Nov 17, 2017

शनिको राशि परिवर्तन : कस्को भाग्य, कस्को दुर्भाग्य ?

शनिलाई ग्रहसभाको न्यायाधीश र दण्डाधिकारीको दर्जा प्राप्त भएको छ । मर्त्यलोकका जुन प्राणिले अनुचित कार्य गरेको हुन्छ, त्यसलाई आफ्नो महादशा वा गोचरका समयमा शनिश्चरले दण्ड दिने गर्दछ । शनि ग्रहाधिपति सूर्यको छोरो हो, नातामा बाबुछोराको सम्बन्ध भए पनि कुनै व्यक्तिको जन्मकुण्डलीमा यी दुईको परस्परमा युतिसम्बन्ध वा दृष्टिसम्बन्ध भएको अवस्थामा दुबै ग्रहले अत्यधिक अशुभ फल प्रदान गर्ने गर्दछन् । शनिलाई त्यस्तो ग्रह मानिन्छ, जसले राजालाई भिखारी र भिखारीलाई राजा बनाउने सामर्थ्य राखेको हुन्छ । त्यसैले शनि शत्रु र मित्र दुबै हो । तुला राशिको शनि उच्च र मेष राशिको शनिलाई नीच मान्ने प्रचलन छ । तुला राशिमा शुक्र ग्रहको र मेष राशिमा मङ्गल ग्रहको अधिकार हुन्छ । त्यस्तै मकर र कुम्भ राशि शनिका आफ्नै राशि हुन् । शनिश्चर ग्रहले गत वि. सं. २०७३ साल फागुन ०५ र ०६ को राती बृश्चिक राशिबाट धनु राशिमा प्रवेश गरेको थियो, तर शनि बक्री भई पुनः बृश्चिक राशिमा नै गएर अहिले पाँच महिनापछि पुन २०७४ साल मंसिर २ गते बिहान पुनः धनु राशिमा प्रवेश गरेको छ । अब शनिश्चर ग्रहले लगातार आगामी २०७६ साल माघ २४ गतेसम्म धनु राशिमा उपस्थिति जनाउने छ ।

सामान्यतया शनि बलियो छ भने आफू बसेको घरमा अत्यन्त शुभ फल प्रदान गर्दछ, त्यस्तै उक्त घरबाट तेस्रो, सातौं र दसौं घरमा पनि शनिको शुभफल प्राप्त हुने गर्दछ । सामान्यतया दैनिक राशिफल लेख्दा चन्द्रमा र मासिक राशिफलको आकलन गर्दा सूर्यको अनि वार्षिक र समग्रतालाई राशिका आधारमा राशिफलको विवेचना गर्दा शनि र बृहस्पतिको अवस्थितिको मुख्य गणना गर्ने गरिन्छ । त्यसरी ग्रहको गणना गरी राशिफल लेख्दा देशकालको गणना हुनु पनि उत्तिकै अनिवार्य हुन्छ । शनिको राशिपरिवर्तनलाई केन्द्रबिन्दुमा राखी मैले आज यो राशिफल लेख्दा खास गरी काठमाण्डौंलाई केन्द्रमा राखी तैयार गरिएको हो । काठमाण्डौंमा शनिश्चरको राशि परिवर्तन आज २०७४ साल मंसिर ०१ गतेको राती (०२ गते बिहान) मध्यरात्रीपछि ०२:०० बजे हुनेछ, जबकि अक्टोबर २६ मा नै भारतमा शनिले राशिपरिवर्तन गरेको समाचार विभिन्न मिडिया र पत्रपत्रिकामा प्रकाशित भएको थियो ।  यसरी नै विभिन्न देश र त्यस ठाउँको अक्षांश र देशान्तरलाई विचार गरी फलादेश लेख्नु वाञ्छनीय हुन्छ । अहिले धनु राशिमा प्रवेश गरेको शनिश्चर आगामी २०७६ साल माघ २४ गतेसम्म धनु राशिमा रहने छ ।

