नेपाली परिवेशमा कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाउने चलन छ। यो दिन दशैंपछिको अर्को महत्वपूर्ण चाड तिहारको पहिलो दिन हो। काग तिहारमा कागलाई यमराजको सन्देशबाहकका रुपमा पूजा गर्ने चलन छ । कर्कस आवाज निकालेर कराउने यस चरालाई अरु बेला अशुद्ध पन्छीका रुपमा लिने गरिन्छ, तर तिहारमा भने यसलाई ठूलो सम्मान दिएर पूजा गर्ने परिपाटी छ । काग तिहारका दिन बिहानै यसलाई बोलाएर खानेकुरा प्रदान गरिन्छ । पहिलेपहिले परेवाले जस्तै कागले पनि सन्देशवाहकका रूपमा चिठ्ठीपत्र आदानप्रदान गर्ने काम गर्दथ्यो भन्ने मान्यता छ । यसले यमराजले पठाउने चिठ्ठीहरू पृथ्वीलोकमा पुर्याउने काम गर्थ्यो भन्ने पौराणिक आख्यान छ । यमराजले पृथ्वीलोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्ममृत्युको विवरण राख्ने गर्थे । त्यस्तो विवरण ल्याउनेलैजाने क्रममा कागको महत्त्वपूर्ण भूमिका थियो र उसले आकाशमार्गबाट शीघ्रताका साथमा उक्त जिम्मेबारी पूरा गर्दथ्यो भन्ने भनाइ छ । त्यसैले यमराजले कागलाई मर्त्यलोकका निमित्त आफ्नो दूत नियुक्त गरेको किंवदन्ती सुन्न पाइन्छ । अहिले पनि कागले घरको धुरीमा बसेर कराउँदा राम्रा/नराम्रा खबरको सन्देश बोकेर अाएको जनविश्वास प्राप्त हुन्छ । काग घरनजिकै आएर करायो भने छिट्टै कुनै राम्रो वा नराम्रो घटना घट्ने सङ्केतका रूपमा व्याख्या गर्ने गरिन्छ, त्यसैले घरको नजिक आएर काग कराउन थालेपछि उसलाई ‘शुभ बोल् शुभ बोल्’ भन्ने गरिन्छ । त्यसै पनि काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी हो । यसको पूजा हुनुमा अन्य विभिन्न कारण पनि रहेको देखिन्छ, जस्तै कागले सबैलाई समान दृष्टिले हेर्छ, यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू पनि खाइदिन्छ, कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ, काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो अादिअादि । त्यसबाहेक संस्कृत र नेपाली भाषामा प्रचलित केही शब्दहरू काकगवेषणा, काकन्याय, काकबलि आदिमा कागको नाम जोडिनुले पनि यसको महत्त्व र वैशिष्ट्य बृद्धि गरेको छ ।
कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिकै दिन पारेर धनतेरस पर्वसमेत मनाइन्छ । कागतिहार र धनतेरस दुबै कार्तिक कृष्णको त्रयोदशीसँग सम्बन्धित हुन्छ, तर मनाउने समय फरकफरक हुन्छन् । कागतिहार प्रातःकालमा र धनतेरस सन्ध्याकालमा मनाइने हुँदा उक्त भिन्नभिन्न समयमा त्रयोदशी तिथिको संयोग जुन दिन हुन्छ, त्यसै दिन पर्व सम्पादन हुने गरेकाले कुनैकुनै वर्ष धनतेरस अघिल्लो दिन र कागतिहार भोलिपल्ट पर्ने गर्दछ । धनतेरसका दिन बजारमा किनमेल गर्ने मान्छेको ठूलो घुइँचो हुन्छ, चारैतिर मानिसहरूको भीड हुन्छ। खासगरी भाँडाकुँडा र साजसज्जाको पसलमा अति भीड देख्न पाइन्छ। धनतेरसका दिन भाँडा किन्नु अति शुभ मानिन्छ त्यसैले प्रत्येक परिवारले आफ्नो आवश्यकताअनुसार केही न केही किन्ने प्रचलन छ। धनतेरस परेकै दिन सायंकालमा जुन दिन त्रयोदशी तिथि परेको हुन्छ, त्यस दिन यमराजलार्इ दीपदान गर्ने विधान पनि छ । तुलसीको मठमा वा घरको मूल ढोकामा एउटा दियो बालिन्छ । पद्मपुराणमा 'कार्तिके कृष्णपक्षे तु त्रयोदश्यां निशामुखे । यमदीपं वहिर्दद्यादपमृत्युर्विनश्यति ॥' अर्थात् कार्तिक कृष्णको त्रयोदशीको सायंकालमा घरबाहिर दियो बालेर 'मृत्युना पाशदण्डाभ्यां कालः श्यामलया सह । त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीयतामिति' भनेर यमराजको पूजा गर्नाले अकालमरण हुँदैन भनिएको छ ।
No comments:
Post a Comment