Oct 8, 2017

कुण्डलीमा पितृदोष र यसको निवारण

वर्तमान नयाँ पुस्ताले आफूलाई आधुनिक, सभ्य र शिक्षित ठानेको हुन्छ । तर विडम्बना मान्नुपर्दछ, तिनको र अध्यात्मको सम्बन्ध निरन्तर टाढिंदै गएको पाइन्छ । यसको मुख्य कारण हो - नयाँ युगका मानिसहरू धर्म, अध्यात्म र संस्कारसम्बद्ध हरेक विषयवस्तुलाई विज्ञानको प्रामाणिक कसीमा दाँज्न चाहन्छन्, आफैंद्वारा दृष्ट, अनुभूत र परीक्षित कुरामा मात्र उनीहरू विश्वास गर्ने गर्दछन्, जुन तथ्य र प्रमाणमा आधारित हुन्छ । यो नकारात्मक पक्ष होइन, तर कहिलेकाहीं केही घटना र परिस्थिति यसरी घटित हुन्छन्, जसको स्रोत र कारण पहिल्याउन विज्ञानलाई समेत धौधौ पर्दछ । वास्तवमा ती घटनाहरू दृष्ट र प्रामाणिक हुँदैनन्, तिनलाई कुनै व्यक्तिविशेषले केवल अनुभूति र भावनाका आधारमा व्याख्या गरिरहेका हुन्छन् । अध्यात्म र फलित ज्योतिषको सम्बन्ध तिनै अनुभूति र भावसँग जोडिएको हुन्छ । गणित र तथ्यमा आधारित भएको हुँदा ज्योतिष विज्ञान नै हो तर कतिपयले यसको फलादेश पक्ष भाव र अनुभूतिमा निहित व्याख्या हो भनेर केवल अन्धविश्वासमात्र हो भन्दछन् । विश्वास वा अन्धविश्वास जे भए पनि आज यस आलेखमा ज्योतिष विद्यामा चर्चा गरिने पितृदोषको प्रसङ्ग कोट्याउने प्रयास गरिनेछ, जुन दोषले कुण्डलीमा भएको राम्रा र शुभ योगलाई पनि प्रभावित तुल्याउने गर्दछ भन्ने मान्यता छ ।

के हो पितृदोष ?

सामान्यतया जुनसुकै कुण्डलीमा सूर्य र राहु वा केतुको मिलन भएको अवस्थालाई पितृदोष भन्ने गरिन्छ । पितृ दोषका कारण जातकले जीवनयापनका क्रममा अतीव कष्ट र पीडा व्यहोर्नु पर्दछ । उदाहरणका लागि विवाहमा विलम्ब, वैवाहिक जीवनमा कलह, बन्नै लागेको काम बिग्रनु, अन्तिम घडीमा परीक्षा र प्रतिस्पर्धामा असफल हुनु, जाँड, रक्सी आदि कुलतमा फँस्नु, पेसा वा व्यवसायमा अचानक फेरबदल हुनु, गरिआएको कामधन्दा वा नोकरी छुट्नु, गर्भधारणमा समस्या देखिनु, गर्भपात हुनु, सुस्त मनस्थिति र दुर्बल बच्चाको जन्महुनु, जन्मिएका बालबच्चाको अकालमा मृत्यु हुनु, व्यक्तिको निर्णयात्मक क्षमतामा कमी आउनु, चिडचिडेपना, रिस, आवेग र क्रोधको मात्रा बढी हुनु आदि पितृदोषका दुष्प्रभाव हुन् ।

जन्मकुण्डलीमा सूर्यलाई पिताको र चन्द्रमालाई माताको नैसर्गिक कारक ग्रह मान्ने गरिन्छ । सूर्य बसेको घर वा सूर्यबाट नवौं भावको घरबाट पिता, पैतृक सम्पत्ति, बावुछोराको सम्बन्ध आदिका बारेमा तथा चन्द्रमा वा चन्द्रमाको चौथो भावबाट माता, मातृसुख, आमाछोराको सम्बन्ध आदिका बारेमा चर्चा गर्ने ज्योतिषीय विधान छ । त्यसबाहेक ज्योतिष विद्यामा सूर्य र मङ्गललाई रगत र रक्तसम्बन्धको कारकसमेत मानिन्छ । जब कसैको जन्मकुण्डलीमा यी दुईवटा महत्त्वपूर्ण ग्रह पापी वा अरिष्ट ग्रहका साथमा वा अशुभ भावमा बसेको अवस्था हुन्छ, त्यस्तो जातक पितृदोषको कुनै न कुनै परिबन्दमा फँसेको हुन्छ । लग्न, पञ्चम भाव र नवम भावको स्वामी ग्रह पनि व्यक्तिको व्यक्तित्वविकास र उन्नतिप्रगतिमा सहयोगी ग्रह मानिन्छन् । यिनैमध्ये कुनै ग्रहको परिवेश पनि त्यस्तै छ भने आंशिक रूपमा पितृदोष नै मान्ने गरिन्छ । यसलाई अझ स्पष्टसँग बुझ्न देहायको अवस्था विचार गर्दा हुन्छ :-

