युधिष्ठिर उवाच -
पौषस्य कृष्णपक्षे तु किं नामैकादशी भवेत् ।
किं नाम को विधिस्तस्या एतद्विस्तरतो वद ।
एतदाख्याहि भो स्वामिन्को देवस्तत्र पूज्यते ॥
पद्मपुराणमा पौष महिनाको कृष्णपक्षको एकादशीका विषयमा युधिष्ठिरले बताइदिन अनुरोध गरेपछि भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो -
कथयिष्यामि राजेन्द्र भवतः स्नेहबन्धनात् ।
तुष्टिर्मे न तथा राजन्यज्ञैर्बहुलदक्षिणैः ॥
यथा मे तुष्टिरायाति ह्येकादशीव्रतेन वै ।
तस्मात्सर्वप्रयत्नेन कर्त्तव्यो हरिवासराः ॥
हे राजन् हजुरसँग मेरो स्नेह र अनुग्रह भएकाले तपाईंले जिज्ञासा राखेपछि मैले बताउनु नै पर्दछ । बास्तवमा यज्ञ, दानदक्षिणा आदिबाट भन्दा पनि म एकादशीको व्रतबाट बढी सन्तुष्ट हुने गर्दछु, त्यसैले हरेक गृहस्थीले यथासम्भव प्रयत्न गरी एकादशीको व्रत लिनुपर्दछ । पुस महिनाको कृष्णपक्षमा पर्ने यस एकादशीको नाम सफला एकादशी हो । यस एकादशीका देवता श्रीनारायण हुनुहुन्छ । विधिपूर्वक यस व्रतको पालना गर्नुपर्छ ।
भगवान् श्रीकृष्ण युधिष्ठिरलाई पुनः आज्ञा गर्नुहुन्छ -
पूजयेद्देवदेवेशं धूपदीपैस्तथैव च ।
सफलायां विशेषेण दीपदानं तु कारयेत् ॥
रात्रौ जागरणं चैव कर्त्तव्यं सह वैष्णवैः ।
यावन्निमेषो नेत्रस्य तावज्जागर्ति यो निशि ॥
जसरी नागहरूमध्ये शेषनाग, पक्षीहरूमध्ये गरुड़, सबै ग्रहहरूमध्ये चन्द्रमा, यज्ञहरूमध्ये अश्वमेध र देवताहरूमध्ये भगवान् विष्णु श्रेष्ठ छन, त्यसरी नै सबै व्रतहरूमध्ये एकादशीको व्रत सर्वोत्तम र श्रेष्ठ मानिन्छ । जुन व्यक्तिले सबै एकादशीको व्रत सम्पादन गर्दछ, त्यो भक्त मेरा निम्ति परमप्रिय हुन्छ । हे राजन् ! अब यस व्रतको कथा सुन्नुहोस् ।
चम्पावतीति विख्याता पुरी माहिष्मतस्य च ।
बभूवुस्तस्य राजर्षेः पुत्राः पञ्च कुमारकाः ॥
तेषां मध्ये तु ज्येष्ठो वै महापापरतः सदा ।
परदाराभिचारी च वेश्यासक्तश्च मद्यपः ॥
पितुर्द्रव्यं तु तेनैव गमितं पापकर्मणा ।
असद्वृत्तिरतो नित्यं भूसुराणां तु निन्दकः ॥
चम्पावती नगरीमा महिष्मान् नाम गरेका राजा राज्य गर्दथे । उनका चार पुत्र थिए । ती सबैमा लुम्पक नामको जेठो छोरो कुकर्मी र पापी थियो । लुम्पक सदैव जाँडरक्सी सेवन गर्ने, जुवातास खेल्ने, परस्त्री तथा वेश्या गमन गर्ने तथा अन्यान्य नराम्रा काममा आफ्ना पिताको धन नष्ट गर्ने गर्थ्यो । सदैव देवता, बाह्मण, वैष्णव आदिको निन्दा गर्थ्यो ।
