Showing posts with label एकादशी. Show all posts
Showing posts with label एकादशी. Show all posts

Mar 19, 2020

एकादशीको महत्व र विशेषता – पण्डित राजेन्द्र खनाल

हरिशयनी एकादशीदेखि छिर सागरमा भगवान विष्णु चिर निन्द्रामा सुत्नुहुन्छ भन्ने पौराणिक कथन छ । हरिशयनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले पनि सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन भगवान विष्णुप्रति समर्पित दिन हो, हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान कार्तिक शुक्ल एकादशी हरिबोधनी एकादशीमा उठ्नुहुन्छ भन्ने जनविश्वाश रहेको छ ।
वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेद समेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतीक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी यस वनस्पतीलाई आङ्गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ ।
बैदिक सनातन सस्कारमा तुलसी पूजाको ठूलो महत्व छ । हजारौं बर्षदेखि सनातन सस्कारीहरु प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आआफ्नो दैनिकीमा लाग्ने गरेका छन् । जन्म, मृत्यू देखि हरेक सनातन सस्कारमा तुलसी को बिरुवा अनि पातको महत्व हुन्छ । तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि कैयन घर अनि परम्परामा बिधमान छ । आँगनको छेउको तुलसी मोठ बिवाह ब्रतबन्ध लगायत मृत्यूशैया सम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ । तुलसीको फुललाई सुकाएर राखेर प्रयोग गरिन्छ, यी फुललाई मञ्जरी भनिन्छ । त्यस्तै तुलसीको डाँठलाई काटेर सुकाएर आएका मसिना काठ जस्ता टुक्राका पवित्र माला अत्यन्त पवित्र मानिन्छ ।
पद्म पुराणमा बिन्दा देवी ले पृथ्वी मा आएर भगवान बिष्णु लाई आफ्नो पतिा रुपमा पाउन गरेको तपस्यासंग तुलसीको महत्व लाई गासिंएको पाइन्छ । त्यस्तै श्रिमद्ध भागवतको ३ को ५ को १९ औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।
भोजनलाई सदैव तुलसीको पात राखेर मात्र सेवन गर्ने भगवान श्रि कृष्ण लाई तुलसीसंग जोडिएका प्रसंगहरु धेरै छन् । गौतमीय तन्त्र अनुसार भक्तहरुले हत्केला भरिको पानी र तुलसीको पातमात्र सफा हृदयले अर्पण गरेमा श्रि कृष्णको कृपाले सम्पूर्ण फल प्राप्त हुने महिमा छ । स्कन्द पुराण्ले पनि तुलसी को पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ ।
औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ । तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाँउदा रुद्रि पूजा पनि गरिने चलन छ । अब त खेतमा धानका वाला पनि लहलहाउन थालिसके, नयाँ धानको चामल कुटेर त्यस्मा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ । यस अर्थमा आजको दिन यसवर्षको नयाँ अन्नको औपचारीक प्रयोग गर्ने दिन पनि हो ।
आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ । विष्णु भगवानलाई नारायणका नामले पनि पूजिन्छ र यीनै नारायण र काठमाण्डौ उपत्यकाको एउटा परम्परागत र परापूर्वकालिन सम्बन्धको समेत आज यहाँ चर्चा गर्न जाँदैछौं ।
परापूर्वकालमा काठमाण्डौ शहरमाथी भगवान विष्णुको अनुकम्पा रहिरहोस भनी उपत्यकाको चारैतर्फको कुनामा विष्णुको प्रतिमा राखिएको हो जसको प्रतापका कारण विष्णुको अनुग्रह काठमाडौ शहरमा हरेक पिढी दरपीढि कायम रहने सामाजिक मान्यता रहेको पाइनछ । काठमाडौको पश्चिममा इचङ्गु नारायण, पूर्वमा चाङ्गु नारायण, उत्तरमा विशखुं नारायण अनि दक्षिणमा शेष नारायणका रुपमा विष्णुले काठमाण्डौलाई हेरिरहेको जनविश्वाश छ ।
पहिले पहिले हरिवोधनी एकादशीमा भक्तहरु विष्णु प्रतिमा रहेको आफूलाई पायक पर्ने मन्दिरमा खाली खुट्टा हिँडेर सूर्य उदाँउदा देखि अस्ताँउदासम्म पूजापाठ गरेर बस्ने चलन थियो । यसक्रममा भक्तजनहरु उपत्यकाको चारै नारायण एकैदिनमा हिँडेर पुग्ने पनि गर्दथे भन्ने कथन छ । यसरी हिँडेर चारै नारायण पुग्ने तिर्थालुहरु अन्त्यमा फर्पिङ्गको शेष नारायणमा पुगेर आफ्नो तिर्थाटन समापन गर्ने गर्दथे ।
शेषको अर्थ अन्त्य भन्ने हुन्छ र नारायण दर्शनको समापनविन्दु पनि त्यहीं हुने गरेको भनाई छ । यसरी चारवटै नारायणको दर्शनार्थ पुग्नसक्ने भक्तालुहरुकालागि पाटनको कृष्ण मन्दिरको छेउमा चारनारायण मन्दिरमा उपत्यका वरिपरिका चारै नारायणको प्रतिमा राखिएको र सहज रूपमा दर्शन गर्ने व्यवस्था गरिएको हो ।
उतिबेला मानिससँग धेरै समय र भक्तिकालागि समय भएकाले पनि दिनभरि मन्दिर परिसरमा बस्ने गर्दथे र साँझ परेपछी फर्किने चलन भएको उपत्यकामा अझैपनि वृद्धवृद्धाले बताउने गर्दछन तथापि अहिले पनि यि नारायणहरुमा भक्तजनहरुको प्रशस्तै भिड हरिबोधिनी एकादशीको दिन देख्न सकिन्छ ।
यस बाहेक नेपालभर छरिएर रहेका भगवान विष्णुका मन्दिर अनि तिर्थस्थलमा तिर्थाटन गर्ने भक्तजनहरुको आज ब्यापक भिड रहने गर्दछ ।
नमोः नवः तुलसी कृष्ण प्रियशी
कृष्ण राधा सेवा को सबै अभिलासी
हरिवोधनी एकादशीको शुभकामना !
————————
तुलसी विवाह
देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः ।
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।

कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको यसै दिन तुलसीको विवाह विष्णु भगवानसंग भएको थियो, शालिग्राम वा पिपलसंग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह हो ।
यस दिन विहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र विष्णु भगवानको पूजन सहित तुलसी विवाहगरी व्रत वस्ने परम्परा रहेको छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगनगरी सजाएर चारैतिरबाट ऊखु, साल, बाँस या नियालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ । दियो, कलश, गणेश सहित सबै देवी-देवताहरुको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पणगरि प्रसाद स्वरूप न्वागी खाने प्रचलनपनि रहेको छ ।
पूजाविधि
तुलसी नामाष्टक:
वृन्दां वृन्दावनीं विश्वपावनीं विश्वपूजिताम्।
पुष्पसारां नन्दिनीं च तुलसीं कृष्णजीवनीम्।।
एतन्नामष्टकं चैतस्तोत्रं नामार्थसंयुतम्।
यः पठेत्तां च संपूज्य सोऽश्वमेधफलं लभेत्।।
महाप्रसादजननी सर्व सौभाग्यवर्धिनी।
आधि व्याधि हरा नित्यं तुलसी त्वं नमोस्तुते।।
पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नम: भन्दै पाद्य जल, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दिप, नैवेद्य, ऋतुफल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन रहेको छ, त्यसपछि पहेंलो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ र एउटा नारिवल, दक्षिणा सहित भगवान् शालिग्राम हातमा लिएर तुलसीजीको सात पटक परिक्रमा गर्नुपर्दछ तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ र यसदिन विष्णुभगवानको भजन किर्तन गरी रातभरी जागराम बस्ने चलनपनि रहेकोछ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकरको मनोकामना प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।
कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा गर्नु अशुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर-घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।
कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । ‘गरुडपुराण’मा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्छ ।
आजका दिन विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ” भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले बताए । ‘यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास छ’, उनले भने ।
किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । आजको ठूलो एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चारनारायण (भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण) स्थानमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा गर्नु अशुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर-घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।
कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । ‘गरुडपुराण’मा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्छ ।
आजका दिन विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ” भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले बताए । ‘यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास छ’, उनले भने ।
किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । आजको ठूलो एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चारनारायण (भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण) स्थानमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
स्रोत: एकादशी माहात्म्य तथा हाम्रो पात्रो

Dec 8, 2019

मोक्षदा एकादशीको व्रत || मंसिर २२ आइतवार || Mokshada Ekadashi Vrat Katha...



आज मंसिर २२ गते आइतवार । ८ डिसेम्बर २०१९ । मोक्षदा एकादशी व्रत र गीता जयन्ती ।

विभिन्न पुराणहरूमा मोक्षदा एकादशीको व्रतकथा र महात्म्यको उल्लेख गरिएको छ । पद्मपुराणमा बताइए अनुसार सत्ययुगमा राजा वैखानसले आफ्ना अगतिमा परेका पिताको मोक्षका निमित्त यस मोक्षदा एकादशीको व्रत लिएका थिए र अगतिमा परेका पितृको उद्धार गरेका थिए । त्यसैले हरेक वर्ष मार्ग महिनाको शुक्लपक्षको एकादशीलाई मोक्षदा एकादशीका रूपमा मनाउने चलन चलेको हो ।
त्यस्तै भगवान् श्रीकृष्ण्का मुखारविन्दबाट अर्जुनका निमित्त सर्वप्रथम गीताको उपदेश गरिएको दिन पनि आज नै हो । त्यसैले आज गीताको जन्मदिन मान्ने गरिन्छ । आजबाट नियमित रूपले गीताको स्वाध्यायन र पाठ थाल्ने नियम पनि छ ।
आउनुहवस् सम्पूर्ण जानकारीका लागि तलको भिडियो खोलेर श्रवण गरौं ।

Dec 3, 2017

एकादशीको व्रत थाल्ने दिन : उत्पत्तिका एकादशी

मंसिर महिनाको कृष्णपक्षमा एकादशीको उत्पत्ति भएको हुनाले यस व्रतको अनुष्ठानको प्रारम्भ यसै दिनबाट गर्नुपर्दछ।

पद्मपुराणमा उत्पत्तिका एकादशीको महात्म्यको चर्चा गरिएको छ । एउटा प्रसङ्गमा पाण्डुपुत्र धर्मराज युधिष्ठिरले एकादशी तिथिको उत्पत्ति र महत्त्वका बारेमा केही बताउन अनुरोध गरेपछि भगवान् श्रीकृष्णले यस व्रतको व्रतकथा र महत्त्वका बारेमा बताउनु भएको हो । सत्ययुगमा एउटा मुर नामक भयङ्कर पराक्रमी दानव थियो । उसले स्वर्गका राजा इन्द्रलाई पराजित गरी स्वर्गमाथि कब्जा गरेको थियो । स्वर्गको सुखवैभव र भोगविलासमाथि राक्षसहरूको आधिपत्य स्थापना भएपछि देवताहरूले वनजङ्गलमा भौंतारिएर अनेकानेक दुःख र कष्ट भोग्नुपर्यो । आफूले पाएको दुःख र कष्टको निवारणका लागि देवताहरू देवाधिदेव महादेवको शरणमा गए । महादेवले उक्त समस्याको समाधान गर्न भगवान् विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो । त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं अघि लागि क्षीरसागर जानुभयो । त्यहाँ शेषनागको शय्यामा योगनिद्रामा लीन हुनु भएका भगवान् विष्णुको वन्दना गर्दै विष्णुलाई प्रसन्न तुल्याउन महादेव लगायत इन्द्रादि सबै देवताहरूले स्तुति गरे । देवताहरूको स्तुतिबाट प्रसन्न हुँदै भगवान श्रीहरिले त्यस अत्याचारी दैत्यउपर आक्रमण गरी देवताहरूको सङ्कट हरण गर्ने वाचा गर्नुभयो ।

उचित समय आएपछि दानव मुर र भगवान् नारायणका बीचमा भीषण युद्ध भयो । युद्धका क्रममा मुर दैत्यको पक्षबाट युद्ध लड्न आएका असङ्ख्य राक्षसहरू मारिए । बल र सामर्थ्यमा कमी आएपनि मुर दैत्य सकुशल युद्ध लडिरहेको थियो । लामो समयसम्म युद्ध गर्नु परेकाले थकाइ लागेकाले र मुर दैत्यको शक्तिमा कमी आएको छ भन्ने ठानेर भगवान् नारायण युद्ध त्यागेर बदरिकाश्रम जानुभयो र त्यहाँ अवस्थित बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो, अनि केही समयमैं निद्रालीन हुनुभयो । दानव मुरले भगवान् विष्णुको खोजी गर्यो र सिंहावती गुफामा गएर सुत्नुभएको कुरो चाल पायो । त्यसपछि निदाएकै वेलामा मार्न सजिलो हुन्छ भन्ने उद्देश्यले ऊ त्यहाँ पुग्यो । गुफामा उसले प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट रूप र लावण्यले युक्त एउटी झल्झलाकार स्वरूपकी अत्यन्त सुन्दर कन्या उत्पन्न भईन् । उनी दिव्य अस्त्र-शस्त्रले युक्त थिईन् । ती कन्या नै एकादशी थिईन् । ती कन्याले गुफामा पस्दै गरेको दैत्यलाई देखेर को हो ? भनी ठूलो हुङ्कार गरिन् । उनको हुङ्कार सुन्नासाथ मुर राक्षसको सातोपुत्लो उड्यो र उसका प्राणपखेरु उडे । यसरी केवल एकादशीको हुङ्कारले मात्र दानव मुरको अन्त्य भयो र ऊ डढेर खरानी भयो ।