१) सूर्य र राहु वा केतुको मिलन (पूर्ण पितृदोष)
२) सूर्य, चन्द्रमा वा लग्नेशको त्रिकस्थान (६, ८, १२) मा उपस्थिति (आंशिक पितृदोष)
२) लग्नेश र राहु वा केतुको मिलन (व्यक्तित्वबाधक आंशिक पितृदोष)
३) पञ्चमेश र राहु वा केतुको मिलन (सन्तानबाधक आंशिक पितृदोष)
४) भाग्येश र राहु वा केतुको मिलन (भाग्यबाधक आंशिक पितृदोष)
५) सूर्य र शनिको एकआपसमा पूर्णदृष्टि वा मिलन (पदच्युत योग, पूर्ण पितृदोष)
६) मङ्गल र शनिको एकआपसमा पूर्णदृष्टि वा मिलन (मान्दी योग, आंशिक पितृदोष)
७) मङ्गल र राहु वा केतुको एकआपसमा पूर्णदृष्टि वा मिलन ( अङ्गारक योग, आंशिक पितृदोष)
८) चन्द्रमा र राहु वा केतुको मिलन (मातृदोष, आंशिक पितृदोष)


किन सिर्जना हुन्छ, पितृदोष ?

जब परिवारमा कुनै पूर्वजको असमयमा वा अकालमा मृत्यु हुन्छ, मृत्युपछि उसको विधिविधानले अन्तिम संस्कार सम्पन्न हुन सक्दैन, अथवा जीवित अवस्थामा उसले गरेका कुनै भाकल वा इच्छा पूर्ण हुन सकेनन् भने त्यस्ता मृतकको आत्मा उसको बसोबास भएको घर वा वंशजका बीचमा भौंतारिने गर्दछ । त्यसरी भौंतारिएका मृत पूर्वजहरूको अतृप्त आत्माले परिवारका सदस्यहरूलाई कष्टप्रदान गरी आफ्नो इच्छा पूर्ण गर्न दबाब दिइरहेको हुन्छ । एकातिर यो प्रकरण व्यक्ति स्वयंले निद्रा, तन्द्रा, सपना वा अन्य कुनै प्रकारले थाहा पाएको स्थिति पनि हुन्छ भने कतिपयको जन्मकुण्डलीमा पितृदोषका रूपमा स्पष्टतः देखिने पनि गर्दछ ।

शास्त्रमा पुंनाम्नो नरकाद् यस्मात् त्रायते पितरं सुतः । तस्मात्पुत्र इति प्रोक्तः स्वयमेव स्वयंभुवा ।। (पुन्नाम नरकबाट पितालाई बचाउने नै पुत्र हो) भनिएको छ । त्यसैले सन्तानरहित व्यक्तिको आत्माले तृप्ति पाउँदैन भनिएको हो । हुन त हिजोआज छोरो नहुँदा पनि छोरीका माध्यमबाट अन्तिम संस्कार सम्पन्न हुने गरेको देखिन्छ । तर शास्त्रमा छोराबाट भएको काजक्रियाबाट मात्र मृतात्माहरू मुक्त हुने बताइएको छ । जसको अन्तिम संस्कार विधिवत् सम्पन्न भएको हुँदैन, त्यसका कुलमा छोराको अभाव, भए पनि शारीरिक, मानसिक वा बौद्धिक रूपमा कमजोर, अशक्त वा विवश छोरोको मात्र सम्भावना हुन्छ । कुनै व्यक्तिले पिताको हत्या गर्दछ, उनलाई अपमान गर्दछ वा कुनै किसिमले मानसिक तनावमा राख्ने प्रयास गर्दछ अथवा पिताको आत्मसम्मानमा ठेस पुग्ने कुनै क्रियाकलापमा संलग्न हुन्छ भने उसले छोराछोरीको सुखबाट वञ्चित हुनुपर्दछ । मरणपछि सन्ततिले गरेका और्ध्वदैहिक क्रियाकर्म र एकोद्दिष्टादि वार्षिक श्राद्धका कारण पितृहरूको मुक्ति हुन्छ भन्ने हाम्रो धार्मिक र सामाजिक मान्यता छ । तर त्यसरी मृतकले मुक्ति प्राप्त गर्न सकेनन् भने तिनको आत्मा अतृप्त रहने गर्दछ । अतः कसैको परिवारमा आफ्ना कुनै पूर्वजको अतृप्त आत्माको कारण बनेर उसको कुण्डलीमा पितृदोष उपस्थित भएको देखिन्छ ।

पितृदोष भएमा के हुन्छ त ?

