पद्मपुराणमा एकादशीको व्रतको महत्तालाई यसरी बखान गरिएको छ -
शङ्खोद्धारे नरः स्नात्वा दृष्ट्वा देवं गदाधरम् । एकादश्युपवासस्य कलां नार्हति षोडशीम् ॥
शङ्खोद्धार नामक तीर्थमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो एकादशी व्रतको सोह्र भागको एक भागतुल्य पनि हुँदैन ।
सङ्क्रान्तिषु चतुर्लक्षं यो ददाति नृपोत्तम । एकादश्युपवासस्य कलां नार्हति षोडशीम् ॥
चार लाख पटक सङ्क्रान्तिमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो एकादशी व्रतको सोह्र भागको एक भागतुल्य पनि हुँदैन ।
प्रभासक्षेत्रे यत्पुण्यं ग्रहणे चन्द्र सूर्ययोः । तत्फलं जायते नूनमेकादश्युपवासिनः ॥
सूर्य ग्रहण वा चन्द्र ग्रहणमा प्रभास क्षेत्रमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो एकादशीका दिन गरेको स्नानभन्दा कम हुन पुग्छ ।
केदारे चोदकं पीत्वा पुनर्जन्म न विद्यते । तथा चैकादशी पार्थ गर्भवासक्षयङ्करी ॥
जसरी केदार तीर्थको जलपान गर्दा पुनर्जन्म हुँदैन भन्ने गरिन्छ, त्यस्तै फल एकादशीको व्रतको प्रभावबाट प्राप्त हुन्छ, यस व्रतको प्रभावले गर्भाशयमा वास गर्नुपर्ने पीडाको नाश हुन्छ ।
अश्वमेधस्य यज्ञस्य पृथिव्यां यत्फलं लभेत् । तस्माच्छतगुणं पुण्यमेकादश्युपवासिनः ॥
पृथ्वीमा अश्वमेध यज्ञ गर्दा जुन फल प्राप्त हुन्छ, त्यसको एक सय गुणा बढी पुण्य एकादशीको व्रत लिएमा प्राप्त हुन्छ ।
तपस्विनो गृहे यस्य भुञ्जते च द्विजोत्तमाः । तत्फलं जायते नूनमेकादश्युपवासिनः ॥
जुन फल तपस्वीको घरमा उच्चकुलका उत्तम ब्राह्मणहरूलाई भोजन गराउँदा प्राप्त हुने गर्दछ, त्यो पनि एकादशीको व्रतको प्रभावबाट प्राप्त हुने फलभन्दा कम हुन्छ ।
गोसहस्रेण यत्पुण्यं दत्वा वेदान्तपारगे । तस्माच्छतगुणं पुण्यमेकादश्युपवासिनः ॥
वेदान्तविद् ब्राह्मणहरूलाई हजारौं गाई दान गर्दा जुन फल प्राप्त हुन्छ, त्यसभन्दा सय गुणा बढ्ता पुण्य एकादशीको निष्ठापूर्वक व्रत लिनेहरूले प्राप्त गर्दछन् ।
येषां देहे त्रयो देवा ब्रह्मविष्णुमहेश्वराः । वसन्ति तेषां ते तुल्या एकादश्युपवासिनः ॥
एकादशीको व्रत लिने नैष्ठिक व्यक्तिको शरीरमा सदैव ब्रह्मा, विष्णु र महेश्वरको निवास हुन्छ ।
ते नराः पुण्यकर्माणो ये भक्ता हरिपूजकाः । एकादशीव्रतस्यापि पुण्यसङ्ख्या न विद्यते ॥
पुण्यकर्म गर्ने व्यक्ति, भगवान् विष्णुको नित्य पूजा गर्ने भक्तजन र एकादशीको व्रत लिने व्रतालुको पुण्यकर्म असङ्ख्य (अगणनीय) हुने गर्दछ ।
तावद्गर्जन्ति तीर्थानि दानानि नियमानि च । यावन्नोपोषयेज्जन्तुर्वासरं विष्णुवल्लभम् ॥
समस्त तीर्थ, दानादि र विधिविधानको महत्ता तबसम्म रहने गर्दछ, जबसम्म कुनै जीवले एकादशीको व्रत लिंदैन ।
यसबाहेक मनुष्यले आफ्नो दैनन्दिनीमा पारिवारिक सुखसम्मृद्धिका निमित्त वा आफ्नो व्यक्तित्व विकासका निमित्त अनेकौं प्रयास र परिश्रम गर्दागर्दै पनि असफल भइरहेको अवस्थामा एकादशी त्यस्तो महत्त्वपूर्ण दिन बन्न जान्छ, जुन दिन गरिएका सरलतम उपायहरूले पनि मानिसहरू आफ्नो भाग्यको ढोका सजिलै उघार्न सफल हुने गर्दछन् । धार्मिक मान्यतानुरूप भगवान् विष्णुको प्रसन्नता भएपछि स्वतः माता लक्ष्मीको कृपा प्राप्त हुन्छ, त्यसैले पनि एकादशीका दिन गरिएको श्रद्धाभक्ति र भक्तिउपासनाका माध्यमबाट व्यक्तित्वका साथमा घरपरिवारमा सुख र खुसी भित्र्याउन सकिन्छ ।
एकादशीमा पालना गरिएका तलका उपाय र अनुशासनका माध्यमबाट भाग्य बदलिन सक्छ ।
- एकादशीका दिन कुनै पनि बोटबिरुवाबाट फूल र पात टिप्नुहुँदैन ।
- एकादशीका दिन दात माँझ्नु हुँदैन । खासगरी दतिउनको प्रयोग गर्न निषेध गरिएको छ । त्यसैले ब्रुशमन्जन नगरेर औंलाको प्रयोग गरी मुखकुल्ला गर्नु राम्रो हुन्छ वा दशमीको राती नै राम्ररी दाँत सफा गरेर सुते सजिलो हुन्छ ।
- एकादशीका दिन चामल र चामलबाट बनेका कुनै पनि खाद्यपरिकारको उपभोग गर्नु हुँदैन । त्यस्तै भगवान् विष्णुको प्रतिमा वा फोटोमा पूजा गर्दा अक्षताको प्रयोग गर्नु हुँदैन । अक्षताको सट्टामा तिलको प्रयोग गर्न सकिन्छ ।
- एकादशीका दिन जौ र यसबाट बनेका खाद्यपरिकारको सेवन गर्न पनि निषेध गरिएको छ । शास्त्रमा महर्षि मेधाको शरीरबाट जौको उत्पत्ति भएको भन्ने कथा छ, त्यसैले विष्णुको पूजामा जौको निषेध गरिएको हो ।
- एकादशीको दिन दान गर्ने वा अरुलाई केही वस्तु प्रदान गर्ने दिन हो । यस दिन गरेको दानबाट अक्षय पुण्य प्राप्त हुन्छ । तपाईंले दान नगरेमा कुनै दोष लाग्दैन, तर यस दिन अरुबाट कुनै उपहार वा दानादि ग्रहण गर्नु हुँदैन । अझ यस दिन अरुले दिएको खाद्यपरिकार सेवन गरेमा भगवान् विष्णु निराश हुनुहुन्छ र सित्तैमा अरुको धनधान्य वा सरसामान लिएमा आर्थिक सङ्कटमा परिन्छ वा दरिद्रता बढ्छ भन्ने मान्यता छ । तर पूजादिमा ब्राह्मणले दान लिएमा दोष लाग्दैन ।
- एकादशीका जाँडरक्सी, माछामासु, लसुन, प्याज, मुसुरोको दाल आदि तामसी पदार्थको सेवन गर्नुहुँदैन ।
- एकादशीका दिन व्रतालुले गाजर, शलगम, काउली, पालक, पानी वा दहमा फल्ने सागसब्जीको सेवन गर्नु हुँदैन ।
- एकादशीका दिन भगवान् विष्णुलाई पानको पात चढाउने प्रचलन छ, तर यस दिन पानतमाखुको सेवन गर्नसमेत निषेध गरिएको छ ।
- एकादशी परेको एक दिनअघि नै घर बढारकुँडार गरेर सफा बनाउनु राम्रो हुन्छ, किनकि एकादशीका दिन घर बढारकुँडार गर्न पनि निषेध गरिएको छ । नबढार्नु भन्नुको मुख्य उद्देश्य घरमा कुचो लगाउँदा सूक्ष्म जीवजन्तुको मृत्यु नहोस् वा तिनले समेत दुःख नापाऊन् भन्ने हो, यस अतिरिक्त यस दिन घरको कसिङ्गर बाहिर फ्यालेमा घरको सह पनि बढारिएर जाने गर्दछ, त्यसैले बाध्यतावश यस दिन कसिङ्गर लगाउनु पर्यो भने कसिङ्गर घरभित्रै कुनै ठाउँमा व्यवस्थित गरी राखेर भोलिपल्टमात्र मिल्काउनु पर्दछ पनि भन्ने चलन छ ।
- एकादशीका दिन दाह्री, कपाल, नङ काट्नु हुँदैन ।
