Nov 11, 2017

महागुरु फाल्गुनन्द


फाल्गुनन्द लिङ्देन किराँत धर्मका एकजना महान् गुरू हुन्। विक्रम संवत् १९४२ सालको कार्तिक २५ गते आइतबारका दिन पिता जगनबाज लिम्बु लिङदेन र आमा हंसमती लिम्बुको कोखवाट साहिंला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको जन्मसमयमा ज्योतिषीले राखेको न्वारानको नाम भने नरध्वज लिङ्देन हो। उनी बाल्यकालमा रोगी र खिनौटे शरीर भएका बालक थिए। यसरी बेलाबेलामा सिकिस्त बिरामी भइरहने फाल्गुनन्दलाई बाबुआमाले धामीझाँक्री र ज्योतिषीको सल्लाहबमोजिम फलामका चुराका कल्ली बनाएर हातमा लगाइएको थियो। त्यसैले कतिपयले उनलाई फलामसिंह पनि भन्ने गर्दथे। त्यही फलामसिंह नाम उनी अङ्ग्रेज सेनामा भर्ना भएपछि 'फाल्गुनन्द'का रूपमा परिणत भएको हो।

उनले करिब आठ बर्षकै कलिलो उमेरमा सत्य र अहिंसाको उद्घोष गर्न थालेको पाइन्छ। प्राणिहत्या गर्नु हुँदैन, असत्य (झुट्ठा) बोल्नु हुँदैन, स्त्रीहरू सृष्टिकर्ता हुन्, त्यसैले उनीहरुलाई समाजमा उच्चसम्मान प्रदान गर्नुपर्छ, आफ्नो रीतिस्थिति र परम्पराअनुसार कुलदेवताको सधैं बिहानबेलुका चोखोनीतो भई पूजाआराधना (माङ्सेवा) गर्नुपर्छ, माछामासु र जाँडरक्सी खानु हुँदैन जस्ता जनचेतनाका दिव्यसन्देश बाँड्दै हिंड्ने महागुरु फाल्गुनन्दले आफ्नो सेवाकालीन सैन्य जीवनमा समेत प्रत्येक दिन बिहानबेलुका पूजापाठ र भक्तिआराधनामा लीन रहने गरेको बताइन्छ। त्यसैले उनलाई ‘ध्यानी’ ‘योगी’ ‘तपस्वी’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो । सैन्यसेवामा रहेकै बखतमा लडाइँबाट विश्वमा शान्तिस्थापना हुन नसक्ने कुरोको बोध भएका महागुरुले अन्ततः बेलायती सेनाको जागीरबाट राजिनामा दिए र किराँत संस्कृति, सभ्यता तथा आफूँले प्राप्त गरेको ज्ञानको प्रचारप्रसार गर्दै उनी भारतका विभिन्न स्थान र भुटान हुँदै आफ्नो जन्मस्थल पूर्वी नेपालको इलाममा आइपुगे। आफ्नो गाँउठाँउमा खासगरी लिम्बु समुदायमा फैलिएको सामाजिक विसङ्गति र विकृतिले गाँजेको भयावह स्थिति नियालेर फाल्गुनन्दले विक्रम संवत् १९८८ साल वैशाख २५ गतेका दिन तत्कालीन ‘दश लिम्बुवान सत्र थुम’क्षेत्रका प्रतिष्ठित र वरिष्ठ व्यक्तिहरूको भेला गरी हालको पाँचथर जिल्लाको सदरमुकाम फिदिमबजार नजिकै पर्ने लेब्रे कुटी भन्ने ठाउँमा समस्त किराँतीहरू आफ्नो वास्तविक धर्म र संस्कारबाट विमुख हुँदै गएको र त्यसैलाई आफ्नो धर्म ठानेर कुमार्गमा लागेको, जाँडरक्सी आदि मादकपदार्थ सेवन गरी बुद्धिविवेकविहीन भई मतिभ्रष्ट भएको, विवाह आदि सामाजिक संस्कार सम्पन्न गर्दा थेग्नै नसकिने गरी मोजमस्ती र भोजभतेर गरी आर्थिकरूपमा दलदलमा भासिएको आदि पृष्ठभूमिका कारण भविष्यमा हरेक कोणबाट माथि उठ्नै नसक्ने गरी पछि परेको तीतो यथार्थलाई छलफलको विषय बनाए र अब उप्रान्त लिम्बु जनजातिले यी सबै कुरीति, विकृति र विसङ्गतिलाई त्यागेर समाजलाई त्यसबाट मुक्त तुल्याउने प्रतिबद्धता सहित सबैले आ-आफ्नो थुममा गई जनसाधारणलाई सम्झाईबुझाई मौलिकताको पहिचान गराउने उद्देश्यले दस बुँदे लिखित मुचुल्का तैयार गरियो। त्यसै मुचुल्काको नाम ‘सत्यहाङ्मा मुचुल्का’ हो। त्यसपछि त्यहाँ उपस्थित करिब दसौं हजारको सङ्ख्यामा उपस्थित सहभागीहरूले आ-आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा उक्त सत्यहाङ्मा मुचुल्काको प्रचार प्रसार गरे। यस प्रचारप्रसारपछि उनले प्रतिपादन गरेको उक्त सिद्धान्तको नाम नै 'सत्यहाङ्मा धर्म' रहन गयो।