यसरी बृश्चिक राशिबाट धनु राशिमा शनिले प्रवेश गरेपछि मकर राशिका जातकका लागि शनिको आद्य साढेसातीको प्रकोप प्रारम्भ हुन्छ, जबकि तुला राशिमा रहेको साढेसातीको प्रकोप समाप्त हुन्छ । उता बृश्चिक राशि हुनेहरूका लागि यो अन्तिम साढेसातीको समय हुनेछ भने धनु राशि हुनेहरूका लागि मध्य साढेसातीको समय रहने छ । त्यस्तै धनु राशिमा शनि रहेका वेला बृष र कन्या राशिका जातकलाई अढैयाको समय रहने छ । शनिले धनु राशिमा प्रवेश गर्नासाथ मेष र सिंह राशिको अढैयाको समय पनि समाप्त हुँदैछ । अढैया र साढेसातीको प्रकोप पर्ने जातकको जीवनमा विविध उतारचढाव र हलचल उत्पन्न हुनसक्छ । साढेसातीको समयमा न्यायप्रेमी शनिश्चर ग्रहले व्यक्तिको पूर्वजन्मदेखि सञ्चित र यस जन्ममा आर्जन गरेका दुष्टकर्मका निमित्त सजाय र शुभ कर्मका लागि पुरस्कार प्रदान गर्ने गर्दछ । त्यसैले शनिको यस अवधिमा कसैले सुखदायी परिस्थिति भोग्न पाउने अनुकूलता प्राप्त गर्दछन् भने कसैले अतीव कष्टका साथमा यो समय गुजार्नु पर्ने हुन्छ ।

के हो साढ़ेसाती र अढैया ?

एउटा राशिचक्रमा भ्रमण गरेको लगभग ३० वर्षपछि शनि पुनः त्यसै राशिमा फर्किएर आउने गर्दछ । त्यसैले लगभग ०२ वर्ष ०६ महिनाको समय शनिश्चरको एउटा राशिको भोग अवधि हुन्छ । धनु राशिका मालिक वा स्वामी देवगुरु बृहस्पतिलाई मान्ने गरिन्छ । यो शनिश्चरको गोचर भ्रमण भएकाले विभिन्न राशिमा यसको केकस्तो प्रभाव रहने हो, त्यसको निर्क्यौल केवल राशिका आधारमा निर्धारण गर्ने परम्परा छ । राशिका आधारमा व्यक्तिजीवनका दैनन्दिनी र मानसिक आयाममा मात्र विशेष प्रभाव रहने गर्दछ, जबकि व्यक्तिको जन्मकुण्डली र यसअन्तर्गतका सप्तवर्गीय वा षोडश वर्गीय कुण्डलीका आधारमा उसको समग्र जीवन, वास्तविक व्यक्तित्व र सुखदुःखमा विशेष भूमिका निर्वाह गरिरहेको हुन्छ । गोचर (राशि) का आधारमा शनिको साढेसातीको समयावधि ०७ वर्ष र ०६ महिना तथा अढैयाको समयावधि ०२ वर्ष ०६ महिनाको हुने गर्दछ, जबकि जन्मकुण्डलीका आधारमा शनिको विंशोत्तरी महादशा जम्मा १९ वर्षको र त्रिभागी महादशा १२ वर्ष ०८ महिनाको हुने गर्दछ । साढेसाती र अढैया तथा विंशोत्तरी र त्रिभागी महादशा बेग्लाबेग्लै विषय हुन् ।