केही समयपछि भगवान् नारायण निद्राबाट जागा हुनुभयो । ब्युँझदा केही समयअघिसम्म आफूसित युद्ध गरिरहेको मुर दैत्यको मृत शरीर नारायणले देख्नुभयो र छक्क पर्नुभयो । आफू नजिकै यसभन्दा पहिले कहिल्यै नदेखिएकी एउटी कन्यालाई देखेर भगवान् विष्णुलाई झन् अचम्म लाग्यो । भगवानले उनलाई यो परिस्थिति कसरी सिर्जना भयो भनी प्रश्न गर्नुभयो । ती कन्याले भगवानलाई आतातायी मुर दैत्यको बध आफूले गरेको कुरा बताईन्, साथै आफू उत्पत्ति भएको प्रसङ्ग पनि सुनाईन् । आफ्नै शरीरबाट उत्पत्ति भएकी एकादशीको यस्तो अद्भूत पराक्रम थाहा पाएर भगवान् प्रसन्न हुनुभयो । उहाँले तिनलाई पन्ध्रवटा तिथिमध्ये एउटा तिथिका रूपमा प्रतिष्ठित हुने वरदान प्रदान गर्नुभयो र मनोवाञ्छित वरदान दिई आफ्नो प्रिय तिथिका रूपमा रहने बताउनु भयो ।

भगवान् श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भईन् । यसरी एकादशीले भगवान् विष्णुसित वरदान प्राप्त गरेको हुँदा भगवान् विष्णुको उपासनाका लागि यो तिथिलाई व्रत र उपासनाको दिन तोकिएको हो । जुन मनुष्यले जीवनपर्यन्त एकादशीका दिन श्रद्धा र भक्तिका साथमा व्रत र उपासना गर्दछ, उसले सांसारिक जीवनका यावत् सुखसौभाग्यको भोग गरी मरणोपरान्त वैकुण्ठधाम प्राप्त गर्दछ । वास्तवमा एकादशीसमान अरु कुनै पापनाशक व्रत छैन । व्रत लिन नसके पनि एकादशीको माहात्म्य र कथा सुन्नाले मात्र पनि एकहजार गोदानको पुण्यफल प्राप्त हुन्छ । एकादशीमा उपवास गरेर रात्रिको समयमा जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागिदार हुन पाउँछ । उपवास गर्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नादिको परित्याग गर्नु आवश्यक मानिन्छ, किनभने एकादशीमा अन्नसेवन गर्नाले पुण्य नाश हुन्छ भन्ने गरिन्छ । सबै किसिमका अन्नको त्याग गर्न असम्भव छ भने पनि यस दिन चामल र चामलबाट बनेको परिकारहरू खानु हुँदैन । नत्र ठूलो दोष लाग्छ । यस व्रतले सबै चराचर जगतको कल्याण गर्ने भएकाले यो व्रत समस्त प्राणिहरूका लागि अनिवार्यसमेत मानिएको छ । श्रीहरिः ।।

Nov 19, 2017

एकछाक अन्न नखाँदा वर्षभरि सुखसम्मृद्धि - ठूली एकादशी (मंसिर ३ गते)


प्रत्येक वर्षको कार्तिक शुक्लपक्षमा पर्ने एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ । पुराण एवं धर्मशास्त्रमा उल्लेख भएअनुसार भगवान् श्रीहरि आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ, भाद्र शुक्ल एकादशीमा दायाँतर्फ कोल्टो फर्किनुहुन्छ र आजकै दिन जाग्नुहुन्छ । भगवान् श्रीहरि शयन गर्नुहुने तिथिलाई हरिशयनी एकादशी भनिन्छ भने कोल्टो फेर्ने तिथिलाई हरिपरिवर्तिनी एकादशी र शयनावस्थाबाट जागा हुने आजको तिथिलाई हरिबोधिनी एकादशी भनेर धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । भगवानको जाग्ने दिन भएकाले हरिबोधिनी वा हरिप्रबोधिनी एकादशी भनिएको हो । यस एकादशीको व्रत लिनाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा एक हजार अश्वमेध तथा एक सय राजसूय यज्ञको फल प्राप्त हुने प्रसङ्ग विभिन्न धर्मग्रन्थमा उल्लेख भएको छ ।

तावद्गर्जंति विप्रेंद्र गंगाभागीरथी क्षितौ
यावन्नायाति पापघ्नी कार्तिके हरिबोधिनी
अश्वमेधसहस्राणि राजसूयशतानि च
एकेनैवोपवासेन प्रबोधिन्या लभेन्नरः

लक्ष्मीले एक पटक क्षीरसागरमा शयनावस्थामा रहनु भएका भगवान् नारायणको सेवा गर्दै आफ्नो जिज्ञासा राख्नु भएको थियो - 'हे नाथ! हजुर जागा रहँदा पनि वर्षौंवर्षसम्म जागै बस्नुहुन्छ र सुत्नुभयो भने पनि लाखौँ-करोडौँ वर्षसम्म सुत्नुहुन्छ । हजुर जागा रहँदा समस्त चराचर जगत् चलायमान हुन्छ, अनि शयनावस्थामा रहँदा समस्त जगतको प्रलय भई सृष्टिको विनाश हुने गर्दछ । त्यसैले हजुरले नियमित रूपमा विश्राम गर्ने व्यवस्था हुनु आवश्यक छ । त्यसरी हजुरले विश्राम गर्नुभयो भने मैले पनि केही समय फुर्सद पाउने छु ।' लक्ष्मीका कुरा सुनेर मुसुक्क हाँसेर भगवान् विष्णुले जवाफ दिनुभयो - 'हे देवी ! तिमीले ठीक भन्यौ । म जागा रहेको अवस्थामा मेरो सेवामा तल्लीन हुनुपर्ने भएकाले समस्त देवगणका साथमा तिमीले निकै खट्नु पर्छ, थकाइ मार्ने र विश्राम लिने समय नहुनाले शारीरिक र मानसिक रूपमा सबैलाई कष्ट हुन्छ।  त्यसैले, तिम्रो इच्छा पूर्ण गर्न म आजदेखि प्रतिवर्ष वर्षा ऋतुबाट प्रारम्भ गरी चार महिनासम्म शयन गर्नेछु । उक्त समयमा तिमी र समस्त देवगणले फुर्सद पाउने छन् । उक्त निद्रा मेरो अल्पनिद्राका रूपमा विख्यात हुनेछ । मेरो अल्पनिद्राको समयमा प्रलयकाल जस्तो चराचर जगतको अन्त्य हुनेछैन, यथावत् सुसञ्चालित भइरहने छ । तर जब प्रलयको समय आउने छ, त्यस समयमा मैले महानिद्रा ग्रहण गर्नेछु र महानिद्राकालमा समस्त चराचर जगत भङ्ग हुनेछ, सृष्टिको विनाश हुनेछ । मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मङ्गलकारी, उत्सवप्रद तथा पुण्यबर्द्धक बन्नेछ । मैले अल्पनिद्रा ग्रहण गरेको समयमा मेरा श्रद्धालु भक्तजनले शयनावस्थाको अनुभूति ग्रहण गर्दै मेरो आराधना र व्रत/अनुष्ठान सम्पन्न गर्नेछन् । त्यसरी मेरो भक्ति/आराधना गर्ने भक्तजनको घरमा उक्त अवधिमा म तिम्रासाथमा निवास गर्नेछु ।' भगवान् विष्णुले यसरी लक्ष्मीलाई आश्वस्त तुल्याएपछि प्रत्येक वर्ष आषाढ शुक्ल पक्षमा पर्ने एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा गई शयन गर्नुहुने र कार्तिक शुक्ल पक्षमा पर्ने एकादशीका दिन शयनावस्थाबाट जागा हुनुहुने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी र कार्तिक शुक्ल पक्षको एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ । हरिबोधिनी एकादशीलाई देवोत्थान एकादशी पनि भन्ने गरिन्छ ।

हरिबोधिनी एकादशीका दिन व्रतालुले प्रातःकालमा ब्रह्ममुहूर्तमा निद्रा त्याग गरी स्नानशौचादि नित्यकर्मबाट निवृत्त भई भगवान् नारायणको प्रतिमासामु उपस्थित भई घण्टा ,शङ्ख, मृदङ्ग आदि बजाएर भगवान् विष्णुलाई अल्पनिद्राबाट ब्युँझाउन यी श्लोकहरू पढेर जगाउने गरिन्छ -
उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत्।।
(हे गोविन्द भगवान्, हजुरले निद्रा छोडेर अठ्नुपर्यो किनकि हजुरको सुताइमा संसारै सुत्छ र हजुर जागा हुँदा यो चराचर जगत्, ब्रह्माण्ड नै उठ्छ। अतः जगतलाई जगाउन हजुर जागा हुनुपर्यो।)
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत-वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन् त्रैलोक्ये मङ्गलं कुरु ॥

यसरी श्रीहरिलाई जागा गराएपछि स्नानादि गराई सुन्दर वस्त्राभूषणले सुसज्जित तुल्याई षोडशोपचार विधिले पूजा गरिदिनु पर्छ । त्यसपछि सम्भव भए पूर्णरूपमा निराहार रही वा फलाहार गरी व्रत लिनुपर्छ । व्रत लिन सम्भव नभए त्यस दिन चामलले बनेको पक्वान्न भए पनि त्याग गर्नु राम्रो हुन्छ । यस एकादशीका दिन जागरण गरेको राम्रो मानिन्छ । व्रतालुले रातभरि जागा रहेर हरि नामसङ्कीर्तन, अखण्ड भागवत पाठ, स्मृतिपुराणादिको कथाश्रवण गर्नाले भगवान विष्णु प्रसन्न हुनुहुन्छ भन्ने मान्यता छ ।

सनातन हिन्दू धर्मावलम्बीका समस्त वैदिक कर्म र संस्कारहरूमा भगवान् विष्णुको नामोच्चारणका साथमा सङ्कल्प गर्ने प्रावधान छ । श्रावणदेखि कार्तिकसम्मको चार महिनाको अवधि भगवान् विष्णुको शयनावस्था हुने भएकाले आषाढमा पर्ने ठूली एकादशीपछि विवाहादि समस्त माङ्गलिक कार्यको अन्त्य हुने र कार्तिकमा पर्ने ठूली एकादशीबाट ती कर्मको शुभारम्भ हुन्छ भन्ने मान्यता पनि छ ।

पद्मपुराणको उत्तरखण्डमा एकादशीको महात्म्य उल्लेख गरिएको छ । उक्त माहात्म्यअनुसार हरि प्रबोधिनी (देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा एक सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस एकादशीको व्रतले शरीरमा जन्मजन्मान्तरदेखि सञ्चित रहेका सबै पापको अन्त्य हुन्छ र व्रत लिने व्यक्तिले मरणोपरान्त वैकुण्ठलोक प्राप्त गर्दछ । यस एकादशीका दिन भक्तजनले श्रद्धाका साथ जेजस्तो जप, तप, स्नानदान र होमादि गर्दछन्, ती सबै अक्षय पुण्यदायक हुन पुग्छन् । यस एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातन धर्मावलम्बी गृहस्थीको आध्यात्मिक कर्तव्य हो भन्ने मान्यता पनि छ ।

नेपाली परिवेशमा यस एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिन्छ । यस दिन गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह सम्पन्न गर्दछन् । आज तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी रङ्गीचङ्गी वस्त्र र फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यस एकादशीको व्रत लिने व्रतालुले तुलसीको विधिसम्मत विवाह गरिदिएर व्रत बसी फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड खाने गर्दछन् । 

कार्तिकमा भगवान् जागा भएपछि सर्वप्रथम दामोदर भगवानसँग भगवती तुलसीको विवाह गर्ने विधान छ । सम्भव भए कार्तिक शुक्ल द्वादशी तिथिमा र सम्भव नभए वा बाधा परे त्यसपछि दामोदर–तुलसी विवाह गर्नुपर्दछ । यस सन्दर्भमा विभिन्न पुराणमा एउटा कथा भेटिन्छ - उहिले एउटा जालन्धर नामको बलशाली दैत्य थियो । ऊ अधार्मिक, दुष्ट र खराब आचरणको भए पनि उसकी पत्नी वृन्दा शीलस्वभाव र सौन्दर्यमा तीनै लोकमा विख्यात थिई । उसले आफ्नो सतीत्व नष्ट नहुन्जेल अखण्ड सौभाग्यको वरदान प्राप्त गरेकी थिई । एक पटक भगवान् महादेव र जालन्धरका बीचमा ठूलो युद्ध भयो । युद्धमा कुनै तरिकाले जालन्धर पराजित भएन । उसकी पत्नीको पातिव्रत्य धर्म समाप्त नहुन्जेल जालन्धरलाई हराउन नसक्ने रहस्य थाहा पाएर महादेवले विष्णुको सहयोग लिनुपर्यो । अनि भगवान् विष्णुले  जालन्धरको रूप धारण गरी वृन्दाको सतीत्व नष्ट बनाउनु भयो । अन्ततः महादेवले जालन्धरको बध गर्नुभयो । विष्णुले आफूसित छल गरेको चाल पाएपछि वृन्दाले उनलाई श्राप दिईन् । वृन्दाको श्रापबाट विष्णुले पत्थर भएर शालिग्रामका रूपमा परिवर्तित हुनुपर्यो ।

विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरी वृन्दालाई वरदान दिनुभयो र भन्नुभयो - 'तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ, म त्यस नदीमा शालिग्राम शीलाका रूपमा सदैव तिम्रा साथमा रहने छु । अनि तिम्रो केश तुलसीका रूपमा औषधीय गुणले युक्त वनस्पति भई उत्पन्न हुनेछ । प्रत्येक गृहस्थीले तुलसीको पूजा गर्नेछन् । मेरो पूजा र भक्ति गर्दा सदैव तुलसीपत्रको प्रयोग हुनेछ र तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ । आजबाट तिमी मेरा निम्ति लक्ष्मीसरह प्रिय रहने छौ, त्यसैले तिमी हरिप्रिया नामले प्रसिद्ध हुनेछौ ।'

