसी हुनु अनिवार्य मानिन्छ । त्यसैले लक्ष्मीपूजाको भोलिपल्ट गार्इ पुज्ने गरिएको हो । (या कुहूः प्रतिपन्मिश्रा तत्र गाः पूजयेन्नृप ! पूजामात्रेण वर्द्धन्ते प्रजा गावो महीपतेः ॥) नयाँ नेपाल संवत ११३९ - म्ह पूजा (नेवारी नववर्षको प्रारम्भ)
यमपञ्चकको चौथो दिन सम्पूर्ण नेवार समुदायले मनाउने 'म्ह पूजा' नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ । शरीरको सेवाबाट स्वस्थ र पवित्र बन्न सकिने मान्यताअनुसार म्हः पूजा विभिन्न जाति र धर्ममा विभाजित रहेका सम्पूर्ण नेवारद्वारा स्वीकारिएको छ । नेपाल भाषामा म्हः को अर्थ शरीर हुन आउँछ तसर्थ यसको समग्र अर्थ शरीरको पूजा हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी ‘म’ र ‘परमात्मा’ बीच कुनै अन्तर नभएको अनुभूति गरेर शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ । ब्रह्माण्डकै स्वरूप रहेको मानवशरीरमा सबै प्रकारका धर्म र कर्म प्राप्तिका प्रमुख साधन रहेकाले विश्वका सबै धर्मले यस शरीरलाई ईश्वरसँग भेट्ने र ईश्वरलाई बुझ्ने मन्दिरका रूप लिन सकिन्छ । समग्र देवता, ऊर्जाशक्ति, विश्वब्रह्माण्ड मानव शरीरभित्र नै रहेको हुन्छ र त्यहीं परमेश्वरको निवास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफू नै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको हो। वेद, गीता, उपनिषद्, पुराण, बौद्ध दर्शन, जैन दर्शन, नेपाली तथा नेपाल भाषा वाङ्मयका साथै कुरान, बाइबल, आदि सबै धर्मग्रन्थमा आत्मोद्धारका बारेमा चर्चा गरिएको पाइन्छ । यो पर्व कहिलेदेखि सुरु भएको हो भनेर निर्क्यौल गर्ने प्रमाण त छैन तर कुनै समयमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेकाले धेरै मानिसको क्षति हुन गएको र त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास गरिन्छ । सबै प्रकारका धार्मिक, साँस्कृतिक, सामाजिक, राजनीतिक आदि कर्म गर्न सकिने स्वस्थ शरीरको आकांक्षा र कामना गरिने यस पर्वलाई यमपञ्चकभित्रकै समयमा सम्पादन गरिने हुनाले यो पर्व पनि यमपञ्चकको सुरुवातसँगै प्रारम्भ भएको हुनुपर्छ । स्वस्थ शरीरभित्रको स्वस्थ मनबाट मात्र ब्रह्मको चिन्तन हुन सक्ने हुँदा त्यसको प्राप्तिका लागि शरीरलाई शुद्ध बनाएर मनलाई स्थिर राख्नका निमित्त यो पूजा प्रचलनमा आएको हो। शरीरको अनुपस्थितिमा कुनै पनि विषयवस्तुको अस्तित्व नरहने भएकाले शरीर भित्रको चैतन्यलाई उजागर गर्ने सन्दर्भमा शरीरप्रति विशेष आस्था र भक्ति प्रकट गरिने म्हः पूजालाई नेवार समुदायमा पास्नी गरेपछि नमरुन्जेल उसको मर्यादाक्रमअनुसार पूजा गर्नुपर्छ । शरीरभित्र रहेको चेतनाको परमतत्त्वलाई प्रतिनिधित्व गराउने करिब दश इन्च लामो बत्ती बाली तान्त्रिक विधिले शरीरको आराधना गरी प्रज्ज्वलित दीपलाई मानवदेहको प्रतीकका रूपमा परिकल्पना गर्ने परम्परा छ । म्ह पूजा गर्नका निमित्त मण्डलको निर्माण गरी त्यसमा अङ्गदेवताका रूपमा ब्रह्मा, विष्णु, महेश्वर, यमराज र यमुनाको विभिन्न विशेषतः सयपत्रीको फूल र अन्य पूजासामाग्री चन्दन, अक्षता आदिले पूजा गरिन्छ र अङ्गी देवता अर्थात् मुख्य पूजा योग्य वस्तुका रूपमा आफ्नै शरीरलाई प्रतिस्थापन गरिन्छ । यस कर्मको सम्पादन गर्दा विशेषतः आफूले आफूलाई यथार्थ धरातलमा रहेको अनुभूति हुने गर्दछ । उक्त पूजाविधि सम्पादन गर्न आचार्य, पुरोहित वा बाहुनको