Mar 19, 2020

एकादशीको महत्व र विशेषता – पण्डित राजेन्द्र खनाल

हरिशयनी एकादशीदेखि छिर सागरमा भगवान विष्णु चिर निन्द्रामा सुत्नुहुन्छ भन्ने पौराणिक कथन छ । हरिशयनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले पनि सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन भगवान विष्णुप्रति समर्पित दिन हो, हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान कार्तिक शुक्ल एकादशी हरिबोधनी एकादशीमा उठ्नुहुन्छ भन्ने जनविश्वाश रहेको छ ।
वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेद समेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतीक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी यस वनस्पतीलाई आङ्गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ ।
बैदिक सनातन सस्कारमा तुलसी पूजाको ठूलो महत्व छ । हजारौं बर्षदेखि सनातन सस्कारीहरु प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आआफ्नो दैनिकीमा लाग्ने गरेका छन् । जन्म, मृत्यू देखि हरेक सनातन सस्कारमा तुलसी को बिरुवा अनि पातको महत्व हुन्छ । तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि कैयन घर अनि परम्परामा बिधमान छ । आँगनको छेउको तुलसी मोठ बिवाह ब्रतबन्ध लगायत मृत्यूशैया सम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ । तुलसीको फुललाई सुकाएर राखेर प्रयोग गरिन्छ, यी फुललाई मञ्जरी भनिन्छ । त्यस्तै तुलसीको डाँठलाई काटेर सुकाएर आएका मसिना काठ जस्ता टुक्राका पवित्र माला अत्यन्त पवित्र मानिन्छ ।
पद्म पुराणमा बिन्दा देवी ले पृथ्वी मा आएर भगवान बिष्णु लाई आफ्नो पतिा रुपमा पाउन गरेको तपस्यासंग तुलसीको महत्व लाई गासिंएको पाइन्छ । त्यस्तै श्रिमद्ध भागवतको ३ को ५ को १९ औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।
भोजनलाई सदैव तुलसीको पात राखेर मात्र सेवन गर्ने भगवान श्रि कृष्ण लाई तुलसीसंग जोडिएका प्रसंगहरु धेरै छन् । गौतमीय तन्त्र अनुसार भक्तहरुले हत्केला भरिको पानी र तुलसीको पातमात्र सफा हृदयले अर्पण गरेमा श्रि कृष्णको कृपाले सम्पूर्ण फल प्राप्त हुने महिमा छ । स्कन्द पुराण्ले पनि तुलसी को पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ ।
औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ । तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाँउदा रुद्रि पूजा पनि गरिने चलन छ । अब त खेतमा धानका वाला पनि लहलहाउन थालिसके, नयाँ धानको चामल कुटेर त्यस्मा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ । यस अर्थमा आजको दिन यसवर्षको नयाँ अन्नको औपचारीक प्रयोग गर्ने दिन पनि हो ।
आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ । विष्णु भगवानलाई नारायणका नामले पनि पूजिन्छ र यीनै नारायण र काठमाण्डौ उपत्यकाको एउटा परम्परागत र परापूर्वकालिन सम्बन्धको समेत आज यहाँ चर्चा गर्न जाँदैछौं ।
परापूर्वकालमा काठमाण्डौ शहरमाथी भगवान विष्णुको अनुकम्पा रहिरहोस भनी उपत्यकाको चारैतर्फको कुनामा विष्णुको प्रतिमा राखिएको हो जसको प्रतापका कारण विष्णुको अनुग्रह काठमाडौ शहरमा हरेक पिढी दरपीढि कायम रहने सामाजिक मान्यता रहेको पाइनछ । काठमाडौको पश्चिममा इचङ्गु नारायण, पूर्वमा चाङ्गु नारायण, उत्तरमा विशखुं नारायण अनि दक्षिणमा शेष नारायणका रुपमा विष्णुले काठमाण्डौलाई हेरिरहेको जनविश्वाश छ ।
पहिले पहिले हरिवोधनी एकादशीमा भक्तहरु विष्णु प्रतिमा रहेको आफूलाई पायक पर्ने मन्दिरमा खाली खुट्टा हिँडेर सूर्य उदाँउदा देखि अस्ताँउदासम्म पूजापाठ गरेर बस्ने चलन थियो । यसक्रममा भक्तजनहरु उपत्यकाको चारै नारायण एकैदिनमा हिँडेर पुग्ने पनि गर्दथे भन्ने कथन छ । यसरी हिँडेर चारै नारायण पुग्ने तिर्थालुहरु अन्त्यमा फर्पिङ्गको शेष नारायणमा पुगेर आफ्नो तिर्थाटन समापन गर्ने गर्दथे ।
शेषको अर्थ अन्त्य भन्ने हुन्छ र नारायण दर्शनको समापनविन्दु पनि त्यहीं हुने गरेको भनाई छ । यसरी चारवटै नारायणको दर्शनार्थ पुग्नसक्ने भक्तालुहरुकालागि पाटनको कृष्ण मन्दिरको छेउमा चारनारायण मन्दिरमा उपत्यका वरिपरिका चारै नारायणको प्रतिमा राखिएको र सहज रूपमा दर्शन गर्ने व्यवस्था गरिएको हो ।
उतिबेला मानिससँग धेरै समय र भक्तिकालागि समय भएकाले पनि दिनभरि मन्दिर परिसरमा बस्ने गर्दथे र साँझ परेपछी फर्किने चलन भएको उपत्यकामा अझैपनि वृद्धवृद्धाले बताउने गर्दछन तथापि अहिले पनि यि नारायणहरुमा भक्तजनहरुको प्रशस्तै भिड हरिबोधिनी एकादशीको दिन देख्न सकिन्छ ।
यस बाहेक नेपालभर छरिएर रहेका भगवान विष्णुका मन्दिर अनि तिर्थस्थलमा तिर्थाटन गर्ने भक्तजनहरुको आज ब्यापक भिड रहने गर्दछ ।
नमोः नवः तुलसी कृष्ण प्रियशी
कृष्ण राधा सेवा को सबै अभिलासी
हरिवोधनी एकादशीको शुभकामना !
————————
तुलसी विवाह
देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः ।
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।

कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको यसै दिन तुलसीको विवाह विष्णु भगवानसंग भएको थियो, शालिग्राम वा पिपलसंग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह हो ।
यस दिन विहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र विष्णु भगवानको पूजन सहित तुलसी विवाहगरी व्रत वस्ने परम्परा रहेको छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगनगरी सजाएर चारैतिरबाट ऊखु, साल, बाँस या नियालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ । दियो, कलश, गणेश सहित सबै देवी-देवताहरुको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पणगरि प्रसाद स्वरूप न्वागी खाने प्रचलनपनि रहेको छ ।
पूजाविधि
तुलसी नामाष्टक:
वृन्दां वृन्दावनीं विश्वपावनीं विश्वपूजिताम्।
पुष्पसारां नन्दिनीं च तुलसीं कृष्णजीवनीम्।।
एतन्नामष्टकं चैतस्तोत्रं नामार्थसंयुतम्।
यः पठेत्तां च संपूज्य सोऽश्वमेधफलं लभेत्।।
महाप्रसादजननी सर्व सौभाग्यवर्धिनी।
आधि व्याधि हरा नित्यं तुलसी त्वं नमोस्तुते।।
पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नम: भन्दै पाद्य जल, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दिप, नैवेद्य, ऋतुफल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन रहेको छ, त्यसपछि पहेंलो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ र एउटा नारिवल, दक्षिणा सहित भगवान् शालिग्राम हातमा लिएर तुलसीजीको सात पटक परिक्रमा गर्नुपर्दछ तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ र यसदिन विष्णुभगवानको भजन किर्तन गरी रातभरी जागराम बस्ने चलनपनि रहेकोछ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकरको मनोकामना प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।
कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा गर्नु अशुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर-घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।
कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । ‘गरुडपुराण’मा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्छ ।
आजका दिन विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ” भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले बताए । ‘यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास छ’, उनले भने ।
किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । आजको ठूलो एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चारनारायण (भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण) स्थानमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा गर्नु अशुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर-घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।
कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । ‘गरुडपुराण’मा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्छ ।
आजका दिन विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ” भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले बताए । ‘यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास छ’, उनले भने ।
किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । आजको ठूलो एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चारनारायण (भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण) स्थानमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
स्रोत: एकादशी माहात्म्य तथा हाम्रो पात्रो

Dec 21, 2019

राशिफल नयाँ वर्ष 2020 AD (Yearly Horoscope Prediction)



Check out your Nepali Rashifal 2020 now and know how the year is going to be for you. This Nepali horoscope for 2020 is based on the ancient principles of Vedic Astrology. It will guide you through thick and thin of the year. You will also get remedial measures to avoid pitfalls. Let’s have a look at it now:


२०२० मा तपाईँका ग्रह नक्षत्र कस्ता छन्? वार्षिक राशिफल २०२० सुनेर/हेरेर आफ्नो भविष्यबारे पूर्णरूपेण जानकारी प्राप्त गर्नुहोस् । यो फलादेश वैदिक ज्योतिषमा आधारित ग्रहगणनाका आधारमा तैयार गरिएको हो । तपाईँको जीवनका विभिन्न पक्षहरू जस्तै नोकरी, व्यापार, सम्पत्ति शिक्षा र स्वास्थ्यका विषयमा यी भविष्यवाणिको माध्यमबाट थाहा पाउनुहोस्।




Dec 12, 2019

धान्य पूर्णिमा/योमरी पुन्ही/साकेला/चासोक ताङनाम || सबै नेपालीको साझा पर्व || Dhanya Purnima

आज मंसिर २६, २०७६ बिहीवार । धान्यपूर्णिमा । धान पाकेर जताततै पहेंलपुर देखिने र जूनको प्रकाशमा अझ सौन्दर्यपूर्ण एवं प्रकृतिको आभा झल्कने महत्त्वपूर्ण दिन ।

कृषि नै मुख्य जीवनवृत्ति भएका नेपालमा बाहुन, खसक्षेत्री, याक्खा, लिम्बू, राई, सुनुवार, तामाङ, भोटे, मगर, गुरुङ, थारु, मधिसे आदि सबैले कुनै न कुनै विधिविधानको प्रयोग गरी नयाँ अन्न भित्र्याउने र कुल–पितृ/पिता–पुर्खालाई समर्पण गरी उपभोग गर्न थाल्ने महत्त्वपूर्ण दिन । आउनुहवस् यस पर्वको शास्त्रीय, सामाजिक र आर्थिक महत्त्वलाई बुझ्ने प्रयास गरौं :-




Dec 10, 2019

दत्तात्रेयका चौबीस गुरु || Dattatreya Jayanti

सनातन धर्मान्तर्गत त्रिदेव ब्रह्मा, विष्णु र महेशद्वारा प्रचलित विचारधाराको सम्मिश्रण गर्न भगवान् दत्तात्रेयले जन्म लिएका हुन्, अतः यिनलाई त्रिदेवको एकीकृत स्वरूप पनि मानिन्छ। त्यस्तै दत्तात्रेयलाई शैवमार्गीहरू भगवान् शिवको अवतार हो भन्दछन् भने वैष्णवहरू भगवान् विष्णुको अंशावतार मान्दछन्। ब्रह्माजीका मानसपुत्र महर्षि अत्रि यिनका पिता हुन् र कर्दम ऋषिकी कन्या र साङ्ख्यशास्त्रका प्रवक्ता कपिलदेवकी दिदी सती अनुसूया यिनकी माता हुन्। 

Dec 9, 2019

आज सोमप्रदोष व्रत || यसरी शिवलाई प्रसन्न तुल्याउनु होस्

प्रदोष व्रत
व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ । भगवान शङ्कर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रन्थहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ । यिनै विधानहरू मध्ये एउटा व्रत हो - प्रदोष व्रत ।

के हो प्रदोषकाल
प्रत्येक दिन सूर्यास्तपछिको दुई घडी (लगभग ४८ मिनेटको समय) प्रदोष काल हो ।(प्रदोषोऽस्तमयादूर्द्ध्वं घटिकाद्वयमिष्यते ॥) तर ज्योतििषीय मतमा  रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ ।  कतैकतै सूर्यास्तपछि तीनप्रहरसम्म त कतै मध्यरात्रीपर्यन्त प्रदोषकाल रहने बताइएको पाइन्छ । सामान्यतया प्रदोषकाल प्रत्येक शुभ कार्यका निमित्त निषिद्ध समय मान्ेद गरिन्छ । तर त्रयोदशी तिथिको संयोगले उक्त समय अमृत काल बन्ने गर्दछ । यस प्रसङ्गमा विभिन्न धर्मग्रन्थ र स्मृतिहरूमा निम्नानुसार वर्णन गरिएको भेटिन्छ :-

रात्रौ यामद्वयादर्वाम्यदि पश्येत्रयोदशीम् । सा रात्रिः सर्वकर्मघ्नी शङ्कराराधनं विना ? ॥ - बृद्धमनुः
(रात्री प्रारम्भ भएको दुई प्रहरभित्र त्रयोदशी तिथि देखिएमा भगवान् शङ्करको आराधना नगरेमा समस्त कर्मको नाश हुन्छ ।)

त्रयोदशी यदा रात्रौ यामस्तत्र निशामुखे। प्रदोष इति विज्ञेयो ज्ञानार्थी मौनमाचरेत् ॥ - बृद्धगार्ग्यः
(रात्रीकाल प्रारम्भ भएको समय यदि त्रयोदशी तिथि छ भने त्यसलाई प्रदोष मान्ने गरिन्छ, उक्त समयमा ज्ञानार्थी सज्जनहरूले मौन रहेर ईश्वर आराधना गर्नुपर्दछ ।)

भोजनं मैथुनं यानमभ्यङ्गं हरिदर्शनम् । अन्यानि शुभकार्याणि प्रदोषे नैव कारयेत् ॥ - बृद्धगार्ग्यः
(भोजन, मैथुन, यात्रा, शरीरमा तेल लगाउने, भगवान् श्रीहरिको दर्शन वा पूजाअर्चना लगायत अन्यान्य शुभकार्यहरू प्रदोषकालमा गर्नुहुँदैन)

प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ । प्रदोष कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत सम्पादन गरिने दिन हो । यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ । व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ । प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ । सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ । यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ । 

