Dec 9, 2019

आज सोमप्रदोष व्रत || यसरी शिवलाई प्रसन्न तुल्याउनु होस्

प्रदोष व्रत
व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ । भगवान शङ्कर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रन्थहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ । यिनै विधानहरू मध्ये एउटा व्रत हो - प्रदोष व्रत ।

के हो प्रदोषकाल
प्रत्येक दिन सूर्यास्तपछिको दुई घडी (लगभग ४८ मिनेटको समय) प्रदोष काल हो ।(प्रदोषोऽस्तमयादूर्द्ध्वं घटिकाद्वयमिष्यते ॥) तर ज्योतििषीय मतमा  रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ ।  कतैकतै सूर्यास्तपछि तीनप्रहरसम्म त कतै मध्यरात्रीपर्यन्त प्रदोषकाल रहने बताइएको पाइन्छ । सामान्यतया प्रदोषकाल प्रत्येक शुभ कार्यका निमित्त निषिद्ध समय मान्ेद गरिन्छ । तर त्रयोदशी तिथिको संयोगले उक्त समय अमृत काल बन्ने गर्दछ । यस प्रसङ्गमा विभिन्न धर्मग्रन्थ र स्मृतिहरूमा निम्नानुसार वर्णन गरिएको भेटिन्छ :-

रात्रौ यामद्वयादर्वाम्यदि पश्येत्रयोदशीम् । सा रात्रिः सर्वकर्मघ्नी शङ्कराराधनं विना ? ॥ - बृद्धमनुः
(रात्री प्रारम्भ भएको दुई प्रहरभित्र त्रयोदशी तिथि देखिएमा भगवान् शङ्करको आराधना नगरेमा समस्त कर्मको नाश हुन्छ ।)

त्रयोदशी यदा रात्रौ यामस्तत्र निशामुखे। प्रदोष इति विज्ञेयो ज्ञानार्थी मौनमाचरेत् ॥ - बृद्धगार्ग्यः
(रात्रीकाल प्रारम्भ भएको समय यदि त्रयोदशी तिथि छ भने त्यसलाई प्रदोष मान्ने गरिन्छ, उक्त समयमा ज्ञानार्थी सज्जनहरूले मौन रहेर ईश्वर आराधना गर्नुपर्दछ ।)

भोजनं मैथुनं यानमभ्यङ्गं हरिदर्शनम् । अन्यानि शुभकार्याणि प्रदोषे नैव कारयेत् ॥ - बृद्धगार्ग्यः
(भोजन, मैथुन, यात्रा, शरीरमा तेल लगाउने, भगवान् श्रीहरिको दर्शन वा पूजाअर्चना लगायत अन्यान्य शुभकार्यहरू प्रदोषकालमा गर्नुहुँदैन)

प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ । प्रदोष कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत सम्पादन गरिने दिन हो । यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ । व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ । प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ । सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ । यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ । 

Dec 8, 2019

गीता जयन्ती। कसरी गीताको स्वाध्याय गर्ने || Geeta Jayanti

द्वापरयुगका श्रीकृष्णकालीन महर्षि वेदव्यासको आविर्भाव हुनुभन्दा पहिले कुनै पनि शास्त्र पुस्तकका रूपमा उपलब्ध थिएन। श्रुतिज्ञानबाट सञ्चित परम्परालाई पुस्तकाकारमा सञ्चित गर्ने परिपाटी भगवान् वेदव्यासबाट नै भएको हो। यी व्यासको नाम कृष्णद्वैपायन थियो। उनले चारैवटा वेद, ब्रह्मसूत्र, महाभारत, श्रीमद्भागतादि अष्टादश पुराणादि ग्रन्थ एवं पूर्वसञ्चित भौतिक र आध्यात्मिक ज्ञानराशिलाई सङ्कलित गरे र अन्त्यमा उनले आफैंले निर्णयात्मक स्वरमा भने ‘सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः।’( गाईबाट निःसृत हुने अमृतरूपी दुग्ध झैं समस्त वैदिकवाङ्मयको प्राण र उपनिषद्हरूको सारतत्त्व गीता हो, यस अमृततत्त्वलाई भगवान् श्रीकृष्णले दुहुनुभयो र अशान्त जीवलाई परमात्माको दर्शन तथा साधना गर्ने अवस्था दर्शाएर शाश्वत शान्तिको स्थितिमा पुग्न सरलपथको निर्देशन गर्नुभयो।) गीता संजीवनी विद्या हो। गीताको जीवन दर्शन-अनुसार जीवात्मा महान् र अमर हुन्छ। असीम शक्तिको भण्डारका रूपमा प्राणिमात्रलाई लिन सकिन्छ।  गीतामा जम्मा अठार अध्याय छन्। महाभारतको युद्ध पनि अठार दिनसम्म भएको थियो। गीतामा ७००(सातसय) श्लोक रहेका छन्। श्रीमद्भगवद्गीतामा भक्ति तथा कर्मयोगको सुन्दर समन्वय छ। यसमा ज्ञानलाई सर्वोच्च स्थान प्रदान गरिएको छ, ज्ञानको प्राप्तिमा नै मनुष्यका आशङ्का र भ्रमको निवारण र वास्तविक समाधान हुन्छ। त्यसैले गीतालाई सर्वशास्त्रमय मानिन्छ।