आवश्यकता हुँदैन र निश्चित शुभसाइत पनि तोकिएको हुँदैन । म्ह पूजाका दिन हिन्दू नेवारहरूले मात्र होइन, बौद्ध सम्प्रदायभित्रका नेवार समुदायले पनि आफ्नो शरीरको विशेष पूजा गर्ने प्रचलन छ । नेवार समुदायका बौद्ध अनुयायीले गर्ने म्हपूजाको स्रोत उही र उस्तै भए पनि पूजाको शैली भने भिन्न छ । यस सम्प्रदायमा विभिन्न नौ किसिमका गेडागुडीको प्रयोग गरी मण्डल निर्माण गरिन्छ। मण्दलको मध्यभागमा सौर्यमण्डलको गोलो आकारको कल्पना गरी एउटा गेडागुडीको दानो र त्यसका आठवटा कुनामा विश्वब्रह्माण्डको प्रतिनिधित्व हुने गरी अष्ट दिकपालको प्रतिष्ठा गरी मण्डल निर्माण गरिएको हुन्छ । यसका साथै त्रिरत्न (बुद्ध, धर्म, सङ्घ), यमराज, कुलदेवता आदिको समेत स्थापना गरी बौद्ध नेवारले म्हपूजा गर्ने गर्दछन् । त्यस्तै बौद्ध अनुयायीहरू मण्डलको दाहिनेतर्फ विशेष तरिकाले तैयार गरिएको लामो धागो राखी बालिएको तेलको दियोलाई यस पूजाको आरम्भदेखि अन्त्यसम्म अविच्छिन्नरूपमा प्रज्ज्वलित हुनु आवश्यक ठान्दछन्, अनि त्रिरत्न र लोकपालको पूजापश्चात् घरमूलीले अनिवार्य पूर्वदिशातिर फर्केर म्हःपूजा गर्नुपर्ने र अरु सदस्यले आफ्नो अनुकूलअनुसारको आसनमा रहेर शरीरको पूजा गर्ने प्रचलन रहेको छ ।
गोरु तिहार
गोरु तिहार, हलितिहार वा गोवर्द्धन पूजा तिहार चाडको चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्द्धन गोकुल नजिकै रहेको एक पर्वत हो । कथनबमोजिम कृष्ण भगवान् गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी दाउरा दिने गोवर्द्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा बताउँछन् र सबैजना त्यसै गर्न राजी हुन्छन् अनि गोवर्द्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्द्धन पर्वतलाई पूजा गरेको देखेर इन्द्रलाई खपिनसक्नु रिस उठ्छ। रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको हात्तीसुँडे वर्षा गराउँछन् । गोकुलका ग्वालाहरू विलखबन्दमा पर्छन्, अनि भगवान् कृष्णले गोवर्द्धन पर्वतलाई दाहिने हातको कान्छी औंलाले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र लगातार सात दिन र सात रातसम्म पानी ओइर्याउँदा पनि गोकुलका गोठालाहरूलाई गलाउन नसकेपछि अन्त्यमा आफ्नो हार मानी आफुले गरेको गल्तीका निमित्त इन्द्र कृष्णसमक्ष झुक्छन् र क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्द्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाई र गोवंशले प्राप्त गरेको सम्मानलाई प्रतीकात्मक ढङ्गले प्रष्ट्याउँछ । वास्तवमा गोवर्द्धन पूजा तिहार (यम पञ्चक) को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोबरले गोवर्द्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालन गर्ने गोरुको पनि पूजा गर्दछन्।
गाई तिहारे औंसीका दिन प्रातःकालमा नित्यकर्मबाट निवृत्त भई नित्यपूजादिक कर्म गरी गाईको गोबरले वा सिमेन्टको घर छ भने नुन मिसाई लिपपोत र सरसफाइ गरी दिनभरि निराहार बसी व्रत लिनु पर्छ । सायंकालमा पुनः स्नानादि गरी शरीर शुद्ध बनाई, शुद्ध वस्त्र पहिरिएर घर, कोठा, चोटा, आँगन र बाटोमा समेत दियो, बत्ती र मोमबत्ती आदि बाली पूजाकोठामा आई अर्घ्यादि आफ्नो सामर्थ्यअनुसार पूजासामाग्री तैयार गर्नुपर्दछ । लक्ष्मीपूजामा माता लक्ष्मीका लागि प्रिय मानिएका केही वस्तुहरूको जोहो गर्नुपर्दछ भन्ने गरिन्छ, जस्तै :- लाजा, मिठाइ, रातो सारी, रातो चुनरी, रातो पूजा कपडा (कम्तीमा दुई पिस), श्रृङ्गारको सामान, चन्दन, सिन्दूर, कुमकुम, सुपारी, पान, थुङे फूलसमेत अन्य रङ्गीबिरङ्गी फूलहरू, दुबो, चामल, ल्वाङ, सुकुमेल, केशरी, कपूर, बेसार, चुना, सुगन्धित द्रव्य, धुप, बाती, अगरबत्ती, नरिवल वा श्रीफल, बयर, अनार, अक्षता, अर्घ्य, पञ्चामृत, गङ्गाजल, सुन, चाँदी वा तामाको दियो (तीन वटा), माटाको दियो १२ वटा, गाईको शुद्ध घिउ, काँचो बेसार, बेलपत्र, ऊन, गाईको गोबर, भोजपत्र, कमलको दाना (कमलगट्टा), कौडा, शङ्ख, श्रृङ्गारसामाग्री आदि ।
पूजामण्डपको सजावट
सबैभन्दा पहिले पूजास्थलको ईशान (पूर्व र उत्तरको कुना) कोणमा एउटा सानो कलश, त्यसकै दाहिने भाग अर्थात् पूजास्थलको पूर्वभागमा एउटा सानो दियो र त्यसभन्दा दाहिने भागमा जटासहितको नरिवललाई रातो कपडाले बेरेर श्रीगणेशको स्थापना गर्नु पर्दछ । पूजास्थलको मध्यभागमा अष्टबल्ली रचना गरी (रेखी हाली) त्यसमाथि एक पाथी (साढे दुई किलो) जति धान, धानमाथि टपरीमा चामल र त्यसमाथि एउटा घडा वा कलश राखी त्यसमाथि अष्टदल कमलको रचना गरिएको थालीमा लक्ष्मीको प्रतिमा राख्नुपर्छ । पूजा स्थलको दाहिने भागमा दक्षिणतर्फ एउटा नयाँ पिर्कामा रातो रेशमी कपडा ओछ्याएर त्यसमा पूर्वपट्टि कुबेर, बीचमा ऐरावत हात्तीसहितका इन्द्र र पश्चिमी भागमा सरस्वतीको प्रतिमा स्थापना गरी सरस्वतीका अगाडि पुस्तक, कापी र मसीदानी राख्नुपर्छ । देवताको प्रतिमा बनाएको छैन भने बेग्लाबेग्लै सुपारी राखेर वा चित्र वा फोटो राखेर पनि पूजा गर्न सकिन्छ । मूलप्रतिमाको अघिल्तिर एउटा नयाँ भाँडो वा खडकुलोमा चामल भरेर राखिदिनु पर्छ । उक्त खडकुलो वा भाँडोमा श्रीसम्पत्ति (घरमा रहेका नगद र गहनागुरिया) राख्न सकिन्छ । खडकुलोको देब्रेभागमा मानो, पाथी, ढक, तराजु, तुलो राख्ने चलन छ । दुबै कलशलाई शुद्ध जलले भरिपूर्ण बनाई कलशको मुखमा आँप, बर, पीपल, शमी र डुमरीका पात राखी ईशान कुनामा रहेको कलशमा चाहिं रातो वस्त्रले बेरेर एउटा नरिवल पनि राखिदिनु पर्छ । खडकुलो वा भाँडोको अग्रभागमा तीन वटा पूजाका थाली राख्नु पर्छ । तीमध्ये पहिलो थालीमा माटाका एघार वटा दिया, दोस्रो थालीमा लाजा, मिठाइ, रातो पूजाकपडा, श्रृङ्गारको सामान, चन्दन, सिन्दूर, कुमकुम, सुपारी, पान र तेस्रो थालीमा तीन वटा थुङे फूल, दुबो, चामल, ल्वाङ, सुकुमेल, केशरी, कपूर, बेसार, चुना, सुगन्धित द्रव्य, धुप, बाती, अगरबत्ती र एउटा माटोको दियो राख्नुपर्छ । त्यसको सामुमा रातो रुमाल ओछ्याएर त्यसमा देब्रेपट्टि चामलका नौ वटा थुप्रा र दाहिनेपट्टि चामलका सोह्र वटा थुप्रा बनाउनु पर्दछ । नौवटा थुप्राले नवग्रह र सोह्रवटा थुप्राले षोडश मातृकाको सङ्केत गर्दछ । नवग्रह र षोडश मातृकाको बीचमा स्वस्तिक चिह्न बनाउनु पर्दछ र त्यसको बीचमा एउटा सुपारी राखिदिनु पर्दछ । पूजामा धातुबाट बनेको तीन वटा दियो चाहिन्छ, तीमध्ये दुई वटा अलि ठूला र एउटा सानो भए हुन्छ । ईशान कलश र गणेशको बीचभागमा सानो दियो र लक्ष्मीघडाको दायाँ र बायाँ भागमा ठूला दुई वटा दियाहरू स्थापना गर्नु पर्दछ । ती ठूला दियाहरूमा देब्रेपट्टि घिउको र दाहिनेपट्टि तेलको वर्तन चलाउने गरिन्छ । यसरी पूजास्थलको संरचना तैयार भएपछि चारै कुना बाँध्न चारै दिशामा एकएक मुठी चामलको थुप्रो र त्यसमाथि एक/एक वटा सुपारी राख्नुपर्छ । यजमानले पूजा गर्न बस्दा पूर्व वा उत्तर फर्केर बस्न मिल्ने गरी पूजास्थल तैयार गर्नुपर्दछ र हातले सजिलै भेट्ने गरी माथि उल्लेख गरिएका पूजासामाग्री मिलाएर राख्नु पर्दछ ।
