Showing posts with label श्राद्ध. Show all posts
Showing posts with label श्राद्ध. Show all posts

Oct 8, 2017

कुण्डलीमा पितृदोष र यसको निवारण

वर्तमान नयाँ पुस्ताले आफूलाई आधुनिक, सभ्य र शिक्षित ठानेको हुन्छ । तर विडम्बना मान्नुपर्दछ, तिनको र अध्यात्मको सम्बन्ध निरन्तर टाढिंदै गएको पाइन्छ । यसको मुख्य कारण हो - नयाँ युगका मानिसहरू धर्म, अध्यात्म र संस्कारसम्बद्ध हरेक विषयवस्तुलाई विज्ञानको प्रामाणिक कसीमा दाँज्न चाहन्छन्, आफैंद्वारा दृष्ट, अनुभूत र परीक्षित कुरामा मात्र उनीहरू विश्वास गर्ने गर्दछन्, जुन तथ्य र प्रमाणमा आधारित हुन्छ । यो नकारात्मक पक्ष होइन, तर कहिलेकाहीं केही घटना र परिस्थिति यसरी घटित हुन्छन्, जसको स्रोत र कारण पहिल्याउन विज्ञानलाई समेत धौधौ पर्दछ । वास्तवमा ती घटनाहरू दृष्ट र प्रामाणिक हुँदैनन्, तिनलाई कुनै व्यक्तिविशेषले केवल अनुभूति र भावनाका आधारमा व्याख्या गरिरहेका हुन्छन् । अध्यात्म र फलित ज्योतिषको सम्बन्ध तिनै अनुभूति र भावसँग जोडिएको हुन्छ । गणित र तथ्यमा आधारित भएको हुँदा ज्योतिष विज्ञान नै हो तर कतिपयले यसको फलादेश पक्ष भाव र अनुभूतिमा निहित व्याख्या हो भनेर केवल अन्धविश्वासमात्र हो भन्दछन् । विश्वास वा अन्धविश्वास जे भए पनि आज यस आलेखमा ज्योतिष विद्यामा चर्चा गरिने पितृदोषको प्रसङ्ग कोट्याउने प्रयास गरिनेछ, जुन दोषले कुण्डलीमा भएको राम्रा र शुभ योगलाई पनि प्रभावित तुल्याउने गर्दछ भन्ने मान्यता छ ।

के हो पितृदोष ?

सामान्यतया जुनसुकै कुण्डलीमा सूर्य र राहु वा केतुको मिलन भएको अवस्थालाई पितृदोष भन्ने गरिन्छ । पितृ दोषका कारण जातकले जीवनयापनका क्रममा अतीव कष्ट र पीडा व्यहोर्नु पर्दछ । उदाहरणका लागि विवाहमा विलम्ब, वैवाहिक जीवनमा कलह, बन्नै लागेको काम बिग्रनु, अन्तिम घडीमा परीक्षा र प्रतिस्पर्धामा असफल हुनु, जाँड, रक्सी आदि कुलतमा फँस्नु, पेसा वा व्यवसायमा अचानक फेरबदल हुनु, गरिआएको कामधन्दा वा नोकरी छुट्नु, गर्भधारणमा समस्या देखिनु, गर्भपात हुनु, सुस्त मनस्थिति र दुर्बल बच्चाको जन्महुनु, जन्मिएका बालबच्चाको अकालमा मृत्यु हुनु, व्यक्तिको निर्णयात्मक क्षमतामा कमी आउनु, चिडचिडेपना, रिस, आवेग र क्रोधको मात्रा बढी हुनु आदि पितृदोषका दुष्प्रभाव हुन् ।

जन्मकुण्डलीमा सूर्यलाई पिताको र चन्द्रमालाई माताको नैसर्गिक कारक ग्रह मान्ने गरिन्छ । सूर्य बसेको घर वा सूर्यबाट नवौं भावको घरबाट पिता, पैतृक सम्पत्ति, बावुछोराको सम्बन्ध आदिका बारेमा तथा चन्द्रमा वा चन्द्रमाको चौथो भावबाट माता, मातृसुख, आमाछोराको सम्बन्ध आदिका बारेमा चर्चा गर्ने ज्योतिषीय विधान छ । त्यसबाहेक ज्योतिष विद्यामा सूर्य र मङ्गललाई रगत र रक्तसम्बन्धको कारकसमेत मानिन्छ । जब कसैको जन्मकुण्डलीमा यी दुईवटा महत्त्वपूर्ण ग्रह पापी वा अरिष्ट ग्रहका साथमा वा अशुभ भावमा बसेको अवस्था हुन्छ, त्यस्तो जातक पितृदोषको कुनै न कुनै परिबन्दमा फँसेको हुन्छ । लग्न, पञ्चम भाव र नवम भावको स्वामी ग्रह पनि व्यक्तिको व्यक्तित्वविकास र उन्नतिप्रगतिमा सहयोगी ग्रह मानिन्छन् । यिनैमध्ये कुनै ग्रहको परिवेश पनि त्यस्तै छ भने आंशिक रूपमा पितृदोष नै मान्ने गरिन्छ । यसलाई अझ स्पष्टसँग बुझ्न देहायको अवस्था विचार गर्दा हुन्छ :-

१) सूर्य र राहु वा केतुको मिलन (पूर्ण पितृदोष)
२) सूर्य, चन्द्रमा वा लग्नेशको त्रिकस्थान (६, ८, १२) मा उपस्थिति (आंशिक पितृदोष)
२) लग्नेश र राहु वा केतुको मिलन (व्यक्तित्वबाधक आंशिक पितृदोष)
३) पञ्चमेश र राहु वा केतुको मिलन (सन्तानबाधक आंशिक पितृदोष)
४) भाग्येश र राहु वा केतुको मिलन (भाग्यबाधक आंशिक पितृदोष)
५) सूर्य र शनिको एकआपसमा पूर्णदृष्टि वा मिलन (पदच्युत योग, पूर्ण पितृदोष)
६) मङ्गल र शनिको एकआपसमा पूर्णदृष्टि वा मिलन (मान्दी योग, आंशिक पितृदोष)
७) मङ्गल र राहु वा केतुको एकआपसमा पूर्णदृष्टि वा मिलन ( अङ्गारक योग, आंशिक पितृदोष)
८) चन्द्रमा र राहु वा केतुको मिलन (मातृदोष, आंशिक पितृदोष)


किन सिर्जना हुन्छ, पितृदोष ?

जब परिवारमा कुनै पूर्वजको असमयमा वा अकालमा मृत्यु हुन्छ, मृत्युपछि उसको विधिविधानले अन्तिम संस्कार सम्पन्न हुन सक्दैन, अथवा जीवित अवस्थामा उसले गरेका कुनै भाकल वा इच्छा पूर्ण हुन सकेनन् भने त्यस्ता मृतकको आत्मा उसको बसोबास भएको घर वा वंशजका बीचमा भौंतारिने गर्दछ । त्यसरी भौंतारिएका मृत पूर्वजहरूको अतृप्त आत्माले परिवारका सदस्यहरूलाई कष्टप्रदान गरी आफ्नो इच्छा पूर्ण गर्न दबाब दिइरहेको हुन्छ । एकातिर यो प्रकरण व्यक्ति स्वयंले निद्रा, तन्द्रा, सपना वा अन्य कुनै प्रकारले थाहा पाएको स्थिति पनि हुन्छ भने कतिपयको जन्मकुण्डलीमा पितृदोषका रूपमा स्पष्टतः देखिने पनि गर्दछ ।

शास्त्रमा पुंनाम्नो नरकाद् यस्मात् त्रायते पितरं सुतः । तस्मात्पुत्र इति प्रोक्तः स्वयमेव स्वयंभुवा ।। (पुन्नाम नरकबाट पितालाई बचाउने नै पुत्र हो) भनिएको छ । त्यसैले सन्तानरहित व्यक्तिको आत्माले तृप्ति पाउँदैन भनिएको हो । हुन त हिजोआज छोरो नहुँदा पनि छोरीका माध्यमबाट अन्तिम संस्कार सम्पन्न हुने गरेको देखिन्छ । तर शास्त्रमा छोराबाट भएको काजक्रियाबाट मात्र मृतात्माहरू मुक्त हुने बताइएको छ । जसको अन्तिम संस्कार विधिवत् सम्पन्न भएको हुँदैन, त्यसका कुलमा छोराको अभाव, भए पनि शारीरिक, मानसिक वा बौद्धिक रूपमा कमजोर, अशक्त वा विवश छोरोको मात्र सम्भावना हुन्छ । कुनै व्यक्तिले पिताको हत्या गर्दछ, उनलाई अपमान गर्दछ वा कुनै किसिमले मानसिक तनावमा राख्ने प्रयास गर्दछ अथवा पिताको आत्मसम्मानमा ठेस पुग्ने कुनै क्रियाकलापमा संलग्न हुन्छ भने उसले छोराछोरीको सुखबाट वञ्चित हुनुपर्दछ । मरणपछि सन्ततिले गरेका और्ध्वदैहिक क्रियाकर्म र एकोद्दिष्टादि वार्षिक श्राद्धका कारण पितृहरूको मुक्ति हुन्छ भन्ने हाम्रो धार्मिक र सामाजिक मान्यता छ । तर त्यसरी मृतकले मुक्ति प्राप्त गर्न सकेनन् भने तिनको आत्मा अतृप्त रहने गर्दछ । अतः कसैको परिवारमा आफ्ना कुनै पूर्वजको अतृप्त आत्माको कारण बनेर उसको कुण्डलीमा पितृदोष उपस्थित भएको देखिन्छ ।

पितृदोष भएमा के हुन्छ त ?

कुनै जातकको कुण्डलीमा पितृदोष देखिएको छ भने उसले तलका सबै वा कुनै समस्या व्यहोरिरहनु पर्ने परिस्थिति देख्न पाइन्छ :-

१. घरमा नित्यप्रति विवाद, झैझगडा र कलह भइरहन्छ ।
२. सामान्य धनार्जन गर्न पनि अत्यन्त मिहिनेत र कडा परिश्रम गर्नुपर्दछ, तर परिस्थिति र बाध्यताका परिबन्दमा कमाएको धन तुरुन्त नाश हुने गर्दछ ।
३. घरका सदस्यहरू भेला भएका वेला नानाभाँतीका तर्क र कुतर्कमा समय बिताउँदछन्, तर दूरी बढेपछि सामान्य जीवनयापन गर्न थाल्दछन् ।
४. सबै चिज ठिकठाक हुँदाहुँदै पनि परिणाम सन्तोषजनक देखिंदैन, कतिसम्म भने यस्तो परिस्थितिमा जातकले मेरो भाग्य र नियति नै विपरीत छ भन्ने सोच्न थाल्दछ ।
५. रोजगारी वा व्यवसायमा अनेकानेक बाधाव्यवधान सिर्जना भइरहन्छ । उन्नतिप्रगति, बढुवा, स्थायित्व आदिमा किसिमकिसिमका समस्याहरू देखिइरहन्छन् ।
६. हुनै लागेको कतिपय काम अन्तिम घडीमा बिग्रिरहन्छ । जस्तै मिहिनेत र परिश्रम गरे पनि जतिसुकै सचेत र सावधान भए पनि कुनै पनि काम विनाअवरोध सम्पन्न हुँदैन । कहिलेकाहीं परिकल्पना गरेभन्दा पनि फरक बाधा र व्यवधान सिर्जना भएको देखिन्छ ।
७. परिवारमा कुनै न कुनै सदस्य रोगव्याधिको चपेटामा परिरहन्छन्, बोटबिरुवा र तुलफूलले समेत झाँगिन पाउँदैनन्, घरमा पालेका पशु वा पन्छीको वंशवृद्धिमा पनि समस्या देखिन्छ । छाना वा भित्तामा पिपल वा अन्य बिरुवाहरू उम्रन थाल्दछन् ।
९. आफ्नो योग्यता र क्षमतामुताबिकको नोकरी पाउँदैन, उचित समयमा बढुवा वा ग्रेडिङमा समस्या देखिन्छ । जीवनको अधिकांश समय हातमुख जोर्नका लागि मात्र खर्चनु पर्ने परिस्थिति देखिन्छ । आफूले सम्पत्ति जोड्नु त कता हो कता ? बरु भौतिक सम्पत्ति घट्दै जान्छ ।


माथि बताइएका यी समस्या पितृदोषका साझा समस्या हुन् । तपाईंलाई ज्योतिषमा विश्वास छैन, तर माथि बताइएका समस्याहरूमध्ये अधिकांश समस्या तपाईंको जीवनमा भोग्नु परिरहेको छ भने तपाईंले तलका उपायहरू अवलम्बन गर्नु अनिवार्य छ ।

पितृदोषको निवारण

पितृदोषलाई न्यूनीकरण वा निवारण गर्ने सरल उपायहरू छन्, तर वर्तमान पुस्ताका मानिसहरूको व्यस्त जीवनचर्या, भौतिक जगतका सुखसुविधा र विलासिताप्रतिको मोह, श्रद्धा, निष्ठा, समर्पणभाव, आस्था र आध्यात्मिक लगावमा कमी हुनाले यी उपायको अवलम्बन गरी आफूले व्यहोरिरहेका यी समस्याहरू जरैदेखि उखेलेर फ्याल्ने सामर्थ्यमा चाहिं कमी आएको देख्न सकिन्छ ।


१. नित्यतर्पण - प्रत्येक दिन बिहान स्नानादिबाट निवृत्त भएपछि आफ्ना मृतपितृको नामोच्चारणका साथमा दक्षिण फर्किएर ३/३ अञ्जुली जल अर्पण गर्नु पर्दछ ।
२. क्षमायाचना - अभिभावक वा अभिभावकतुल्य व्यक्तिहरूको जानी वा नजानी अपमान गर्नु हुँदैन । यदि कसैलाई जानी वा नजानी अपमान गरिएको छ वा उनको आत्मसम्मानमा ठेस पुर्याउने काम भएको छ भने तिनीसँग क्षमायाचना गर्नु राम्रो हुन्छ । निजको मृत्यु भइसकेको छ भने नित्यतर्पण गरेपछि सूर्यतर्फ फर्किएर मैले जानी/नजानी गरेका अपराधप्रति क्षमापाऊँ भनी क्षमायाचना गर्नु पर्दछ । पितृहरूसँग क्षमा माग्दा कुण्डलीमा रहेको बृहस्पति ग्रह बलियो हुन्छ, जसले सामाजिक सम्मान, वंशबृद्धि र निर्णयक्षमतामा सकारात्मक फल प्रदान गर्दछ ।
३. आफूलाई मन्त्र दिने, ज्ञान दिने वा उचित मार्गदर्शन गर्ने गुरुतुल्य व्यक्तिलाई दिनैपिच्छे प्रातःकालमा प्रणामादि वन्दना गर्ने अभ्यास गरेमा पनि पितृदोष शान्त हुन्छ । गुरुतुल्य कुनै पनि व्यक्तिसित सम्बन्ध बिगार्नु हुँदैन ।
४. कुनै धार्मिक वा परोपकारी काममा दिएको वा दान गरेको धनको सार्वजनिक उद्घोष गराउनु हुँदैन, त्यसैले यस्तो दोष भएका व्यक्तिले गुप्तदान गर्नु पर्दछ । तर अयोग्य र अनुचित ठाउँमा दान गर्नु पनि हुँदैन ।
५. पुरानो मन्दिर, कुलप्रतिष्ठान वा सामाजिक संस्थाको जीर्णोद्धार गराउनु वा जीर्णोद्धार गर्ने क्रममा सकेको सहयोग गर्नु पर्दछ । त्यस्तै कुनै देवीदेउताको मन्दिरमा इच्छा पूरा भएन भनेर जान वा दर्शन गर्न छाड्नु भएको छ भने पुनः त्यहाँ दर्शन गर्ने जाने अभ्यास गर्नुपर्दछ ।
६. प्रत्येक पक्षमा पर्ने एकादशी र द्वादशी तिथिका दिन पितृहरूको सम्झना गरी गरीवगुरुवा वा ब्राह्मणलाई भोजन, सीधा र दक्षिणादि प्रदान गर्नुपर्दछ ।
७. प्रत्येक महिनामा पर्ने औंसीका दिन हविष्यान्न भोजन गर्ने, बेलुकाको छाक बार्ने (निशि बार्ने), पितृहरूको तर्पणादि गर्ने गर्नु राम्रो हुन्छ । अरु वेला यो कर्म गर्न सकिएन भने पनि पितृपक्षमा पर्ने अमावस्या (जमरे औंसी) मा अवश्य गर्नुपर्दछ ।
८. सार्वजनिक स्थानमा पीपल वा केराको बोट रोप्ने, नित्यपूजा गर्ने र तिनको प्रतिष्ठा गरिदिने गरेमा पनि पितृदोष निवारण हुन्छ । बिहानको भोजनकालमा गाई, कुकुर, काग आदिलाई भोजनादि (गोग्रास) प्रदान गर्नुपर्दछ । अस्पताल वा बृद्धाश्रममा रहेका अशक्त र कुष्ठादि दीर्घरोगबाट थलिएका रोगीहरूको सेवा गर्नुपर्दछ । परिवारका महिलाहरूको सम्मान गर्नुपर्दछ ।
९. प्रत्येक पक्षको त्रयोदशीका दिन पर्ने प्रदोषको व्रत लिने, शिवजीको पूजाआजा गर्ने र पितृहरूसँग क्षमायाचना गर्ने बानी बसाल्नु पर्दछ ।
१०. दिनैपिच्छे फुर्सद र सामर्थ्यअनुसार श्रीमद्भागवतको एकादश स्कन्ध, गीताको नवौं अध्याय वा महाभारतको शान्तिपर्वको मूल संस्कृत पाठ नियमित रूपमा गरेमा पनि पितृदोषको निवारण हुन्छ ।
११. पितृदोष निवारणका लागि जीवनमा एक पटक द्वादश ज्योतिर्लिङ्गमध्ये एक त्र्यम्बकेश्वर (महाराष्ट्र, भारत) मा गई वा नजिकै कुनै तीर्थस्थल विष्णुपादुका, कोकाकोसी सङ्गम, गोकर्ण, देवघाट, त्रिवेणी, मुक्तिक्षेत्र, वेत्रावती आदि तीर्थस्थलमा त्रिपिण्डी श्राद्ध सम्पादन गरेमा पनि पितृदोषको निवारण गर्न सकिन्छ ।

Oct 6, 2017

सोह्रश्राद्धको सेमीफाइनल, चतुर्दशी श्राद्ध : अकालमरण भएकाहरूको श्राद्ध (Chaturdashi Shraddha)


