Showing posts with label अनुष्ठान : व्रत र उपासना. Show all posts
Showing posts with label अनुष्ठान : व्रत र उपासना. Show all posts

Dec 5, 2017

एक गेडो अन्नका कारण पुनर्जन्म नहुने


सनातन हिन्दू धर्मअन्तर्गत पर्ने थुप्रै चाडपर्वमध्ये बाला चतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । मार्गशीर्ष(मङ्सिर) कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी नेपालमा मानाईने एउटा परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बाला चतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथलगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपतिपरिसरमा आइपुग्छन् । पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमाद्रिले भनेका छन्-
'सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।'[1]

नेपालीमा 'शतम्'को अर्थ सय र 'बीज'को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ । प्रचलनअनुसार मार्गशीर्ष(मङ्सिर) कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले पशुपतिनाथको मन्दिरवरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् । सुरूमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्दछन् ।[2]

पौराणिक मान्यता
भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बाला चतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ । बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ । यसैगरी पशुपतिको मुर्दाघाटमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मुर्दाको टाउको फुट्न गई उछिट्टीएको गिदी उनको च्युरामा परेको र उक्त गिदीसँगै च्युरा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्के । यस्तै आचरण तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित बृषसिंहमार्फत उसलाई मार्न लगाएको अर्को किम्वदन्ती पनि छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बाला चतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।[3]

आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ । पशुपति, मृगस्थली एवं कैलाशमा शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने पुराणमा बताइएको छ । भगवान् शिवले पनि आफ्नो बालककालमा शतबीज छरेकोले यस दिनको नाम बाला चतुर्दशी रहेको हो भन्ने कुराको उल्लेख पनि गरिएको छ । यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बाला चतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि पाइन्छ । मार्गकृष्ण त्रयोदशीको दिन बेलुकी त्यही वर्ष मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरैवर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्दछन् । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै वाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाए (बगाए) पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्छन् । लगातार तीन वर्षसम्म बत्ती बालिसकेकाहरूले शतबीज छरिसकेर ब्राह्मण पुरोहितद्वारा साङ्गेको रूपमा चतुर्थीकृत्य सम्पादन गर्दछन् । पहिलो र दोस्रो वर्ष बत्ती बाल्नेहरू भने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन् । कैलाशमा बसेर दहीच्युरा खानाले भगवान् शिव खुशी हुन्छन् भन्ने जनविश्वास रहेको छ । तर पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकूल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ती बगाउँछन् । यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले उत्तिकै श्रद्धाका साथ मनाउने गरेको पशुपतिमा लाग्ने यी दुई धर्मावलम्बीहरूको भीडबाट प्रष्ट हुन्छ । यसरी बाला चतुर्दशी वा शतबीज रोपण पर्वको मुख्य सन्देश के हो भने हामीले आफू बाँचेको समाजलाई मात्र नहेरी दिवंगत भएका पितृहरूको पनि सम्झना गर्नुपर्दछ । यसरी पितृको सम्झना गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुन्छ । श्रुति, स्मृति र पुराणहरूमा देवता रिझाउनभन्दा पितृ रिझाउन कठिन हुन्छ, पितृ खुसी भए परिवारमा सुखसमृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुराको उल्लेख गरिएकोले पनि यस पर्वको महत्त्व प्रष्ट हुन्छ ।



[1] वार्षिक रत्नावली, वर्षकृत्यखण्ड 
[2] रामप्रसाद धिताल, गोरखापत्र, वि.सं. २०६६ कार्तिक २९ आइतवार (ई. २००९ नवेम्बर १५, पृ.७)
[3] स्कन्दपुराण र स्वस्थानी व्रतकथा

Dec 3, 2017

एकादशीमा हुनसक्छ, भाग्य-परिवर्तन


धर्मग्रन्थहरूमा एकादशी तिथिलाई समस्त तिथिहरूमध्ये सर्वश्रेष्ठ तिथि मानिएको छ । यस दिन भगवान् विष्णुको पूजाआराधनाका साथमा गरिएको जप, तप, दानादिको ठूलो महत्त्व छ । त्रिमूर्ति अर्थात् ब्रह्मा, विष्णु र महेशमध्ये भगवान् विष्णुलाई यस सृष्टिसंरचनाको पालनकर्ता अर्थात् सञ्चालनकर्ता मान्ने गरिन्छ र एकादशी तिथि उहाँको सर्वाधिक प्रिय तिथि मान्ने गरिन्छ । त्यसैले यस दिन केही नियम र अनुशासनका विषयमा सचेत हुनु आवश्यक छ, जसबाट श्रीहरिको अहैतुकी सहज कृपा प्राप्त होस् । शास्त्रमा एकादशीका दिन के गर्ने र के नगर्ने विषयमा विविध जानकारीहरू प्रदान गरिएको छ । केही कर्महरू एकादशीका दिन निषेध गरिएका छन्, जुन भुलचुकमा भएमा मनुष्यले सीधै नरकमा प्रवेश गर्नुपर्ने हुन्छ, त्यस्तै केही सरलतम उपायहरू पनि बताइएको छ, जसको पालनाबाट नीच मनुष्यले पनि सहजै वैकुण्ठमा प्रवेश गर्ने स्वीकृति प्राप्त गर्दछ । यस आलेखमा एकादशीका दिन गर्नैपर्ने र गर्न नहुने विषयका बारेमा चर्चा गरिने छ ।

पद्मपुराणमा एकादशीको व्रतको महत्तालाई यसरी बखान गरिएको छ -
शङ्खोद्धारे नरः स्नात्वा दृष्ट्वा देवं गदाधरम् । एकादश्युपवासस्य कलां नार्हति षोडशीम् ॥
शङ्खोद्धार नामक तीर्थमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो एकादशी व्रतको सोह्र भागको एक भागतुल्य पनि हुँदैन ।
सङ्क्रान्तिषु चतुर्लक्षं यो ददाति नृपोत्तम । एकादश्युपवासस्य कलां नार्हति षोडशीम् ॥
चार लाख पटक सङ्क्रान्तिमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो एकादशी व्रतको सोह्र भागको एक भागतुल्य पनि हुँदैन ।
प्रभासक्षेत्रे यत्पुण्यं ग्रहणे चन्द्र सूर्ययोः । तत्फलं जायते नूनमेकादश्युपवासिनः ॥
सूर्य ग्रहण वा चन्द्र ग्रहणमा प्रभास क्षेत्रमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो एकादशीका दिन गरेको स्नानभन्दा कम हुन पुग्छ ।
केदारे चोदकं पीत्वा पुनर्जन्म न विद्यते । तथा चैकादशी पार्थ गर्भवासक्षयङ्करी ॥
जसरी केदार तीर्थको जलपान गर्दा पुनर्जन्म हुँदैन भन्ने गरिन्छ, त्यस्तै फल एकादशीको व्रतको प्रभावबाट प्राप्त हुन्छ, यस व्रतको प्रभावले गर्भाशयमा वास गर्नुपर्ने पीडाको नाश हुन्छ ।
अश्वमेधस्य यज्ञस्य पृथिव्यां यत्फलं लभेत् । तस्माच्छतगुणं पुण्यमेकादश्युपवासिनः ॥
पृथ्वीमा अश्वमेध यज्ञ गर्दा जुन फल प्राप्त हुन्छ, त्यसको एक सय गुणा बढी पुण्य एकादशीको व्रत लिएमा प्राप्त हुन्छ ।
तपस्विनो गृहे यस्य भुञ्जते च द्विजोत्तमाः । तत्फलं जायते नूनमेकादश्युपवासिनः ॥
जुन फल तपस्वीको घरमा उच्चकुलका उत्तम ब्राह्मणहरूलाई भोजन गराउँदा प्राप्त हुने गर्दछ, त्यो पनि एकादशीको व्रतको प्रभावबाट प्राप्त हुने फलभन्दा कम हुन्छ ।
गोसहस्रेण यत्पुण्यं दत्वा वेदान्तपारगे । तस्माच्छतगुणं पुण्यमेकादश्युपवासिनः ॥
वेदान्तविद् ब्राह्मणहरूलाई हजारौं गाई दान गर्दा जुन फल प्राप्त हुन्छ, त्यसभन्दा सय गुणा बढ्ता पुण्य एकादशीको निष्ठापूर्वक व्रत लिनेहरूले प्राप्त गर्दछन् ।
येषां देहे त्रयो देवा ब्रह्मविष्णुमहेश्वराः । वसन्ति तेषां ते तुल्या एकादश्युपवासिनः ॥
एकादशीको व्रत लिने नैष्ठिक व्यक्तिको शरीरमा सदैव ब्रह्मा, विष्णु र महेश्वरको निवास हुन्छ ।
ते नराः पुण्यकर्माणो ये भक्ता हरिपूजकाः । एकादशीव्रतस्यापि पुण्यसङ्ख्या न विद्यते ॥
पुण्यकर्म गर्ने व्यक्ति, भगवान् विष्णुको नित्य पूजा गर्ने भक्तजन र एकादशीको व्रत लिने व्रतालुको पुण्यकर्म असङ्ख्य (अगणनीय) हुने गर्दछ ।
तावद्गर्जन्ति तीर्थानि दानानि नियमानि च । यावन्नोपोषयेज्जन्तुर्वासरं विष्णुवल्लभम् ॥
समस्त तीर्थ, दानादि र विधिविधानको महत्ता तबसम्म रहने गर्दछ, जबसम्म कुनै जीवले एकादशीको व्रत लिंदैन ।  

यसबाहेक मनुष्यले आफ्नो दैनन्दिनीमा पारिवारिक सुखसम्मृद्धिका निमित्त वा आफ्नो व्यक्तित्व विकासका निमित्त अनेकौं प्रयास र परिश्रम गर्दागर्दै पनि असफल भइरहेको अवस्थामा एकादशी त्यस्तो महत्त्वपूर्ण दिन बन्न जान्छ, जुन दिन गरिएका सरलतम उपायहरूले पनि मानिसहरू आफ्नो भाग्यको ढोका सजिलै उघार्न सफल हुने गर्दछन् । धार्मिक मान्यतानुरूप भगवान् विष्णुको प्रसन्नता भएपछि स्वतः माता लक्ष्मीको कृपा प्राप्त हुन्छ, त्यसैले पनि एकादशीका दिन गरिएको श्रद्धाभक्ति र भक्तिउपासनाका माध्यमबाट व्यक्तित्वका साथमा घरपरिवारमा सुख र खुसी भित्र्याउन सकिन्छ ।

