Oct 15, 2017

कात्यायनीदेवीको महिमा



नवरात्री पर्वअन्तर्गत छैठौं दिन अर्थात् षष्ठी तिथिका दिन आद्याशक्ति जगन्माता भगवती दुर्गाको छैठौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको भक्ति र आराधना गर्ने तथा महिमा गायन गर्ने चलन रहेको छ । विभिन्न पौराणिक ग्रन्थ र धर्मशास्त्रहरूमा उल्लेख गरिएबमोजिम परापूर्वकालमा कात्य नामका ऋषिका सुपुत्र कात्यायन ऋषिले जगदम्बा भगवतीले आफ्नी पुत्रीका रूपमा जन्म लिऊन् भन्ने कामना गरी धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भई जगन्माताले उनकी छोरी भई उत्पन्न हुन स्वीकार गरिन् र आश्विन कृष्णपक्षको चतुर्दशी तिथिका दिन कात्यायन ऋषिकी पुत्रीका रूपमा उनको जन्म भयो । त्यसको नौ दिनपछि अर्थात् आश्विन शुक्ल सप्तमीदेखि क्रमशः अष्टमीसमेत नवमीसम्म कात्यायन ऋषिले विविध आगम र निगम पद्धतिद्वारा जगदम्बा भगवतीको विशेष भक्तिआराधना र पूजाअर्चना गरे । भगवतीले पनि उनले श्रद्धापूर्वक गरेको भक्तिआराधनालाई ग्रहण गरिन् । आश्विन शुक्लपक्षको दशमी तिथिका दिन भगवतीले दानवहरूका राजा महिषासुरको बध गरिदिइन् । यिनै पृष्ठभूमि रहेका कारणले महिषमर्दिनी भगवतीलाई कात्यायनी भगवती भनिएको हो ।

प्रत्येक वर्ष शारदीय नवरात्री (बडा दसैं) र वासन्ती नवरात्री (चैते दसैं)मा छैठौं दिन सनातन हिन्दु धर्मावलम्बीहरूले श्रद्धाभक्तिपूर्वक यिनलाई कात्यायनी भगवतीको नामबाट पूजा गर्छन्। यिनको वर्ण विशुद्ध सुनजस्तै चम्किलो हुन्छ भने यिनको स्वरूप (श्रीविग्रह) विशाल एवं देदीप्यमान हुन्छ। यिनी सधैं सिंहमा सवार गर्छिन्। यिनका चारवटा हात छन् जसमा क्रमशः दाहिने भागका दुबै हातमा अभय-वरमुद्रा धारण गरेकी हुन्छिन् भने देब्रेपट्टिको हातमा तरबार (खड्ग) र कमलको फूल धारण गर्दछिन् ।

नवरात्री पर्वअन्तर्गत छैठौं दिन षष्ठी तिथिमा नौरथाका अन्य दिनहरू जसरी नै मातृशक्तिका अनुयायीहरू विभिन्न स्थानमा आदिकालदेखि उत्पत्ति भएको मानिएका र प्रतिष्ठापन गरिएका नवदुर्गा भवानीका शक्तिपीठहरूमा दर्शन गरी हर्षोल्लासका साथ यथाशक्य पूजाअर्चना गरी आराधना गर्ने गर्दछन्। उनीहरूले आआफ्ना कुलपरम्परा र कुलाचारबमोजिम आफ्नै घरमा जमरा राखिएको वेदीमा वा परम्परागत सामूहिक दसैंघरमा षष्ठी तिथिका दिन जगदम्बा भगवतीको षष्ठस्वरूप कात्यायनी देवीको आह्वान गरी इष्टदेवीलाई श्रद्धापूर्वक पूजाअर्चना गर्छन् । यसरी पूजाअर्चना गर्दा भगवतीको पुण्यफल प्राप्ति हुने विश्वास गरिन्छ र विभिन्न मन्त्र र स्तुतिको उच्चारण गर्दछन् साथै श्रीदुर्गा सप्तशती(चण्डी)को पाठ गर्छन् । विशेषतः यस दिन कात्यायनीदेवीको स्वरूप (श्री विग्रह)को चरणकमलको ध्यान गरी श्रद्धाभक्तिपूर्वक यिनैको महिमा झल्किने स्तुति गरी पूजा आराधना गरेमा भक्तका रोग, शोक, सन्ताप, भय, दुःख दारिद्य्र आदि सबै सङ्कट नाश हुने शास्त्रीय मान्यता छ ।