वर्तमान युगमा समस्त सनातन हिन्दु धर्मावलम्बीका साथै हरेक नेपालीका घरमा तुलसी र तुलसीको मठ अनिवार्यजस्तै नै देखिन्छ । धार्मिक दृष्टिले हेर्ने हो भने हामी सनातन धर्मावलम्बीका जन्मदेखि मृत्युपर्यन्तका प्रत्येक संस्कारमा तुलसीपत्रको गहुँत र गङ्गाजल जत्तिकै अपरिहार्यता हुन्छ । उदाहरणका लागि मृत्यु शय्यामा छट्पटाई रहेको अवस्थामा प्राण त्याग्नुपूर्व मानिसलाई तुलसीको मठमा राखिन्छ, अनि मरेपछि तुलसीको आश्रय र संसर्ग प्राप्त भएमा मोक्ष प्राप्त हुन्छ भन्ने गरिन्छ । 
दृष्टा स्पृष्टा तथा ध्याता कार्त्तिके नमिताऽर्च्चिता ।
रोपिता सेचितानित्यं पापं हन्ति युगार्जितम् ।
अर्थात् तुलसीको दर्शन गर्दा, छुँदा, ध्यान गर्दा, गृहस्थीले घरआँगनमा तुलसी रोप्दा, तुलसीको बिरुवामा नित्य सिञ्चन गर्दा, अझ कार्तिक महिनामा नमस्कारमात्र गर्दा र पूजादि गरिदिंदा युगौं युगदेखि सञ्चित समस्त पापराशिको नाश हुन्छ । बिहानै तुलसीको पूजादि गर्नाले,  तुलसीसँगको सम्पर्कले मानव जीवन निरोगी बन्दछ भने तुलसीको सम्मिश्रण भएको खाद्यान्न सेवन गर्दा मानिसले दीर्घ जीवन प्राप्त गर्न सक्छ भन्ने गरिएको हो । वास्तवमा हाम्रो दैनिक व्यवहारमा यस वनस्पतिको ठूलो महत्त्व र वैशिष्ट्य छ, त्यसैले पनि आज हरेक गृहस्थीका घरमा तुलसीको पूजा गरिएको हो । प्रत्येक सनातनी गृहिणीले आज घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तसर्थ आजको दिनलाई तुलसी विवाह भन्ने प्रचलन पनि रहेको छ । तुलसीलाई विष्णुप्रिया पनि भनिन्छ ।   तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेंलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् । धार्मिक मान्यतानुरूप कात्तिक महिनाभरि सम्पूर्ण तीर्थसहित देवताहरू तुलसीको मठमा निवास गर्दछन् । जुन घरमा तुलसीको मठ हुन्छ त्यो घर तीर्थसमान हो, त्यस घरमा कहिल्यै पनि यमदूतले प्रवेश गर्दैनन् । यस एकादशीका दिन एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गरेमा १० हजार गौदान गरे समान फल प्राप्त हुने प्रसङ्ग पद्म पुराणमा उल्लेख भएको छ । वास्तवमा तुलसी एउटा महत्वपूर्ण वनस्पति हो । हाम्रा प्राचीनतम ग्रन्थ वेद, उपनिषद्, पुराणादिदेखि लिएर प्रायः सबै पुस्तकमा औषधीय गुणले युक्त तुलसीको विशिष्ट महिमा बखान गरिएको छ । कतै तुलसीलाई प्रत्यक्ष विष्णुकै स्वरूप मानिएको छ भने कतै विष्णुप्रिया अर्थात् विष्णीकी प्रियाका रूपमा लिइएको छ । ब्रह्मवैवर्तपुराणमा तुलसीका आठवटा नामको प्रसङ्ग उल्लेख छ –
वृन्दा वृन्दावनी विश्वपूजिता विश्वपावनी ।
पुष्पसारा नन्दिनी च तुलसी कृष्णजीवनी ।।

वास्तवमा यी तुलसीका प्रत्येक नामका बेग्लाबेग्लै अर्थ र महत्त्व छ र यी सबै नामपछाडि तुलसीले लोककल्याण र मानवहीत गर्ने प्रतीकात्मकता प्राप्त हुन्छ । जसमध्ये विश्वपावनी र विश्वपूजिताको अर्थ हुन्छ – सबैका लागि हितकारी वनस्पति र सबैबाट पूजित । आयुर्वेद विज्ञानमा पनि यो वनस्पतिको विशिष्ट स्थान रहेको पाइन्छ । तुलसीका राम र श्याम गरी दुई किसिमका प्रजाति हुन्छन् भन्ने गरिन्छ, जसमध्ये राम प्रजातिको तुलसीको हरियो र ठूलो पात हुन्छ भने श्याम प्रजातिको तुलसीको पात हलुका कालो र सानो हुन्छ । व्यवहारमा दुबै प्रजातिका तुलसीलाई भगवान् विष्णुकी अर्द्धाङ्गिनी भगवती महालक्ष्मीका रूपमा उपासना गरिन्छ, यद्यपि श्याम अर्थात् कालो तुलसी विशिष्ट हुन्छ भन्ने गरिन्छ ।

तुलसीको धार्मिक–सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व प्रशस्त पाइन्छ । यसको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औँलो आदिका लागि प्रयोग गरिन्छ । तुलसीको हावा मात्रले विषालु कीटाणु नाश हुने जनविश्वास रहेको पाइन्छ । तुलां सादृश्यं स्यति नाशयतीति तुलसी । हितकारी वनस्पतिमध्ये तुलसी, श्रीखण्ड, कुश, आदिको वर्णन स्वयं देवताहरू पनि गर्न सक्तैनन्। आयुर्वेद विज्ञानमा पनि यो वनस्पतिको विशिष्टस्थान रहेको छ । तुलसी पत्रको सेवनबाट प्राप्त हुने केही लाभहरूलाई बुँदागत रूपमा यसरी समेट्न सकिन्छ -

१. तुलसी पत्रको रस बनाएर सेवन गर्दा कडा ज्वरोको प्रकोपलाई शान्त बनाउन सकिन्छ। ज्वरो र टाइफाइडबाट ग्रस्त बिमारीले प्रत्येक दुई वा तीन घण्टामा तुलसीको रस सेवन गर्दा रोगको प्रकोपबाट जोगिन सक्दछन्।

२. कतिपय आयुर्वेदिक कफ सिरपमा तुलसीपत्रको प्रयोग गरिएको हु्न्छ, आयुर्वैदिक स्वास्थ्य उपचारका क्रममा क्षयरोग (टी.बी.),ब्रोङ्काइटिस र दम(Asthma) जस्ता रोग निवारणका निमित्त पनि तुलसी लाभदायी औषधी हो भनिएको पाइन्छ।

३. तपाईं रुँघामर्की र सर्दीबाट पीडित हुनुहुन्छ भने केवल तुलसीका सादा पत्रहरूको सेवन गर्नुहोस्, तपाईंले पक्का स्वास्थ्यलाभ गर्नुहुन्छ।

४. विषालु कीरा, फट्याङ्ग्रा र सर्पको डँसाइबाट ग्रस्त व्यक्तिले तुलसी पत्रको रस, यसको फूल र जरा मिसाएर लेप बनाई घाउ वा डँसाइ भएको स्थानमा लगाउँदा विषको फैलावट हुने क्रम र डाहालाई शान्त बनाउन सक्नुहुन्छ र आफ्नो जीवनलाई लम्ब्याउन मद्दत पुग्छ।

५. तुलसीको तेलमा भिटामिन सी, प्रोटिन, क्याल्सियम र फोस्फोरस तत्त्वको मात्रा अत्यधिक रूपमा प्राप्त हुन्छ। त्यस्तै यस वनस्पतिमा एन्टीब्याक्टेरियल, एन्टीफङ्गल र एन्टीभाइरल गुणहरू पनि विद्यमान हुन्छन्।

६. मधुमेहका दीर्घरोगी हरूले पनि तुलसीको प्रयोग गरेर लाभ प्राप्त गर्न सक्दछन्। यस वनस्पतिले पाचन प्रक्रियालाई नियमित र बलियो तुल्याउन सघाउ पर्याउँछ।

७. तुलसीको तेललाई एन्टी मलेरियल औषधीका रूपमा प्रयोग गर्न पनि सकिन्छ। एन्टीबोडी तत्त्व हुनाले तुलसीले हाम्रो शरीरको इम्यूनिटी शक्तिलाई पनि बढाउँछ।

८. तुलसीको नियमित प्रयोग गर्नाले हाम्रो स्वास्थ्य र सौन्दर्यलाई सन्तुलित तुल्याउन समेत मद्दत गर्दछ।

यसरी भगवान् विष्णुको आशीर्वाद प्राप्त गरेकै दिनदेखि तुलसीको महत्त्व बढ्न गएको हो ।

तुलसीदलानि पुष्पाणि ये यच्छंति जनार्दने
कार्तिके सकलं वत्स पापं जन्मायुतं दहेत्
यावच्छाखाप्रशाखाभिर्बीजपुष्पदलैर्मुने
रोपिता तुलसी पुंभिर्वर्द्धते वसुधातले
तेषां वंशे तु ये जाता ये भविष्यंति ये गताः
आकल्पवर्षसाहस्रं तेषां वासो हरेर्गृहे
यत्फलं सर्वपुष्पेषु सर्वपत्रेषु नारद
तुलसीदलेन चैकेन कार्तिके प्राप्यते तु तत्
महाप्रसादजननी सर्वसौभाग्यवर्धिनी ।
आधिव्याधिहरे नित्यं तुलसि त्वं नमोऽस्तु ते ।।



आज हरिबोधिनी एकादशीका दिन के कसरी पूजादि सम्पन्न गर्ने त ?

१) सबैभन्दा पहिले ब्रह्ममुहूर्त (सूर्योदयहुनुभन्दा ५ घडी अर्थात् २ घण्टाअघि) मा शयन त्यागी उठेर गङ्गादि तीर्थमा गएर वा घरैमा स्नानादि गर्ने ।
२) घरबाहिर रहेको तुलसीको मठको सरसफाइ गरिदिने । लिप्नपोत्न मिल्ने ठाउँमा गाईको गोबरले लिपेर कमेरो माटो र गेरु रङले मठलाई सिङारेर लिङ्गो गाडी ध्वजापताका गरिदिने । लिङ्गो गाड्दा बाँस, शमी, सिमाली वा उखुका लाँक्राको प्रयोग गर्न सकिन्छ र मठको चारवटा कुनामा एकएकवटा र पूर्व दिशा (घाम उदाउने दिशा)मा बीचमा एउटा लिङ्गो ठड्याउनु पर्छ ।
३) त्यसपछि आफूले नित्यपूजा गर्ने मन्दिर वा पूजाकोठामा आएर इष्टदेवताका साथमा भगवान् नारायण (कुनै फोटो वा प्रतिमा) वा शालिग्रामादिको विधिपूर्वक पूजादि गरिदिनु पर्छ । पाद्य, अर्घ्य, आचमनादि षोडशोपचार विधिले भगवानको पूजा गरेपछि सिंहासन वा पूजाको थालीमा राखी भगवान् नारायण वा शालिग्रामको शीला शङ्ख घण्ट बाजागाजा बजाउँदै भगवान् नारायणका स्तोत्रहरूको नामोच्चारण गर्दै बाहिर तुलसीको मठमा ल्याई स्थापना गर्नु पर्दछ । 
४) त्यसपछि पुनः विधिपूर्वक पाद्य, अर्घ्यादि षोडशोपचार विधिले तुलसी र शालिग्राम वा भगवान् नारायणको प्रतिमाको पुनः पूजा गर्नु पर्दछ । पूजा गर्दा तुलसीको मञ्जरी, तिल र चन्दनको प्रयोग गर्नुपर्दछ । याद गर्नुहोला भगवान् नारायणको पूजा गर्दा अक्षताको प्रयोग गर्नुहुँदैन ।
५) अन्तिममा भगवान् नारायणलाई तुलसीको कन्यादान गरें भन्ने भावनाका साथमा यो मन्त्रको उच्चारण गर्नुपर्दछ —
देवी कनकसम्पन्नां कनकाभरणैर्युताम्।
दास्यामि विष्णवे तुभ्यं ब्रह्मलोकजिगीषया
अर्थात् सुवर्णादि अलङ्कारहरूद्वारा सुसज्जित तथा विभिन्न गरगहना तथा वस्त्राभूषणले युक्त भएकी तुलसीरूपी कन्यालाई दामोदर अर्थात् विष्णुरूपी हजुर वरसमक्ष समर्पण गर्दै छु ।
‘आजसम्म तुलसीरूपी यी कन्यालाई रोपेर, हुर्काएर, बढाएर आज यथाशक्ति अलङ्कृत गरेर दामोदररूप तपाईंलाई दिँदै छु’ भनेर भगवान् सत्यनारायणका अगाडि हातमा संकल्प लिएको जल छोड्नुपर्छ र भगवान् विष्णु प्रसन्न हुनुहोस् भन्नुपर्छ । यी मैले दिएकी तुलसीरूपी कन्या ग्रहण गर्नुहोस् भन्नुपर्दछ । तुलसीको हात सम्झिएर विष्णुमा स्पर्श गराउनुपर्छ । यो तुलसी दान गरेकाले मैले मोक्ष पाऊँ र तपाईं तुलसी मेरा चारैतिर हुनुहोस् भनी प्रार्थना गर्नुपर्दछ।
त्वं देवि मेऽग्रतो भूयास्तुलसीदेविपार्श्वतः।
देवि त्वं पृष्ठतो भूयास्त्वद्दानान्मोक्षमाप्नुयाम् ।।