एकादशीमा पालना गरिएका तलका उपाय र अनुशासनका माध्यमबाट भाग्य बदलिन सक्छ ।

  • एकादशीका दिन कुनै पनि बोटबिरुवाबाट फूल र पात टिप्नुहुँदैन ।
  • एकादशीका दिन दात माँझ्नु हुँदैन । खासगरी दतिउनको प्रयोग गर्न निषेध गरिएको छ । त्यसैले ब्रुशमन्जन नगरेर औंलाको प्रयोग गरी मुखकुल्ला गर्नु राम्रो हुन्छ वा दशमीको राती नै राम्ररी दाँत सफा गरेर सुते सजिलो हुन्छ ।
  • एकादशीका दिन चामल र चामलबाट बनेका कुनै पनि खाद्यपरिकारको उपभोग गर्नु हुँदैन । त्यस्तै भगवान् विष्णुको प्रतिमा वा फोटोमा पूजा गर्दा अक्षताको प्रयोग गर्नु हुँदैन । अक्षताको सट्टामा तिलको प्रयोग गर्न सकिन्छ ।
  • एकादशीका दिन जौ र यसबाट बनेका खाद्यपरिकारको सेवन गर्न पनि निषेध गरिएको छ । शास्त्रमा महर्षि मेधाको शरीरबाट जौको उत्पत्ति भएको भन्ने कथा छ, त्यसैले विष्णुको पूजामा जौको निषेध गरिएको हो ।
  • एकादशीको दिन दान गर्ने वा अरुलाई केही वस्तु प्रदान गर्ने दिन हो । यस दिन गरेको दानबाट अक्षय पुण्य प्राप्त हुन्छ । तपाईंले दान नगरेमा कुनै दोष लाग्दैन, तर यस दिन अरुबाट कुनै उपहार वा दानादि ग्रहण गर्नु हुँदैन । अझ यस दिन अरुले दिएको खाद्यपरिकार सेवन गरेमा भगवान् विष्णु निराश हुनुहुन्छ र सित्तैमा अरुको धनधान्य वा सरसामान लिएमा आर्थिक सङ्कटमा परिन्छ वा दरिद्रता बढ्छ भन्ने मान्यता छ । तर पूजादिमा ब्राह्मणले दान लिएमा दोष लाग्दैन ।
  • एकादशीका जाँडरक्सी, माछामासु, लसुन, प्याज, मुसुरोको दाल आदि तामसी पदार्थको सेवन गर्नुहुँदैन ।
  • एकादशीका दिन व्रतालुले गाजर, शलगम, काउली, पालक, पानी वा दहमा फल्ने सागसब्जीको सेवन गर्नु हुँदैन ।
  • एकादशीका दिन भगवान् विष्णुलाई पानको पात चढाउने प्रचलन छ, तर यस दिन पानतमाखुको सेवन गर्नसमेत निषेध गरिएको छ ।
  • एकादशी परेको एक दिनअघि नै घर बढारकुँडार गरेर सफा बनाउनु राम्रो हुन्छ, किनकि एकादशीका दिन घर बढारकुँडार गर्न पनि निषेध गरिएको छ । नबढार्नु भन्नुको मुख्य उद्देश्य घरमा कुचो लगाउँदा सूक्ष्म जीवजन्तुको मृत्यु नहोस् वा तिनले समेत दुःख नापाऊन् भन्ने हो, यस अतिरिक्त यस दिन घरको कसिङ्गर बाहिर फ्यालेमा घरको सह पनि बढारिएर जाने गर्दछ, त्यसैले बाध्यतावश यस दिन कसिङ्गर लगाउनु पर्यो भने कसिङ्गर घरभित्रै कुनै ठाउँमा व्यवस्थित गरी राखेर भोलिपल्टमात्र मिल्काउनु पर्दछ पनि भन्ने चलन छ ।
  • एकादशीका दिन दाह्री, कपाल, नङ काट्नु हुँदैन ।
  • एकादशी तिथिका दिन सायंकालमा तुलसीको मठमा गाईको घिउको वर्तन प्रयोग गरी दियो बालीदिनु पर्दछ । त्यसपछि ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको जाप गर्दै तुलसाको मठको एघार पटक परिक्रमा गरेमा घरमा पारिवारिक कलहको अन्त्य हुनुका साथै सुखसम्मृद्धि र शान्तिको वातावरण कायम हुन्छ भन्ने मान्यता छ ।
  • एकादशीका दिन भगवान् विष्णुको पूजा गर्दा पहेंलो रङको प्रयोग हुने वस्तु, पदार्थ र नैवेद्यको प्रयोग गर्नु पर्दछ । त्यसैले पीताम्बर, पहेंलो फूल, केसरीको चन्दन आदिको प्रयोग गरिएको हो । यसरी पहेंलो वस्तुको प्रयोग गरेमा भक्तका प्रत्येक मनोकामनाहरू पूर्ण हुने गर्दछन् ।
  • एकादशीका दिन भगवान् विष्णुलाई प्रदान गरिने नैवेद्य (खाद्यसामाग्री) मा तुलसीपत्र राखेर मात्र चढाउनु पर्दछ ।
  • एकादशीका दिन पिपल र वरको बोटको पूजा गरी धूपबाती गरिदिएमा ऋणबाट मुक्त भइन्छ । 
  • एकादशीका दिन कुनै सौभाग्यवती ब्राह्मणीलाई घरमा ल्याएर फलाहार गराउने र तिनलाई सौभाग्यका सामाग्री दान गरेमा कुमारी कन्याले मनले चाहेको वर प्राप्त गर्दछिन्, साथै गृहिणीले सुमधुर दाम्पत्य जीवन भोग गर्न पाउँछिन्, त्यस्तै विधवाका मृत पतिले उत्तम गति प्राप्त गर्दछन् ।
  • एकादशीका दिन भगवान् विष्णुका साथमा माता लक्ष्मीको समेत पूजा गरेमा धनधान्य र सुखसम्मृद्धिको कमी हुँदैन ।
  • एकादशीका दिन प्रातःस्नानपछि केसरीमिश्रित दूधले भगवान् विष्णुको प्रतिमामा पूजा गरिदिएमा बुद्धि बढ्दछ, परीक्षा र प्रतियोगितामा सफल भइन्छ ।
  • एकादशीका दिन गीता, भागवत आदि ग्रन्थहरूको पाठ गरे गराएमा मृतपितृहरूले उत्तम गति प्राप्त गर्दछन् । 
  • एकादशीका दिन दक्षिणावर्ती शङ्खको पूजा गर्नाले भगवान् विष्णुका साथमा माता लक्ष्मी पनि अतीव प्रसन्न हुनुहुन्छ, त्यसैले यसो गर्दा भक्तको घरमा कहिल्यै पनि दरिद्रताले प्रवेश गर्ने अवसर पाउँदैन ।
  • शास्त्रमा परनिन्दा अर्थात् अरुका कुरा काट्ने काम गर्नुलाई घोर पाप मानिएको पाइन्छ । यसो गर्दा मनमा अनेकानेक कटु भाव उत्पन्न हुने र मनोरोग सिर्जना हुने खतरा हुन्छ । त्यसैले कहिल्यै पनि परनिन्दामा सक्रिय हुनुहुँदैन । अझ एकादशीका दिन बिर्सेर पनि परनिन्दा गर्नु हुँदैन ।
  • एकादशीका दिन क्रोध र हिंसा गर्नुहुँदैन । क्रोधका कारण शरीरमा रक्तविकार हुन्छ र मन पनि स्थिर हुन सक्दैन । 
  • शास्त्रमा चोरी गर्नु, धोका दिनु, छक्याउनु जस्ता कामलाई घोर पाप मानिएको छ । यसबाट व्यक्तिको सामाजिक प्रतिष्ठा नाश हुन्छ, साथै उसले मरणोपरान्त नरकमा जानु पर्दछ । त्यसैले कुनै पनि व्रतका दिन यी काम गर्न निषेध गरिएको हो, जुन एकादशीका दिन पनि पालना गर्नु अनिवार्य मानिन्छ ।
  • एकादशीका दिन खासगरी शरीरभित्रै रहेका छ किसिमका शत्रुहरू (काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य) माथि पूर्ण रूपेण नियन्त्रण राख्नु अनिवार्य छ । यस दिन भोगविलास, आनन्द, मौजमज्जा, मनोरञ्जन, यौन र मैथुन आदि विलासिताका भावनाहरू मनमा आउन दिनुहुँदैन । मनमा यस्ता धारणा उत्पन्न भएमा भक्ति, निष्ठा र श्रद्धाभावमा विघ्न पर्दछ र व्रत पूर्ण हुन पाउँदैन ।

यसरी एकादशीका दिन, साथै जीवनका विभिन्न मोडहरूमा यी उपायको पालना गरेमा व्यक्तिले व्यक्तित्वको उचित विकास गर्नुका साथै पारिवारिक सुखसम्मृद्धि र ऐश्वर्य प्राप्त गरी समस्त अभिलाषा र इच्छाहरू प्राप्त गर्न सक्दछ ।

Sep 24, 2017

किन र कसरी लिने पूर्णिमाको व्रत

चान्द्र महिनाका आधारमा एक महिनामा कृष्णपक्ष र शुक्लपक्ष गरी दुईवटा पक्ष हुन्छन्, तीमध्ये शुक्लपक्षको अन्तिम दिन पूर्णिमा हो । अङ्ग्रेजीमा पूर्णिमालाई Full Moon (पूर्णचन्द्र) भन्ने गरिन्छ ।  सनातन परम्परामा औंसी (अमावस्या) र पूर्णिमा दुबै तिथिलाई महत्त्वपूर्ण दिन मान्ने गरिन्छ । अन्धकारपूर्ण रात्री हुने भएकाले अमावस्या (औंसी) पितृहरूको रात र उज्यालो रात हुने भएकाले पूर्णिमा देवताहरूको रात मान्ने प्रचलन पनि छ । चन्द्रमाका १६ वटै कलाहरू प्रकाशित भएर रातलाई दिनको उज्यालोजस्तै झलमल्ल बनाउने भएकाले पूर्णिमा चन्द्रमाको सबैभन्दा प्रियतम तिथि हो । यस दिन चन्द्रमाले आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ ।

चन्द्रमालाई वैदिक कालदेखि नै मनको कारक ग्रह मान्ने गरिन्छ । प्रकृतिका हरेक क्रियाकलाप र परिवर्तनको मानवजीवनसँग प्रत्यक्ष सम्बन्ध हुने गर्दछ, त्यसैले पूर्णिमाको रात्रीकालमा जस्तोसुकै कठोर हृदय पनि पुलकित र रोमाञ्चित हुन पुग्दछ । वैदिक परम्परामा पूर्णिमाका दिन पर्व मानेर कुनै न कुनै धार्मिक कृत्य सम्पादन गर्ने शास्त्रीय विधान समेत उल्लेख भएको पाइन्छ । अतः हाम्रो सनातनदेखि चलेको सामाजिक र सांस्कृतिक जनजीवनमा पूर्णिमाको ठूलो महत्त्व छ । पूर्णिमाका दिन सम्पादन गरिने तलका विधिविधान र यज्ञव्रतादिले पनि यस तिथिको महत्ता र वैशिष्ट्य उजागर गरेको देखिन्छ :-

१ - यो दिन माता लक्ष्मीको कृपा र आशीर्वाद प्राप्त गर्ने विशेष दिन हो । यो तिथि लक्ष्मी माताको प्रिय तिथि भएकाले यस दिन उनको आराधना गर्नाले उपासकले यस सांसारिक जीवनमा कुनै किसिमको दुःख र दारिद्र्य झेल्नु पर्दैन, उसका जीवनमा कुनै पनि भौतिक सुखसम्पदाको अभाव रहँदैन ।

२ - शास्त्रमा उल्लेखभए अनुसार प्रत्येक पूर्णिमाका दिन बिहान करिब १० बजे (१० घटिका भुक्त भएपछि) पीपलको रुखमा माता लक्ष्मीको निवास हुन्छ । जुन मनुष्यले यस दिन बिहानै उठी नित्यकर्मबाट निवृत्त भई कुनै गुलियो नैवेद्य अर्पण गरी मह वा चिनी मिसाएको गुलियो जलले अर्घ्य दिई धूपबाती गरी माता लक्ष्मीको नामोच्चारका साथमा पूजाआजा गरेर आफ्ना निवासमा सधैं माता लक्ष्मीको बास होस् भनी प्रार्थना गर्दछ, उसले सदैव लक्ष्मीको कृपा प्राप्त गर्दछ भन्ने भनाइ छ ।

३ - प्रत्येक महिनाको पूर्णिमा तिथिका दिन १२५० ग्राम (सवा किलो) नटुक्रिएका सग्ला चामल लिएर कुनै शिवालयमा गई अञ्जुलीमा बोक्न सक्नेजति चामल झिकेर शिवलिङ्गमा चढाउने र बाँकी चामल पुजारी वा ब्राह्मणलाई भेटीका साथमा दान गर्ने विधान छ । यस उपायलाई प्रत्येक पूर्णिमा, हरेक सोमबार वा श्रावण महिनाको प्रत्येक दिन गर्नाले भगवान् शिवको कृपा प्राप्त गर्न सकिन्छ । घरपरिवारमा देखिएका समस्त आर्थिक सङ्कटहरू नष्ट हुन्छन् र कार्यक्षेत्रमा सफलता प्राप्त हुन्छ ।

४ - पूर्णिमाका दिन शिवलिङ्गमा मह, काँचो दूध, बेलपत्र, शमीको पात र फल चढाउनाले भगवान् शिवको कृपापात्र बन्न सकिन्छ । त्यस्तै पूर्णिमाका दिन चनौटोमा घसेर बनाइएको श्रीखण्ड चन्दन र केशरी मिसाएर भगवान् शङ्करलाई चढाउँदा घरबाट कलह र अशान्ति हट्दछ ।

५ - प्रत्येक पूर्णिमाका दिन बिहान घरको मूल दैलोमा आँपको तोरण टाँग्ने र बेसारले ॐकार लेख्ने चलन पनि छ । यसो गरेमा घरभित्र शुभ शकूनहरूको प्रवेश हुन्छ भन्ने विश्वास गरिन्छ ।

६ - दीर्घकालसम्म दाम्पत्य र प्रेमजीवन सफल होस् भनी पूर्णिमाको व्रत सम्पादन गर्न सकिन्छ । तर पूर्णिमा र अमावस्याका दिन शारीरिक सम्बन्ध (मैथुन) गर्नु हुँदैन ।

७ - प्रत्येक पूर्णिमाका दिन साँझमा चन्द्रमा उदाएपछि साबुदानाको खिर पकाएर, त्यसमा मिस्री मिसाई माता लक्ष्मीलाई भोग लगाउने र त्यसलाई प्रसादका रूपमा घरपरिवारमा र छरछिमेकमा वितरण गर्दा धनागमको मार्ग खुल्ने विश्वास गरिन्छ ।

८ - पूर्णिमाका दिन कुनै प्रकारको तामसी वस्तुको उपभोग गर्नु हुँदैन । यस दिन जुवाजन्य क्रियाकलाप, मादक पदार्थ, रिसराग आदिबाट टाढा रहनु पर्दछ । बृद्धबृद्धा र स्त्रीहरूसँग वादविवाद गर्नु वा अपशब्द बोल्नु हुँदैन ।

पूर्णिमा व्रत विधि (Purnima Vrat Vidhi in Nepali)
पूर्णिमाका दिन कुलदेवताको प्रसन्नताका निमित्त व्रत लिनु पर्दछ, तर धेरजसो चन्द्रमाको प्रसन्नताका निमित्त पूर्णिमाका दिन व्रत लिने चलन पाइन्छ । चन्द्रमालाई बुद्धि, सुगन्ध, आन्तरिक रोग, मानसिक पीडा, महिला, निद्रा, खुसी, तरल पदार्थ, औंलो ज्वरो, आमा, मातृशक्ति, मोती, नुन, मस्तिष्क, छोटो समय (मुहूर्त वा ४८ मिनेटको समयावधि), दही, प्रेम, तपस्या र साधनारत व्यक्ति, रात्रीकालको अनुमान, मीठो र गुलियो भोजन, अनुहारको आभा, राम्रो फलको आशा, माछा र अन्य जलचर प्राणी, नयाँ र रेडिमेड कपडा आदिको प्रतीकका रूपमा लिइन्छ । सोमबार, कर्कट राशि, रोहिणी, हस्ता र श्रवण नक्षत्रको स्वामी चन्द्रमा हो । यस ग्रहलाई सौम्य ग्रहका रूपमा लिइन्छ, त्यसैले चन्द्रमाको प्राकृतिक फलअनुसार व्यक्तिले राज्य र पदाधिकार प्राप्त गर्दछ । चन्द्रमाको समयमा सज्जनहरुको सङ्गत हुन्छ, मन मनोरञ्जनमुखी हुन्छ, भावुकता र प्रेमको उदय हुन्छ, घरायसी खुसी र सुखसयलका लागि प्रयास गरिन्छन्, शत्रुमाथि विजय हुन्छ र मोटर, गाडी वाहनादिको प्रबन्ध हुन्छ । कुण्डलीमा चन्द्रमाको महादशाको समय वा मङ्गला योगिनीको दशावधि छ भने जसले पनि चन्द्रमाको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै मनोविकार, डिप्रेसन, अस्थिरता जस्ता समस्या भएका व्यक्तिका लागि पूर्णिमाको व्रतबाट विशेष लाभ हुन्छ । घरमा आर्थिक तनाव छ, दाम्पत्य कलह छ वा बालबालिकामा मौसमी रोगव्याधिको प्रकोप छ भने पनि पूर्णिमाको व्रत लिएमा राम्रो हुन्छ । भविष्य पुराणमा पूर्णिमा व्रत लिंदा पालना गर्नु पर्ने विधिका बारेमा उल्लेख गरिएको छ, जुन यस प्रकार छ :-