अन्य पुराण र धर्मग्रन्थमा बाहेक गरुड पुराणमा मनुष्यको मरणोपरान्तको गति र प्रेतत्वको व्याख्यान विशद रूपमा गरिएको पाइन्छ । १८ वटा पुराणहरूमध्ये विष्णुतत्त्वको विवेचनालाई महत्त्व दिइएको गरुड पुराणलाई वैष्णव पुराण मान्ने गरिन्छ । सनातन धर्ममा मृत्युपछि सद्गति प्रदान गर्ने उपाय र महिमाको विशद वर्णन भएको यस पुराणको मृत्युपछि दशगात्र कर्म समापन गर्ने सिलसिलामा ढिकुरो उठाएपछि नफुटाउन्जेलको समयावधिभित्र अनुकूल मिलाई आशौच बारेर बसेका सन्तति र परिवारजनले श्रवण गर्ने गर्दछन् । तर त्यसरी सुनाइएको गरुड पुराण वास्तवमा समग्र पुराण होइन, त्यो त गरुड पुराणको एउटा भाग प्रेत कल्प मात्र हो । गरुड महर्षि कश्यप र उनकी पत्नी विनीताका पुत्र हुन्, उनी भगवान् विष्णुका वाहन पनि हुन् । एक पटक गरुडले भगवान् विष्णुसित मृत्युपछि प्राणीको के स्थिति हुन्छ, जीवको यमलोक-यात्रा कसरी हुन्छ, सांसारिक जीवनमा मनुष्यले गरेका विभिन्न कर्मको फल के पाइन्छ र कुनकुन कुकर्मका कारण के कस्ता नरकको यातना सहनु पर्छ जस्ता नरक, योनि र पापीजनको दुर्गतिसम्बद्ध अनेकानेक गोपनीय र रहस्यपूर्ण सोधेपछि विष्णुले उनको जिज्ञासा शमन गर्दै जुन ज्ञान र भक्तिमय उपदेश प्रदान गर्नु भएको थियो, त्यसैको लिपिबद्ध ग्रन्थ गरुड पुराण हो । भगवान् विष्णुद्वारा प्रतिपादित ज्ञानको सङ्ग्रह भएकाले यस पुराणलाई गारुडी विद्या पनि भन्ने गरिन्छ । यस पुराणको ज्ञान सर्वप्रथम ब्रह्माजीले महर्षि वेद व्यासलाई, त्यसपछि व्यासले आफ्ना शिष्य सूतजीलाई र सूतजीले नैमिषारण्यमा शौनकादि ऋषि-मुनिलाई दिइएको बताइन्छ ।

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च ।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि 

जन्मिएका समस्त चराचर प्राणिको मृत्यु निश्चित छ र मृत्युपछि पनि तिनले पुनर्जन्म लिनुपर्दछ । त्यसैले आफूले नगरी नहुने कामका निमित्त तिमीले शोक गर्नु हुँदैन भनी श्रीमद्भगवद्गीतामा कृष्णले अर्जुनलाई सम्झाउँदै माथिको श्लोक उल्लेख भएको हो । सनातन धर्मको मान्यता अनुसार मनुष्यले आफ्नो कर्मका आधारमा जन्मिनु पर्दछ र एउटा कर्म समाप्त भएपछि उसले मर्नु पर्दछ अनि पुनः अर्को जन्मका लागि तैयार हुनु पर्दछ । आत्मा कहिल्यै मर्दैन । उक्त प्रसङ्गमा भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ - नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः॥ ( यस आत्मालाई न त कहिल्यै कुनै हतियारले टुक्र्याउन सकिन्छ, न त आगोले नै डढाउन सक्छ, न त पानीले नै भिजाउन सक्छ, न हावाले सुकाउन सक्दछ ।) । शाश्वत र सनातन रूपमा रहेका भिन्न भिन्न अणुहरू आत्मा भएकाले यिनको कुनै योनिमा जन्म भएपछि यी मायाद्वारा ढाकिने गर्दछन् । मायाको पर्दाभित्र रहने भएकाले यी भगवानको सङ्गतिबाट अलग्ग हुन पुग्दछन् । जस्तै आगो र आगोको झिल्कोमा समान गुण भए पनि आगाबाट झिल्को अलग्ग हुनासाथ निभिहाल्छ । त्यसरी नै सांसारिक चक्रमा आएको जीवले चेतनाबाट विमुख भई आफ्नो छुट्टै जीवन र कर्मको भोग गर्दछ भन्ने सनातन दर्शनको आम मान्यता रहेको पाइन्छ । प्रत्येक जीवको शरीरभित्र रहेको आत्माले शरीर त्यागेपछि जीवलाई मृत ठानिन्छ । त्यही शरीरको मृतअवस्था हुने  समयलाई मृत्यु भन्ने गरिन्छ, जुन अपरिहार्य छ ।

जीवनपछि मृत्यु हुनु अटल सत्य हो, मृत्युलाई जितेर मृत्युञ्जय बन्न सकेको कुनै उदाहरण भेटिंदैन । यो निर्विकल्प सत्यलाई सबैले बुझेको छ, तथापि मृत्युको नाम सुन्नासाथ सबै एक पटक गम्भीर हुने गर्दछन् । कहिले, कसरी, कहाँ र के कारणले व्यक्तिको मृत्यु हुन्छ भन्ने आकलन कसैले गर्न सक्दैन । कतिपय मानिस दीर्घायु हुन्छन्, पूरै शताब्दीसम्म बाँचेका मानिस पनि कति छन् कति ! तर कतिपय व्यक्तिहरूको भने उमेर नपुगी असमयमा नै मृत्यु हुन्छ । अल्पायुष्य भएका त्यस्ता मनुष्यको मृत्यु असाधारण तरिकाले र सोच्दै नसोचेको परिस्थितिमा हुने गर्दछ । कोही लडेर मर्दछन्, कसैलाई खोलाले बगाउँछ, कोही आत्महत्या गर्दछन्, अनि कोही दुर्घटनामा कालको ग्रास बन्ने गर्दछन् । यसरी असमयमा नै मृत्युको मुखमा पुग्नु पर्ने परिस्थितिलाई नै अकाल मरण भन्ने गरिन्छ । अनि त्यसरी अकालमा नै मरेका व्यक्तिको मरणोपरान्तको वस्तुस्थिति दुर्गतिमय हुन्छ भन्ने चलन पनि छ ।

कुण्डलीमा अकाल मृत्यु

ज्योतिषशास्त्रले जन्मकुण्डलीको विश्लेषण गरी व्यक्तिको आयु पक्षको विवेचना गरेको पाइन्छ । आयुको टुङ्गो गर्ने सूत्रमा एकरूपता छैन, त्यसैले ठोकुवा नै गरी मान्छे यति बाँच्छ भनी निर्क्यौल गर्ने प्रष्ट आधार छैन । मृत्यु नै नभए पनि ती ज्योतिषीय सूत्रले तपाईंलाई मृत्युतुल्य कष्ट भने प्रदान गरेको देखिन्छ । लापरबाही गर्दा त दीर्घायु मानिएकाहरूकै पनि ज्यान गएको उदाहरण प्रशस्त भेटिन्छ, त्यसैले आयुकै प्रश्न आएपछि त्यस्ता अनिष्टकारी योगप्रति सबैले सचेत हुनै पर्छ । कतै तपाईंको कुण्डलीमा अकाल मृत्युको योग त छैन ? कसरी अकालमा ज्यान जान सक्छ ? भनी ज्योतिषशास्त्रले निर्धारण गरेका केही सूत्रहरू यस प्रकार छन् :-

१ - जन्मकुण्डलीको लग्नको स्वामित्व भएको ग्रह र मङ्गल ग्रह कुण्डलीको छैंटौं, आठौं वा बाह्रौं भावमा सँगसँगै हुँदा अस्त्रशस्त्रको भय हुन्छ । यो अवस्था शनि र मङ्गल ग्रह छैंटौं, आठौं र बाह्रौं भावमा बसेमा पनि सिर्जना हुन्छ । जुनसुकै भावमा लग्नेश र मङ्गल वा शनि र मङ्गल सँगै बसेको छ र हिजोआज गोचरमा पनि शनि र मङ्गलको युति छ भने दुर्घटना वा अग्निप्रकोपमा परिन्छ कि भनी डराउनु पर्दछ ।

२ - यदि तपाईंको कुण्डलीको दोस्रो, सातौं वा आठौं भावमा मङ्गल ग्रह बसेको छ र त्यसमा सूर्यको पूर्ण दृष्टि छ भने तपाईंले पटकपटक अग्निप्रकोपको सामना गर्नु पर्ने हुन्छ ।

३ - जन्मकुण्डलीको लग्न, दोस्रो भाव र बाह्रौं भावमा सूर्य, मङ्गल, शनि, राहु वा केतु एक्लै बसेको छ भने र त्यसको बाह्रौं वा दोस्रो भावमा पनि कुनै ग्रह विद्यमान छैनन् भने व्यक्ति अल्पायुष्य हुन्छ । यिनको मृत्यु शत्रुका कारणले हुने सम्भावना हुन्छ ।

४ - नवमांश कुण्डलीको दसौं भावको स्वामी र राहु वा केतुको युतिसम्बन्ध लग्नकुण्डलीमा रहेको अवस्था छ भने त्यस्तो जातकको अस्वाभाविक मृत्यु हुन्छ ।

५ - कुनै जातकको कुण्डलीमा लग्नमा मङ्गल ग्रह छ र त्यसमाथि शनि वा सूर्यको वा दुबैको पूर्णदृष्टि छ भने त्यस्तो जातकको उच्च रक्तचाप वा दुर्घटनाका कारण आकस्मिक मृत्यु हुने गर्दछ ।

६ - राहु र मङ्गलको युतिसम्बन्ध वा दुबैले समसप्तक भई बसेको अवस्थामा पनि दुर्घटनाको कारकत्व सिर्जना हुन्छ ।

७ - छैटौं भावको मालिक पाप ग्रहले युक्त भई छैंटौं वा अष्टम भावमा बसेको छ भने पनि दुर्घटनाको कारक बन्दछ ।

८ - लग्नको मालिक कमजोर छ र राशिकुण्डलीमा चन्द्रमा र शनि, राहु वा केतुको केन्द्रीय सम्बन्ध बन्दछ भने सम्बद्ध ग्रह (लग्नेश, चन्द्रमा, शनि, राहु वा केतु) को महादशामा जातकको मनमा आत्महत्याका विचार मँडारिने सम्भावना बन्दछ । सामान्यतया ती जातकहरूमध्ये मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मीन लग्नका रहेछन् भने शनिको महादशामा त्यस्तो विचार आउने सम्भावना हुन्छ भने अन्य लग्नमा चन्द्रमाको समयमा ।

अल्पायु योगको निवारण

माथिका प्रकरणहरूले आयु छोट्याउने सम्भावना हुन्छ, तर यी अवस्था भएका सबैको अल्पायुमा नै मृत्यु हुन्छ भन्ने निश्चित नियम भने होइनन् । तर असचेत र असावधान हुँदा माथिको परिस्थिति भएमा बढी जोखिम हुन्छ भन्न खोजिएको हो । त्यसैले तल केही अल्पायुष्य योग निवारण गर्न सकिने उपायहरूको विवरण छ । प्रत्येक व्यक्तिले सकिन्छ भने ती सबै उपायको वा कम्तीमा एउटा उपायको नियमित अवलम्बन गर्नु उचित मानिन्छ :-

१) लग्नेशको रत्न विधिवत् धारण गर्ने अथवा लग्नेशअनुकूलको बीजमन्त्र, कवच वा स्तोत्रको दैनिक पाठ गर्ने ।
.
२) यस्तो योग भएका सबै जातकले निम्न मन्त्रको नित्य जाप गर्ने :-

अश्वत्थामा बलिर्व्यासो हनुमांश्च विभीषणः।
कृपः परशुरामश्च सप्तैते चिरजीविनः ॥
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जितः ॥

३) मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मीन लग्नका जातकले पूर्णिमाको र बाँकीले प्रदोषको व्रत लिने । शिवभक्तिमा चित्त समर्पण गर्ने ।

४) महामृत्युञ्जय स्तोत्रको विधिवत दीक्षा लिई नित्यजाप गर्ने । आदि ......

के गर्ने आजको दिन ?

हाम्रो परम्परा, संस्कार र धर्मशास्त्रले व्यक्तिको मृत्यु र मुक्ति वा पुनर्जन्मका माझमा असङ्ख्य आत्माहरू प्रेत वा अन्य कुनै अतृप्त अवस्थामा भौंतारिएर रहेका हुन्छन् भन्ने मान्यता राखेको देखिन्छ । आज आश्विन कृष्ण पक्षको पितृपक्षको महालय श्राद्धअन्तर्गत चतुर्दशी तिथिका दिन त्यसरी विविध कारणले अकालमा ज्यान गुमाउन पुगेका आफ्ना दिवङ्गत पितृहरूको श्राद्ध गर्ने विधान तोकिएको दिन हो । आफ्ना कुलमा लडी, झुण्डिई, विषपान गरी, खोलामा बगी, अस्त्रशस्त्रको प्रयोग भई, मोटर-जाहाज आदि वाहन दुर्घटनामा परी वा कुनै किसिमले आत्महत्या गरी वा अकालमा परी मरेका व्यक्ति छन् भने मनुष्यको सामान्य आयु पूर्ण नहुन्जेल तिनको हंसले हाम्रै वरिपरि भ्रमण गरिरहने बताइन्छ । सहज मरण भएका र मोक्ष भएका हाम्रा मृत पितृहरूले हामीसँग जसरी पिण्ड र तर्पणको आकाङ्क्षा गर्ने गर्दछन् त्यसरी नै तिनको भौंतारिएको आत्माले पनि हामीसित केही न केही आशा गरिरहेका हुन्छन् । अतः यस तिथिमा तिनको स्मृति र सम्झनामा श्राद्ध, ब्राह्मण भोजन र भेटीवस्त्रादि दान गर्नु वाञ्छनीय मानिन्छ ।

मृत्यु अवश्यम्भावी सत्य हो । तर कसैलाई पनि मृत्युको कल्पना गर्ने फुर्सद छैन । तेरो, मेरो भन्दाभन्दै सबै एक दिन कालको मुखमा पर्दछन् । आफ्ना आधारभूत काम र कर्तव्य पूरा गरी दीर्घ जीवन बाँची यावत सांसारिक कृत्य र सुखलाई भोगी मर्नुलाई सामान्य नै ठानिन्छ । तर अकालमा ज्यान गुमाउन कसैलाई पनि रहर हुँदैन । कसैले आफूखुसी आत्महत्या गर्दा पनि ऊ अतृप्त नै रहेको पाइन्छ । अझ युद्ध र दुर्घटनादिमा आकस्मिक मृत्युवरण गर्न पुगेका व्यक्तिको जिजीविषाका यावत् पक्ष अपुरा नै हुन्छन् । त्यसैले तिनको आत्माले अन्य मृतात्माले भन्दा बढी आशा र आकाङ्क्षा राख्नु स्वाभाविक हुन्छ । जीवित हुँदासम्म जससँग तिनको सामीप्यता र प्रेम हुन्छ, तिनले तिनैसँग आफ्नो तृप्तिको कामना गर्ने गर्दछन् भन्ने मान्यता छ, त्यस्तै जसको कारणले तिनले अकालमा मृत्युवरण गर्नु परेको हुन्छ, तिनको भौंतारिएको आत्माले तिनलाई नै सताउने सम्भावना हुन्छ भन्ने चलन पनि छ । जहाँ जसरी जे कारणले होस्, जोसुकै आफन्तले पनि अल्पायुष्यमा नै ज्यान गुमाएका छन् भने आज तिनको सम्झनामा श्राद्धादि कर्म गरिदिनु पर्दछ । अझ माथिको विवरणमा बताइएबमोजिम आफ्नो कुण्डलीमा अकाल मृत्युको योग भएका व्यक्तिहरूले अझ बढी महत्त्व दिई यो कर्म सम्पादन गर्नु राम्रो हो । तिनले पितृअधिकार पाएपछि वा पिताको आज्ञा लिई प्रत्येक वर्ष पितृपक्षको यस चतुर्दशी तिथिका दिन बृद्धाश्रम वा मन्दिरमा गई वा घरैमा गरीवगुरुबा जम्मा पारी पेटभरि पायस (खिर) भोजन गराई भेटीवस्त्रादि प्रदान गरेमा पनि आफ्नो आयु बढाउन सक्दछन् ।

तर आज सामान्य ढङ्गले मृतक भएका आफन्तजनको तिथि नै परे पनि श्राद्ध नगर्ने प्रचलन पनि छ । तिनको श्राद्ध अघि वा पछिको कुनै दिन सोह्रश्राद्धको सामान्य नियम पालना गरी गर्ने गरिन्छ । अस्तु ॥

Oct 5, 2017

के हो त्रिपिण्डी श्राद्ध?

सहप्रा. कृष्णप्रसाद कोइराला
पिण्डेश्वर विद्यापीठ, धरान

१. विषयप्रवेश

विगत केही समय यता त्रिपिण्डी श्राद्धको चर्चा हुने र कतिपय ठाउँमा यसलाई ठूलो यज्ञ हो भनी बढाइँचढाइका साथमा कार्य सम्पन्न गरेको पनि देखिन्छ । यसको विधि के हो ? नजानेका वा नसुनेका गुरुपुरोहितले जिज्ञासा राख्ने गरेको र त्यसरी जिज्ञासा राख्दा उत्तर दिने पण्डितले आफूले बुझेको र गरिआएको पद्धतिसँग मेल हुने गरी व्याख्या गर्दै जाँदा यसको पद्धति र बुझाइमा फरकफरक दृष्टिकोण फेला परेको समेत देखिन्छ । नेपाली पुरोहित समाजमा त्रिपिण्डी श्राद्धका प्रसङ्गमा निम्नाङ्कित तीन किसिमका पद्धति प्रयोगमा आएको देखिन्छ । तीमध्ये कुन चाहिं वास्तविक त्रिपिण्डी श्राद्ध हो र त्रिपिण्डी श्राद्धको उद्देश्य, प्रयोजन र फलप्राप्ति के हो भन्ने विषयमा म आजको यस आलेखमा चर्चा गर्नेछु ।

१.१ हाल देखिएका त्रिपिण्डी श्राद्धको स्वरूप
१.१.१ एक थरीले यसलाई एकपार्वण श्राद्ध हो भन्ने गर्दछन् । अमावस्या, सङ्त्तःान्ति, पितृपक्ष आदिलाई पर्व दिन भन्ने गरिन्छ । यिनै पर्व दिनमा कसैका मातापिताको मृत्यु भएको रहेछ भने ती मृतपितृहरूको वर्षैपिच्छे गरिने श्राद्ध एकपार्वण श्राद्ध हो । यस श्राद्धमा दुईवटा ब्राह्मण (एक विश्वेदेव, एक पितृब्राह्मण) स्थापना गरिन्छ, साथै जसको श्राद्ध गरिंदैछ, तीसमेत तीनपुस्ताका पितृहरूको उद्देश्यले तीनवटा पिण्डको प्रयोग गरिन्छ । यहाँ त्रिपिण्डी शब्दको सामान्य अर्थ तीनवटा पिण्ड हुने भएकाले यस श्राद्धलाई पनि त्रिपिण्डी भन्ने अर्थ लगाइएको हो, तर यो त्रिपिण्डी श्राद्ध होइन ।

१.१.२ यो एकपार्वण श्राद्धजस्तै एउटा विशेष श्राद्ध हो भन्नेहरू पनि छन्, मैले एकपार्वणको अर्थ र प्रसङ्ग माथि उल्लेख गरिसकेको छु । आफूलाई टाठोबाठो र बुज्रुक ठान्ने कुनै कर्ताकै ढिपीले अथवा कतैकतै पुरोहितको निर्देशनबमोजिम एकपार्वण श्राद्धलाई पर्वदिन बाहेक पनि प्रयोग गरेको देखिन्छ र यसलाई पनि त्रिपिण्डी श्राद्ध हो भन्ने गरेको पाइन्छ । त्यसरी श्राद्ध गर्नेहरूको तर्क यस्तो छ — उहिले हाम्रा बाबुबाजेले पिता, पितामह र प्रपितामहसमेतका बाबुआमाका सबै छ वटै एकोद्दिष्ट श्राद्ध गर्ने गर्दथे, त्यसबाहेक दर्श (प्रत्येक औंसी), युगादि, मन्वादि, सङ्क्रान्ति, अष्टका, अन्वष्टका, पूर्वेद्यु आदि सबै श्राद्ध गर्ने गर्दथे, तर अहिले व्यस्त जीवनचर्या भएकाले यी समस्त श्राद्ध गर्न भ्याइँदैन, त्यसैले आफूले गर्ने पिता वा माताको एकोद्दिष्ट श्राद्धकै दिन एकपार्वण विधिले श्राद्ध गरेर तीनवटा पिण्ड दिएमा त्यसरी गर्नैपर्ने श्राद्ध नगरेकोमा दोष लाग्दैन र सबै पितृहरूको भाग पुग्छ । 
यसरी श्राद्ध गरेर झारा टार्ने काम सरासर गलत प्रक्रिया हो । यसरी श्राद्ध गर्दा तिनीहरूको उद्देश्य पूर्ण हुँदैन । अतः पण्डित्याइँ छाँट्न खोज्ने तथा कर्तव्यलाई छोट्याएर आफूअनुकूल बनाउन खोज्ने उपबुज्रुक एवं डेढअक्कली पुरोहित र जजमानको व्याख्या हो, यस किसिमको श्राद्ध । यो श्राद्ध पनि वास्तवमा त्रिपिण्डी श्राद्ध होइन ।