लक्ष्मी पूजा विधि :-
पूजास्थलमा भुइँको पूजा गरी आसन ग्रहण गर्नु । भुइँलाई नमस्कार गर्ने मन्त्र :-
ॐ पृथ्वी त्वया धृता लोका देवि त्वं विष्णुना धृता । त्वं च धारय मां देवि पवित्रं कुरु चासनम् ॥
ॐ पृथिव्यै नमः आधारशक्तये नमः ।।
आसनमा बसेपछि शरीर शुद्धिका लागि पञ्चपात्रोमा राखिएको पानीले आचमनी गर्नु । फुल, चम्चा वा आचमनीको माध्यमले मुखमा पानी हाल्नु र भन्नु -
ॐ केशवाय नमः ॥
फेरि अर्को पटक मुखमा पानी हाल्नु र भन्नु -
ॐ नारायणाय नमः ॥
त्यसरी नै तेस्रो पटक मुखमा पानी हाल्नु र भन्नु -
ॐ वासुदेवाय नमः ॥
अन्तिममा शुद्ध जलले ॐ हृषिकेशाय नमः भन्दै हात पखाल्नु ।
त्यसपछि एउटा तामा वा काँसको कचौरामा पानी, कुशका टुक्रा, जौ, तिल, अक्षता, फूल, चन्दन र चानचुने पैसा राखेर तिलानी बनाउनु पर्दछ । तिलानीमा रहेको पानीले पूजास्थलको चारैतिर र आफूलाई समेत छर्कंदै तलको मन्त्र उच्चारण गर्नु पर्दछ -
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा । यः स्मरेत्पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः ॥
त्यसपछि आफ्नो नामगोत्र, समय, स्थान आदिको उच्चारणका साथमा 'ॐ विष्णुः विष्णुः विष्णुः अद्य अमुकोऽहं मम विविध मनोऽभीष्टफलावाप्तये सुखरात्र्यां यथा मिलितोपचारैः श्रीमहालक्ष्म्याः पूजनमहं करिष्ये' भनी सङ्कल्प गर्नुपर्छ । सङ्कल्पपछि घडापछाडिको (पूर्व दिशामा रहेको ) दियो बाल्नु पर्छ र त्यसमा पञ्चोपचार (क्रमशः आसन, पाद्यजल, चन्दन, अक्षता र फूल चढाएर गरिने पूजा) पद्धतिले पूजा गरी तलको मन्त्र पढ्नु पर्छ :-
अब गणेशको पूजाआजा गरिदिनु पर्छ, सबैभन्दा पहिले पूजास्थलको आग्नेयभागमा स्थापना गरिएका गणेशको आवाहन गर्नुपर्छ, कुसको टुक्रो आसनका रूपमा राखिदिनु पर्छ र तलको मन्त्र पढी पञ्चोपचारकै प्रयोग गरी पूजा गर्नुपर्छ -
वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभः । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ॥
अब मूल घडामा स्थापना गरिएकी महालक्ष्मीको प्रतिमाको पूजा गर्नु पर्छ । सुरुमा प्राण प्रतिष्ठा गर्नुपर्छ । प्राणप्रतिष्ठा गर्नु भनेको भौतिक प्रतिमा वा फोटोमा पूजाको अवधिभरि आएर बसिदिन देवताको प्राण भर्ने काम हो । तलको मन्त्र पढी प्राणप्रतिष्ठा गर्नू -
ॐ अस्यै प्राणा: प्रतिष्ठन्तु अस्यै प्राणा: क्षरन्तु च अस्यै देवत्वं अर्चायै माम्महेति च कश्चन ॥
यति भनेर प्रतिमामा तीनपल्ट फुकिदिनु पर्छ ।
त्यसपछि उक्त प्रतिमामा देवत्व प्राप्त भयो भन्ने ठानी हातमा एउटा नरिवल र फूल लिएर आँखा चिम्ली लक्ष्मीको ध्यान गर्नुपर्छ । ध्यान गर्दा यो मन्त्रको उच्चारण गरिन्छ :-
हातमा लिएको फूल र नरिवल लक्ष्मीको प्रतिमामा चढाएर दुबै हात माथि उचाली जगज्जननी माता लक्ष्मीलाई उक्त प्रतिमामा आएर बसिदिन आवाहन गर्नुपर्दछ । मन्त्र यस प्रकार छ :-
सर्व लोकस्य जननीम् सर्व सौख्य प्रदायिनीम् । सर्व देवमयीमीशां देवीम् आवाहयाम्यहं ।।
अब लक्ष्मीमाताको आरती गरिदिनु पर्छ । आरती गर्ने मन्त्र :-
जय देवी जय देवी जय महालक्ष्मि रक्ष त्वं शरणागत साम्प्रतसर्वं हि जय देवी जय देवी ................