१) प्रातः ब्रह्ममूहुर्तमा उठेर शौचादिबाट निवृत्त भई नजिकैको कुनै पवित्र नदी, ताल वा पोखरीमा गई स्नान गरी नित्य सन्ध्यावन्दनादि गर्नु पर्दछ । नदी वा पोखरीमा गई स्नान गर्ने अवस्था नभएमा घरकै धारामा गङ्गाजल वा गहुँतमिश्रित शुद्धजलले स्नान गर्नुपर्दछ ।

२) सन्ध्योपासनापछि पुरुष व्रतालुले आफ्ना पितृहरूलाई तर्पण गर्नु उचित हुन्छ ।

३) त्यसपछि पूजाकोठामा प्रवेश गरी इष्टदेवताको पूजाआजा गरी भगवान् भोलेशङ्करको विशेष पूजा गर्नु पर्दछ ।
४) त्यसपछि दिनभरि निराहार वा केवल फलाहारमात्र गरी समय बिताउनु पर्दछ ।

५) बेलुका प्रदोष काल (ठूलो साँझ परेपछि अर्थात् साँझबत्ती बाल्ने वेला) मा घरबाहिर तुलसीको मठमा पूर्व फर्किएर चन्द्रमालाई पाद्यअर्घ्यादि षोडशोपचार पद्धतिले पूजाआजा गर्नुपर्छ । पूजाका लागि दही, सेतो अक्षता, सेतो फूल, सेतो नैवेद्य (बाबर वा बतासा), श्रीखण्ड चन्दन आदि सेता पूजासामाग्री जम्मा गर्नु राम्रो हुन्छ । त्यसपछि मठको फेदमा गोबरको कुण्ड बनाई चन्द्रमालाई दही, दुबो, तिल, शुद्धजल मिसाएर अर्घ्य दिनु पर्दछ । अर्घ्य दिएपछि धेरैवटा प्वाल भएको कुनै वस्तुको सहयोग लिई (उदाहरणका लागि चालनीको प्वालबाट वा बाबर पकाएर बाबरको प्वालबाट) चन्द्रमाको दर्शन गर्नुपर्छ ।

६) त्यसपछि सम्भव भएसम्म एकमाला वा कम्तीमा १० पटक चन्द्रगायत्री मन्त्रको जाप गर्नु पर्दछ ।

७) पूजनोपरान्त चलनअनुसार रातै फूलअक्षताको प्रयोग गरी मान्यजन, चेलीबेटीलाई टीकाटालो गरेर प्रसाद र दक्षिणा वितरण गरी आशीर्वाद ग्रहण गर्नुपर्दछ ।

८) पूजापछि सम्भव भएसम्म तल दानसामाग्रीमा उल्लेख भएका सामाग्री जुटाएर दक्षिणाका साथमा ब्राह्मण वा गरीबगुरुबालाई दान दिएर व्रत समापन गर्नु पर्दछ ।

९) त्यसपछि सात्विक भोजन ग्रहण गर्न सकिन्छ । तर भोजन अवधिभरि मौन रहेर भोजन गर्नु अनिवार्य मानिएको छ ।

चन्द्रमाको आराधना गर्दा सम्झनु पर्ने कुराहरू :- 
१) मुख्यदेवता - त्रिपुरारि भगवान् शङ्कर॥

२) पूजा गर्दा प्रयोग गरिने मन्त्रहरू :-

३) अर्घ्य दिने मन्त्र – क्षीरोदार्णवसम्भूत अत्रिगोत्रसमुद्भव । गृहाणार्घ्यं शशांकेदं रोहिण्या सहितो मम ॥

४) चन्द्रमाको दानसामाग्री – घिउ, सेतो कपडा, सुन, मोती, शङ्ख, दही, चाँदी, श्रीखण्ड, कपूर, चामल, जनै, सेतो चामर, सेतो साँढे॥

५) चन्द्रमालाई प्रसन्न तुल्याउन दैनिक पाठ गर्ने स्तोत्रहरू :-


Sep 23, 2017

अनन्त चतुर्दशी व्रत

भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पनि मनाईन्छ । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । यसरी ठडयाइएको लिङ्गोलाई 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ। त्यसबाहेक ऋषितर्पणी पूर्णिमाका दिन जूठो, सूतक वा अन्य बाधा उपस्थित भई नूतन यज्ञोपवित वा रक्षाबन्धन पर्व मनाउन वञ्चित भएका व्यक्तिले यस दिन यज्ञको आयोजना गरी नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने प्रचलन पनि छ ।

अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको पूजा, आराधना र व्रत हुने गर्दछ । यो दिन कहिल्यै अन्त्य नहुने सृष्टिका कर्ता, धर्ता र संहर्त्ता निर्गुण ब्रह्मको भक्तिको दिन हो । यो दिन व्यक्तिले सांसारिक क्रियाकलाप र मायामोहको लौकिक वृत्तिबाट पर हटेर ईश्वरभक्तिमा अनुरक्त हुने दिन हो । यस दिन भगवान् विष्णुको वैदिक पद्धतिद्वारा पूजाआजा गरी भक्तिको स्मृतितन्तु मानिने अनन्तडोरो बाँध्ने चलन छ । यस दिन धनधान्य, सुखसम्मृद्धि र पुत्रादिको कामनापूर्तिका निमित्त अनन्त व्रत लिने चलन पनि छ । पाण्डवहरूले जुवामा आफ्नो सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्टपूर्ण जीवन भोगिरहेका वेला भगवान् श्रीकृष्णले यसको महत्त्व र वैशिष्ट्यको जानकारी प्रदान गरी अनन्त व्रत लिन आग्रह गरेकाले धर्मराज युधिष्ठिरले आफ्ना भाइ र द्रौपदीका साथमा यो व्रत लिएको प्रसङ्ग महाभारतमा उल्लेख गरिएको छ । उनीहरूले उक्त क्रममा विधिविधानले भक्तिपूर्वक अनन्त भगवानको पूजाआराधना गरी अनन्तसूत्र धारण गरेका थिए । अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्ना समस्त सङ्कटमाथि विजय प्राप्त गरेको विश्वास गरिन्छ ।

मूलतः अनन्त चतुर्दशीका दिन अनन्तका रूपमा भगवान् विष्णुको पूजा गरिन्छ । रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने र नारीहरुले देब्रे हातको नारीमा अनन्त धारण गर्ने प्रचलन छ । रुवा वा रेशमको धागोलाई कुमकुमको रङ्गद्वारा रंगाउने गरिन्छ । यस पूजा र व्रतलाई आस्था र निष्ठा हुने नरनारीले व्यक्तिगत वा पारिवारिक रूपमा अायोजना गरिने अनुष्ठान हो । तर जनैपूर्णिमा वा जन्माष्टमीजस्तो यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन । अग्नि पुराणलगायत अन्य धार्मिक ग्रन्थहरूमा अनन्त चतुर्दशीको व्रत लिने विधि र महात्म्यको वर्णन गरिएको छ । यस दिन कलशको जलमा स्थापना गरिएको तथा कुशबाट निर्मित भगवान् श्रीहरिको प्रतिमाको पूजा गरिन्छ । अनन्त चतुर्दशीको व्रत लिई पूजा सम्पन्न गर्न धुप, दीप, चन्दन, अक्षता, पुष्प, नैवेद्यादिको अावश्यकता हुन्छ । व्रत लिने व्यक्तिले प्रात:कालमा स्नानादि नित्यकर्महरुबाट निवृत्त भई शुद्ध वस्त्रादि पहिरिई कुनै पवित्र नदीको तटमा वा घरभित्रकै पूजास्थलमा गई पूजावेदीको निर्माण गरी त्यसको मध्यभागमा एउटा कलशको स्थापना गर्नुपर्दछ । कलशमाथि एउटा थाली राखी त्यसमा अष्टदल कमलको रचना गरी त्यसको केन्द्रमा कुशबाट निर्मित अनन्त भगवान् विष्णुको प्रतिमा स्थापना गर्नुपर्दछ । यस पछि कुङ्कुम, केसरी वा बेसारबाट रंगाएर बनाएको काँचो धागोबाट १४ ग्रन्थियुक्त 'अनन्त'को निर्माण गरी त्यसैको समीपमा स्थापना गर्नुपर्दछ । त्यसपछि 'ॐ अनन्तायनम:' यस मन्त्रले भगवान् विष्णु तथा अनंतसूत्रको षोडशोपचार-विधिले पूजा गर्नुपर्दछ । पूजाको समाप्तिपछि यथोचित दानादि गरी भगवान् हरिको नामसङ्कीर्तन, मन्त्रोच्चारण र कथाश्रवण गरी दिन बिताउनु पर्दछ । व्रत सम्पादन गर्ने व्यक्तिले चामलको एक पाथी पिठोबाट तैयार गरिएका रोटीहरु भगवानलाई भोग लगाई पूजा सकिएपछि त्यसको आधा भाग ब्राह्मणलाई दान गर्दछन् र बाँकी आधा भाग स्वयं आँफैले खाने गर्दछन् । यो व्रत लिएको दिन चामल र नुन बार्ने नियम छ । यदि यस व्रतलाई लगातार १४ वर्षसम्म लिने हो भने व्रतालुले मरणोपरान्त सजिलै विष्णुलोक प्राप्त गर्न सक्दछ भनी यसको महात्म्यमा उल्लेख गरिएको छ । यस व्रतलाई सम्पादन गर्ने प्रसङ्गमा भने केही मतमतान्तर छन् - जस्तै माधवले काल निर्णयमा यो व्रत मध्याह्नकालमा सम्पादन नगरेर सूर्योदयबाट गणना गरी प्रातःकालको तीन मुहर्तसम्म लिनु उपयुक्त हुन्छ भनेका छन्, तर निर्णयसिन्धुले यस मतको खण्डन गर्दै उदय तिथि चतुर्दशी हुनुपर्ने र मध्याह्नकालसम्म चतुर्दशी तिथि भएको सर्वोत्तम हुने कुरा लेखेको छ । अनन्त चतुर्दशीमा भगवान् विष्णुको प्रार्थना गर्ने मन्त्र यस प्रकार छ :-

अनन्तं विप्रवर्गञ्च तथा कुङ्कुमवर्णकम् ।
फणासहस्रसंयुक्तं तं देवं प्रणमाम्यहम् ॥
सदा भूयात् प्रसन्नो मे भक्तानामभयङ्कर: ॥
हे वासुदेव, यस अनन्त संसाररूपी महासमुद्रमा डुबेका मानिसहरूको रक्षा गर्नुहवस् तथा तिनलाई अनन्तका रूपको ध्यान गर्नमा संलग्न गराउनुहवस्, अनन्तरूप भएका हजुरलाई नमस्कार ।

अनन्तसागरमहासमुद्रेमग्नान्समभ्युद्धर वासुदेव ।
अनंतरूपे विनियोजितात्मा ह्यनन्तरूपाय नमो नमस्ते ॥
(अग्नि पुराण १९२/९)
माथि उल्लेख गरिएको मन्त्रले भगवान् विष्णुको पूजा गरेर व्यक्तिले आफ्नो हातको पाखुरामा वा गलामा मन्त्रोच्चारणपूर्वक अनन्त भनी प्रतिष्ठा गरिएको धागो धारण गरी अनन्त चतुर्दशीको व्रत सम्पादन गरेमा सुखसम्मृद्धि, दाम्पत्यसुख, सुस्वास्थ्य, प्रसन्नता र अन्त्यकालमा मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ । यस धागोमा प्रयुक्त अनन्त शब्दले भगवान् हरिको र चौधवटा गाँठाले हरिद्वारा उत्पन्न १४ वटा स्वर्गादि लोकहरुको प्रतीकात्मक अर्थ वहन गरेको छ । हेमाद्रिको व्रत खण्डको भाग २ मा अनन्त व्रतको विवरण विशद रूपमा उल्लेख गरिएको छ ।