१.१.३ यो सत्व, रज र तम गुणको प्रतीकस्वरूप प्रेत मुक्तिका लागि गरिने तीनवटा पिण्डको प्रयोग गरी गरिने त्रिपिण्डी श्राद्ध हो, यो मृतपितृसँग सम्बद्ध हुँदैन । यो विशेष किसिमको श्राद्ध हो । यस श्राद्धमा आफ्ना मृतपितृहरूको नामोच्चारणसमेत हुँदैन । यो सत्व, रज र तम गुणको प्रतिनिधित्व गर्ने ब्रह्मा, विष्णु र महेश स्वरूपमा रहेका असङ्ख्य अतृप्त प्रेतको मोक्ष होस् भन्ने उद्देश्यले गरिने महाविष्णुको श्राद्ध हो । त्यसैले यस श्राद्धको विधान वैष्णवसम्प्रदायमा बहुप्रचलित देखिन्छ । हाल प्रचलनमा रहेका वैष्णव सम्प्रदायमध्ये अधिकांशको प्रारम्भ दक्षिणभारतबाट भए जस्तै त्रिपिण्डी श्राद्धको प्रयोग पनि दक्षिण भारतबाट नै भएको हो । यसको प्रयोगको पहिलो प्रसङ्ग ‘गोदायात्रा विवेकादर्श’ नामक पुस्तकमा भेटिन्छ, पछिल्लो समयमा श्राद्धपद्धतिअनुकूलको कर्मकाण्डीय पुस्तक विभिन्न प्रकाशनबाट फरकफरक ढंगले प्रकाशित भएको भेटिन्छ । वास्तवमा यही नै त्रिपिण्डी श्राद्धको वास्तविक स्वरूप हो ।

२. त्रिपिण्डी श्राद्ध

२.१ श्राद्धस्वरूप
 पितृहरूको प्रसन्नताका निमित्त वेद र धर्मग्रन्थले निर्देशन गरेको पद्धतिअनुसार श्रद्धापूर्वक हविष्ययुक्त पिण्ड दिने प्रक्रियालाई श्राद्ध भनिन्छ । श्राद्धकर्मबाट सन्तुष्ट भएका पितृहरूले श्राद्धकर्तालाई दीर्घायु, प्रसिद्धि, धनधान्य, बुद्धिविवेक, सुखसौभाग्य, पदप्रतिष्ठा र मोक्ष प्रदान गर्दछन् भन्ने गरिन्छ । श्राद्ध विभिन्न किसिमका हुन्छन्, तिनलाई नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण भन्ने गरिन्छ । तिनै श्राद्धमध्ये काम्य श्राद्धको एउटा प्रकार हो — त्रिपिण्डी श्राध्द  । नेपाली परिवेशमा यस श्राद्धको चर्चा हुन थालेको धेरै भएको छैन । खासगरी कर्मकाण्डमा व्यवसायिकता आएपछि सहरी क्षेत्रमा यस श्राद्धको चर्चा हुने गरेको पाइन्छ । त्यसैले यो पनि कर्मकाण्डको विकृतिका रूपमा मौलाउँदै गएको कार्यविशेष जस्तो लाग्न थालेको छ, तर पनि कालसर्प योगजस्तै ठगीधन्दा चाँहि त्रिपिण्डी श्राद्ध होइन, यसको विशेषता गरुडादि पुराणमा समेत उल्लेख भएकाले यो शास्त्रीय श्राद्ध नै हो ।

२.२ त्रिपिण्डी श्राद्ध किन गर्ने ? 
हाम्रा निमित्त सद्गति प्राप्त गर्न नसकेका अज्ञात मृतपूर्वजहरू वा दुर्गतिमा रहेर आफ्ना वंशजहरूलाई कष्ट र यातना दिने पितृहरू वा भूमि, अन्तरीक्ष, आकाशादि तीनै ठाउँमा रहेका आफ्नो कुलपरम्परा वा परिवारसँग सम्बद्ध अतृप्त आत्माको सायुज्य मुक्तिका निमित्त त्रिपिण्डी श्राद्ध गर्ने पद्धति छ । 

२.२.१ लगातार तीन वर्षसम्म विविध व्यवहारिक कारणले आफ्ना पितृहरूको श्राध्द हुन पाएन भने पितृलोकमा पुगेका वा मुक्त भैसकेका पितृहरूले पुनः प्रेतत्व प्राप्त गर्दछन्, त्यसैले पुनः श्राद्धप्रारम्भ गर्नुअघि त्रिपिण्डी श्राद्ध गरिदिनु पर्दछ । 

२.२.२ जन्मकुण्डलीमा सूर्य, चन्द्रमा र बृहस्पतिको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । त्यसैले कुनै जातकको कुण्डलीमा सूर्य, चन्द्रमा वा बृहस्पतिका साथमा राहु, केतु वा शनिश्चर ग्रह सँगै बसेको छ भने पितृदोष, मातृदोष, ग्रहण योग, चाण्डाल योग आदि विविध योगको सिर्जना हुन्छ । त्यस्तै सूर्य, चन्द्रमा वा बृहस्पति नीच छ भने व्यक्तिले व्यक्तित्व निर्माण गर्न र प्रतिष्ठा प्राप्तिका लागि अनेकानेक कठिनाइ भोग्नुपर्ने हुन्छ । त्यसैले यस्तो स्थितिमा दुष्प्रभाव नाश गर्न र शुभफल बृद्धि गर्न अरु उपायका तुलनामा त्रिपिण्डी श्राद्ध विशेष उपाय हो भन्ने मान्यता छ ।

२.२.३ कहिलेकाँही आफ्ना परिवारमा लडी मर्ने, झुण्डिएर मर्ने, कर्म नचली मर्ने, भूकम्पादि प्राकृतिक प्रकोपमा परी मर्ने, हराएर उमेर पूरा भएको तर थाहापत्तो नभएर काजक्रियादि सम्पन्न नभएका वा श्राद्धादि नभएका आदि विविध परिस्थितिमा कसैको वार्षिक श्राद्धादि सम्पन्न हुन सकेको हुँदैन । कतिपय परिवारमा खासगरी तीनपुस्ताभित्र कतिपय पितृहरूको मुक्ति नभएकाले यस्तो स्थितिमा व्यक्ति वा परिवारले मानसिक अशान्ति, रोगव्याधि, अकाल मृत्यु, आर्थिक दुरवस्था, चोरभय, राजभय र अग्निभय जस्ता विपत्तिको मारमा पर्नुपर्छ, यिनै त्रुटिहरूको निवारणका लागि त्रिपिण्डी श्राद्ध गरिदिनु पर्दछ ।

२.२.४ सन्तानप्राप्तिका निमित्त, कुदृष्टिबाट जोगिन, गोहत्याको दोषको प्रायश्चित्त गर्न पनि यस श्राद्धको सम्पादन गर्ने चलन छ । त्यस्तै कुनै अशुभता, कुण्डलीजन्य दोष र विकार नहुँदा नहुँदै पनि परिवारमा सुखशान्ति हुँदैन, सन्ततिप्राप्तिमा वा तिनको उन्नतिप्रगतिमा बाधाव्यवधान भइरहन्छ, सपनादिमा पितृहरूको उपस्थिति हुने गर्दछ भने यस्ता अपशकुन दूर गर्न कुनै पनि व्यक्तिले गर्नगराउन सकिने पितृपूजाको एक किसिमको विधान पनि हो—त्रिपिण्डी श्राद्ध ।

हामीले गर्ने गरेका एकोद्दिष्ट श्राद्धका कारण उद्देश्य गरेको एक पितृ, एकपार्वण श्राद्धमार्फत उद्देश्य गरिएका तीन पुस्ताका पितृहरू, महालय (पार्वण वा सोह्रश्राद्धअन्तर्गत गरिने श्राद्ध) मार्फत पितृपक्षका तीन र मातृकुलका तीन गरी छ पिंढीका पितृहरू र प्रौष्ठपदी श्राद्धमार्फत पितृकुलका सातपुस्ताभित्रका पितृहरू तृप्त हुने गर्दछन् । तर हाम्रो कुल वा पुस्तान्तरमा बितेका सातपुस्ताभित्रका वा त्यसभन्दा पनि परका अतृप्त आत्माहरू हुने सम्भावना हुन्छ, जसका कारण विविध दोष र समस्या कुण्डली आदिमा प्राप्त हुने गर्दछन्, त्यसैले त्यस्ता पुस्ताभित्रका वा पुस्तान्तरका असंख्य सात्विक, राजसी र तामसी प्रेतस्वरूपमा रहेका पितृहरूको तृप्तिका निमित्त यो श्राद्धस्वरूपको पूजा गर्ने गरिएको हो । यस पूजापद्धतिमा ज्ञातस्वरूपमा रहेका कुनै पनि पितृहरूको नामोच्चारण र तर्पणादि कृत्य हुँदैन । यसमा महाविष्णुको स्थापना गरेपछि सात्विक स्वरूपका प्रेतको प्रतिनिधित्व गरी विष्णु, राजसी स्वरूपका प्रेतको प्रतिनिधित्व गरी ब्रह्माको र तामसी स्वरूपका प्रेतको कल्पना गरी शिवको प्रतिष्ठा/स्थापना गरी पूजनोपरान्त पिण्डदान गरिन्छ ।

२.३ अब त्रिपिण्डी ’श्राद्ध हो कि पूजा’ ?
वास्तवमा त्रिपिण्डी श्राद्ध श्राद्धको प्रक्रिया अपनाएर गरिने एक किसिमको पूजाविशेष हो भन्दा अत्युक्ति हुँदैन । यसलाई प्रक्रियागत रूपमा नियाल्दा यसमा श्राद्ध गर्दा पालना गरिने केही नियमहरूको प्रयोग गरिन्छ, जस्तै—पिण्डदान, तर्पण । तर श्राद्धमा प्रयोग नगरिने केही नियमको पनि यस श्राद्धमा प्रयोग हुन्छ, जस्तै कलश स्थापना, देवस्थापना, षोडशोपचार पद्धतिको पूजादि, शङ्खको प्रयोग, रातो फूल/अक्षतादि । त्यसैले त्रिपिण्डी श्राद्ध श्राद्धजस्तै पूजापद्धति हो, यो श्राद्ध होइन । तर यस पूजाको प्रयोग अपघाती मृत्यु, प्रेत पीडा, पिशाच बाधा, शापित कुण्डली, पितृदोष आदि पीडा निवारणका निमित्त गर्ने गरिन्छ, अतः यो श्राद्धजस्तै मानिन्छ । 


२.४ त्रिपिण्डी श्राद्ध गर्ने समय र स्थान :
गयाश्राद्धपद्धति (लेखक : रुद्रदत्त पाठक) नामक ग्रन्थमा त्रिपिण्डी श्राद्ध गर्ने प्रसङ्गमा यस्तो विवरण प्राप्त हुन्छ —
वैशाखश्रावणमार्गकार्तिकफाल्गुनेषू च ।  त्रिपिण्डीश्राद्ध कर्तव्यं माघेऽपि काल उच्यते ॥१॥
अष्टम्यां वा त्रयोदश्यां पञ्चम्यामुभयोरपि । चतुर्दश्यां विशेषेण कृष्णपक्षे च कारयेत् ॥२॥
यद्यपि दोषबाहुल्ये कार्तिक्यादि चतुर्षू वा । कर्तुं शक्नोति चान्यच्च न कालः समपेक्षितः ॥३॥
कोकामुखे वेत्रावत्यां गोकर्णे त्र्यम्बकेऽपि वा । पिशाच्चमोचने काश्यां देवघट्टे विशेषतः ॥४॥
तुलसीसन्निधानौ वा कस्मिन्नपि शिवालये । अश्वत्थसन्निधौ यद्वा पवित्रनदीसङ्गमे ॥५॥
अवर्णनियो महिमा त्रिपिण्डीश्राद्धकर्मणः । उपद्रवग्रहपीडाभूतप्रेतादिशान्तये ॥६॥
प्रेताय सद्गतिं दत्वा पार्वणादि समाचरेत् । आयुः प्राकाश्यमैश्वर्यं रूपं च लभते ध्रुवम् ॥७॥

यसको भावार्थ हुन्छ — भूत, प्रेत, पिशाचादिबाट उत्पन्न क्लेश, ज्वर, पीडादि उपद्रवको शान्तिका निमित्त त्रिपिण्डी श्राद्ध गर्नुपर्दछ । यो श्राद्ध कार्तिकादि चार महिना अर्थात् कार्तिक, मंसिर, पुस र माघ तथा वैशाख, श्रावण र फाल्गुन महिनामा सामान्यतया दुबै पक्षको पञ्चमी, अष्टमी वा त्रयोदशी तिथिमा अथवा कृष्णपक्षको चतुर्दशी तिथिमा गर्न सकिन्छ । त्यस्तै यो श्राद्ध कोकामुख (विष्णुपादुका र बराहक्षेत्र), वेत्रावती, गोकर्ण, त्र्यम्बकेश्वर, काशीको पिशाचमोचन घाट, देवघाट वा कुनै नदीको सङ्गमस्थलमा गर्न सकिन्छ । क्लेश र पीडाको अधिकता छ भने समयको ख्याल नगरी जहिले पनि तुलसीको मठ, पीपलको बोट वा कुनै शिवालयमा समेत गरे हुन्छ । ग्रहपीडा, उपद्रव, भूतप्रेतको बाधादि शान्तिका निमित्त अज्ञात प्रेतलाई सद्गति प्रदान गरी पार्वणादि सम्पन्न गरेमा श्राद्धकर्ताले आयु, प्रतिष्ठा, ऐश्वर्य, रूपलावण्य र शुभता प्राप्त गर्दछ ।

२.५ त्रिपिण्डी श्राद्ध गर्ने विधि
सर्वप्रथम ब्राह्मण र ज्योतिषीको सल्लाहमा श्राद्ध गर्ने दिन तय गर्नुपर्दछ । त्यसपछि कर्ताले आफ्नो अनुकूल हुने गरी श्राद्ध गर्ने ठाउँ रोज्नु पर्दछ । श्राद्धको अघिल्लो दिन नङ, केश गरी एकछाक हविष्यान्न खाई चोखोनीतो गर्नुपर्दछ । भोलिपल्ट तीर्थ वा पवित्र जलाशयमा गई स्नानादि गरी नयाँ र शुद्ध वस्त्र पहिरिई श्राद्धभूमिमा आएर विधिपूर्वक श्राद्धको सङ्कल्प गर्नुपर्दछ । त्यसपछि शालिग्राम शीलामा महाविष्णुको प्रतिष्ठा गरी महाविष्णुको दक्षिण तर्फ तीनवटा कलश स्थापना गरी कलशमा क्रमशः ब्रह्मा, विष्णु र महेशको स्थापना गर्नुपर्छ ।  ब्रह्मा, विष्णु र महेशको प्रतिनिधिस्वरूप कम्तीमा तीन जना ब्राह्मणको वरण र पूजा श्राद्धविधिले सम्पन्न गर्नुपर्दछ । त्यसपछि श्राद्धविधिले जौ, चामल र तिलको पिठोबाट तीनवटा पिण्ड बनाएर विधिपूर्वक पिण्डदान गर्नुपर्दछ । श्राद्धोपरान्त भगवान् विष्णुलाई तर्पण गरी ब्राह्मणहरूलाई भोजन, वस्त्र, दक्षिणादि प्रदान गरेपछि यो श्राद्धको विधि समाप्त हुन्छ । यस श्राद्धमा प्रयोग गरिने विभिन्न पिण्डको महत्त्व यस प्रकार छ —

२.५.१ जौको पिण्डको महत्त्व —
इदं यवमयं पिण्डं यवसर्पिः समन्वितम् । 
ददामि तस्मै प्रेताय यः पीडां कुरुते मम ॥
ये केचित् प्रेतरूपेण वर्तन्ते पितरो मम । 
यवपिण्डप्रदानेन तृप्तिं गच्छन्तु शाश्वतीम् ॥ 
ये केचिद्दिवि तिष्ठन्ति प्रेताः सात्त्विकरूपिणः । 
सात्त्विकपिण्डप्रदानेन तृप्तिं गच्छन्तु शाश्वतीम् ॥
जौको पिण्ड सात्विक भावमा प्राप्त भएका अज्ञात प्रेतहरूको मुक्तिका निमित्त प्रयोग गरिन्छ, त्यसैले यस पिण्डलाई धर्मपिण्ड मानिन्छ । यस पिण्डका माध्यमबाट पितृवंश वा मातृवंशमा कुनै अज्ञात पितृको श्राद्धादि पिण्डदान रोकिएको छ अथवा जो जन्मैदेखि अपाङ्गताका भएका कारणले विवाह भएको छैन, सन्तति भएका छैनन्, त्यस्ता पितृहरूको प्रेतत्व नाश होस् र सद्गति प्राप्त होस् भन्ने उद्देश्यले जौको पिण्डदान गरिन्छ ।

२.५.२ मधुरत्रययुक्त चामलको पिण्डको महत्त्व —
इमं व्रीहिमयं पिण्डं मधुरत्रयसंयुतम् ।
तन्मुक्तये प्रयच्छामि पीडां ये कुर्वते मम ॥
ये केचित् प्रेतरूपेण वर्तन्ते पितरो मम ।
व्रीहिपिण्डप्रदानेन व्रजन्तु गतिमुत्तमाम् ॥
अन्तरिक्षे स्थिता ये च राजसा वायुरूपिणः ।
राजसपिण्डदानेन ते तृप्यन्तु मुदान्विताः ॥
राजसी भावमा विद्यमान प्रेतहरूलाई लक्ष्य गरी चामलको पिण्डदान गरिन्छ । यस पिण्डमा चिनी, मह र घिउ मिसाएको हुन्छ, त्यसैले यस पिण्डलाई मधुरत्रय पिण्ड भन्ने गरिन्छ । यो पिण्डदान गरेर अन्तरीक्षमा अद्यापि प्रेतस्वरूपमा नै रहेका ज्ञातअज्ञात प्रेतहरूको मुक्ति हुन्छ भन्ने मान्यता छ ।

२.५.३ तिलको पिण्डको महत्त्व —
इमं तिलमयं पिण्डं मधुना सर्पिषा युतम् ।
तेभ्यो ददामि प्रेतेभ्यो ये पीडां कुरुते मम ॥
ये केचित्तामसाः प्रेता भूमौ तिष्ठन्ति सर्वदा ।
तिलपिण्डप्रदानेन गतिं गच्छन्तु ते ध्रुवाम् ॥
तमोरूपाश्च ये केचिद् वर्तन्ते पितरो मम ।
पिण्याकपिण्डदानेन ते तृप्यन्तु क्षुधार्दिताः ॥
तामसी अवस्थामा पृथ्वीलोकमा नै क्षुद्र योनीमा रहेर परिवारका वंशज वा अन्यलाई कष्ट दिने ज्ञाताज्ञात पितृ र प्रेतहरूको मुक्तिका निमित्त तिलद्वारा निर्मित पिण्डको प्रयोग गरिन्छ ।


