Mar 31, 2017

वैदिक नववर्ष


आर्य संस्कृतिमा ज्योतिषीय आधारमा चैत्र महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्दछ । चान्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैत्र १ गतेदेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्दछ, तर त्यो दिन चैत्र महिनामा पर्ने औंसीको भोलिपल्ट हुनुपर्दछ ।

चैत्रेमासे जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ॥
माथि उल्लेख भएको श्लोकको आशय बमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन् । सामान्य अर्थमा संवत्सरको अर्थ वर्षको नाम हो, समयको एकाइ विभाजन गर्दै जाँदा ऋतुचक्रभन्दा माथिल्लो एकाइ संवत्सरलाई मान्ने गरिन्छ, अतः एउटा संवत्सर बराबर एक ऋतुचक्र अर्थात् एक वर्ष बराबरको समय हो । ज्योतिषशास्त्रमा यस्ता ६० वटा संवत्सरको व्यवस्था छ र तिनका बेग्लाबेग्लै नाम राखिएको छ । नेपाली परिवेशमा हाम्रो पञ्चाङ्ग, पात्रो, सरकारी क्यालेन्डर आदि सौरवर्षमा आधारित छन्, तिथि, नक्षत्र, श्राद्धादि, कतिपय सांस्कृतिक चाडपर्व आदि चान्द्रवर्षमा निर्धारण गर्ने परम्परा देखिन्छ । चान्द्रवर्ष र सौरवर्षमा लगभग ११ दिनको अन्तर हुन्छ र यो अन्तर बढ्दै गएर ऋतुचक्रमा प्रभाव पर्ने सम्भावना हुन्छ र त्यस्तो नहोस् भन्ने उद्देश्यले हरेक दुई वा तीन वर्षमा अधिकमास (मलमास) को व्यवस्था गरिएको छ, जसले हाम्रा चाडपर्व र ऋतुचक्रको समन्वय गर्न मद्दत पुर्याउने गर्दछ ।

नववर्ष २०७६ को शास्त्रीय नाम परिधावी रहने छ, परिधावी यस वर्षको नयाँ संवत्सर हो । संवत्सरहरूमध्ये परिधावी नामक संवत्सर छयालीसौं क्रममा पर्दछ । हामीले आगामी वैशाख एक गते नयाँ वर्ष सुरु हुन्छ भने पनि नयाँ संवत्सर चैत्रशुक्ल प्रतिपदाकै दिन प्रारम्भ भएको मान्ने गरिन्छ । त्यसैले ज्योतिषीय आधारमा यस पटक नयाँ वर्ष २०७६ र शाके संवत् १९४१ चैत्र शुक्ल प्रतिपदा परेको दिन गत २०७५ साल चैत्र २३ गते शनिवारका दिन देखि नै प्रारम्भ हुनेछ । सनातन हिन्दू धर्मसंस्कृतिका कुनै पनि कर्म गर्दा सङ्कल्प उच्चारण गर्ने प्रचलन छ र सङ्कल्पमा अनिवार्य रूपमा संवत्सरको उच्चारण गरिन्छ र यो संवत्सर प्रारम्भ भएको दिन यसै दिनलाई मान्ने गरिन्छ । अतः आगामी २०७६ सालका निमित्त परिधावी नामको संवत्सर रहने छ, गुरु-पुरोहितहरूले यस वर्ष परिधावी नामको संवत्सरको उच्चारण गरी धार्मिक कृत्य सम्पादन गर्नेछन् । संवत्सर भुक्तभोग्य विचार गर्दा सौरमानले वैशाख ०१ गतेदेखि नै प्रमादी नामक संवत्सर प्रारम्भ हुनेछ, तर सङ्कल्पादि गर्दा वर्षभरि नै परिधावी नामको संवत्सरको उच्चारण गर्नुपर्दछ ।