कुनै जातकको कुण्डलीमा पितृदोष देखिएको छ भने उसले तलका सबै वा कुनै समस्या व्यहोरिरहनु पर्ने परिस्थिति देख्न पाइन्छ :-

१. घरमा नित्यप्रति विवाद, झैझगडा र कलह भइरहन्छ ।
२. सामान्य धनार्जन गर्न पनि अत्यन्त मिहिनेत र कडा परिश्रम गर्नुपर्दछ, तर परिस्थिति र बाध्यताका परिबन्दमा कमाएको धन तुरुन्त नाश हुने गर्दछ ।
३. घरका सदस्यहरू भेला भएका वेला नानाभाँतीका तर्क र कुतर्कमा समय बिताउँदछन्, तर दूरी बढेपछि सामान्य जीवनयापन गर्न थाल्दछन् ।
४. सबै चिज ठिकठाक हुँदाहुँदै पनि परिणाम सन्तोषजनक देखिंदैन, कतिसम्म भने यस्तो परिस्थितिमा जातकले मेरो भाग्य र नियति नै विपरीत छ भन्ने सोच्न थाल्दछ ।
५. रोजगारी वा व्यवसायमा अनेकानेक बाधाव्यवधान सिर्जना भइरहन्छ । उन्नतिप्रगति, बढुवा, स्थायित्व आदिमा किसिमकिसिमका समस्याहरू देखिइरहन्छन् ।
६. हुनै लागेको कतिपय काम अन्तिम घडीमा बिग्रिरहन्छ । जस्तै मिहिनेत र परिश्रम गरे पनि जतिसुकै सचेत र सावधान भए पनि कुनै पनि काम विनाअवरोध सम्पन्न हुँदैन । कहिलेकाहीं परिकल्पना गरेभन्दा पनि फरक बाधा र व्यवधान सिर्जना भएको देखिन्छ ।
७. परिवारमा कुनै न कुनै सदस्य रोगव्याधिको चपेटामा परिरहन्छन्, बोटबिरुवा र तुलफूलले समेत झाँगिन पाउँदैनन्, घरमा पालेका पशु वा पन्छीको वंशवृद्धिमा पनि समस्या देखिन्छ । छाना वा भित्तामा पिपल वा अन्य बिरुवाहरू उम्रन थाल्दछन् ।
९. आफ्नो योग्यता र क्षमतामुताबिकको नोकरी पाउँदैन, उचित समयमा बढुवा वा ग्रेडिङमा समस्या देखिन्छ । जीवनको अधिकांश समय हातमुख जोर्नका लागि मात्र खर्चनु पर्ने परिस्थिति देखिन्छ । आफूले सम्पत्ति जोड्नु त कता हो कता ? बरु भौतिक सम्पत्ति घट्दै जान्छ ।


माथि बताइएका यी समस्या पितृदोषका साझा समस्या हुन् । तपाईंलाई ज्योतिषमा विश्वास छैन, तर माथि बताइएका समस्याहरूमध्ये अधिकांश समस्या तपाईंको जीवनमा भोग्नु परिरहेको छ भने तपाईंले तलका उपायहरू अवलम्बन गर्नु अनिवार्य छ ।

पितृदोषको निवारण

पितृदोषलाई न्यूनीकरण वा निवारण गर्ने सरल उपायहरू छन्, तर वर्तमान पुस्ताका मानिसहरूको व्यस्त जीवनचर्या, भौतिक जगतका सुखसुविधा र विलासिताप्रतिको मोह, श्रद्धा, निष्ठा, समर्पणभाव, आस्था र आध्यात्मिक लगावमा कमी हुनाले यी उपायको अवलम्बन गरी आफूले व्यहोरिरहेका यी समस्याहरू जरैदेखि उखेलेर फ्याल्ने सामर्थ्यमा चाहिं कमी आएको देख्न सकिन्छ ।