आफूलाई कण्ठ भएको कुनै आरतीको गायन गर्दै आरती देखाउनु पर्छ ।
आरतीपछि आरती र देवताका प्रतिमाहरूमा शुद्ध जल छर्किएर आफूले र पूजामा उपस्थित सबैले हातमा फूलपाती लिई पुष्पाञ्जली गरिदिनु पर्छ । पुष्पाञ्जली प्रदान गर्दा उच्चारण गर्ने मन्त्र :-
अब तिलानीमा रहेका बाँकी कुश,फूल र हातमा लगाएको पवित्र आदि कायेन वाचा मनसेन्द्रियैर्वा । बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् । करोमि यद्यत्सकलं परस्मै । नारायणयेति समर्पयामि ॥ भन्दै भुइँमा छाडिदिनु पर्दछ ।
पूजा सिद्ध्याएर प्रसाद, टीका र फूलपाती आदि वितरण गरी माता लक्ष्मीको जयजयकार गरिदिनु र हर्षबढाइ गर्नु । अस्तु ।
नेपालका प्रमुख पर्वहरुमध्ये गाइतिहार वा लक्ष्मीपूजा एउटा विशिष्ट पर्व हो । तिथिअनुसार सामान्यतया कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । यसै दिनलाई नेपालको तराई क्षेत्र र भारतमा 'दीपावली' वा 'दिवाली' भन्ने गरिन्छ । पूर्वी तराईमा भने सुकराइत (सुखरात्री) पनि भनिन्छ । वर्षका चारवटा महत्त्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्री भनेर शास्त्रमा नामकरण गरिएको पाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। यस दिन स्त्रीजाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ । यस दिन दिनभरि व्रत बसी साँझमा लक्ष्मीको पूजा गर्ने मनुष्यले धनधान्यबाट वञ्चित हुनु नपर्ने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको पाइन्छ :-
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । त्यसैले सनातन धर्मावलम्बीहरूले गार्इलार्इ विशेष महत्त्वका साथमा पूजाअाराधना र भक्तिभाव प्रदान गर्ने गर्दछन् । लक्ष्मीपूजाका साथमा गोमाताको पनि पूजा गरिने भएकाले यस दिनलार्इ गार्इतिहार भन्ने गरिएको हो । लक्ष्मीपूजा र गार्इतिहार दुबै पर्व अाैंसीका दिन सम्पन्न गर्ने विधान छ, तर लक्ष्मीपूजा गर्न सायंकाल (प्रदोष) मा अाैंसी तिथिले छुनु अावश्यक छ भने गार्इ पूजाका लागि प्रतिपदा मिश्रित अाैंसी हुनु अनिवार्य मानिन्छ । त्यसैले लक्ष्मीपूजाको भोलिपल्ट गार्इ पुज्ने गरिएको हो । (या कुहूः प्रतिपन्मिश्रा तत्र गाः पूजयेन्नृप ! पूजामात्रेण वर्द्धन्ते प्रजा गावो महीपतेः ॥)
लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यस कर्मभित्र कुनै पनि अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश लुकेको छ। सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । 'तमसोमा ज्योतिर्गमय' अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुखसन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । गाईलाई लक्ष्मीको प्रतीक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसियालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।
भैली अनि देउसी
अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुसियाली मनाएका थिए । श्री रामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्री दियाहरुको उज्यालोले जगमगाएको थियो । मानिसहरुले घरघरमा, गल्लीगल्लीमा देव श्री राम (जसको अर्थ हुन्छ: हाम्रा राम देउता हुन्) को नारा लाउँदै घुमेका थिए, त्यसै खुसियाली व्यक्त गर्ने शब्दको अनुकृतिबाट क्रमशः देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी आदि शब्दमा अपभ्रंश भएको अनुमान गरिन्छ र सोही परम्परालाई मान्दै आज पनि नेपालीहरू देउसी खेल्दै हिंड्ने चलन छ । देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु भट्याउनेको पछिपछि देउसिरे भन्ने हुन्छन् ।