जुन बारदेखि नयाँ संवत्सरको प्रारम्भ हुन्छ, त्यो बारसम्बद्ध ग्रह वर्षभरिका निमित्त ग्रहसभाको राजाको भूमिकामा रहेको मान्ने गरिन्छ । त्यसैले यस वर्ष शनिवारका दिन चैत्र शुक्ल प्रतिपदा परेको छ, अतः शनि आगामी नयाँ वर्ष २०७६ का निमित्त राजा बन्नेछ । त्यसरी नै नयाँ वर्षको वैशाख एक गते जुन बार पर्दछ, त्यस दिनको बारसम्बद्ध ग्रह वर्षभरिका निमित्त ग्रहसभाको मन्त्री पदमा चयन हुने पद्धति छ । यस पटक २०७६ वैशाख ०१ गते आइतवार परेको छ, अतः सूर्य यस पटक ग्रहसभाको मन्त्री पदमा विराजमान रहने छ । यस वर्ष दशाधिकारिणी समितिमा राजा पदमा शनिश्चर, मन्त्री पदमा सूर्य, सस्येश पदमा बुध, धान्येश चन्द्रमा, मेघेश शनि, रसेश शुक्र, निरसेश बुध, फलेश शनि, धनेश मङ्गल र दुर्गेश पदमा शनि ग्रहको जिम्मेबारी देखिन्छ । आकाशीय दशाधिकारिणी समितिमा वर्षनायकका रूपमा शनिश्चर र मन्त्री अर्थात् अमात्य पदमा सूर्यको उपस्थिति छ । गत वर्ष यस परिस्थितिको ठीक विपरीत थियो, अर्थात् सूर्य राजा र शनिश्चर मन्त्री । तर गत वर्ष ठूलो पदमा ठूलै भूमिकाको ग्रह र सानो पदमा सानै भूमिकाको ग्रह । तर अहिले परिस्थिति विपरीत छ, सानोले ठूलो बन्ने मौका पाएको छ भने ठूलो पदको सूर्यले भूमिका खुम्च्याएर सानो पदको अभिभारा बोक्नु परेको छ । यिनै दुबै ग्रह सूर्य र शनिश्चरको आपसी सम्बन्धका आधारमा आम जीवनजगतको सञ्चालन र व्यवस्थापन हुने आकलनबमोजिम यी दुबै ग्रह परस्परमा उग्र शत्रुताको भाव राख्ने गर्दछन्, त्यसैले आकाशीय प्रशासनिक एकाइमा यी दुबै ग्रहहरूको सर्वोच्च पदमा रहनु आम जनता एवं सत्ता र प्रशासनमा बस्नेहरूका बीचमा सौमनस्यताको अभाव, गम्भीर वैचारिक मतभेद, न्यायपालिका एवं कार्यपालिकाका बीचमा वैचारिक विरोधाभासको परिस्थिति आदि सिर्जना हुने सङ्केत छ । आगामी नयाँ वर्षमा केन्द्रीय सत्ता र स्थानीय एवं प्रान्तीय सत्ताका बीचमा अधिकार, कर्तव्य, हक आदिका विषयमा विवाद, मतभेद र बहस हुने सम्भावना छ । त्यसबाहेक सरकारका मन्त्री तथा कर्मचारी/प्रशासनका बीचमा द्वन्द्व देखा पर्ने सम्भावना छ । त्यसबाहेक सरकारका मन्त्री तथा कर्मचारी/प्रशासनका बीचमा द्वन्द्व देखा पर्ने सम्भावना छ, यो क्रम गतवर्षदेखि नै व्यवहारमा देखिई सकेको छ, जुन आगामी नयाँ वर्ष २०७६ मा अझ टड्कारो ढंगले देखिने कुरा औंल्याउन सकिन्छ । फलतः आम जनतामा विधि, कानून र प्रशासनको झमेला बढ्ने छ, अपराधलाई नियन्त्रित गर्न कतिपय कडा कानूनको निर्माण हुनेछ र कठोर दण्डव्यवस्था लागू गरिने छ । शीर्षस्थ नेताहरूको पारस्परिक सामञ्जस्यको अभावका कारण विकासका योजनाको कार्यान्वयनमा अभाव र सुरक्षासम्बन्धी कमजोरी देखिने छन् । सही सल्लाहकार पहिचानको अभावमा सरकार अनिर्णयको स्थितिमा रहने छ र गलत व्यक्ति एवं संस्थाको सल्लाहअनुसार कार्यान्वयनमा तत्पर हुनाले विवादको स्थिति देखा पर्नेछ । प्रशासनिक क्रियाकलापमा पारदर्शिताको कमी, देशको अपेक्षित विकासको मार्गमा अवरोध आदि सिर्जना हुनेछ ।