योगीराज भगवान् श्रीकृष्णले प्राणी मात्रका लागि उपदेश छ- कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि॥ (कर्म गर, तिम्रो कर्तव्य कर्म गर्नुमा छ, फलको आशा नगर, फलको आकाङ्क्षा र फलप्राप्तिको दृष्टिकोण लिएर कुनै पनि कर्म नगर, कर्म गर, त्यो तिम्रो कर्तव्य हो तर निष्काम भावले, फलप्राप्तिको इच्छाले कर्म गर्ने व्यक्ति विफल भएर दुखी हुन्छ) महर्षि वेदव्यासले आँफुले सिर्जना गर्नु भएको यस कृतिलाई मुख्य शास्त्रको संज्ञा प्रदान गर्दै बताउनुभयो-

गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैः।
या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिः सृता।।
- (महाभारत, भीष्मपर्व ४३/१)

(गीता हृदयमा मननपूर्वक धारण गर्न योग्य शास्त्र हो, जुन पद्मनाभ भगवान् श्रीकृष्णका मुखारविन्दबाट निःसृत वाणी हो, त्यसैले गीताको उपस्थितिमा अन्य शास्त्रको आवश्यकता छैन। )


गीताको महात्म्यका क्रममा प्राप्त हुने निम्न श्लोकले गीताले स्थापना गरेको आधारभूत मान्यतालाई अझ स्पष्ट्याएको छ -

एकं शास्त्रं देवकीपुत्र गीतं एको देवो देवकीपुत्र एव।
एको मंत्रस्तस्य नामानि यानि कर्माप्येकं तस्य देवस्य सेवा।।
 - (गीता महात्म्य)

( गीता एउटा मात्र त्यस्तो शास्त्रहो जसलाई प्राप्त गर्न योग्य देव देवकीपुत्र भगवान् श्रीकृष्णले आफ्ना श्रीमुखबाट गाउनुभयो। गायनको त्यस गायनका क्रममा जुन सत्यको उद्घाटन भयो, त्यो ज्ञानतत्त्वको सारवस्तु हो - आत्माबाहेक शाश्वत सत्य केही पनि छैन।)

मोक्षदा एकादशीका दिन गीता जयन्ती मनाउने प्रचलन छ। यो एकादशी प्रत्येक वर्ष मंसिर महिनाको शुक्लपक्षको एकादशीका दिन पर्दछ। द्वापरयुगको अन्त्यमा यसै तिथिका दिन करूक्षेत्रको रणस्थलीमा कर्मबाट विमुख भएका अर्जुनलाई भगवान् श्रीकृष्णले गीताको उपदेश गर्नुभएको थियो।

न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे॥

(यो आत्मा कहिल्यै पनि न त जन्मन्छ र न मर्दछ नै, न यसभन्दा पहिले नै थियो, न पछि नै हुनेछ, किनभने जीवात्मा अजन्मा, नित्य, सनातन र पुरातन रूपमा रहने गर्दछ, शरीर मर्दा पनि जीवात्मा मारिने वस्तु पनि होइन।)

वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि।
तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही॥

( जसरी मनुष्यले पुराना लुगा फुकालेर अर्को नयाँ लुगा पहिरन्छ, त्यसरी नै जीवात्माले पुरानो शरीरलाई त्यागेर अर्को नयाँ शरीरलाई ग्रहण गर्दछ।)