अनन्त चतुर्दशीको व्रतकथा
एक पटक महाराज युधिष्ठिरले राजसूय यज्ञ गरे । त्यस समयमा यज्ञ मण्डपको साजसज्जा राम्ररी गरिएको थियो । देख्दा पनि उक्त यज्ञमण्डप सुन्दर र अनुपम देखिन्थ्यो । त्यो यज्ञ मण्डपको कालिगढी यत्ति अद्भूत र मनोरम थियो, जसमा जल र स्थलको भिन्नता छुट्टिदैनथ्यो । जलमा स्थलको र स्थलमा जलको प्रतीत हुन्थ्यो । साँच्चिकै सावधानी अपनाउँदा पनि अधिकांश व्यक्तिहरू त्यहाँ पुग्दा प्रायशः झुक्किने गर्दथे । एक पटक कतैबाट घुमघाम गर्दै दुर्योधन पनि त्यस यज्ञ-मण्डपमा आइपुगे । उनी युधिष्ठिरका बडाबा धृतराष्ट्रका छोरा थिए । उनी अचम्म मान्दै त्यस यज्ञवेदीको निरीक्षण गरिरहेका थिए । यसै क्रममा उनले पानी नभएको ठाउँमा पानी छ भन्ने ठानी आफूले लगाएको धोती उचाल्नु परेको थियो भने एक ठाउँमा त पानीले भरिएको तलाउमा सामान्य जमिन ठानेर ठमठम हिंड्दा नराम्ररी पछारिनु परेको थियो । यसरी दुर्योधन हिंडेडुलेको दृश्यलाई द्रौपदीले नियालिरहेकी थिईन् । दुर्योधन पछारिएपछि उनी खित्का छाडेर हाँसिन् र 'अन्धाको छोरो अन्धो' भन्दै दुर्योधनको उपहास गर्न थालिन् । द्रौपदीको उपहासका कारण उनको हृदयमा बाण झैं बिज्न थाल्यो, उनी नराम्ररी चिढिए र उनको मनमा द्वेष उत्पन्न भयो अनि उनले पाण्डवहरूलाई द्यूतक्रीड़ामा हराएर द्रौपदी गरेको उपहास र अपमानको बदला लिने विचार गरे। अनि हस्तिनापुरमा युधिष्ठरलाई सपरिवार निमन्त्रणा गरी बोलाएर मामा शकुनीको सहायताले कल, छल र बल गरी पाण्डवहरुलाई द्युतक्रीडामा पराजित गरे । जुवामा खेल्दा गरेको बाचाबन्धनअनुसार हारेपछि पाण्डवहरूले बाह्र वर्षसम्म वनवासमा बस्नुपर्यो र किसिमकिसिमका कष्ट सहनु पर्यो । वनवासमा रहेका बेला भगवान् श्रीकृष्ण पाण्डवहरूलाई भेट्न आउँदा युधिष्ठिरले उनीसित आफ्नो दुःख सुनाए र दुःख हटाउने उपाय सोधे । त्यसपछि श्रीकृष्णले आज्ञा गर्नुभयो -'हे युधिष्ठिर ! तपाईंले विधिपूर्वक भगवान् अनन्तको व्रत गर्नुभयो भने अहिलेको दुःख र सङ्कटबाट छुटकारा पाउनु हुनेछ । तपाईंको गुमेको राज्य पुन: प्राप्त हुनेछ ।' युधिष्ठिरले व्रतको विधिविधान र नियमका बारेमा जिज्ञासा राखेपछि यस सन्दर्भमा श्रीकृष्णले एउटा कथा सुनाउँदै बताउनुभयो -

प्राचीन कालमा सुमन्त नामका एक जना तपस्वी ब्राह्मण थिए । तिनी पत्नी दीक्षा र पुत्री सुशीलाका साथमा आफ्नो गार्हस्थ्य जीवन बिताइरहेका थिए । तिनकी छोरी परम सुन्दरी, धर्मपरायण तथा ज्योतिर्मयी कन्या थिईन् । सुशीला किशोरी अवस्थाकी हुन नपाउँदै उनकी माता दीक्षाको मृत्यु भयो । पत्नीको मरणोपरान्त सुमन्तले गर्कशा नामक स्त्रीसित दोस्रो विवाह गरे । उनले समयकालमा कौण्डिण्य ऋषिका साथमा छोरी सुशीलाको पनि विवाह गरिदिए । कन्यादान गरिसकेपछि छोरीको विदाइ गर्दा सुशीलाकी सौतेनी आमा गर्कशाले केही ईंटा र ढुङ्गाका टुक्रा बाँधेर दाइजोका रूपमा छोरीज्वाइँलाई दिईन् । ससुरालीले दिएको पोको लिई कौडिन्य ऋषि दुखी हुँदै नवविवाहिता पत्नीका साथ आफ्नो आश्रम प्रस्थान गरे, जाँदाजाँदै बाटामा साँझ पर्यो । सन्ध्याकाल भएकाले ऋषि कौडिन्य नदीका तटमा सन्ध्योपासना गर्न बसे । सुशीला पतिको सन्ध्योपासनाको समाप्तिको प्रतीक्षा गर्दै थिईन् । त्यसै वेला उनले नदीको अर्को किनारमा केही स्त्रीहरू राम्राराम्रा लुगामा ठाँटिएर पूजाआजामा संलग्न रहेको दृश्य देखिन् । उनी उक्त स्थानमा गईन् र तपाईंहरूले के गरेको भनी जिज्ञासा राखिन् । ती महिलाहरूले आफूहरूले अनन्त चतुर्दशीको व्रत लिएको बताए र विधिपूर्वक उक्त व्रतको महत्ता पनि बताई दिए । संयोगले त्यही दिन अनन्त चतुर्दशी थियो, त्यसैले सुशीलाले त्यहीं बसेर उक्त व्रतको अनुष्ठान गरिन् र चौधवटा गाँठा भएको डोरो हातमा बाँधिन् र पतिभए ठाउँमा फर्किएर अाईन् । त्यसपछि उनीहरू घरतर्फ लागे र केही समयमा घर पुगे ।

सुशीलाले नदी तटमा अनन्तको व्रत लिई अनन्तसूत्रको धारण गरेकी हुनाले उनलाई माइतीले दाइजोमा दिएका ईंटा र ढुङ्गा हिराजवाहिरातका रूपमा परिणत भए एवं केही दिनमा नै तिनीहरूको घर पनि धनधान्यले भरिपूर्ण भयो । एकदिन कौण्डिन्य मुनिको दृष्टि आफ्नी पत्नीको देब्रे हातको पाखुरामा बाँधिएको अनन्त सूत्रमा पुग्यो । त्यस धागोलाई देखेर ऋषि भ्रमित भए र उनले पत्नीसित सोधे - होइन तिमीले मलाई वशमा राख्न यो सूत्र बाँध्यौ कि कसो? कौडिन्यले सुशीलासित त्यसरी पाखुरामा बाँधिएको डोराका बारेमा प्रश्न र जिज्ञासा राख्दा सुशीलाले विनम्रतापूर्वक आफूले नदीका किनारमा थाहा पाएका यावत् वृत्तान्त बताई दिईन् । ऐश्वर्यको मातमा अन्धा भएका कौण्डिन्य ऋषिलाई त्यस डोरोप्रति विश्वास भएन र उनले आफ्नी पत्नीको सही कुरालाई पनि गलत ढङ्गले बुझ्ने प्रयास गरे, अनि सुशीलाले धारण गरेको अनन्त सूत्रलाई जादुमन्त्रबाट सिद्ध गरिएको वशीकरण गर्ने डोरो ठानेर चुँडाल्दै यज्ञको आगोमा मिल्काई दिए । उनले गरेको यस दुष्कर्मका कारण भगवान् अनन्तको अपमान भयो। फलस्वरूप तुरुन्त तिनको सारा श्रीसम्पत्ति र ऐश्वर्य नष्ट भयो ।

घरमा दरिद्रता बढ्दै गर्दा खिन्न भएका ऋषिले एक दिन आफ्नी पत्नीसित खिन्नता प्रकट गरे । यसै अवसरमा सुशीलाले अनन्त भगवानको डोरो डढाएको प्रसङ्ग कोट्याईन् । ऋषिले पछुतो माने र अनन्त डोरो कसरी निर्माण गर्ने तथा यस व्रतको विधि के होला भनी उपाय खोज्न वनतर्फ प्रस्थान गरे । उनले वनमा धेरै दिनसम्म यता र उता भौंतारिनु पर्यो । अन्त्यमा अत्यन्त निराश भई निर्बल हुन पुगेका ऋषि कमजोरीका कारण जमिनमा पछरिएर मूर्च्छा परे । ऋषि पछारिएर मूर्च्छित भएको ठाउँमा अनन्त भगवान् प्रकट हुनुभयो र उनलाई सम्बोधन गर्दै भन्नुभयो - 'हे ऋषिवर ! तिमीले मेरो तिरस्कार गरेका थियौ, त्यसैले तिमीले यत्तिका दुःख र कष्ट भोग्नुपर्यो । तिमी दुःखी भयौ । अहिले तिमीले पश्चाताप गरेका छौ, त्यसैले म तिमीसँग प्रसन्न छु । अब तिमीघर गएर विधिपूर्वक अनन्त व्रत गर । चौधवर्षसम्म प्रतिवर्ष विधिविधानपूर्वक यो व्रत सम्पादन् गर्यौ भने तिम्रा समस्त दुःख नष्ट हुनेछन्, तिमी धनधान्यबाट सम्पन्न हुनेछौ । कौडिन्यले भगवन् अनन्तले बताएको विधिलाई अनुसरण गरी अनन्तको व्रत सम्पादन गरे र सारा क्लेशहरूबाट मुक्ति प्राप्त गरे ।' भगवान् श्रीकृष्णको मुखारविन्दबाट यो कथाप्रसङ्ग सुनेपछि युधिष्ठिरले पनि अनन्त भगवानको व्रत लिए र व्रतका प्रभावले पाण्डवहरू महाभारतको युद्धमा विजयी भए तथा चिरकालसम्म राज्य गर्ने अवसर प्राप्त गरे तथा अन्त्यकालमा वैकुण्ठवास भयो ।

Sep 18, 2017

दाम्पत्य सुखवृद्धि गर्ने 'अदुःख नवमी' व्रत

अदुःख नवमी व्रत

अदुःख नवमी व्रत मुख्यतया कुनै पनि मनुष्यले दाम्पत्य सुखको अभाव झेल्नु नपरोस् भनेर लिइने व्रत हो । प्रत्येक वर्षको भाद्र महिनाको शुक्ल पक्षको नवमीलाई अदुःख नवमी भनिन्छ । अदुःख नवमी व्रत सनातन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा विशिष्ट पर्व हो । यो व्रत पति र पत्नी दुबै दम्पतिले लिने गर्दछन् । असमयमा नै विधवा वा विधुर भएका मानिसहरूले पनि आफूसँग वियोग भएका पति वा पत्नीको उत्तम गति प्राप्त होस् र जन्मजन्मान्तरमा यस जन्ममा जसरी पति वा पत्नीसित वियोग सहनु नपरोस् भन्ने उद्देश्यले पनि यो व्रत सम्पादन गर्ने गरिन्छ । यो आद्याशक्ति जगज्जननी माता पार्वतीको उपासना हो र विशेषतः नारीहरूले वैधव्यजन्य कष्ट निवारणका निमित्त माता पार्वतीको पूजा (आराधना) गर्ने गर्दछन् । यस दिनलाई अविधवा नवमी पनि भन्ने गरिन्छ । विशेषतः सनातन धर्मावलम्बी महिलाहरूले आफ्नो जीवनकालमा विधवा हुनु नपरोस् भन्ने कामनाका साथ यसै दिन व्रत सम्पादन गर्ने भएकाले यस नवमीको नाम अविधवा नवमी रहेको हुनुपर्छ ।

त्यस्तै गृहस्थाश्रममा दाम्पत्यसुखको ठूलो महत्त्व हुन्छ, दम्पतिमध्ये कुनै एकको मृत्यु भएर विधवा वा विधूर हुनु महादुःख हो, त्यसैले त्यस्तो महादुःख कसैले पनि भोग्नु नपरोस् भनेर यस दिन व्रत लिइन्छ, अतः यस दिनलाई अदुःख नवमी पनि भनिएको हो । मनुष्य मरणशील प्राणि हो, मृत्युलाई प्रत्येक जीवले वरण गर्नै पर्छ, यो प्रकृतिको शाश्वत नियम पनि हो । त्यसैले दम्पतीमध्ये संयोगवश हुने घटनाबाहेक पति र पत्नीको मृत्यु एकै साथ हुँदैन, दुईमध्ये जो भए पनि एक जनाले विधवा वा विधूर त हुनै पर्छ । तर यस व्रतको सम्पादन गरेमा पति र पत्नी दुबैले चिरकालसम्म दाम्पत्य सुख भोग गरी सँगसँगै वा छोटो समयको अन्तरालमा मृत्युवरण गर्न पाइन्छ भन्ने आम विश्वास छ । गृहस्थाश्रममा गृहसुखको महत्त्वसमेत उत्तिकै हुन्छ । अदुःख नवमीको व्रत सम्पादन गर्दा आगामी एक वर्षभरि घरपरिवारमा दुःख, दुर्भिक्ष, कलह, रोगव्याधि र कष्टको नाश हुन्छ र सुखसम्मृद्धि, सहकाल, स्वस्थ र शान्त वातावरण प्राप्त हुन्छ भन्ने मान्यता समेत रहेको देखिन्छ । यस व्रतको पालना गर्ने नरनारीले दीर्घकालिक दाम्पत्य जीवन, सुखसम्मृद्धि, सन्ततिमा आरोग्यता र श्रीसम्पत्ति प्राप्त गर्ने विश्वास गरिन्छ ।


व्रत विधान

विशेषतः पूर्वोत्तर भारतको बङ्गाल र आसामका साथै नेपालमा पनि सनातनी दम्पतिले यो व्रत लिने गर्दछन् । अदुःख नवमीको व्रत सम्पादन गर्न इच्छा राख्ने मनुष्यले यस व्रतको एक दिन अघिबाटै शुद्ध र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रतको दिन बिहानै उषाकालमा उठेर स्नानादि नित्यकर्मबाट निवृत्त भई आफ्ना इष्टदेवताको पूजादि कर्म समाप्त गर्नुपर्दछ । त्यसपछि जौ, तिल, कुश र पानी हातमा लिएर संकल्प गर्दै भन्नु पर्छ, हे गौरी भगवती, म आज तपाईंको विशेष आराधना गर्दै उपवास लिँदैछु, मेरो घरपरिवारमा देखिने दुःख, दुर्भिक्ष, कलह, रोगव्याधि र कष्टको नाश गर्दै सुखसम्मृद्धि, सहकाल, स्वस्थ र शान्त वातावरण प्रदान गर्नुहवस् र मलाई अटल सौभाग्यको प्राप्ति होस् । संकल्प गरेपछि दिनभरि निराहार बसी व्रत लिनु पर्छ । व्रतको अवधिमा भगवान् शिवजी र माता गौरी लगायत शिवपरिवारको पूजा, आराधना, भजनकीर्तन, स्तुतिपाठ र कथाश्रवण गर्नुपर्छ । बेलुका हातखुट्टा धोएर पूजाआरती समापन गरेपछि एक छाक सात्विक भोजन गर्दा हुन्छ । सक्ने दम्पतीले जागरण समेत गर्नु पर्दछ । भोलिपल्ट प्रातःकालमा स्नानादि बाट निवृत्त भएर ब्राह्मणब्राह्मणीलाई अन्नदान गरी भोजन गराउने, कुनै दीनहीन र गरिब सौभाग्यवती स्त्रीलाई सौभाग्यका सामाग्री उपहारका रूपमा प्रदान गरी पेटभरि मीठोमसिनो पकाएर खुवाउनु पर्दछ र व्रत समापन हुन्छ । व्रत लिन नसक्ने व्यक्तिले अदुःख नवमीका दिन ब्राह्मणब्राह्मणी वा दीनहीन सौभाग्यवती स्त्रीलाई सौभाग्यका सामाग्री, वस्त्राभूषण दान गर्ने र भोजनादि गराउनाले मात्र पनि अटल सौभाग्य प्राप्ति हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