३. त्रिपिण्डी श्राद्धसम्बन्धी केही नियमहरू —

३.१ प्रेतबाधा वा क्षुद्रयोनीमा रहेका कुनै पितृको उद्धारका निमित्त त्रिपिण्डी श्राद्ध गरिएको हो भने यो श्राद्ध पितृअधिकार प्राप्त गरेका व्यक्तिले मात्र गर्न पाउँछ । यसरी श्राद्ध गर्दा श्राद्धोपरान्त पुनः एउटा तीर्थश्राद्ध गर्नु वाञ्छनीय हुनेछ ।

३.२ कसैको जन्मकुण्डलीमा पितृदोष, मातृदोष वा अन्य कुनै दोषनिवारणका निमित्त त्रिपिण्डी श्राद्ध गरिंदैछ भने यो श्राद्ध पितृअधिकार नपाएका बालक वा बालिकाले कर्ता भएर गर्दा हुन्छ । तर त्यसरी श्राद्ध सम्पन्न गर्दा पिताको उपस्थिति हुनु आवश्यक हुन्छ, पिता आउने परिस्थिति नै छैन भने कम्तीमा पिताबाट आज्ञा लिएर श्राद्ध गर्नुपर्छ । विवाहित महिलाको हकमा उनले ससुराको आज्ञा लिने वा उपस्थितिमा श्राद्ध गर्दा हुन्छ ।

३.३ नङकेश सम्बन्धमा — पितृअधिकार पाएको व्यक्तिले श्राद्ध गर्ने हो भने अघिल्लै दिन अनिवार्य रूपमा मुण्डनादि कर्म गर्नु पर्दछ, तर पितृअधिकार नपाएका व्यक्तिले कपाल नखौरिए पनि हुन्छ ।

३.४ यो पितृहरूको श्राद्ध होइन, अपितु यो ज्ञात वा अज्ञात स्वरूपमा पृथ्वी, स्वर्ग र अन्तरीक्षमा भौंतारिई रहेका अनेकानेक प्रेतहरूको श्राद्ध हो । त्यसैले यसमा श्राद्धकर्ताले एकभक्ति गरेको दिनदेखि नै प्रेतत्व हुने भएकाले सकेसम्म उसले छोइछिटो बार्नु पर्दछ । श्राद्ध सकिएपछि नदीमा स्नानादि गरी उसले लगाएका यावत सामाग्री गङ्गामा वा कुनै गङ्गागामिनी नदीमा बगाइदिनुपर्दछ, अनिमात्र ऊ चोखिएको ठहर्दछ । तर यो आशौच केवल श्राद्धकर्ता र उसको पति वा पत्नीले मात्र बार्नु पर्दछ, अरुले छोइछिटो बार्नु पर्दैन ।

३.५ पूजासामाग्री र दानसामाग्री — यस श्राद्धमा प्रयोग भएका सामाग्री अन्न, नैवेद्यादिका साथमा कलश, थाली, प्रतिमादि पनि नदीमा सेलाउने चलन छ । यो प्रेतस्वरूप ब्रह्मादि देवताको पूजामा प्रयोग भएको सामाग्री भनी भारततिर कण्टा ब्राह्मण (ग्रहण वा एघारौं आदिमा दान लिने ब्राह्मण) ले मात्र दान लिने अरुले नलिने देखिन्छ । त्यहाँ त्रिपिण्डीको सामाग्री लिने ब्राह्मणलाई अरु यज्ञयागादिमा नचलाएको पनि पाइयो । तर वरण र दक्षिणामा प्राप्त सामाग्री ब्राह्मणले ग्रहण गरेको देखिन्छ । तर नेपालमा सबै सामाग्री कर्मकाण्ड गर्ने ब्राह्मणले नै लगेको देखिन्छ ।

४. त्रिपिण्डी श्राद्ध सम्पन्न गर्न आवश्यक सामाग्रीहरू —

४.१ श्राद्धकर्ताले श्राद्धको समयमा लगाउने पुरुष भए धोती, गम्छा, महिला भए सुतीको सारी, चोलो आदि  भित्री लुगासमेत सबै नयाँ धारण गर्नु पर्दछ र श्राद्धोपरान्त स्नान गरी यी लगाएका लुगा र भित्री लुगासमेत गङ्गा वा पवित्र नदीमा बगाई दिनुपर्छ ।

४.२ श्राद्धमा प्रयोग गरी सेलाउनु पर्ने सामाग्री — सुन, चाँदी र तामाको एक/एक वटा गरी ब्रह्मा, विष्णु र महेशका तीनवटा प्रतिमा, रातो, सेतो, कालो रंगको वस्त्र कम्तीमा एक/एक मीटर, तीनवटा कलश (सकेसम्म सुन, चाँदी र तामा गरी भिन्नभिन्न धातुको नत्र माटोको), कलशमाथि राख्ने कलशकै बनोटसँग मिल्ने थाली—३, पिण्ड मुछ्न चाहिने तिल, जौ र चामलको पिठो एक/एक पाउ, तीनवटा वेदी बनाउन आवश्यक बालुवा

४.३ श्राद्धमा प्रयोग गरिने अन्य वस्तुहरू — चन्दन, अक्षता, फूल, बाती, अगरबत्ती, पानको पात — १०, जनै कम्तीमा १० जोर, सुपारी कम्तीमा १० दाना, पञ्चरत्न, पञ्चपल्लव (आँप, वर, पीपल, समी र डुमरी), दही, दूध, घिउ, मह, चिनी, सस्र्युं, सर्वौषधि, सप्तमृत्तिका (सात ठाउँको माटो), तिल कम्तीमा आधा किलो, जौ एक पाउ, कुश दुई मुठा, दुना — ५०, टपरी — २०, धान, चामल, काँचो धागो, सेतो र पहेंलो वस्त्र, फुटकर पैसा — ५० पिस, सीधा र ब्राह्मणभोजनमा चाहिने आवश्यक वस्तु, नैवेद्यसामाग्री, छाता — १, जुत्ता — १ जोर, कुशासन — १, कमण्डलु — १, तामाको तिलपात्र — १, ब्राह्मणको संख्या हेरी आवश्यक संख्यामा वरणका लागि आवश्यक धोती, गम्छा, कमेज, टोपी, भित्री कपडा, जुत्ता, आसन, पञ्चपात्र, पाठ गर्ने पुस्तक आदि यजमानको इच्छानुकूल एकएक सेट, ऋतुअनुसारको फल (आवश्यकता अनुसार) र त्यसबाहेक ज्यामिर— १, छोकडा— १,  र मातुलिंग (गुलियो प्रकृतिको कागती जातकै कुनै फल)— १ अनिवार्य

४.४ दान गर्नु नपर्ने तर प्रयोग गर्ने अन्य आवश्यक वस्तुहरू —  बस्नका लागि उचित आसन, पञ्चपात्रसहित आचमनी, दियो, खगौतो (तर्पणादि कार्यका निमित्त एउटा शङ्ख), तिलानी बनाउने तामाको भाँडो, तर्पण दिने तामा वा काँसको भाँडो, लोटा, पानी राख्ने पित्तलको बाल्टी ।

५. निष्कर्ष

हरेक धर्म र सम्प्रदायमा आफ्ना दिवङ्गत माता पिता एवं पितृहरुलाई सम्मान गर्ने र स्मरण गर्ने विधि विधान र परम्परा हुन्छ । हाम्रो देशमा मात्र होइन, संसारभरि विभिन्न जातजाति र धर्मावलम्बीले आआफ्ना ढंगले पितृको स्मरण गरी राखेका हुन्छन् । कसैले दिवङ्गत पितृलाई स्मरण गर्न प्रयोग गरेको पद्धति वा विधि निश्चित वा निर्विकल्प विधि हो भनेर दावी गर्न मिल्दैन र सकिंदैन पनि । संसारमा पितृको आशीर्वादजस्तो ठूलो चिज कुनै पनि हुँदैन । एउटा भनाई छ — पितृबाट प्राप्त गरेको वस्तु देवताबाट हरण हुन सक्दैन अनि जसले जीवित अवस्थामा हुँदा पनि सेवा गरी उहाँहरुको पीड़ा र दुखमा साथ दिएको छ र खुसी राख्न सफल भएको छ भने त उसले नपाउने चिज कुनै पनि हुँदैन । यसरी उसले प्राप्त गर्ने वस्तुहरूमा राम्रो संस्कार, सत्संगति, इच्छानुकूलका सन्तति, समुचित ज्ञान र विवेक, अनुकूल जीवनवृत्ति, सकारात्मक सोच आदि पर्दछन् । अब विचार गर्नुहोस् त, कुनै व्यक्तिको निजी जीवनमा यतिमात्र भए कस्तो आनन्दमय र सुखी जीवन हुन्थ्यो । अतः जीवनमा सर्वतोमुखी सुखशान्तिका लागि श्राद्धादि पितृपूजा गर्नु वाञ्छनीय छ र जुनप्रकारले गरिएको नै किन नहोस्, पितृ प्रसन्न नै हुन्छन्, अनि पूजापाठ, दान, तर्पण, सङ्कल्प आदिबाट खुसी भएर उनीहरुले हामीलाई आशीर्वाद दिन्छन् । (आयुः प्रजा धनं विद्यां स्वर्गमोक्षसुखानि च ॥ प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिता ॥)

नेपालमा पछिल्लो समयमा प्रचलनमा आए पनि तीर्थ श्राद्ध, नारायणवली, नागवली जस्तै एउटा काम्य श्राद्धको प्रकार हो, त्रिपिण्डी । यस श्राद्धमा श्राद्धकर्ताका मृत र ज्ञात पितृहरूको श्राद्धतर्पणादि हुँदैन, बरु यसमा अज्ञात रूपमा विविधकारणले सात्विक, राजसी र तामसी स्वरूपमा स्वर्ग, अन्तरीक्ष र भूमिमै अल्झिएर बसेका र मोक्ष प्राप्त गर्न नसकेका जन्मजन्मान्तरका अज्ञात गोत्रका अज्ञात स्वरूपका र अज्ञात पितृ/प्रेतहरूको साझा श्राद्ध र पूजा गरिन्छ । त्रिपिण्डी श्राद्धको प्रयोग र व्यवहारमा केही व्यवसायीकरण देखिन्छ, अतः व्यवसायिकताबाट सतर्क भई यसको वास्तविक तथ्य बुझेर यो पितृयाग गर्नु/गराउनु वाञ्छनीय हुनेछ । अस्तु ।

मघा नक्षत्रले सोह्र श्राद्धलाई छेक्दैन (Magha Shraddha)

सामान्यतया चन्द्रमाको परिक्रमा मार्गमा आउने ताराहरुको समूहलाई नक्षत्र भनिन्छ । नक्षत्र चक्रमा जम्मा सत्ताईस वटा नक्षत्र हुन्छन् र यिनै सत्ताईस वटा नक्षत्रमध्ये एउटा नक्षत्रको नाम हो - मघा । नक्षत्र मण्डलमा मघा नक्षत्रको गणना दसौं स्थानमा हुन्छ । मघा नक्षत्रलाई गण्डमूल नक्षत्रको समूहमा रहेको मानिन्छ । त्यसैले यस नक्षत्रमा बालबालिकाको जन्म भयो भने जन्मकालको २७ दिनभित्र गण्डमूल शान्ति गर्ने प्रचलन छ । यस नक्षत्रमा जन्मिएका जातकहरू सामान्यतया प्रभावशाली हुने गर्दछन् । त्यस्तै श्राद्ध आफ्ना दिवङ्गत मातापितालगायत पूर्वजहरूको स्मरणका लागि श्रद्धापूर्वक गरिएको कर्म विशेष हो - श्रद्धया क्रियते यत् तत् श्राद्धम् । नक्षत्र विशेष मघा र पैतृक कर्म विशेष श्राद्धको सम्बन्ध भई मघा श्राद्ध पदावलीको निर्माण भएको छ र विशेषत: पितृपक्ष (सोह्र श्राद्ध) को द्वादशी वा त्रयोदशी तिथिको अवसरमा वर्षैपिच्छे कर्मकाण्डी पुरोहित र ज्योतिषी समुदायमा मघा श्राद्धको चर्चा भइरहन्छ । यसबाहेक कुसेऔंसीमा पनि कहिलेकाहिं मघा नक्षत्रको संयोग पाइन्छ । आज यस आलेखमा मघा श्राद्धको विवेचना गर्ने प्रयास गरिन्छ । 


मघा नक्षत्रमा पर्न जाने श्राद्ध विशेष कर्मलाई नै मघाश्राद्ध भनिएको हो । मघा शब्दको अभिधार्थ 'महान्' हुन्छ र यस नक्षत्रका अधिदेवता पितृदेव हुन्, त्यसैले पनि श्राद्धका लागि यो नक्षत्र विशिष्ट अवसर हो भन्ने बुझिन्छ । कारण जुन नक्षत्रका अधिदेवता नै पितृदेव हुन्छन्, त्यस नक्षत्रको योग भएका वेला श्राद्ध कर्म गर्न निषेधित भएको भए यस नक्षत्रका साथमा नाम जोडेर श्राद्धको नाम मघाश्राद्ध नै भनेर राखिंदैनथ्यो । महाभारतमा मघाश्राद्धको वैशिष्ट्य उल्लेख गर्दै बताइएको छ - अपि नः स कुले जायाद्यो नो दद्यात्त्रयोदशीम् । मघायां सर्पिषा युक्तं पायसं दक्षिणायने ॥ (मघायुक्त त्रयोदशी तिथि पर्दा र अघिपछि पनि मह र घिउले युक्त खिर वा पिण्ड दिने व्यक्ति आफ्नो कुलमा जन्मियोस् भनेर पितृहरूले कामना गरेका हुन्छन् ) । त्यसरी नै अन्य विभिन्न पुराण र धर्मशास्त्रहरूमा पनि मघाश्राद्धको वैशिष्ट्य उल्लेख गरिएको भेटिन्छ र लेखिएको पनि छ -

कृष्णपक्षे त्रयोदश्यां मघास्विन्दूः करे रविः। यदा तदा गजच्छाया श्राद्धे पुण्यैरवाप्यते॥

कृत्यचिन्तामणि 

 शरत्कृष्णत्रयोदश्यां मघायां श्राद्धवासरे। स्वधां संपूज्य यत्नेन ततः श्राद्धं समाचरेत्॥

देवीभागवत ९।४४।२१

प्रौष्ठपद्यामतीतायां मघायुक्तां त्रयोदशीम्। प्राप्य श्राद्धं हि कर्त्तव्यं मधुना पायसेन च ॥

मनुः

पितरः स्पृहयन्त्यन्नमष्टकासु मघासु च। तस्माद्दद्यात् सदोद्युक्ता विद्वत्सु ब्राह्मणेषु च ॥

विष्णुधर्मोत्तर

नवोदके नवान्ने च गृहप्रच्छादने यथा । पितरः स्पृहयन्त्यन्नमष्टकासु मघासु च ॥

तिथ्यादितत्त्व

मघा वै पितृनक्षत्रं पितॄणां प्रीतिदं परम् । तत्र श्राद्धं तु प्रीणाति दत्तं पुत्रैर्मुदान्वितैः ॥


स्कन्दपुराण २।२।३४।२०

त्यसैले के बुझ्नुपर्छ भने मघाश्राद्ध एक किसिमको उत्कृष्ट श्राद्ध कर्म हो ।

अब मघा श्राद्धको वैशिष्ट्य बुझ्न हामीले ज्योतिष र नक्षत्रविज्ञानका केही प्रसङ्गहरूलाई पनि बुझ्नु आवश्यक हुन्छ, सुरुमा यो प्रसङ्ग कोट्याऔं, त्यसपछि श्राद्धको प्रायोगिक पक्षको चर्चा गर्नेछु ।

पृथ्वीमा गरिने यज्ञ आदि अनुष्ठान सूर्यमण्डलमा पुगेर त्यहाँबाट जुनजुन देवतालाई आह्वान गरिएको/दिइएको हो त्यसत्यस ठाउँमा पुग्दछ । हामीले देवताहरूलाई यज्ञमार्फत दिएका पदार्थ सूर्यद्वारा द्युलोकस्थित देवताहरूको तृप्तिका निम्ति वितरित हुन्छ, किनभने देवलोक सूर्यकक्षमा विद्यमान छ तर पितृलोक चन्द्रमण्डलमा स्थित भएको हुनाले हामीले श्राद्धमार्फत दिएका पदार्थहरू पहिले सूर्यका किरणहरूले सूर्यबाट चन्द्रमण्डलमा पुर्याउँछन्, यसपछि पितृलोकमा पुगी पितृहरूको तृप्ति हुन्छ । सुन्दा, बुझ्दा, जान्दा, पढ्दा, देख्दा हरेक हिसाबमा धर्मसँग जोडिएको देखिने हिजोआज चल्दै गरे यो सोह्रश्राद्ध धार्मिक पक्षसँग मात्र हैन ज्योतिष र विज्ञानका प्रामाणिक प्रविधिसँग पनि गाँसिएको पाइन्छ । हाम्रो सनातन संस्कृतिमा प्रत्येक वर्षको असोजको पूर्वार्द्धमा पर्ने कृष्णपक्षमा वा असोज महिनामा पर्ने औंसीअघिको पन्ध्र दिनको अवधिमा आआफ्ना पितृहरूको स्मृतिमा तिनको मरण तिथि समाती समस्त पितृ र पूर्वजहरूलाई पिण्ड, पानी, सिधा, ब्राह्मण भोजन, अतिथी सत्कार आदि कृत्यहरू सम्पादन गर्ने प्रावधान छ । स्कन्दपुराणको ब्राह्मखण्ड अन्तर्गतको सेतु माहात्म्यमा पितृपक्षको महिमाको उल्लेख छ, जसमा ‘हाम्रा छोरा–नाति हाम्रो तृप्तिका लागि सत्पात्र र ब्राह्मणहरूलाई भोजन गराउँछन् भनी प्रत्येक वर्षको पितृपक्ष आएपछि देवस्वरूप पितृहरू हर्षले नाच्न थाल्छन् र भन्दछन् - हाम्रा सन्ततिले प्रदान गरेको भोजनले गर्दा हामीले अत्यन्त दारूण नरकको क्लेश भोग्नुपर्दैन र जबसम्म सूर्य चन्द्र रहन्छन् हामी स्वर्गमा बस्न पाउँछौं' भनी लेखिएको पाइन्छ ।