६) अन्त्यमा तुलसी र विष्णुप्रतिमा वा शालिग्रामलाई फूलमाला, भेटी, श्रृङ्गारसामाग्री, आरती र पुष्पाञ्जली गरेर परिक्रमा गरी ब्राह्मणभोजन र दानादि गरिदिनु पर्दछ ।

यसरी आजको हरिबोधिनी एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई स्वर्गका देवतासरह प्रसन्नता प्राप्त हुन्छ भन्ने मान्यता पनि छ ।

न्वाँगी अर्थात् नयाँ अन्न खाने दिन
हाम्रो देश कृषिप्रधान देश हो । सामान्यतया कार्तिक/मंसिर महिनामा नयाँ अन्न भित्र्याउने समय पनि हुन्छ । त्यसैले यसै हरिप्रबोधिनी एकादशीको व्रतसमापन भएपछि द्वादशीका दिन यस वर्ष फलेको नयाँ चामल भगवान् नारायणलाई समर्पण गरी गृहस्थीहरूले आफूले पनि प्रयोग गर्ने परम्परा छ । संस्कृतमा नयाँ अन्नलाई नवान्न भनिन्छ, यही नवान्न पछि अपभ्रंश हुँदै जाँदा न्वागी भएको हो । न्वागी खाने कर्मका लागि हवनादि गर्नुपर्ने भएकाले उपयुक्त समय भएकाले हरि प्रबोधिनी एकादशीको भोलिपल्ट द्वादशीका दिन तुलसाको आहुती भनी यो कर्म हरेक नेपाली गृहस्थीका घरमा सम्पन्न गर्ने पुरानो चलन छ । वास्तवमा देश, काल र भूगोलअनुसार खेतीपातीबाट यसै वर्ष प्राप्त भएको नयाँ धान, जौ आदिको उत्पत्तिपछि घरमा भित्र्याएर देवता र पितृहरूलाई चढाएर हवनादि कर्म गरी ‘आजदेखि ईश्वरको प्रसादका रूपमा यो अन्न म ग्रहण गर्दछु’ प्रार्थना गरिन्छ । यस कृत्यलाई शास्त्रमा 'आग्रायण कृत्य' भनिन्छ ।

न्वागी खाने कर्म नित्यकर्म हो । त्यसैले यस पटक बृहस्पति अस्त भए पनि द्वादशी र त्यसपछि पञ्चमीभित्र जुन दिन अनुकूल हुन्छ, त्यसदिन तुलसाको आहुती गरी नवान्न ग्रहण गर्न मिल्छ । न्वागी खाने र तुलसाको आहुती गर्ने काम यो द्वादशीदेखि आगामी मार्ग कृष्ण पञ्चमीसम्म जहिले गरे पनि हुन्छ । यस समयमा तुलसीको हवन, तुलसीको विवाह र नवान्न प्राशनका लागि शुभसाइत हेर्नु पर्दैन । तर मार्ग कृष्णपक्षको पञ्चमी बितेपछि यी कर्म सम्पादन गर्न दिन जुराएर मात्र गर्न मिल्छ ।

अस्तु ।।

Nov 3, 2017

रमा एकादशी


रमा एकादशी प्रत्येक वर्षको कार्तिक महिनाको कृष्णपक्षको एघारौं दिनका दिन पर्दछ । अरु एकादशीको व्रतजस्तै यस एकादशीको पनि आफ्नै वैशिष्ट्य र महत्त्व छ । यस व्रतको व्रतकथा र महात्म्य विभिन्न पुराणहरूमा बाहेक पद्मपुराणमा पनि उल्लेख गरिएको छ । प्रातःकालमा नित्यस्नान गरी भगवान् विष्णुको पूजा गरी दिनभरि निराहार बसी वा फलाहार गरी राती जागरण गरी भोलिपल्ट द्वादशीका दिन यस व्रतको पारणा हुन्छ । द्वादशीका दिन गोवत्स द्वादशी हुने भएकाले यस व्रतको समापनमा बाछोसहित गाईको पूजाआजा वा मौका परेको वेला गाई र बाछो दान गर्दा अझ ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ । यसको महात्म्य भगवान् श्रीकृष्ण र धर्मराज युधिष्ठिरको संवादका क्रममा वर्णन भएको छ । सुरुमा युधिष्ठिर भगवान् श्रीकृष्णसित जिज्ञासा राख्दछन् -

कथयस्व प्रसादेन मयि स्नेहाज्जनार्दन ।
कार्त्तिकस्यासिते पक्षे किंनामैकादशी भवेत् ॥

यसरी एकादशीका बारेमा चर्चा गर्न युधिष्ठिरले आग्रह गरेपछि भगवान् श्रीकृष्णले यसको महात्म्य र व्रतकथा बताउनु भएको हो । भगवान् श्रीकृष्णका मुखारविन्दबाट उल्लेख भएको उक्त व्रतकथा यसप्रकार छ :-

श्रूयतां राजशार्दूल कथयामि तवाग्रतः ।
कार्त्तिके कृष्णपक्षे तु रमा नाम सुशोभना ॥
एकादशी समाख्याता महापापहरा परा ।
अस्याः प्रसंगतो राजन्माहात्म्यं प्रवदामि ते ॥
मुचुकुन्द इति ख्यातो बभूव नृपतिः पुरा ।
देवेन्द्रेण समं तस्य मित्रत्वमभवन्नृप ॥

प्राचीनकालमा एकजना मुचुकुन्द नामका प्रभावशाली राजाको शासनकाल थियो । उनी पृथ्वीमा मात्र होइन, स्वर्गलोक, ब्रह्मलोक र सत्यलोकमा पनि प्रसिद्ध थिए । इन्द्र, यम, कुबेर, वरुण र विभीषण आदि दिव्यपुरुषहरू उनका मित्र र सहयोगी थिए र उनी धर्मात्मा, न्यायप्रिय र विष्णुभक्त थिए । उनी प्रत्येक एकादशीको नियम र निष्ठाका साथमा व्रत लिने गर्दथे, राज्यका समस्त नागरिकले एकादशीको व्रत सम्पादन गर्नु त स्वाभाविक नै मान्न सकिन्छ, उनको राज्यका मनुष्येतर प्राणि र पशुपन्छीले पनि एकादशीका दिन घाँसचारो त्याग गर्दथे । तिनकी चन्द्रभागा नामकी एउटी छोरी थिईन् । उनी शुद्ध आचरण भएकी धर्मपरायण र पतिव्रता स्त्री थिईन् । उनको विवाह छिमेकी राज्यका राजा चन्द्रसेनका सुपुत्र राजकुमार शोभनसित भर्खरै सम्पन्न भएको थियो । एक पटक नयाँ बेउला र बेउली ससुरालीमा आएको अवसर थियो, त्यसै वेला यो रमा एकादशीको दिन आइपुग्यो ।

राजाले अरुअरु एकादशीको अघिल्लो दिन गरेजस्तै रमा एकादशीको एक दिनअघि अर्थात् दशमीका दिन नगरभरि झ्याली पिटाएर प्रजालाई सूचित गरे - 'भोलि रमा एकादशीको पवित्र दिन हो, नगरभरिका सबै प्रजाहरूले यस व्रतको अनुष्ठान गर्नुहुन अनुरोध छ ।' उक्त सूचना ससुराली आएका नयाँ ज्वाइँ शोभनले पनि सुने । उनले अहिलेसम्म कुनै किसिमका व्रत लिएका थिएनन् र जहाँसम्म अहिलेसम्म उनले भोकै बसेको पनि थाहा थिएन । अहिलेसम्म भोक र तिर्खा भनेको के हो भन्ने थाहा नपाएका शोभन एकादशीका दिन निराहार बस्नुपर्छ भन्ने थाहा पाएर खान्कीको अभावमा शरीरलाई कष्ट हुने र आफ्नो बेहाल हुने चिन्ताले छट्पटिन थाले । पतिको चिन्ताको विषय पत्नी चन्द्रभागालाई पनि थाहा थियो । उनी मनैमनमा सोच्न थालिन् - ' मेरा पति अत्यन्त दुर्बल छन्, भोक सहन गर्न पटक्कै सक्दैनन्, उता मेरो पिताको आज्ञा पनि अत्यन्त कठोर छ । अब भोलिको एकादशीको व्रत यिनले कसरी सम्पादन गर्लान् ?' यसरी शोचमग्न भई बसेको वेला उनका पति पनि त्यहीं आइपुगे, र आफ्नो गुनासो पोख्दै भने - 

'हे प्रिये ! म के गरौ ?, मैले के गर्नु उचित हुन्छ ?, मैले भोको बस्नुपरेको अनुभव छैन, भोक सहन सक्दै सक्दिन । अब तिमीले नै कुनै यस्तो उपाय बताऊ, जसबाट मेरो प्राणको रक्षा होस् अनि व्रत लिन सजिलो पनि होस् । अहोरात्र निराहार बस्नु पर्यो भने म त मर्न बेर लाउँदिन ।' चन्द्रभागा निराश भईन्, धेरै बेरसम्म कुनै उपाय छ कि भनी घोरिईन् पनि, तर कुनै उपाय नदेखेपछि आफ्ना पतिलाई सम्झाउँदै भनिन् - 

मत्पितुर्वेश्मनि प्रभो भोक्तव्यं नाद्य केनचित् ।
गजैरश्वैश्च कलभैरन्यैः पशुभिरेव च ॥
तृणमन्नं तथा वारि न भोक्तव्यं हरेर्दिने ।
मानवैश्च कुतः कांत भुज्यते हरिवासरे ॥
यदि त्वं भोक्ष्यसे कांत ततो गर्हां प्रयास्यसि ।
एवं विचार्य मनसा सुदृढं मानसं कुरु ॥

हे स्वामी ! मेरा पिताको राज्यमा एकादशीका दिन कसैले भोजन गर्दैन । मान्छेमात्र होइन, यहाँका हाती, घोड़ा, ऊँट, बिरालो, गाई र अन्य पन्छीले पनि एकादशीका दिन घाँसपानी र अन्नजल ग्रहण गर्दैनन् । त्यसैले एकादशीको व्रत यहाँको नियमितता भइसकेको छ । तपाईं बरु आजै यस देशको सीमाबाहिर जानुहोस् र भोलिको दिन बिताएर फर्कनुहोस्, त्यसबाहेक अरु उपाय छैन ।' शोभनको भर्खर विवाह भएको थियो, उनलाई पत्नीलाई छाडेर एकछिन पनि अन्त जान मन थिएन । पत्नीबाट पनि भोकबाट जोगिने कुनै उपाय पत्तो लागेन, त्यसपछि सबैले लिएको व्रत आफुले पनि लिन सकिन्छ होला भन्ने ठानेर उनले पत्नीलाई भने - 

सत्यमेतत्प्रिये वाक्यं करिष्येऽहमुपोषणम् ।
दैवेन विहितं यद्धि तत्तथैव भविष्यति ॥

'प्रिये ! आखिर यहाँ सबैले व्रत लिने नै गरेका रहेछन्, म पनि व्रत लिन्छु ।'

क्षुधया पीडिततनुः स बभूवातिदुःखितः ।
इति चिंतयतस्तस्य आदित्योऽस्तमगाद्गिरिम् ॥
वैष्णवानां नराणां सा निशा हर्षविवर्द्धनी ।
हरिपूजारतानां च जागरासक्तचेतसाम् ॥
बभूव नृपशार्दूल शोभनस्यातिदुःखदा ।
रवेरुदयवेलायां शोभनः पंचतां गतः ॥

भोलिपल्ट रमा एकादशीको दिन पत्नीले बताएको विधिविधानलाई पालना गर्दै शोभनले व्रत लिए । दिन छिप्पिंदै जाँदा उनी भोक र प्यासबाट व्याकुल हुँदै गए । जसैतसै दिनभरिको समय बितेर साँझ पर्यो । सबैले भगवान् नारायणको पूजा र आरती गरे, त्यसपछि जागरणको तैयारी हुन थाल्यो । अरु सबैका लागि एकादशीको रात्रीकालमा जागरण गर्न पाउनु अहोभाग्य थियो, त्यसैले नगरका सबै नागरिक खुसी र प्रसन्न थिए, तर शोभनका लागि त्यो समय झनझन दुःखदायी र कष्टप्रद बन्दै गएको थियो । रात्रीकाल समाप्त भई उज्यालो हुन पाएकै थिएन, भोकप्यास र कमजोरीका कारण शोभन मूर्च्छित भए र केही समयमैं उनको मृत्यु भयो ।

दरबार र पूरै राज्यमा शोक व्याप्त भयो । अन्ततः उनको अन्त्येष्टिको तैयारी गरियो । राजा मुचुकुन्दले गङ्गाको तटमा श्रीखण्डको सुगन्धित दाउरा जम्मा पारी चिता निर्माण गरे, भर्खरै विवाहबन्धनमा बाँधिएकी छोरी विधवा भईन्, उता के खाउँ र के लाउँ भन्ने उमेरका ज्वाइँको अन्त्य भयो, राजा मुचुकुन्दलाई खपिनसक्नुको पिर परेकै थियो, उता छोरी चन्द्रभागा पनि पतिवियोगमा रोई कराई गरिरहेकी थिईन्, अनि पतिसँगै सति जान्छु भनी जोड गर्न थालेकी थिईन् । राजाले छोरीलाई सम्झाइबुझाइ गरे र सति जान दिएनन् । अन्तत: पूर्ण राजकीय सम्मानका साथमा शोभनको अन्त्येष्टि कर्म सम्पन्न भयो ।