Sep 13, 2017

गणेश चौथीको व्रत : ऋणसापटीबाट छुटकारा



पूर्वीय संस्कृति अन्तर्गत कुनै पनि कामको सफलताका निमित्त सबैभन्दा पहिले मङ्गलाचरण, स्वस्तिवाचन र इष्टदेवताको पूजाआजा गर्ने विधान छ । सामान्यतया कुनै कार्य सुचारु ढंगले सम्पन्न होस् भन्ने कामनाले श्रीगणेशको वन्दना गरिन्छ । उनलाई वैदिक वा पारम्परिक विधिविधानको प्रयोग गरी अर्चना वा पूजा गर्ने चलन छ । अतः सनातन धर्म र संस्कृतिमा सर्वप्रथम श्रीगणेशको पूजाबाट नै कुनै पनि कामको प्रारम्भ हुने गर्दछ । त्यो जुनसुकै इच्छा पूर्ण गर्नका निमित्त हुनसक्छ, जस्तै थालेको कामको समाप्तिपर्यन्त कुनै बाधाअवरोध नआओस् भनेर वा स्त्री, पुत्र, पौत्र, धन, समृद्धि पाइयोस् वा कुनै आपत, विपत वा सङ्कटबाट छुटकारा मिलोस् भनेर । 

श्रीगणेशको जन्म भदौ महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको थियो । त्यसैले प्रत्येक वर्ष यस दिन धूमधामका साथमा गणेश जयन्ती पर्व मनाउने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा यो पर्व महिलाहरूको महान् पर्व तीजको मध्यमा पर्दछ । हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन छ, त्यसको भोलिपल्ट अर्थात तीजको पार्नाका दिन गणेश चतुर्थी पर्दछ र त्यस दिन चौथी हान्ने दिन भन्ने चलन पनि छ । गणेश चतुर्थीको भोलिपल्ट ऋषिपञ्चमी पर्व मनाउने गरिन्छ । त्यसैले गणेश चतुर्थीलाई तीज पर्वकै अङ्ग मान्ने चलन रहेको छ । यसरी गणेश जयन्तीका दिन भगवान् गणेशलाई बुद्धि, समृद्धि र सौभाग्यका देवताका रूपमा पूजा गर्ने गरिन्छ । भाद्र महिनाको शुक्लपक्षको दिवाकालको मध्याह्नमा श्रीगणेशको जन्म भएको हो भन्ने मान्यता छ, त्यसैले प्रत्येक पक्षको चतुर्थी तिथि (शुक्लपक्ष वा कृष्णपक्ष) भगवान् गणेशलाई अत्यधिक प्रिय लाग्दछ । यस दिन व्रत लिने भक्तजनले मध्याह्नकालमा श्रीगणेशको यथाविधि पूजा गर्ने गर्दछन् । भगवान् गणेश ऋद्धि र सिद्धिका दाता हुनुहुन्छ, शुभता र लाभ वहाँका नैसर्गिक वरदान हुन्, त्यसैले उहाँलाई सिद्धिविनायक र सङ्कटनाशक देवता मान्ने गरिन्छ ।

पूजासामग्री :-

गणेशजीको पूजा गर्न आसनका लागि एउटा नयाँ पिर्का, शुद्ध जल, कलश, रातो कपड़ा, पञ्चामृत (दूध, दही, घिउ, मह, चिनी मिसाइएको घोल), अबीर, केशरी, रक्षाबन्धन, रक्त चन्दन, जनै, गङ्गाजल, सिन्दूर, चाँदीको पत्र, रातो फूल, माला, सुगन्धित द्रव्य (सेन्ट), लड्डु (आफैंले तैयार गरेको), लड्डु राख्ने पात्र, सुपारी, ल्वाङ, अलैंची, नरिवल, मौसमअनुसारको पाकेको फल, दूबो, पञ्चमेवा (अपुङ्गो), दियो, धूप, अगरबत्ती र कपूरको आवश्यकता पर्दछ ।

पूजाविधि :-

भगवान् गणेशको व्रत सम्पादन गर्न एक दिन अघिदेखि नै नङकेस काटी पवित्रताको आचरण गर्नु पर्दछ । व्रतका दिन अर्थात गणेश चतुर्थीका दिन प्रातः ऊषाकालमा निद्राबाट जागा भई शौचादि नित्यकर्मबाट निवृत्त हुनु पर्दछ । त्यसपछि नुवाइधुवाइ गरी शुद्ध रातो रङको लुगा लगाउनु पर्दछ । त्यसपछि घरको पूजा कोठा, गणेश मन्दिर वा पूजास्थलमा कुसको आसनमा व्रतालुले पूर्व वा उत्तर मोहोडा गरी बस्नु पर्दछ । सबैभन्दा पहिले भगवान् गणेशको प्रतिमा वा मूर्तिलाई पञ्चामृतले र त्यसपछि गङ्गाजलले अभिषेक गरिदिनु पर्दछ । अनि काठको पिर्कामा रातो कपडा ओछ्याउनु पर्दछ । गणेशजीको प्रतिमाको दाया र वाँया भागमा क्रमशः ऋद्धि र सिद्धिको कल्पना गरी दुईवटा सुपारी स्थापना गर्नु पर्दछ । गणेशको प्रतिमामा सिन्दूरको लेपन गरी उक्त प्रतिमालाई चाँदीको पत्रले ढाकी दिनु पर्दछ । व्रतालु आफूले रक्त चन्दन मिसाई बनाइएको अक्षताको टीका लगाउनु पर्दछ, आफूले टीका लगाउँदा पूजा गर्न बनाइएको टीकामध्येबाट आवश्यकता अनुसार झिकी कुनै पात वा दुनामा राखी लगाउनु पर्दछ, पूरै टीकाको थाली वा पात्रलाई ने जुठो बनाउनु हुँदैन । व्रतालुले टीका लगाएपछि पूजाविधि प्रारम्भ हुन्छ । सुरुमा दुबै हात उचालेर गणेशजीको आवाहान गर्नु पर्दछ, अनि एउटा कुसको टुक्रो लिई आसन प्रदान गर्नु पर्दछ । त्यसपछि रक्तचन्दन, अक्षता, रक्षासूत्र, जनै, रातो फूल, माला, सुगन्धित द्रव्य, दूबो, नरिवल, पञ्चमेवा (अपुङ्गो), फलफूल, लड्डु, ल्वाङ, सुकुमेल आदि क्रमशः चढाउनु पर्दछ, अनि बाती बाली अगरबत्ती वा धूप सल्काउनु पर्दछ । अन्त्यमा आरती र पुष्पाञ्जली गरी परिक्रमा गर्नु पर्दछ । यसरी पूजा गर्नाले भगवान् गणेश प्रसन्न हुनुहुन्छ । पूजा सम्पन्न गर्न कठिनाइ वा अज्ञानता भएमा ब्राह्मण (पुरोहित) को सहयोग लिन सकिन्छ । बाहुनबाजेले पढेजत्ति नै मन्त्र वा स्तोत्र पढ्न नआए पनि प्रत्येक वस्तु गणेशजीलाई चढाउँदा तलको मन्त्रको उच्चारण गर्न सक्नुहुन्छ :-

ॐ वक्रतुण्ड महाकाय कोटिसूर्यः समप्रभः। निर्विघ्नं कुरू मे देव ! सर्व कार्येषु सर्वदा ।। 

गणेशलाई मोदक अर्थात लड्डू असाध्यै मनपर्छ, त्यसैले वहाँलाई गाईको शुद्ध घिउमा आफ्नै हातले बनाएको कम्तीमा २१ वटाको सङ्ख्यामा लड्डुको भोग लगाउनु पर्दछ । पूजा समाप्त भएपछि श्रीगणेशका मन्त्र, स्तुति र स्तोत्रको जापपाठादि गर्नु उत्तम हुन्छ । श्रीगणेशको यसरी विधिवत पूजा गरिसकेपछि भगवान् शिव, माता पार्वतीसमेत नन्दी साँढे, कार्तिकेयसमेत समस्त शिवपरिवारको सङ्क्षिप्त पूजाविधि (चन्दन, अक्षता, फूल, धूप, बाती) प्रयोग गरी पूजा गरिदिनु पर्दछ । व्रतालुले काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता मानसिक विकारको एक दिन अघिदेखि नै व्रतको अवधिभर त्याग गर्नु पर्दछ र व्रतको पूर्ण फल प्राप्त गर्न हरदम भगवानमा चित्त समर्पण गरी शुद्ध र सात्विक भाव ग्रहण गर्नु पर्दछ । पूजाआराधना र व्रत समाप्त भएपछि पूजाका लागि निर्माण गरेको माटोको प्रतिमा छ भने त्यसलाई ऋषि पञ्चमीका दिन कुनै गङ्गासम्म पुग्ने वहाव भएको ठूलो नदीमा लगेर सेलाई दिनु पर्दछ । तर धातुबाट निर्मित वा चित्रलाई सेलाउनु हुँदैन । त्यसरी नसेलाउने चित्र वा प्रतिमाको प्रयोग गरिएको छ भने पूजा सकिएपछि हे प्रभू ! म आजदेखि हजुरको नित्यपूजा गर्नेछु, मेरो घरमा हजुरले नित्यनिवास गरी दुःख, सङ्कट र कष्ट निवारण गर्नुका साथै दीर्घायुष्य, आरोग्यता, सुखसम्मृद्धि, धन र ऐश्वर्य प्रदान गर्नु होला भनी भगवानलाई निमन्त्रणा गर्नुपर्दछ अनि पूजाकोठामा लगी स्थापना गर्नु पर्दछ । त्यसपछि पूजा वा व्रतका क्रममा भएका त्रुटिनिवारणका लागि क्षमा प्रार्थना गरी पूजामा सहभागी भएका ब्राह्मणहरू, अन्य भक्तजन, श्रद्धालु र अतिथिगणको आवाभगत, स्वागतसत्कार, भोजनपान, यथायोग्य सिधादक्षिणा र उपहार/प्रसाद दिई विदाइ गर्नु पर्दछ । ब्राह्मणलाई सन्तुष्ट तुल्याई कम्ती एक दिनको ज्यालाको चलनचल्तीको दररेटअनुसार दक्षिणा दिई प्रणामादि गरी आशीर्वाद ग्रहण गर्नु अनिवार्य छ । यसरी आशीर्वाद प्राप्त गरेमा दीर्घायुष्य, आरोग्यता, सुखसम्मृद्धि, धन र ऐश्वर्य आदि प्राप्त गर्न सकिन्छ ।


मङ्गलबार वा चतुर्थी  तिथिको व्रत थाल्ने दिन

कुनै व्यक्तिले नियमित रूपमा मङ्गलबार वा चतुर्थी तिथिको व्रत बसी आदिपूज्य भगवान् गणेशको उपासना गर्ने योजना बनाउनु भएको छ भने उक्त व्रतको थालनी गर्नसमेत आज अर्थात् गणेश चतुर्थीको दिन शुभ मानिन्छ । मङ्गलबारको व्रत लिनेले यस दिन जुनबार परेपनि निष्ठा र भक्तिपूर्वक व्रत लिई यसपछिका हरेक मङ्गलबारको व्रत लिने शास्त्रीय विधान छ । त्यस्तै चतुर्थीको व्रत लिने पनि यस दिन व्रत सम्पादन गरी यसपछिका शुक्लपक्ष र कृष्णपक्षमा पर्ने हरेक चतुर्थीको व्रत लिन सक्दछन् ।

गणेश चतुर्थीका दिन निम्न आठवटा उपायलाई अवलम्बन गरेमा मनोकामना पूर्ण हुन्छ :-

आदिदेवता शिवपुत्र श्रीगणेशको जन्म भदौ महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको थियो । यस पटक आगामी २०७३ साल भदौ २० गते सोमबार तदनुसार ५ सेप्टेम्बर २०१६ का दिन उक्त महापर्व परेको छ । विघ्नहर्ता, बुद्धि प्रदाता, लक्ष्मी प्रदाता भगवान् गणेशलाई प्रसन्न तुल्याउने सबैभन्दा उत्कृष्ट समय हो, यो । यसको विकल्पमा कुनै मङ्गल चतुर्थीको संयोग परेमा पनि यी उपायलाई प्रयोग गर्न सकिन्छ, नत्र अब यसपछि अर्को वर्षमात्र यो पुण्यसमय प्राप्त हुन्छ । आफ्ना जेजस्ता इच्छा भए पनि मनोकाङ्क्षा सिद्धिका निमित्त उक्त दिन तलका आठवटा उपायलाई उपयोग गर्ने राम्रो अवसर जुटेको छ :-