कात्यायनी भगवतीको महिमा झल्किने स्तुति :-

यामाराध्य विरिञ्चिरस्य जगतः स्रष्टा हरिः पालकः
संहर्त्ता गिरिशः स्वयं समभवद्ध्येया च या योगिभिः
यामाद्यां प्रकृतिं वदन्ति मुनयस्तत्त्वार्थविज्ञाः परां
तां देवी प्रणमामि विश्वजननीं स्वर्गापवर्गप्रदाम् ।।
जसको आराधना गरेर ब्रह्माले जगतको सिर्जना गर्न जाने, विष्णुले लोकको रक्षा र पालना गरे, स्वयं शंकरले संहार गर्ने शक्ति प्राप्त गरे, जसलाई योगीहरूले आराधना गर्ने गर्दछन्, ऋषिमुनिहरूले जसलाई आद्या प्रकृति भन्दछन्, तत्त्वार्थविद्ले जसलाई परा भनेर व्याख्या गर्दछन्, म स्वर्गादि उत्तम गति प्रदान गर्ने ती विश्वजननी देवीलाई वन्दना गर्दछु।

सुखानन्दकरीं शान्तां सर्वदेवैर्नमस्कृताम् ।
सर्वभूतात्मिकां देवीं शाम्भवीं प्रणमाम्यहम् ॥
श्यामां शुभ्रांशुभालां त्रिकमलनयनां रत्नसिंहासनस्थां
भक्ताभीष्टप्रदात्रीं सुरनिकरकरासेव्यकं चारुयुग्माम् ।
निलाम्भोजांशुकान्तिं निशिचरनिकरारण्यदावाग्निरूपां
पाशं खङ्गं चतुर्भिर्वरकमलकै: खेटकं चाङ्कुशं च ॥
चन्द्रहासोज्वलकरा शार्दूलवरवाहना।
कात्यायनी शुभं दद्यात् देवी दानवघातिनी॥

ध्यान :-

वन्दे वाञ्छितमिष्टार्थं चन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढां चतुर्भुजां कात्यायनीं यशस्वनीम्॥
सुवर्णवर्णामाज्ञाचक्रस्थितां षष्ठं दुर्गां स्मेरमुखीं त्रिनेत्राम्।
वराभीतिकरां खड्गपद्मधरां कात्यायनसुतां देवीं त्वां भजामि॥
पीताम्बरपरिधानां नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयुरकिङ्किणीरत्नमण्डिताम्।।
प्रसन्नवदनां पल्लवाधरां कान्तकपोलां तुङ्गकुचाम्।
कमनीयां लावण्यां त्रिवलीविभूषितां निम्ननाभिम्॥

स्तोत्र :-

त्रैलोक्यजननीं देवीं खड्गिनीं ब्रह्मरूपिणीम्।
वराभयपद्मधरां कात्यायनी नमोस्तुते॥
कञ्चनाभां स्मेरमुखीं कामिनीं मुकुटोज्ज्वलाम्।
शिवपत्नीं महाकालीं कात्यायनी नमोस्तुते॥
पीताम्बरपरिधानां नानालङ्कारभूषिताम्।
सिंहस्थितां महारौद्रीं कात्यायनी नमोस्तुते॥
परानन्दमयीदेवि परब्रह्मपरेश्वरि।
पराशक्तिं पराभक्तिं कात्यायनी नमोस्तुते॥
विश्वकर्त्री, विश्वभर्त्री, विश्वहर्त्री जगत्प्रिये।
विश्वसितां विश्वातीतां कात्यायनी नमोस्तुते॥


नवरात्री पर्वको छैठौं दिन कात्यायनी भगवतीका तान्त्रिक साधकहरूले पवित्रतापूर्वक तन्त्रोक्त विधिविधान र भक्तिभावद्वारा आफ्नो मनलाई 'आज्ञा' चक्रमा केन्द्रित गरी यिनको पूजाआराधना गर्छन्। योग साधनामा आज्ञा चक्रको अत्यन्त महत्त्वपूर्ण स्थान छ। साधकले आफ्नो मनलाई आज्ञाचक्रमा केन्द्रित गरी आफूसँग रहेको सम्पूर्ण सर्वस्व एवं आफ्नो आत्मालाई समेत कात्यायनी भगवतीको चरण कमलमा समर्पण गरी पूजा आराधना गर्दा भक्तका जन्मजन्मान्तरका पाप नाश भई देवीको दर्शन प्राप्ति हुन्छ, साधक स्वयंले अलौकिक तेज प्राप्त हुन्छ र रोग, कष्ट, दुःख, दारिद्य्र नाश भई इहलोकमा धर्मार्थकाम प्राप्त भई परलोकमा उत्तम गति प्राप्त हुन्छ भन्ने मान्यता छ।

No comments:

Post a Comment