ग्रहसभामा सं. २०७६ का लागि विभिन्न भूमिका निर्धारण भएका ग्रहहरूबाट प्राप्त हुने फलको आकलन गर्ने परम्परा छ । अब म शास्त्रीय ढंगले बताइएको फलादेशको वर्णन गर्दछु -
परिधावी संवत्सरको फल यस्तो छ :-

भूपाहवो महारोगो मध्यसस्यार्घवृष्टयः । दुःखिनो जन्तवः सर्वे वत्सरे परिधाविनी ।।
यसको अर्थ हुन्छ -  परिधावी नामको वर्षमा राजा क्रूर बन्नेछन्, महामारी फैलने छ, महँगी, अन्नोत्पादन र वर्षामा मध्यम प्रभाव रहने छ । जनता कष्ट र पीडामा रहने छन् ।

तर यसै वर्ष प्रमादी संवत्सरको प्रभाव पनि देखिने सम्भावना छ । उक्त संवत्सरको फल यस्तो छ :-

प्रमादी वत्सरे तत्र मध्यसस्यार्घवृष्टयः । प्रजाः कथञ्चिज्जीवन्ति समत्सर्याः क्षितीश्वराः ।।
प्रमादी नामको संवत्सरमा अन्नोत्पादन र वर्षामा मध्यम फल, जनतामा येनकेन जीवनगुजारा गर्ने र शासक वर्गमा प्रमाद बढ्ने फलप्राप्ति हुन्छ ।

चैत्र शुक्लपक्षको प्रतिपदा तिथिका दिन जुन बार पर्छ, त्यस बारको आधिपत्यमा ग्रह परिषद्को गठन हुने गर्छ, त्यसैले उक्त दिन शनिवार परेको हुँदा आगामी वर्ष २०७६ को राजा दण्डनायक शनिश्चर हुनेछ । त्यस्तै वैशाख संक्रान्तिका दिन जुन बार पर्छ, त्यसैले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने प्रचलन छ । यस पटक वैशाख १ गते आइतवार परेको छ, तदनुसार ग्रह परिषद्को मन्त्रीको भूमिकामा सूर्य ग्रह रहने छन् । न्यायप्रिय दण्डनायक शनिश्चरको दायित्व सेवक अर्थात् भृत्य (नोकर) को हो, तर उनी राजा बन्नपुगे, त्यसैले उनको प्रमुखत्वमा आम जीवनजगतले यो वर्ष अधिकतम अशुभफल प्राप्त गर्ने सम्भावना हुन्छ, उदाहरणका लागि वर्षामा कमी भएर खडेरी पर्ने, शासकहरूका वीचमा विचार वैमनस्यता र परस्परमा कलह, जनतामा रोग, भोक र शोकको स्थिति, चोरी, तस्करी र फट्याइँमा बृद्धि जस्ता अशुभ फल प्राप्त हुनेछन्, यद्यपि यस वर्ष धनधान्यमा बृद्धि हुने शुभफल प्राप्त हुनेछ । राजा शनिश्चर रहँदा वर्षको फल यस्तो हुन्छ :-