(१) श्रीगणेशको प्रतिमा, मूर्ति वा मन्दिरमा पूर्वमुख गरी आसन ग्रहण गरी भगवानलाई आवाहान/आसनादि प्रदान गरी यथाशक्ति पञ्चोपचार वा षोडशोपचार पद्धतिले पूजा सम्पन्न गरी लड्डुको भोग लगाई ‘ॐ गं गणपतये नम:’ यस मन्त्रको २१, ५१ वा १०८ आवृत्ति जाप गरी विधिपूर्वक प्रज्वलित अग्निमा शुद्ध घिउको १०८ आहुति दिएमा मानसिक प्रसन्नता र घरपरिवारमा सुखसम्मृद्धिको प्राप्ति हुन्छ ।

(२) विवाह, दाम्पत्यसुख, सन्ततिप्राप्ति वा कुनै उन्नतिप्रगतिमा बाधा भएको छ भने वा अन्य कुनै पारिवारिक समस्या हल गर्नु छ भने माथि बताइएको विधिले नै पूजादि र आहुतिको कार्य सम्पन्न गर्न ‘ॐ वक्रतुंडाय हुं’ मन्त्रको प्रयोग गर्नु पर्दछ । यस मन्त्रको जाप गर्दा सकेसम्म मुगाको मालाको प्रयोग गरेमा शीघ्र लाभ हुन्छ ।


(३) कसैलाई आफूप्रति आकर्षण जगाउनु छ वा वशीकरण गर्नु छ भने माथि बताइएको विधिले नै पूजादि र आहुतिको कार्य सम्पन्न गर्न ‘ॐ वक्रतुंडाय हुं’ मन्त्रको जाप गर्न हकीक (एक किसिमको पत्थर) को मालाको प्रयोग गर्ने विधान छ ।

(४) सबै किसिमका विघ्न समाप्त गरी जीवनपथमा विनाअवरोध अगाडि बढ्नका लागि स्फटिकको शीलाले बनेको भगवान् गणपतिको प्रतिमाका सामुमा बसी ‘ॐ गं ग्लौं गणपतये विघ्न विनाशिने स्वाहा’ मन्त्रलाई २१ माला (एउटा मालामा १०८ दाना हुन्छन्) जाप गर्नु पर्दछ ।


(५) शत्रुदमन गरी रिस, इबी र डाहा गर्नेहरूबाट मुक्त हुन चाहनु हुन्छ भने माथि बताइएको विधिले नै पूजादि र आहुतिको कार्य सम्पन्न गर्न तपाईंले नीमको वृक्षको फेदमा गणेशको प्रतिमा स्थापना गरी ‘ॐ हस्ति पिशाचि लिखे स्वाहा’ मन्त्रको जाप गर्नु पर्दछ । यसरी जाप गर्दा पहिलो पल्ट यस विधिको प्रयोग गरेपछि दैनिक नित्यपूजाका क्रममा घरको पूजा कोठा वा मन्दिरमा बसेर उक्त मन्त्रको २१, ५१ वा १०८ पटक जाप गर्नु बढी फलदायक हुन्छ । यसरी विधिपूर्वक गणेशजीको यस मन्त्रको जापको प्रभावले शत्रु वशीभूत हुन्छन्, प्रशासनिक झैझमेलामा विजयी भइन्छ र घोर एवं अनर्थकारी उपद्रव पनि शान्त हुन पुग्दछन् ।


(६) शक्ति विनायक गणपतिको प्रतिमा स्थापना गरी आराधना गर्नाले व्यक्ति सर्वशक्तिमान हुन पुग्दछ । उसको भौतिक जीवनमा कुनै किसिमको कमी हुँदैन । यसरी प्रतिमा स्थापना गर्दा कुमालेको चक्रमा थुपारेको माटो ल्याई गणेशको प्रतिमा निर्माण गरी प्रतिष्ठा गर्नु पर्दछ । यस विधिका लागि भगवान् गणेशको ‘ॐ ह्रीं ग्रीं ह्रीं’ मन्त्रको जाप गर्नु उचित हुन्छ । सुरुमा गणेश चतुर्थी वा मङ्गल चौथीका दिन प्रारम्भ गरी लगातार ११ दिनसम्म नित्य ११ मालाका दरले जाप गर्नु पर्दछ । जापको समाप्तिमा विधिवत् यज्ञ गरी हवनादि कार्य सम्पन्न गरेमा यस मन्त्रले प्रदान गर्ने चमत्कार व्रतालुले स्वतः प्राप्त गर्दछन् ।

(७) क्रमाङ्क ६ मा उल्लेख भएको विधिलाई प्रयोग गरी लक्ष्मी विनायक गणेशको प्रतिमा स्थापना गरेपछि ‘ॐ श्रीं गं सौम्याय गणपतये वरवरद सर्वजनं मे वशमानय स्वाहा।’ यस मन्त्रको दैनिक ११ माला जाप ११ दिनसम्म गरी समापन हुने दिन पानीको प्रवाह भएको कुनै कुला, कुलेसा, खोला वा नदीको तटमा गई ४४४ पटक उक्त मन्त्रको उच्चारणका साथ अञ्जुली प्रदान गरेमा गणेशजीको शीघ्र कृपा प्राप्त हुन्छ ।


(८) आधुनिक यु्गमा इच्छा, आकाङ्क्षा र महत्त्वाकाङ्क्षा पूरा गर्न मनुष्यले विभिन्न वित्तीय संस्था वा साहु/महाजनबाट ऋणसापटी वा कर्जा लिएका हुन्छन् । समयचक्रको भवण्डरमा परी अनेकौं प्रयासका बावजुद व्यक्तिले उक्त ऋणबाट त्राण पाउन सकिरहेको हुँदैन र चरम मानसिक सङ्कटमा फँसेको हुन्छ ।  आकस्मिक रूपमा कुनै दैवीय कृपा प्राप्त भएमा मात्र उसले त्यस जोखिमबाट मुक्ति पाउन सक्छ, अन्यथा आजीवन ऋणको गोलचक्करमा भौंतारिरहनु पर्दछ । त्यसैले भगवान् गणेशको जन्मोत्सवका दिनबाट प्रारम्भ गरी तल लेखिएका उपायलाई अवलम्बन गरेमा उसले यस जन्मको मात्र होइन, जन्मजन्मान्तरदेखि सञ्चित रहेका अशुभ प्रभावका कारण सधैं ऋणी हुनुपर्ने दुर्भाग्यलाई मेटाउन सक्दछ ।

ऋणबाट ऊऋण हुन यस दिन व्रतालुले विधिपूर्वक श्रीगणेशको पूजा गरी तल लेखिएको ऋणहर्ता मन्त्रको १०८ माला जाप गरी त्यसको दशांश हवन गरिदिनु पर्दछ । यसो गरेमा उसले तुरुन्त ऋणमुक्त हुने वातावरण प्राप्त गर्दछ । यस मन्त्रको प्रयोगबाट श्रीगणेश तुरुन्त प्रसन्न हुनुहुन्छ र साधकले ऋण, सापटी वा कर्जाबाट जोगिने ठूलो अवसर प्राप्त गर्दछ । यस मन्त्रको महिमा उल्लेख गर्दै शास्त्रमा बताइएको छ - जसको घरमा यस मन्त्रको केवल एक पटक अनायासै उच्चारण हुन्छ, उसको घरम कहिले पनि ऋण र दरिद्रताले प्रवेश गर्दैनन् ।

ऋणहर्ता मन्त्र :- ॐ श्री गणेश ऋण छिन्धि वरेण्य हुं नमः फट् ।

विधि : गणेश चतुर्थी वा मङ्गल चौथीका दिन कुनै सुयोग्य ब्राह्मणको सहयोग लिई स्फटिकले निर्माण गरिएको वा मूगा रत्नमा कुँदिएको श्रीगणेशको प्रतिमाको विधिपूर्वक स्थापना गर्नु पर्दछ र माथि बताइएको पूजाविधिको प्रयोग गरी उक्त दिनदेखि ऋण, सापटी र कर्जाको मारमा परेका जोसुकैले दैनिक रूपमा एक मालाका दरले लगातार १०८ दिनसम्म वा एकै दिनमा मन्त्र जाप गर्नु पर्दछ र समाप्तिमा वैदिक विधिपूर्वक हवन, मार्जन र आचमनादि गरिदिनु पर्दछ । यसो गरेमा भगवान् गणेश अतीव प्रसन्न हुनुहुन्छ र तुरुन्त भक्तको ऋणक्लेशको नाश गरी सुखसम्मृद्धि र ऐश्वर्य प्रदान गर्नुहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस्ता व्यक्तिले जीवनभरि सांसारिक आनन्द र भोग प्राप्त गरी अन्त्यकालमा सायुज्य मुक्तिसमेत प्राप्त गर्ने अनुकूलता पाउँदछन् । अस्तु ।

Sep 11, 2017

तीज पर्वको विशेषता र व्रतकथा

तीज सनातन धर्मावलम्बी नेपाली हिन्दू महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान् शिवको आराधना गर्नुका साथसाथै नाचगान र मनोरञ्जन समेत गर्ने गरिन्छ । महिलाहरूद्वारा स्वतन्त्र र आनन्दसँग मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

तीजको धार्मिक पृष्ठभूमि
धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको पूजा गर्न थालिन् । उनको विवाह विष्णुसँग हुँदैछ भन्ने सूचना पार्वतीले आफ्ना सखीहरूमार्फत थाहा पाएकी थिइन् र तिनै साथीहरूले लुकाएर यिनलाई वनमा पुर्याइएको थियो । संस्कृत भाषामा सँगीसाथी अर्थ बुझाउने शब्द आलिकाले अपहरण गरी वनान्तरमा पुर्याएको हुँदा यस व्रतको अर्को नाम हरितालिका पनि हो ।  पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बस्न थालिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई 'चिताएको कुरा पुगोस्' भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन गयो । कतिपय ग्रन्थमा यसरी विवाह भएको त्यो दिन पनि भाद्र शुक्ल तृतीयाकै दिन थियो, तर प्रामाणिक रूपमा शिवपार्वतीको विवाह भएको दिन अक्षय तृतीयालाई मान्ने गरिन्छ । यस परिघटनाको स्मरणमा नारीहरूले यस दिनलाई उत्सवकारुपमा मनाउन थाले र यो तीजका रूपमा मनाउने चलन पौराणिक कालदेखि नै चल्दै आएको मानिन्छ ।

व्रत बस्ने दिन

तीजको व्रत अन्य व्रतभन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ । दरमा खासगरी खीर र ढकनेका साथमा ठाउँअनुसारका मिठामिठा परिकार बनाएर खाने गरिन्छ । तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती अबेरसम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो । दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको व्रत बसिन्छ । यस दिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ।

व्रतकथा

पौराणिक कालदेखि चलिआएको तीजको व्रतकथा यसप्रकार रहेको छ -
यस व्रतको महात्म्य र कथा भगवान् शिवले नै पार्वतीलाई सुनाउनु भएको थियो - हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गङ्गातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ । उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरु चबाई दिनहरु काटेकी थियौ । माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, वैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तपायौ र साउनको मुसलधारे वर्षामा पनि खुल्ला आकाशमुनि विना अन्नपानी व्यतीत गर्यौ । तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे । एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो। तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो - हे गिरिराज ! म भगवान् विष्णुले पठाएर यहाँ आएको हुँ । तपाईंकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान् विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ । यसबारे म तपाइँको राय जान्न चाहन्छु । नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो - श्रीमान् ! यदि स्वयं विष्णु भगवान् मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन । उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ । यो त हरेक अभिभावक र पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनका साथै पति र परिवारको सुखकी कारण बनून् ।

नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान् विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो । तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ। तिम्रो दुःखको कुनै ठेगान भएन। अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरु बित्न थाले । तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्री एउटी सखीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भन्यौ - मैले मनैदेखि भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नुभयो। म विचित्र धर्मसङ्कटमा छु। अव मैले प्राण त्याग्नुबाहेक कुनै उपाय र विकल्प देखेकी छैन। तिम्री ती सङ्गिनी अति नै चङ्ख र समझदार थिइन् । उनले तिमीलाई भनिन् - प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र ? सङ्कटको घडीमा धैर्यताका साथ काम गर्नुपर्दछ । नारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई एक पटक मनैले उनीहरूले पतिका रूपमा वरण गर्दछन्, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ । दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान् पनि असहाय र किंकर्तव्यविमुढ बन्न पुग्नुहुन्छ। तसर्थ म तिमीलाई भक्ति र साधनामा विघ्न नआउने यस्तो घनघोर वनमा लिइजान्छु, जहाँ तिम्रा पिताले जतिसुकै खोजीनीति गरेपनि तिमीलाई भेट्नुहुन्न । मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य तिम्रो सहायता गर्नुहुनेछ । त्यसपछि ती साथीको कुरा तिमीले मान्यौ र घनघोर वनमा गएर एकनिष्ठा र भक्तिका साथमा मेरो आराधना गर्नथाल्यौ । यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो । उहाँ सोच्न थाल्नुभयो - मैले त मेरी पुत्रीको भगवान् विष्णुसँग विवाहको निधो गरेको थिएँ, भगवान् विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखतमा कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ, विष्णुलाई मैले के जवाफ दिने ? यती विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजीको कार्य सुरु गराउनुभयो । यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीका साथ नदीका तटमा एउटा गुफामा आराधनामा लीन भयौ।

भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ । रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ । तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामुमा म उपस्थित हुन पुगेँ र तिमीलाई वर माग्न भनें । त्यससमय आफ्नो कठोर तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफूसमक्ष देखेर हर्षित हुँदै तिमीले भन्यौ - मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेकी छु । यदि तपाई साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनुभएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुहोस् । त्यसपछि तथास्त् भनेर म कैलाश पर्वततर्फ फिर्ता भएँ । भोलिपल्ट उज्यालो हुने बितिक्कै तिमीले पूजाका समस्त सामाग्री नदीमा सेलाई आफ्नी सहेलीसहित व्रतको समापन गर्यौ ।

