हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो सगरमाथा अञ्चल खोटाङ जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडा बाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ ।
हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म, बौद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ।
त्रेतायुगको रामायणको कथासँग प्रत्यक्ष गाँसिएको पवित्र तीर्थस्थल रामधुनी सुनसरी जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हो । यो मन्दिर हाल रामधुनी नगरपालिकाको वडा नं. ०४ (तात्कालिक सिङ्गिया गाविसको वडा नं. ०२) मा पर्दछ । रामधुनीमा मुख्य रूपमा धुनी मन्दिर र दरबार मन्दिर छन् । धुनी मन्दिरमा सधैँ एउटा साजको मुढो सल्काएर राखिन्छ र उक्त मुढो जलिरहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ । यसैगरी दरबार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ । त्यसभित्र चन्द्र, शिवलिङ्ग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन् । वनस्खण्डी बाबाले बोकेर हिँड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ ।
ऋषि विश्वामित्रसँग गुरुकुलमा रहेका वेला भगवान् रामचन्द्रको यस ठाउँमा आगमन भएको र यहाँ धुनी जगाएर बसेको लोकआहान छ, त्यसैले यहाँ नेपाल, भारत र भुटानका सनातन धर्मावलम्बी साधुसन्त र धार्मिक पर्यटकहरू आउने गरेका छन् । भारतको अयोध्या नगरका राजा दशरथका आज्ञाकारी छोरा रामचन्द्र जनकपुरका राजा जनकले आयोजना गरेको धनुषयज्ञमा भागलिन र सीतासँग स्वयंवर गर्न जाने क्रममा भाइ लक्ष्मण र ऋषि विश्वामित्रका साथमा आई रामधुनीमा विश्राम गरेको र बास बसेको किंवदन्ती रहेको छ । यसबाहेक धुनीसम्बन्धी अर्को जनश्रुति पनि प्रचलनमा रहेको छ । भगवान् रामचन्द्रले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा रामधुनी वनमा ती राजकुमारी धुनी बालेर बसेकी थिईन् । त्यहाँ रामचन्द्र एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने गरिन्छ।
सुरुमा पौराणिक पञ्जावी शैलीको पुरानो मन्दिर संरक्षणको अभावमा जीर्ण भई भत्किएकाले त्यहाँ हाल केही वर्षपहिले कबीर पन्थी शैलीको मन्दिर निर्माण गरिएको छ । चारैतिर घनाजङ्गल र सुन्दर फूलबारीका बीचमा रहेको रामधुनी मन्दिरमा प्रत्येक वर्षको रामनवमी पर्वका दिन भव्य धार्मिक मेला लाग्ने गर्दछ । त्यसबाहेक विवाह पञ्चमी र बाला चतुर्दशीमा पनि यहाँ भक्तजनहरूको घुइँचो नै हुन्छ । त्यस्तै साउन महिनाको सोमबार बिहान पनि श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करीब १५ किलोमिटर उत्तरपश्चिममा रहेको यस स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फुलबारीका बीचमा धुनीस्थल रहेको छ । यस मन्दिरमा केही पुरातात्विक महत्त्वका वस्तु, सामाग्री र परम्परा रहेको देख्न पाइन्छ । जस्तै