Dec 8, 2019

गीता जयन्ती। कसरी गीताको स्वाध्याय गर्ने || Geeta Jayanti

द्वापरयुगका श्रीकृष्णकालीन महर्षि वेदव्यासको आविर्भाव हुनुभन्दा पहिले कुनै पनि शास्त्र पुस्तकका रूपमा उपलब्ध थिएन। श्रुतिज्ञानबाट सञ्चित परम्परालाई पुस्तकाकारमा सञ्चित गर्ने परिपाटी भगवान् वेदव्यासबाट नै भएको हो। यी व्यासको नाम कृष्णद्वैपायन थियो। उनले चारैवटा वेद, ब्रह्मसूत्र, महाभारत, श्रीमद्भागतादि अष्टादश पुराणादि ग्रन्थ एवं पूर्वसञ्चित भौतिक र आध्यात्मिक ज्ञानराशिलाई सङ्कलित गरे र अन्त्यमा उनले आफैंले निर्णयात्मक स्वरमा भने ‘सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः।’( गाईबाट निःसृत हुने अमृतरूपी दुग्ध झैं समस्त वैदिकवाङ्मयको प्राण र उपनिषद्हरूको सारतत्त्व गीता हो, यस अमृततत्त्वलाई भगवान् श्रीकृष्णले दुहुनुभयो र अशान्त जीवलाई परमात्माको दर्शन तथा साधना गर्ने अवस्था दर्शाएर शाश्वत शान्तिको स्थितिमा पुग्न सरलपथको निर्देशन गर्नुभयो।) गीता संजीवनी विद्या हो। गीताको जीवन दर्शन-अनुसार जीवात्मा महान् र अमर हुन्छ। असीम शक्तिको भण्डारका रूपमा प्राणिमात्रलाई लिन सकिन्छ।  गीतामा जम्मा अठार अध्याय छन्। महाभारतको युद्ध पनि अठार दिनसम्म भएको थियो। गीतामा ७००(सातसय) श्लोक रहेका छन्। श्रीमद्भगवद्गीतामा भक्ति तथा कर्मयोगको सुन्दर समन्वय छ। यसमा ज्ञानलाई सर्वोच्च स्थान प्रदान गरिएको छ, ज्ञानको प्राप्तिमा नै मनुष्यका आशङ्का र भ्रमको निवारण र वास्तविक समाधान हुन्छ। त्यसैले गीतालाई सर्वशास्त्रमय मानिन्छ।

योगीराज भगवान् श्रीकृष्णले प्राणी मात्रका लागि उपदेश छ- कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि॥ (कर्म गर, तिम्रो कर्तव्य कर्म गर्नुमा छ, फलको आशा नगर, फलको आकाङ्क्षा र फलप्राप्तिको दृष्टिकोण लिएर कुनै पनि कर्म नगर, कर्म गर, त्यो तिम्रो कर्तव्य हो तर निष्काम भावले, फलप्राप्तिको इच्छाले कर्म गर्ने व्यक्ति विफल भएर दुखी हुन्छ) महर्षि वेदव्यासले आँफुले सिर्जना गर्नु भएको यस कृतिलाई मुख्य शास्त्रको संज्ञा प्रदान गर्दै बताउनुभयो-

गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैः।
या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिः सृता।।
- (महाभारत, भीष्मपर्व ४३/१)

(गीता हृदयमा मननपूर्वक धारण गर्न योग्य शास्त्र हो, जुन पद्मनाभ भगवान् श्रीकृष्णका मुखारविन्दबाट निःसृत वाणी हो, त्यसैले गीताको उपस्थितिमा अन्य शास्त्रको आवश्यकता छैन। )


गीताको महात्म्यका क्रममा प्राप्त हुने निम्न श्लोकले गीताले स्थापना गरेको आधारभूत मान्यतालाई अझ स्पष्ट्याएको छ -

एकं शास्त्रं देवकीपुत्र गीतं एको देवो देवकीपुत्र एव।
एको मंत्रस्तस्य नामानि यानि कर्माप्येकं तस्य देवस्य सेवा।।
 - (गीता महात्म्य)

( गीता एउटा मात्र त्यस्तो शास्त्रहो जसलाई प्राप्त गर्न योग्य देव देवकीपुत्र भगवान् श्रीकृष्णले आफ्ना श्रीमुखबाट गाउनुभयो। गायनको त्यस गायनका क्रममा जुन सत्यको उद्घाटन भयो, त्यो ज्ञानतत्त्वको सारवस्तु हो - आत्माबाहेक शाश्वत सत्य केही पनि छैन।)

मोक्षदा एकादशीका दिन गीता जयन्ती मनाउने प्रचलन छ। यो एकादशी प्रत्येक वर्ष मंसिर महिनाको शुक्लपक्षको एकादशीका दिन पर्दछ। द्वापरयुगको अन्त्यमा यसै तिथिका दिन करूक्षेत्रको रणस्थलीमा कर्मबाट विमुख भएका अर्जुनलाई भगवान् श्रीकृष्णले गीताको उपदेश गर्नुभएको थियो।

न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे॥

(यो आत्मा कहिल्यै पनि न त जन्मन्छ र न मर्दछ नै, न यसभन्दा पहिले नै थियो, न पछि नै हुनेछ, किनभने जीवात्मा अजन्मा, नित्य, सनातन र पुरातन रूपमा रहने गर्दछ, शरीर मर्दा पनि जीवात्मा मारिने वस्तु पनि होइन।)

वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि।
तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही॥

( जसरी मनुष्यले पुराना लुगा फुकालेर अर्को नयाँ लुगा पहिरन्छ, त्यसरी नै जीवात्माले पुरानो शरीरलाई त्यागेर अर्को नयाँ शरीरलाई ग्रहण गर्दछ।)

कुरुक्षेत्रको रणभूमिमा अर्जुनले भगवान् श्रीकृष्णसित भने- 'भगवन् ! म झगडा गर्दिन, युद्ध गर्दिन, आफ्ना बन्धुवान्धभहरू तथा गुरुको संहार गरेर प्राप्त भएको राज्यसुख भोग्ने इच्छा छैन। यिनै अर्जुन केही समयपूर्व कौरवका समस्त सेनालाई धराशायी बनाउने सङ्कल्प गर्दैथिए, १२ वर्षसम्मको वनवासपछि एकवर्षको गुप्तवासमा परिस्थितिवश क्लीव(नपुंसक) पनि भएका थिए, तर युद्धको निर्णयात्मक मैदानमा उनी एकाएक कर्मबाट विमुख भए। त्यसरी कर्तव्यबाट विमुख भएका अर्जुनलाई जुन उपदेश प्राप्त भएको थियो, त्यसै सङ्गालोलाई गीता भनिन्छ। विश्वका महान् ग्रंथहरूमध्ये गीताको गणना हुने गर्दछ। आद्यजगद्गुरु शङ्कराचार्यदेखि प्रारम्भ भएको गीताको महत्त्व दर्शाउने क्रम अद्यापि जारी छ। प्रसिद्ध विद्वान् पण्डित लोकमान्य तिलकले गीताबाट 'कर्मयोग' र अहिंसावादी नेता महात्मा गान्धीले 'अनाशक्तियोग'को विवेचना र प्रतिपादन गरेकाछन्। गीताको महत्त्वलाई प्रतिपादन गर्दै महात्मा गान्धीले व्यक्त गरेका छन्- 'जब म कुनै विषयमा विचार गर्न, गहिराइमा पुग्न वा निर्णय गर्न असमर्थ हुन्छु, त्यतिबेलाको मेरो आश्रय र सहारा गीता नै हुने गर्दछ, गीताबाट नै मलाई प्रेरणा प्राप्त हुन्छ।

गीता अमृत हो, यस अमृतको पान गर्नाले प्राणी अमर हुन जान्छ। गीताको प्रारम्भ धर्मबाट र अन्त्य कर्मबाट हुन्छ। गीताले मनुष्यलाई प्रेरणा प्रदान गर्दछ। 'मनुष्यको के कर्तव्य हो त?' यसै जिज्ञासा परिशमन गर्नु र बोध गराउनु गीताको लक्ष्य हो। यसै आधारमा अर्जुनले स्वीकार गरेका थिए -'भगवन् ! मेरो मोह भङ्ग भएको छ, अज्ञानबाट म ज्ञानतर्फ प्रविष्ट भएको छु, हजुरको आदेशको पालना गर्न म कटिबद्ध छु। अस्तु ॥

मोक्षदा एकादशीको व्रत || मंसिर २२ आइतवार || Mokshada Ekadashi Vrat Katha...



आज मंसिर २२ गते आइतवार । ८ डिसेम्बर २०१९ । मोक्षदा एकादशी व्रत र गीता जयन्ती ।

विभिन्न पुराणहरूमा मोक्षदा एकादशीको व्रतकथा र महात्म्यको उल्लेख गरिएको छ । पद्मपुराणमा बताइए अनुसार सत्ययुगमा राजा वैखानसले आफ्ना अगतिमा परेका पिताको मोक्षका निमित्त यस मोक्षदा एकादशीको व्रत लिएका थिए र अगतिमा परेका पितृको उद्धार गरेका थिए । त्यसैले हरेक वर्ष मार्ग महिनाको शुक्लपक्षको एकादशीलाई मोक्षदा एकादशीका रूपमा मनाउने चलन चलेको हो ।
त्यस्तै भगवान् श्रीकृष्ण्का मुखारविन्दबाट अर्जुनका निमित्त सर्वप्रथम गीताको उपदेश गरिएको दिन पनि आज नै हो । त्यसैले आज गीताको जन्मदिन मान्ने गरिन्छ । आजबाट नियमित रूपले गीताको स्वाध्यायन र पाठ थाल्ने नियम पनि छ ।
आउनुहवस् सम्पूर्ण जानकारीका लागि तलको भिडियो खोलेर श्रवण गरौं ।

Dec 1, 2019

विवाह पञ्चमी




राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग शुक्ल पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ। सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ। उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ। राम र जानकीको स्वयंवर भएको जनविश्वास रही-आएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा-लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । हजारौं वर्ष पूर्व त्रेतायुगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ। अहिले पनि हिन्दु जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा मुलुकलगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।


हुन त जनकपुरधाममा हरेक महिनाको पूर्णीमाका दिन पनि मासिक रूपमा मेला लाग्छ। त्यस्तै चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा एवं त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ, त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा(जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ, तर ती सबै उत्सव, चाडपर्व र समारोहहरूमध्ये हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ।



यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा(बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ। अयोध्याबाट आउने जन्ती समूह(बाराती समूह)लाई यस अघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ। यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव(कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुन्छ। त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परा-अनुसार कन्यापक्षका तर्फबाट गरिने 'मटकोर'कर्म गंगासागरमा पुगेर निर्वाह गरिन्छ। पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ। त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल(घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्‍याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ। राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्‍याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा-अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।

Dec 12, 2017

बालागुरु षडानन्द

क्षमामण्डले भूपभूपालवृन्दैः सदा सेवितं यस्य पादारविन्दम्॥
मनश्चेन्न लग्नं गुरोरङ्घ्रिपद्मे ततः किं ततः किं ततः किं ततः किम्


महामना सन्तहरू प्रकृति जस्तै उदात्त भावका हुन्छन् । पृथ्वी, जल, तेज, वायु र आकाश जस्तै परहितका निमित्त सधैँ समर्पित रहन्छन् । मैनबत्तीले झैँ आफू नसकियुञ्जेल उज्यालो ज्योति छरिरहनु उनीहरूको धर्म हो । यस्तै धर्म निर्वाह गरेर सधैँ बाँचे - भोजपुरको दिङ्लाका सन्त आवाल ब्रह्मचारी षडानन्द अधिकारी, जसले राणाकालीन अन्धकार युगमा शिक्षा, संस्कृति र सदाचारको ज्योति जगाई नेपाललाई आलोकित तुल्याएका थिए ।

षडानन्द अधिकारीको जन्म विक्रम संवत् १८९२ साल मार्ग शुक्ल पञ्चमीका दिन नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो । यिनका पिताको नाम लक्ष्मीनारायण अधिकारी तथा माताको नाम रुक्मिणी हो । षडानन्द उनका मातापिताका कान्छा सन्तान हुन् । गर्भमा हुँदै पिताको स्वर्गवास भएको हुँदा यिनले आफ्ना पिताको लाडप्यार पाउन सकेनन् । अधिकारीको लालनपालन दाजुभाइको रेखदेखमा र आमाको काखमा भएको देखिन्छ । यसरी गर्भे टुहुराका रूपमा जन्म लिएका यी प्रतापी पुरूषलाई मानिसहरू बाला गुरु उपाधिद्वारा पनि सम्बोधन गर्थे ।

जन्मनक्षत्रका आधारमा अभिजित् नक्षत्रमा जन्म भएकाले सुरुमा यिनको नाम खडानन्द राखिएको थियो । बाल्यकालमा यिनलाई खडु पनि भनिन्थ्यो । पछि आबाल ब्रह्मचारी, ब्रह्मचारी र गुरु षडानन्द भनियो । तथापि यिनका सान्निध्यका शिष्य र भक्तहरु बाला गुरु एवम् गुरु महाराज भन्न रुचाउँथे । षडानन्द बाल्यकालमा सुनेको कुरा आफू गुरु बनेर अरूलाई सुनाउँथे रे । बालक कालमा नै उनले गुरु बनेर पढाएको हुँदा स्थानीय व्यक्तिहरुले उनलाई बाला गुरुभन्दा भन्दै यो नाम प्रसिद्ध भएको हो । उनी बालक कालदेखि नै आजीवन ब्रह्मचर्यमा रहेका हुनाले आबाल ब्रह्मचारी नामले चिनिए । त्यसै गरी ठुला गुरुलाई सम्मान जनाउन गुरु शब्दका अगाडि महाराज शब्द जोडेर भन्ने चलन थियो । तत्कालीन शासक राणाजीहरुले पनि मानेका उनी त्यस समयका ठुला गुरु थिए । त्यसैले उनलाई गुरु महाराज भनिन्थ्यो । अहिले पनि धेरै मानिसहरु उनलाई बाला गुरु र गुरु महाराज नामले नै बढी चिन्दछन् ।