ईदृशं तु ततो दृष्ट्वा पुत्रं माहिष्मतो नृपः ।
नाम्ना तु लुम्पक इति राजपुत्रेषु चापठत् ॥
राज्यान्निष्कासितस्तेन पित्रा चैव तु बन्धुभिः ।
स चैवं परिवारैस्तु त्यक्तश्च परिपन्थिवत् ॥
राजाले आफ्नो जेठो छोरोको मति बिग्रेको थाहा पाएपछि उनी दुःखित र चिन्तित हुनु स्वाभाविकै थियो । उनले छोरो सुधार्ने अनेकौं प्रयास गरे, केही नलागेपछि त्यसलाई उनले आफ्नो राज्यबाट निकालिदिए । त्यसपछि लुम्पक विचार गर्न थाल्यो कहाँ जाऊँ? के गरूँ? आदि।
अन्त्यमा उसले चोरी कर्मबाट जीविका चलाउने निर्णय गर्यो । दिउसो ऊ वनमा बस्थ्यो र रात्रिमा आफ्नो पिताको नगरीमा चोरी गर्थ्यो तथा प्रजालाई अनेक रीतिले दुःख दिई मार्ने काम पनि गर्थ्यो । केही समयपछि उसका क्रियाकलाप र कुकर्मबाट समस्त नगरवासी भयभीत र त्रस्त हुनथाले । त्यतिमात्र होइन, ऊ वनमा बाटो ढुकेर बटुवाहरूलाई दुःख दिन र पशुपन्छीलाई मारेर खान थाल्यो । सिपाहीले उसले अपराध गरेको र जनतालाई अनावश्यक दुःख दिएको थाहा नपाएको होइन, कहिलेकाँही राज्यका प्रतिनिधिहरू उसलाई समात्दथे पनि तर राजाको छोरो भएकाले दरबारसँग डराउँदथे र उसलाई छाडिदिन्थे ।
वनमा एउटा अति प्राचीन र विशाल पीपलको वृक्ष थियो । मानिसहरू त्यस रुखलाई भगवानसरह पूजा गर्थे । त्यसै वृक्षमुनि त्यो महापापी लुम्पक बसोवास गर्थ्यो । यस वनलाई मानिसहरू देवताको क्रीडास्थली मान्दथे । यसरी लुम्पकका क्रियाकलाप र जीवन बित्दै जाँदा एकपल्ट पौष महिनाको कृष्ण पक्षको दशमीको दिन अाइपुग्यो । त्यस दिन ऊसँग जाडोमा लगाउने न्याना लुगाको अभाव थियो । वस्त्रहीन भएका कारण शीतकालको उक्त समयमा ऊ रातभरि सुत्न र निदाउन सकेन । त्यसका हातखुट्टा कक्रिए । सूर्योदय हुने बेलासम्म त ऊ मूर्छित नै भयो ।
अर्को दिन सफला एकादशीको दिन थियो । एकादशीका दिन मध्याह्नको घाम चर्कंदै गर्दा सूर्यको ताप पाएपछि उसको मूर्छा हट्यो । लड्दैपड्दै ऊ भोजनको खोजीमा भाैंतारिन थाल्यो । पशुलाई वध गर्न त ऊ अशक्त भइसकेको थियो, त्यसैले वनमा वरपर डुलेर रुखमुनि झरेका फल टिपेर सङ्कलन गरी त्यसै पीपलको रुखमुनि आयो । त्यति बेलासम्म सूर्य अस्त भइसकेका थिए । अघिल्लो रातदेखि नै एकादशीको बेलुकासम्म निराहार भएकाले उसमा अध्यात्मिक चेतनाको विकास भएको थियो ।
फलानि तत्र भूरीणि वृक्षमूले न्यवेशयत् ।
इत्युवाच फलैरेभिः श्रीपतिस्तुष्यतां हरिः ॥
इत्युक्त्वा लुम्पकश्चैव निद्रां लेभे न वै निशि ।