एउटा पूर्ण आयु भएको व्यक्तिको जीवनमा तीन पटकसम्म शनिश्चरको साढेसाती र छ पटकसम्म अढैया शनिको अवसर प्राप्त गर्दछ । त्यसैले पनि अरु ग्रहका तुलनामा ज्योतिषीहरूले प्रायः शनिश्चर ग्रहको स्वस्तिशान्ति र उपाय अवलम्बन गर्ने सल्लाह दिएको देखिन्छ । जुन राशिमा शनिले प्रवेश गर्दछ, उक्त राशि र त्यसभन्दा अगाडि र पछाडिका दुबै राशिमा समेत गरी एक पटकमा तीन वटा राशिमा शनिको साढेसातीको प्रकोप हुन्छ । जुन राशिमा शनि उपस्थित भएको हुन्छ, त्यस राशिमा मध्य साढेसाती, अघिल्लो राशिमा अन्त्य साढेसाती र पछिल्लो राशिमा आद्य साढेसातीको समय हुन्छ । त्यस्तै आफ्नो राशिबाट चौथो र आठौं घरमा शनिश्चर भए अढैया शनिको दशाकाल मान्ने गरिन्छ ।

धनु राशिमा उपस्थित शनिको आमजनजीवन र अन्य राशिमा पर्ने प्रभाव (राशिफल)

शनि धनु राशिमा रहेको समयमा देश र दुनिया दुबै क्षेत्रमा उथलपुथल र सङ्घर्षको स्थिति उत्पन्न हुन्छ । यसको प्रभावले विभिन्न राष्ट्रका राजनैतिक मुद्दाहरू चुलिने सम्भावना हुन्छ । उच्च शिक्षा, धार्मिक सङ्घसंस्था र धार्मिक स्थलमा शनिको नकारात्मक फल प्राप्त हुन्छ । वाहन दुर्घटना, दैवीप्रकोप आदिका साथमा सामाजिक वातावरणमा पनि उथलपुथलको स्थिति सिर्जना हुन्छ । यस अघि २०४३ सालदेखि २०४६ सालसम्म शनिले धनु राशिमा भ्रमण गरेको थियो । उक्त समयको नेपालकै परिप्रेक्ष्यलाई नियाल्दा २०४५ सालको भूकम्प र नाकाबन्दी तथा २०४६ सालको राजनैतिक आन्दोलन र परिवर्तन स्मरणीय छन् । सन्‌ १९८६ मा यूक्रेनको चर्नोबिल नगरछेउ एउटा परमाणु कारखानामा भएको दुर्घटना, हरिद्वारको धार्मिक महोत्सव महाकुम्भमा भएको भागदौड र दुर्घटना, अमेरिकी अन्तरिक्ष यान 'च्यालेन्जर' को दुर्घटना, सन् १९८८ मा बाङ्गलादेशमा जनविद्रोह, पाकिस्तानका राष्ट्रपति जनरल जिया उल हकको हवाई दुर्घटनामा निधन र राजनैतिक परिवर्तन, सन् १९८९ मा जापानी सम्राट् हिरोहितोको निधन, कोलम्बियामा विमान अपहरण, पूर्वी यूरोपमा साम्यवाद (कम्युनिज्म) समाप्त गर्ने उद्देश्यले पोल्याण्डमा गोलमेज वार्ता प्रारम्भ, अफगानिस्तानबाट सोभियत सेनाको फिर्ता, इरानका धार्मिक नेता अयातुल्लाह रोहेल्लाह खुमैनीको देहान्त, बर्लिनको साम्यवादी पर्खाल भत्काइएको, रोमेनिया, चेकोस्लोभाकिया आदि देशमा कम्युनिज्मको समाप्ति आदि अन्तर्राष्ट्रिय परिघटना समेत विगतमा शनिश्चर धनु राशिमा बसेको समयमा घट्न गएको देखिन्छ ।