यिनको आठ वर्षको उमेरमा यज्ञोपवीत संस्कार (व्रतबन्ध) भयो । व्रतबन्धपछि यिनी विद्याध्ययनका लागि जनकपुर गए । हाम्रो वैदिक परम्पराअनुसार द्विजातिको ब्रतबन्धभन्दा पहिल्यै गर्नुपर्ने चूडाकर्म, विद्यारम्भ र व्रतबन्धभन्दा पछि अध्ययन सकेर गर्नुपर्ने समावर्तन समेत सबै कर्म व्रतबन्धकै दिन गरिन्छ । व्रतबन्धपछि देशान्तर लाने चलन छ । त्यही देशान्तर जाने समय भएपछि षडानन्द अधिकारी व्रतबन्धस्थलबाटै जनकपुरतिर लागेका हुन् । यसरी घर त्यागेर विद्याध्ययनका लागि जनकपुरसम्म पुग्नुमा यिनकी सहोदर दिदीको प्रेरणा रहेको भन्ने किंवदन्ती पनि छ । षडानन्दले जनकपुरमा ब्रह्मचर्याश्रममा रही गुरुकुल पद्धतिमा १० वर्षसम्म अध्ययन गरे । मिथिलाञ्चल त्यतिबेला पनि ज्ञान र दर्शनका लागि प्रख्यात थियो । त्यहाँ यिनले संस्कृत भाषा तथा साहित्य, व्याकरण र वेदवेदाङ्गको अध्ययन गरेका थिए । त्यसपछि यिनी भारतको वाराणसी गए । बनारसको मुमुक्षु भवनमा बसेर यिनले संस्कृतको उच्च अध्ययन गर्नुका साथै तन्त्र र योगको साधना समेत गरेको देखिन्छ । योग साधनाका क्रममा उनले भारतका विभिन्न स्थानको भ्रमण गरेका थिए । उनले चौबिस पटक गायत्री पुरश्चरण गरेका थिए । यसै क्रममा यिनले वाग्मती नदीको किनारमा रहेको पत्थर घट्टामा बसी तपस्या गरेका थिए । त्यस्तै देवघाट र केही वर्ष पोखराको सेती नदीको किनारमा बसेर पनि अष्टाङ्ग योग साधना गरेको चर्चा सुनिन्छ । यिनी पट्टल बाँधेर योग साधनामा रहँदा भुँइबाट एक हातमाथि आकाशमा समेत उठ्तथे भन्ने किंवदन्ती छ । यिनी आफ्नो अध्ययन पुरा गरी योग साधकका रूपमा स्थापित भएपछि मातृभूमिका लागि पनि केही गर्नुपर्छ भन्ने धारणाका साथमा विक्रम संवत् १९३१ सालमा आफ्नो जन्मस्थल दिङ्ला फर्किए ।

बाला गुरु षडानन्दले विक्रम संवत् १९३२ चैत्रशुक्ल राम नवमी, सोमवारको शुभ साइतमा दिङ्ला, भन्ज्याङको रमणीय उच्च स्थल कैलाशमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरे । गडीगाउँको कैलासमा स्थापित विद्यालय १९५५ सालमा भन्ज्याङमा सारियो । विद्यार्थी सङ्ख्यामा बृद्धि हुँदै गएपछि मन्दिर परिसरमा नै पठनपाठनमा कठिनाइ भएपछि पुनः २०२१/२२ सालमा मन्दिर परिसरदेखि पूर्वको डाँडामा नयाँ भवन निर्माण गरी प्रधान पाठशाला सारियो । उक्त विद्यालय हाल पनि त्यही भवनमा सञ्चालन हुँदै आएको छ । १९३२ सालमा स्थापित विद्यालयको नाम २०१५ सालसम्म पाठशाला थियो । २०१६ सालमा षडानन्द संस्कृत प्रधान पाठशाला नामकरण भयो । २०२१/२२ सालमा षडानन्द संस्कृत महाविद्यालय प्रस्तावित भएको थियो । त्यो प्रस्तावमा मात्र सीमित रह्यो । २०३० सालमा नयाँ शिक्षा योजना लागु भएपछि षडानन्द संस्कृत माध्यमिक विद्यालयका रूपमा अद्यापि सञ्चालन भइ रहेको छ । विद्यालयमा प्रारम्भमा चण्डी, रुद्री, वेद, लघु कौमुदी, अमर कोश, ज्योतिष आदिको पठनपाठन हुने गर्थ्यो । केही समयपछि तह छुट्याएर पढाउने व्यवस्था भयो र आफ्नै पाठ्यक्रम बनाई सो अनुसार परीक्षा लिने व्यवस्था भएको देखिन्छ । ‘जो विद्याको पढनाको इच्छा हुन्छ, सो सुबिस्तासाथ पढून्...............’ भन्ने धर्म पत्रिकाको कथन अनुसार संस्कृतका अतिरिक्त व्यावहारिक जीवनका लागि आवश्यक स्रेस्ता, गणित आदि विषयको पनि पठनपाठन हुने गर्थ्यो भन्ने कुरा अनुसन्धानबाट पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि केही वर्ष त्रिविकै पाठ्यक्रमबमोजिम यस विद्यालयमा पढाइ भएको पनि देखिन्छ । नयाँ शिक्षा योजना (२०३०) लागू भएपछि नेपाल सरकारको स्वीकृत पाठ्यक्रम बमोजिम यहाँ पठनपाठनको व्यवस्था छ । बाला गुरुले प्रारम्भका वर्षहरूमा आफैले अध्यापन कार्य सञ्चालन गरेका थिए ।

जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो । भनिन्छ, यस पाठशालामा त्यस भेगका विद्यार्थीका अतिरिक्त नेपालको गुल्मी, सल्यान, प्युठानसम्मका र भारतको सिक्किम तथा असम (आसाम) समेतका विद्यार्थीहरू आई अध्ययन गर्दथे । यस विद्यालयमा वेद, व्याकरण, ज्योतिष तथा साहित्यको अध्यायन अध्यापनका लागि छुट्टा छुट्टै कक्षाकोठाको व्यवस्था गरिएको थियो । त्यसै गरी विद्यार्थी र शिक्षकहरूको अध्ययनका लागि पुस्तकालयको व्यवस्था समेत गरिएको थियो । अद्यापि केही दुर्लभ ग्रन्थहरू त्यहाँ सुरक्षित रहेका छन् ।

कुनै पनि कुराको निर्माण गर्नु तथा कुनै परम्पराको थालनी गर्नु जति चुनौतीपूर्ण हुन्छ, त्यति नै त्यसको संरक्षण तथा अनन्त कालसम्म सञ्चालन गर्ने व्यवस्था गर्नु पनि चुनौतीपूर्ण हुन्छ । आबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, विद्यालय, पुस्तकालय, बरबगैंचा आदि कार्यहरू सुचारु रहुन् र दीर्घ कालसम्म तिनको संरक्षण होस् भन्ने उद्देश्यले उनले करिब १०००/१२०० मुरी अन्न उब्जनी हुने एउटा बृहत् गुठीको स्थापना गरेका थिए । २०३६ सालको नापी अनुसार सो गुठीको क्षेत्रफल १७५३ रोपनी रहेको बुझिएको छ । उक्त गुठीलाई कानूनी मान्यताका लागि तत्कालीन सरकारबाट लाल मोहोर गराएका थिए । यिनले गुठीको आम्दानीबाट मन्दिरको संरक्षण र पूजनादि कार्य, पुजारी, शिक्षक/अध्यापक, टहलुवा, नगर्ची आदि कर्मचारी र कामदारलाई पारिश्रमिक, विद्यार्थीलाई छात्रवृत्ति र पर्वपर्वमा हुने विशेष पूजा र पुराण प्रवचनका लागि खर्च ब्यहोर्ने कुरा खुलाएर स्पष्टसँग शिलापत्र, ताम्रपत्र आदिमा लेखेर अभिलेखीकरण समेत गरेका थिए । उक्त अभिलेख राख्न काठमाडौंबाट रत्नमान शाक्य नामका कलाकारलाई दिंग्ला लगिएको थियो । अभिलेखमा व्यवस्थापनका नियम र रीतिका अतिरिक्त गुठियार र दाताहरूको नामावली समेत राखिएको थियो ।

विद्यालय र मन्दिर परिसरको पश्चिमपट्टि षडानन्दले एउटा विशाल बगैंचा निर्माण गराएका थिए । जुन बगैंचामा विभिन्न जातका फलका बिरुवाहरू, विभिन्न याममा फुल्ने फुलहरू, स्थानीय जङ्गलमा पाइने विभिन्न बोट बिरुवाहरू विभिन्न स्थानबाट झिकाएर लगाइएका थिए । भनिन्छ, यस बगैंचामा १०८ प्रजातिका बोट बिरुवा रोपिएका थिए । बगैंचा संरक्षणका लागि काठमाडौं तथा भक्तपुरबाट प्राविधिक झिकाई तेलिया इँट र सुर्कीको विशाल पर्खाल बनाएर घेरिएको थियो । भित्री बगैंचाको दक्षिण पश्चिम र बजारको उत्तर पूर्वमा बाहिरी बगैंचा बनाइएको थियो, जुन अवशेषका रूपमा आज पनि देख्न पाइन्छ ।

षडानन्दले भन्ज्याङ बजार परिसरको बाहिरी बगैंचामा सुन्दर पार्वती कुण्ड (ठुलो पोखरी) निर्माण गराए । त्यस कुण्डमा विभिन्न जातका माछाहरू पालिएका थिए । साथै बाहिरी र भित्री बगैंचामा सीता कुण्ड, गौरी कुण्ड, हनुमान कुण्ड आदि कुण्डहरूको निर्माण गराएका थिए । विद्यालय र मन्दिर परिसरको पूर्वमा रहेको नारायण चोकको नजिकमा नारायण धारो तथा भन्ज्याङबाट फालीकोटतिर जाने बाटामा राम धारो र लक्ष्मण धारो जस्ता धाराहरू पनि बनाइएका थिए । उनले सामूहिक, सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न चौरहरू र गौचरनहरूको पनि व्यवस्था गरेका थिए । तीमध्ये नारायण चौर र गौचरन अझै पनि छन् । षडानन्दले विद्यालय र मन्दिर परिसरतिर आउजाउ गर्नका लागि आसपासमा बाटो निर्माण गराए । मन्दिर परिसरदेखि भन्ज्याङ बजारसम्म ढुङ्गा छापेर मोटर दौडन सक्ने खालको फराकिलो बाटो बन्यो । नारायण धारो, राम धारो जाने आउने बाटो र गडीगाउँदेखि टुँडीखेलको नजिकबाट भन्ज्याङ आउने चौडा बाटो समेत यिनकै निर्देशनमा बनेका थिए ।

बस्ती विस्तार भएपछि तथा शैक्षिक एवम् सामाजिक गतिविधि बढेपछि सुरक्षाको पनि विशेष आवश्यकता पर्छ । तसर्थ यिनले तत्कालीन शासकहरूसँग हारगुहार गरेर छोटी जङ्गी अड्डा स्थापना गराए र सिपाहीहरूलाई परेड खेल्न गडीगाउँको डाँडामा टुँडीखेल बनाउन लगाए । त्यो टुँडीखेल अहिले पनि यथावत् छ ।

षडानन्दले एउटा विशाल वनको स्थापना गराएका थिए । जसमा स्थानीय रूपमा पाइने जामुन, गोगन, काफल, किम्बु, कटुस, ऐँसेलु, चिउरी, चिलाउने, पात्ले, ढाल्ने, झिँगनी, ओखर, भोर्लो, चाँप, समी, लप्सी, बडहर, कटहर, खनिउँ, भलायो, गायो, थल कमल, कोइरालो, काब्रो, चुवा, चमेली आदि र अन्य विभिन्न रुखहरू थिए । साथै यहाँ रुद्राक्षको वन सघन रूपमा हुर्काइएको थियो । यी बोट बिरुवा धार्मिक तथा सामाजिक रूपमा दैनिक आवश्यकतासँग आबद्ध थिए । पछि आएर यो वन रुद्राक्ष वनका रूपमा चर्चित हुन पुग्यो । यसलाई ‘जगेडा वन’ पनि भनिन्छ । यसलाई सामुदायिक धारणा अनुरूप संरक्षित ‘नेपालको पहिलो सामुदायिक वन’ मानिन्छ ।

बाला गुरु षडानन्दले दिङ्ला भन्ज्याङमा बजार बसाई साप्ताहिक हाट बजार र वार्षिक रूपमा मेला लाग्ने थिती बसाए । सो भन्ज्याङमा अहिले पनि बाला चतुर्दशी (मार्ग कृष्ण चतुर्दशी) का दिन सद्बिज छर्ने मेला लाग्छ । त्यस्तै चैत्र शुक्ल नवमीका दिन राम नवमी मेला लाग्छ । प्रत्येक शनिवार हाट लाग्ने व्यवस्था समेत छ । अहिले पनि पर्व पर्वमा ती मेला र साप्ताहिक हाट लाग्ने गर्दछन् । शनिवारको हाट तथा मेलामा गृहस्थी जीवनसँग सम्बन्धित स्थानीय उत्पादन चामल, दाल, चिउरा, सागसब्जी, घिउ, कुराउनी, सक्खर तथा फलफुलहरू किनबेच हुने गर्दछन् । त्यस्तै स्थानीय सिपबाट उत्पादित डोका, डाला, थुन्से, डेली, ठेकी, गुप्ते, दुधेरो, भुने, भकारी, मान्द्रो, नाङ्लो, ढकी, महला, घुम, नाम्लो, खकन, दाम्लो, फिपी, पिचा, मुर्चुङ्गा, मादल, बिनायो, राडी, पाखी, लुकुनी, खुकुरी, कर्द,चकमक, कोदालो, कोदाली, फाली, करुवा आदि र यस्तै अरू स्थानीय भाँडाकुँडाको समेत प्रशस्त किनबेच हुन्छ । यसरी नै मेलामा बालन, भजन, सँगिनी आदि गाएर रातभर जाग्राम बस्ने चलन पनि छ ।