विधवा भएकी चन्द्रभागा माइतमा नै बस्न थालिन् । केवल एक दिन, त्यो पनि विनानिष्ठा लिएको रमा एकादशीको व्रतको पुण्यले शोभनले मृत्युपछि मन्दराचल पर्वतमा अवस्थित एउटा सुन्दर देवपुर प्राप्त गरे । त्यस पुरमा सुन्दर रत्न र वैदूर्यमणि जटित स्वर्णका खम्बामा निर्मित, किसिमकिसिमका मणिमाणिक्यको बुट्टा र रङरोगनद्वारा सुशोभित, अनुपम भवनमा बहुमूल्य वस्त्राभूषण तथा छत्र र चम्मरबाट विभूषित भई, गन्धर्व र अप्सराको सेवासुश्रुषा ग्रहण गर्दै शोभन सिंहासनमा आरूढ भई राज गर्न थाले । उनको त्यतिवेलाको मानसम्मान र प्रतिष्ठा स्वर्गका राजा इन्द्रको भन्दा कम थिएन । त्यस्तो सुख र वैभवको अधिकार पाएका शोभनको समय भने धेरै तोकिएको थिएन, किनकि उनले आर्जन गरेको पुण्य धेरै थिएन । बल्ल एकादशीको पुण्य र महत्ताका बारेमा शोभनले चाल पाएका थिए । अब देवपुरको यो अधिकार र सुविधा कसरी लम्ब्याउन सकिन्छ भनेर उनी चिन्तित रहन थाले । 

मुचुकुन्दको राज्यमा एकजना सोम शर्मा नामका ब्राह्मण निवास गर्दथे । उनी शास्त्रका ज्ञाता र ब्रह्मनिष्ठ विप्र थिए । उनमा सशरीर स्वर्ग, मर्त्य र पातालमा विचरण गर्ने सामर्थ्य थियो । एक पटक तीर्थाटनका क्रममा उनी मन्दराचल पर्वतमा रहेको उक्त देवपुरमा पुगे । त्यहाँ राज गर्ने शोभनलाई देख्दा उनी छक्क परे । शोभनले पनि ससुराली गाउँका प्रतिष्ठित पण्डितलाई नचिन्ने कुरा भएन । दुबै जनाका बीचमा भलाकुसारी भयो । सोमशर्माले शोभनलाई सबै खबर सुनाउँदै भने -

कुशलं वर्त्तते राजन्श्वशुरस्य गृहे तव ।
चन्द्रभागा कुशलिनी सर्वतः कुशलं पुरे ॥
स्ववृत्तं कथ्यतां राजन्नाश्चर्यं विद्यतेऽद्भुतम् ।
पुरं विचित्रं रुचिरं न दृष्टं केनचित्क्वचित् ॥
एतदाचक्ष्व नृपते कुतः प्राप्तमिदं त्वया ।

हे राजन् ! तपाईंको ससुरालीमा सबै राम्रो छ । चन्द्रभागा पनि कुशलताका साथमा जीवनयापन गर्दैछिन् । तर तपाईंले पो मृत्युपछि पनि यो अचम्मको लोक कसरी प्राप्त गर्नुभयो ? म छक्क परेको छु, यसको कारण बताइदिनु हुन्छ कि ?
शोभन उत्तम लोक प्राप्त गरे पनि चिन्तित थिए, सही र उपयुक्त अवसर ठानेर शोभनले ब्राह्मणलाई आफूले प्राप्त गरेको दिव्यलोकको विवरणका साथमा आफ्नो चिन्ताको विषय पनि बताए । उनले सुमधुर आवाजमा ब्राह्मणसित आग्रह गरे - 

कार्तिकस्यासिते पक्षे या नामैकादशी रमा ।
तामुपोष्य मया प्राप्तं द्विजेंद्र पुरमध्रुवम् ॥
ध्रुवं भवति येनैव तत्कुरुष्व द्विजोत्तमः ।

'हे भूदेव ! कार्तिक कृष्णपक्षको रमा एकादशीका दिन मैले जानीनजानी गरेको व्रतको प्रभावले अहिले यो सुन्दर देवपुर प्राप्त गर्न पाएँ । तर मेरा निमित्त यो अस्थिर छ । हजुर त्रिकालज्ञ र दूरदर्शी हुनुहुन्छ, त्यसैले मेरो यो पद र सुविधालाई स्थायी बनाउने उपाय गरिदिनु होस् । मैले यस व्रतलाई श्रद्धारहित भएर लिएको थिए, त्यसैले केही समयका लागि यो वैभव त पाएँ, तर त्यस व्रतको पुण्य सकिनासाथ मेरो दुर्गति हुनेछ । अब हजुरले मेरो यो परिस्थिति मेरी पत्नी चन्द्रभागाका कानमा पुर्याई दिनुहोस् । उनले यत्तिकुरा थाहा पाएपछि मलाई विश्वास छ, मेरो यो वैभव चिरस्थायी हुनेछ ।' ब्राह्मण तीर्थयात्रा पूरा गरी आफ्नो नगरमा फर्किए र शोभनको सन्देश चन्द्रभागालाई सुनाई दिए । चन्द्रभागालाई बाहुनका कुरामा पत्यार लागेन । केही समयअघि उनको काखैमा शोभनले प्राण त्यागेका थिए । फेरि पनि उनी ब्राह्मणको शक्ति र सामर्थ्यका बारेमा जान्दथिन्, के हो के हो भन्ने ठान्दै उनले ब्राह्मणलाई भनिन् - गुरुदेव ! मलाई हजुरका कुरा सुन्दा सपनाजस्तो लाग्दैछ, यदि यो कुरो सत्य हो भने मलाई पनि त्यस ठाउँमा लिएर जानुहोस्, जहाँ मेरा पतिदेव निवास गर्दछन् । हजुरले हामी दुईको मिलन हुने काम गर्नुहोस्, वियोगीलाई भेट गराउनु महान कर्म हो र यसको पु्ण्य अक्षय हुन्छ । यदि मैले तपाईंले भनेजस्तै मेरा पतिको दर्शन पाएँ भने आफूले आर्जन गरेका समस्त पुण्य उनलाई सुम्पिएर उनको उक्त दिव्यगतिलाई चिरस्थायी तुल्याउने प्रयास गर्नेछु ।' चन्द्रभागालाई आश्वस्त तुल्याउँदै सोम शर्माले पुनः भने - 'छोरी ! मैले मन्दराचलमा तिम्रा पतिलाई प्रत्यक्ष देखेको हो, साथै कसैले पनि जित्न नसक्ने र देवताहरूको स्वर्गसमान उनको सहर पनि देखेको हो ।'

सोम शर्मामा सामर्थ्य थियो । उनी आफूसँगै जसलाई पनि तीनै लोकमा सशरीर लिएर जान सक्थे । तर उनले आफ्नो यस शक्तिको अनधिकार उपयोग गरेका थिएनन् । उनले ध्यानदृष्टिले चन्द्रभागाको जीवनीलाई नियाले । आठ वर्षको सानो उमेरदेखि नै निष्ठा र भक्तिभावका साथमा भगवद्भक्ति गरेकी र पवित्र तथा निर्मल चित्त भएकी चन्द्रभागाको शरीर जुनसुकै लोकका निमित्त पनि ग्राह्य रहेको कुरा पत्ता लगाए । त्यसपछि उनले चन्द्रभागालाई आश्वस्त तुल्याउँदै भने – 'ठिक छ, तिमी जान्छ्यौ भने म तिमीलाई शोभनले पाएको देवपुरमा लिएर जानसक्छु ।'

उचित समय र मुहूर्त आएपछि सोम शर्मा र चन्द्रभागा दुबैले मन्दराचलतर्फ प्रस्थान गरे । सुरुमा बाहुनले चन्द्रभागालाई वामदेव ऋषिको आश्रममा लगी वैदिक मन्त्रोच्चारणका साथमा अभिमन्त्रित गराए । त्यसपछि उनले दिव्य शरीर र दिव्य गति प्राप्त गरिन् । अब महावनको यात्रा प्रारम्भ भयो । केही समयपछि सोम शर्मा बाहुन र राजकुमारी चन्द्रभागा मन्दराचल पर्वतमा रहेको उक्त देवपुरमा पुगे । पृथ्वीमा मृत भई अग्निसंस्कार गरी विदा गरेका पतिलाई चन्द्रभागाले देख्न पाईन् । आफ्नी प्रियतमालाई परैबाट देखेर शोभन पनि प्रसन्न भए । नजिकै आइपुगेपछि उनले ब्राह्मणलाई प्रणामादि र स्वागतसत्कार गरी आसन ग्रहण गराए, अनि चन्द्रभागालाई अङ्कमाल गर्दै आफ्नो सिंहासनको बायाँ भागमा बसाले । यसरी सपनामा पनि पूरा हुन नसक्ने घटना चन्द्रभागाको जीवनमा घट्यो । हर्षले भावविभोर हुँदै उनले पतिलाई संवोधन गर्दै भनिन् - 'हे प्राणनाथ ! हजुरले मेरा पुण्यलाई ग्रहण गर्नुहोस् । मैले आठ वर्षको कलिलो उमेरदेखि धर्माचरण गरेकी छु, त्यतिवेलादेखि अहिलेसम्म सबै एकादशीको श्रद्धा र भक्तिका साथमा विधिपूर्वक व्रत लिएकी छु । यसरी मैले गरेको व्रत, तप र धर्मकर्मको पुण्य म हजुरलाई सुम्पन्छु । उक्त पुण्यको प्रतापबाट हजुरको यो पद र वैभव सधैंका लागि स्थिर हुनेछ । समस्त सुख, वैभव र सम्मृद्धिबाट युक्त भई हजुरको यो अधिकार प्रलयकालसम्म कायम हुनेछ ।' चन्द्रभागाको पुण्य प्राप्त गरी शोभनको सुविधा र अधिकारको स्थायित्व भयो । पतिलाई प्राप्त गरेकाले पुनः वैधव्य जीवन भोग्नुपर्ने पृथ्वीतलमा चन्द्रभागा पनि फर्किनन् । दुबै जना पतिपत्नी उक्त देवपुरमा यक्ष, गन्धर्व र अप्सराको सेवासुश्रुषामा रमाउँदै दिव्य आभूषण र उत्तम वस्त्रादिबाट सुसज्जित भई आनन्दपूर्वक सुखभोग गर्न थाले ।

रमाव्रतप्रभावेन मंदराचलसानुनि ।
चिंतामणिसमा ह्येषा कामधेनुसमाथ वा ॥
रमाभिधाना नृपते तवाग्रे कथिता मया ।
तस्या माहात्म्यमनघ श्रुतं सर्वं त्वया नृप ॥

रमा एकादशीको ठूलो महत्त्व छ । जसले यस व्रतलाई श्रद्धा र भक्तिभावका साथमा लिन्छन्, तिनका ब्रह्महत्यादि समस्त पाप नष्ट हुन्छन् । शोभन र चन्द्रभागाले प्राप्त गरेजस्तै मरणोपरान्त उत्तम लोकको प्राप्ति हुन्छ । विवशताले आजको व्रत लिन नसके पनि जसले यस एकादशीको व्रतकथा र महात्म्यलाई पढ्ने, सुन्ने र सुनाउने गर्दछन्, तिनले पनि आफ्नो शरीरमा जन्मजन्मान्तरदेखि सञ्चित रहेका पापबाट छुटकारा पाई विष्णुलोक प्राप्त गर्दछन् । जय श्रीमन्नारायण ॥

Oct 20, 2017

पापाङ्कुशा एकादशी

धर्मराज युधिष्ठिरले आश्विन महिनाको शुक्लपक्षको एकादशीका बारेमा जिज्ञासा राखेपछि श्रीकृष्णले पापाङ्कुशा एकादशीको व्रतको महात्म्य र कथा सुनाउनु भएको हो । भगवान् श्रीकृष्ण भन्नुहुन्छ -  हे युधिष्ठिर ! आश्विन महिनाको शुक्लपक्षमा पर्ने एकादशीले जन्मजन्मान्तरदेखि शरीरभित्र सञ्चित रहेका पापराशिको नाश गर्दछ । त्यसैले यस एकादशीको नाम पापाङ्कुशा रहन गएको हो । यस एकादशीका दिन भगवान् विष्णुको त्रिविक्रम स्वरूपको उपासना गर्ने विधान छ, त्यसैले यस एकादशीको अर्को नाम पद्मनाभ एकादशी पनि हो । यस एकादशीको श्रद्धा, भक्ति र निष्ठापूर्वक गरिएको व्रतसम्पादनले शरीरभित्र रहेका यावत् पापराशिको अन्त्य भई व्रतालुका समस्त मनोकाङ्क्षाहरू पूर्ण हुन्छन् । उसले सांसारिक सुखसम्मृद्धि र भोगविलासको भरपूर आनन्द उपभोग गरी मरणोपरान्त वैकुण्ठलोक प्राप्त गरी सायुज्य मुक्ति प्राप्त गर्दछ । 