व्यक्तिवृत्तमा केन्द्रित रहेर विचार गर्ने हो भने बृश्चिक, धनु र मकर राशिलार्इ क्रमशः आद्य, मध्य र अन्त्य साढेसाती तथा बृष र कन्या राशिलार्इ अढैया शनिको प्रभाव रहने त छँदैछ, त्यसबाहेक राशिबाट केन्द्रमा रहेको शनिलार्इ कण्टक शनि भन्ने गरिन्छ अर्थात् आफ्नो राशिबाट चौथो, सातौं र दसौं घरमा आइपुगेका शनिलाई पनि अरिष्ट नै मान्ने प्रचलन पनि छ । कण्टक शनिश्चरले व्यक्तिलाई मानसिक तवरले दुःखित तुल्याउँछ, जीवनचर्या अव्यवस्थित बन्दछ अनि व्यक्तिले अनेकानेक दुःख र कष्ट व्यहोर्नु पर्दछ । चौथो चन्द्रमाले व्यक्तिको स्थानान्तरण गराउने सम्भावना हुन्छ, साथै स्वास्थ्यस्थितिमा विविध समस्याहरू देखिन सक्छन् । सातौं शनिश्चरले व्यक्तिलाई देशपरदेशको यात्रा गर्ने र परदेशमा लामो समय बिताउनु पर्ने अवस्थाको सिर्जना गर्दछ, अझ सातौं राशि चर स्वभावको राशि भए व्यक्ति दुःखित भई परदेशमा निवास गर्ने परिस्थितिमा पुग्दछ भन्ने गरिन्छ । शनि दसौं घरमा शनिश्चर हुँदा पेसा वा रोजगारीका क्षेत्रमा विविध समस्या सिर्जना हुने सम्भावना हुन्छ, व्यापारव्यवसायमा अचानक नैराश्यता देखिन सक्छ, गरेका काममा कहिल्यै सफल भइँदैन । त्यसरी नै व्यक्तिको जन्मकुण्डलीमा रहेका अशुभ स्थानका शनिश्चरले प्रदान गर्ने दुष्प्रभावहरू समेत शनिको महादशा तथा अन्तर्प्रत्यन्तर दशाबाहेक साढेसाती र अढैयाको समयमा पनि प्राप्त हुने गर्दछन् ।

 शनिले कसैको जीवनमा कस्तो फल प्रदान गर्दछन् र त्यो प्रभाव शुभ वा अशुभ केकस्तो हुन्छ, यसको विवेचना जन्मकुण्डलीको बाह्रवटै भाव, बाह्रवटै राशि, २७ वटै नक्षत्र, शनिको दृष्टिसम्बन्ध, गति (बक्री वा मार्गी), स्थिति, कारकत्व, व्यक्तिको चलिरहेको महादशा, गोचर, साढेसाती वा अढैयाको स्थिति, उच्च, नीच वा शत्रु गृह, भिन्नभिन्न ग्रहसँगको युति वा दृष्टिसम्बन्ध, अंशादिको बल, विभिन्न शुभ र अशुभ नैसर्गिक योगको निर्माण, होराद्रेष्काणादि विविध कुण्डली आदिका अधारमा निर्धारण गर्ने परम्परा छ । केवल एउटा सूत्रका माध्यमबाट मात्र यो यस्तै यकिन फल हुन्छ भनी निर्क्यौल गर्न सकिंदैन । त्यस्तै जुन भावमा शनिको उपस्थिति हुन्छ, त्यस भावको फल शुभ हुन्छ, तर त्यहाँबाट तेस्रो, सातौं र दसौं भावमा शनिको दुष्प्रभाव हुन्छ ।  अतः केवल राशिका आधारमा मात्र फलादेश गर्ने र उक्त फलादेशका आधारमा मात्र स्वस्तिशान्ति आदि उपाय गर्नाले शनिको समुचित दशानिवारण सम्भव छैन । उदाहरणका लागि विश्वको कुल जनसङ्ख्याको १२ भागको एक भाग एउटै राशिका मानिस हुन सक्छन् । एउटै अक्षरबाट नाम प्रारम्भ हुने मानिस पनि त्यत्तिकै होलान् । तीमध्ये कोही राजा छन्, कोही भिखारी, कत्ति महलमा बसेका होलान्, कति खुल्ला आकाशमुनि निदाउन बाध्य छन्, त्यस्तै कत्ति अस्पतालमा रोग र कष्टपूर्ण जीवन धान्दै होलान्, कत्ति कारागारमा बन्दीजीवन, अनि कत्ति चाहिं मोजमज्जा, भ्रमण तथा हनिमुनको आनन्द लुट्दै होलान् । शनिले आफ्नो नियमित भ्रमणका आधारमा आज राशि परिवर्तन त गरेको छ, तर व्यक्तिले त्यसको शुभ र अशुभ के प्रभाव प्राप्त गर्दछ, उसले आफ्नो जन्मकुण्डलीका साथमा तुलना गरी जानकारी लिनु असल हुनेछ । अस्तु ।