शनैश्चरे भूमिपतौ सकृज्जलं प्रभूत रोगैः परिपीड्यते जनः ।
युद्धं नृपाणां गद तस्कराद्यैर्भ्रमन्ति लोकाः क्षुधिताँश्च देशान् ।
(शनिश्चर मन्त्री भएको वर्षमा जलवर्षाको कमी हुनेछ, जनता रोगव्याधिको चपेटामा पर्नेछन्, राजाहरूका बीचमा कलह र युद्धको वातावरण हुन्छ, तस्कर र फटाहाहरू खुल्लमखुल्ला घुमफिर गर्दछन् र आम जनतामा क्षुधा बढ्ने देखिन्छ ।)

फलाम, मिलमेसिनरी, तेल, काला रङका चिजबिज, रोग, शत्रु, दुःख, स्नायुप्रणाली, मृत्यु, भैंसी, वातरोग, दुब्लोपन, लोभ, अभाव, कन्जुसी, एकान्त, मजदुरी, ठेकेदारी, अन्धकार, निराशा, आलस्य, मूर्खता, अपमान, छाला, पुराना वस्तुहरू, फोहोरमैला र कवाडी सामान, आयु, काठ, अलकत्रा, पिशाच बाधा, जोर्नी, छापाखाना, कोइला, पुरातत्त्व विभाग आदिमा शनिको वास हुन्छ । त्यस्तै शरीरमा कोढरोग, वातरोग, स्नायुरोग, खुट्टा वा घुँडाको रोग, पसिना वा शरीरको गन्ध, हाडजोर्नीको रोग, छालाको समस्या, दुर्घटना, उदासीनता, बाथरोग, थकाइ, पोलियो आदि रोगको कारक पनि शनिलाई नै मान्ने गरिन्छ । शनिश्चर ग्रहको न्यायसम्पादन, दण्डव्यवस्था र पापधर्मको विवेकमा अधिकार हुन्छ । त्यसैले यस वर्ष सरकारमा क्रूरता देखिनु र जनतामा विविध व्यवहारिक र रोगजन्य समस्या देखिनु सामान्य मान्न सकिन्छ ।

आगामी २०७६ सालको ग्रह परिषद्को मन्त्री सूर्य ग्रह छ । सूर्य मन्त्री हुँदा निम्नानुसारको फल प्राप्त हुने उल्लेख गरिएको पाइन्छ :-
जगतसञ्चालक, राजा र क्रूर ग्रह सूर्य ग्रहको मन्त्रीपद निरङ्कुश, क्रूर र अनुशासित हुने हुँदा राजभय, रोगभय एवं चोरीडकैतीको डरका बाबजूद धनधान्यको प्राप्तिले थोरै राहत मिल्नेछ । मन्त्री सूर्य रहँदा वर्षको यस्तो फल प्राप्त हुन्छ :-

नृपभयं गदतोऽपिहितस्करान्प्रचुरधान्यधनादि महीतले ।
रसचयं हि समर्घतमं तदा रविरमात्यपदं हि समागतः ।।
(सूर्य मन्त्री भएको समयमा चोर, फटाहा र गलत तरिकाले धनार्जन गर्नेहरू प्रसन्न हुनेछन्,  पृथ्वीमा धनधान्यको प्रचुरता हुनेछ, रसादि वस्तुको मूल्यमा बृद्धि हुनेछ ।)

सामान्यतया सूर्य ग्रहको प्रभाव सरकारी कामकाज, ऊर्जा उत्पादन, औषधीसित जोडिएका व्यवसाय, वित्तीय कारोबार, अन्नको व्यवसाय, प्रकाश प्रदान गर्ने चिजबिज आदिमा हुने गर्दछ । त्यसैले आगामी वर्ष सूर्य मन्त्री हुने भएकाले राष्ट्रको प्रशासनिक क्षेत्रमा सुधारको सङ्केत देखिंदैछ । विज्ञानप्रविधि, औषधी र रसायनिक पदार्थको कारोबार गर्न वा ती साधन जुटाउन जनता आकर्षित हुनेछन् ।