पापाङ्कुशा एकादशीको कथा सुनाउँदै श्रीकृष्ण आज्ञा गर्नुहुन्छ - हे युधिष्ठिर ! परापूर्व कालमा विन्ध्याचल पर्वतको कुनै वस्तीमा एउटा क्रोधन नामको व्याधा निरीह पशुपन्छीको बध गरी जीविकोपार्जन गर्दथ्यो । सांसारिक सुखसयल र भोगविलासमा मात्र ध्यान दिएकाले उसले जीवनमा कहिल्यै पनि कुनै परोपकारी र पुण्य कर्म गरेको थिएन । बरु ऊ नामजस्तै क्रोधी, क्रूर र अत्याचारी स्वभावको थियो र उसको आचरण पनि शुद्ध थिएन । मादक पदार्थको सेवन गर्नु, छलछाम र चोरीडकैती गर्नु, वेश्यावृत्ति र कुत्सित कामेच्छा पूर्ण गर्नु, जुवातास र सट्टाबाजीमा समय यापन गर्नु आदि उसका सामान्य वृत्ति थिए । यसरी दुष्टता र व्यभिचारले पूर्ण जीवनयापन गर्दागर्दै एक दिन उसको अन्त्यकाल आइपुग्यो । यमदूतले उसलाई तेरो मृत्यु सन्निकट छ, अब भोलि नै तँलाई हामी यमसदनमा लिएर जानेछौं भनी सूचना दिए । उसको बाहिरी प्रकृति अत्यन्त क्रूर र नरपिशाच झैं भए पनि ऊ आन्तरिक रूपमा अत्यन्त कातर र डरपोक थियो । मृत्युको सूचना पाएपछि उसले आफूले जीवनभरि गरेका पापकृत्य र दुष्ट्याइँको लेखाजोखा गर्न थाल्यो । आफ्नो जीवनवृत्तिप्रति ऊ आफैंलाई घृणा लाग्यो, नरकमा भोग्नुपर्ने अनेकौं सजाय र दण्डको कल्पना गरेर ऊ असाध्यै त्रसित भयो अनि मृत्युदेखि डराएर यत्रतत्र भौंतारिन थाल्यो । उसका भोक, प्यास, निद्रा र सांसारिक कामना सबै ओझेलमा परे । निर्जन वनमा भौंतारिंदै गर्दा अनायासै ऊ अङ्गीरा ऋषिको आश्रममा पुग्यो । क्रोधनको अनुहारमा अन्धकारको कालिमा र निराशा अनि वैराग्यका भावभङ्गिमा देखेर अङ्गीराले उसको चिन्ताको विषय के हो भनी प्रश्न गरे । सिकारीले आफ्नो चिन्ताको विषय बतायो र यस सङ्कटबाट मुक्ति पाउने उपायका बारेमा ऋषिसँग जिज्ञासा राख्यो । ऋषि अङ्गीराले सिकारीलाई सम्बोधन गर्दै भने - 'बाबु, क्रोधन ! जन्मिएका जातकले अवश्यमेव मृत्यु ब्यहोर्नु पर्छ, यो शाश्वत सत्य हो । त्यसैले ममा मृत्युलाई रोक्ने सामर्थ्य छैन । हुन त, पुण्यसञ्चय गर्न र शुभ कर्मका लागि मनुष्य योनिमा प्राणिको जन्म हुन्छ, तर पनि उसले पूर्वजन्म र प्रारब्धको भोगका आधारमा जीवन बिताउने गर्दछ । तिमी मानव भएर जन्मिए पनि कुनै शुभकर्म वा परोपकारी काममा संलग्न भएनौ । जीवको हत्या गरी जीविका चलाउने तिम्रो पारिवारिक संस्कार भए पनि तिम्रो आचरण शुद्ध भएन । अहिले तिम्रो आयु पूर्ण भएको छ । त्यसैले यस जन्ममा गरेका शुभ र अशुभ परिणामको भोग गराउन यमदूतहरू तिमीलाई लिन आउँदैछन् । तिमीले उनीहरूका साथमा जानै पर्दछ ।' ऋषि अङ्गीराबाट पनि यस्ता निराशापूर्ण उत्तर पाएपछि क्रोधनले ऋषिलाई पुनः अनुरोध गर्दै सोध्यो - ' हे महर्षि ! तपाईं ज्ञानी, विद्वान् र तत्त्वदर्शी हुनुहुन्छ, यस जन्ममा त मैले कुनै शुभकर्म र परोपकारी काम गरेकै छैन, तर पूर्वजन्ममा सञ्चित थोरै शुभता मेरो शरीरमा पक्का पनि केही न केही बाँकी थियो होला, सम्भवतः त्यसैको पुण्यप्रभावले मृत्युको सन्निकट रहेको घडीमा पनि मैले हजुरको सान्निध्यता प्राप्त गर्ने अनुकूलता प्राप्त गरें । अब कृपा गरी मैले नरकको यातना भोग्नु नपर्ने कुनै उपाय छ भने आज्ञा गर्नुहवस् ।' क्रोधनका यस्ता विनम्रतापूर्ण जिज्ञासा सुनेपछि ऋषिले भने - 'आज पापाङ्कुशा एकादशीको संयोग जुरेको छ । तिमीले यस व्रतको पालना गर । यस व्रतको पुण्यप्राप्त भएमा तिमीले यमराजको यातना सहनु पर्ने छैन ।' यति भनेर ऋषिले एकादशी व्रतका नियम र विधिविधानका बारेमा बताइदिए । क्रोधन अघिल्लै दिनदेखि चिन्ता र छटपटीका कारण निराहार थियो । अङ्गीराले बताएको विधिलाई पालना गर्दै उसले त्यस दिनको पापाङ्कुशा एकादशीको व्रत लियो । मध्यरातमा उसलाई लिन यमदूतहरू ऋषिको आश्रममा पुगे, तर यमदूतले त्यहाँ अचम्मको दृश्य देखे । यमदूत पुगेकै समयमा क्रोधनका प्राणपखेरु उडीसकेका थिए, तर तिनलाई यमदूतले यमपाशले बाँध्नुअघि नै वैकुण्ठबाट आएका विष्णुदूतले दिव्यविमानमा बसालेर पीताम्बर र वनमाला पहिर्याई वैकुण्ठलोक लिएर गए । यसरी पापाङ्कुशा एकादशीको पुण्यप्रभाव प्राप्त भएकाले क्रोधन व्याधाका समस्त पापराशिको नाश भयो तथा ऊ शुद्धबुद्ध र सात्विक भावले युक्त भई वैकुण्ठलोक जाँदो भयो । यसरी क्रोधन नाम गरेको सामान्य व्याधाले यस एकादशी केवल एक पटकको व्रतसम्पादनले जीवनमरणको सांसारिक चक्रबाट सधैंका लागि मुक्त हुने अवसर प्राप्त गर्यो ।

क्रोधन सिकारी जसरी नै यस पापाङ्कुशा एकादशीको व्रत लिने सबै जीवले शुद्ध र सात्विक हृदय धारण गरी जीवनकालमा सुखसम्मृद्धि र आनन्दको उपभोग गर्दै अन्त्यमा वैकुण्ठलोक प्राप्त गर्दछ । हे नृपोत्तम ! मनुष्यजीवनको जुन काल पनि यस एकादशीको व्रतका लागि उत्तम मानिन्छ । बाल्यावस्था, युवावस्था र वृद्धावस्था जुन उमेरमा पनि जानेर वा नजानेर कुनै पनि मनुष्यले असोज महिनाको दुर्गा पक्षमा पर्ने यस पापाङ्कुशा एकादशीको व्रत लियो भने जन्मजन्मान्तरदेखि पापी र नीच कहलिए पनि आफ्ना दुर्गति नाश गर्दै सद्गति प्राप्त गर्न सफल हुन्छ र समस्त पापबाट मुक्त हुने अवसर प्राप्त गर्दछ । युधिष्ठिर ! मनुष्य जीवन पुण्यकर्म  सञ्चय गर्नका लागि प्राप्त भएको हो । कुनै मनुष्यले कुनै किसिमको परोपकारी र पुण्य कर्म नगरी जीवनकाल यापन गर्दछ भने त्यसले फेरेको सास पनि कामीको खलाँती जस्तै निरर्थक हुन्छ, ऊ सजीव भईकन पनि निर्जीव मुढोजस्तै हो ।

नियम, निष्ठा, श्रद्धा र भक्तिका साथ व्रत लिनुका साथै यस एकादशीका दिन आफ्नो सामर्थ्यबमोजिम सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्ने विधान पनि छ । यस दिन गरेको दानादिको अत्यन्त महत्त्व भएकाले पापाङ्कुशा एकादशीका दिन निर्धन मनुष्यले पनि आफ्नो गच्छेअनुसार सकेको दानादि गर्नु पर्दछ । धनीमानीले त इच्छानुकूल पोखरी, धारा, तलाउ, बरबगैंचा, विश्रामालय, पाटी आदि सार्वजनिक हितका काममा धनखर्च गर्नु पर्दछ । यस एकादशीका दिन दानादि र सत्कर्ममा खर्च गरेको धन यसै जन्ममा दोब्बर भई प्राप्त भई छाड्छ, अनि त्यस्तो पुण्यकर्मको शुभप्रभावले उसको भौतिक जीवनमा सुखसम्मृद्धि, सौभाग्य, दीर्घायुष्य, सुस्वास्थ्य प्राप्त भई मरणोपरान्त यमराजको द्वारको दर्शनै नगरी सिधै वैकुण्ठलोक प्रस्थान गर्दछ । अस्तु ।

Oct 4, 2017

एउटा व्रत २१ पुस्ताका पितृको उद्धार : इन्दिरा एकादशी व्रत

इन्दिरा एकादशीका बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले भगवान् श्री कृष्णसित धर्मराज युधिष्ठिरले प्रश्न गर्दै सोध्नुभयो - 
कथयस्व प्रसादेन ममाग्रे मधुसूदन
इषस्य कृष्णपक्षे तु किंनामैकादशीभवेत्

हे भगवन् ! आश्विन कृष्णपक्षको एकादशीको नाम के हो ? यसको व्रतविधि तथा फल के छ? युधिष्ठिरका प्रश्न सुनेर भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो - 
आश्विने कृष्णपक्षे तु इंदिरा नाम नामतः 
तस्या व्रतप्रभावेन महापापं प्रणश्यति
अधोयोनि गतानां च पितॄणां गतिदायिनी 
शृणुष्वावहितो राजन्कथां पापहरां पराम्
यस्याः श्रवणमात्रेण वाजपेयफलं लभेत् 

हे धर्मराज ! असोजको कृष्णपक्षमा पर्ने एकादशीको नाम इन्दिरा एकादशी हो । यस एकादशीमा शरीरमा जन्मजन्मान्तरदेखि सञ्चित रहेका पापराशिलाई नष्ट गर्ने सामर्थ्य छ र यसले आफ्ना दिवङ्गत पितृहरुलाई अधोगतिबाट मुक्ति प्रदान गर्दछ । हे राजन् ! यस एकादशीको कथा श्रवण गरेमा पनि व्यक्तिले वाजपेय यज्ञको फल प्राप्त गर्दछ । यसको महात्म्य उल्लेख भएको कथा यस्तो छ -
पुरा कृतयुगे राजन्बभूव नृपनंदनः
इंद्रसेन इति ख्यातः पुरा माहिष्मतीपतिः 
स राजा पालयामास धर्मेण यशसान्वितः
पुत्रपौत्रसमायुक्तो धनधान्यसमन्वितः 
माहिष्मत्यधिपो राजा विष्णुभक्तिपरायणः

धेरै धेरै वर्षपहिले सत्ययुगमा महिष्मति नामको एउटा नगरी थियो, उक्त नगरीमा इन्द्रसेन नामका धर्मात्मा राजाले शासन गर्दथे । उनी प्रतापी र प्रभावशाली शासक त थिए नै, धर्मपूर्वक आफ्ना प्रजालाई पालन गरी सन्तुष्टसमेत तुल्याएका थिए । ती राजासँग पुत्रपौत्र, धनधान्यादि र सुखसम्मृद्धिको कुनै कमी थिएन । उनी भगवान् विष्णुका परम भक्त थिए ।

एक दिन राजा दरबारको सभाकक्षमा बसी राजकाजका बारेमा छलफल गरिरहेका थिए । त्यसै समयमा विभिन्न लोकको भ्रमण गर्दै महर्षि नारद उक्त सभामा आइपुगे । आफूअगाडि अचानक देवर्षि नारदलाई देखेर राजा छक्क परे, हत्तपत्त आफ्नो आसनबाट उठेर विनम्रतापूर्वक यथोचित सम्मान गर्दै विधिपूर्वक आसन र अर्घ्यका लागि अनुरोध गरे । राजाको आतिथ्यलाई स्वीकार गर्दै मुनि नारद दिइएको आसनमा बसे र राजासित कुशलक्षेमको जिज्ञासा राख्दै प्रश्न गरे - हे राजन् ! तपाईंको राज्यमा कुनै विघ्नबाधा वा उपद्रव त भएको छैन ? के राज्यप्रशासनका समस्त क्रियाकलाप र राज्यका अङ्गहरू राम्ररी नै सुसञ्चालित छन् ?  हजुरको  बुद्धि धर्ममा र मन विष्णुभक्तिमा त लीन छ नि ?