ज्योतिष विज्ञान र आधुनिक खगोलशास्त्रले समस्त ब्रह्माण्डलाई बाह्र वटा राशि र सत्ताईस वटा नक्षत्रको चक्रमा विभाजन गरेको छ । सूर्यलाई केन्द्रमा राखी समस्त ग्रहहरूले यस ब्रह्माण्डको परिक्रमा गर्दछन् । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्दै जाँदा यहाँबाट देखिने ब्रह्माण्डका विभिन्न भागमा हामीले सूर्यको उपस्थिति प्राप्त गर्दछौं । यसरी सूर्यको पृष्ठभूमिमा ब्रह्माण्डको जुनजुन भागको दृश्य देखिन्छ, त्यसै आधारमा यस विश्वब्रह्माण्डको वर्ष, ऋतु, मासलगायत समस्त प्रकृतिको सञ्चालन हुने गर्दछ । यसै आधारमा हाम्रा रहनसहन, मौसम, प्रकृति, चाडपर्व र मान्यता सञ्चालित भएका हुन्छन् । यो कुनै धर्म वा समुदाय विशेषमा होइन, सबैमा लागू हुन्छ । चलन र पद्धति फरक हुनसक्छन्, तर ऋतुचक्रमा आउने यो परिवर्तनको अनुभूति सबैले आआफ्ना किसिमले गरिरहेका हुन्छन् । वैशाख महिना वसन्त ऋतुको मध्यकालमा पर्दछ, यस समयमा प्रकृतिको नवीनतम सुषमा र लावण्यको अनुभूति सबैले गर्न पाएका हुन्छन् । नयाँ उमङ्ग र उत्साहका साथमा परिवर्तन हुने प्राकृतिक सौन्दर्यमात्र होइन, पृथ्वीका यावत् चराचर सृष्टिमा वसन्तको छटा यस अवधिमा देख्न पाइन्छ । ज्योतिषशास्त्रले यस समयको सूर्यलाई मेष राशिमा रहेको मान्ने गर्दछ । जसरी दिनको सुरुवातमा मानिसमा उच्च अभिलाषा र आकाङ्क्षा जागृत हुन्छ, त्यसरी यस समयको सूर्यलाई उच्च सूर्य मान्ने गरेको पाइन्छ । ज्योतिषको समयचक्र पनि मेष राशि र अश्विनी नक्षत्रका साथमा सुरु हुन्छ । त्यसपछि सूर्यले हरेक तेह्र वा चौध दिनको अन्तरमा नक्षत्र र हरेक एक महिनाको अन्तरालमा राशि परिवर्तन गर्दछ, जसको प्रभाव मानव जीवनमा पनि पर्ने गर्दछ । पृथ्वीले सूर्यको एक परिक्रमा पूर्ण गर्दा यसले आफ्नै वृत्तमा तीन सय पैंसट्ठी (३६० ?) फन्को मारिसकेको हुन्छ । यसरी ऋतु परिवर्तनको एउटा समयावधि पूर्ण हुन्छ, जसलाई हामी एक वर्ष भएको ठान्दछौं । पृथ्वीलोकमा बस्ने भएकाले हाम्रो जीवनचक्रमा यसका गतिविधिको प्रभाव पर्ने गर्दछ । तर हाम्रा मृत पूर्वजहरू द्युलोकमा निवास गर्दछन् । पितृलोक द्युलोकको दक्षिणी दिशामा अवस्थित छ, त्यसैले पृथ्वीको एक वर्षको अवधिमा सूर्यले आफ्नो वृत्तमा केवल एक फन्को मात्र मारेको हुन्छ । अतः सूर्यका आधारमा त्यो समय त्यहाँका बासिन्दाका लागि केवल एक दिनको समय भयो । अतः मनुष्यहरूको एक वर्ष देवता र पितृहरूको केवल एक दिन हुन्छ भनिएको हो ।

वर्ष दिनको अवधिमा पनि छ महिनाका लागि सूर्यले उत्तरी दिशाको र छ महिनाका लागि दक्षिणी दिशाको यात्रा गरेको देखिन्छ । हामी पृथ्वीको उत्तरी गोलार्द्धमा बस्दछौं, यहाँ सामान्यतया माघदेखि असारसम्म उत्तरायण र साउनदेखि पुससम्म दक्षिणायन भएको देखिन्छ । उत्तर दिशामा देवता (आर्य) हरूको र दक्षिण दिशामा अनार्य (राक्षस, दैत्य र पितृ) हरूको निवास स्थल छ । हामीले गर्ने प्रत्येक कर्मका प्रत्यक्ष साक्षी सूर्य हुन् । त्यसैले हाम्रा प्रत्येक शुभ कर्महरू सूर्यको उपस्थितिमा प्राप्त हुने प्रकाशको मद्दतले दिनको समयमा गर्ने नियम छ । अतः हामीले गरेका कर्मका प्रत्यक्ष साक्षी भएका सूर्यले हाम्रा भोजन वा अन्य वस्तुको रस, रूप र गन्धको आस्वादन स्वतः गरिरहेका हुन्छन् । माघदेखि असारसम्म सूर्यले उत्तरतर्फको यात्रा गर्दा उनी ब्रह्मलोकसम्म पुग्छन्, उनी ब्रह्मलोकमा पुग्ने समय उत्तरायणको मध्यबिन्दूमा पर्ने वैशाख महिना हो । त्यसैले वैशाखका सूर्य (मेष राशिका सूर्य) लाई उच्च मानिएको हो । त्यस्तै साउनदेखि सूर्यको दक्षिणको यात्रा प्रारम्भ हुन्छ र उनी यसको मध्यकालमा पितृलोक हुँदै यमलोक अर्थात् नरकमा पुग्दछन्, उनी नरकमा पुग्ने समय कार्तिक महिना हो । त्यस वेला (तुला राशिमा सूर्य रहेको समयावधि) को सूर्यलाई नीच मानिन्छ । पितृलोक यमलोक नजिकै रहेको छ भन्ने भनाइलाई आधारमान्दा कार्तिकभन्दा ठिक एक महिनाअघि सूर्यले पितृलोकको भ्रमण गरेका हुन्छन, जुन समय असोज महिना हुन्छ । त्यसै कारणले यस सनातन संस्कारमा उत्तरायणमा देवता विशेषका लागि शुभ कर्म र दक्षिणायनमा पितृविशेषका शुभ कर्म गर्ने विधान रही आएको हो । मनुष्यको प्रकृति देवताहरूसँग मिल्दोजुल्दो भएकाले उत्तरायणमा हामी कुनै किसिमको डर, त्रास वा विघ्नद्वारा प्रताडित र सशङ्कित हुँदैनौं तर दक्षिणायनमा सूर्यले दानवलोकको यात्रा गर्ने भएकाले स्वभावतः हामी त्रसित र सशङ्कित हुने समय आइलाग्छ, अतः आशीर्वाद, शक्ति र सामर्थ्य बढाउन पूर्वज (ऋषिकुल र पितृदेवता), प्रकृति (नागदेवता, मातृशक्ति, काग, कुकुर, गाइ, गोरू आदि) र सुखसम्मृद्धि (लक्ष्मी) आदिको आराधना र भक्तिभाव गर्ने गर्दछौं । अब स्पष्ट हुन्छ, सूर्य उत्तरतर्फ गएका बेला उनको र देवताको सामीप्य हुन्छ, अनि दक्षिणतर्फ पुगेका वेला उनको र दैत्य, नाग, पितृ, यमराज आदिको सम्बन्ध कायम हुन्छ ।

सूर्य सौरमण्डलको आत्मा हो र यसविना सौरमंडलको अस्तित्वको सम्भावना छैन अर्थात् जीवनका निम्ति जेजति आवश्यक वस्तुहरू छन् ती सबैमा सूर्यको अधिकार हुन्छ । सूर्यको प्रभावबाट नै पृथ्वीसँग त्यो शक्ति सञ्चित छ जसका कारण वायु र जल पृथ्वीको सतहमा उपलब्ध भएका छन् र हामीलाई भोजन प्रदान गर्ने वनस्पतिसमेत यहाँ अस्तित्ववान् रहेको छ । सूर्य मनुष्य जीवनको मस्तिष्कको कारक ग्रह हो र यसले व्यक्तिको निर्णयक्षमता, सरकारी कामकाज, ऊर्जा उत्पादन, औषधीसित जोडिएका व्यवसाय, वित्तीय कारोबार, अन्नको व्यवसाय, प्रकाश प्रदान गर्ने चिजबिज आदिमा प्रत्यक्ष भूमिका निर्वाह गर्दछ । त्यस्तै चन्द्रमालाई मनको कारक मानिन्छ र यसले मनुष्य जीवनमा बुद्धि, सुगन्ध, आन्तरिक रोग, मानसिक पीडा, महिला, निद्रा, खुसी, तरल पदार्थ, दुग्धजन्य पदार्थ आदिको कारकत्व निर्वाह गरेको हुन्छ । समस्त ब्रह्माण्डमा सूर्यको अधिकार हुन्छ भने नक्षत्रमण्डलमा चन्द्रमाको स्वामित्व रहेको हुन्छ । यस नक्षत्रमण्डलमा सत्ताईस वटा नक्षत्र हुन्छन् । प्रत्येक नक्षत्रका आआफ्ना अधिष्ठाता देवता छन् । सूर्यले प्रत्येक नक्षत्रमा प्रवेश गरेका वेला ती देवताहरू र सूर्यको सामीप्य बढ्दछ । नक्षत्रहरूमध्ये भरिणी नक्षत्रका यमराज, मघा नक्षत्रका पितृदेव, उत्तराफाल्गुनी नक्षत्रका अर्यमा र उत्तराषाढा नक्षत्रका विश्वदेव अधिष्ठाता देवता हुन् । यी चारै जना अधिदेवताको कुनै न कुनै रूपमा पितृहरूसँग सम्बन्ध रहेको पाइन्छ । त्यसैले हुनसक्छ, भरिणीको छेउछाउमा सूर्य र चन्द्रमाको संयोग हुने समय मातातीर्थ औंसी, मघा नक्षत्रको छेउछाउमा सूर्य र चन्द्रको मिलन हुने समय कुसे औंसी, उत्तराफाल्गुनी नक्षत्रका साथमा सूर्य र चन्द्रमाको मिलन हुने समय जमरे औंसी र उत्तराषाढा नक्षत्रको छेउछाउमा सूर्य र चन्द्रमाको भेट हुने समय पौषे औंसी हाम्रा लागि पितृकर्म गर्ने प्रमुख समय बन्न पुगेका हुन् । ती चार जना अधिष्ठाता देवताहरूमध्ये पनि अर्यमा दिव्य पितृहरूका प्रमुख हुन् । त्यसैले सूर्य र अर्यमाको भेट हुने प्रमुख समय आश्विन कृष्ण पक्षमा पर्न जाने देखिन्छ । अतः यो सम्पूर्ण पक्ष नै श्राद्ध कर्मका लागि विशिष्ट पक्ष बन्न गएको हो ।

चन्द्रमा स्वयं प्रकाशमान पिण्ड होइन । सूर्यको सुषुम्णा नामक किरणले चन्द्रमालाई प्रकाशित गराइरहेको हुन्छ । औंसीको दिन यी दुवैको सान्निध्यताको कारण पितृहरूले हामीले दिएका पदार्थ जसरी पाउँछन्, त्यसरी नै सूर्य कन्या राशिमा हुँदा श्राद्ध गर्नु वैज्ञानिक दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ । त्यस्तै मघा नक्षत्र सिंह राशिको क्षेत्रमा पर्ने पहिलो नक्षत्र हो । सिंह राशिलाई राशिचक्रका बाह्र वटा राशिमध्ये सूर्यको आफ्नो राशि मान्ने गरिन्छ, त्यस्तै यस नक्षत्रका अधिष्ठातृ देवता पितृदेवलाई मान्ने गरिन्छ । त्यसैले मघा नक्षत्रसँग सूर्य र पितृ दुबैको प्रत्यक्ष सम्बन्ध छ । हामीले श्राद्धादिमा प्रयोग गर्ने अन्नरसादिमा सूर्यको जति बढी सान्निध्यता हुन्छ, त्यति नै बढी सूर्यले त्यसको शोषण गरी आफ्ना सुषुम्णा नामक किरणका माध्यमले चन्द्रमालाई प्रदान गर्ने हुँदा र पितृलोक चन्द्रमण्डलमा रहेकाले त्यो अन्नरसादिको मात्रा पितृलोकमा चाँडै पुग्ने सम्भावना हुन्छ । त्यसैले मघा नक्षत्रमा गरिएको श्राद्धको श्रद्धा र त्यसमा प्रयोग गरिएका द्रव्यजलादिको पोषकत्व पितृलोकमा झन् छिटो पुग्ने देखिन्छ ।

अब मघा श्राद्ध किन विशिष्ट हो भन्ने प्रसंगमा थोरै श्राद्धको प्रायोगिक पक्षलाई पनि विचार गरौं । श्राद्ध दिवङ्गत भएका मातापिता लगायतको मृत्यु भएको तिथि विशेषमा गर्ने प्रचलन छ । यो तिथि चान्द्रगणनामा आधारित पञ्चाङ्गबमोजिम निर्धारित हुन्छ । शास्त्रमा श्राद्धका अन्य धेरै भेद बताइए पनि एकोद्दिष्ट, एकपार्वण, पार्वण, आभ्युदयिक र तीर्थश्राद्ध सामान्यतः व्यवहारमा परिरहने श्राद्ध हुन् । सनातन धर्मावलम्बी गृहस्थीले दिवङ्गत पितृहरूलाई लक्ष्यित गरी प्रत्येक दिन तर्पण दिने र विभिन्न ९६ अवसरमा एक वर्षमा कम्तीमा ९६ पटक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । ती ९६ किसिमका श्राद्ध निम्नानुसार छन् :-

बाह्र महिनामा पर्ने प्रत्येक औंसीका दिन =                                                  १२ वटा श्राद्ध
सत्य, त्रेता, द्वापर र कलि युगका बेग्लाबेग्लै युगादि तिथि =                             ४ वटा श्राद्ध
चतुर्दश मन्वन्तरका मन्वादि तिथि =                                                           १४ वटा श्राद्ध
प्रत्येक महिनाको संक्रान्तिका दिन वर्षभरिमा =                                          १२ वटा श्राद्ध
प्रत्येक महिनामा पर्ने वैधृति योगका दिन गरिने श्राद्ध वर्षभरिमा =                 १२ वटा श्राद्ध
प्रत्येक महिनामा पर्ने व्यतिपात योगका दिन गरिने श्राद्ध वर्षभरिमा =            १२ वटा श्राद्ध
पितृपक्ष (आश्विन कृष्ण पक्ष, सोह्रश्राद्धमा पर्ने ) =                                        १५ वटा श्राद्ध
अष्टका श्राद्ध =                                                                                          ५ वटा श्राद्ध
अन्वष्टका श्राद्ध =                                                                                      ५ वटा श्राद्ध
पूर्वधू श्राद्ध  =                                                                                           ५ वटा श्राद्ध


यसरी वर्षभरि गर्नुपर्ने श्राद्ध ९६ वटा रहेको भए पनि यिनलाई विधिवत् सम्पादन गर्न कठिनाइ हुने भएकाले केही थोरै श्राद्धलाई गृहस्थीका लागि अनिवार्य मानिएको पाइन्छ । ती श्राद्धमध्ये बाबुपट्टिका तीन पुस्ता बाबु (पिता), बाजे (पितामह), बराजु (प्रपितामह) र आमाहरू तीनपुस्ता आमा(माता), बज्यै (पितामही) र बराज्यै (प्रपितामही) गरी ६ जना पूर्वजहरूको मृत भएको तिथि समातेर गरिने एकोद्दिष्ट श्राद्ध = ६ र महालय सोह्रश्राद्ध अन्तर्गत आश्विन कृष्णपक्ष पितृपक्षमा भएका १५ दिनमध्ये बाबु, बाजे र बराजुमध्ये कुनै एक जनाको तिथि समातेर गरिने महालय श्राद्ध = १ समेत सातवटा श्राद्ध गृहस्थीले गर्नैपर्ने चर्चा विभिन्न निर्णयग्रन्थमा गरिएको पाइन्छ । यद्यपि अहिलेको व्यस्त दिनचर्यामा सरलता ल्याउन हिजोआज पिता र माताको छिन्नेतिथिका दिन गरिने एकोद्दिष्ट श्राद्ध र एक दिन महालय समेत गरी तीनवटा श्राद्ध चाहिं गरिंदै आएको देखिन्छ । यस बाहेक घरमा विवाह, ब्रतबन्ध, पुराणादि ठूलठूला यज्ञयागादि हुनुपूर्व आभ्युदयिक (बृद्धि वा नान्दी) श्राद्ध पनि गर्ने चलन छ । भ्रमण, पर्यटन वा तीर्थाटनका अवसरमा तीर्थमा पुगेर वा पर्व विशेषका तिथि जस्तै मातातीर्थ औंसी, मातृनवमी, कुसे औंसी, पौखे औंसी विशेषमा पनि तीर्थमा पुगेर गरिने श्राद्धको चलन पनि छ । यसरी सनातन परम्परामा आफ्ना पूर्वज र दिवङ्गत पितृहरूलाई किसिमकिसिमका श्राद्धकर्मद्वारा सम्झिने चलन छ र यो अनिवार्य पनि छ, किनकि ये न्यासाद्यपहर्तारो रत्नापह्नवकारकाः। श्राद्धकर्मविहीनाश्च तेषां वंशो न वर्धते (सङ्कल्प गरी दिइएको धनहरण गर्ने व्यक्तिको, रत्न र धातु हरण गर्ने डाकाको र श्राद्धकर्मबाट विहीन व्यक्तिको वंशमा उन्नति प्रगति हुँदैन) भनिएको छ ।

यसरी गरिने श्राद्धका दिनहरूमध्ये मघा नक्षत्रको संयोग पर्यो भने त्यसदिन ब्राह्मणहरू गम्भीर हुने गर्दछन् वा अलि हच्किने चलन पनि छ । मघा नक्षत्र परेको समयमा श्राद्ध गरेमा सन्तानहानि जस्तो अशुभ फल प्राप्त हुने कुरा धर्मशास्त्रका विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । जस्तै :-

मघायां पिण्डदानेन ज्येष्ठपुत्रो विनश्यति ॥

मलमास तत्त्वम्

मघायुक्तत्रयोदश्यां पिण्डनिर्वपणं द्विजः । ससन्तानो नैव कुर्यान्नित्यं ते कवयो विदुः ॥

बृहत्पराशरः

तत्रापि महती पूजा कर्तव्या पितृदेवते । ऋक्षे पिण्डप्रदानन्तु ज्येष्ठपुत्री विवर्जयेत् ॥

देवीभागवत


अतः सन्ततिको विस्तार र उन्नतिको आकाङ्क्षाका साथमा गरिने श्राद्धमा सन्ततिको विनाश हुने भयले मघा श्राद्धलाई हेय दृष्टिले चर्चा गर्ने गरिएको हो । तर महाभारतको अनुशासन पर्वमा स्पष्टसँग लेखिएको छ -

अपि नः स कुले जायाद्यो नो दद्यात्त्रयोदशीम् । मघासु सर्पिषा युक्तं पायसं दक्षिणायने ॥
आजेन वापि लौहेन मघास्वेव यतव्रतः । हस्तिच्छायासु विधिवत्कर्णव्यजनवीजितम्॥

(नियमपूर्वक व्रतको पालना गरेर मघा नक्षत्रमा हात्तीको शरीरको छायाँमा बसेर हात्तीकै कानद्वारा हात्तीको शीतल हावामा अन्नविशेष चामलले बनेको पायस (खीर) अथवा लौहशाकको श्राद्धको अपेक्षा पितृहरूले गर्दछन्) 

ज्योतिषशास्त्रमा र विभिन्न ज्योतिषीय प्रयोगमा समेत मघा श्राद्धको महत्त्व अझ धेरै भएको बताइएको छ । ज्योतिषशास्त्रको प्राचीन मान्यता छ, जुनसुकै मघा नक्षत्रमा गरिएको पुण्यकार्यको फल अत्यधिक हुन्छ, यसबाट जन्मजन्मान्तरदेखि सञ्चित पापराशि र कुलपितृ एवं भूतप्रेतबाधाबाट प्राप्त भएका श्रापको निवृत्ति हुन्छ । मघा नक्षत्रमा गरिएको दान एवं कर्मले पितृहरुलाई लाभ हुन्छ तथा कुल र पितृको आशीर्वाद प्राप्त भई जीवनमा सुख तथा समृद्धिको आगमन हुन्छ । जसको कुण्डलीमा सूर्य नीच घरमा छ (प्रत्येक वर्ष कार्तिक महिनामा जन्मने जातकको कुण्डलीमा सूर्य नीच हुन्छ), सूर्यका साथमा राहु, केतु वा शनिश्चर ग्रह बसेको छ वा सूर्य लग्न, चतुर्थ, अष्टम वा द्वादश भावमा बसेको छ, त्यस्ता जातकले मघा श्राद्ध गरे/गराएमा अल्पायुष्य वा अकाल मृत्युको भय नाश हुनुका साथै तत्तद् अवस्थामा प्राप्त हुने सूर्यको अरिष्ट दोषको निवारण हुन्छ । मघा श्राद्ध एक किसिमको सूर्योपासना हो, त्यसैले कसैको घरमा कोही आफन्त विषपान, आत्महत्या, जल वा अग्निप्रकोप आदि दुर्घटनामा परी मरेका छन् भने त खोजीखोजी कुनै पर्व विशेषमा वा आश्विन कृष्णमा पर्ने  मघा नक्षत्र र कुसे औंसीमा पैतृक कर्म सम्पादन गर्नु अनिवार्य मानिन्छ । कुनै पनि मघा नक्षत्रको संयोग बनाएर द्वादश ज्योतिर्लिङ्गमध्ये एक मानिने त्र्यम्बकेश्वरमा गरिएको त्रिपिण्डी श्राद्धको महत्त्व अझ बढी रहेको बताइन्छ ।