१. नित्यतर्पण - प्रत्येक दिन बिहान स्नानादिबाट निवृत्त भएपछि आफ्ना मृतपितृको नामोच्चारणका साथमा दक्षिण फर्किएर ३/३ अञ्जुली जल अर्पण गर्नु पर्दछ ।
२. क्षमायाचना - अभिभावक वा अभिभावकतुल्य व्यक्तिहरूको जानी वा नजानी अपमान गर्नु हुँदैन । यदि कसैलाई जानी वा नजानी अपमान गरिएको छ वा उनको आत्मसम्मानमा ठेस पुर्याउने काम भएको छ भने तिनीसँग क्षमायाचना गर्नु राम्रो हुन्छ । निजको मृत्यु भइसकेको छ भने नित्यतर्पण गरेपछि सूर्यतर्फ फर्किएर मैले जानी/नजानी गरेका अपराधप्रति क्षमापाऊँ भनी क्षमायाचना गर्नु पर्दछ । पितृहरूसँग क्षमा माग्दा कुण्डलीमा रहेको बृहस्पति ग्रह बलियो हुन्छ, जसले सामाजिक सम्मान, वंशबृद्धि र निर्णयक्षमतामा सकारात्मक फल प्रदान गर्दछ ।
३. आफूलाई मन्त्र दिने, ज्ञान दिने वा उचित मार्गदर्शन गर्ने गुरुतुल्य व्यक्तिलाई दिनैपिच्छे प्रातःकालमा प्रणामादि वन्दना गर्ने अभ्यास गरेमा पनि पितृदोष शान्त हुन्छ । गुरुतुल्य कुनै पनि व्यक्तिसित सम्बन्ध बिगार्नु हुँदैन ।
४. कुनै धार्मिक वा परोपकारी काममा दिएको वा दान गरेको धनको सार्वजनिक उद्घोष गराउनु हुँदैन, त्यसैले यस्तो दोष भएका व्यक्तिले गुप्तदान गर्नु पर्दछ । तर अयोग्य र अनुचित ठाउँमा दान गर्नु पनि हुँदैन ।
५. पुरानो मन्दिर, कुलप्रतिष्ठान वा सामाजिक संस्थाको जीर्णोद्धार गराउनु वा जीर्णोद्धार गर्ने क्रममा सकेको सहयोग गर्नु पर्दछ । त्यस्तै कुनै देवीदेउताको मन्दिरमा इच्छा पूरा भएन भनेर जान वा दर्शन गर्न छाड्नु भएको छ भने पुनः त्यहाँ दर्शन गर्ने जाने अभ्यास गर्नुपर्दछ ।
६. प्रत्येक पक्षमा पर्ने एकादशी र द्वादशी तिथिका दिन पितृहरूको सम्झना गरी गरीवगुरुवा वा ब्राह्मणलाई भोजन, सीधा र दक्षिणादि प्रदान गर्नुपर्दछ ।
७. प्रत्येक महिनामा पर्ने औंसीका दिन हविष्यान्न भोजन गर्ने, बेलुकाको छाक बार्ने (निशि बार्ने), पितृहरूको तर्पणादि गर्ने गर्नु राम्रो हुन्छ । अरु वेला यो कर्म गर्न सकिएन भने पनि पितृपक्षमा पर्ने अमावस्या (जमरे औंसी) मा अवश्य गर्नुपर्दछ ।
८. सार्वजनिक स्थानमा पीपल वा केराको बोट रोप्ने, नित्यपूजा गर्ने र तिनको प्रतिष्ठा गरिदिने गरेमा पनि पितृदोष निवारण हुन्छ । बिहानको भोजनकालमा गाई, कुकुर, काग आदिलाई भोजनादि (गोग्रास) प्रदान गर्नुपर्दछ । अस्पताल वा बृद्धाश्रममा रहेका अशक्त र कुष्ठादि दीर्घरोगबाट थलिएका रोगीहरूको सेवा गर्नुपर्दछ । परिवारका महिलाहरूको सम्मान गर्नुपर्दछ ।
९. प्रत्येक पक्षको त्रयोदशीका दिन पर्ने प्रदोषको व्रत लिने, शिवजीको पूजाआजा गर्ने र पितृहरूसँग क्षमायाचना गर्ने बानी बसाल्नु पर्दछ ।
१०. दिनैपिच्छे फुर्सद र सामर्थ्यअनुसार श्रीमद्भागवतको एकादश स्कन्ध, गीताको नवौं अध्याय वा महाभारतको शान्तिपर्वको मूल संस्कृत पाठ नियमित रूपमा गरेमा पनि पितृदोषको निवारण हुन्छ ।
११. पितृदोष निवारणका लागि जीवनमा एक पटक द्वादश ज्योतिर्लिङ्गमध्ये एक त्र्यम्बकेश्वर (महाराष्ट्र, भारत) मा गई वा नजिकै कुनै तीर्थस्थल विष्णुपादुका, कोकाकोसी सङ्गम, गोकर्ण, देवघाट, त्रिवेणी, मुक्तिक्षेत्र, वेत्रावती आदि तीर्थस्थलमा त्रिपिण्डी श्राद्ध सम्पादन गरेमा पनि पितृदोषको निवारण गर्न सकिन्छ ।

No comments:

Post a Comment