देउसीका सन्दर्भसँग जोडिएको एउटा अर्को कथा पनि छ, जुन यस प्रकार छ :- एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नै दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैंनथे। यस पुण्यको प्रतापले स्वर्गादि लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको शरणमा गर्इ प्रार्थना गर्नथाले । देवताको स्तुतिबाट प्रसन्न भएका विष्णुले देवताहरूलार्इ बलिको दमन गरी पाताल पुर्याउने आश्वासन दिए । त्यसपछि वामन(बाहुन्ने)को रूप लिएर बलिलाई छल्न विष्णु बलीका दरबारमा गए र तीन पाउ जमिन दान मागे, यसमा बलिले सानो ब्राह्मणले मागेको जम्माजम्मी तीन पाइला जग्गालाई गौण र तुच्छ याचना ठान्दै होसै नराखी दान गर्ने सङ्कल्प गरे । सङ्कल्प गरी प्रतिज्ञाबद्ध भएको निमेषभरमा नै ती बाहुन्ने फुच्चाको रूप विराट भयो । उनको एउटै पाइलाले समस्त पृथ्वी ढाकियो, अर्को पाइलाले आकाश ढाक्यो, अनि त्यस पछि तेस्रो पाइलो अड्याउने ठाउँ भेटिएन, बलि अब के दिनु भनी अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाइलो पर्ना साथ बलि भासिएर पाताल लोकमा पुगे, अन्त्यमा उनले विष्णुसित आफुलाई वर्षमा एक पल्ट तिहारको बेलामा पृथ्वीलोकमा भ्रमण गर्ने अवसर दिइयोस् भनी प्रार्थना गरे । प्रार्थनालाई स्वीकार गरेर बलिलाई वर्षमा एकपल्ट पृथ्वीलोकमा घुम्न आउने अनुमति प्राप्त भयो :-
बलि पाताल लोकबाट तिहारको अवसरमा यहाँ घुम्न आउँछन् भन्ने जनविश्वास छ, त्यसैले उनको स्वागतमा घरघरमा दीप जलाइएको हो भन्ने पनि भनाइ छ । देउसेहरु बलि राजा आउन नभ्याएको र उनीहरुलाई बलिले पठाएको भनी देउसी भट्याउँदा भन्ने गर्दछन् । स्त्रीजातिहरुले पनि बलिको स्वागतमा भैली गीत गाउँछन्, यो पनि 'बलि गीत'कै विकृत रूप हो, जुन औंसीको रातभरि गाइन्छ र खेलिन्छ ।
प्रत्येक वर्षको कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन नेपाली परिवेशमा कुकुर तिहार मनाइने प्रचलन छ । यसबाहेक उक्त दिन नरक चतुर्दशी पर्व मनाउँदै नरके नुहाउने र हनुमान् जयन्ति पर्व पनि मनाउने चलन छ । उता नेपालको तराई क्षेत्र र समस्त भारतमा कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई रूप चतुर्दशी र छोटी दीपावली भन्ने प्रचलन पनि छ । कुकुर तिहार
तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । उक्त दिन कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा कुरा खान दिइन्छ । कुकुरलाई खान दिंदा ‘द्वौ श्वानौ श्यामशवलौ वैवश्वतकुलोद्भवौ । ताभ्यामन्नं प्रयच्छामि स्यातामेतावहिंसकौ ।' अर्थात् वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु । तिमीहरू अहिंसक बन’ भनिन्छ । कुकुरलाई इमानदार पशु मानिन्छ । मानिसले आफू जंगली अवस्थामै रहँदादेखि कुकुर पाल्न थालेको विश्वास गरिन्छ । सिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गर्ने काम होस् कुकुरले मानिसलाई सधैं साथ दिँदै आएको छ । कुकुरले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना दिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । यिनै विभिन्न गुणका कारण कुकुरलाई कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्षको एकदिन भए पनि कुकुरको पूजा गर्न थालेका हुन् । हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसङ्ग छन् । वेदमा देवकुकुर्नी सर्माले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ । यस्तै अर्को पौराणिक प्रसङ्गमा यिनका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसङ्ग समेत छ । यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा एउटा कुकुर साथै गएको तथा अन्तिममा युधिष्ठिरसित ऊ पनि स्वर्ग पुगेको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूप बताइएको छ । नरक चतर्दशी कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । लिङ्ग, पद्म, स्कन्दलगायत विभिन्न धर्मग्रन्थमा मरणोपरान्त नरकमा प्राप्त हुने यमयातनाको पीडाबाट मुक्त हुन चाहने व्यक्तिले यस चतुर्दशीका दिन बिहान झिसमिसेमा उठी शरीरमा तेल घसेर नुहार्इ यमराजको पूजा गर्नु पर्ने र जसले यस दिन सूर्योदयपछि स्नान गर्दछ, उसको वर्षभरिको पुण्य नाश हुन्छ भनी उल्लेख गरिएको पाइन्छ :-
अरुणोदयतोऽन्यत्र रिक्तायां स्नाति यो नरः । तस्याब्दिकभवो धर्म्मो नश्यत्येव न संशयः॥