कुरुक्षेत्रको रणभूमिमा अर्जुनले भगवान् श्रीकृष्णसित भने- 'भगवन् ! म झगडा गर्दिन, युद्ध गर्दिन, आफ्ना बन्धुवान्धभहरू तथा गुरुको संहार गरेर प्राप्त भएको राज्यसुख भोग्ने इच्छा छैन। यिनै अर्जुन केही समयपूर्व कौरवका समस्त सेनालाई धराशायी बनाउने सङ्कल्प गर्दैथिए, १२ वर्षसम्मको वनवासपछि एकवर्षको गुप्तवासमा परिस्थितिवश क्लीव(नपुंसक) पनि भएका थिए, तर युद्धको निर्णयात्मक मैदानमा उनी एकाएक कर्मबाट विमुख भए। त्यसरी कर्तव्यबाट विमुख भएका अर्जुनलाई जुन उपदेश प्राप्त भएको थियो, त्यसै सङ्गालोलाई गीता भनिन्छ। विश्वका महान् ग्रंथहरूमध्ये गीताको गणना हुने गर्दछ। आद्यजगद्गुरु शङ्कराचार्यदेखि प्रारम्भ भएको गीताको महत्त्व दर्शाउने क्रम अद्यापि जारी छ। प्रसिद्ध विद्वान् पण्डित लोकमान्य तिलकले गीताबाट 'कर्मयोग' र अहिंसावादी नेता महात्मा गान्धीले 'अनाशक्तियोग'को विवेचना र प्रतिपादन गरेकाछन्। गीताको महत्त्वलाई प्रतिपादन गर्दै महात्मा गान्धीले व्यक्त गरेका छन्- 'जब म कुनै विषयमा विचार गर्न, गहिराइमा पुग्न वा निर्णय गर्न असमर्थ हुन्छु, त्यतिबेलाको मेरो आश्रय र सहारा गीता नै हुने गर्दछ, गीताबाट नै मलाई प्रेरणा प्राप्त हुन्छ।

गीता अमृत हो, यस अमृतको पान गर्नाले प्राणी अमर हुन जान्छ। गीताको प्रारम्भ धर्मबाट र अन्त्य कर्मबाट हुन्छ। गीताले मनुष्यलाई प्रेरणा प्रदान गर्दछ। 'मनुष्यको के कर्तव्य हो त?' यसै जिज्ञासा परिशमन गर्नु र बोध गराउनु गीताको लक्ष्य हो। यसै आधारमा अर्जुनले स्वीकार गरेका थिए -'भगवन् ! मेरो मोह भङ्ग भएको छ, अज्ञानबाट म ज्ञानतर्फ प्रविष्ट भएको छु, हजुरको आदेशको पालना गर्न म कटिबद्ध छु। अस्तु ॥

मोक्षदा एकादशीको व्रत || मंसिर २२ आइतवार || Mokshada Ekadashi Vrat Katha...



आज मंसिर २२ गते आइतवार । ८ डिसेम्बर २०१९ । मोक्षदा एकादशी व्रत र गीता जयन्ती ।

विभिन्न पुराणहरूमा मोक्षदा एकादशीको व्रतकथा र महात्म्यको उल्लेख गरिएको छ । पद्मपुराणमा बताइए अनुसार सत्ययुगमा राजा वैखानसले आफ्ना अगतिमा परेका पिताको मोक्षका निमित्त यस मोक्षदा एकादशीको व्रत लिएका थिए र अगतिमा परेका पितृको उद्धार गरेका थिए । त्यसैले हरेक वर्ष मार्ग महिनाको शुक्लपक्षको एकादशीलाई मोक्षदा एकादशीका रूपमा मनाउने चलन चलेको हो ।
त्यस्तै भगवान् श्रीकृष्ण्का मुखारविन्दबाट अर्जुनका निमित्त सर्वप्रथम गीताको उपदेश गरिएको दिन पनि आज नै हो । त्यसैले आज गीताको जन्मदिन मान्ने गरिन्छ । आजबाट नियमित रूपले गीताको स्वाध्यायन र पाठ थाल्ने नियम पनि छ ।
आउनुहवस् सम्पूर्ण जानकारीका लागि तलको भिडियो खोलेर श्रवण गरौं ।

Dec 1, 2019

विवाह पञ्चमी




राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग शुक्ल पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ। सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ। उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ। राम र जानकीको स्वयंवर भएको जनविश्वास रही-आएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा-लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । हजारौं वर्ष पूर्व त्रेतायुगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ। अहिले पनि हिन्दु जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा मुलुकलगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।


हुन त जनकपुरधाममा हरेक महिनाको पूर्णीमाका दिन पनि मासिक रूपमा मेला लाग्छ। त्यस्तै चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा एवं त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ, त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा(जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ, तर ती सबै उत्सव, चाडपर्व र समारोहहरूमध्ये हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ।



यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा(बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ। अयोध्याबाट आउने जन्ती समूह(बाराती समूह)लाई यस अघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ। यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव(कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुन्छ। त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परा-अनुसार कन्यापक्षका तर्फबाट गरिने 'मटकोर'कर्म गंगासागरमा पुगेर निर्वाह गरिन्छ। पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ। त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल(घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्‍याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ। राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्‍याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा-अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।