सारांशमा मघा श्राद्ध निकृष्ट वा अधम श्राद्ध होइन, यो एउटा विशिष्ट श्राद्ध नै हो, अनि अनिवार्य अवस्थामा गर्नुपर्ने श्राद्ध परेमा मघा नक्षत्र परेको वेलामा पनि गरेमा कुनै हानिनोक्सानी ब्यहोर्नु पर्दैन पनि । तर काम्यश्राद्ध वा अन्य कुनै ऐच्छिक श्राद्धमा मघा तिथि परेमा श्राद्ध नगर्नु राम्रो हुन्छ । त्यसैले मेरो विचारमा माथिका शास्त्रीय प्रमाणलाई आधार बनाएर भन्ने हो भने मघाश्राद्ध विशेष किसिमको काम्य श्राद्ध हो, हामीले वार्षिक, एकोद्दिष्ट वा महालयादिमा गर्ने श्राद्ध त्यो विशेष मघाश्राद्ध होइन, अतः मघा नक्षत्रले छुनासाथ श्राद्ध रोक्नुपर्छ, गर्नुहुँदैन भन्नु ठिक होइन, अतः तलको अवस्थामा मघा नक्षत्र परेमा पनि सबैले (पुरोहित र श्राद्धकर्ता दुबैपक्षले) श्राद्ध सम्पन्न गरेमा कुनै किसिमको दोषको भागी बन्नुपर्दैन ।

१) माता, पिता वा कुनै व्यक्ति विशेषको मृत्यु भएको तिथिकै दिन मघा तिथि पर्यो भने एकोद्दिष्ट श्राद्ध गर्न मघा तिथिले असर पार्दैन, गरे हुन्छ ।
२) जुठोसूतकले कुनै श्राद्ध रोकिएको छ र सूतकान्त श्राद्ध गर्ने दिन मघा नक्षत्र रहेछ भने त्यस्तो श्राद्ध गर्दा मघा तिथिले असर पार्दैन, गरे हुन्छ ।
३) कुनै विशेष पर्व विशेष कुसेऔंसी आदिमा वा अन्य कुनै विशेष पर्व समातेर तीर्थमा गएर गरिने तीर्थश्राद्धका दिन मघा नक्षत्र परेको रहेछ भने श्राद्ध गर्दा मघा तिथिको संयोग पर्यो भने अझ उत्कृष्ट फलप्राप्ति हुन्छ, त्यसले कुनै असर पार्दैन ।
४) महालय श्राद्धमा सामान्यतया द्वादशी, त्रयोदशी र यदाकदा चतुर्दशी श्राद्धको समयमा मघा तिथिको संयोग जुर्दछ, तपार्इंले पिता, पितामह (बाजे) वा प्रपितामह (बराजु) को निश्चित तिथि समातेर नियमित ढंगले श्राद्ध गर्दै आउनु भएको छ र कुनै वर्ष मघा नक्षत्र पर्दछ भने तपार्इंले श्राद्ध गर्दा कुनै दोषको भागी बन्नु पर्दैन ।
५) तपाईंले संयोगवश आफ्नो जेठो छोरोको शोक व्यहोरिसक्नु भएको छ भने अब जुनसुकै मघा श्राद्ध गर्न बाधा छैन । अस्तु ।।

Oct 3, 2017

दिवङ्गत आमाहरूको श्रद्धा र सम्झना गर्ने दिन मातृनवमी (असोज १७ गते) - Matri Navami Shraddha


हाम्रो सनातन हिन्दू संस्कृतिमा जीवनचर्याका प्रत्येक कामका लागि विभिन्न चाडपर्वले प्रेरणा प्रदान गर्ने गरेको देख्न पाइन्छ । जस्तै माता, पिता तथा आफ्ना पुर्खा र पूर्वजको श्रद्धा र सम्मानका लागि हिजोआज पितृपक्ष (सोह्रश्राद्ध) पर्व जारी छ, यतिवेला तर्पण र श्राद्ध गरी पितृ र कुलका अग्रजहरूको आराधना गरिंदैछ र तिनको आशीष र प्रसन्नताबाट सुन्दर भविष्यका लागि प्रार्थना र वन्दना हुँदैछ । अहिले घरघरमा श्राद्धको आयोजना भइरहेको छ, त्यस्तै खोलाखोल्सा, तलाउ, मठमन्दिर जताजतै श्राद्ध गर्नेको उपस्थिति देख्न सकिन्छ । पितृपक्षमा हाम्रा पूर्वज पुरुषहरूमात्र होइन, हाम्रा आमाहजुरामाहरूको पनि उत्तिकै आदर र भक्तिभावका साथमा पूजा भइरहेको अवस्था छ । मातृशक्ति र प्रकृतिको उत्कृष्ट अनुसरण हाम्रा प्रत्येक चाडपर्व र संस्कारले द्योतन गरेको पाइन्छ । मातृदेवो भव भन्दै आमालाई पनि हामी देवताको दर्जामा राखी श्रद्धा र भक्तिभाव प्रकट गर्ने गर्दछौं । आज आश्विन कृष्णपक्षको नवमी तिथि हो । यो तिथि आमाको सम्झनाका लागि विशिष्ट तिथि हो । यस तिथिलाई मातृनवमी भन्ने गरिन्छ ।

पितृपक्षको नवमी तिथिको ठूलो महत्त्व छ । सनातन धर्ममा पूर्वजहरूको श्रद्धा, भक्तिभाव र सम्मानका निमित्त पूरै पन्ध्र दिनको एउटा पक्षको व्यवस्था गरिएको छ । सोह्र दिनसम्म गरिने श्राद्धमा सबै तिथिहरू समाहित हुन्छन्, हाम्रा पितापुर्खाहरू जो जो जुनजुन तिथि समातेर बित्नु भएको छ, ती ती तिथिहरू यस पक्षमा आउने गर्दछन् र हामीले तिनको सम्झना र आदरका निमित्त क्षमताले भ्याएसम्म तर्पण, सिधादान, ब्राह्मणभोजन र श्राद्धादि कर्म गर्ने गर्दछौं । यसरी नै यस पक्षभित्र स्त्रीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको देख्न पाइन्छ । सोह्रश्राद्धमा पर्ने नवमी तिथि यसैको नमूना हो, जसलाई मातृ नवमी भन्ने गरिन्छ ।

मातृ नवमीका दिन खासगरी बुहारीहरूले आफ्ना दिवङ्गत सासु र ससुराको स्मरण र सम्मानका लागि श्रद्धाञ्जली समर्पण गर्न सिधादान र ब्राह्मण भोजन गराउने गर्दछन् । त्यस्तै अविधवा अर्थात् पति ज्युँदै हुँदा परलोक भएका महिलाहरूको श्राद्ध पनि यसै नवमीका दिन गर्ने चलन छ । अतः पिता जीवित नै हुनुहुन्छ, तर आमाको देहावसान भएको छ भने तिनका सन्ततिले अनिवार्य रूपमा यस दिन श्राद्ध गर्नुपर्दछ । त्यस्तै आफ्ना कुलमा दिवङ्गत भएका समस्त महिलाहरू (आमाहरू) को श्राद्ध पनि यसै दिन गर्ने चलन छ ।

आश्विन महिनाको कृष्ण पक्षको नवमी तिथिका दिन कुनै पनि नवमी तिथि समातेर परलोक भएका पितृहरूको प्रसन्नताका निमित्त नवमी श्राद्ध गर्ने गरिन्छ । यद्यपि यो तिथि आमा र आमासरहका पूर्वज विवाहित महिलाहरूको श्राद्धका लागि सर्वश्रेष्ठ दिन पनि हो । त्यसैले मूलरूपमा यो तिथि आमाका लागि छुट्याइएको तिथि हो भन्दा अत्युक्ति हुँदैन । शास्त्रले नवमीमा मातृश्राद्ध गरेमा श्राद्धकर्ताले धनसम्पत्ति, ऐश्वर्य र दीर्घ जीवन प्राप्त गर्ने बताएको छ । यस दिन आफ्ना दिवङ्गत सासु/ससुराको श्रद्धाका निमित्त सिधा र दक्षिणा प्रदान गरी ब्राह्मणभोजन गराउने स्त्रीले अखण्ड सौभाग्य र दीर्घजीवन प्राप्त गर्दछन् भनी विष्णुपुराण श्राद्धप्रसङ्गमा उल्लेख गरिएको छ ।

विष्णु पुराणको निर्देशनअनुसार नवमीको दिन सामर्थ्यअनुसार कम्तीमा एक जना सौभाग्यवती ब्राह्मणीका साथमा ब्राह्मण भोजन गराउनु उचित हुन्छ । यस दिन सर्वप्रथम नित्यकर्मबाट निवृत्त भई धारा, पधेंरा वा कुनै नदी/तलाउमा गई दक्षिण फर्केर तामाको पात्रमा कुस, तिल र शुद्ध जल मिसाई उक्त जलले आफ्ना दिवङ्गत पितापुर्खाहरूलाई अञ्जुलीले तर्पण दिनु पर्दछ । त्यसपछि घरमा आई मृत मातापिता वा अन्य पूर्वजहरूको प्रतिमा वा चित्रमा तुलसीको माला पहिर्याउनु पर्दछ । त्यसपछि श्राद्ध गर्ने हो भने ब्राह्मण डाकी विधिवत श्राद्ध गरी ब्राह्मणभोजन गराएपछि आफूले पनि भोजन गर्नुपर्दछ । श्राद्ध नगर्ने भए गीताको नवौं अध्यायको पाठ गरी वा श्रवण गरी ब्राह्मणलाई सीधा दिई भोजन ग्रहण गर्नु पर्दछ । घरपरिवारभन्दा टाढा वैदेशिक स्थलमा बस्नुभएका आमा नहुने व्यक्तिले पनि गीताको नवौं अध्यायको एक आवृत्ति पाठ गरेमा दिवङ्गत आमाको आत्माले मुक्ति प्राप्त गर्नुका साथै उनको सहानुभूति, आशीर्वाद र स्नेह प्राप्त गर्न सकिन्छ । अस्तु ।

श्रीमद्भगवद्गीता नवमोध्यायः (मूलपाठ)


श्रीभगवानुवाच –
इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे ।
ज्ञानं विज्ञानसहितं यज्‍ज्ञात्वा मोक्ष्यसेऽशुभात् ॥ १ ॥
राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम् ।
प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम् ॥ २ ॥
अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परन्तप ।
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि ॥ ३ ॥
मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना ।
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः ॥ ४ ॥
न च मत्स्थानि भूतानि पश्य मे योगमैश्वरम् ।
भूतभृन्न च भूतस्थो ममात्मा भूतभावनः ॥ ५ ॥
यथाकाशस्थितो नित्यं वायुः सर्वत्रगो महान् ।
तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय ॥ ६ ॥
सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम् ।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् ॥ ७ ॥
प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः ।
भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् ॥ ८ ॥
न च मां तानि कर्माणि निबध्नन्ति धनञ्जय ।
उदासीनवदासीनमसक्तं तेषु कर्मसु ॥ ९ ॥
मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते ॥ १० ॥
अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् ।
परं भावमजानन्तो मम भूतमहेश्वरम् ॥ ११ ॥
मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतसः ।
राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिताः ॥ १२ ॥
महात्मानस्तु मां पार्थ दैवीं प्रकृतिमाश्रिताः ।
भजन्त्यनन्यमनसो ज्ञात्वा भूतादिमव्ययम् ॥ १३ ॥
सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रताः ।
नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते ॥ १४ ॥
ज्ञानयज्ञेन चाप्यन्ये यजन्तो मामुपासते ।
एकत्वेन पृथक्त्वेन बहुधा विश्वतोमुखम् ॥ १५ ॥
अहं क्रतुरहं यज्ञः स्वधाहमहमौषधम् ।
मन्त्रोऽहमहमेवाज्यमहमग्निरहं हुतम् ॥ १६ ॥
पिताहमस्य जगतो माता धाता पितामहः ।
वेद्यं पवित्रमोङ्कार ऋक्साम यजुरेव च ॥ १७ ॥
गतिर्भर्ता प्रभुः साक्षी निवासः शरणं सुहृत् ।
प्रभवः प्रलयः स्थानं निधानं बीजमव्ययम् ॥ १८ ॥
तपाम्यहमहं वर्षं निगृह्णाम्युत्सृजामि च ।
अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन ॥ १९ ॥
त्रैविद्या मां सोमपाः पूतपापा
यज्ञैरिष्ट्वा स्वर्गतिं प्रार्थयन्ते ।
ते पुण्यमासाद्य सुरेन्द्रलोक-
मश्नन्ति दिव्यान्दिवि देवभोगान् ॥ २० ॥
ते तं भुक्त्वा स्वर्गलोकं विशालं
क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति ।
एवं त्रयीधर्ममनुप्रपन्ना
गतागतं कामकामा लभन्ते ॥ २१ ॥
अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते ।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम् ॥ २२ ॥
येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः ।
तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ॥ २३ ॥
अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च ।
न तु मामभिजानन्ति तत्त्वेनातश्च्यवन्ति ते ॥ २४ ॥
यान्ति देवव्रता देवान्पितॄन्यान्ति पितृव्रताः ।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम् ॥ २५ ॥
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ॥ २६ ॥
यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत् ।
यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम् ॥ २७ ॥
शुभाशुभफलैरेवं मोक्ष्यसे कर्मबन्धनैः ।
सन्न्यासयोगयुक्तात्मा विमुक्तो मामुपैष्यसि ॥ २८ ॥
समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः ।
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ॥ २९ ॥
अपि चेत्सुदुराचारो भजते मामनन्यभाक् ।
साधुरेव स मन्तव्यः सम्यग्व्यवसितो हि सः ॥ ३० ॥
क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति ।
कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति ॥ ३१ ॥
मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनयः ।
स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम् ॥ ३२ ॥
किं पुनर्ब्राह्मणाः पुण्या भक्ता राजर्षयस्तथा ।
अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम् ॥ ३३ ॥
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः ॥ ३४ ॥


इति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे राजविद्याराजगुह्ययोगो नाम नवमोऽध्यायः ॥ ९ ॥

Sep 29, 2017

पितृकर्म अर्थात् श्राद्ध - प्रत्येक देश, हरेक धर्म, सम्प्रदाय अनि जातमा हुने गर्दछ, तरिकामात्र फरक हो .......

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च ।


सनातन हिन्दू संस्कृतिमा जसको जन्म हुन्छ, उसको मृत्यु र जसको मृत्यु हुन्छ, उसको जन्मपनि निश्चित हुँदै सांसारिक प्रक्रिया निरन्तर चलि रहन्छ भन्ने मान्यता छ । यस जन्म र मरणको चक्रमा नछिर्नु भनेको नै मोक्ष हो । हामीकहाँ हाम्रा मृत्यु भएका आफन्त वा नरनाताका व्यक्तिहरूको परम्परादेखि चलिआएका विधि र चलनअनुसार दशगात्र कर्म नगर्दा, पूर्वजहरुलाई नसम्झिंदा, वार्षिक तिथिमा श्राद्ध नगरिदिंदा घरपरिवार र वंशमा अशान्ति , उपद्रव , वंशवृद्धिमा अवरोध, रोगव्याधि, आकस्मिक दुर्घटना, निरन्तर सङ्कटप्रद परिस्थिति आदि परिरहन्छन् भन्ने मान्यता पनि छ । हिन्दू धर्मशास्त्रका विभिन्न धर्मग्रन्थमा यिनै विषयवस्तुको पुष्टि भएको छ । मृतकको मरणतिथि (छिन्नेतिथि) मा वा पितृपक्षमा पर्ने आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्म सूर्य कन्या राशिमा भएको अवस्थामा आफ्ना समस्त पितृको श्राद्ध गर्नाले उनीहरू मुक्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । श्राद्ध गर्दा पितृको कल्याणमात्र हुँदैन, श्राद्ध गर्ने सन्तानले पनि उनीहरूको आशीर्वादबाट कल्याण प्राप्त गर्छन्, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने वर्णन विभिन्न धर्मग्रन्थ र पुराणमा उल्लेख गरिएको छ । श्रद्धया दीयते यस्मात् श्राद्धं तेन निगद्यते अर्थात् श्रद्धापूर्वक गरिएको दानादि नै श्राद्ध हो । हिन्दू पद्धतिमा प्रचलित तर्पण, पिण्डदान, ब्राह्मणभोजनादि नै सम्पादन गरेर हामीले जसरी नै श्राद्ध नगरे पनि संसारका प्रायः सबै भूभागमा बसोबास गर्ने जुनसुकै समुदायका मानिसहरूले आफ्ना मृतपूर्वजहरूको स्मरणमा कुनै न कुनै श्रद्धाभाव व्यक्त गरेर तिनको वात्सल्य, मायाममता, गुण र धर्मको अनुसरण गर्ने गर्दछन् अर्थात् श्रद्धापूर्वक मृतकलाई उद्देश्य गरेर गरिने कृत्यविशेष प्रायः सबै धर्म र समुदायका व्यक्तिहरूले सम्पादन गर्ने गर्दछन् । त्यसैले भिन्नभिन्न देशमा फरकफरक संस्कृतिको अनुसरण गरी जीवनयापन गरे पनि मृत्युपछि मृतकका निम्ति जुन कर्म सम्पादन हुन्छ, त्यो श्राद्ध नै हो । यस आलेखमा सनातन संस्कृतिभन्दा भिन्न अन्य धर्म, सम्प्रदाय र स्थानका व्यक्तिहरूले पनि केकसरी आफ्ना मृतपितृहरूको सम्मानमा श्रद्धाभाव व्यक्त गर्दा रहेछन् भन्ने विषयमा चर्चा गरिएको छ ।

बौद्ध संस्कृतिमा प्रचलित श्राद्ध

बौद्ध मतानुयायीहरूको नेपाल र भारतबाहेक लङ्का, वर्मा, थाइल्याण्ड, कम्बोडिया, लाओस, तिब्बत, मङ्गोलिया, जापान, चीन आदि देशहरूमा  बाक्लो उपस्थिति छ । बौद्ध मतमा पनि हीनयान र महायान दुई भेद छन् । हीनयान सम्प्रदायका क्रमशः श्रावक, प्रत्येक बुद्ध र सम्यक् सम्बुद्ध गरी तीन वटा मार्ग छन् भने महायान सम्प्रदाय चाहिं केवल सम्यक् सम्बुद्ध मार्गको पोषक हो । हीनयान समुदायका बौद्धहरू लङ्का, वर्मा, थाइल्याण्ड, कम्बोडिया एवं लाओस आदि देशमा बस्छन् भने तिब्बत, मङ्गोलिया, चीन, भियतनाम आदि क्षेत्रमा महायानीहरूको बसोबास छ । बौद्धहरू आत्मालाई अनित्य मान्छन् अर्थात् बुद्धले अवयवीलाई मान्दैनन् । धर्मसमुच्चयलाई मान्छन् । जस्तै घडा परमाणुको अवयवी होइन धर्मसमुच्चय हो (अवयव समुच्चय) । आत्मालाई अनित्य माने पनि लङ्कादि प्रदेशमा कसैको मरण भएमा मरण दिनदेखि दुई दिनपछि अथवा सात दिनपछि मृतकलाई भुइँमा गाडेर त्यसमाथि स्तूप बनाउँछन् । मरणपछि सात दिनमा अथवा तीन महिनामा मरण तिथिमा बन्धुहरूलाई भोज दिने, दान गर्ने र धर्मग्रन्थ त्रिपिटकका केही अंशहरू पाठ गरेर मरणोत्सव मनाउँछन् ।