०१ - अखण्ड धुनी - यहाँ अखण्ड धुनी हरहमेशा बलिरहने गर्दछ । यो धुनी नै यस मन्दिरको मुख्य आकर्षण हो । यो धुनी त्रेतायुगदेखि नै निरन्तर बलिरहेको छ भन्ने जनविश्वास छ । धरानको पिण्डेश्वर मन्दिरको भुवनेश्वरी थानमा रहेको अखण्ड बत्ती र रामधुनीमा रहेको धुनीको तादात्म्य सम्बन्ध रहेको छ भनी बुढापाकाहरूले बताउने गर्दछन् । भनिन्छ कथंकदाचित् रामधुनीको धुनी निभ्यो भने बाजागाजा र लावालस्करका साथमा पिण्डेश्वरको बत्तीको आगो ल्याई उक्त धुनी जगाउनु पर्दछ, त्यस्तै पिण्डेश्वरको दियो निभेमा त्यसरी नै रामधुनीको आगो ल्याई बत्ती बाल्नु पर्दछ । अहिले पनि रामधुनी पुग्ने भक्तहरूले प्रसादस्वरूप उक्त धुनीको भस्म (विगुत) को तिलक लगाउने र रक्षा हुन्छ भनी घरमा ल्याएर राख्ने गर्दछन् । रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पन्न विगुत लगाएमा चिताएको कुरा पूरा हुने जनविश्वास छ ।
०२ - खराउ र पाङ्ग्रो - रामधुनीमा वनबासको क्रममा सम्झनास्वरूप भगवान रामले छोडेको एकजोर खराउ र एउटा रथको पाङ्ग्रो पनि छ । कसैले उक्त रथको पाङ्ग्रोको सम्बन्ध महाभारतको कथाप्रसङ्गसित समेत रहेको भन्ने अर्को भनाइ पनि छ । १२ वर्षको वनवासको अन्त्यमा पाण्डवहरूले एक वर्षसम्म गुप्तवासमा बस्नु पर्ने थियो । यस क्रममा राजा विराटको दरवारमा आश्रय लिई उनीहरू छद्मवेषमा बसेका थिए । विराटको आश्रयमा जानुअघि पाण्डवहरूले अरुले सजिलै नचिनुन् भनी आफ्ना हातहतियार र शस्त्रास्त्र लुकाएका थिए । तिनै लुकाएका चिजबिजमध्ये पाण्डवहरूले प्रयोग गरेको रथको पाङ्ग्रो रामधुनीमा छुटेको थियो भन्नेहरू पनि प्रशस्तै भेटिन्छन् । तर उक्त रथको पाङ्ग्रोको कालीगढी र प्राचीनता विचार गर्दा यो त्यति पुरानोजस्तो देखिंदैन ।
०३ - वनस्खण्डी बाबाको आश्रम – नेपाल ऋषिमुनि र तान्त्रिकहरूको साधना स्थल हो । गोरखनाथ सम्प्रदायका औलिया बाबाको जीवनकाल आजभन्दा करिब तीन सय वर्ष पहिले हो भन्ने अनुमान गरिन्छ, उनकै शिष्य हुन्, बाबा वनस्खण्डी । गुरु मत्स्येन्द्रनाथ र गुरु गोरखनाथकै पदचिह्नका अनुयायी बाबा वनस्खण्डीले सुनसरी जिल्लामा अवस्थित चतराधाम, पिण्डेश्वर र रामधुनीमा साधना गरेको बताइन्छ । उनको तपस्थली चाहिं रामधुनीमा रहेको थियो । अहिले पनि गोरखनाथ सम्प्रदायकै साधु यस मन्दिरको महन्त हुने नियम छ । शाहवंशअघि पूर्वी नेपालमा सेनवंशी राजाहरूको शासनकाल थियो । रामधुनी, चतरा र विजयपुरको सम्बन्ध सेनवंशी राजासित रहेको ऐतिहासिक विवरण प्राप्त हुन्छ । त्यसैले औलिया बाबा आदि सेन राज्याश्रित साधु र तान्त्रिक थिए भन्ने विश्वास गरिन्छ । राज्यद्वारा प्रदत्त र स्थानीय भक्तहरूद्वारा प्राप्त करिब १००० बिगाहा जग्गा तिनै औलिया बाबाले जुटाएका थिए भन्ने भनाइ छ । यसका साथै चतरामा अहिले पनि औलिया बाबाको आश्रम रहेको देखिन्छ । त्यस आश्रमको पनि प्रशस्त जग्गा जमिन गुठीका रूपमा रहेको थियो । तर अहिले उक्त ऐतिहासिक आश्रम र त्यसको सम्पत्ति लोपप्रायः भइसकेको छ । प्राचीन हरिद्वार मानिने चतराधाममा पछिल्लो समयमा निकै मठमन्दिर र आश्रमहरूको निर्माण भएको पाइए पनि नेपाल राष्ट्रको पौराणिक र ऐतिहासिक वैशिष्ट्य बोकेको औलिया बाबाको मन्दिर (चतराधाम) र वनस्खण्डी बाबाको आश्रम (रामधुनी) को संरक्षण, संवर्द्धनका लागि साम्प्रदायिक प्रोपोगण्डामा विश्वास गर्ने अहिलेका साधुसन्तको ध्यान पुग्न नसक्नु विडम्बना नै मान्नु पर्दछ ।
०४ - स्वर्णसरित् नदी - रामधुनी नदी सुनसरी नदीको किनारमा अवस्थित छ । नेपालमा सुनसरी र भारत प्रवेश गरेपछि सुरसन्ड नाम भएको यो नदी नै पुराणहरूमा उल्लेख भएकी स्वर्णसरित् नदी हो । यस नदीको मुहान क्षेत्रको मुख्य तीर्थ रामधुनी, शिवजटा र पिण्डेश्वर धाम हुन् । सुन झैं अन्नउत्पादन हुने र स्वर्णसरितको सिञ्चन र प्रस्रवण क्षेत्रमा रहेको भूगोल भएकाले यस जिल्लाको नाम नै यसै नदीको नामद्वार संबोधित रहेको पाइन्छ । सुनसरी नदीका मुख्य भँगालाहरूमा सेउती, सर्दू आदि नदीहरू पर्दछन् । प्रस्रवण क्षेत्रको नजिकै विशाल नदी सप्तकोशी रहेपनि सुनसरी नदी करिब १५० किलोमिटर स्वतन्त्र ढंगले बगेर अन्त्यमा कोशीमा मिसिएको देखिन्छ । सुनसरी खोलाबाट पूर्वमा रहेका कुनै पनि खोलाखोल्सी र नदीहरू कोशीमा वा सुनसरीमा मिसिएको पाइँदैन । ती सबै दक्षिणपूर्वको बहाव बनाई बुढी, रतुवा, कन्काई र महानन्दासमेतको एउटै नदी बनेर सिधै गङ्गामा मिसिएको देखिन्छ ।
रामधुनीको दर्शन गर्न चाहने तीर्थयात्रीले नेपालको पूर्वपश्चिम राजमार्गको झुम्कामा ओर्लिएर स्थानीय ट्याक्सी, टेम्पो, सार्वजनिक बस र सिटीरिक्साको सहयोग लिई जानु पर्ने हुन्छ । झुम्काबाट करिब ११ किलोमिटर पश्चिममा रहेको रामधुनी चारकोसे झाडीको बीचमा रहेको तीर्थस्थल भएको हुँदा यहाँ बास बस्ने व्यवस्था छैन । सामान्य जलपान गर्ने पसलबाहेक होटल वा भोजनालयको पनि व्यवस्था छैन । अतः भक्तहरूले दर्शन गरी बास बस्न पुनः झुम्का वा नजिकको ठूलो बजार इटहरी, इनरूवा वा धरानसम्म पुग्नुपर्ने हुन्छ ।