अब शनिश्चर ग्रहले बृश्चिक राशि त्यागी धनु राशिमा प्रवेश गर्दा विभिन्न राशिमा पर्ने राम्रा र नराम्रा प्रभावको वर्णन गरिएको छ :-


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

शनि नवौं घरमा रहेको छ । यस अवधिमा प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । भएगरेका प्रयासको राम्रो परिणाम हात पर्ने समय छ । राजनैतिक/प्रशासनिक पदका व्यक्तित्व रं मातापितासँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको यात्राबाट लाभ मिल्नेछ । मित्र र सहयोगीले पूर्णरूपेण सहायता गनेछन् । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । नयाँ किसिमले व्यापार गर्नुहुने अथवा रोजगारीको प्रकृतिमा परिवर्तनको सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट कुनै भय हुँदैन । सानातिना रोगले भने सताउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

शनि आठौं घरमा रहेको छ । यसको प्रभावले कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत छ । साथीभाइ र सहयोगीले दिएका आश्वासन पूरा हुँदैनन् । घरपरिवारका सदस्यको व्यवहारमा पनि फरक भएको अनुभूति हुनेछ । त्यसो त गूढ ज्ञान आध्यात्मिक विषय वा परामनोविज्ञान क्षेत्रबाट कुनै लाभ पाउन सकिन्छ । आफ्नो योग्यता र प्रतिभामा निर्भर हुँदा राम्रो हुनेछ । अचानक धनसम्पत्ति प्राप्त हुने वा भौतिक उन्नति हुनसक्छ । घरपरिवार र आफन्तमा मरिमराउका समाचार आउन सक्छन् । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

शनि सातौं घरमा रहेको छ । साझेदार वा सहयोगीहरू सँग मतभेद बढ्न सक्छ, आफूलार्इ हीनताबोध हुनसक्छ र तिनले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । दैनिकी सञ्चालनका क्रममा पनि समस्या आउने छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । सानातिना झन्झट वा विवादबाट जोगिनु बेस हुनेछ । पति वा पत्नीसँग राम्रो सम्बन्ध रहने छैन ।  अनावश्यक यात्राबाट जतिसक्दो जोगिनु राम्रो हुन्छ । व्यवसायिक, व्यापारिक र विकाससम्बद्ध ठूलठूला निर्णय लिनुअघि पूर्णरूपेण सोचविचार र जाँचपरख गर्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

शनि छैठौं घरमा रहेको छ । आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । नोकरी वा व्यवसायको क्षेत्रमा राम्रो सुधार आउने छ । प्रभावशाली व्यक्तिसित सम्पर्क बढ्ने छ । दैनिकी सञ्चालनका क्रममा फुर्तीको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धीले काम बिगार्न वा अपजस लाउन सक्दैनन् । आर्थिक रूपले यो समय अनुकूल रहने छ । ससाना यात्रा उपयोगी हुनेछ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहने छ । यस अवधिको मध्यभागमा सानातिना रोगव्याधिको मारमा पर्न सक्नुहुन्छ । नत्र हाँके/ताकेका काममा सफलता आर्जन गर्न सकिने समय नै रहेको देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