ज्योतिषीय गणनाबमोजिम यस वर्षको राजाको वास धोबीको घरमा हुनेछ भने उनको वाहन भैंसी रहने छ । त्यसैले कतिपय कामकारबाहीमा जनता र राजा दुबैमा अल्छीपना, योजनाको कमी र जिम्मेबारीबोधको कमी हुने देखिन्छ । यसको प्रभावले जनताको सुखसुविधा र उद्धारका निमित्त सरकारको लापरबाही बढ्ने तथा ढिलासुस्ती बढ्ने सङ्केत देखिन्छ ।

यस पटक कृषि क्षेत्रमा दुई वटा ग्रहको प्रभाव देखिन्छ, वर्षे बालीको जिम्मेवारी (सस्येश) बुधले र हिउँदे बालीको जिम्मेवारी (धान्येश) चन्द्रमाले प्राप्त गरेका छन् ।

सस्येश बुधको फल यस्तो छ :-

जलधरा जलराशिमुचो भृशं सुखसम्मृद्धियुतं निरुपद्रवम् ।
द्विजगणः स्तुतिपाठकरः सदा प्रथमसस्यपतौ सति ।।

धान्येश चन्द्रमा भएमा यस्तो फल पाइन्छ :-

चन्द्रे धान्याधिपे जाते प्रजावृद्धि प्रजायते ।
गोधूमाः सर्षपाश्चैव गोषु क्षीरं तथा बहु ।।
बुध र चन्द्रमाको कृषिक्षेत्रमा प्रभाव रहँदा वर्षे र हिउँदे दुबै बालीमा राम्रो प्रभाव रहने छ । उत्तम वृष्टि हुनेछ, ब्राह्मणहरूले शास्त्र र वेदको अनुसरण गर्नेछन् । समाजमा गलत प्रवृत्ति हुने छैनन्, गहुँ, सर्स्युं, गोरस (दूध, दही, घिउ) को उत्पादनमा बृद्धि हुने भएकाले जनताले सुखसम्मृद्धिको अनुभूति गर्न पाउने छन् र समाज विकासका नयाँनयाँ अवधारणा बन्ने र कार्यान्वयन गरिने छन् ।

सिंचाइ मन्त्रालयको जिम्मेबारी क्रमशः शनि र शुक्रले पाएका छन् । मेघको स्वामित्व शनिश्चर र रसको स्वामित्व शुक्रले गर्दैछन् ।

शनिश्चर ग्रहले मेघेशको जिम्मेबारी प्राप्त गर्दा पाइने फल यसरी बताइएको छ :-

रविसुते जलदस्य पतौ भवेद्विरत वृष्टिवती वसुधा तदा ।
मनसि तापकरो नृपतिः सदा विविध रोगरता जनता यदा ।।

त्यस्तै शुक्र रसेश हुँदा यस्तो फल हुन्छ :-

यजनयाजनकोत्सवकोत्सुका जनपदाः जलतोषितमानसाः ।
सुखसुभिक्षसमोदवती धरा धरणिपा हतपापगणाः ।।

माथिका दुवै श्लोकको भावार्थ हो :-  मेघेश शनिका कारण जलवर्षणमा कमी, जनतामा रोगभय, शासकवर्गमा असन्तोष बढ्ने छ । रसेश शुक्रका कारण जनता धार्मिक कृत्यमा प्रवृत्त हुनेछन्, यज्ञयागादिको सम्पादन हुनेछ, लोकमा सुभिक्ष (सहकाल) बढ्ने छ । सुशासनको प्रत्याभूति हुनेछ ।

बुध ग्रहले यस वर्ष निरसेशको भूमिका निर्वाह गर्दैछ । निरस भनेको ठोस पदार्थ र धातु हो । यसको स्वामित्व पाएको हुनाले बुधले प्रदान गर्ने फलको प्रभाव यस्तो छ  :-