हरेक वर्षको कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनलाई भीष्म पञ्चक भनिन्छ । यस पर्वमा सुनसरी जिल्लाको वराह क्षेत्र तीर्थमा पाँच दिनसम्म मेला लाग्दछ । सनातन धर्मका विभिन्न धर्मग्रन्थमा कार्तिक महिनामा पर्ने भीष्मपञ्चक व्रतको विशेष महत्त्व बताइएको छ । त्यसै पनि कार्तिक महिनाको सनातन धर्ममा ठूलो महत्त्व छ, अनि चान्द्रमानअनुसार यो अवधि कार्तिक महिनाको अन्तिम पाँच दिन हो, त्यसैले पनि महिनाभरि स्नानदानादि गर्न नसकेकाहरूले यस अवसरमा तीर्थस्नान गर्ने र दानादि गर्ने प्रावधान बनेको हो । यसै अवसरमा महाभारतका प्रमुखपात्र भीष्म पितामहले भगवान् श्रीकृष्ण र पाण्डवहरूलाई ज्ञान र उपदेश दिएको हुँदा यस पर्वको नाम भीष्मपञ्चक रहन गएको हो । स्कन्दपुराणको दोस्रो वैष्णव खण्डको कार्तिक माहात्म्यको ३३ औं अध्यायमा यस व्रतको महत्तालाई यसरी वर्णन गरिएको छ -
यसको अर्थ हो - महाभारतको युद्ध समाप्त भई पाण्डवहरूले विजय गरिसकेपछि भगवान् श्रीकृष्णले युधिष्ठिरादि पञ्चपाण्डवलाई शरशय्यामा सुतिरहेका भीष्म पितामहका समीपमा लिएर जानुभयो र भीष्मसँग राजधर्म, मोक्षधर्म र दानधर्मका बारेमा उपदेश गर्न आग्रह गर्नुभयो । इच्छामृत्युको वरदान प्राप्त गरेका भीष्म आफ्नो समुचित मरणका लागि उत्तरायणको प्रतीक्षा गरी शरशैय्यामा सुतेका थिए । श्रीकृष्णको अनुरोधपछि उनले कृष्णसमेत पाण्डवहरूलाई अर्ती दिए । यसरी भीष्मले ज्ञानप्रदान गरेको समय कार्तिक महिनाको एकादशीदेखि पूर्णिमासम्मको पाँच दिन परेको थियो । भीष्मबाट ज्ञान प्राप्त गरेपछि भगवान् श्रीकृष्णले प्रसन्नतापूर्वक भन्नुभयो - हे पितामह, हजुरले कार्तिक महिनाको एकादशीका दिन पानी खाने इच्छा गर्नुभयो । अर्जुनले हजुरलाई तृप्त तुल्याउन वाण हानेर गङ्गा उत्पन्न गरे, जुन गङ्गा मोक्षकारक कोशी नदीका नामले प्रख्यात भईन् । उक्त जलले घाइते अवस्थामा शरशैय्यामा सुत्नुभएका तपाईंको शरीरलाई तुष्टि मिल्यो । त्यसपछि लगातार पाँच दिनसम्म ज्ञान प्रदान गर्नुभयो, अतः यी दिन अत्यन्त पवित्र र मङ्गलकारी बनेका छन् । त्यसैले अबउपरान्त भविष्यमा यी दिनहरूलाई तपाईंकै नामद्वारा भीष्म पञ्चक भनी सम्बोधन गरिने छ । जसमा लोकले तपाईंलगायत आफ्ना मृतपितृहरूलाई तर्पण गरी निष्ठापूर्वक व्रतदानादि सम्पन्न गर्दछन्, तीबाट म सन्तुष्ट रहने छु ।
व्रतविधान