शनि पाँचौं घरमा रहेको छ । यसको प्रभावले सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्न र बुद्धिविवेकको ह्रास हुनेछ । के गरी समुचित निर्णय लिन सकिन्छ भन्ने विषयमा ध्यान दिनु आवश्यक छ । सन्ततिको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । मित्र एवं सहयोगीले वाचा पूरा गर्न सक्दैनन् । बढी आशावादी हुनु उचित होइन र देश परदेशको यात्राबाट सोचे जस्तो लाभ प्राप्त हुन सक्दैन । आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । जोखिम ब्यहोर्नु पर्ने प्रवृत्तिलाई पूर्णरूपेण अङ्कुश लगाउनु बेस हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

शनि चौथो घरमा रहेको छ । यसको प्रभावले गर्दै नगरेको र थोरै सहभागिता जनाएको काम र कारोबारका कारण झूठो आक्षेप ब्यहोर्नु पर्ने हुनसक्छ । पारिवारिक सुखको अभाव हुनेछ । गरेका प्रयासहरूमा असफल हुनाले मानसिक खिन्नता बढ्नेछ । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । दीर्घ रोगको प्रकोपमा रहेका व्यक्तिले पूर्ण रूपमा परहेजमा बस्नु राम्रो हुनेछ । शत्रु र प्रतिस्पर्धीहरूले छवि धमिल्याउने प्रयास गर्नेछन् । झैझगडा र वादविवादमा नफँस्दा उचित हुनेछ । सांसारिक सुखका दृष्टिकोणले पनि राम्रो समय छैन, यद्यपि धार्मिक र आध्यात्मिक कार्यमा सहभागी हुँदा कुनै राहतको अनुभूति हुने सम्भावना देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

शनि तेस्रो घरमा रहेको छ । लक्ष्यप्राप्ति गरी पराक्रम र प्रतिष्ठा बढाउने समय हो, यो । प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । आत्मविश्वासको मात्रामा बृद्धि हुनेछ । नोकरी र बन्दव्यापारमा उत्साहबर्द्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारी प्राप्त हुने सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । सञ्चारका माध्यमबाट कुनै शुभ समाचार सुन्न पाइने छ । दाजुभाइबाट राम्रो सहयोग जुटाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आर्थिक रूपमा गम्भीर ढङ्गको उतारचढावका साथमा शनि दोस्रो भावमा शनिश्चर उपस्थित भएको छ । आम्दानीका मार्गहरू ठीक रहने छैनन्, दैनिकी सञ्चालनका क्रममा सावधान हुनु आवश्यक छ । नयाँ व्यवसाय र उद्योग धन्धामा सम्बद्ध नहुनु बेस हुनेछ । परिवारका सदस्यका आकाङ्क्षाहरू पूरा हुन सक्दैनन् । आफन्तहरूसित सम्बन्ध बिग्रन्छ । मुद्दामामिलाको भय छ, त्यसैले महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि र साक्षीजमानी बस्नु अघि पटक पटक सोचविचार गरी काम गरेको राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा पनि अङ्कुश लगाउनु उचित हुनेछ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा समेत उतारचढाव आइरहने सङ्केत छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

आफ्नै राशिमा शनि ग्रहको उपस्थिति छ । यसको प्रभावले प्रत्येक काममा बाधा आउने र ढिलो गरी सम्पादन हुने समय सुरु भएको छ । कहिलेकाँही हीनभावना र असुरक्षाको महसुस हुनेछ । कामको बोझ बढ्ने छ । व्यर्थको काममा फँस्ने सम्भावना छ । स्वास्थ्यमा उतारचढाव आइरहने सङ्केत छ । पारिवारिक जीवन पनि सुखद हुनेछैन । प्रियजन वा आफन्तको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित हुनुपर्ने छ । साझेदार वा सहयोगीको लापरवाहीका कारण हानि पुग्नसक्छ । शनि मकर राशिमा सर्ने वेलामा भने केही राहत मिल्नेछ । आशावादी भर्इ हिम्मतका साथमा काम गर्दा केही लाभ मिल्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