त्यही समय तिम्रा पिता गिरिराज हिमालय आफ्ना बन्धुबान्धवसहित तिमीलाई खोज्दैखोज्दै त्यहीं पुग्नुभयो । तिम्रो अवस्था देखेर अत्यन्त दुःखी हुँदै उहाँले तिम्रो त्यो कठोर तपस्याको कारण सोध्नुभयो । तिमीले भन्यौ - पिताजी ! मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँ । मेरो यो तपस्याको एकमात्र उद्देश्य महादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो । आज म आफ्नो तपस्याको परीक्षामा सफल भएकी छु । म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ । अब मैले हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाह गरिदिने भए मात्र म घर फर्कन्छु । तिम्रा कुरा सुनेर पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर जानुभयो । केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो । तीजको महात्म्य सुनाउँदै भगवान् शिवले थप्नुभयो - हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन व्रत बसेकी थियौ, त्यसैको परिणामस्वरुप हामी दुईको विवाह सम्भव भएको हो । यो व्रतको महत्त्व यसकारणले पनि मननीय छ । जसले यो व्रत निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ। यो व्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ। हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र साथीहरू भन्ने हुन्छ। अन्त्यमा भगवान् भोलेनाथले पार्वतीलाई भन्नुभयो - यस व्रतलाई विधिविधानपूर्वक जसले सम्पादन गर्दछ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ।

महत्त्व
हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एउटा लामो समयदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाहपश्चात् आफ्नो पतिका घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको वैशिष्ट्य रहेको पाइन्छ । तीजमा महिलाहरुलाई मीठा मीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी र तनावका साथै माइतीको सम्झनाको खाडललाई समेत कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्ने गर्दछन् भने अविवाहिता कन्याहरू सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाहरुले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणी, सधवा महिला र गरीवगुरुबालाई दानदक्षिणा गर्ने चलन रहेको छ ।

वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो । नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासकासाथ दिनभरि भोकै बसी पतिको दिर्घायुको कामना गर्नु नै तीज पर्वको विशेष सन्देश मानिन्छ । तीज व्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ। यी कुराहरू तीजको सकरात्मक पक्ष हो । हाल विदेशमा रहेका नेपाली महिलाहरूले पनि यो चाड बडो धुमधामकासाथ मनाउने गरेको पाइन्छ ।

ऋषिपञ्चमी

तीजको दुई दिनपछि पर्ने पञ्चमी तिथिलाई ऋषिपञ्चमी भन्ने गरिन्छ । यस दिन बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण यस दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले यस पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

Sep 2, 2017

ऋषि पञ्चमी : व्रतविधि र कथा

परिचय

हिन्दु संस्कारअनुसार महिलाहरुका लागि तीज तथा हरितालिकाको जति महत्व छ त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ । पौराणिक कथनअनुसार नारीहरु रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरु छन् तीबाट मुक्ति पाउनका लागि यसको व्रत गर्दछन । श्रीमद्भागवत, गरुड पुराणलगायत अन्य पुराणहरुमा लेखिएअनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरुको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरु चौथो दिनसम्म अशुद्ध रहन्छन् । यसै रजस्वलाबाट नै नारीहरूमा सन्तानोत्पादन गर्नसक्ने शक्ति उत्पन्न भएको मानिन्छ । सम्पूर्ण मानवीय चक्रको सुरुआत नै नारीको मासिक रजस्वलाबाट सुरु हुन्छ । यस पर्वमा व्रतालु महिलाहरूले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दात माँझेर , चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धती सहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन् । ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन । सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरीएको छ । ऋषिपूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ । यस उपलक्ष्यमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिर क्षेत्रमा विशेष मेला लाग्छ । मन्दिरमा पूजा-आराधनाका लागि लामो लाइन बस्नुपर्ने हुनाले कतिपय महिला घरैमा ब्राह्मण बोलाई पूजा थन्क्याउने गर्छन । पञ्चमीको पूजा थन्क्याएपछि तीजको सम्पूर्ण व्रत सकिन्छ ।(१)

व्रतविधि

भाद्रपद महिनाको शुक्लपक्षको पञ्चमीका दिन ऋषिपञ्चमीको व्रत सम्पादन गरिन्छ । प्रथमत: सबै वर्ण र व्यक्तिका निमित्त यो व्रत प्रतिपादित थियो, तर हिजोआज अधिकांश नारीहरूले मात्र यस व्रतलाई लिने प्रचलन छ । यस व्रतको प्रसङ्गलाई हेमाद्रि(२) ले ब्रह्माण्ड पुराणलाई उद्धृत गर्दै विशद विवरण उपस्थापन गरेको छ । व्यक्तिले नदी आदिमा स्नानादि सम्पन्न गरी आह्लिक कृत्यसमेत गरेपछि अग्निशालामा प्रवेश गरी सातैजना ऋषिहरूको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपूर आदि लगाउनु पर्छ, पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादि द्वारा पूजा गर्नुपर्दछ र मन्त्रसहित अर्घ्य दिनुपर्दछ ।(३) सप्तर्षिहरूको नाम र स्थानको क्रम पूर्वादिक्रमले निर्धारित छ, जस्तै -मरीचि, वसिष्ठ, अंगिरा, अत्रि, पुलस्त्य, पुलह,क्रतु । साध्वी अरून्धतीलाई वसिष्ठका नजिकै स्थापना गरिएको पाइन्छ ।(४) यस व्रतमा केवल शाकादि(सागपात) को प्रयोग गर्ने विधान छ र ब्रह्मचर्यको पालन गर्न अनिवार्य मानिएको छ । यस व्रतलाई विधिवत् पालना गर्दा समस्त पाप एवं तीनै किसिमका दु:खबाट मुक्ति हुन्छ(५) तथा सौभाग्यको अभिवृद्धि हुन्छ । अझ नारीले यस व्रतलाई सम्पादन गर्दा उसले आनन्द, शारीरिक-सौन्दर्य, सन्ततिलाभ, सौभाग्यप्राप्ति तथा दाम्पत्य जीवनमा सुमधुरता-प्राप्ति हुन्छ ।

पश्चात्कालीन प्रबन्ध ग्रन्थ व्रतार्क, व्रतराज(६) आदिले भविष्योत्तर पुराणबाट उद्धृत गरी विविध विषयवस्तु प्रस्तुत गरेका छन्, यी पुस्तकमा भगवान् श्रीकृष्णले युधिष्ठिरलाई सुनाउनु भएको एउटा कथा पनि प्रस्तुत गरिएको छ ।

पौराणिक प्रसङ्गअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड ब्यहोर्नु पर्यो । त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो-
(१) अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा),
(२) नदी(वर्षाकालको गाँज र मैलोयुक्त पानी),
(३) पर्वत(जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र
(४) स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा) ।

अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दु धर्मका शास्त्रमा उल्लेख गरिएको छ ।

यस व्रतलाई विधिविधान पूर्वक लिन चाहने रजोवती भइ सकेका स्त्रीहरूले गर्ने संकल्प यस्तो छ -
अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्थायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये । (मैले जानीनजानी रजस्वला भएका बेलामा छोइछिटो र सम्पर्कजन्य दोषबाट मुक्त हुन ऋषिपञ्चमीको व्रत गर्दछु) । यति सङ्कल्प गरेर अरून्धतीका साथै सप्तर्षिहरूको पूजा गर्नुपर्दछ ।(७) व्रतराज(८)का मतमा यस व्रतमा केवल सागपात, साँमा (श्यामाक), कन्द-मूल वा फलको सेवन गर्नु आवश्यक मानिन्छ । यस दिन हलोबाट उत्पन्न भएका अन्न खानु हुँदैन । हिजोआज पुरुषले पनि यस व्रतलाई पालना गर्दछन्, पुरूषकै आग्रहमा समेत कतिपय स्त्रीले छुवाछुतमा संलग्न हुनु पर्दछ, त्यसैले पुरूषले समेत व्रत गर्नु सान्दर्भिक मानिन्छ । वैदिक मन्त्रपूर्वक ऋषिहरूको पूजा गरिन्छ ।

उक्त पूजनक्रममा कश्यप(९), अत्रि(१०), भारद्वाज(११), विश्वामित्र(१२), गौतम(१३), जमदग्नि(१४) एवं वसिष्ठ(१५) तथा अरून्धती(१६)को पूजा गरिन्छ । स्त्रीहरूले आफ़्नो मासिक धर्मको प्रारम्भ भएको वर्षदेखि मासिक धर्म बन्द नहुञ्जेल यो व्रत लिनु पर्ने उल्लेख छ, यद्यपि व्रत लिन सुरु गरेपछि कम्तीमा सात वर्षसम्म लिनु अनिवार्य छ । सप्तर्षिको पूजाका क्रममा सातवटा कलशमा छ्ट्टाछुट्टै सातजना ऋषिको सुन वा चाँदीको प्रतिमा राखी प्रतिष्ठा गरिन्छ र अरुन्धतीलाई भने वशिष्ठसँगै स्थापना गरिन्छ । सातै जना ब्राह्मणहरूद्वारा कार्य सम्पादन हुन्छ । अन्त्यमा निमन्त्रित ब्राह्मणहरूमध्ये मुख्य आचार्यलाई वशिष्ठ र अरुन्धतीको कलश, प्रतिमा, वस्त्रालङ्कार र दक्षिणा एवं अन्य ब्राह्मणहरूलाई बाँकी कलश, प्रतिमा, वस्त्रालङ्कार र दक्षिणा समेत राखी छुट्टाछुट्टै सिधा(सिद्धान्न) प्रदान गर्नुपर्दछ । यदि एउटामात्र कलशको स्थापना गरी सम्पूर्ण ऋषिको प्रतिमा राखिएको छ भने त्यो कलश मुख्य आचार्यलाई र अन्य ब्राह्मणलाई वस्त्रालङ्कार दान गर्नु पर्दछ ।

ऋषिपञ्चमी व्रतको निर्णय गर्नुपर्दा भाद्र महिनाको शुक्लपक्षको जुन पञ्चमी तिथि मध्याह्न समयमा हुन्छ, त्यस दिन ऋषिपञ्चमी व्रत हुन्छ, पञ्चमी तिथि टुटेको रहेछ भने चतुर्थीयुक्त पञ्चमीलाई ग्राह्य मानिन्छ । यद्यपि यो निर्णय विवादरहित चाहिँ छैन ।(१७) सम्भवत: सृष्टिकालको आरम्भमा ऋषिपंचमीको व्रत मानवमात्रबाट हुनसक्ने ब्रह्महत्यादि समस्त पापराशिबाट मुक्तिप्राप्तिका निमित्त गर्ने गरी व्यवस्थित गरिएको थियो, तर पछि यो स्त्रीहरूको मासिक धर्मसँग सम्बद्ध मानिन थाल्यो । यो व्रत भारतको सौराष्ट्र क्षेत्रबाहेक अन्यत्र बसोबास गर्ने समस्त सनातन धर्मावलम्बीहरूले पालना गर्दछन् ।

ऋषिपञ्चमीको व्रतकथा

एकपटक विदर्भ देशमा उत्तङ्क नामका ब्राह्मण आफ्नी पतिव्रता पत्नीका साथमा निवास गर्दथे । उनको परिवारमा एउटा पुत्र र एउटी पुत्री थिए । पुत्रको नाम सुविभूषणथियो, नामजस्तै ऊ बुद्धिद्वारा विभूषित थियो । ब्राह्मणले आफ्नी छोरीको विवाह एकजना असल ब्राह्मणसँग गरिदिएका थिए तर भाग्यवश उनकी पुत्री विधवा हुन पुगेकी थिइन् । उनी आफ्नो वैधव्य माइतमैं बसेर गुजार्दै थिइन् । उत्तङ्क ब्राह्मण आफ्नो आउँदो वृद्धावस्था र दुःखी कन्यालाईसमेत लक्षित गरी पुत्रलाई घरव्यवहार जिम्मा लगाएर आफ्नी स्त्री र पुत्रीका साथमा गङ्गाका तटमा आश्रम बनाएर बस्न थाले । कन्याले पनि आफ्ना वृद्ध मातापिताको सेवाका साथै आफूलाई ईश्वर आराधनामा लगाउन थालिन् । एक दिन दिनभरि काम गरेर थाकेकी ती ब्राह्मणपुत्री आश्रम नजिकै एउटा ढुङ्गोमा अडेस लागेर आराम गर्ने उद्देश्यले पल्टिइन् । आधा रातमा ती कन्या निदाएकै बेला उसको शरीरमा किरा उत्पन्न भए । बिहान बिउझँदा आफ्नी छोरीको शरीरमा किरा परेको देखेर ब्राह्मणी असाध्यै विलाप गरी रुन थालिन् र रूँदारुँदै बेहोस भइन् । होश फर्किएपछि कन्यालाई बोकेर आफ्ना पति ब्राह्मण उत्तङ्क ॠषि भए ठाउँमा लिएर गइन् अनि पुत्रीको अवस्था किन त्यस्तो हुन गयो भनी अनुरोध गरिन् । ब्राह्मणीका कुरा सुनेर उत्तङ्कले आफ्ना आँखा थुनी ध्यानदृष्टिले विचार गरी भने- हाम्री छोरी पूर्वजन्ममा कुनै एउटी ब्राह्मणी थिइन् । यिनले एक पटक रजस्वला हुँदा घरका समस्त भाँडाकुँडा चलाउनुका साथै स्पृश्यास्पृश्यको ख्यालै राखिनन् । यत्ति दोषका कारण यस जन्ममा यिनको शरीरमा किरा परेका हुन् । शास्त्रअनुसार रजस्वला भएर बिटुलिएका स्त्रीहरू पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघाती, तेस्रो दिन पवित्र धोबिनीसमान हुने गर्दछन् र चौथो दिन स्नानपश्चात् शुद्ध हुने गर्दछन् । घरव्यवहारमा शुद्ध मानिए पनि पाँचौं दिनमा मात्र देवकार्यका निम्ति र सातौ दिनमा पितृकार्यका निमित्त योग्य हुने गर्दछन् । पछि जब ऋषिपञ्चमीको व्रतको अवसर प्राप्त भयो र आफ्ना सँगीसाथीले व्रत लिन सुझाव दिँदा समेत वास्ता गरिनन् । व्रत र पूजाआजाको दर्शन मात्रले गर्दा यिनले ब्राह्मण कुल प्राप्त गरिन् । तर यिनले व्रत लिन तिरस्कार गरेकी हुनाले यिनको शरीरमा किरा परे । ब्राह्मणीले पतिका कुरा सुनेपछि यस्तो आश्चर्यमय व्रतका बारेमा, जुन लिनासाथ पाप नष्ट हुने गर्दछ, हजुरले कृपा गरी मलाई बताउनुहवस् । त्यसपछि श्री कृष्णले युधिष्ठरलाई सुनाउनुभएको कथा ब्राह्मणले पत्नी र पुत्रीलाई सुनाए ।