भीष्म पञ्चकको व्रतसम्पादन गर्न एउटा वेदी वा मण्डप तैयार गरी त्यसलाई गाईको गोबरले लिपपोत गरी वा नमिल्ने सिमेन्टले बनेको ठाउँ छ भने गङ्गाजलले पवित्र तुल्याउनु पर्दछ । मण्डपको बीच भागमा पीताम्बर कपडा ओछ्याएर त्यसमा तिल राखी तिलमाथि एउटा जलपूर्ण कलशस्थापना गर्नु पर्दछ । अनि कलशमाथि पञ्चपल्लव र त्यसमाथि अष्टदलयुक्त थालीमा शालिग्राम भगवान् वा भगवान् नारायणको प्रतिमा राखी विधिपूर्वक पूजादि गर्नु पर्दछ । यस व्रतको क्रम कार्तिक महिनाको शुक्लपक्षको एकादशी (हरिबोधिनी वा ठूली एकादशी) बाट प्रारम्भ हुन्छ र निरन्तर पाँचदिनसम्म यसरी नै पूजासम्पन्न गर्नु पर्दछ । यस क्रममा सुरुमा बालिएको दियो अखण्ड बलिरहनु पर्दछ । व्रतान्तमा पूर्णिमाका दिन गङ्गापुत्र भीष्म र आफ्ना पितृहरूको तृप्तिका निमित्त तर्पणादि गरी ब्राह्मण, गरीवगुरुवा र साधुसन्तलाई भोजन, वस्त्र, दक्षिणादि समर्पण गरी यज्ञ गरी व्रत समापन गर्नुपर्दछ ।
भीष्म पञ्चकको महत्त्व
भीष्म पञ्चक व्रत अत्यन्त मङ्गलकारी र पुण्यदायी व्रत मानिन्छ । जसले यस व्रतको निष्ठापूर्वक व्रत गर्दछ, उसले मृत्युपछि उत्तम गति प्राप्त गर्दछ । यस व्रतले जन्मजन्मान्तरदेखि सञ्चित समस्त ज्ञातअज्ञात पापराशिको अन्त्य हुन्छ, साथै भगवान् श्रीकृष्ण र पितृहरूको आशीर्वादले मानसिक विचलन, दीर्घरोग र आर्थिक विपन्नतामा रहेका व्यक्तिले सदैव स्वस्थ, प्रसन्न र सम्पन्न रहने अनुकूलता प्राप्त गर्दछ ।
भीष्मपञ्चकमा वराहक्षेत्र मेला
कार्तिक शुक्लपक्षको ठूली एकादशीदेखि पूर्णिमासम्मको यिनै पाँच दिनमा नेपालको पूर्वी भागमा रहेको सप्तकोशी र कोका नदीको सङ्गममा रहेको पवित्र तीर्थस्थलमा भव्य मेला लाग्ने गर्दछ । वराह क्षेत्र कोसी अञ्चलको सुनसरी जिल्लामा रहेको प्राचीन र महत्त्वपूर्ण तीर्थस्थल हो । मनोरम र रमणीय दृश्यद्वारा सुशोभित पवित्र तीर्थस्थल वराह क्षेत्रमा गणेश वराह‚ गुरु वराह‚ सूर्य वराह‚ कोका वराह‚ इन्द्र वराहका मन्दिर तथा लक्ष्मीको मन्दिर लगायत जम्मा ९ वटा मन्दिर र धर्मशालाहरू रहेका छन् । कोका नदीको सङ्गममा श्राद्ध गर्दा पितृहरूको उद्धार हुनुका साथै श्राद्धकर्ताको सांसारिक जीवन सुखमय भई मोक्ष प्राप्त हुने तथा उसका अघिपछिका कुल र वंशजको समेत मुक्ति प्राप्त हुने प्रसङ्ग वराह पुराणमा उल्लेख गरिएको छ । कोसी नदीको शास्त्रीय नाम कौशिकी हो र गङ्गामा गएर मिसिने नदीहरूमध्ये हिमालयदेखिकै जलराशि समेटेर समाहित हुने अन्तिम नदीका रूपमा यस नदीलार्इ लिइन्छ, त्यसैले आफ्ना मृत आफन्तको अस्थिसञ्चय गरी यहाँ जलप्रवाहित