देवर्षि नारदका यस्ता विस्मित हुने प्रश्न सुनेर विचलित नभई राजाले प्रत्युत्तरमा भने - 
त्वत्प्रसादान्मुनिश्रेष्ठ सर्वं च कुशलं मम
अद्य क्रतुक्रियाः सर्वाः सफलास्तव दर्शनात् 
प्रसादं कुरु देवर्षे ब्रूह्यागमनकारणम्

हे मुनिवर ! हजुरको कृपाले मेरो राज्यमा सबै व्यवस्था ठिकठाक चल्दैछ, मेरो गाथमा पनि कुशलमङ्गल नै छ अनि मेरो दरबारमा ईश्वरका कृपाले सबै यज्ञयागादि र अनुष्ठानहरू सुकृतिपूर्वक सञ्चालन भइरहेका छन् । अझ आज हजुरले मेरो राजसभामा पाउ कष्ट गरी मलाई र मेरो परिजनमा कृतकृत्य तुल्याउनु भएको छ । तर यहाँ आइपुग्दा नपुग्दै यसरी प्रश्न गर्दा म छक्क परेको छु र चिन्तित बन्न पुगेको छु । पक्का पनि मेरो कल्याण र शुभताका निमित्त हजुरले मेरा विवरणहरू बुझ्न खोज्नु भएको हुनुपर्दछ, अतः हजुरको आशय र मुख्य अभिप्राय के हो ? कृपया आज्ञा गर्नुहवस् ।

राजाका यस्ता विनम्र वचन सुनेपछि देवर्षि नारदले उनका जिज्ञासालाई शान्त पार्ने उद्देश्यले भने - हे राजन् ! आश्चर्य मान्ने विषय नै छ, मेरो बानी भ्रमणशील छ भन्ने कुरा त तपाईंमा विदितै छ । केही समय पहिलेको कुरा हो, म एक पटक ब्रह्मलोकबाट दक्षिण दिशाको यात्रामा गएको थिएँ । घुम्दाघुम्दै यमलोक पुगें । त्यहाँ यमराजले श्रद्धा र भक्तिपूर्वक मेरो मानसम्मान र पूजाआजा गरे । उनको आतिथ्य पाएर म पनि प्रसन्न भएँ अनि उनको विनयशीलता र धार्मिक स्वभावको भूरिभूरि प्रशंसा गरें । यमराजबाट सम्मानित भएर फर्कंदै गर्दाको घटना हो, यमलोकको एउटा नरकमा हजुरका पिताले विभिन्न यातना भोगेर बसेको देखें, वहाँको यस्तो अवस्था देख्नुपर्दा म छक्क परें । 
बहुपुण्यप्रकर्त्ता च व्रतवैकल्यदोषतः 
सभायां श्राद्धदेवस्य मया दृष्टः पिता तव
मैले वहाँले पछिल्ला जन्ममा गरेका यावत् क्रियाकलापका बारेमा जानकारी पाएको थिएँ, सांसारिक जीवन व्यतीत गर्दा गरेका वहाँका हरेक क्रियालापबाट म अनभिज्ञ थिइँन । मैले जानेसम्म वहाँ जुनसुकै दृष्टिले पनि नरकमा जाने व्यक्तिमा पर्नुहुन्नथ्यो । वहाँजस्ता ज्ञानी, परोपकारी र धर्मात्मा राजा पनि नरकमा आइपुगेको दृश्य देखेर म विस्मित हुँदै नरकको यातनाबाट छट्पटाउँदै गरेका हजुरका पिताका समीपमा पुगें र यसरी नरकको वास गर्नुपर्ने कारण के रहेछ भनी जिज्ञासा राखें । मेरो जिज्ञासाको उत्तर दिंदै वहाँले कुनै एउटा एकादशीको व्रत भङ्ग भएका कारणले यसरी नरकको यात्रा गर्न बाध्य हुनुपरेको विवरण सुनाउनु भयो । वहाँको  त्यस्तो दयनीय अवस्थाको जानकारी गराउन पाए आफ्ना दिवङ्गत पिताको उद्धारका निमित्त तपाईंले केही गर्न सक्नुहुन्यो कि भनी म यहाँ यस दरबारमा उपस्थित भएको हुँ । 

नारदले आफ्ना परलोक भएका पिताको अवस्था बताएपछि गम्भीर हुँदै इन्द्रसेनले नारदसँग अनुरोध गरे - हे ऋषिवर ! हजुर त्रिकालज्ञ हुनुहुन्छ, मेरा पिताबाट के त्रुटि भएको रहेछ र ? उहाँले नरकको यात्रा गर्नु पर्यो, उक्त कुरा तपाईंलाई थाहा नहुने कुरै भएन, अतः अब हजुरले बुवाले जानीनजानी गर्नुभएको उक्त त्रुटि के रहेछ ? बताई दोषनिवारणको उपाय पनि आज्ञा गर्नुहवस् । हजुरले आज्ञा गर्नुभएको विधि जस्तै कठोर भए पनि म पिताजीको र समस्त पितृको उद्धारका लागि जे पनि गर्न तैयार छु ।

राजाका यस्ता पिताप्रतिको प्रेम र श्रद्धाभाव देखेर नारद प्रसन्न  भए र फेरि बताउन थाले - हे राजन् ! द्युमत्सेन नाम गरेका तपाईंका पिता आफ्नो जीवनकालमा पृथ्वीलोककै प्रतापी र प्रसिद्ध राजाका रूपमा गनिनु हुन्थ्यो । वहाँ प्रजालाई सन्ततिवत पालनपोषण गर्दै कुल, पितृ र देवताको पूजाआजा र परोपकारी काममा दत्तचित्त रहने गर्नुहुन्थ्यो । हरेक एकादशीको व्रत लिने वहाँको नियम नै थियो र व्रत लिंदा दशमीकै दिनदेखि विधिविधान र सम्पूर्ण नियमको पालना गरी एकादशीका दिन बिहानै उठी नित्यकर्मका साथमा आफ्ना कुलपितृ र इष्टदेवको पूजाआजा गरी दिनभरि हरिनाम सङ्कीर्तन गरी रात्रीकालमा जागरण गरी पूर्ण निष्ठाका साथमा व्रत सम्पादन गर्ने गर्नुहुन्थ्यो, साथै व्रत समापनका क्रममा द्वादशीका दिन आफ्ना राज्यका विद्वान् र योग्य ब्राह्मणलाई ब्राह्मणभोजन र दानादि गरेरमात्र वहाँले व्रतको पारणा गर्नुहुन्थ्यो । त्यस्तैमा एउटा द्वादशीका दिन ब्राह्मणभोजनका अतिरिक्त राज्यभरिका गरीवगुरुबा, विधवा, भिक्षुक र सन्यासीलाई पनि भोजन गराउने प्रबन्ध गरिएको थियो । उक्त भतेरका लागि दरबारको भान्साघर बाहिरको आँगनमा निम्तालुहरू जम्मा भएका थिए । सबैले खानेकुराका निमित्त व्यग्र प्रतीक्षा गरिरहेका थिए । त्यस्तैमा आकाशमा एउटा चिल आफ्ना पन्जाले दह्रो गरी एउटा जिउँदो सर्पलाई अँट्ठ्याएर उडिरहेको दृश्य देखियो । त्यतिवेला चिलको कब्जाबाट मुक्तिका लागि सर्पले अनेक तरहले कोसिस गरिरहेको थियो । यसरी बल गर्दा सर्पका मुखबाट विष बाहिरिंदै थियो । दरबारको भान्सामाथि आइपुगेका वेलामा पनि सर्पको मुखबाट विषका सूक्ष्म थोपा खसिरहेका थिए । त्यसरी सर्पको मुखबाट बाहिरिएको विषको एउटा थोपो कुनै एकजना ब्राह्मणका निमित्त पस्किएको खान्कीमा परेछ । यो कुरा राजा, भान्से वा ब्राह्मण कसैले पनि चाल पाएनन् । ब्राह्मणले भोजन गरे, सर्पको विषको मन्दप्रभाव उनको शरीरभित्र पस्यो । त्यसको केही दिनपछि उक्त विषको प्रभावले ब्राह्मणको मृत्यु भयो । यसरी राजाले ब्रह्महत्या गरेको पाप बोक्नु पर्यो । अनजानमा भएको गल्तीका कारण यसरी हजुरका पिता राजा द्युमत्सेनले नरकको यातना भोग्नु परेको हो । यति विवरण सुनाएपछि देवर्षि नारदले राजा इन्द्रसेनलाई पिताको कष्टनिवारण र उद्धारका लागि अवलम्बन गर्नु पर्ने उपाय पनि सुझाउँदै निर्देश गरे - 
पितुः स्वर्गकृते राजन्निंदिरा व्रतमाचर 
तेन व्रतप्रभावेन स्वर्गं यास्यति ते पिता

हे राजन् ! यदि तपाईंले नियमनिष्ठा र विधिपूर्वक आश्विन महिनाको कृष्णपक्ष अर्थात् पितृपक्षमा पर्ने इन्दिरा एकादशीको व्रत लिनुभयो भने हजुरका पिताको उद्धार हुनेछ र वहाँ सायुज्यता प्राप्त गरी वैकुण्ठलोकमा पुग्नुहुनेछ । 

नारदका मुख बाट पिताजीको वृत्तान्त र उद्धारको उपाय सुनेर राजाले फेरि अनुरोध गरे - हे महर्षि ! हजुरले उक्त इन्दिरा एकादशीको व्रतविधि आज्ञा गर्नुहवस् । नारदजीले व्रतको नियम र विधि पनि बताइदिए - 

आश्विन महिनाको कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ । यस पक्षभरि गरिएको पितृआराधनाको प्रभावले मनुष्यका आफ्ना दिवङ्गत पितापुर्खाको तृप्ति हुन्छ र ती अधोगतिमा रहेछन् भने पनि तिनले आफ्ना छोरानातिले गरेको श्राद्ध, तर्पण, ब्राह्मणभोजन लगायतका पुण्यकर्मका कारण मुक्ति प्राप्त गर्दछन् । तिनीहरूले तृप्त भएर आफ्ना सन्ततिलाई आयुष्यता, दक्षता, योग्य सन्तति, धनधान्य, सुबुद्धि र सुखसुविधा प्रदान गर्दछन् । त्यसैले यस एकादशीको ठूलो महत्त्व छ । इन्दिरा एकादशीका दिन व्रत गरी भोलिपल्ट द्वादशीका दिन आफ्ना कुलमा जीवित रहँदा नै योगी, सन्यासी वा भिक्षुक बनेका पितापुर्खालाई तर्पण गरी ब्राह्मणभोजन गराएमा अक्षयपुण्य प्राप्ति हुन्छ भन्ने मान्यता पनि छ । यस एकादशीको व्रतसम्पादनबाट आफ्ना, मावलीतर्फका र ससुराली कुलका सातसात पुस्ता गरी एक्काईस पुस्ताका पितृहरूको उद्धार गर्न सकिन्छ । त्यसैले  तपाईंले पनि उक्त एकादशीको विधिपूर्वक व्रत गरी पारणा गर्नुहोस्, तपाईंका पिताको अवश्यमेव उद्धार हुने छ, वहाँले सायुज्य मुक्ति प्राप्त गर्नुहुनेछ ।

नारदजी राजा इन्द्रसेनलाई सम्बोधन गर्दै भन्दै जान्छन् - हे राजन् ! अब म उक्त एकादशीको व्रतविधिका बारेमा बताउँछु । 
आश्विनस्यासिते पक्षे दशमी दिवसे शुभे
प्रातःस्नानं प्रकुर्वीत श्रद्धायुक्तेन चेतसा 
ततो मध्याह्नसमये स्नानं कृत्वा समाहितः
पितॄणां प्रीतये श्राद्धं कुर्याच्छ्रद्धा समन्वितः 
एकभक्तं ततः कृत्वा रात्रौ भूमौ शयीत च 
प्रभाते विमले जाते प्राप्ते चैकादशी दिने

व्रत गर्नका निमित्त सबैभन्दा पहिले तपाईंले दशमीका दिन प्रातःकालमा श्रद्धापूर्वक स्नानादिबाट निवृत्त भएर पुनः दिउँसो गङ्गामा वा कुनै गङ्गागामिनी नदीमा गई स्नान गर्नुपर्छ, अनि आफ्ना मृत पितृहरूलाई तर्पण गरी त्यस दिन केवल एक छाक सात्विक भोजन गर्नु पर्दछ । भोलिपल्ट एकादशीका दिन प्रातःकालमा दतिउन आदि गरी नित्यकर्मबाट निवृत्त भई व्रतका नियमलाई भक्तिपूर्वक ग्रहण गर्दै प्रतिज्ञा गर्नु पर्छ र भगवान् विष्णुलाई सम्बोधन गर्दै भन्नुपर्छ - ‘म आज सम्पूर्ण भोगहरूलाई त्याग गरी निराहार एकादशीको व्रत गर्नेछु । हे अच्युत ! हे पुण्डरीकाक्ष ! म हजुरको शरणमा छु, हजुरले मेरो रक्षा गर्नुहोस् ।' त्यसपछि वैदिक विधिपूर्वक शालिग्राम शीलामा भगवान् नारायणको प्राणप्रतिष्ठा गरी त्यसका सामु बसी तर्पणादि गरी ब्राह्मणलाई फलाहार भोजन गराई सीधादक्षिणादि प्रदान गर्नुपर्छ । श्राद्धादि कर्मसमेत सम्पादन गरेको खण्डमा श्राद्धमा प्रयोग भएको नैवेद्यादि सामाग्री आफूले सुँघेर गाईलाई खान दिनु पर्दछ । श्राद्धतर्पणादि सिद्ध्याएर भगवान् विष्णुलाई चन्दन, अक्षता, फूल, ध़ूप, दीप, नैवेद्य आदि षोडशाेपचार पद्धतिले पूजाअर्चना गर्नु पर्दछ। व्रतका दिन दिनभरी श्रीमद्भागवत, गीता वा भगवान् विष्णुको नामसङ्कीर्तन गरी समय बिताएर साँझमा आरती गरी रात्रीकालमा जागरणसमेत गर्नुपर्छ । भोलिपल्ट द्वादशीका दिन प्रातःकालमा नित्यकर्म सम्पादन गरी पुनः पूजाआजा गरी जोगी, सन्यासी, गरीवगुरुवा, विधवा र ब्राह्मणलाई भोजन, दक्षिणा र सीधा आदि प्रदान गरी व्रतको पारणा गरेर भोजनादि गर्नु पर्दछ । नारदजी भन्दछन् - हे राजन् ! यसरी तपाईंले आलस्यरहित भई पितृपक्षमा पर्ने इन्दिरा एकादशीको व्रत पूर्ण गर्नुभयो भने हजुरका पिताले अवश्यमेव मुक्ति पाउनु हुनेछ । राजा इन्द्रसेनलाई यत्ति कुरा भनिसकेर नारदजी सबैले देख्दादेख्दै त्यहाँबाट अन्तर्धान भए ।