चित्रवस्त्रादिकं चैव शङ्खचन्दनपूर्वकम् । अर्घवृद्धि प्रजायेत नीरसेशो बुधो यदि ।।
यसको भावार्थ हो :- बुधले नीरसेशको भूमिका प्राप्त गरेको समयमा बुट्ट्रे कपडाहरू, सौन्दर्य प्रसाधनका सामाग्रीहरू, फेसन र डिजाइनसँग सम्बद्ध वस्तुहरू, शङ्ख, चन्दन, अत्तर(सेन्ट) आदिको मूल्यमा बृद्धि हुनेछ ।
त्यसबाहेक शनिश्चर ग्रहले नै फलेशको समेत जिम्मेवारी प्राप्त गरेको छ । यसको प्रभावले प्रशस्त फलफूलको उत्पादन त हुनेछ, तर जनताको आपसी कलह, तस्करहरूको बिगबिगी, हिउँ र तुसारो पर्ने हुँदा चिसोजन्य रोगव्याधिको प्रकोप बढ्नाले जनता दुःखी हुनेछन् । त्यस्तै आर्थिक अधिकारको धनेश पद मङ्गल ग्रहले प्राप्त गरेको छ । त्यसैले वैंक, वित्तसंस्था र वित्तीय कारोवारमा शुभ फल प्राप्त हुनेछैन । उपभोग्य सामाग्रीको मूल्यमा बृद्धि हुनेछ, आलस र शारदीय धानको मूल्यमा बृद्धि हुनेछ । यस वर्षमा सुरक्षा निकायको जिम्मेबारी पनि शनिश्चर ग्रहकै जिम्मामा देखिन्छ । यसको प्रभावले देशमा सीमाविवाद देखिने, सीमान्त क्षेत्रमा कलह र असन्तोषको वातावरण बन्ने, देश र सहरमा नाकाबन्दी हुनसक्ने खतरा देखिन्छ ।

विक्रम संवत् २०७६ सालको वार्षिक भविष्यफल
सामान्यतया वैशाख १ गते सूर्यले एउटा राशिचक्र पूर्ण गरी नयाँ राशिचक्रमा प्रवेश गरेको मानिन्छ । व्यक्ति रहेको स्थानमा सूर्यले नयाँ राशिचक्रमा प्रवेश गरेको दिन र समयमा आउने लग्नलाई जगल्लग्न भन्ने गरिन्छ । यस पटक नयाँवर्षका दिन सूर्यले नवीन राशिचक्रमा प्रवेश गरेको बेला नेपालको परिप्रेक्षमा कन्या लग्न रहेको देखिन्छ । चौथो भावमा बृहस्पति, शनिश्चर र केतु, छैटौं भावमा शुक्र, सप्तम भावमा जगल्लग्नको लग्नेश मानिएको बुध ग्रह, अष्टम भावमा सूर्य, नवम भावमा मङ्गल, दशम भावमा राहु र एघारौं भावमा चन्द्रमा बसेर यस वर्षको वर्षप्रवेश कुण्डलीको संरचना भएको देखिन्छ । कुण्डलीको चतुर्थ भावमा बृहस्पति, शनिश्चर र केतुको त्रिग्रह युति रहेको तथा अन्य कोठामा ग्रहहरूको स्वतन्त्र उपस्थिति (क्रमशः छैटौं भावमा शुक्र, सप्तम भावमा बुध, अष्टम भावमा सूर्य, नवम भावमा मङ्गल, दशम भावमा राहु र एघारौं भावमा चन्द्रमा) रहेको देखिन्छ । समग्रमा यी विशेषताहरूले युक्त जगल्लग्न कुण्डलीमा लग्नेश बुध केन्द्रवर्ती भएर सप्तम भावमा रहनु तथा एघारौं राज्य स्थानमा स्वगृही चन्द्रमाको  उपस्थिति कुण्डलीको सकारात्मक पक्ष हो भने अष्टमेश मङ्गल भाग्यमा रहनु, व्ययेश सूर्य अष्टम भावमा रहनु, भाग्येशको छैंटौं भावमा उपस्थिति र चतुर्थ भावमा गुरुचाण्डाल योगको सिर्जना हुनु यस कुण्डलीका नकारात्मक पक्ष हुन् ।