- एकादशी तिथिका दिन सायंकालमा तुलसीको मठमा गाईको घिउको वर्तन प्रयोग गरी दियो बालीदिनु पर्दछ । त्यसपछि ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको जाप गर्दै तुलसाको मठको एघार पटक परिक्रमा गरेमा घरमा पारिवारिक कलहको अन्त्य हुनुका साथै सुखसम्मृद्धि र शान्तिको वातावरण कायम हुन्छ भन्ने मान्यता छ ।
- एकादशीका दिन भगवान् विष्णुको पूजा गर्दा पहेंलो रङको प्रयोग हुने वस्तु, पदार्थ र नैवेद्यको प्रयोग गर्नु पर्दछ । त्यसैले पीताम्बर, पहेंलो फूल, केसरीको चन्दन आदिको प्रयोग गरिएको हो । यसरी पहेंलो वस्तुको प्रयोग गरेमा भक्तका प्रत्येक मनोकामनाहरू पूर्ण हुने गर्दछन् ।
- एकादशीका दिन भगवान् विष्णुलाई प्रदान गरिने नैवेद्य (खाद्यसामाग्री) मा तुलसीपत्र राखेर मात्र चढाउनु पर्दछ ।
- एकादशीका दिन पिपल र वरको बोटको पूजा गरी धूपबाती गरिदिएमा ऋणबाट मुक्त भइन्छ ।
- एकादशीका दिन कुनै सौभाग्यवती ब्राह्मणीलाई घरमा ल्याएर फलाहार गराउने र तिनलाई सौभाग्यका सामाग्री दान गरेमा कुमारी कन्याले मनले चाहेको वर प्राप्त गर्दछिन्, साथै गृहिणीले सुमधुर दाम्पत्य जीवन भोग गर्न पाउँछिन्, त्यस्तै विधवाका मृत पतिले उत्तम गति प्राप्त गर्दछन् ।
- एकादशीका दिन भगवान् विष्णुका साथमा माता लक्ष्मीको समेत पूजा गरेमा धनधान्य र सुखसम्मृद्धिको कमी हुँदैन ।
- एकादशीका दिन प्रातःस्नानपछि केसरीमिश्रित दूधले भगवान् विष्णुको प्रतिमामा पूजा गरिदिएमा बुद्धि बढ्दछ, परीक्षा र प्रतियोगितामा सफल भइन्छ ।
- एकादशीका दिन गीता, भागवत आदि ग्रन्थहरूको पाठ गरे गराएमा मृतपितृहरूले उत्तम गति प्राप्त गर्दछन् ।
- एकादशीका दिन दक्षिणावर्ती शङ्खको पूजा गर्नाले भगवान् विष्णुका साथमा माता लक्ष्मी पनि अतीव प्रसन्न हुनुहुन्छ, त्यसैले यसो गर्दा भक्तको घरमा कहिल्यै पनि दरिद्रताले प्रवेश गर्ने अवसर पाउँदैन ।
- शास्त्रमा परनिन्दा अर्थात् अरुका कुरा काट्ने काम गर्नुलाई घोर पाप मानिएको पाइन्छ । यसो गर्दा मनमा अनेकानेक कटु भाव उत्पन्न हुने र मनोरोग सिर्जना हुने खतरा हुन्छ । त्यसैले कहिल्यै पनि परनिन्दामा सक्रिय हुनुहुँदैन । अझ एकादशीका दिन बिर्सेर पनि परनिन्दा गर्नु हुँदैन ।
- एकादशीका दिन क्रोध र हिंसा गर्नुहुँदैन । क्रोधका कारण शरीरमा रक्तविकार हुन्छ र मन पनि स्थिर हुन सक्दैन ।
- शास्त्रमा चोरी गर्नु, धोका दिनु, छक्याउनु जस्ता कामलाई घोर पाप मानिएको छ । यसबाट व्यक्तिको सामाजिक प्रतिष्ठा नाश हुन्छ, साथै उसले मरणोपरान्त नरकमा जानु पर्दछ । त्यसैले कुनै पनि व्रतका दिन यी काम गर्न निषेध गरिएको हो, जुन एकादशीका दिन पनि पालना गर्नु अनिवार्य मानिन्छ ।
- एकादशीका दिन खासगरी शरीरभित्रै रहेका छ किसिमका शत्रुहरू (काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य) माथि पूर्ण रूपेण नियन्त्रण राख्नु अनिवार्य छ । यस दिन भोगविलास, आनन्द, मौजमज्जा, मनोरञ्जन, यौन र मैथुन आदि विलासिताका भावनाहरू मनमा आउन दिनुहुँदैन । मनमा यस्ता धारणा उत्पन्न भएमा भक्ति, निष्ठा र श्रद्धाभावमा विघ्न पर्दछ र व्रत पूर्ण हुन पाउँदैन ।
No comments:
Post a Comment