जैन संस्कृतिमा श्राद्ध

महावीर स्वामी जीन (ज्ञानी) भनिन्छन्, त्यस मतलाई अवलम्बन गर्नेलाई जैन भनिन्छ । जैन मतको स्याद्वाद अनुसार अवस्था भेदले आत्मा नित्य र अनित्य दुबै छ । नश्वर देह मनुष्यादिमा भएको आत्मा अनित्य र देवताहरूमा विद्यमान आत्मा नित्य र अमर हुन्छ । मरणपछि जैनीहरूको आशौचादि क्रिया जैनमतानुसार र जैनबाहेक गृहस्थीका अनुसार दुबै प्रकारले सम्पन्न हुन्छ । यस मतमा १२ दिनपछि १३ दिनका दिन केवल बन्धुबान्धवादिलाई भोजन गराउने क्रिया हुन्छ । १२ दिनसम्म अरु कुनै क्रिया हुँदैन । जैनेतर गृहस्थी मतमा त पिण्डादि श्राद्धक्रिया सबै हुन्छ । अतः आत्मा नित्य र अनित्य दुबै पक्ष मान्ने जैन मतमा पनि श्राद्ध हुन्छ नै ।


शिख धर्ममा श्राद्ध

शिख धर्ममा आत्मा नित्य, अमर, व्यापक र आत्माबाट नै जगतको उत्पत्ति हुन्छ । नानकका वचनानुसार आत्माको पुनर्जन्म हुन्छ । जगदीश जगतमा छ, जगत् जगदीशमा । शिख धर्मको धर्मग्रन्थ गुरुग्रन्थसाहेब हो । यस सम्प्रदायमा कसैको मरणपछि मृतकदेखि केही टाढा वा नजिकमा नै बसेर सुखमनी ग्रन्थको पाठ गरिन्छ । शव दाह गरेपछि मनुष्यहरू घरमा आएर प्रार्थना गर्ने र प्रसाद ग्रहण गर्ने गर्छन् । मरण दिनदेखि १३ दिनसम्ममा गुरुग्रन्थसाहेबको पूरा पाठ हुन्छ । पाठपछि 'हे गुरु नानकजी यो छुटेर गएको आत्मालाई आफ्नो चरणकमलमा निवास दिनुहोस् एवं हामीहरूलाई शान्ति र शक्ति दिनुहोस्' भनेर प्रार्थना गर्छन् । मरण दिनदेखि प्रत्येक महिनामा, वार्षिक तिथिमा मृतकलाई सम्झन्छन् एवं भोज खाने र खुवाउने गर्दछन् । आत्मालाई नित्य मान्ने शिख सम्प्रदायकाहरूले उपरोक्त तरिकाबाट श्राद्ध गर्दछन् ।

इस्लाम (मुस्लिम) धर्ममा श्राद्ध

मुस्लिम धर्ममा सुन्नी र सिया गरी दुई सम्प्रदाय छन् । अति दुःख हुँदा सुन्नी सम्प्रदायले मुहर्रमको समयमा रुने र हातले छाती पिट्ने गर्दछन्, तर सिया सम्प्रदाय अति दुःखमा पनि स्तब्ध भएर शान्त रूपमा रहन्छन् । सियामा पनि कहिलेकाहीं अति दुःखमा रुन्छन् । दुबै सम्प्रदायले इस्लाम धर्म मान्दछन् । यी दुबै सम्प्रदायका अनुयायीहरूले मरणपछि मृतकको शवलाई भुईंमा गाडेर माटोले छोपिदिन्छन् । माटोले मृतकलाई ढाकेको त्यो ठाउँलाई कब्र भनिन्छ । माटोले पुरेपछि दुबै सम्प्रदायले मृतकलाई आशीर्वाद (सबाब) मिलोस् एवं जीवित र उसका वंशलाई सुख मिलोस् भनेर प्रार्थना गर्छन् । यसभन्दा बढी सियासम्प्रदायले अरु केही क्रिया गर्दैनन् ।

सुन्नी सम्प्रदायले शबलाई पुरेपछि तीजा कर्म गर्छन् । तेस्रो दिन वा चौथो दिनमा दीनदुःखीहरूलाई यथेष्ट भोजन गराउँछन् र आफ्नो वंशकालाई पनि खुवाउँछन् । त्यसपछि केही मानिसहरूले मृतकलाई कुरान खानी कर्मको आशीर्वाद मिलोस् भनेर कुरान खानी कर्म अर्थात् कुरान ग्रन्थका तीस खण्डहरूमध्ये केही खण्डहरूको पाठ गर्दछन् । चालीस दिनमा या चालीस दिनको बीचमा चालीसौं कर्म गर्न पुरोहित (हाफिज) आएर कब्रको नजीक अथवा घरमा कुरान पाठ गर्छ । पुरोहितलाई दक्षिणा पनि दिइन्छ । बकरीद पर्व पहिले अरफा कर्म जसमा दिनदुःखी र घरका सदस्यहरूलाई यवागू आदि दिन्छन् । यसरी मृतक परेका पितृहरूसँग मिलेको जानेर खुसी हुन्छन् ।

इस्लाम धर्मअन्तर्गतकै यवन संस्कृतिमा फकिर/पीर (साधु) हरूको मरणपछि वर्ष दिनमा वार्षिक कर्म 'उर्स' हुन्छ । यवनहरू पनि आत्मालाई नित्य मान्छन् । मरणपछि जीवात्मालाई सन्तुष्ट गर्न उनीहरूले गरेको कर्मबाट यवन मतमा पनि श्राद्ध गरिन्छ नै भन्ने ज्ञान हुन्छ । श्रद्धाले दानभोजनादि दिने र धर्मग्रन्थ पाठ गरिने भएकाले मुस्लिम र यवन सम्प्रदायमा प्रचलित यी कर्म पनि श्राद्ध नै हुन् ।

क्रिश्चियन धर्ममा श्राद्ध

क्रिश्चियनहरू मरणपछि शवलाई स्नान गराउँछन्, त्यसपछि सेतो कोट र पेन्ट आदि लगाएर केश काँटछाट गरेपछि भुईंमा राखेर त्यस शवलाई आफन्त र इष्टमित्रले शिरदेखि पाउसम्म कपडाले ढाकिदिन्छन् । त्यसपछि पुरोहित (पादरी) ले ईश प्रार्थना गरेपछि त्यस शवलाई काठको बाकस (कोफिन) मा राख्छन् । विवाहित मरेमा बाकसभित्र सेतो कपडा बिच्छ्याउँछन् र बाहिर कालो वस्त्र राख्छन् । अविवाहित मरेको खण्डमा बाकसको भित्र र बाहिर दुबै भागमा सेतो कपडाले ढाक्छन् । सेतो कपडाले ढाकेको बक्सबाट सांसारिक प्रपञ्चबाट मुक्त पवित्र मानिस हो भन्ने थाहा हुन्छ । श्मशानघरतिर शब लैजाँदा त्यस शवको अगाडि सेतो कपडा पहिरेको बाहिरबाट कालो कपडा सहितको पादरी (पुरोहित) जान्छ । उच्चकुलको अथवा भक्त मरेको भए शवलाई बाकसमा राखी यथास्थानमा बसेपछि पुरोहित उठेर ईशप्रार्थनाको आधा भाग पढेपछि श्मशान घाटमा जान्छन् । त्यहाँ पुगेर बाँकी रहेको आधा भाग पाठ पादरीले पढ्छ । त्यसपछि शवलाई भुईंमा (खाडलमा) राखिदिन्छन् र त्यहीं नै एउटा कागजमा मरेकाको नाम, उमेर, उसले गरेका सेवादि कर्म, श्मशानस्थान र चिहान परिचय सबै लेखिन्छ । त्यसपछि अरू कर्म केही पनि गर्दैनन् । क्रिश्चियन मतमा आत्मा अनित्य भए पनि मुर्दा सजाउने र प्रार्थनादि गर्ने कामबाट उनीहरूले पनि कुनै न कुनै ढंगले श्राद्ध गर्छन् भन्ने कुरा थाहा पाउन सकिन्छ ।

माथि धर्म र सम्प्रदायगत ढंगले केकसरी मृतकका नाममा श्रद्धाभाव व्यक्त हुन्छ भन्ने विषयमा चर्चा गरियो । यसबाहेक ठाउँ र देशअनुसार पनि श्राद्धका केही कर्महरू सम्पादन हुने गरेको प्रसङ्ग उल्लेख गरिन्छ ।

१) जर्मनी - आधुनिक देश जर्मनीमा प्रतिवर्ष २१ अक्टुबरमा मृतात्मा दिवस मनाइन्छ । यस दिन सम्पूर्ण चिहान क्षेत्र सफा गरी त्यहाँको जमिनमा कोइलाको धूलो छरी त्यसमाथि रातो रङ्गले विभिन्न चित्रहरू बनाइन्छन् । यस दिन व्यक्तिको मृतात्मा त्यहाँ आउँछ भन्ने मानिन्छ । प्रत्येक चिहानमा मृतात्माको तुष्टिका लागि केक तथा फूलका माला राखिदिन्छन् । नगरका प्रत्येक गृहस्थीको घरमा भोजनले परिपूर्ण एउटा थाल गिर्जाघरको वेदीमा अनिवार्य रूपले राख्नुपर्छ । यसो गर्नाले त्यो भोजन मृतात्माहरूसँग पुग्छ र उनी सन्तुष्ट हुन्छन् भन्ने मान्यता छ ।

२) अमेरिका - अमेरिकाका रेडइन्डियन समुदायमा मृतात्माहरूको शान्तिको समारोह फरवरी महिनामा मनाइन्छ । हाम्रो श्राद्ध पक्ष झैं उनीहरूको यो समारोह कैयौं दिनसम्म चल्छ र समारोहको समयमा मदिरापान, मासु तथा तमाखु आदिको सेवन पनि निषिद्ध हुन्छ । यी दिनमा एक गाउँका निवासीले सामूहिक रूपले अर्को गाउँका निवासीहरूलाई भोजनका लागि निमन्त्रणा गर्दछन् । उनीहरूको धारणामा निमन्त्रित पाहुनाहरू मृतकका प्रतिनिधि हुन्छन् । आमन्त्रित गाउँलेहरू रङ्गीबिरङ्गी कपडा लगाएर  निम्ता गर्ने गाउँमा पुग्दा त्यहाँका गाउँलेहरूले अङ्गालो मारेर रुँदैरुँदै उनीहरूको स्वागत गरेपछि खानपिन र नाचगानको कार्यक्रम राति अवेरसम्म चलिरहन्छ ।

३) जापान - जापानमा मृतात्मा पर्व प्रतिवर्ष अगस्त महिनामा लगातार तीन दिनसम्म हुन्छ । त्यतिवेला लामालामा बाँसमा झलल बल्ने अनेक रङ्गका बत्तीहरू झुण्ड्याएर पूरै शहर हामीहरूको तिहारमा सिंगारे जसरी नै सजाइन्छ । चौथो दिन मृतात्मालाई विदा गर्ने दिन हुँदा घरका सबै झ्याल र ढोकाहरू खोलिदिन्छन् । यसो गर्नुको तात्पर्य घरमा भित्रिएका वा बसेका मृतात्माहरू बाहिर जान सकून् भन्ने उद्देश्य हो । मायामोहले यदि कुनै मृतात्मा घरमा लुकिबसेको भए त्यसलाई भगाउन घरमा जताततै यहाँसम्म कि स्नान घर वा शौचालयहरूमा पनि लौरो घुमाउँछन् । अन्तिम चरणमा शहरमा सबै निवासीले एक जुलुस निकालेर ती अतिथि आत्माहरूलाई शहरदेखि बाहिर पुर्याएर घर फर्कन्छन् ।

४) फ्रान्स - फ्रान्समा नोभेम्बर महिनाको मध्यमा 'अलओल्ड सोल्स डे' अर्थात् सबै पुराना मृतात्माहरूको दिन भनी मनाउने चलन छ । यस दिन चर्चमा मृतात्माहरूका लागि विशेष प्रार्थना सम्पादन गरिन्छ ।

५) अफ्रिका - अफ्रिका महाद्वीपमा बसोबास गर्ने एउटा जाति छ - दहोमन । दहोमन जातिद्वारा प्रतिवर्ष अप्रिल महिनामा मृतात्मा दिवस मनाइन्छ । उक्त अवसरमा यस जातिका मानिसहरू आपसमा (परस्पर) प्रसादको रूपमा जौको मदिरा एकअर्कालाई उपहारका रूपमा दिन्छन् र एउटा भाँडोमा भरेर त्यही मदिरा मृतकको चिहानमा लगेर दुई दिनसम्म राखिदिन्छन् । तेस्रो दिन घरका सबै मानिस त्यस चिहानमा गएर त्यो मदिरा भएको भाँडो घर ल्याउँछन्, अनि सबै मानिसहरूले उक्त भाँडोमा भएको मदिरा पान गरी नाचगान गर्दछन् ।

६) सिसली - सिसलीमा मृतात्मा दिवसका दिन आमाबाबुले घरका साना केटाकेटीहरूलाई गोप्य रूपमा उपहार दिन्छन् । ती आमाबाबुले घरका कसैलाई पनि थाहा नदिईकन बजारबाट खेलौना ल्याउँछन् र केटाकेटीसँग भन्छन् कि आज राति हजुरबा, हजुरामाले तिमीहरूलाई उपहार ल्याइदिन्छन् । केटाकेटी सुतेपछि ती गोप्यरूपमा ल्याइएका खेलौना उनीहरूको सिरानमा राखिदिन्छन् । बिहान उठेर सिरानका खेलौना देख्दा केटाकेटीहरूले हजुरबा, हजुरामाले खेलौना ल्याइदिएको सम्झन्छन् ।

७) युरोप - इङ्गल्याण्ड, इटली र स्कटल्याण्डमा पनि प्रतिवर्ष नोभेम्बर महिना 'सोल्स इभेनिङ' अर्थात् मृतात्माहरूको सन्ध्या दिवस मनाइन्छ ।

८) सुम्बाद्वीप - सुम्बाद्वीपमा जनवरीमा मृतात्माहरूको पर्व दिनमा मानिसहरूले आफ्ना पूर्वजहरूको चिहानमा भोजको आयोजना गर्दछन् र उक्त अवसरमा आफ्ना मित्र तथा सम्बन्धीहरूलाई निमन्त्रणा गर्दछन् ।

९) हङकङ - प्रतिवर्ष चाइनिज नयाँ वर्षका दिन अर्थात् फरवरीको आरम्भमा हङकङका चाइनिजहरूले आफ्ना मृतकहरूको चिहानलाई राम्रोसँग सफा गरेर विभिन्न परिकारका स्वादिष्ट खानाहरू अर्पण गर्दछन् । अगरबत्ती एवं कपूर जलाई पितृहरूको सम्मान गर्छन् ।

अतः श्रद्धापूर्वक मृतकलाई उद्देश्य गरेर जे गरिन्छ, त्यो श्राद्ध भन्ने श्राद्धको परिभाषा अनुसार जहाँ, जसरी र जस्तो प्रक्रियाले गरे पनि माथि वर्णन गरिएका यी प्रक्रियाहरू श्राद्ध नै हुन् ।

स्रोत : श्राद्धविधि: (प्रकाशक - तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय)

Sep 25, 2017

श्राद्धमा के गर्ने र के नगर्ने ?

सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी ।
धनपुत्रा : कुतस्तस्य पितृनिश्वास पीडनात् ।।


असोज ०९ गते अर्थात् मङ्गलवारदेखि २०७५ सालको सोह्र श्राद्ध सुरु भइसकेको छ । चान्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भन्ने गरिन्छ । वास्तवमा एउटा पक्षमा १५ वटा तिथिमात्र हुन्छन्, तर कसैले भाद्र पूर्णिमाको दिनलाई र कसैले आश्विन शुक्ल प्रतिपदालाई समेत जोडी १६ को सङ्ख्या पुर्याउने गर्दछन् । औँसी र पूर्णिमा पन्ध्रौं क्रममा आउने तिथि भए पनि यी दुबै बेग्लाबेग्लै हुन् भन्ने मान्यता रहेकाले तिथिको सङ्ख्या पनि १६ नै हुन्छ, त्यसैले यसलाई सोह्रश्राद्ध भनिएको हो । सोह्रश्राद्धमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

जीवन र मृत्युको शाश्वत सत्यलाई स्वीकार गरी हाम्रो सनातन धर्मले र यस अन्तर्गत निहीत दर्शनशास्त्रले जसको जन्म हुन्छ, उसको मृत्यु र जसको मृत्यु हुन्छ, उसको जन्म पनि निश्चित हुन्छ अनि यो सांसारिक चक्र निरन्तर चलिरहन्छ भन्ने मान्यता बोकेको देखिन्छ । कुनै प्राणिले यस जन्म र मृत्युको प्रक्रियामा नआउनु भनेको उसले मोक्ष प्राप्त गर्नु हो । हाम्रो सनातन संस्कारमा घरपरिवारका कुनै व्यक्तिको मृत्यु भएमा ती मृतात्माको परम्परा र विधिविधानको पालना गरी श्राद्धादि दशगात्र कर्म सम्पन्न नगरेमा वा आफ्ना मृत पूर्वजहरूको स्मरण नगरेमा तथा वर्षैपिच्छे आउने तिनको पुण्यतिथिमा श्राद्धादि कर्म नगर्दा उसका सन्तति र वंशजले अशान्ति, वंशवृद्धिमा बाधा, रोगव्याधिको जोखिम, स्वास्थ्य, धन, सुखसयल आदिमा अनायासै सङ्कट ब्यहोर्नु पर्दछ भन्ने मान्यता छ । हाम्रा संस्कृति र परम्पराले मात्र होइन, सनातन धर्ममा श्रुति-स्मृति-पुराणादि शास्त्रले पनि प्रकारान्तरले यसै कुरालाई पुष्टि गरेको पाइन्छ ।

हिन्दू परिवारमा कुनै व्यक्तिको मृत्यु भएमा यथासम्भव दाहसंस्कार गर्ने विधान छ । त्यसरी मरेका परिजनको दाहसंस्कार गरिसकेपछि मृतात्माले वायु स्वरूप धारण गर्दछ । त्यस स्वरूपलाई प्रेत भनिन्छ । 'प्रेत' अवस्था मृत्युपछि बाह्रौंका दिनसम्म क्रियाकर्म गरिने समयावधिको अवस्था हो । बाह्रौंसम्म गरिने दशगात्रादी कर्महरू अर्थात प्रथम षोडशीदेखि सपिण्डीकरण सम्मको कर्मसमाप्तिपछि मृतात्माले सूक्ष्म शरीर धारण गर्दछ । सूक्ष्म शरीर लिए पनि उसभित्र शोक, माया, मोह, भोक, प्यास आदि जीवनकालका वृत्तिहरू यथावत रहन्छन् । मृत्यु भएको एक वर्षपछि वर्षदिने वार्षिक श्राद्धमा उक्त सूक्ष्म शरीरधारी प्रेत र पितृहरूसँग सम्मिलन गर्ने काम हुने गर्दछ । अतः वार्षिक श्राद्धका क्रममा और्द्धदैहिक क्रिया सकिएपछिमात्र ती मृतात्मा अन्य पितृसरह हुन पुग्छन् । त्यसपछि प्रत्येक वर्ष मरेको पुण्यतिथिलाई समाती तिनका वंशजले एकोद्दिष्ट श्राद्ध गर्ने परम्परा छ ।

