Sep 9, 2017

कुशे औंसी, बाबुको मुख हेर्ने दिन र मोती जयन्ती

सनातन धर्ममा सूर्य र चन्द्रमाको उदयास्त र गतिका आधारमा विभिन्न चाडपर्व, व्रत र उत्सव मनाउने प्रचलन छ । पृथ्वीबाट हेर्दा सूर्य र चन्द्रमा सीधा सरल रेखामा देखिने परिस्थिति औँसी तिथिका दिन पर्ने गर्दछ । वैदिक ग्रन्थहरूमा चन्द्रलोकको नजिकै पितृलोक रहेको कल्पना गरिएको हुनाले यस तिथिलाई खास गरी पितृकार्यका लागि विशेष दिन मान्ने गरिन्छ । अतः नेपाली समाजमा प्रत्येक महिनाको औंसीका दिन निशि बार्ने (बेलुका हविष्यान्न ग्रहण गर्ने, अन्नादि नखाने र मद्यमांसको प्रयोग नगर्ने) चलन छ । हरेक औंसीको उत्तिकै महत्त्व भए पनि भाद्र महिनाको कृष्ण पक्षमा पर्ने कुसे औंसीको नेपाली समाजमा विशिष्ट महत्त्व रहेको देखिन्छ । यो पर्व धार्मिक सन्दर्भमा ब्राह्मणहरूले घरघरमा कुश ल्याइदिएर कुसे औंसीका रूपमा र हरेक छोराछोरीले आफ्ना पिताको सम्मानादि गरी बावुको मुख हेर्ने दिनका रूपमा तथा साहित्यिक वृत्तमा नेपाली साहित्यलाई प्रकाशनको युगमा पुर्याउने श्रेय पाएका युवाकवि तथा प्रथम गजलकार मोतीराम भट्टको जन्मदिन मनाएर मोती जयन्तीका रूपमा नेपाली समाजमा मनाउने गरिन्छ । कुसेऔंसी, पितृभक्तिको प्रतीक र मोतीजयन्ती यी तीनै पर्वको त्रिवेणीसमेत बनेको यस पर्वले हामीलाई आफूभन्दा ठूलाको मान सम्मान र मर्यादा कायम गर्न प्रेरणा प्रदान गर्दछ ।

बावुको मुख हेर्ने दिन

हाम्रो नेपाली संस्कृतिले माता-पितालाई 'मातृदेवो भवः' र 'पितृदेवो भवः' भनी साक्षात् जीवित देवताकै रूपमा मानेको छ । भाद्रकृष्ण औसी अत्यन्त विशिष्ट धार्मिक पर्व मात्र नभएर यो पितृसम्मानको पर्व र पारिवारिक पुनर्मिलनको सामाजिक पर्व पनि हो । त्यसैले हामी नेपालीहरूले देवतुल्य आफ्ना माता-पिताको स्मृतिमा मातृ एवम् पितृदिवसका दिन जीवित पितालाई तिनका सन्तानले मिष्ठान्न, अनेकौ प्रकारका लत्ताकपडा आदि चढाई ढोग गर्ने चलन छ । पिताको सम्मान गर्ने प्रसङ्गमा हिन्दु धर्मशास्त्रमा निश्चित यसै दिन उक्त कर्म गर्नु भनेर लेखिएको भेटिंदैन, तर बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा भाद्र महिनाको अमावस्याका दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बताइएको छ भनिन्छ । त्यसैले यो पर्व काठमाण्डौं उपत्यका र बौद्धधर्मावलम्बी नेवार समुदायबाट क्रमशः प्रसार हुँदै मनाउन थालिएको हो भन्न सकिन्छ । सुरुमा नेवार समुदायमा मात्र सीमित रहे पनि आफूलार्इ जन्म र कर्म दिने पिता र पितृतुल्य व्यक्तित्वहरूको सेवा र सम्मानका लागि कमसे कम वर्षमा एक दिन भए पनि छुट्याउने उद्देश्यले सबै धर्म र समुदायका नेपालीहरूले यस पर्वलाई उत्साहका साथमा मनाउँदै गए र आज यो नेपालको र जहाँजहाँ नेपालीहरूको बसोबास छ, ती स्थानको राष्ट्रिय र जातीय पर्व बन्न पुगेको छ । अतः यस पर्वमा छोराछोरीहरूद्वारा परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ र मातापिताले पनि आफ्ना प्यारा सन्तानलाई सुख, शान्ति, समृद्धि तथा दीर्घायुको आशीर्वादसहित सुरक्षाको अनुभूति गराउँदछन् । बुबा जीवित हुनेहरूले आफ्ना पिताको सहृदयता, सान्निध्यता र सत्प्रेरणा सदासर्वदा पाइरहुँ भन्ने उद्देश्यले तथा आफूलाई हुर्काउँदा पाएको लाडप्यार र मायालाई सम्झेर बुबाको सधैं भलो होस् भनी मन पर्ने लत्ताकपडा उपहार, मिठामिठा परिकार र फलफूल चढाएर सगुन दिई मुख हेर्ने, त्यस्तै विवाहोपरान्त पराइघर पुगेकी छोरीचेलीहरूले यस्तै यस्तै सामानहरु दिएर र अझ भर्खरै विवाह भएका छोरीचेलीहरुले नयाँ व्यवहार भनेर अझ धेरै सामाग्रीहरु राखेर श्रृङ्गारपटार गरी बुबाको मुख हेर्न आउने र बुबाको आशीर्वाद लिने चलन छ । 