बाला गुरु षडानन्दले समाज सुधारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । उनले दिङ्ला र त्यसको आसपासका क्षेत्रमा वि.सं.१९४० सालतिरै सती प्रथा उन्मूलन गराएका थिए । त्यस्तै छुवाछुत प्रथा गलत हो भन्ने सन्देश पनि प्रसार गरेका थिए । राज्यबाट सती प्रथा र दास प्रथा उन्मूलन गर्ने प्रेरणा चन्द्र शमशेरले यिनैबाट पाएका थिए, भनिन्छ । पानी चल्ने र नचल्ने भनी छुवाछुत भएको समाजमा स्थानीय मेलामा सबै जातजातिका मानिसहरूको सहयात्राको सुरुआत पनि यिनले गरे । संस्कृत भाषा बाहुनले मात्र पढ्ने भाषा नभएर सबै जातजातिले पढ्ने व्यवस्था समेत भयो । समाजमा हुने फजुल खर्च नियन्त्रण गर्न १०८ बटुकहरूको सामूहिक व्रतबन्ध स्थानीय नारायण चौरमा गराई सामूहिक कार्य गर्ने व्यवस्था समेत गरे । विद्यालयबाट शिक्षा हासिल गर्नु त छँदै छ, त्यसका अतिरिक्त आध्यात्मिक एवम् नैतिक ज्ञान समेत प्रदान गरी समाजमा सदाचार फैलाउने उद्देश्यले चौमासा पुराण र पर्वपर्वमा नैतिक प्रवचन दिने व्यवस्था समेत भएको थियो ।

आबाल ब्रह्मचारी षडानन्दले राजयोग, हठयोग आदि अष्टाङ्ग योग साधनाका साथै चौबिसपल्ट गायत्री पुरश्चरण (विधिपूर्वक चौबिस लाख पटक गरिएको गायत्री मन्त्रको जपलाई एक पुरश्चरण भनिन्छ) गरी अष्टसिद्धि तथा गायत्री साधना समेत गरेका थिए । षडानन्द उच्च तहसम्मको विद्याध्ययन, अष्टाङ्ग योग साधना र गायत्री उपासनाबाट प्राप्त सिद्धि र क्षमताबाट भारतीय विद्वद् समाजमा भलीभाँती परिचित थिए । उनको अद्भुत शक्ति, साधना र योगबलको उच्च मूल्याङ्कन गर्दै वाराणसीको विद्वद्सभामा बद्रिकाश्रम ज्योतिर्मठका शङ्काराचार्यले श्री १०८ को उपाधि प्रदान गरेका थिए । वि.सं. १९६६ सालमा धर्म पत्रिका मार्फत विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उनी काठमाडौं, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किए र वि.सं. १९७३ सालको जेष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदा रहँदै यिनी ब्रह्मलीन भए ।


बाला गुरु षडानन्दको योगदान

शिक्षा— त्यो समयमा विद्या पढ्नमा इच्छा भयाका ब्राह्मण क्षत्र्यादिहरूका छोराहरू समेतलाई, जो विद्या पढनाको इच्छा हुन्छ सो सुविस्तासाथ पढून् भन्ना निमित्त पाठशाला राखेको छु भनी शीला तथा धर्मपत्रिका (१९६६) को व्यवस्था गरिदिने यी दूरदर्शी सन्तले सबै जातिका छोराले जे चाहन्छन् त्यो पढ्न पाउँछन् भनेर उदारतापूर्वक सबैका लागि शिक्षाको बाटो खोलिदिए । २००७ सालको परिवर्तनपछि त्यहाँ पढेर धेरै चेलीहरू पनि विदुषी बनेका छन् । त्यहाँ पढ्ने र गुरु महाराजाको सिदा ग्रहण गर्ने कोही पनि निरुद्योगी बनेनन् । दिङ्लाको पाठ्यशैली पनि प्रशंसित थियो । विद्या कमाउन कि काशी जानू कि दिङ्ला जानू भन्ने लोकोक्तिका साथ विद्यार्थीको धुइरो लाग्थ्यो । गुठी जग्गाबाट आएको धानद्वारा छात्रवृत्तिको व्यवस्था मिलाइएको थियो । त्यतिले नपुग भए हप्तामा एक दिन विद्यार्थीलाई भिक्षाटनका निमित्त चारै दिशा पठाइन्थ्यो । संस्थागत रूपमा सबै जातिका मानिसलाई सबै प्रकारको शिक्षा सर्वप्रथम देशभित्र प्रदान गरियो ।


सामाजिक सुधार

पल्लोकिराँत, वल्लोकिराँत र माँझ किरातको विभाजनमा रहेको त्यस भूभागमा विशेषतः राई, तामाङ, दमाई, कामी, सार्की, लिम्बू आदि जातजातिका मानिसको बाहुल्य थियो । शिक्षाको न्यानो घाम लाग्न नपाएका समाजमा एक दुई टाठाबाठाले प्रभुत्व जमाउँदै जाँदा शोषण, दमन जस्ता विकृति र विसङ्गतिले प्रोत्साहन पाउने नै भयो । यसलाई अन्त गरेर शुद्ध समाज निर्माणतर्फ पनि गुरु महाराज अग्रसर बने । आध्यात्मिक मार्गमा सबैलाई हिंडाएर सिङ्गो समाजलाई डोर्याउने प्रयत्न गरे । पढ्न, पूजा गर्न, कथा सुन्न सबै वर्गका मानिसलाई आहह्वान गरियो । सबै जातिका मानिसले मन्दिरमा पसेर बिना भेदभाव पूजा गरे । त्यसैले उनी सबैका गुरु महाराज बने र उनले भनेको सबैले मान्दै जाँदा समाजमा व्यापक सुधार आयो । उनको लोकप्रियता र सिद्धिका डरले राणा सरकारले पनि उनलाई छुन सकेन । उनकै सिफारिसलाई स्वीकार्दै सतिप्रथा समाप्त गर्न कर लागेको थियो ।


सांस्कृतिक उत्थान

गुरु महाराजले पाठशाला स्थापनागरेर विद्यार्थीहरू भेला गरी पढाउन थालेपछि पूर्वी नेपालमा शिक्षा, संस्कृति र सदाचारको ज्योति उदायो । शिखरशैलीमा ठूलाठूला भव्य मन्दिरहरू पनि बने । साँझ सबेर जनताहरू भेला भएर सामूहिक रूपमा पूजापाठ गर्दै अन्तरात्मालाई निर्मल बनाउन थाले । एकादशी, रामनवमी, कृष्णाष्टमी जस्ता तिथिपर्वमा व्रत बस्ने, कथा सुन्ने जस्ता सामूहिक कार्य हुनथाल्यो । सबैका घरघरमा एवं पँधेरामा तुलसी रोपियो र तुलसीको जल ग्रहण गर्न थालियो । घरघरमा पाञ्चायन देवताको पूजा गरेर शफ्घण्ट बजाउन थालियो र मानिसहरू आध्यात्मिक हिसाबले अनुशासित बने ।


पर्यावरणीय संरक्षण

देशदेशान्तर घुमेर पर्यावरण र मानव जीवनको महत्त्व राम्ररी बुझेका गुरु महाराजले १०८ प्रजातिका वनस्पतिका बोट बिरूवा रोपेर सुन्दर बगैंचा निर्माण गर्ने र बाटोघाटो, पाटीपौवा, पानीपँधेरो, पोखरी जस्ता पर्यावरणीय महत्त्वका सार्वजनिक स्थलहरू निर्माण गरेर जनसेवामा समर्पण गरे । पौराणिककालदेखि नै रूद्राक्षारण्य मानिंदै आएको धरान पिण्डेश्वरबाट रूद्राक्षका बिरूवा लगेर रोपियो, रूद्राक्षारण्य बनाइयो । सबैले आ(आफ्ना घर आँगनमा तुलसी, बेल, अमला, रूद्राक्ष र पारिजात रोपेर सेवा गर्न थाले । वनस्पतिले वातावरणलाई शुद्ध र निर्मल पारिदिए । आज तिनै रूद्राक्षका रूखमा फलेका दानाहरू बेचेर मानिसहरूले आर्थिक लाभसमेत लिन थालेका छन् । आज दिङ्ला रूद्राक्षको उद्गमभूमि मानिएको छ । गुरु महाराजले बनाएको सुन्दर बगैंचा र जगेडाका वनहरू आजसम्म पनि कायमै छन् ।


भौतिक समुन्नति

त्यो समयमा त्यस्तो विकट ठाउँमा भारतबाट सिमेन्ट लगेर, इँटा तथा घर बनाउने कालिगढहरू बाहिरबाट झिकाएर, कलात्मक शैलीका प्रस्तर मूर्ति निर्माण गर्न लगाएर दूरदर्शी सन्तले जुन प्रकारको भौतिक समुन्नति गरे त्यो आजसम्म पनि उदाहरणीय छ । गुरु महाराजको आहृवान अनुसार त्यहाँको भौतिक समुन्नतिका निमित्त जनता सधैं श्रमदान गर्न तत्पर रहने भएकाले नै मठमन्दिर, विद्यालय, छात्रावास, पाटी, पोखरी, धारो, बाटो, हाटबजार आदि निर्माण कार्य सम्पन्न भएका हुन् । उनकै आह्वानमा धनीमानीहरूले गुठीका लागि धेरै जग्गा प्रदान गरे । जसको आम्दानीले आज पनि विद्यालय र पूजा आदि चलिरहेको छ ।


कुशल व्यवस्थापन

मन्दिर, पाठशाला, गुठी आदि स्थापन गर्नुभन्दा पनि त्यसको दीर्घकालसम्म सुसञ्चालन वा व्यवस्थापनको प्रबन्ध मिलाउन कठिन कार्य मानिन्छ । यस कार्यमा बाला गुरु षडानन्दको दूरदृष्टि रहेको पाइयो । वि. सं. १९६६ सालमा तयार पारेर अभिलेखालयमा राखिदिएको धर्मपत्रिकाले मन्दिर सञ्चालन, पाठशाला सञ्चालन र गुठी सञ्चालनका सम्पूर्ण विविध विधान लेखेर राखिदिएको पाइयो । त्यसको सङ्क्षिप्त रूपको शिलालेख आजसम्म पनि पाठशालाको मण्डप घरमा राखिएको छ ।


सिद्धि र साधना

आबालब्रह्मचारी षडानन्द अधिकारी १२ वर्षसम्म बाग्मती तटमा बसेर कठोर साधनाका साथ गायत्रीमाताको उपासना गरी सिद्धि प्राप्त गरेका सिद्धपुरूष हुन् । उनी कुशल योगसाधक पनि थिए । उनी साधना र तपोबलद्वारा उठेका सन्त थिए । उनी वीतरागी भएकाले लोककल्याणका मार्गमा लागेका थिए । उनको स्वार्थ नै लोकसेवा थियो । त्यसैले उनी जे चिताउँथे त्यो पुग्थ्यो र केही चामत्कारिक दृश्य पनि लोकले देख्ने गरेको थियो । बाला गुरु षडानन्द र स्वर्गद्वारी महाप्रभु समकालीन साधक र सन्त थिए । यिनीहरू दिङ्ला र स्वर्गद्वारीमा बसेर ध्यानमा रहेको बेला परस्परमा कुराकानी गर्थे भन्ने भनाइ छ । कुनै समय षडानन्द बिरामी भएको कुरा स्वर्गद्वारी प्रभुले थाहा पाएर आफ्ना चेलाका हात औषधि पठाए । षडानन्दले पनि आफ्ना चेला पठाए । दुवैथरी चेलालाई बीचबाटोमा सम्पर्क गराएर औषधि आदानप्रदान गरेको अनि भक्तका घरमा आयोजना गरिएका ठूलाठूला माङ्गलिक कार्यहरूमा विपत्ति उत्पन्न गरिदने आँधीबेरी आउन लागेको बेला साधना र सिद्धिद्वारा तर्काइदिएको र भोजभतेरमा पकाएको वस्तु सकिन आँट्यो र पुन पकाएर ख्वाउन सम्भव छैन भन्ने लागेमा सो ठाउँमा गई भाँडो छोएर यतिले सबैलाई राम्ररी पुग्छु भनिदिंदा पुगेको थियो भन्ने भनाइ पनि त्यत्तिकै प्रचलित छ । उनी ठूला योगसाधक पनि थिए । उनले हठयोगलाई बढी आत्मसात् गरेका थिए । धारामा गएर नुहाउनु भन्दा पहिले मलमलको २ ।३ मिटर लामो रूमाल मुखबाट खाएर तत्कालै मलद्वारबाट निकाल्थे अरे । उनका लागि अरू योगाभ्यास सामान्य मानिन्थ्यो । त्यसैले त्यहाँ पढ्ने सबैले योगको महत्त्व र महिमा बुझेर गए र जीवनभर आरोग्यतापूर्वक शान्त एवं सुखी जीवन बिताए ।


जनश्रुति

सन्त षडानन्द लोकले मानेका साक्षात् देवता नै थिए । त्यसैले उनलाई जान्नेहरू मर्दापर्दा उनका समीपमा गएर दुःखेसो गर्थे । उनी पनि आफ्नो ज्ञान विवेक, बुद्धि र सीप खर्चेर हुनेसम्म मद्दत गर्थे । उनले खाएको बाँकी अन्न बालकहरूलाई खुवायो भने पढ्न आउँछ भनेर गाउँवासी साना नानीहरूलाई सन्तकै आश्रममा ल्याएर ख्वाउने, आशीर्वाद दिलाउने, फुकी माग्ने र जलसिञ्चनद्वारा शरीर शुद्धि गर्ने कार्यहरू गर्थे । पानीमा रूमाल ओछ्याएर त्यसमाथि बसी सजिलैसँग अरूण नदी तर्थे अरे' भनिन्छ (वि. सं. १९२८ मा) । उनी दूरदर्शी, अन्तर्दृष्टि, र अनन्तदृष्टि भएका युगपुरूष थिए । त्यसैले उनका साधना र सफलताका कुरालाई आज जनश्रुतिकै आधारमा भए पनि सर्वत्र चर्चा गरिन्छ ।