स्थूल शरीरलाई त्यागी आत्मा ब्रह्माण्डमा विलीन हुनु, मृत शरीरको दाहसंस्कार र क्रियाकर्मादि अन्त्येष्टि संस्कार गरिनु र त्यसपछि मृतात्माको तृप्तिका निमित्त और्द्धदैहिक क्रियाकर्म सम्पादन गर्नु र त्यसपछि पनि वर्षैपिच्छे श्रद्धापूर्वक श्राद्ध गर्नुलाई श्राद्ध भनिन्छ । और्ध्वदेहिक क्रियाकर्म नभएका वा हुन बाँकी रहेका मृतात्मा प्रेत हुन् भने वर्षदिनसम्मको और्ध्वदेहिक क्रियाकर्म समापन भएका मृतात्माहरू पितृ हुन् । श्राद्धादि कर्ममा आफ्नी विवाहिता पत्नीद्वारा दूधमा चामल पकाई त्यसमा सराबरी तील मिसाई बटारेर डल्लो बनाइएको वस्तुविशेषलाई पिण्ड भन्ने गरिन्छ र पिण्डको अर्थ शरीर हो । श्राद्ध शब्दको व्युत्पत्ति गर्ने क्रममा भनिएको छ – श्रद्धया क्रियते यत् तत् श्राद्धम् अर्थात् मृत पितृहरूको स्मरणका लागि श्रद्धापूर्वक गरिने कर्म श्राद्ध हो । जन्मदाता मातापिता र अन्य पूर्वजहरू मरेपछि अोझेलमा नपरून्, नबिर्सिइयुन्, उनीहरुप्रति यथोचित सम्मान र श्रद्धा रहीरहोस् भन्ने आकाङ्क्षाका साथ तिनलाई वेलावेलामा सम्झिने र श्रद्धा गर्ने काम नै सारांशमा श्राद्ध हो ।

यमस्मृतिमा पाँच किसिमका श्राद्धको चर्चा गरिएको पाइन्छ - नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण । दिनैपिच्छे गरिने श्राद्धलाई नित्यश्राद्ध भनिन्छ, कसैलाई निमित्त बनाएर गरिने श्राद्धलाई नैमित्तिक श्राद्ध भनिन्छ । नैमित्तिक श्राद्ध नै एकोद्दिष्ट श्राद्ध हो । एकोद्दिष्ट शब्दको अर्थ हो - एक जनालाई मात्र उद्देश्य राखी गरिने । केवल एक जनालाई मात्र उद्देश्य राखी गरिने दशगात्र कर्म, एघारौं, बाह्रौं आदिका काम पनि नैमित्तिक श्राद्ध हुन् । कुनै विशेष इच्छापूर्ति वा कामना राखी गरिने श्राद्धलाई काम्य श्राद्ध भनिन्छ । कुनै शुभ कर्मको तैयारीका क्रममा गरिने नान्दीमुखी आदि श्राद्ध बृद्धिश्राद्ध हो भने पर्व विशेष औंसी, सङ्क्रान्ति, आश्विन कृष्णपक्षको पितृपक्षमा गरिने श्राद्ध पार्वण श्राद्ध हो ।

नित्यश्राद्धमा केवल जलको प्रयोग गरिन्छ । त्यस्तै दाहसंस्कारपछि बाह्रौंसम्मका दशगात्र कर्म आदिमा पनि लम्बाचौडा विधानको आवश्यकता हुँदैन । यी श्राद्धमा विश्वदेवको स्थापना र पूजादि गरिरहनु पर्दैन । तर बाँकी एकोद्दिष्ट, मासिक, वार्षिक, पार्वण आदिमा विश्वदेवको स्थापना गरी श्राद्ध गर्ने विधान छ । मरणकालको एक वर्षसम्म मृतात्माको तृप्तिका लागि और्द्ध्वदैहिक क्रियाकर्म तथा श्रद्धापूर्वक सम्पादन गरिने प्रेत र पितृ कर्म श्राद्ध हो र जुन मृत व्यक्तिको एक वर्षसम्मको सबै और्ध्वदैहिक क्रियाकर्म सम्पन्न भएको हुन्छ, तिनलाई पितृ भन्ने गरिन्छ । हाम्रो धर्मशास्त्रमा पितृहरूलाई देवतासरह पूज्य भनी उल्लेख गरिएको छ । संस्कृत भाषामा पितृ शब्दको अर्थ पिता भन्ने हुन्छ भने धार्मिक सन्दर्भमा प्रयुक्त पितृचाहिं मृत पूर्वजहरू भन्ने हुन्छ । शास्त्रमा पितृलाई दुई वर्गमा विभाजन गरिएको छ - दिव्यपितृ र मनुष्यपितृ । आफ्नो वंश परमपरामा कुनै व्यक्तिविशेषको मृत पिता, पितामह र प्रपितामह (बाबु, बाजे र बराजु) समेतका पूर्वजहरू मनुष्यपितृ हुन् भने सृष्टिको प्रारम्भमा नै पृथक् लोकमा निवास गरेका कल्पित पितृदेवहरू दिव्य पितृ हुन् । दिव्यपितृले समस्त जीवधारीको मरणोपरान्त के गति प्रदान गर्ने भन्ने निर्णय गर्ने अधिकार पाएका हुन्छन् । दिव्यपितृका अधिष्ठाता यमराजलाई मान्ने गरिन्छ । त्यसैले पितृहरूको सूचीमा यमराजको नाम पनि आएको हुन्छ । यस वर्गमा कव्यवाडनल, सोम, यम, अर्यमा, अग्निष्वात्त, सोमप, बर्हिषद आदि पर्दछन् । यी दिव्यपितृहरूमध्ये अर्यमा प्रमुख हुन्, गीतामा भगवान् श्रीकृष्णले पितृणामर्यमा चास्मि भन्नु भएबाट यस कुराको पुष्टि हुन्छ ।

अर्यमा कश्यपपत्नी अदितिका पुत्र हुन् । यिनी देवराज इन्द्रका भाइ हुन् । देवमाता अदितिको गर्भबाट द्वादश आदित्यको जन्म भएको थियो । ती क्रमशः विवस्वान्, अर्यमा, पूषा, त्वष्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, इन्द्र र त्रिविक्रम हुन् । यी सबैले देवताका रूपमा हिमालयको उत्तरमा अवस्थित रही पूज्यस्थान प्राप्त गरेका थिए । द्वादशादित्यमध्येका एक जना अर्यमा पितृहरूका देवता हुन् । ज्योतिषशास्त्रमा उत्तराफाल्गुनी नक्षत्रका अधिदेवता अर्यमा मानिन्छन् र उनको वासस्थान पनि उक्त नक्षत्र नै हो भनी बताइएको छ । सामान्यतया जुनसुकै वर्षमा भाद्र २८ गतेदेखि आश्विन १० गतेसम्म सूर्यले उत्तराफाल्गुनी नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ । त्यसैले पितृपक्षमा सूर्यको भ्रमण पितृदेव अर्यमा बसेको उत्तराफाल्गुनी नक्षत्रमा हुने भएकाले हामीले उक्त अवधिमा श्राद्धादि पितृकार्य गर्दा सूर्यका माध्यमबाट हाम्रो र पितृहरूको सहज सम्पर्क हुन्छ । सोह्र श्राद्ध अर्थात् आश्विन कृष्ण पक्षमा सूर्य र अर्यमाको मिलन हुने अनि सूर्यको सुषुम्ना नामक किरणको आश्रय लिई पितृलोकमा रहेका हाम्रा मृत पूर्वजहरूले पृथ्वीमा भ्रमण गर्ने हुँदा उक्त अवधिमा श्रद्धापूर्वक प्रदान गरिएको तर्पण, श्राद्धादि कर्म पितृले सहज ढङ्गले प्राप्त गर्ने विश्वास गरिन्छ । त्यसैले पितृपक्ष अर्थात सोह्रश्राद्धमा पितृहरू आफ्नो लोकबाट मनुष्यलोकमा सूक्ष्म स्वरूप धारण गरी आउने हुनाले ती पितृहरूलाई भोज्यपदार्थ र शुद्ध जल आदि तिनका वंशजले प्रदान गर्नु वाञ्छनीयसमेत देखिन्छ । भनिएको पनि छ -

एकैकस्य तिलैर्मिश्रांस्त्रींस्त्रीन् दद्याज्जलाञ्जलीन् ।  यावज्जीवकृतं पापं तत्क्षणादेव नश्यति 

(कम्तीमा एकएकवटा तिल मिसिएको शुद्ध जलले आफ्ना पितृहरूलाई सम्झी तर्पण गर्ने व्यक्तिका समस्त पापराशि तत्क्षण नाश हुन्छन् ।)

कसले कुन दिन श्राद्ध गर्ने ?

पहिलेपहिले सोह्रश्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो । तर अहिले सोह्रश्राद्धको कुनै एउटा दिन श्राद्ध गर्ने र बाँकी दिनहरूमा अन्य श्राद्धमा एकछाकीका दिन बारे सरह चोखोनीतो गरेर बस्ने गरिन्छ । सोह्रश्राद्ध व्यक्ति विशेषको श्राद्ध होइन, यो सबै मृतपितृहरूको साझा श्राद्ध हो । त्यसैले यसलाई एेच्छिक रूपमा जुन तिथिका दिन सहज पर्छ, त्यसै दिन श्राद्ध गर्न सकिने श्राद्ध भन्दा अत्युक्ति हुँदैन । तर सामान्यतया व्यक्तिले स्वत्व खोज्ने प्रवृत्ति भएकाले आफ्ना मृतपितृको तिथि समाती श्राद्ध गर्ने परिपाटी प्रचलनमा छ । तर स्वेच्छाले तिथि रोज्नुको अर्थ यस पटक एउटा र अर्को पटक अर्को तिथि रोज्नु हुँदैन । सुरुमा जुन तिथि समात्यो जुठो, सूतक वा छोइछिटोले बाधा नपारे त्यही तिथिमा वर्षैपिच्छे श्राद्ध गर्नुपर्छ । आमरूपमा नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।

पितृपक्षमा गर्नै पर्ने र नगर्ने कामहरू :-

पितृपक्ष सूर्य दक्षिणायन भएको वेलामा पर्दछ । शास्त्रबमोजिम सूर्यले यस समयमा सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्तिको मार्ग प्रशस्त गर्ने गर्दछन् । भनिन्छ, त्यसैले पनि पितृहरू आफू दिवङ्गत भएको तिथिका दिन आफ्ना सन्तति (छोरा, नाति, पनाति) हरूबाट आफ्नो उद्धारको आकाङ्क्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवङ्गत भएका मृत पितृहरूलाई उद्देश्य गरी श्राद्धादि कर्म गर्ने गर्दछन् । तर यसरी श्राद्ध गर्दा केही नियमहरूको पालना गर्नु पर्दछ । 

१ - श्राद्धकाल - पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्ने गर्नु पर्दछ । तर एकोद्दिष्ट श्राद्ध (मरेको वार्षिक तिथिका दिन गरिने) श्राद्धमा दिनको दोस्रो पहरलाई लिने गरिन्छ । एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध अपराह्नमा र आभ्युदयिकश्राद्ध प्रातःकालमा गर्ने विधान छ ।

२ - श्राद्ध गर्ने ठाउँ - प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । अरूको स्वामित्व भएको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । तर बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ । त्यसैले खासगरी सहरी क्षेत्रमा अरूको स्वामित्वको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृहमालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन ।

त्यस्तै कुनै कामना विशेषले गरिने श्राद्ध तोकिएको ठाउँमा गर्नु पर्दछ । कूर्मपुराणमा पुत्रले पितृमुक्तिको कामनाका साथमा विभिन्न तीर्थस्थलमा गई श्राद्ध गर्नु वाञ्छनीय छ भनी उल्लेख गरेको छ :-

गङ्गायामक्षयं श्राद्धं प्रयागेऽमरकण्टके   । गायन्ति पितरो गाथां कीर्तयन्ति मनीषिणः  ॥
एष्टव्या बहवः पुत्राः शीलवन्तो गुणान्विताः   । तेषां तु समवेतानां यद्येकोऽपि गायां व्रजेत् ॥
गयां प्राप्यानुषङ्गेण यदि श्राद्धं समाचरेत् । तारिताः पितरस्तेन स याति परमां गतिम्  ॥
वराहपर्वते चैव गङ्गायां वै विशेषतः   । वाराणस्यां विशेषेण यत्र देवः स्वयं हरः  ॥
गङ्गाद्वारे प्रभासे च बिल्वके नीलपर्वते   । कुरुक्षेत्रे च कुब्जाम्रे भृगुतुङ्गे महालये  ॥
केदारे फल्गुतीर्थे च नैमिषारण्य एव च   । सरस्वत्यां विशेषेण पुष्करेषु विशेषतः  ॥
नर्मदायां कुशावर्ते श्रीशैले भद्रकर्णके   । वेत्रावत्यां विपाशायां गोदावर्यां विशेषतः  ॥
एवमादिषु चान्येषु तीर्थेषु पुलिनेषु च   । नदीनां चैव तीरेषु तुष्यन्ति पितरः सदा  ॥

कूर्मपुराण ०२। २०। २९ - ३६

३ - श्राद्ध गर्नाले पितृदोषको शान्ति : जसको जन्मकुण्डलीमा सूर्य र राहु वा केतु ग्रहको युतिसम्बन्ध छ, त्यस्तो कुण्डली भएको व्यक्तिलाई पितृदोष रहेको छ भन्ने गरिन्छ । यसबाहेक नीच सूर्य, शनिबाधित सूर्य वा शनिको घरमा रहेको सूर्य हुँदा पनि पितृदोष नै ठहर्याउने गरिन्छ । यसरी पितृदोष हुँदा टाउको वा दिमागी बिमारी, निर्णय क्षमतामा कमी, धन नटिक्ने, उन्नतिप्रगतिमा रोकावट आदि विभिन्न बाधा ब्यहोर्नु पर्ने हुन्छ । पितृपक्षमा श्राद्धकर्मद्वारा पूर्वजहरूलाई दिवङ्गत भएको तिथिअनुसार पिण्डदान, तर्पण आदि गर्नाले पितृदोषबाट मुक्ति पाइन्छ ।

४ - पितृको दिशा दक्षिण : तैत्तिरीय संहितामा बताइएअनुसार सृष्टिको प्रारम्भमा पूर्व, पश्चिम र उत्तर दिशा क्रमशः देवता, मनुष्य र रुद्रदेवलाई प्रदान गरिएको थियो, अनि दक्षिण दिशा पितृहरूको भागमा पर्यो । त्यसैले पितृहरूको श्राद्ध र पूजादि सदैव दाहिने काँधमा जनै भिरेर (अपसव्य भई) दक्षिण दिशातर्फ फर्किई गर्नुपर्दछ ।

५ - श्राद्धका सात चीज : कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो (दौहित्र), कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलयकालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।

६ - श्राद्धका भाँडाकुँडा : श्राद्धमा प्लास्टिक, स्टील र फलामका भाँडाकुँडाको प्रयोग गर्नु हुँदैन । त्यस्तै केराको पात पनि चलाउनु हुँदैन । कर्ताको सामर्थ्यअनुसार श्राद्धमा सुन, चाँदी, झर्का (काँसो) वा तामाका पात्र अथवा सालको पातले बनेका दुना टपरीको प्रयोग गर्न सकिन्छ ।

७ - माङ्गलिक कार्य र किनमेल निषेध : श्राद्धपक्षका पन्ध्र दिन कुरो छिन्ने, विवाह/व्रतबन्ध गर्ने, गृहप्रवेश गर्ने आदि कर्म निषेधित मान्ने गरिन्छ । श्राद्ध पक्षमा दीर्घ उपयोगका लागि धनलगानी गर्नु पनि अशुभ मानिन्छ । जस्तै मोटरवाहन, सुन, चाँदी, जग्गाजमिन आदिको खरिद गर्नु हुँदैन । सामान्यतया नयाँ व्यापार, व्यवसाय र उद्योगधन्दा वा कलकारखानाको सुरु पनि यस अवधिमा गर्ने गरिंदैन । त्यस्तै लामो दूरीको यात्रा पनि यस समयमा गर्नु हुँदैन । तर श्राद्धाधिकार नभएका (पुरूषका लागि बाबुआमा र स्त्रीका लागि सासुससुरा ज्युँदै भएका) व्यक्तिले किनमेल र यात्रा जस्ता विषय बारिरहनु पर्दैन ।

८ - श्राद्धको खानपान र काम : सोह्रश्राद्धमात्र होइन, अन्य एकोद्दिष्टादि सामान्य श्राद्धमा पनि श्राद्धभन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिनअगाडिको दिनलाई एकछाकी भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन । त्यस्तै हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि निषेध गरिएको छ । एकछाकी र श्राद्धका दुबै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । उक्त दुबै दिन शरीरमा सुन, तेल र सावुनको संसर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राती पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।

९- श्राद्धमा पिण्डदान : श्राद्धभन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजस्वला भएर सात दिन बितेको छैन भने पार्वण श्राद्धमा पिण्डदान गर्न हुँदैन ।

१०- श्राद्धका दिन पितृकर्म प्रमुख : पितृश्राद्धका दिन पिण्डदानको कार्य पूर्ण नहुन्जेलसम्म हवनादि कार्य, भिक्षादान, देवपूजा, ब्रह्मचारी, तपस्वी र अभ्यागतहरूको आतिथ्यादि कुनै पनि काम गर्नु हुँदैन । श्राद्धका दिन पितृकर्म नै मुख्य र विशेष काम हो, त्यसैले पहिलो प्राथमिकता पितृकर्मलाई दिनु उपयुक्त हुन्छ, त्यसैले त्यस दिन पिण्डदानअघि अन्य समस्त कर्म प्राथमिकताका क्रममा राख्नु हुँदैन ।

११- श्राद्धमा ककसलाई डाक्ने वा नडाक्ने : यस कर्मका क्रममा विशेष गरी जसको श्राद्ध गरिंदैछ उसका छोरीपट्टिका नातिनातिना, गोतियार बन्धुबान्धव, ज्वाइँ र भान्जाभान्जीलाई निमन्त्रणा गर्नु अनिवार्य मानिन्छ । पितृकर्मका दिन पतित व्यक्तिहरूलाई आमन्त्रण गर्नु हुँदैन । 

१२- श्राद्धमा चढाउने फूलपाती : श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । यसमा तुलसी, भृ्ङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि पुष्पहरू ग्राह्य मानिन्छन् भने केत्तकी, करवीर, वकुल, कुन्दक र रातो रङका अन्य फूलहरू प्रयोग गर्नु हुँदैन ।

१३- श्राद्धको पितृप्रसाद वितरण : श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ, तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री दाजुभाइलाई दिए पनि हुन्छ, तर अन्य गोत्रका व्यक्तिहरूले ग्रहण गर्न निषेध गरिएको पाइन्छ ।

सोह्र श्राद्ध र अन्य श्राद्धको समयमा माथिका नियमलाई पालना नगरेमा मृतपितृहरू रिसाउने र सन्ततिका घरमा अशुभ र अशान्तिले वास गर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । तर विधिवत नियम र निष्ठाका साथमा पितृकर्म गरेमा तिनको सदाशय र आशिर्वादले धेरै फल प्राप्त गर्न सकिन्छ । भनिएको पनि छ :-

आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः ॥