यस पर्वलाई गोकर्णे औँसी पनि भन्ने गरिन्छ । कुशेऔंसीका दिन आफ्ना मृत पिताको सम्झना र शान्तिका लागि 'गोकर्णेश्वर' को मन्दिरमा गई महादेवको पूजा गरेर मृत पितालाई पिण्डदान गरिने हुँदा यो दिन 'गोकर्णे औंसी' को नाउले पनि प्रसिद्ध छ । बाबु नहुनेहरूले विशेषगरी आजको दिन वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थल, उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव, सुनसरीको विष्णुपादुका, रसुवाको वेत्रावती आदि स्थानमा गएर वा पायक पर्ने नजिकैको तीर्थ, नदी, पवित्र स्थान आदिमा गई बाबुलगायत आफ्ना मृत पितृको नाममा तर्पण, श्राद्ध, पिण्डदान र ब्राह्मणभोजनादि गर्ने प्रचलन छ । गोकर्णे औंसीले पिताहरूको स्मरणमा मान सम्मान र मृतात्माको मङ्गलको कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन गोकर्णजस्तो पुत्रको कामना गरेको देखिन्छ । यस दिन गोकर्ण तीर्थमा हिन्दु तथा बौद्ध दुवै भक्तहरूको पितृलाई श्राद्धतर्पण आदि दिन विशेष भीड लाग्दछ । धार्मिक सहिष्णुतामा विश्वास गर्ने सम्पूर्ण नेपाली चाहे हिन्दु होस् अथवा बौद्ध सागसागै बसी पूजा गर्ने गर्दछन्। हिन्दुहरू यस मन्दिरमा रहेको लिङ्गलाई महादेव र बौद्धहरू गगनगञ्ज बोधिसत्वको रूपमा पूजाआजा गर्दछन् । नक्षत्रचक्रका २७ वटा नक्षत्रमध्ये मघा नक्षत्रका अधिदेवता पितृदेव हुन् । भाद्रको औंसी प्रायशः मघा नक्षत्रमा वा त्यसको आसपासमा पर्ने गर्दछ । त्यसैले पनि यस दिन श्राद्ध र तर्पणादिका निमित्त विशेष कृत्य सम्पादन गर्ने नियम सुरू भएको हुनुपर्छ, जे होस्, हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बीहरूका लागि पितृ स्मरण गर्ने महत्त्वपूर्ण दिवस हो, आजको दिन ।

पितृ देवो भवः भनी पितालाई पनि देवताको दर्जा प्रदान गर्ने हाम्रो संस्कृतिमा जुनसुकै जाति, जुनसुकै समूह वा जुनसुकै तहभित्रका नरनारी भए पनि आखिर आफूलाई जन्म दिने आमाबाबुहरुप्रति जसको पनि सहृदयता हुन्छ । अतः बाबुको मुख हेर्ने दिन एउटा सामाजिक, सांस्कृतिक र सार्थक पर्व हो, तर पर्वका दिनमात्र बाबुको सान्निध्यता र सहृदयताको खोजी गर्ने तर बाँकी ३६४ दिन आफ्ना मातापिताको वास्ता नगर्ने व्यक्तिका लागि यो पर्व बहाना र आडम्बर बन्नु राम्रो हुँदैन ।