सत्ययुगमा विदर्भ नगरीमा श्येनजित नामक राजा सुखपूर्वक राज्य गर्दथे । ती ॠषितुल्य थिए । उनको राज्यमा एक जना सुमित्र नामका कृषक थिए । किसानकी पत्नीको नाम जयश्री थियो, उनी अत्यन्त पतिव्रता थिइन् । एकपटक वर्षा ॠतुमा खेतीको काममा व्यस्त रहेका बेला ती रजस्वला भइन् । उनले आफू नछुने भएको त थाहा पाइन् तर त्यसलाई वास्ता नगरी उनी आफ्नो काममा खटी रहिन्, छोइछिटोमा पनि यादै गरिनन् । समय बित्दै गयो । आयु पूर्ण भएपछि ती दुबै मृत्युवरण गर्न पुगे । अर्को जन्ममा रजोवती हुँदा नियम र मान्यतालाई पालना नगरेकाले जयश्रीले कुकुर्नी भएर र परसरेकी स्त्रीको सम्पर्कमा आउनाले सुमित्रले गोरु भएर जन्मनु पर्यो । बास्तबमा ॠतुदोषबाहेक ती दुबैले केही अपराध र पापकर्मा गरेकै थिएनन् । उनीहरूलाई पूर्वजन्मका समस्त विवरणको सम्झना थियो । संयोगले ती दुबै कुकुर्नी र गोरुका रूपमा आफ्नै छोरो सुचित्रका घरमा बस्नथाले । उनीहरूको छोरो धर्मात्मा थियो । ऊ शास्त्रीय मर्यादालाई पालना गर्नुका साथै समस्त जीवजन्तुमा समेत दयाभाव राख्दथ्यो । एकपटक आफ्ना पिताको श्राद्धका दिन उसले ब्राह्मणभोजनका लागि ब्राह्मणहरूलाई निमन्त्रणा गरेको थियो र उसकी पत्नी उक्त प्रयोजनका लागि अनेक परिकार तैय्यार गर्न व्यस्त थिई । त्यसै समयमा उसकी स्त्री कुनै काम विशेषले भान्साबाट बाहिरिएकै अवसरमा एउटा सर्पले भान्साघरमा प्रवेश गर्यो र पायस पकाएको भाँडोमा विष वमन गरेर अलप भयो । उता कुकुर्नीका रूपमा ढोकामा बसेकी सुचित्रकी आमाले त्यो घटनालाई नियाली रहेकी थिइन् । आफ्ना छोराबुहारीलाई ब्रह्महत्याको पापबाट जोगाउन त्यस कुकुर्नीले बुहारी भान्सामा फिर्ता आएपछि उसले देख्दादेख्दै त्यस खिरको भाँडोमा मुख गाडिदिई । सुचित्रकी पत्नी चन्द्रवतीले कुकुर्नीको त्यो कृत्य देख्न सकिन र उसले चुलोबाट बल्दै गरेको दाउरो झिकेर त्यस कुकुर्नीलाई हिर्काई । कुटाइ र पोलाइबाट तिलमिलाएकी त्यो कुकुर्नी यताउता कराउँदै कुद्न थाली । सम्पूर्ण पक्वान्न फ्यालेर सुचित्रकी पत्नीले पुनः खाद्यसामाग्री तयार गरी ब्राह्मणभोजन गराई । ब्राह्मणहरू आशीर्वाद प्रदान गर्दै ती जोइपोइसित विदावारी भैइ आआफ्ना गन्तव्यतर्फ लागे । उता दिनभरि व्यस्तरहँदा र कुकुर्नीको कृत्य सम्झँदै त्यस दिन कुकुर्नीलाई खान पनि दिएनन् भने गोरुलाई पनि घाँस हाल्न बिर्सिए । राती भोक र प्यासले व्याकुल भई त्यो कुकुर्नी गोरुका रूपमा रहेका आफ्ना पतिसामु गई बिलौना गर्न थाली- हे स्वामी! आज म असाध्यै भोकाएकी छु, हुन त मेरो छोरो सधैं मलाई बोलाएर खानेकुरा दिने गर्थ्यो, तर आज सम्झँदा पनि सम्झिएन । छोराबुहारीलाई ब्रह्महत्याको दोष नलागोस् भनेर मैले विषयुक भोजनमा जुठो हालेकाले वास्तविकता नबुझी बुहारीले पनि बेस्सरी कुटी । पत्नीका कुरा सुनेर त्यस गोरुले भन्यो- हे भद्रे! तेरा पापका कारणले नै म पनि आज यस योनिमा जन्मन पुगें अनि भारी बोक्दाबोक्दा हत्तुहैरान भैसकें । आज त अझ बढी भारी बोक्नु परेकाले मेरो कम्मरै भाँचिएको छ । अझ मैले यस्तो अवस्थामा समेत आज दिनभरि हलो जोत्नु पर्यो । कार्यव्यस्तताले हो कि किन हो आज मलाई घाँसपात समेत दिएको छैन । विचरा उसले हामीलाई चिनेको छैन, हाम्रै लागि गरेको आजको श्राद्ध पनि हाम्रो अपकार भएकाले निष्फल हुनेभयो । सुचित्र धर्मात्मा थियो, ऊ पशु बोलीलाई बुझ्दथ्यो । उसले कुकुर्नी र गोरुको संवादलाई प्रष्ट सुन्यो र ती दुई त आफ्ना बाबुआमा भएको थाहा पायो । त्यसपछि सर्वप्रथम उसले दुबैसित क्षमायाचना गर्दै पेटभरि खान दियो । अनि मातापिताको दुःख निवारणको उपाय पत्ता लगाउन ऊ वनतर्फ प्रस्थान गर्यो । वनमा गएर ॠषिहरूसँग जिज्ञाशा राख्यो- मेरा मातापिता कुनकुन कर्मका कारणले यस्तो नीच योनिमा प्राप्त भएका हुन् र अब कसरी वहाँहरूले छुटकारा पाउन सक्नुहुनेछ । किसानपुत्र सुचित्रका जिज्ञाशा सुनेपछि ऋषिसमूहमा व्यापक चिन्तनमनन भयो । अन्त्यमा ती मध्ये एकजना सर्वतमा नामक ॠषिले भने- हे भद्र! तिमी आफ्ना मातपिताको मुक्तिका निमित्त पत्नीसहित भई ॠषिपञ्चमीको व्रत लेऊ र त्यसको फल आफ्ना माता-पितालाई अर्पण गरिदेऊ । भाद्र महिनाको शुक्लपक्षको पञ्चमीका दिन शुद्धाचरण गरी मध्यान्हकालमा नदीको पवित्र जलमा स्नान गर्नू र नयाँ रेसमी लुगा लगाएर अरूधन्तीसहित सप्तॠषिहरूको पूजा गर्नू । ऋषिका यस्ता आज्ञा प्राप्त गरेपछि सुचित्र आफ्नो घर फर्कियो र आफ्नी पत्नीसहित विधिविधानपूर्वक पूजा र व्रत गर्यो । यसको पुण्य मातापितालाई समर्पण गरेपछि ती दुबै पशुयोनिबाट मुक्त भए ।

त्यसैले जुन स्त्रीले श्रद्धापूर्वक ॠषिपञ्चमीको व्रत लिने गर्दछिन्, ती समस्त सांसारिक सुखलाई भोग गरी अन्त्यकालमा वैकुण्ठ पुग्दछिन् । जुन स्त्रीले रजस्वला हुँदा घर नित्यकर्ममा संलग्न हुने गर्दछिन् तिनले नरक जानुपर्दछ किनकि पूर्वजन्ममा वृत्रासुरको बधको परिणामले इन्द्रलाई ब्रह्महत्याको महान् पाप लागेको थियो । त्यस समय ब्रह्माजीले इन्द्रमाथि कृपा गर्दै त्यस पापलाई चार स्थानमा बाँडे । पहिलो अग्निमा (धुँवामिश्रित प्रथम ज्वालामा), दोस्रो नदीमा(वर्षाकालको गाँज र मैलोयुक्त पानी), तेस्रो पर्वतमा(जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र चौथो स्त्रीमा (रजस्वला अर्थात् मासिक धर्ममा) । स्त्रीमा रहेको यही ब्रह्महत्याको दोष निवारण गर्न प्रत्येक स्त्रीले ॠषिपंचमीको व्रत गर्नु अनिवार्य छ । पतिदेवका मुखारविन्दबाट ऋषिपञ्चमीको महात्म्य सुनेर ती ब्राह्मणी र उनकी छोरी दुबैजनाले विधिविधानपूर्वक ऋषिपञ्चमीको व्रत लिए र उक्त व्रतको प्रभावले कन्याको शरीर स्वस्थ भयो । तिनीहरूले जीवनभरी सुखसम्मृद्धि पाउनुका साथै मरणोपरान्त उत्तमलोक प्राप्त गरे ।

सन्दर्भ सामग्रीहरू :-

१. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल
२. ब्रह्माण्डपुराण व्रत, भाग १, पृ. ५६८-५७२
३. अर्घ्य दिने मन्त्र : कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतम: । जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता: । गृह्णन्त्वर्घ्यं मया दत्तं तुष्टा भवन्तु मे सदा ॥ हेमाद्रि (व्रत, भाग १, पृ. ५७१); स्मृतिकौस्तुभ (पृ. २१७); व्रतराज (पृ. २००) ।
४. वराहमिहिर, बृहत्संहिता (१३/५-६)
५. तीनकिसिमका दु:ख यी हुन्- आध्यात्मिक, आधिदैविक एवं आधिभौतिक । 'आध्यात्मिकादि मैत्रेय ज्ञात्वा तापत्रयं बुध: । उत्पन्नज्ञानवैराग्य: प्राप्नोत्यात्यन्तिकं लयम् ॥' (विष्णुपुराण ६/५/१) । आध्यात्मिक दु:ख भनेका शारीरिक (रोगादि) एवं मानसिक (चिन्ता, ईर्ष्यादि)हुन्, आधिभौतिक दु:ख भन्नाले पशु, मनुष्य, पिशाचादिद्वारा उत्पन्न हुने दुःखलाई मानिन्छ, आधिदैविक दु:खको उत्पत्ति तुषारापात, हावाबतास, वर्षादिबाट उत्पन्न हुन्छ ।
६. भविष्योत्तर, पृष्ठ २००-२०६
७. व्रतार्क
८. भविष्योत्तर पृष्ठ २०१
९. ऋग्वेद ९ ।१४ ।२
१०. ऋग्वेद ५ ।७८ ।४
११. ऋग्वेद ६ ।२५ ।९
१२. ऋग्वेद १० ।१६७ ।४
१३. ऋग्वेद १ ।७८ ।१
१४. ऋग्वेद ३ ।६२ ।१८
१५. ऋग्वेद ७ ।३१ ।११
१६. अत्रेर्यथानसूया स्याद् वसिष्ठस्याप्यरून्धती । कौशिकस्य यथा सती तथा त्वमपि भर्तरि ॥


१७.काल निर्णय (पृ. १८६), हेमाद्रि, व्रतमाधव, निर्णयसिन्धु आदि ।

Jul 2, 2017

सूर्य ग्रहण (असार १७) SOLAR ECLIPSE 2019 JULY

2 र 3 जुलाईको राती अर्थात् आषाढ कृष्ण पक्ष अमावस्या, १७ असार २०७६, मङ्गलवारका दिन खग्रास सूर्य ग्रहण लाग्दैछ । यद्यपि यो ग्रहण नेपाल र भारतवर्षमा बस्ने कसैले पनि देख्न पाउने छैनन्, त्यसैले धार्मिक मान्यतानुसार यस ग्रहणका निमित्त कुनै किसिमको विधिविधानको पालना गर्नु पर्दैन, तर जुनजुन देशमा यो ग्रहण देखिन्छ, त्यहाँ बसोबास गर्ने सनातन हिन्दू धर्मावलम्बीले यस ग्रहणको सूतक बार्नु राम्रो हुन्छ । धार्मिक रूपमा यसको विधिविधान हामी नेपाल वा भारत जहाँ ग्रहण देखिंदैन, त्यहाँ बसोवास गर्नेले कुनै नियम बारना गर्नु नपर्ने भए पनि यो एउटा खगोलीय घटना भएको तथा सूर्य, चन्द्रमा र पृथ्वीको विशेष परिस्थितिबाट सिर्जना हुने भएकाले ज्योतिषीय दृष्टिकोणले यस ग्रहणको पनि केही न केही सामान्य प्रभाव संसारभरि बस्ने व्यक्तिहरूमा लागु हुने गर्दछ, तर त्यो ग्रहण लाग्ने इलाकाका तुलनामा अन्य क्षेत्रमा सामान्य हुनेछ ।