रात्रौ जागरणं मेने विष्णुस्तस्य दुरात्मनः ॥
फलैस्तु पूजनं मेने सफलायास्तथानघ ।
अकस्माद्व्रतमेवैतत्कृतवान्वै स लुम्पकः ॥
लुम्पकले सकी नसकी सङ्कलन गरेर ल्याएका फल भुइँमा राख्नासाथ उसका मुखमा यस्ता शब्द उच्चरित भए - हे भगवन् ! अब हजुरलाई नै अर्पण गर्दछु, यी फल । हजुर नै तृप्त हुनुहवस् । भोकले निर्बल भएको लुम्पकले ती फल खान पनि सकेन अनि रात्रिको समयमा पनि दु:ख र कष्ट सहन नसकेर सुत्न र निदाउन सकेन । त्यसको यस उपवास र जागरणले भगवान् अत्यन्त प्रसन्न हुनुभयो । व्रतको पुण्य प्राप्त हुनाले उसका सम्पूर्ण पाप नष्ट भए । अर्को दिन प्रात:कालमा एउटा अति सुन्दर घोड़ा अनेकौं सुन्दर वस्तुहरूद्वारा सजिएर उसका सामुन्ने आई उभियो र त्यसै समय आकाशवाणी भयो - 'हे राजपुत्र ! श्रीनारायणको कृपाले तेरा समस्त पाप नष्ट भए, अब तँ आफ्ना पिताको राज्यमा फर्की, पितासामु उभिएर आफूले गरेका कुकर्मप्रति क्षमा माग, पश्चाताप गर र राज्य प्राप्त गर ।' यस्ता वाणी सुनेर ऊ अत्यन्त प्रसन्न भयो, उसमा अचानक उत्साह, उमङ्ग र स्फूर्ति सिर्जना भयो । त्यसपछि घोडामा भएको दिव्य वस्त्र धारण गरी ‘भगवान हजुरको जय होस्’ भन्दै ऊ आफ्ना पिताको दरबारतर्फ लाग्यो ।
दरबारमा पुगेर आकाशवाणीमा बताइएबमोजिम आफ्नो गल्ती स्वीकारेर कुकर्मप्रति उसले पितासँग क्षमा माग्यो । छोरोमा सुधार आएको थाहा पाई ईश्वरप्रति कृतज्ञता प्रकट गर्दै राजाले प्रसन्न भई छोरालाई समस्त राज्यको भार सुम्पिदिएर वानप्रस्थ जीवन बिताउने उद्देश्यले वनतर्फ जाने विचार गरे । राज्यको अभिभारा पाएको लुम्पकले नीति र शास्त्रलाई अनुसरण गरी राज्य गर्न थाल्यो । उसका स्त्री, पुत्र आदि सारा कुटुम्ब भगवान् नारायणका परम भक्त भए । वृद्ध भएपछि ऊ पनि आफ्नो छोरालाई राज्यको भार सुम्पिदिएर वनमा तपस्या गर्न गयो र अन्त्यकालमा वैकुण्ठलोकमा गयो ।
एवं यः कुरुते राजन्सफलाव्रतमुत्तमम् ।
इहलोके सुखं प्राप्य मृतो मोक्षमवाप्नुयात् ॥
धन्यास्ते मानवा लोके सफलायां च ये रताः ।
तेषां च सफलं जन्म नात्र कार्या विचारणा ॥
अत: जुन मनुष्यले जानी/नजानी यस परम पवित्र सफला एकादशीको व्रत गर्दछ, उसका समस्त पापराशि नष्ट हुन्छन् र अन्त्यमा मुक्ति प्राप्त गर्दछ । व्रत लिन नसके पनि यस एकादशीका दिन सफला एकादशीको माहात्म्य र व्रतकथा पढ्ने वा श्रवण गर्ने मनुष्यले पनि अश्वमेध यज्ञको फल प्राप्त गर्दछ । जय श्रीमन्नारायण ।।
No comments:
Post a Comment