यस वर्ष विभिन्न ग्रहहरू निम्न समयमा बक्री रहने छन् । उक्त समयमा ती बक्री रहेका ग्रहहरूको स्वामीत्वमा रहने राशिहरूमा निराशा, तनाव, छटपटी, काममा बाधा आदि विभिन्न नकारात्मक प्रभाव पर्ने गर्दछ ।

बुध (मिथुन र कन्या राशि) असार १७ देखि साउन ०९ सम्म, कार्तिक ०७ देखि ३० सम्म, फाल्गुन ०३ देखि २६ सम्म
बृहस्पति (धनु र मीन राशि) - बक्री (वैशाख ०१ देखि श्रावण २९ सम्म), अस्त (मंसिर २८ देखि पुस २४ सम्म)
शनिश्चर (मकर र कुम्भ राशि) - वैशाख १३ देखि भाद्र ३० सम्म
यस वर्ष मङ्गल र शुक्र ग्रहको बक्रता रहने छैन ।

अधिकतम विषयहरूको सञ्चालनको दायित्व विषम ग्रहहरूको हातमा भएकाले विषम राजनैतिक र सामाजिक परिस्थितिका कारण आम जनताले अन्याय र अवरोधको सामना गर्नुपर्छ । ग्रहहरूको गोचरगत प्रभावलाई विचार गर्दा शनिश्चर ग्रहले फाल्गुन ०४ गतेसम्म धनु राशिमा र त्यसपछि मकर राशिमा रहने छ । नेपाल देशको नामाक्षर बृश्चिक राशिमा पर्ने र यस वर्ष बृश्चिक राशिको साढेसातीको दशा समाप्त हुने देखिन्छ, तर छिमेकी राष्ट्र भारतको धनु राशि हुनेहुँदा भारतको साढेसातीको अवधि अझ साढे दुई वर्ष बाँकी नै रहने छ । गुरु बृहस्पतिले यस वर्ष गतिमा शीघ्रता र बक्रता देखाउनाले तीनवटा राशि क्रमशः बृश्चिक, धनु र मकर राशिमा विचरण गर्नेछ । त्यस्तै वैशाखदेखि भाद्रसम्म शनिश्चर ग्रहको समेत बक्रता रहने छ । शनिको उक्त बक्र अवधिमा आम जनताले अत्यन्त भय र त्रासको वातावरणमा जीवन धान्नु पर्ने हुन्छ । यसै बीच असार, भाद्र, कार्तिक र माघ महिनाको औंसीको आसपासमा  चतुर्ग्रही ग्रहयोगको सिर्जना हुने र प्रायशः वर्षान्तसम्म नै मिथुन राशिमा राहुको उपस्थिति रहने भएकाले पनि जनमानसमा कष्टको स्थिति सिर्जना हुने सङ्केत छ ।

यस वर्ष लागू हुने संत्वसरको नाम परिधावी र प्रमादी रहेको देखिन्छ, त्यसैले यस वर्ष परस्पर विरोधी भावले युक्त शासकवर्गमा कलह, भारत वर्षको मध्यभागमा विशेष समस्या, असाध्य रोगहरूको उत्पत्ति, मध्यम रूपमा धान्यादि वस्तुहरूको मूल्यबृद्धि जस्ता फलहरू प्राप्त हुनेछन् । शासक वर्गमा पद र सत्ताको उन्माद हुनेछ, परस्परमा मात्सर्य भावले ओतप्रोत हुनेछन् । ससाना कुरामा समेत विचारमा बेमेल भई झगडा र कलहको परिस्थिति बन्नेछ, राज्यमा डर र त्रासको वातावरण बन्नेछ, खण्डवृष्टि र अनावृष्टिको सम्भावना देखिन्छ । आर्द्रा प्रवेशको बिन्दु, नक्षत्र, योग र वेलालाई विचार गर्दा शुभफलको आशा गर्न सकिन्छ । स्वस्थता, सुवृष्टि र धनसम्मृद्धिको उदय भई कल्याणको उदय हुनेछ ।

No comments:

Post a Comment