द्वापरयुगका श्रीकृष्णकालीन महर्षि वेदव्यासको आविर्भाव हुनुभन्दा पहिले कुनै पनि शास्त्र पुस्तकका रूपमा उपलब्ध थिएन। श्रुतिज्ञानबाट सञ्चित परम्परालाई पुस्तकाकारमा सञ्चित गर्ने परिपाटी भगवान् वेदव्यासबाट नै भएको हो। यी व्यासको नाम कृष्णद्वैपायन थियो। उनले चारैवटा वेद, ब्रह्मसूत्र, महाभारत, श्रीमद्भागतादि अष्टादश पुराणादि ग्रन्थ एवं पूर्वसञ्चित भौतिक र आध्यात्मिक ज्ञानराशिलाई सङ्कलित गरे र अन्त्यमा उनले आफैंले निर्णयात्मक स्वरमा भने ‘सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः।’( गाईबाट निःसृत हुने अमृतरूपी दुग्ध झैं समस्त वैदिकवाङ्मयको प्राण र उपनिषद्हरूको सारतत्त्व गीता हो, यस अमृततत्त्वलाई भगवान् श्रीकृष्णले दुहुनुभयो र अशान्त जीवलाई परमात्माको दर्शन तथा साधना गर्ने अवस्था दर्शाएर शाश्वत शान्तिको स्थितिमा पुग्न सरलपथको निर्देशन गर्नुभयो।) गीता संजीवनी विद्या हो। गीताको जीवन दर्शन-अनुसार जीवात्मा महान् र अमर हुन्छ। असीम शक्तिको भण्डारका रूपमा प्राणिमात्रलाई लिन सकिन्छ। गीतामा जम्मा अठार अध्याय छन्। महाभारतको युद्ध पनि अठार दिनसम्म भएको थियो। गीतामा ७००(सातसय) श्लोक रहेका छन्। श्रीमद्भगवद्गीतामा भक्ति तथा कर्मयोगको सुन्दर समन्वय छ। यसमा ज्ञानलाई सर्वोच्च स्थान प्रदान गरिएको छ, ज्ञानको प्राप्तिमा नै मनुष्यका आशङ्का र भ्रमको निवारण र वास्तविक समाधान हुन्छ। त्यसैले गीतालाई सर्वशास्त्रमय मानिन्छ।
योगीराज भगवान् श्रीकृष्णले प्राणी मात्रका लागि उपदेश छ- कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि॥ (कर्म गर, तिम्रो कर्तव्य कर्म गर्नुमा छ, फलको आशा नगर, फलको आकाङ्क्षा र फलप्राप्तिको दृष्टिकोण लिएर कुनै पनि कर्म नगर, कर्म गर, त्यो तिम्रो कर्तव्य हो तर निष्काम भावले, फलप्राप्तिको इच्छाले कर्म गर्ने व्यक्ति विफल भएर दुखी हुन्छ) महर्षि वेदव्यासले आँफुले सिर्जना गर्नु भएको यस कृतिलाई मुख्य शास्त्रको संज्ञा प्रदान गर्दै बताउनुभयो-
गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैः।
या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिः सृता।।
- (महाभारत, भीष्मपर्व ४३/१)
(गीता हृदयमा मननपूर्वक धारण गर्न योग्य शास्त्र हो, जुन पद्मनाभ भगवान् श्रीकृष्णका मुखारविन्दबाट निःसृत वाणी हो, त्यसैले गीताको उपस्थितिमा अन्य शास्त्रको आवश्यकता छैन। )
गीताको महात्म्यका क्रममा प्राप्त हुने निम्न श्लोकले गीताले स्थापना गरेको आधारभूत मान्यतालाई अझ स्पष्ट्याएको छ -
एकं शास्त्रं देवकीपुत्र गीतं एको देवो देवकीपुत्र एव।
एको मंत्रस्तस्य नामानि यानि कर्माप्येकं तस्य देवस्य सेवा।।
- (गीता महात्म्य)