कुसे औंसी

यस दिन सतातन धर्मावलम्वीहरूले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउने प्रचलन पनि छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । धार्मिक मान्यतानुरूप कुशमा साक्षात् ईश्वरको वास रहेको हुन्छ । संसारका सृष्टिस्थिति र लय कर्ता ब्रह्मा विष्णु र महेशको निवास कुशमा हुने गर्दछ । कुशको मूलमा ब्रह्मा, मध्य भागमा विष्णु र अन्त्य भागमा शिवजीको निवास हुने गर्दछ । कुश देवकार्य र पितृ कार्यका निम्ति आवश्यक पर्दछ । जसको धारण र प्रयोगले हरेक कार्यमा पवित्र बनाउने गर्दछ । देवकार्यमा कुशका पवित्र, उपयवन, ब्रह्मा, कंकण, दण्ड आदि बनाएर धारण गरिन्छ भने पितृकार्यमा ब्रह्मा, मोटक, पवित्र आदि बनाउने गरिन्छ । कुश नभएको स्थानमा दुवोको प्रयोग पनि गरिन्छ । जुन कुशको विकल्प हो । नफुलेको कुशलाई संस्कृतमा दर्भ भनिन्छ । जसका सात भेद रहेको कुरा धर्मसिन्धुमा उल्लेख पाइन्छ :-
कुशाः काशा यवा दूर्वा उशीराश्च सकुन्दकाः ।
गोधूमा व्रीहयो मुञ्जा दश दर्भाः सबल्वजाः ।।
अर्थात् कुश, काँस, जौ, दुवो, उशिर, गहुँ, धान, मुज र बावियो दर्भका दश भेद रहेका छन् । सात पात एकै नालमा भएको दर्भ वा तिलको खेतमा उम्रेको कुशलाई शुभ मानिन्छ । यसरी प्राप्त कुश धार्मिक कार्यका निम्ति पवित्र मानिन्छ । कर्मकाण्डका हरेक अध्यायमा कुशको विशेष महत्व रहेको छ । विशेषतः देव र पितृ कार्यका आशन, अर्घ लगायत अन्य कार्यका निम्ति पनि कुशको आवश्यकता हुने गर्दछ । कुश देवकार्य र पितृकार्यका लागि प्रयोग गरिने पवित्र वस्तु हो । जसको प्रंयोगले सम्पूर्ण कुरा पवित्र हुन्छन् भन्ने वैज्ञानिक मत रहेको पाइन्छ । कुशे औँशीका दिन प्रातः पवित्र गङ्गामा स्नान गरी कुश भएको घाँसे मैदानमा गई पवित्र स्थानमा कुश उम्रिएको छ छैन अवलोकन निरीक्षणादि गरी पूर्वोत्तर तर्फ फर्की विशेष मन्त्रको उच्चारणका साथमा कुश उखेली घरमा भित्र्याउने धार्मिक विधि छ । विशेष गरी तिल उम्रिएको स्थानमा रहेको कुशलाई उत्तम मान्ने चलन छ ।
पूर्वं मन्त्रं समुच्चार्य ततः पूर्वोत्तरा मुखः ।
हुँफट्कारेण मन्त्रेण सकृच्छित्वा समुद्धरेत् ।।
(मन्त्रोच्चारण पूर्वक पूर्वोत्तर दिशातर्फ अर्थात् ईशान कोणतर्फ फर्की हुँ फट्को उच्चारण गरी कुश उखेल्नु पर्दछ ।)

जरा सहित कुश उखेल्ने शास्त्रीय विधान छ । यसको कारण हो – कुशको मूलमा ब्रह्मा, मध्यभागमा विष्णु र अन्त्यमा शिवको निवास हुन्छ । त्यसैले कुश उखेल्नु पूर्व निम्न मन्त्रको उच्चारण अनिवार्य मानिन्छ :-
विरञ्चिना सहोत्पन्नः परमेष्ठी निसर्गतः ।
नुद सर्वाणि पापानि दर्भः स्वस्तिकरो भव ।।
यसरी प्रार्थना गरिसकेपछि हुँ फट् भन्दै कुशलाई उखेल्नु पर्दछ । यसरी उखेलेको कुश घरमा ल्याई पवित्र स्थानमा राख्नु पर्ने विधान छ । यसछि सोही नयाँ कुश प्रयोग हुने गर्दछ । यसरी राखिएको कुश वर्षदिन सम्म देव र पितृ कार्यका निम्ति प्रयोग गर्न योग्य मानिन्छ । त्यस्तै कुश उखेल्नुपूर्व त्यसलाई उमार्न र हुर्काउन उचित वातावरण प्रदान गर्ने पृथ्वी माताको प्रार्थना गर्ने नियम छ :-
कुशाग्रे वसतो रुद्रः कुशमध्ये तु केशवः ।
कुशमूले वसेद् ब्रह्मा कुशान् मे देहि मेदिनि ।।
(अग्र भागमा शिव, मध्य भागमा विष्णु र मूलभागमा ब्रह्माले निवास गर्ने यो कुश मलाई प्रदान गर्नुहोस्)

मोती जयन्ती



माध्यमिक कालीन नेपाली साहित्यका प्रणेता श्रृङ्गारिक युवा कवि मोतीराम भट्टको जन्मजयन्तीका रूपमा विशेष कार्यक्रम सहित ज्ञानअज्ञात साहित्यकारहरूप्रति समेत श्रद्धाञ्जली समर्पण गर्न मोतीरामका साहित्यको चर्चा र कथा, निबन्ध, कविता, अझ खासगरी गजल वाचनद्वारा भव्य र रमणीय श्रद्धाञ्जली कार्यक्रमहरू साहित्यिक संघसंस्था र विद्यालय महाविद्यालयहरूमा आयोजना गरिन्छन् ।

No comments:

Post a Comment