स्थानीय जनतामा जागरण

कुनै कार्यको प्रभाव र प्रेरणा तत्काल जनतामा पर्नसक्यो भने त्यस कार्यको सफलता मानिन्छ । षडानन्दले प्रारम्भ गरेका धर्म, संस्कृति, शिक्षा, सदाचार, सामाजिक कार्य र अन्य गतिविधि लोकले मन परायो र आफ्ना दैनिक क्रियाकलाप पनि सोही अनुसार गर्न थालियो । उनीहरूको जीवन भावात्मक रूपले, आर्थिक रूपले र भौतिक रूपलेसरल बन्दै गयो । भूमिमा उर्वराशक्ति बढ्यो । तत्पश्चात्, खोटाङ, ओखलढुङ्गा, चार्खुले मानिसहरू दिङ्लातर्फ छोरी दिन आकषिर्त हुन थाले । छोराछोरीलाई पढ्न, पठाउन, बाबुआमालाई असल र राम्रा काममा अभिप्रेरित गर्न र बूढाबूढीलाई धर्मकर्मको मार्गमा हिंडाउन यिनै सन्तले अभिप्रेरित गरेका थिए । त्यसैले त्यस समाजले उनलाई जागरणका प्रतीक मानेका थिए । उनका प्रभाव र प्रेरणामा नपरेको भए त्यो किराँतभूमि आर्यभूमिमा परिणत हुने थिएन । सनातन वैदिक धर्म र संस्कृतिले विजय हासिल गर्ने थिएन ।

Dec 8, 2017

आफ्नो भविष्य र चरित्र स्वयं निर्माण गरौं

 मानिस आफ्नो भाग्यको निर्माता हो। आफ्नो उत्थान–पतन उसको वशको कुरा हो। यो तथ्य जति साँचो छ त्यति नै साँचो के पनि हो भने वातावरणको प्रभाव मानिसमाथि पनि पर्दछ र उसको व्यक्तित्वबाट परिवार एवं समाजको वातावरण    पनि प्रभावित हुन्छ। नराम्रो वातावरणमा रहेर कदाचित कसैले आफ्नो विशिष्टता साँच्न सक्छ, साथै यो सत्य हो कि वातावरणको प्रभाव पनि नपरी रहन सक्दैन।


    धेरै मानिसको–समर्थ मानिसको क्रियाकलापले नै वातावरणको निर्माण हुन्छ। बहुसङ्ख्यक भएर एकैनासको गतिविधिहरू अँगाल्दा दुर्बल स्थितिका व्यक्तिहरूले पनि आफ्नो एउटा विशेष प्रकारको अवस्था सिर्जना गर्दछन्। व्यसनी, अनाचारीहरूको समुदायले पनि यस्तो प्रभाव उत्पन्न गर्दछ जसबाट सामान्यस्तरका मानिसहरू प्रभावित हुन्छन्। यसकारण राम्रो वातावरणमा रहनु र नराम्रो वातावरणबाट जोगिनु त्यति नै आवश्यक छ, जति स्वच्छ हावामा रहने र फोहर–दुर्गन्धबाट जोगिने प्रयास गरिन्छ। त्यो प्रसिद्ध कथा जसमा एउटा गुँडबाट झिकिएका सुगाका दुई चल्लालाई दुई भिन्न ठाउँमा पालिएको थियो। त्यहाँको परिवेशअनुसार तिनीहरू पालिए। सन्तकहाँ पालिएको सुगाले ‘सीताराम–राधेश्याम’ भन्न सिक्यो भने चोरको घरमा पालिएको सुगाले ‘लुट–मारकाट’ भन्नमात्र सिक्यो। दोष सुगाको होइन, उनीहरू जुन वातावरणमा पालिए, जे सुने त्यही बोल्न सिके। मानिसको सम्बन्धमा पनि यही कुरा सत्य हो। ऊ जस्तो मानिसको सङगतमा रहन्छ, जस्तो परिस्थिति भोग्दछ, जुन कुरा समीपवर्ती व्यक्तिहरूले गरेको देख्दछ, त्यसै अनुसार आफ्नो स्वभावको निर्माण गर्दछ। मानिसको स्वभाव बाँदरजस्तै अनुकरणप्रिय हुन्छ।

    यस्तो पनि देखिएको छ कि मनस्वीहरू आफ्नो आदर्शवादितामा अडिग रहेर अनेकौं मानिसको ध्यान आफूतिर आकर्षित पार्न सफल हुन्छन् ।  कैयौंलाई अनुकरण गर्ने प्रेरणा दिन्छन् । आफ्नो औचित्यले गर्दा त्यस मार्गमा हिंड्न अरूलाई आकर्षित गर्छन्। आवश्यक छैन त्यो मार्ग सरल अथवा परम्परागत नै होस्, नवीन विचार पनि आफ्नो औचित्यका कारण प्रतिभाशाली व्यक्तिहरूले अँगालेपछि एउटा मार्गको रूप धारण गर्दछन्। सर्वसाधारणलाई त परम्पराहरू नै सबैथोक प्रतीत हुन्छ, तर विचारवान मानिस औचित्यलाई हेर्छन्, कसीमा घोट्छन् र त्यसको चुनाव गर्छन्, अँगाल्छन्। शीशाको मोती गरीबले पनि किन्छन् र लाउँछन्, तर असल बहुमूल्य मोतीको पारखी हुँदैन भन्ने कुरा होइन । बुद्धको गाँधीको मार्ग सर्वथा नयाँ थियो, तर तिनको प्रामाणिक व्यक्तित्व र औचित्यपूर्ण प्रतिपादनले गर्दा असङ्ख्य व्यक्ति उनका अनुयायी बने र एउटा नयाँ वातावरण निर्माण गर्न सफल भए । तर यो तबमात्र सम्भव हुन्छ जब कोही प्रतिभावान व्यक्ति अग्रगामी बनेर कुनै उपयुक्त मार्ग अँगालोस् र आफ्नो कुरा तर्क, तथ्य, प्रमाण, उदाहरणसमेत सम्झाओस्। स्वयं आफू त्यस मार्गमा सुदृढ भएर अन्यान्यमा मनोबल उत्पन्न गरोस्।

    यो सत्य हो कि मानिस बुद्धिमान प्राणी हो। ऊसँग सोच्ने–विचार गर्ने शक्ति छ। यति हुँदा पनि ऊ परोक्षरूपमा प्रथा–परम्पराहरू अनुरूप आफूलाई त्यसै रुढि अनुसार ढाल्दछ, जसमा समीपवर्ती मानिसहरू हिंड्दछन्। त्यसैलाई वातावरण भनिन्छ। यो नराम्रो पनि हुन्छ र राम्रो पनि। जुन पनि प्रवाहमा बग्न थालिन्छ मानिसको व्यक्तित्व अथवा स्तर पनि प्राय: त्यही ढाँचाको बन्न पुग्छ। वातावरण बनाउने मानिस त बिरलै हुन्छन्। अधिकांश त्यस्ता हुन्छन् जो प्रवाहमा बग्छन्, जे भइरहेको छ त्यसैको अनुगमन गर्न थाल्छन्। परिणति त क्रिया अनुरूप नै हुन्छ। मूढ–मान्यता र अवाञ्छनीयताको प्रवाहमा बगेर मानिस यस्तो अवस्थामा पुग्दछ, जहाँ रल्लिनु उसको पूर्व निश्चय नै थिएन। त्यसैले जहाँसम्म आफ्नो भविष्य निर्माणको सम्बन्ध छ, त्यहाँ आफ्नो पुरुषार्थ र दिशा निर्धारणको महत्त्व देखिन जान्छ। त्यहाँ यो पनि कम महत्त्वपूर्ण तथ्य होइन कि कुन समुदायसँग हिंड्ने अवसर जुर्‍यो, कस्ता मानिसको गतिविधिले उसलाई कुन सीमासम्म प्रभावित पारिरहयो।

    मानव समाज यस्ता मानिसहरूले भरिएको छ जहाँ असल मानिस पनि छन् नराम्रा पनि छन्। यहाँ आदर्शवादिता र सेवाका अनेकौं उदाहरण देखिन्छ भने बहुदुव्र्यसनी, अपराधी र अबुझस्तरका व्यक्तिहरूको पनि कमी छैन। दुई प्रवृत्ति सँगसँगै हुन्छन् र मिसिएका पनि हुन्छन् । त्यस्तो वातावरणमा पनि दूरदर्शी, विवेकवान व्यक्तिले आफ्नो रुचिअनुरूप विवेक चयन गर्दछ। जसको मनोबल अथवा स्वतन्त्र चिन्तन छैन, ती हावाको वेगसँग उड्ने सुकेका पातझैं हुन्छन्। सामान्यजनलाई वातावरणले नै घिसार्दै र त्यस प्रभावबाट प्रभावित भएर उनीहरू अनिश्चित भवितव्यताको जालोमा फस्न पुग्छन्। त्यसैले वातावरणको प्रबलतालाई स्वीकार गर्दागर्दै पनि के निश्चित छ भने मानवी विवेक र मनोबल सर्वोपरि हुन्छ । त्यसले वातावरणको प्रभावलाई ग्रहण त गर्छ नै तर यो पनि सम्भव छ कि ऊ त्यो प्रभावलाई अस्वीकार गरिदेओस् र  जे उचित त्यही गरोस्। यो स्वतन्त्र चिन्तन नै वस्तुत: भाग्य निर्माता हो अन्यथा जुन नियति सामान्यजनद्वारा अँगालिन्छ, त्यही उसको खप्परमा पनि टाँसिन्छ।

    सामान्यतया मानिस परम्परागत प्रवाहमा नै बग्दछ र त्यसै परिणामलाई भोग्दछ, जो परम्परावादीहरू भोग्छन् ।  चिर पुरातनकालदेखि सामयिक परिस्थितिअनुसार प्रचलनहरूमा ठूलो परिवर्तन भइरहेको छ। त्यसको ध्वंसावशेष अहिले पनि विद्यमान छ। यद्यपि ती खण्हर भएका कारण उपयोगी रहेनन्। व्यर्थ पृथ्वीको हिस्सा ओगटेका छन्। तिनलाई हेर्न र नमन गर्न त जान सकिन्छ तर त्यहाँ बस्न सकिंदैन। रहन–बस्नका लागि यस्तो घर चाहिन्छ जुन आजको परिस्थितिअनुकूल आफ्नो काम गर्ने स्थानको निकट होस्।

Dec 6, 2017

बाला चतुर्दशी पर्वको सामाजिकता


हुन त सनातन हिन्दुधर्मप्रति श्रद्धा राख्ने मानिसहरू नेपाल र भारत लगायत संसारका भिन्नभिन्न देशमा छरिएर बसेकाछन्, जाति र संस्कृतिअनुरूप तिनका संस्कार र परम्परा पनि भिन्नभिभिन्न छन्, अनि देश, काल र परिस्थितिबमोजिम तिनले भिन्नभिन्न शैली र परम्परामा विविध चाडपर्व मनाउने गर्दछन्, तर समयअनुरुप सँस्कृतिमा विभिन्नता हुन सक्छ। कुनै चाडपर्वले धार्मिक भावना व्यक्त गरेको हुन्छ भने कुनै सांस्कृतिक चाडपर्वले सामाजिक जीवनका विविध पक्षको गरिमाको अभिव्यक्ति गर्दछ। तिनै चाडहरूमध्ये पौराणिक र धार्मिक आस्थाअनुसार मनाइने पर्व बाला चतुर्दशी पनि हो ।  यो पर्व चान्द्र पात्रोको गणनाअनुसार मंसिर महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन पर्दछ । यस दिन आमा(बाबु नभएका सन्तान अथवा सन्तान नभएका आमाबाबुले मरेका आफन्तको चिरशान्ति र मोक्षको कामनासहित पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा गई शतबीज छर्ने गर्दछन् । सतबीज भन्नाले धान, गहुँ, जौ, मास, मुगी, मास, कागुनु र सामा मिसाएर बनाइएको पदार्थको साथै केरा, सुन्तला, स्याउ, मुला, काँक्रो, सखरखण्ड, पिँडालु आदि सय किसिमका फलफूल मिसाई बनाइएको पदार्थको सम्मिश्रण हो । सप्तधान्यादि अन्नहरू भुइँमा छर्ने वा रोप्ने दिन भएकाले यस दिनलाई शतबीज छर्ने दिन भनिएको हो ।

यद्यपि यस पर्वको सन्दर्भ पौराणिक र ऐतिहासिक ग्रन्थहरू नेपाल महात्म्य, स्कन्द पुराणको हिमवत्खण्ड, शिव पुराण आदिमा पनि भेटिन्छ, तथापि बाला चतुर्दशी नेपाली मौलिक पर्व हो भन्दा फरक पर्दैन। शिवपार्वतीको प्रणयलीलाका क्रममा भगवान् भोलेशङ्करले मृगको रूप धारण गर्नु भएको पौराणिक आख्यानलाई यस पर्वसँग गाँसिएको पाइन्छ। भगवान् शिवले मृगरूप लिएर विचरण र विहार गर्नुभएको स्थललाई पुण्य क्षेत्र मानिन्छ र त्यस पुण्यभूमिमा शतबीज (सद्बीज) छर्दा उक्त बीजहरूमध्ये एक गेडो अन्नबाट मात्र पनि एक रत्ति सुन छरे झैं पुण्यप्राप्ति हुन्छ भनी मृगावतारका समयमा शिवजीले आकाशवाणीबाट आदेश गर्नुभएको विश्वास गरिन्छ। त्यसैले यस पर्वको कथा र त्यसको कार्यपीठिका शिवले मृगरूप लिई विचरण गरेको पशुपतिनजिकैको श्लेष्मान्तक वन र त्यस वरपरको क्षेत्र रहेको देखिन्छ। त्यसैले पनि यो पर्व नेपाल अझ पूर्वी नेपालमा बसोबास गर्ने पाहाडी मूलका नेपालीहरूमाझ बहुप्रचलित छ। जे होस् यस पर्वलाई मनाउने क्रममा अघिल्लै दिन अर्थात् मार्गकृष्ण त्रयोदशीका दिन श्रद्धालु भक्तजनहरू आआफ्नो परम्परा र संस्कृतिअनुसार पशुपतिनाथ मन्दिरको प्राङ्गण र छेउछाउमा बास बसी आआफ्ना दिवङ्गत पितृको आत्माको चिरशान्तिका लागि रातभरि 'महादीप' बालेर भजन कीर्तन र जाग्राम गरी बस्दछन् र भोलिपल्ट बिहानै वागमतीमा नुहाई पशुपति क्षेत्रका सम्पूर्ण देवीदेवताको परिक्रमा गरी पशुपति क्षेत्रमा शतबीज छर्दछन् । यसलाई चतुर्दशी यज्ञ पनि भनिन्छ । काठमाडौंको पशुपतिमा आउन नसक्नेहरू आफ्नै ठाउँपायकका शिवमन्दिरमा गई शतबीज छर्दछन् । यस पर्वले कृषि र पशुपालनसँग सम्बद्ध सामाजिक जीवनलाई प्रतीकात्मक ढङ्गले पुष्टि गर्दछ। जीवनचर्याका क्रममा पशुपंक्षी र कीटपतङ्गको भूमिकालाई अपरिहार्य मानेको जैविक तथ्यलाई पनि यस पर्वसँग गाँस्न सकिन्छ। परोपकारको भावनाले ‘शतबीज’ अर्थात् सयथरी विभिन्न गेडागुडी छर्नाले ती अन्नका दाना पंक्षीको चारा बन्छ र छर्ने क्रममा जमिनमुनि गाडिन पुगेका अन्नका दाना केही समयपछि उम्रिएर पशुको खाना अर्थात् घाँस बन्दछ, यस पर्वले यसरी फ्यालेको अन्नबाट बन्ने चारा र घाँसले मनुष्येतर अन्य जङ्गली प्राणीहरूको जीवनरक्षा हुनजान्छ र पृथ्वीको उर्वरतालाई सबै प्राणीहरूले समानताका साथ उपभोग गर्नुपर्ने सन्देश प्रदान गरेको देखिन्छ।