( गीता एउटा मात्र त्यस्तो शास्त्रहो जसलाई प्राप्त गर्न योग्य देव देवकीपुत्र भगवान् श्रीकृष्णले आफ्ना श्रीमुखबाट गाउनुभयो। गायनको त्यस गायनका क्रममा जुन सत्यको उद्घाटन भयो, त्यो ज्ञानतत्त्वको सारवस्तु हो - आत्माबाहेक शाश्वत सत्य केही पनि छैन।)
मोक्षदा एकादशीका दिन गीता जयन्ती मनाउने प्रचलन छ। यो एकादशी प्रत्येक वर्ष मंसिर महिनाको शुक्लपक्षको एकादशीका दिन पर्दछ। द्वापरयुगको अन्त्यमा यसै तिथिका दिन करूक्षेत्रको रणस्थलीमा कर्मबाट विमुख भएका अर्जुनलाई भगवान् श्रीकृष्णले गीताको उपदेश गर्नुभएको थियो।
न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे॥
(यो आत्मा कहिल्यै पनि न त जन्मन्छ र न मर्दछ नै, न यसभन्दा पहिले नै थियो, न पछि नै हुनेछ, किनभने जीवात्मा अजन्मा, नित्य, सनातन र पुरातन रूपमा रहने गर्दछ, शरीर मर्दा पनि जीवात्मा मारिने वस्तु पनि होइन।)
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि।
तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही॥
( जसरी मनुष्यले पुराना लुगा फुकालेर अर्को नयाँ लुगा पहिरन्छ, त्यसरी नै जीवात्माले पुरानो शरीरलाई त्यागेर अर्को नयाँ शरीरलाई ग्रहण गर्दछ।)
कुरुक्षेत्रको रणभूमिमा अर्जुनले भगवान् श्रीकृष्णसित भने- 'भगवन् ! म झगडा गर्दिन, युद्ध गर्दिन, आफ्ना बन्धुवान्धभहरू तथा गुरुको संहार गरेर प्राप्त भएको राज्यसुख भोग्ने इच्छा छैन। यिनै अर्जुन केही समयपूर्व कौरवका समस्त सेनालाई धराशायी बनाउने सङ्कल्प गर्दैथिए, १२ वर्षसम्मको वनवासपछि एकवर्षको गुप्तवासमा परिस्थितिवश क्लीव(नपुंसक) पनि भएका थिए, तर युद्धको निर्णयात्मक मैदानमा उनी एकाएक कर्मबाट विमुख भए। त्यसरी कर्तव्यबाट विमुख भएका अर्जुनलाई जुन उपदेश प्राप्त भएको थियो, त्यसै सङ्गालोलाई गीता भनिन्छ। विश्वका महान् ग्रंथहरूमध्ये गीताको गणना हुने गर्दछ। आद्यजगद्गुरु शङ्कराचार्यदेखि प्रारम्भ भएको गीताको महत्त्व दर्शाउने क्रम अद्यापि जारी छ। प्रसिद्ध विद्वान् पण्डित लोकमान्य तिलकले गीताबाट 'कर्मयोग' र अहिंसावादी नेता महात्मा गान्धीले 'अनाशक्तियोग'को विवेचना र प्रतिपादन गरेकाछन्। गीताको महत्त्वलाई प्रतिपादन गर्दै महात्मा गान्धीले व्यक्त गरेका छन्- 'जब म कुनै विषयमा विचार गर्न, गहिराइमा पुग्न वा निर्णय गर्न असमर्थ हुन्छु, त्यतिबेलाको मेरो आश्रय र सहारा गीता नै हुने गर्दछ, गीताबाट नै मलाई प्रेरणा प्राप्त हुन्छ।
गीता अमृत हो, यस अमृतको पान गर्नाले प्राणी अमर हुन जान्छ। गीताको प्रारम्भ धर्मबाट र अन्त्य कर्मबाट हुन्छ। गीताले मनुष्यलाई प्रेरणा प्रदान गर्दछ। 'मनुष्यको के कर्तव्य हो त?' यसै जिज्ञासा परिशमन गर्नु र बोध गराउनु गीताको लक्ष्य हो। यसै आधारमा अर्जुनले स्वीकार गरेका थिए -'भगवन् ! मेरो मोह भङ्ग भएको छ, अज्ञानबाट म ज्ञानतर्फ प्रविष्ट भएको छु, हजुरको आदेशको पालना गर्न म कटिबद्ध छु। अस्तु ॥