केही समयपछि पितृपक्षको इन्दिरा एकादशीको तिथि आयो । मुनि नारदले बताएअनुसार राजा इन्द्रसेनले आफ्ना कुलकुटुम्ब र इष्टमित्रका साथमा विधिपूर्वक यस एकादशीको व्रत लिए । व्रतसमापन भएपछि आकाशबाट अचानक पुष्पवृष्टि हुनथाल्यो । सबैको नजर आकाशमा पर्यो, हेर्दा सबैले एकसाथ देखे - त्यस राज्यका दिवङ्गत राजा द्युमत्सेन एउटा दिव्य विमानमा प्रसन्नमुद्रामा आफ्नो पुत्र, बन्धुबान्धव र प्रजालाई आशीर्वाद प्रदान गरिरहेका थिए । उनका साथमा जय र विजयका साथमा वैकुण्ठलोकका भगवान् नारायणका पार्षदहरू फूलको वर्षा गरिरहेका थिए । यसरी सबैले पृथ्वीतलमा रहेका आफ्ना वंशज र सन्ततिलाई आशीर्वचन प्रदान गर्दै पूर्वराजा द्युमत्सेन प्रसन्नमुद्रामा विष्णुलोकतर्फ प्रस्थान गरेको अलौकिक दृश्य देख्न पाए ।

अक्षयपुण्य प्रदान गर्ने इन्दिरा एकादशीको व्रत सम्पादन गरेर राजा इन्द्रसेनले आफ्ना अधोगतिमा परेका पिताको उद्धार गरे । उक्त व्रतको पुण्यप्रभावले उनले आफुले पनि लामो समयसम्म निष्कण्टक र अखण्ड राज्यसुखको भोग गरे, बृद्धावस्था प्राप्त भएपछि आफ्ना पुत्रलाई राजसिंहासनमा राखी उनी आफूस्वयं पनि स्वर्गलोकतर्फ जाँदा भए । यस इन्दिरा एकादशीको महात्म्य र व्रतकथा सुनाउँदै भगवान् श्रीकृष्ण धर्मराज युधिष्ठिरलाई बताउनु हुन्छ - पठनाच्छ्रवणाद्राजन् सर्वपापैः प्रमुच्यते
भुक्त्वेह निखिलान्भोगान् विष्णुलोके वसेच्चिरम् 

हे राजन् ! पितृउद्धारका निमित्त यस इन्दिरा एकादशीको ठूलो महिमा छ, व्रत लिने अनुकूलता नमिले पनि यस एकादशीको व्रतकथा र महात्म्य जसले श्रद्धा र भक्तिका साथमा श्रवण गर्दछ, उसका पनि अधोगतिमा परेका समस्त पितृहरूले वैकुण्ठलोक प्राप्त गर्दछन् ।

Jan 1, 2017

सफला एकादशीको व्रतकथा

युधिष्ठिर उवाच -
पौषस्य कृष्णपक्षे तु किं नामैकादशी भवेत् ।
किं नाम को विधिस्तस्या एतद्विस्तरतो वद ।
एतदाख्याहि भो स्वामिन्को देवस्तत्र पूज्यते ॥

पद्मपुराणमा पौष महिनाको कृष्णपक्षको एकादशीका विषयमा युधिष्ठिरले बताइदिन अनुरोध गरेपछि भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो - 
कथयिष्यामि राजेन्द्र भवतः स्नेहबन्धनात् ।
तुष्टिर्मे न तथा राजन्यज्ञैर्बहुलदक्षिणैः ॥
यथा मे तुष्टिरायाति ह्येकादशीव्रतेन वै ।
तस्मात्सर्वप्रयत्नेन कर्त्तव्यो हरिवासराः ॥
हे राजन् हजुरसँग मेरो स्नेह र अनुग्रह भएकाले तपाईंले जिज्ञासा राखेपछि मैले बताउनु नै पर्दछ । बास्तवमा यज्ञ, दानदक्षिणा आदिबाट भन्दा पनि म एकादशीको व्रतबाट बढी सन्तुष्ट हुने गर्दछु, त्यसैले हरेक गृहस्थीले यथासम्भव प्रयत्न गरी एकादशीको व्रत लिनुपर्दछ । पुस महिनाको कृष्णपक्षमा पर्ने यस एकादशीको नाम सफला एकादशी हो । यस एकादशीका देवता श्रीनारायण हुनुहुन्छ । विधिपूर्वक यस व्रतको पालना गर्नुपर्छ ।

भगवान् श्रीकृष्ण युधिष्ठिरलाई पुनः आज्ञा गर्नुहुन्छ -
पूजयेद्देवदेवेशं धूपदीपैस्तथैव च ।
सफलायां विशेषेण दीपदानं तु कारयेत् ॥
रात्रौ जागरणं चैव कर्त्तव्यं सह वैष्णवैः ।
यावन्निमेषो नेत्रस्य तावज्जागर्ति यो निशि ॥
 जसरी नागहरूमध्ये शेषनाग, पक्षीहरूमध्ये गरुड़, सबै ग्रहहरूमध्ये चन्द्रमा, यज्ञहरूमध्ये अश्वमेध र देवताहरूमध्ये भगवान् विष्णु श्रेष्ठ छन, त्यसरी नै सबै व्रतहरूमध्ये एकादशीको व्रत सर्वोत्तम र श्रेष्ठ मानिन्छ । जुन व्यक्तिले सबै एकादशीको व्रत सम्पादन गर्दछ, त्यो भक्त मेरा निम्ति परमप्रिय हुन्छ । हे राजन् ! अब यस व्रतको कथा सुन्नुहोस् ।

चम्पावतीति विख्याता पुरी माहिष्मतस्य च ।
बभूवुस्तस्य राजर्षेः पुत्राः पञ्च कुमारकाः ॥
तेषां मध्ये तु ज्येष्ठो वै महापापरतः सदा ।
परदाराभिचारी च वेश्यासक्तश्च मद्यपः ॥
पितुर्द्रव्यं तु तेनैव गमितं पापकर्मणा ।
असद्वृत्तिरतो नित्यं भूसुराणां तु निन्दकः ॥

चम्पावती नगरीमा महिष्मान् नाम गरेका राजा राज्य गर्दथे । उनका चार पुत्र थिए । ती सबैमा लुम्पक नामको जेठो छोरो कुकर्मी र  पापी थियो । लुम्पक सदैव जाँडरक्सी सेवन गर्ने, जुवातास खेल्ने, परस्त्री तथा वेश्या गमन गर्ने तथा अन्यान्य नराम्रा काममा आफ्ना पिताको धन नष्ट गर्ने गर्थ्यो । सदैव देवता, बाह्मण, वैष्णव आदिको निन्दा गर्थ्यो ।

ईदृशं तु ततो दृष्ट्वा पुत्रं माहिष्मतो नृपः ।
नाम्ना तु लुम्पक इति राजपुत्रेषु चापठत् ॥
राज्यान्निष्कासितस्तेन पित्रा चैव तु बन्धुभिः ।
स चैवं परिवारैस्तु त्यक्तश्च परिपन्थिवत् ॥
राजाले आफ्नो जेठो छोरोको मति बिग्रेको थाहा पाएपछि उनी दुःखित र चिन्तित हुनु स्वाभाविकै थियो । उनले छोरो सुधार्ने अनेकौं प्रयास गरे, केही नलागेपछि त्यसलाई उनले आफ्नो राज्यबाट निकालिदिए । त्यसपछि लुम्पक विचार गर्न थाल्यो कहाँ जाऊँ? के गरूँ? आदि।

अन्त्यमा उसले चोरी कर्मबाट जीविका चलाउने निर्णय गर्यो । दिउसो ऊ वनमा बस्थ्यो र रात्रिमा आफ्नो पिताको नगरीमा चोरी गर्थ्यो तथा प्रजालाई अनेक रीतिले दुःख दिई मार्ने काम पनि गर्थ्यो । केही समयपछि उसका क्रियाकलाप र कुकर्मबाट समस्त नगरवासी भयभीत र त्रस्त हुनथाले । त्यतिमात्र होइन, ऊ वनमा बाटो ढुकेर बटुवाहरूलाई दुःख दिन र पशुपन्छीलाई मारेर खान थाल्यो । सिपाहीले उसले अपराध गरेको र जनतालाई अनावश्यक दुःख दिएको थाहा नपाएको होइन, कहिलेकाँही राज्यका प्रतिनिधिहरू उसलाई समात्दथे पनि तर राजाको छोरो भएकाले दरबारसँग डराउँदथे र उसलाई छाडिदिन्थे ।

वनमा एउटा अति प्राचीन र विशाल पीपलको वृक्ष थियो । मानिसहरू त्यस रुखलाई भगवानसरह पूजा गर्थे । त्यसै वृक्षमुनि त्यो महापापी लुम्पक बसोवास गर्थ्यो । यस वनलाई मानिसहरू देवताको क्रीडास्थली मान्दथे ।  यसरी लुम्पकका क्रियाकलाप र जीवन बित्दै जाँदा एकपल्ट पौष महिनाको कृष्ण पक्षको दशमीको दिन अाइपुग्यो । त्यस दिन ऊसँग जाडोमा लगाउने न्याना लुगाको अभाव थियो । वस्त्रहीन भएका कारण शीतकालको उक्त समयमा ऊ रातभरि सुत्न र निदाउन सकेन । त्यसका हातखुट्टा कक्रिए । सूर्योदय हुने बेलासम्म त ऊ मूर्छित नै भयो ।

अर्को दिन सफला एकादशीको दिन थियो । एकादशीका दिन मध्याह्नको घाम चर्कंदै गर्दा सूर्यको ताप पाएपछि उसको मूर्छा हट्यो । लड्दैपड्दै ऊ भोजनको खोजीमा भाैंतारिन थाल्यो । पशुलाई वध गर्न त ऊ अशक्त भइसकेको थियो, त्यसैले वनमा वरपर डुलेर रुखमुनि झरेका फल टिपेर सङ्कलन गरी त्यसै पीपलको रुखमुनि आयो । त्यति बेलासम्म सूर्य अस्त भइसकेका थिए । अघिल्लो रातदेखि नै एकादशीको बेलुकासम्म निराहार भएकाले उसमा अध्यात्मिक चेतनाको विकास भएको थियो ।

फलानि तत्र भूरीणि वृक्षमूले न्यवेशयत् ।
इत्युवाच फलैरेभिः श्रीपतिस्तुष्यतां हरिः ॥
इत्युक्त्वा लुम्पकश्चैव निद्रां लेभे न वै निशि ।
रात्रौ जागरणं मेने विष्णुस्तस्य दुरात्मनः ॥
फलैस्तु पूजनं मेने सफलायास्तथानघ ।
अकस्माद्व्रतमेवैतत्कृतवान्वै स लुम्पकः ॥
लुम्पकले सकी नसकी सङ्कलन गरेर ल्याएका फल भुइँमा राख्नासाथ उसका मुखमा यस्ता शब्द उच्चरित भए - हे भगवन् ! अब हजुरलाई नै अर्पण गर्दछु, यी फल । हजुर नै तृप्त हुनुहवस् । भोकले निर्बल भएको लुम्पकले ती फल खान पनि सकेन अनि रात्रिको समयमा पनि दु:ख र कष्ट सहन नसकेर सुत्न र निदाउन सकेन । त्यसको यस उपवास र जागरणले भगवान् अत्यन्त प्रसन्न हुनुभयो । व्रतको पुण्य प्राप्त हुनाले उसका सम्पूर्ण पाप नष्ट भए । अर्को दिन प्रात:कालमा एउटा अति सुन्दर घोड़ा अनेकौं सुन्दर वस्तुहरूद्वारा सजिएर उसका सामुन्ने आई उभियो र त्यसै समय आकाशवाणी भयो - 'हे राजपुत्र ! श्रीनारायणको कृपाले तेरा समस्त पाप नष्ट भए, अब तँ आफ्ना पिताको राज्यमा फर्की, पितासामु उभिएर आफूले गरेका कुकर्मप्रति क्षमा माग, पश्चाताप गर र राज्य प्राप्त गर ।' यस्ता वाणी सुनेर ऊ अत्यन्त प्रसन्न भयो, उसमा अचानक उत्साह, उमङ्ग र स्फूर्ति सिर्जना भयो । त्यसपछि घोडामा भएको दिव्य वस्त्र धारण गरी ‘भगवान हजुरको जय होस्’ भन्दै ऊ आफ्ना पिताको दरबारतर्फ लाग्यो ।

दरबारमा पुगेर आकाशवाणीमा बताइएबमोजिम आफ्नो गल्ती स्वीकारेर कुकर्मप्रति उसले पितासँग क्षमा माग्यो । छोरोमा सुधार आएको थाहा पाई ईश्वरप्रति कृतज्ञता प्रकट गर्दै राजाले प्रसन्न भई छोरालाई समस्त राज्यको भार सुम्पिदिएर वानप्रस्थ जीवन बिताउने उद्देश्यले वनतर्फ जाने विचार गरे । राज्यको अभिभारा पाएको लुम्पकले नीति र शास्त्रलाई अनुसरण गरी राज्य गर्न थाल्यो । उसका स्त्री, पुत्र आदि सारा कुटुम्ब भगवान् नारायणका परम भक्त भए । वृद्ध भएपछि ऊ पनि आफ्नो छोरालाई राज्यको भार सुम्पिदिएर वनमा तपस्या गर्न गयो र अन्त्यकालमा वैकुण्ठलोकमा गयो ।

एवं यः कुरुते राजन्सफलाव्रतमुत्तमम् ।
इहलोके सुखं प्राप्य मृतो मोक्षमवाप्नुयात् ॥
धन्यास्ते मानवा लोके सफलायां च ये रताः ।
तेषां च सफलं जन्म नात्र कार्या विचारणा ॥
अत: जुन मनुष्यले जानी/नजानी यस परम पवित्र सफला एकादशीको व्रत गर्दछ, उसका समस्त पापराशि नष्ट हुन्छन् र अन्त्यमा मुक्ति प्राप्त गर्दछ । व्रत लिन नसके पनि यस एकादशीका दिन सफला एकादशीको माहात्म्य र व्रतकथा पढ्ने वा श्रवण गर्ने मनुष्यले पनि अश्वमेध यज्ञको फल प्राप्त गर्दछ । जय श्रीमन्नारायण ।।