गरेगराएमा मृतकले मोक्ष प्राप्त गर्ने जनविश्वास रही आएको छ । त्यसैले यस ठाउँमा अस्थि विसर्जन गर्ने तथा श्राद्ध गर्ने गरिन्छ । महाभारत, विभिन्न पुराणहरू र संस्कृत काव्यमा वराहक्षेत्रको मुक्तकण्ठले महिमा गायन गरिएको छ र सप्तकोसीमा कोकाहा नदीको सङ्गम भएको यो देवस्थलमा परापूर्वदेखि श्रद्धाभक्ति र पूजाआजा हुँदै आएको छ । कौशिक गोत्रका राजर्षि विश्वामित्रको तपोभूमि मानिएको यस ठाउँमा बहने कौशिकी नदी विश्वामित्रकै बहिनी भएको धार्मिक आख्यान छ । दुर्गासप्तशती चण्डीमा भगवती दुर्गाको शरीरको कोशबाट कौशिकी नदी उत्पत्ति भएको प्रसङ्ग छ ।
भगवान् विष्णुको दशावतारमध्ये तेस्रो अवतारका रूपमा वराह (शूकर) को अवतारलाई लिइन्छ । वराहपुराणमा कोका नदी र वराहक्षेत्रको राम्रो वर्णन पाइन्छ -
वराहक्षेत्रमा प्रत्येक वर्षको कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीदेखि पूर्णिमासम्म र पौष कृष्ण प्रतिपदा, पौषे औंसी, माघेसङ्क्रान्ति आदिमा मेला लाग्ने गर्दछ । जहिले पनि तीर्थयात्री र दर्शनार्थीको आकर्षणका रूपमा रहेको यस तीर्थमा सङ्क्रान्ति, एकादशी, औंसी, पूर्णिमा र अन्य धार्मिक महत्त्वका दिनहरूमा यात्रुहरूको घुइँचो लाग्ने गर्दछ । यहाँ नेपाल, भारत, भूटान र अन्य ठाउँबाट पनि तीर्थाटनमा श्रद्धालुहरू आउने गर्दछन् ।
वराहक्षेत्रमा उत्तरबाट दक्षिणतर्फ कोसी नदीको वहाव रहेको छ । यस ठाउँको पूर्वतर्फ डाँडामा पवित्र तीर्थस्थल विष्णुपादुका र हालको उदयपुर जिल्लामा पर्ने पश्चिमको डाँडामा चौदण्डीकोट भन्ने ठाउँ रहेको छ । चौदण्डीकोटमा शाहवंशभन्दा पहिले नेपालमा शासन गर्ने सेनवंशी राजाहरूको ऐतिहासिक गढी रहेको छ । वराह क्षेत्र जाने तीर्थयात्रीले पूर्वपश्चिम राजमार्गको रामधुनी भासि (झुम्का) मा ओर्लिएर उत्तरतर्फ करिब २२ किलोमिटर यात्रा गरी जानुपर्ने हुन्छ । पूर्वपश्चिम राजमार्गको इटहरी र झुम्काबाट अथवा कोसी राजमार्गको धरानबाट वराहक्षेत्र जाने सवारी साधनहरू उपलब्ध हुन्छन् । यहाँ बस्न ठूलाठूला होटल र लज नभए पनि धर्मशालाको राम्रो व्यवस्था छ ।
राणाकालमा एउटा महत्तवपूर्ण मौजा अर्थात् प्रशासनिक एकाइका रूपमा रहेको चाँदवेलामा एउटा पुरानो काली मन्दिर छ । हरेक वर्षको बडा दशैंको अष्टमी र नवमीका दिन यहाँ ठूलो संख्यामा बली चढाइन्छ, जुन सम्भवतः पूर्वाञ्चलमा एकै दिनमा ठूलो संख्यामा बली दिइने पहिलो मन्दिर हो । आउनुहवस् चाँदवेला गाउँमा रहेको महिषमर्दिनी कालिका मन्दिर र यस वरपरको देवालय र सांस्कृतिक पोखरीका बारेमा थाहा पाऔं ।