फाल्गुनन्दले सत्यहाङ्मा धर्मको प्रचारप्रसार गर्ने सिलसिलामा वर्तमान मेची र कोशी अञ्चलमा पर्ने विभिन्न ७ ठाउँमा माङहिम(मन्दिर) बनाए। माङहिममा उक्त धर्मका अनुयायीहरूले सामूहिक रूपमा साँझबिहान युमासाम्माङ (ईश्वर)को ‘माङसेवा’ गर्ने गर्दथे। उनले कुम्भकर्ण हिमाललाई किराँतीहरूको पवित्र धार्मिक तथा तीर्थस्थलको मान्यता प्रदान गर्दै त्यहाँ पनि एउटा ‘माङहिम’ बनाए। हाल पनि उक्त कुम्भकर्ण हिमालको फेदीमा रहेको माङहिममा भक्तजनहरु ‘माङसेवा’का लागि जाने क्रम जारी नै छ र यो क्रम दिनानुदिन बृद्धि भइरहेको छ। उनले सत्यहाङ्मा मुचुल्का र धर्मको प्रतिपादन मात्र गरेनन्, त्यसलाई कार्यान्वयन गर्न अनुगमन समेत गरे। उनी बेलाबेलामा लिम्बुबान क्षेत्रका हरेक गाँउगाउँमा निरीक्षण गर्दै हिंडे, यस क्रममा उनले पटकपटक आफ्ना चेलाचपेटाका साथमा कुम्भकर्ण हिमालको फेदीमा रहेको माङहिममा पुगेर महिनौंसम्म तपस्या पनि गरेका थिए। यसरी धर्म प्रचारप्रसार र मौलिकताको पहिचान गराउँदै हिंड्दा उनलाई तत्कालीन प्रशासकहरूले निगरानी समेत गरेका थिए। राजनीति गरी सरकारको विरोधमा जनताहरुलाई जागरुक तुल्याएको आशङ्कामा तत्कालिन धनकुटा जिल्लाका बडा हाकिमको निर्देशनमा उनलाई काठमाण्डौमा पुर्याई सोधपुछ समेत गरेका थिए।

आफ्नो मौलिकतालाई बिर्सिएर पथभ्रष्ट हुनुहुँदैन, मदिरा सेवनगरी असामाजिक क्रियाकलाप गरी मतिभ्रष्ट हुनुहुदैन, विवाह आदि सामाजिक रीत पूरा गर्ने क्रममा आफ्नो आर्थिक क्षमताभन्दा बढी तडकभडक देखाई खर्च गरेर उक्सनै नसक्ने आर्थिक दलदलमा फस्नुहुन्न, समाजकी जननी ‘युमासाम्माङ’ (मातृशक्ति) नै नारी हुन्, त्यसैले समाजमा नारीलाई उच्चस्थान दिनु वा सम्मान गर्नुपर्दछ, परपाहुना मान्ने सिलसिलामा वा आफूँले खानपिन गर्ने सिलसिलामा पशुपन्छी र प्राणीको हत्या गर्नुहुन्न, नयाँ अन्नबाली होस् वा अन्य खाने कुरा सुरुमा ‘हिम साम्माङ’, ‘युमासाम्माङ’लाई नचढाइ खानु हुन्न, पशुबली चढाएर ईश्वर प्रसन्न हुँदैनन्, त्यसैले पशुबली गर्नुहुँदैन, त्यसबाहेक फलफूल, नैबेध चढाएर मात्र ‘माङसेवा’ गर्नुपर्छ सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान धार्मिक तथा समाजसुधारकका रूपमा सम्मान गरिन्छ। आफ्नै मौलिक भाषा र लिपिको अध्ययन गर्नु पर्छ भन्ने फाल्गुनन्दलाई तात्कालिक सामाजिक अर्थ व्यवस्थालाई राम्ररी आँकलन गरी समाजलाई आर्थिक दलदलबाट उकास्न व्यावहारिक आर्थिक नीति तर्जुमा गर्ने एकजना कुशल अर्थविद्को रुपमा पनि लिइन्छ। वर्तमान विश्वसन्दर्भमा दोस्रो विश्वयुद्धमा तत्कालीन ब्रिटिस साम्राज्यवादका सिपाहीका रूपमा भारत लगायत बर्मामा युद्ध लड्दालड्दै यो लडाइँ र झगडाबाट विश्वमा शान्तिस्थापना गर्न नसकिने र यसबाट झन रक्तपात, हत्या र हिंसामात्र फैलिन्छ भन्ने जनचेतना बाँड्ने शान्तिदूतका रूपमा पनि यिनको छुट्टै वैशिष्ट्य रहेको छ भन्दा अत्युक्ति हुँदैन। समग्रमा वास्तविक शान्ति समुचित शिक्षादीक्षा, ध्यान, तपस्या, सद्धर्माचरण र मौलिकताको पहिचान भएमा मात्र प्राप्त हुन्छ भनी ज्ञानको ज्योति छर्ने महागुरु फाल्गुनन्द लिङदेन नेपालको पूर्वी क्षितिजमा उदाएर अमर भएका एकजना समुज्ज्वल नक्षत्र हुन्।

No comments:

Post a Comment