भगवान् श्रीकृष्णले अत्याचारी र दुराचारी दुर्दान्त राक्षस नरकासुरको वध गरेको दिन कार्तिक कृष्ण पक्षको चतुर्दशी नै थियो र नरकासुरले भिन्नभिन्न देशदेशान्तरबाट अपहरण गरी बन्दीगृहमा राखेका सोह्र हजार एक सय कन्याहरूलाई भगवानले उक्त दिन मुक्त तुल्याउनु भएको थियो । त्यसरी मुक्त भएका ती राजकुमारीहरूले आफूहरू नरकासुरको अपहरणमा परेको र उसको बन्दीगृहमा बस्नु परेकाले लोकापवादका कारण आफ्नो कसैसँग विवाह नहुने तथा जीवन नै बरबाद हुने भन्दै कृष्णसमक्ष बिन्ती बिसाए । तिनका यस्ता कुरा सुनेपछि भगवान् श्रीकृष्णले तिनीहरूसित संयुक्त रूपमा विवाह गर्नु भएको प्रसङ्ग विभिन्न पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । भगवान् श्रीकृष्णले नरकासुरको मरणकालमा उसलाई वर प्रदान गर्नुभएअनुसार यस दिन सूर्योदयभन्दा पहिले जसले अभ्यङ्गस्नान (शरीरमा तेल लगाएर) गर्दछ, उसले कृष्णको कृपा प्राप्त भई यावत् पापराशि नष्ट हुन्छन् र नरकको यातना भोग्नुपर्दैन । यस दिन बिहानै झिसमिसेमा उठी बेसन र तेल मिसार्इ शरीरमा दली भरिसक्य नजिकैको ताल, तलाउ, नदी वा पोखरीमा जानुपर्छ । 'सितालोष्ठसमायुक्तं सकण्टकलदलान्वितम् । हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुनः ॥' (हे ! लौका वा तपाईंले जुन कुरा लिनुभएको छ हे अपामार्ग तिमीलाई यसरी मेरो शिरमा घुमाएको छु, मेरा समस्त पाप र कुबुद्धिलाई नाश गर ।) भन्दै अाफ्ना टाउकाको वरिपरि सात पटक घुमाउनु पर्दछ र उक्त जरो तथा अपामार्गका साथमा केसरी र गङ्गाजल नुहाउन ठिक्क पारेको पानीमा मिसाउनु पर्छ, अनि उक्त पानीले नुहाउनु पर्छ । यसैलाई नरके नुहाएको वा अभ्यङ्ग स्नान भनिन्छ । त्यसपछि एउटा टपरीको वरिपरि परिवारका सदस्यको सङ्ख्याअनुसार दियोको चोसो बनार्इ प्रत्येक चोसोमा एक/एकजोर बाती बाली उक्त टपरीमा अघि नुहाउँदा प्रयोग गरिएको लौका वा घिरौंलाको जरो र अपामार्गलाई राखी जलप्रवाह गरिदिनु पर्छ । यसलार्इ नरके बगाएको भन्ने चलन छ । तर नुहाउन खोला वा पोखरीमा जान सकिएन भने घरैमा माथिको विधिले नुहार्इ त्यसरी स्नान गर्दा प्रयोग गरिएको अपामार्ग र लौका/घिरौंलाको टुक्रो घरबाहिर कुनै रुखको फेदमा सम्भवभएसम्म दक्षिण दिशामा गाडिदिनु पर्छ । अनि कोइलामा तोरीको पीनाले सात पटक धूप हाल्नुपर्छ । चतुर्दशीका दिनको तोरीको तेलमा लक्ष्मीको र पानीमा गङ्गा नदीको वास हुन्छ भन्ने शास्त्रीय प्रमाण छ । (तैले लक्ष्मी: जले गङ्गा दीपावल्यां चतुर्दशी) स्नानपछि इष्टदेवताको नित्य पूजादि गर्नुपर्छ । त्यसपछि दम्पतिसहित भगवान् श्रीकृष्णको मन्दिर र देवालयहरूको भ्रमण र दर्शन गर्नुपर्छ । यस दिन लक्ष्मी, गणेश र सरस्वतीको माटोको मूर्ति घरमा ल्याएर लक्ष्मीपूजाका दिन ती मूर्तिको पूजा गर्नुपर्छ । त्यस्तै यस दिन रात्रीकालमा शिवालय वा कुनै तीर्थमा गर्इ पैतृक अधिकारप्राप्त व्यक्तिले अाफ्ना मृतपितृ, यमराज र भीष्मपितामहलार्इ तर्पणादि गर्नाले ठूलो पुण्य प्राप्त हुने कुरा पद्मपुराणमा उल्लेख गरिएको देखिन्छ । ( ततश्च तर्पणं कार्यं धर्मराजस्य नामभिः । जीवत्पिता न कुर्वीत तर्पणं यमभीष्मयोः ॥ यज्ञोपवीतिना कार्यं प्राचीनावीतिना तथा । देवत्वञ्च पितृत्वञ्च यमस्यास्ते द्विरूपता ॥ नक्तं यमचतुर्दश्यां यः कुर्याच्छिवसन्निधौ । न तत् क्रतुशतेनापि प्राप्यते पुण्यमीदृशम् ॥ कुमारीवदुकान् पूज्य तथा शैवतपोधनान् । राजसूयफलं तेन प्राप्यते नात्र संशयः ॥ कार्तिके भौमवारेण चित्रा कृष्णा चतुर्दशी । तस्यां भूतेशमभ्यर्च्च्य गच्छेच्छिवपुरं नरः ॥)
बेलुका घरको मुख्य ढोकामा दुबैतिर एकएक जोर दियो बालेर धर्मराज यमलाई स्मरण गरी पूर्व फर्किएर दीपदान गर्नुपर्छ भनेर सनतकुमार संहितामा उल्लेख गरिएको छ । यसो गर्दा व्यक्तिमा रहेका अज्ञान, अविवेक र मूर्खतारूपी अन्धकार नाश हुन्छ र अगतिमा परेका पितृहरूले स्वर्गको मार्ग देख्दछन् । त्यस्तै यस दिन भगवान् वामन र बलि राजाको समेत पूजा गरेमा माता लक्ष्मीले स्थायी रूपमा घरमा निवास गर्दछिन् भन्ने विश्वास लिइन्छ । नर्के चतुर्दशीका दिन दिउँसो आफूले उपभोग गरेका पुराना कपडा दिनदुःखीलाई दान गर्ने चलन पनि छ । त्यस्तै यस दिन बिहानै हात्तीलाई उखु वा गुलियो चिजबिज खुवाउने चलन छ, हात्ती नभेटिएमा ०९ वर्षमुनिका ४ जना बालबच्चा जम्मा पारी सेलरोटी र पायस भोजन गराउने गरिन्छ । नरक चतुर्दशीका दिन शिव, शक्ति र गणेशको आराधना गरी ब्राह्मण भोजन गराउने चलनसमेत छ । त्यस्तै घरपरिवारमा कुनै किसिमको सङ्कट र रोगव्याधि नहोस् एवं सुखसम्मृद्धि र ऐश्वर्यले सदैव निवास गरोस् भन्ने उद्देश्यले माटाको गाग्रीलाई रातो कपडाले बेरेर सिंगारपेटार गरी त्यसमाथि नरिवल राखी पानीको राम्रो प्रवाह भएको नदीमा बगाइदिनु पर्छ । पद्मपुराणमा चतुर्दशी र अाैंसीको सायंकालमा दुबै दिन दीपावली गर्नुपर्ने बताइएको छ :-