बालाचतुर्दशीका दिन श्लेष्मान्तक वन क्षेत्रमा शतबीज छर्ने चलन कहिलेदेखि सुरु भएको भन्ने निश्चित र प्रामाणिक तिथिमितिको यकीन छैन। यस पर्वलाई खास गरी शिवभक्ति र पितृभक्ति गरी दुईवटा आधारमा मनाउने गरेको देखिन्छ। विभिन्न पुराण र स्वस्थानीकथामा नै भगवान् शिवको मृगरूप धारण गरेको कथाप्रसङ्ग प्राप्त हुन्छ। कथाअनुसार शिवले श्लेष्मान्तक वनमा मृगको रूप धारण गरी लामो समय व्यतीत गरेपछि छट्पटिएकी पार्वतीले बागमती किनारस्थित मृगस्थलीमा भगवान् शिवले मृगको रुपमा विहार गर्नुभएको थाहा पाई शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीजहरु छरेको र तिनै बीजबाट केही दिनपछि घाँसबिरुवा उम्रिएको, ती घाँसबिरुवामा आकर्षित भई मृगको बथान जम्मा भएको अनि पार्वतीले शिवजलाई मृगका रूपमा भेटेको वृत्तान्तसँग गाँस्दै पार्वतीले सुरु गरेको शतबीज छर्ने काम पछि गएर परम्परा बनेको बताइन्छ। यस दिन पशुपतिनाथ, गुह्येश्वरी र वासुकी आदि देवताको दर्शन गर्नाले प्रशस्त फल मिल्ने र मृगस्थलीमा टेक्ने व्यक्तिको मोक्ष हुन्छ भनी हिमवत्खण्डमा उल्लेख गरिएको छ।

बाला चतुर्दशी पर्वसँग अर्को एउटा जनश्रुति पनि गाँसिएको प्रसङ्ग सुन्न पाइन्छ, प्रसङ्गअनुसार कुनै समयमा नेपालमा भुवनकेशरी नाम गरेका राजा थिए। उनको समयमा बालानन्द नाम गरेको एउटा वैश्य त्यस राज्यमा बसोबास गर्दथ्यो। एक दिन एकजना गुठियार मरेकाले सद्गति गर्न उसलाई खटाइयो। सद्गति गर्ने क्रममा मलामीहरू मसानघाटमा पुग्दा थाक्ने र भोकाउने भएकाले पुगेपछि चितामा लाश पोल्दापोल्दै खाजा खाने चलन थियो। बालानन्दले खाजा खाने क्रममा संयोगले चिताको आगोमा मुर्दाको टाउको पड्कियो र गिदी उछिट्टिएर बालानन्दले खाँदै गरेको खाजामा मिसियो, गिदी मिसिएको पत्तो नपाई उसले गिदीसमेत खानुपर्यो। गिदी मुखमा पर्नासाथ बालानन्दको स्वरूपमा अचानक परिवर्तन आयो र ऊ झल्झलाकार तेजिलो चाँदी झैं टाउको भएको बालासुर नाम गरेको राक्षस भयो अनि त्यस लाशलाई खपाखप खान थाल्यो। मलामीहरू डराएर आआफ्ना घरतर्फ फर्किए। त्यसपछि त्यहाँ सद्गति गर्न जेजति लाशहरू ल्याइन्थ्यो, ती लाशलाई बालासुरले खोस्दै खाँदै गर्न थाल्यो। त्यस राज्यमा कसैको पनि मरणपछि सद्गति हुन छाड्यो। मृतकको शरीरलाई आफ्नो रीतिस्थितिअनुसार सद्गत गर्न नपाउँदा जनताले राजा भुवनकेशरीलाई जाहेरी गरे। जनताले निवेदन गरेबमोजिम राजाले बालासुरलाई मार्न निकै प्रयास गरे, तर उनी सफल भएनन्। अन्त्यमा बालानन्द वैश्यकै मित वृषसिंहलाई राजाले बोलाए र उसलाई बालानन्दको वृत्तान्त सुनाई परोपकारका निम्ति मितलाई मार्न सहयोग मागे। त्यसो गरेमा जनहीत हुने भएकाले राजाले वृषसिंहलाई प्रशस्त धनसम्पत्ति र जग्गाजमिन उपहार दिने आश्वासन पनि दिए। उसले पनि आफ्नो मितलाई मार्न अनेक जुक्ति रच्यो तर सफलता पाएन। अन्ततः भगवान् शिवको तपस्या गरी प्रसन्न तुल्याई बालासुरलाई मार्ने शक्ति प्राप्त गर्यो। त्यसपछि गाउँमा आई एक घ्याम्पो रक्सी र सोहीअनुसारको मासुचिउरा आदि खानेकुराहरु लिई १५–२० जवान भरियालाई बोकाएर स्मशानघाट गयो। घाटमा त्यत्तिका धेरै मानिस आउँदै गरेको देखेर लाश आएको ठानी बालासुर पनि घाटमा आयो। वृषसिंहले आफ्ना मित बालासुरलाई अभिवादन गरी गाउँबाट ल्याएको सामाग्री उपहारका रूपमा प्रदान गर्यो। बालासुरले पनि रमाई रमाई जम्मै चीजबीज खायो र रक्सीको नशाले मातेर अचेत भयो । त्यही मौकामा वृष सिंहले आफुसँग आएका भरियाको सहयोगले बालासुरलाई डोरीले कसेर इनारमा खसाले र उसलाई माथिबाट ढुंगामुढा हानेर मारे। मित्रहत्या गरी आमजनतालाई खुसी तुल्याएपनि वृषसिंहलाई पश्चात्ताप हुनथाल्यो। फेरि भगवान् शिवजीको आराधना गरी उसले प्रायश्चित्त कसरी हुन्छ भनी उपाय बताउन भगवान् शिवलाई अनुरोध गर्यो। त्यसपछि महादेवले वृष सिंहलाई बालासुर मरेको दिन हरेक वर्ष श्रीपशुपतिनाथको मूर्तिमा पूजा गरेमा र श्लेष्मान्तक वनमा सद्बीज छरेर श्री पशुपतिनाथको क्षेत्रमा खुट्टाले टेकेमा यस हत्याको दोष नलाग्ने कुरा बताए, साथै यसको अनुकरण गरी अन्य श्रद्धालुहरूले प्रतिवर्ष त्यसै गरेमा उसका समस्त पितृहरूले मोक्ष प्राप्त गरी शिवलोक पुग्ने आज्ञासमेत शिवबाट प्राप्त भयो। त्यसै बेलादेखि बालासुर मरेको दिन अर्थात् बाला चतुर्दशीका दिनमा सद्बीज छरेर श्री पशुपतिनाथको दर्शन गर्न जाने चलन चलेको मानिन्छ। त्यसैले नेपाली समाजमा आफ्ना दिवङ्गत पितृका नाममा धान, जौ, तिल, गहुँ, मकै, कागुनो, चना, फलफूल, कन्दमूलादि मिसाएर खासगरी पशुपतिनाथ र हलेसी, जलेश्वर, दिङ्गला, पिण्डेश्वर, सतासीधाम लगायत अन्य शिवालय र देवालयमा गई सद्बीज छर्ने गर्दछन्। ब्राह्मण, क्षेत्री, नेवार, मगर, गुरुङ, राई, लिम्बू, तामाङ आदि विभिन्न वर्ग र जातिका मानिसहरू सबैले यस पर्वलाई मनाएको पाइन्छ । यस पर्वमा लिङ्ग, धर्म र सम्प्रदायको भेदभाव छैन । नेवार समुदायमा यस दिनलाई ‘बालाचह्रे’ भन्ने गरिन्छ।

पौराणिक आख्यान वा लोकगाथाको प्रभावबाट प्रारम्भ भएपनि यस पर्वले मनुष्यले प्रकृतिको कोखबाट जन्मलिने र अन्त्यमा प्रकृतिमा नै विलीन हुनुपर्ने यथार्थ पक्षलाई समातेको छ। चराचर प्राणी प्रकृतिका अनन्य अङ्ग हुन् र तिनको निकटस्थ अन्तर्सम्बन्ध छ भन्ने भावलाई पनि बाला चतुर्दशीले ग्रहण गरेको छ। सारांशमा यस पर्वले मनुष्य र अन्य जीवजन्तुसँगको आत्मीय सम्बन्धलाई उजागर गर्दै मेलमिलाप, भाइचारा र विश्ववन्धुत्वको सन्देशलाई जीवन्त तुल्याएर मृतकका प्रति आफन्तहरूले प्रकट गर्नुपर्ने भाव र कर्तव्यबोधलाई समेत उपस्थापन गरेको देखिन्छ। यसरी यस पर्वले प्रकृति र पूर्वज दुबैलाई सम्झिने साझा दिनका रूपमा आफुलाई उभ्याएको छ। यो पर्वको नेपाली समाज र संस्कृतिमा महत्त्वपूर्ण स्थान छ।

Dec 5, 2017

एक गेडो अन्नका कारण पुनर्जन्म नहुने


सनातन हिन्दू धर्मअन्तर्गत पर्ने थुप्रै चाडपर्वमध्ये बाला चतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । मार्गशीर्ष(मङ्सिर) कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी नेपालमा मानाईने एउटा परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बाला चतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथलगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपतिपरिसरमा आइपुग्छन् । पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमाद्रिले भनेका छन्-
'सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।'[1]

नेपालीमा 'शतम्'को अर्थ सय र 'बीज'को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ । प्रचलनअनुसार मार्गशीर्ष(मङ्सिर) कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले पशुपतिनाथको मन्दिरवरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् । सुरूमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्दछन् ।[2]

पौराणिक मान्यता
भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बाला चतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ । बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ । यसैगरी पशुपतिको मुर्दाघाटमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मुर्दाको टाउको फुट्न गई उछिट्टीएको गिदी उनको च्युरामा परेको र उक्त गिदीसँगै च्युरा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्के । यस्तै आचरण तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित बृषसिंहमार्फत उसलाई मार्न लगाएको अर्को किम्वदन्ती पनि छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बाला चतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।[3]

आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ । पशुपति, मृगस्थली एवं कैलाशमा शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने पुराणमा बताइएको छ । भगवान् शिवले पनि आफ्नो बालककालमा शतबीज छरेकोले यस दिनको नाम बाला चतुर्दशी रहेको हो भन्ने कुराको उल्लेख पनि गरिएको छ । यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बाला चतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि पाइन्छ । मार्गकृष्ण त्रयोदशीको दिन बेलुकी त्यही वर्ष मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरैवर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्दछन् । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै वाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाए (बगाए) पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्छन् । लगातार तीन वर्षसम्म बत्ती बालिसकेकाहरूले शतबीज छरिसकेर ब्राह्मण पुरोहितद्वारा साङ्गेको रूपमा चतुर्थीकृत्य सम्पादन गर्दछन् । पहिलो र दोस्रो वर्ष बत्ती बाल्नेहरू भने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन् । कैलाशमा बसेर दहीच्युरा खानाले भगवान् शिव खुशी हुन्छन् भन्ने जनविश्वास रहेको छ । तर पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकूल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ती बगाउँछन् । यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले उत्तिकै श्रद्धाका साथ मनाउने गरेको पशुपतिमा लाग्ने यी दुई धर्मावलम्बीहरूको भीडबाट प्रष्ट हुन्छ । यसरी बाला चतुर्दशी वा शतबीज रोपण पर्वको मुख्य सन्देश के हो भने हामीले आफू बाँचेको समाजलाई मात्र नहेरी दिवंगत भएका पितृहरूको पनि सम्झना गर्नुपर्दछ । यसरी पितृको सम्झना गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुन्छ । श्रुति, स्मृति र पुराणहरूमा देवता रिझाउनभन्दा पितृ रिझाउन कठिन हुन्छ, पितृ खुसी भए परिवारमा सुखसमृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुराको उल्लेख गरिएकोले पनि यस पर्वको महत्त्व प्रष्ट हुन्छ ।



[1] वार्षिक रत्नावली, वर्षकृत्यखण्ड 
[2] रामप्रसाद धिताल, गोरखापत्र, वि.सं. २०६६ कार्तिक २९ आइतवार (ई. २००९ नवेम्बर १५, पृ.७)
[3] स्कन्दपुराण र स्वस्थानी व्रतकथा

Dec 4, 2017

कसरी पुग्ने हलेसी महादेव ?



हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो सगरमाथा अञ्चल खोटाङ जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडा बाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ ।

हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म, बौद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ।
लेखन - ओमप्रसाद सुवेदी
प्रस्तुति - विनय कोइराला

ऋणसापटीले चिन्ता बढाएको छ भने लिनै पर्ने व्रत : भौम प्रदोष

मङ्गलबारका दिन साँझमा पहिलो प्रहरमा त्रयोदशी तिथि परेको दिनलाई भौम प्रदोष भन्दछन् । पद्मपुराणमा बताइए अनुसार यस दिन मङ्गल देवता (ग्रह) को नामसङ्कीर्तन गर्ने व्रतालुले ऋणबाट छुट्कारा पाउँछ । के पौराणिक मान्यता छ भने मङ्गल ग्रहको उत्पत्ति भगवान शिवबाट भएको हो । कतै रगतको छिटा उछिट्टिएर त कतै आँसुको थोपा उछिट्टिएर पृथ्वीले गर्भधारण गरेकाले मङ्गल ग्रहको उत्पत्ति भएको कथा प्रसङ्ग सुन्न पाइन्छ । भगवान् शिवको कृपाले मङ्गलले ग्रहका रूपमा मान्यता प्राप्त गरी आकाशगङ्गामा आफ्नो स्थान सुरक्षित तुल्याएको प्रसङ्ग पनि पौराणिक स्रोतमा उल्लेख गरिएको छ । त्यसैले मङ्गलबारको प्रदोष व्रतको छुट्टै महत्त्व छ । एकातिर भौम प्रदोष परेको दिन भगवान् शिवको आराधना गरेमा सबै दु:खहरुको अन्त्य हुन्छ भने अर्कातिर मङ्गल ग्रहको आराधनाबाट व्यक्तिले हरेक नराम्रो परिस्थितिबाट मुक्ति प्राप्त गर्दछ, किनभने ज्योतिषशास्त्रमा मङ्गल ग्रहलाई प्रत्येक विपरीत स्थिति र कठिन समयसँग जुध्ने शक्ति प्रदान गर्ने ग्रहका रूपमा वर्णन गरिएको पाइन्छ । उता मङ्गलबारलाई हनुमानको आराधना गर्ने दिनका रूपमा पनि लिइन्छ । हनुमान् पनि भगवान् शिवकै अंशावतार हुन् भनी बताइन्छ । कुण्डलीमा मङ्गल र शनिश्चर ग्रहको अनिष्ट फल निवारण गर्न हनुमानको आराधना गर्ने सुझाव पनि प्राप्त हुन्छ । यसरी मङ्गलबारका दिन पर्ने भौम प्रदोषको व्रत लिएमा शिवजी, मङ्गल ग्रह, गणेशजी र हनुमानको एकसाथ उपासना र आराधना गर्न सकिन्छ । भौम प्रदोष व्रतको व्रत कथा यस प्रकार छ -

एक पटकको कुरा हो । भगवती पार्वती आफ्ना सँगीहरूसित रमाइला कुराहरूमा भुलिनु भएको थियो । यसरी गफमा मस्त रहेका वेला पार्वती माता अचानक खित्का छाडेर हाँस्नुभयो । पार्वतीको हाँसोका साथमा उहाँको हास्यबाट एउटा डरलाग्दो विकराल पुरुष उत्पन्न भयो र हेर्दाहेर्दै ऊ पर्वतसरह विशालकाय आकृति भएको राक्षस बन्यो । पार्वतीले आफ्नो हाँसोबाट उत्पन्न भएको सन्ततिवत ठानेर उसको नाम ममतासुर राखिदिनु भयो र उसलाई आफ्ना दाजु गणेशको उपासना गर्ने सुझाव दिंदै भन्नुभयो - गणेशको उपासनाबाट तिमीले आफूलाई आवश्यक सबै वस्तु प्राप्त गर्न सक्दछौ । ममतासुरले पार्वतीलाई अनुरोध गर्यो, माते म दाजुको उपासना त गर्नेछु, तर मैले उपासना गर्न जानेकै छैन । त्यसपछि माता पार्वतीले 'भगवान् गणेशको षडक्षरी मन्त्र 'वक्रतुण्डाय हुम्' मन्त्रश्रवण गराउँदै गणेशजी प्रसन्न नहुन्जेल यही मन्त्रलाई निरन्तर उच्चारण गरेर बस' भन्नुभयो ।

माता पार्वतीलाई प्रणाम गरी ममतासुर तपस्या गर्न वनतर्फ लाग्यो । त्यहाँ उसले सम्बरासुर नामको अर्को दैत्यलाई भेट्यो । उसले ममतासुरलाई समस्त आसुरी विद्या सिकाई दियो । ती विद्याबाट विभूषित भएको ममतासुरले भगवान् गणेशको उपासनामा पनि उत्तिकै जोड दिंदै तपस्या गर्न थाल्यो । आफूमा भएको आसुरी शक्तिको प्रयोग गरी पृथ्वी र आकाशको मध्यभागमा वायुमण्डलमा अडिएर हज्जारौं वर्षसम्म गणपतिको षडक्षरी मन्त्र जाप गरी ममतासुर तपस्यामा लीन भयो । उसको अखण्ड र अटल तपस्याबाट प्रसन्न भई आदिपूज्य भगवान् गणेशले ममतासुरलाई दर्शन दिन बाध्य हुनुभयो । भगवान् गणेशको दर्शन पाएर कृतकृत्य भएको ममतासुरले सर्वप्रथम निष्ठा र भक्तिपूर्वक उहाँको पूजा गर्यो र अनुरोध गर्यो - 'भ्राताश्री ! यदि हजुर मसँग साँच्चिकै प्रसन्न हुनु भएको हो भने मलाई हजुरले यस ब्रह्माण्डको राज्याधिकार प्रदान गर्नुहोस् । युद्धका समयमा मैले कहिल्यै पराजित हुनु नपरोस् । ब्रह्मा, विष्णु वा साक्षात् त्रिलोकेश्वर महादेव नै मेरासामु आउनु भएमा वहाँहरूलाई मैले जित्न सकौं । म अजेय बन्न सकौं ।' ममतासुरका यस्ता इच्छा सुनेपछि गम्भीर हुँदै भगवान् गणेशले भन्नुभयो - 'बालक ! तैंले असाध्य र दुरूह वरको याचना गरेको छस् । मेरो उपासना गरेको हुँदा मैले यी समस्त इच्छा पूर्ण हुने वरदान प्रदान गरें, तथास्तु । तर जुन दिन मैले आफ्नो अपमान भएको अनुभूति गर्नेछु, त्यसदिनबाट यी वरदान स्वतः समाप्त हुनेछन् ।'

भगवान् गणेशबाट दिव्य वरदान प्राप्त गरेपछि ममतासुर सम्बरासुरकहाँ पुग्यो र आफूले अजेय वरदान प्राप्त गरेको समाचार सुनायो । ममतासुरको पुरूषार्थ प्राप्ति भएकोमा हर्षित हुँदै सम्बरासुरले आफ्नी अत्यन्त सुन्दरी छोरी मोहिनीको विवाह गरिदियो । यो समाचार दैत्यहरूका कुलगुरु शुक्राचार्यले पनि चाल पाए, त्यसपछि उनले ममतासुरलाई दैत्यहरूको राजा बनाए । राजा भएको केही समयपछि कुलगुरु शुक्राचार्यसँग आफूले विश्वविजय गर्न चाहेको इच्छा ममतासुरले  प्रकट गर्यो । शुक्राचार्यले उसलाई आज्ञा दिंदै भने - 'हे राजन् ! हजुरको इच्छा पूर्ण हुनेछ, तर हजुरले याद राख्नुपर्छ, आफ्नो विजयअभियान अघिपछि कहिल्यै पनि विघ्नेश्वर भगवान् गणपतिको विरोध कदापि गर्नु हुँदैन, किनभने आदिपूज्य भगवान् गणपतिको कृपा र आशीषद्वारा नै तपार्इंले यो पद, प्रतिष्ठा र वैभव प्राप्त गर्नु भएको हो ।' ममतासुरले आफ्नो आत्मबल, हिम्मत, साहस र दृढताको उपयोग गर्दै पराक्रमी सेनाका माध्यमले समस्त पृथ्वी र पाताल लोकमा कब्जा गर्यो । उसको लक्ष्य स्वर्गमाथि कब्जा गर्ने थियो, परिणामतः उसको र इन्द्रका बीचमा भीषण युद्ध भयो । उक्त युद्धमा रगतको खोलो नै बग्यो ।

ममतासुरका अगाडि इन्द्रको केही लागेन अन्त्यमा उसले स्वर्गमाथि कब्जा गरी छाड्यो । देव र दानवको युद्धमा भगवान् विष्णु र साक्षात् शिवले समेत ममतासुरका अगाडि घुँडा टेक्नु परेको थियो । अब सम्पूर्ण ब्रह्माण्डमा ममतासुरको शासन कायम भयो । देवताहरूमध्ये पनि कत्तिले स्वर्ग त्यागेर भाग्नु पर्यो भने कत्तिलाई ममतासुरले बन्दी र दास बनायो । ममतासुरको शासनकालमा धर्म, कर्म र वैदिक क्रियाकलापमा कसैको वास्ता भएन, सबै भोगविलास र मोजमज्जामा भुलिए । त्यसपछि देवताहरूले आफ्नो दुःख र कष्ट निवारण गर्ने अनेकौं उपाय गरे । तर उनीहरूको प्रयास निष्फल भयो । एक दिन आफ्नो दुःख र पीडा निवारणका लागि कुनै उपाय सुझाउनका लागि भगवान् शिवको आराधना गरे । देवताहरूको दुःखहरण गर्ने उपाय बताउँदै भोलेनाथले भन्नुभयो - ममतासुर मेरै अंशबाट पार्वतीको हास्यका माध्यमबाट उत्पन्न भएको हो । यसले भगवान् गणेशको आराधना गरी दिव्यशक्ति र सामर्थ्य प्राप्त गरेको छ । त्यसैले तिमीहरूले भगवान् गणेशको प्रिय दिन मङ्गलबार र मेरो प्रिय तिथि त्रयोदशीको संयोग भएको प्रदोषका दिन व्रत गरी मेरो र गणेशको आराधना गर । उक्त व्रतको प्रभावले प्रसन्न भएका गणेशले तिमीहरूको उद्धार गर्नेछन् ।'

शिवाज्ञा प्राप्त गरी सबै देवताहरूले भौमप्रदोषका दिनदेखि विघ्नराज गणेशको पूजा गरे । त्यसपछि आउने प्रत्येक प्रदोषको व्रत लिई एक वर्षसम्म देवताहरूले शिवजी र गणेशको लगातार उपासना गरे । अर्को भौमप्रदोषका दिन भगवान् गणेशको दर्शन पाए । देवताहरूले वहाँसित धर्मको उद्धार गर्न र ममतासुरको अत्याचारबाट मुक्ति दिलाउन अनुनय विनय गरे । त्यसपछि गणेशले नारदजीमार्फत सन्देश पठाउँदै ममतासुरलाई धर्मको आचरण गर्न र अत्याचार समाप्त गर्न आदेश दिैदै उसले आफ्नो शरणमा आउनु पर्ने आदेश दिनुभयो । ममतासुरमा सुखसुविधा र पदको घमण्ड बढेको थियो । उसले नारदमार्फत सुनेको कुरालाई वास्ता गरेन । शुक्राचार्यले पनि उसलाई निकै सम्झाउने प्रयत्न गरे । तर पनि उसमा चेतना आएन । ममतासुरको यस्तो दुष्ट प्रवृत्ति देखेर गणेशजी क्रोधित हुनुभयो र उसले आफूलाई अपमान गरेको ठहर्याउनु भयो । गणेशजीलाई खिन्नता हुनासाथ ममतासुरमा प्राप्त भएका समग्र बल समाप्त भयो । उसको सामर्थ्य घटेको चाल पाउनासाथ देवताहरूले उसमाथि आक्रमण गरिहाले । ममतासुरको पतन भयो र देवताहरूले पुनः राज्यश्री र सुखसम्मृद्धि प्राप्त गरे ।

सूतजीले बताउनु भएबमोजिम मङ्गलबारका दिन पर्ने प्रदोष व्रतलाई विधिविधानपूर्वक सम्पादन गर्नाले भगवान् शङ्कर र आदिपूज्य गणपतिले यसरी नै भक्तहरुलाई साक्षात दर्शन दिएर कृतार्थ गर्ने गर्दछन् । शिव र गणेशको एकसाथ उपासना गर्न सकिने भौम प्रदोषको ठूलो महिमा छ । जोसुकैले यस व्रतको सम्पादन गरेमा आफूले गुमाएका पदप्रतिष्ठा, राज्यवैभव, सुखसम्मृद्धि र धनसम्पत्ति प्राप्त गर्न सक्दछन् । आनन्दपूर्वक जीवनयापन गरी तिनले अन्त्यमा शिवलोक प्राप्त गरी सायुज्यमुक्ति प्राप्त गर्दछन् । ऋणसापटीबाट मुक्ति प्राप्त गर्न पनि भौम प्रदोषको व्रत लिन सकिन्छ ।

Dec 3, 2017

एकादशीमा हुनसक्छ, भाग्य-परिवर्तन


धर्मग्रन्थहरूमा एकादशी तिथिलाई समस्त तिथिहरूमध्ये सर्वश्रेष्ठ तिथि मानिएको छ । यस दिन भगवान् विष्णुको पूजाआराधनाका साथमा गरिएको जप, तप, दानादिको ठूलो महत्त्व छ । त्रिमूर्ति अर्थात् ब्रह्मा, विष्णु र महेशमध्ये भगवान् विष्णुलाई यस सृष्टिसंरचनाको पालनकर्ता अर्थात् सञ्चालनकर्ता मान्ने गरिन्छ र एकादशी तिथि उहाँको सर्वाधिक प्रिय तिथि मान्ने गरिन्छ । त्यसैले यस दिन केही नियम र अनुशासनका विषयमा सचेत हुनु आवश्यक छ, जसबाट श्रीहरिको अहैतुकी सहज कृपा प्राप्त होस् । शास्त्रमा एकादशीका दिन के गर्ने र के नगर्ने विषयमा विविध जानकारीहरू प्रदान गरिएको छ । केही कर्महरू एकादशीका दिन निषेध गरिएका छन्, जुन भुलचुकमा भएमा मनुष्यले सीधै नरकमा प्रवेश गर्नुपर्ने हुन्छ, त्यस्तै केही सरलतम उपायहरू पनि बताइएको छ, जसको पालनाबाट नीच मनुष्यले पनि सहजै वैकुण्ठमा प्रवेश गर्ने स्वीकृति प्राप्त गर्दछ । यस आलेखमा एकादशीका दिन गर्नैपर्ने र गर्न नहुने विषयका बारेमा चर्चा गरिने छ ।