हुन त धुमधामसँग हनुमान् जयन्ती चैत्र शुक्ल पूर्णिमाका दिन मनाउने चलन छ, यद्यपि वाल्मीकि रामायणको एउटा प्रसङ्गमा 'ऊर्जे कृष्णचतुर्दश्यां भौमे स्वात्यां कपीश्वरः। मेषलग्नेऽञ्जनागर्भात् प्रादुर्भूतः स्वयं शिव:' कार्तिक कृष्णपक्षको चतुर्दशी तिथिका दिन मङ्गलवार, स्वाति नक्षत्र र मेष लग्नमा भगवान शिवजीले अञ्जनाको गर्भका माध्यमबाट हनुमानका रूपमा रुद्रावतार लिनु भएको हो भनिएको छ । त्यसैले हनुमानका भक्तहरू यस दिन हनुमान् जयन्ती पनि मनाउने गर्दछन् । यस दिन हनुमानका भक्तहरूले हनुमान मन्दिरमा गुलाबी/रातो रङ्गको कपडा चढाएर हनुमान चालिसाको पाठ गर्नुपर्छ । यस दिन व्रत लिने चलन पनि छ । व्रत लिनेले दिउँसो षोडशोपचार पद्धतिले हनूमानको पूजा गरी प्रतिमामा सुगन्धित तेल, घिउ मिसाएर लेप गरिदिनु पर्छ । आमविश्वास छ, यसै दिन जगज्जननी माता सीताले हनुमानलाई आफ्नो सौभाग्यको सिन्दूर प्रदान गर्नुभएको थियो । नरक चतुर्दशीको कथा एउटा प्राचीन कथाअनुसार प्राचीन समयका रन्तिदेव नामका राजा अत्यन्त सत्कर्मी र दानी थिए । उनले पूर्वजन्मदेखि नै व्रत, तप, दान र धर्मका पक्षमा आचरण गरेका थिए । उनले आफ्ना द्वारपालेलाई आदेश दिएका थिए कि उनको दरबारमा आएको कुनै दुःखी, दरिद्र र ब्राह्मणले खाली हात फर्कनु हुँदैन, त्यसैले त्यस्ता कुनै व्यक्ति द्वारमा उपस्थित भएमा मलाई खबर गर्नु, म आफ्नै हातले उसलाई दान दिएर सन्तुष्ट तुल्याउँछु । एक पटक राजसभा चलिरहेको बेला उनको द्वारमा एक जना भोका ब्राह्मण आइपुग्यो, सिपाहीले राजालाई सङ्केत दिए, तर राजाले तुरुन्त फुर्सद पाएनन्, धेरै बेर कुरेपछि ब्राह्मण निराश भएर फर्किएका थिए । समय बित्दै गयो, राजाको अन्त्यकाल आयो, यमदूत राजालाई लिन आए । राजाले गरेको दानधर्मका प्रभावले उनले मर्नुअघि जिउँदैमा यमराजलाई देखे । आफूलाई लिन यमदूत आएकोमा छक्क पर्दै उनले तिनलाई प्रश्न गरे हे यमदूत, मैले थाहा पाएसम्म अघिल्लै जन्मदेखि कुनै पापकर्म गरेको छैन, मैले सिधै स्वर्ग जानु पर्ने हो । मेरो के गल्ती छ र तपाईंहरू मलाई लिन आउनु भएको हो ? यमदूतले तुरुन्त उनको दरबारबाट भोको ब्राह्मण फर्किएको प्रसङ्ग सम्झाइदिए । त्यो पुरानो कुरा राजाले पनि सम्झिए र भने त्यतिबेला ब्राह्मणले मेरो राजकाज चलुन्जेल पर्खिएका भए उनी पनि निराश हुने थिएनन्, मैले जानाजानी गल्ती गरेको थिइँन । यसपछि यमदूतले भने जानेर वा नजानेर कसैले पनि गरिब, असहाय र भोको ब्राह्मणका उचित इच्छा पूर्ण नगरेमा नरकको यातना सहनै पर्छ, त्यसैले हामी तपाईंलाई लिन आएका हौं । त्यसपछि राजाले यमदूतलाई बिन्ती गरे - हे यमदूतहरू, मैले जानीजानी गरेको गल्ती थिएन, त्यो, त्यसैले तपाईंहरूले मलाई एक वर्षको म्याद दिनुहोस्, त्यसपछि तपाईंहरूको आज्ञाबमोजिम म नरक जान तैयार हुनेछु । यमदूतले हुन्छ भने । त्यसपछि राजा रन्तीदेवले आफ्ना राज्यमा रहेका कुलगुरु, ब्राह्मण र ऋषिमुनि डाकेर धर्मसभा गराए । उनले सभामा आफ्नो र यमदूतको वार्तालापको प्रसङ्ग विमर्शका लागि प्रस्तुत गरे । त्यसपछि त्यहाँ उपस्थित कौशिक ऋषिले भने - हे राजन! तिमीले कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशीका दिन बिहानै विधिपूर्वक नरके स्नान गरी व्रत गर, अनि भगवान् श्रीकृष्णको भक्तिपूर्वक पूजाआजा गर, ब्राह्मणहरूलाई भोजन गराएर दक्षिणा देऊ, आफ्नो अपराध ब्राह्मणलाई बताएर क्षमा याचना गर, अनि तिमी पापबाट मुक्त हुनेछौ । त्यसपछि राजाले नरक चतुर्दशीको विधिपूर्वक व्रत गरे र अर्को वर्ष यमदूतले आउनै परेन, बरु नर्के स्नान गरेको पुण्यप्रभावले उनको मृत्युकालमा विष्णुदूत आए र उनलाई वैकुण्ठलोक प्राप्त भयो ।