पद्मपुराणमा एकादशीको व्रतको महत्तालाई यसरी बखान गरिएको छ -
शङ्खोद्धारे नरः स्नात्वा दृष्ट्वा देवं गदाधरम् । एकादश्युपवासस्य कलां नार्हति षोडशीम् ॥
शङ्खोद्धार नामक तीर्थमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो एकादशी व्रतको सोह्र भागको एक भागतुल्य पनि हुँदैन ।
सङ्क्रान्तिषु चतुर्लक्षं यो ददाति नृपोत्तम । एकादश्युपवासस्य कलां नार्हति षोडशीम् ॥
चार लाख पटक सङ्क्रान्तिमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो एकादशी व्रतको सोह्र भागको एक भागतुल्य पनि हुँदैन ।
प्रभासक्षेत्रे यत्पुण्यं ग्रहणे चन्द्र सूर्ययोः । तत्फलं जायते नूनमेकादश्युपवासिनः ॥
सूर्य ग्रहण वा चन्द्र ग्रहणमा प्रभास क्षेत्रमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो एकादशीका दिन गरेको स्नानभन्दा कम हुन पुग्छ ।
केदारे चोदकं पीत्वा पुनर्जन्म न विद्यते । तथा चैकादशी पार्थ गर्भवासक्षयङ्करी ॥
जसरी केदार तीर्थको जलपान गर्दा पुनर्जन्म हुँदैन भन्ने गरिन्छ, त्यस्तै फल एकादशीको व्रतको प्रभावबाट प्राप्त हुन्छ, यस व्रतको प्रभावले गर्भाशयमा वास गर्नुपर्ने पीडाको नाश हुन्छ ।
अश्वमेधस्य यज्ञस्य पृथिव्यां यत्फलं लभेत् । तस्माच्छतगुणं पुण्यमेकादश्युपवासिनः ॥
पृथ्वीमा अश्वमेध यज्ञ गर्दा जुन फल प्राप्त हुन्छ, त्यसको एक सय गुणा बढी पुण्य एकादशीको व्रत लिएमा प्राप्त हुन्छ ।
तपस्विनो गृहे यस्य भुञ्जते च द्विजोत्तमाः । तत्फलं जायते नूनमेकादश्युपवासिनः ॥
जुन फल तपस्वीको घरमा उच्चकुलका उत्तम ब्राह्मणहरूलाई भोजन गराउँदा प्राप्त हुने गर्दछ, त्यो पनि एकादशीको व्रतको प्रभावबाट प्राप्त हुने फलभन्दा कम हुन्छ ।
गोसहस्रेण यत्पुण्यं दत्वा वेदान्तपारगे । तस्माच्छतगुणं पुण्यमेकादश्युपवासिनः ॥
वेदान्तविद् ब्राह्मणहरूलाई हजारौं गाई दान गर्दा जुन फल प्राप्त हुन्छ, त्यसभन्दा सय गुणा बढ्ता पुण्य एकादशीको निष्ठापूर्वक व्रत लिनेहरूले प्राप्त गर्दछन् ।
येषां देहे त्रयो देवा ब्रह्मविष्णुमहेश्वराः । वसन्ति तेषां ते तुल्या एकादश्युपवासिनः ॥
एकादशीको व्रत लिने नैष्ठिक व्यक्तिको शरीरमा सदैव ब्रह्मा, विष्णु र महेश्वरको निवास हुन्छ ।
ते नराः पुण्यकर्माणो ये भक्ता हरिपूजकाः । एकादशीव्रतस्यापि पुण्यसङ्ख्या न विद्यते ॥
पुण्यकर्म गर्ने व्यक्ति, भगवान् विष्णुको नित्य पूजा गर्ने भक्तजन र एकादशीको व्रत लिने व्रतालुको पुण्यकर्म असङ्ख्य (अगणनीय) हुने गर्दछ ।
तावद्गर्जन्ति तीर्थानि दानानि नियमानि च । यावन्नोपोषयेज्जन्तुर्वासरं विष्णुवल्लभम् ॥
समस्त तीर्थ, दानादि र विधिविधानको महत्ता तबसम्म रहने गर्दछ, जबसम्म कुनै जीवले एकादशीको व्रत लिंदैन ।  

यसबाहेक मनुष्यले आफ्नो दैनन्दिनीमा पारिवारिक सुखसम्मृद्धिका निमित्त वा आफ्नो व्यक्तित्व विकासका निमित्त अनेकौं प्रयास र परिश्रम गर्दागर्दै पनि असफल भइरहेको अवस्थामा एकादशी त्यस्तो महत्त्वपूर्ण दिन बन्न जान्छ, जुन दिन गरिएका सरलतम उपायहरूले पनि मानिसहरू आफ्नो भाग्यको ढोका सजिलै उघार्न सफल हुने गर्दछन् । धार्मिक मान्यतानुरूप भगवान् विष्णुको प्रसन्नता भएपछि स्वतः माता लक्ष्मीको कृपा प्राप्त हुन्छ, त्यसैले पनि एकादशीका दिन गरिएको श्रद्धाभक्ति र भक्तिउपासनाका माध्यमबाट व्यक्तित्वका साथमा घरपरिवारमा सुख र खुसी भित्र्याउन सकिन्छ ।

एकादशीमा पालना गरिएका तलका उपाय र अनुशासनका माध्यमबाट भाग्य बदलिन सक्छ ।

  • एकादशीका दिन कुनै पनि बोटबिरुवाबाट फूल र पात टिप्नुहुँदैन ।
  • एकादशीका दिन दात माँझ्नु हुँदैन । खासगरी दतिउनको प्रयोग गर्न निषेध गरिएको छ । त्यसैले ब्रुशमन्जन नगरेर औंलाको प्रयोग गरी मुखकुल्ला गर्नु राम्रो हुन्छ वा दशमीको राती नै राम्ररी दाँत सफा गरेर सुते सजिलो हुन्छ ।
  • एकादशीका दिन चामल र चामलबाट बनेका कुनै पनि खाद्यपरिकारको उपभोग गर्नु हुँदैन । त्यस्तै भगवान् विष्णुको प्रतिमा वा फोटोमा पूजा गर्दा अक्षताको प्रयोग गर्नु हुँदैन । अक्षताको सट्टामा तिलको प्रयोग गर्न सकिन्छ ।
  • एकादशीका दिन जौ र यसबाट बनेका खाद्यपरिकारको सेवन गर्न पनि निषेध गरिएको छ । शास्त्रमा महर्षि मेधाको शरीरबाट जौको उत्पत्ति भएको भन्ने कथा छ, त्यसैले विष्णुको पूजामा जौको निषेध गरिएको हो ।
  • एकादशीको दिन दान गर्ने वा अरुलाई केही वस्तु प्रदान गर्ने दिन हो । यस दिन गरेको दानबाट अक्षय पुण्य प्राप्त हुन्छ । तपाईंले दान नगरेमा कुनै दोष लाग्दैन, तर यस दिन अरुबाट कुनै उपहार वा दानादि ग्रहण गर्नु हुँदैन । अझ यस दिन अरुले दिएको खाद्यपरिकार सेवन गरेमा भगवान् विष्णु निराश हुनुहुन्छ र सित्तैमा अरुको धनधान्य वा सरसामान लिएमा आर्थिक सङ्कटमा परिन्छ वा दरिद्रता बढ्छ भन्ने मान्यता छ । तर पूजादिमा ब्राह्मणले दान लिएमा दोष लाग्दैन ।
  • एकादशीका जाँडरक्सी, माछामासु, लसुन, प्याज, मुसुरोको दाल आदि तामसी पदार्थको सेवन गर्नुहुँदैन ।
  • एकादशीका दिन व्रतालुले गाजर, शलगम, काउली, पालक, पानी वा दहमा फल्ने सागसब्जीको सेवन गर्नु हुँदैन ।
  • एकादशीका दिन भगवान् विष्णुलाई पानको पात चढाउने प्रचलन छ, तर यस दिन पानतमाखुको सेवन गर्नसमेत निषेध गरिएको छ ।
  • एकादशी परेको एक दिनअघि नै घर बढारकुँडार गरेर सफा बनाउनु राम्रो हुन्छ, किनकि एकादशीका दिन घर बढारकुँडार गर्न पनि निषेध गरिएको छ । नबढार्नु भन्नुको मुख्य उद्देश्य घरमा कुचो लगाउँदा सूक्ष्म जीवजन्तुको मृत्यु नहोस् वा तिनले समेत दुःख नापाऊन् भन्ने हो, यस अतिरिक्त यस दिन घरको कसिङ्गर बाहिर फ्यालेमा घरको सह पनि बढारिएर जाने गर्दछ, त्यसैले बाध्यतावश यस दिन कसिङ्गर लगाउनु पर्यो भने कसिङ्गर घरभित्रै कुनै ठाउँमा व्यवस्थित गरी राखेर भोलिपल्टमात्र मिल्काउनु पर्दछ पनि भन्ने चलन छ ।
  • एकादशीका दिन दाह्री, कपाल, नङ काट्नु हुँदैन ।
  • एकादशी तिथिका दिन सायंकालमा तुलसीको मठमा गाईको घिउको वर्तन प्रयोग गरी दियो बालीदिनु पर्दछ । त्यसपछि ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको जाप गर्दै तुलसाको मठको एघार पटक परिक्रमा गरेमा घरमा पारिवारिक कलहको अन्त्य हुनुका साथै सुखसम्मृद्धि र शान्तिको वातावरण कायम हुन्छ भन्ने मान्यता छ ।
  • एकादशीका दिन भगवान् विष्णुको पूजा गर्दा पहेंलो रङको प्रयोग हुने वस्तु, पदार्थ र नैवेद्यको प्रयोग गर्नु पर्दछ । त्यसैले पीताम्बर, पहेंलो फूल, केसरीको चन्दन आदिको प्रयोग गरिएको हो । यसरी पहेंलो वस्तुको प्रयोग गरेमा भक्तका प्रत्येक मनोकामनाहरू पूर्ण हुने गर्दछन् ।
  • एकादशीका दिन भगवान् विष्णुलाई प्रदान गरिने नैवेद्य (खाद्यसामाग्री) मा तुलसीपत्र राखेर मात्र चढाउनु पर्दछ ।
  • एकादशीका दिन पिपल र वरको बोटको पूजा गरी धूपबाती गरिदिएमा ऋणबाट मुक्त भइन्छ । 
  • एकादशीका दिन कुनै सौभाग्यवती ब्राह्मणीलाई घरमा ल्याएर फलाहार गराउने र तिनलाई सौभाग्यका सामाग्री दान गरेमा कुमारी कन्याले मनले चाहेको वर प्राप्त गर्दछिन्, साथै गृहिणीले सुमधुर दाम्पत्य जीवन भोग गर्न पाउँछिन्, त्यस्तै विधवाका मृत पतिले उत्तम गति प्राप्त गर्दछन् ।
  • एकादशीका दिन भगवान् विष्णुका साथमा माता लक्ष्मीको समेत पूजा गरेमा धनधान्य र सुखसम्मृद्धिको कमी हुँदैन ।
  • एकादशीका दिन प्रातःस्नानपछि केसरीमिश्रित दूधले भगवान् विष्णुको प्रतिमामा पूजा गरिदिएमा बुद्धि बढ्दछ, परीक्षा र प्रतियोगितामा सफल भइन्छ ।
  • एकादशीका दिन गीता, भागवत आदि ग्रन्थहरूको पाठ गरे गराएमा मृतपितृहरूले उत्तम गति प्राप्त गर्दछन् । 
  • एकादशीका दिन दक्षिणावर्ती शङ्खको पूजा गर्नाले भगवान् विष्णुका साथमा माता लक्ष्मी पनि अतीव प्रसन्न हुनुहुन्छ, त्यसैले यसो गर्दा भक्तको घरमा कहिल्यै पनि दरिद्रताले प्रवेश गर्ने अवसर पाउँदैन ।
  • शास्त्रमा परनिन्दा अर्थात् अरुका कुरा काट्ने काम गर्नुलाई घोर पाप मानिएको पाइन्छ । यसो गर्दा मनमा अनेकानेक कटु भाव उत्पन्न हुने र मनोरोग सिर्जना हुने खतरा हुन्छ । त्यसैले कहिल्यै पनि परनिन्दामा सक्रिय हुनुहुँदैन । अझ एकादशीका दिन बिर्सेर पनि परनिन्दा गर्नु हुँदैन ।
  • एकादशीका दिन क्रोध र हिंसा गर्नुहुँदैन । क्रोधका कारण शरीरमा रक्तविकार हुन्छ र मन पनि स्थिर हुन सक्दैन । 
  • शास्त्रमा चोरी गर्नु, धोका दिनु, छक्याउनु जस्ता कामलाई घोर पाप मानिएको छ । यसबाट व्यक्तिको सामाजिक प्रतिष्ठा नाश हुन्छ, साथै उसले मरणोपरान्त नरकमा जानु पर्दछ । त्यसैले कुनै पनि व्रतका दिन यी काम गर्न निषेध गरिएको हो, जुन एकादशीका दिन पनि पालना गर्नु अनिवार्य मानिन्छ ।
  • एकादशीका दिन खासगरी शरीरभित्रै रहेका छ किसिमका शत्रुहरू (काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य) माथि पूर्ण रूपेण नियन्त्रण राख्नु अनिवार्य छ । यस दिन भोगविलास, आनन्द, मौजमज्जा, मनोरञ्जन, यौन र मैथुन आदि विलासिताका भावनाहरू मनमा आउन दिनुहुँदैन । मनमा यस्ता धारणा उत्पन्न भएमा भक्ति, निष्ठा र श्रद्धाभावमा विघ्न पर्दछ र व्रत पूर्ण हुन पाउँदैन ।

यसरी एकादशीका दिन, साथै जीवनका विभिन्न मोडहरूमा यी उपायको पालना गरेमा व्यक्तिले व्यक्तित्वको उचित विकास गर्नुका साथै पारिवारिक सुखसम्मृद्धि र ऐश्वर्य प्राप्त गरी समस्त अभिलाषा र इच्छाहरू प्राप्त गर्न सक्दछ ।