खर्चबर्चको भाव बाह्रौं राशिमा शनिले प्रवेश गरेको छ । यो कालखण्ड जीवनीशक्तिमा कमी आउने तथा हीनताबोधको उदय हुने समय हो ।  कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जाको नाश हुनेछ । धनधान्यको हानि र सम्पत्ति अपचलनको योग छ । घरपरिवारका सदस्य र आफन्तजनको स्वास्थ्यमा प्रतिकूलता देखिन सक्छ । आम्दानीका तुलनामा खर्चको मात्रामा अत्यधिक बृद्धि हुनेछ । दूरदराजका क्षेत्र वा प्रवासमा मानसिक सङ्कटका साथमा समय बिताउनु पर्ने छ । सांसारिक दृष्टिकोणले यो श्रेष्ठ समय होइन । अब तपार्इंले शिवोपासना, शनि उपासना र धार्मिक, सामाजिक काममा दिलचस्पी दिएमा मात्र यी प्रकोपको न्यूनीकरण हुन सक्छ । खास गरी शनिको बक्रता, अस्तसमय र शत्रुपीडित अवस्था तपार्इंका लागि हानिप्रद बन्नसक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

शनि एघारौं घरमा रहेको छ । यसको प्रभावले समस्त इच्छा र आकाङ्क्षाहरू पूर्ण हुनेछन् । नयाँ काम र उद्यम प्रारम्भ गर्न उपयुक्त समय छ । मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । व्यापारका माध्यमबाट लाभ पाइने छ । घरपरिवारको कुनै सदस्य वा निकटतम नातेदारले उच्च सफलता वा भाैतिक उन्नति गरेको खबर सुन्न पाइने छ । दूरदराजका वा विदेशका उच्च व्यक्तित्वसँग घुलमिल र सम्पर्क भर्इ लाभ मिल्नसक्छ । टाढा बसेका व्यक्तिहरूसित राम्रो सम्बन्ध कायम हुनेछ । भ्रमण उपयोगी हुनेछ । प्रणय सम्बन्धका लागि पनि राम्रो समय छ । परिवारका सदस्यहरूको व्यवहार तपाईंप्रति अनुकूल रहने छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

शनि दसौं घरमा रहेको छ । यसको प्रभावले मनले इच्छाएको परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । हुन त ठोस परिणाम हात पर्दैन, तर काम ढिलो सम्पन्न हुनेछ । पेसा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्न खोज्नु हानिकारक हुन्छ । प्रत्येक क्रियाकलापमा संलग्न हुँदा धैर्य गर्नु अनिवार्य छ । नजिकको साथीको स्वास्थ्यले चिन्तित तुल्याउन सक्छ । बन्दव्यापार र नोकरीका सिलसिलामा गरिएका यात्राहरू लाभकारी सिद्ध हुनेछन् । जग्गाजमिनको किनबेच गर्ने प्रक्रियालाई स्थगित राख्नु बेस हुनेछ ।

शनिश्चरको साढ़ेसाती र अढैया दशाको शान्ति उपाय

साढेसाती वा अढैया शनिको दशा अवधि भएका व्यक्तिले शनिश्चर ग्रहका विविध उपायमध्ये कुनै उपायलाई नियमित अवलम्बन गर्नु राम्रो हुन्छ । शनिश्चर ग्रहलाई प्रसन्न तुल्याउने केही उपायहरू निम्नानुसार छन् :-


  • शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु पर्दछ ।
  • शनिवारका दिन फलाम, छाला, काठबाट निर्मित वस्तु वा कुनै किसिमको तेल (खाने तेल वा पेट्रोलियम) किन्नु हुँदैन ।
  • शनिवारका दिन कपाल छाँट्नु वा खौरनु हुँदैन, दाह्री वा नङ काट्नु हुँदैन ।
  • कुनै नीच जाति वा जोगीलाई तोरी वा सर्स्युंको तेल दान गर्नुपर्दछ ।
  • कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नुपर्दछ वा खान दिनुपर्छ ।
  • कोही कुनै गुनासो पोख्न वा सहयोग माग्न आयो भने त्यसका कुरा सुनेर सकेको आश्वासन र सहयोग प्रदान गर्नुपर्दछ । कोही गुनासो गर्दै रोएमा त्यसका आँसु आफ्ना हातले पुछिदिंदा शनिश्चर अतीव प्रसन्न हुने गर्दछन् । कसैलाई दिएको वचन वा कुनै देवस्थलमा गरेको भाकल तुरुन्त पूर्ण गर्नुपर्दछ ।
  • घर बनाउँदा कालो मार्बलको प्रयोग गर्नुपर्दछ ।
  • शनिको महादशा वा साढेसातीको समय चलिरहेको छ भने शनि ग्रहको थप उर्जा प्राप्त गर्न दिनैपिच्छे काग, गिद्ध वा भुस्याहा कुकुरलाई खानेकुरा प्रदान गर्ने एवं छोराछोरी, नोकरचाकर वा भाइबहिनीलाई मिश्री, चकलेट आदि गुलियो पदार्थ बाँड्ने बानी विकसित गर्नु पर्दछ ।
  • प्रत्येक शनिबारका दिन गच्छेअनुसार काला चिजबिज जम्मा पारेर जोगीलाई वा कुनै मठमन्दिर अथवा शनिमन्दिरमा गई दान गर्नुपर्छ ।
  • प्रत्येक वर्षको जन्मतिथिमा शनिमृत्युञ्जय स्तोत्रको १०८ आवृत्ति पाठ गर्न लगाई शिवार्चन (रुद्रीपूूजा) गर्नुपर्छ वा कुनै देवालयमा गई कम्तीमा दस जना भिखारी वा मगन्तेलाई पेटभरि भोजन गराउनु पर्छ ।
  • शनिबार बिहान झिसमिसेमा उठी स्नानादिबाट निवृत्त भई पीपलको रुखमा जल चढाउनु पर्छ ।
  • शिव स्तोत्र व शनि स्तोत्रको पाठ गर्नु पर्छ । 
  • शनि यन्त्र धारण गर्नु पर्छ ।
  • हनुमान् जीको उपासनाबाट पनि लाभ लिन सकिन्छ ।
  • दिनैपिच्छे चराचुरुङ्गी वा माछालाई खानेकुरा प्रदान गर्नुपर्दछ र शनिबार मांसाहार गर्नुहुँदैन ।
  • यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र शनि ग्रहको अशुभ प्रभावको निवारण र शुभफलको प्राप्तिका निमित्त शनिवारका दिन, शनि ग्रहको नक्षत्र (पुष्य, अनुराधा र उत्तरभाद्रपद) वा शनिको होराबाट प्रारम्भ गर्नु उचित हुनेछ ।


शनि ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-

शनि ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - भगवान् शिव/मृत्युञ्जय
वैदिक मन्त्र – ॐ शन्नो देवी रभिष्टय आपो भवन्तु पीतये । शंय्योरभिस्रवन्तु नः ।
पौराणिक मन्त्र – ॐ नीलाञ्जन समाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।
शनि गायत्री – ॐ भगभवाय विद्महे मृत्युरुपाय धीमहि, तन्नो सौरिः प्रचोदयात् ।
तन्त्रोक्त मन्त्र – ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।
लघु बीज मन्त्र - ॐ शं शनैश्चराय नमः ।
शनि ग्रहलाई अर्घ्य दिने मन्त्र – नीलाम्बर नीलवपो किरीटिन् रविनन्दन । छायासुत ! गृहाणार्घ्यं प्रसीद सूर्यजः मम ।
जाप संख्या – २३०००
रत्न – शनिको अशुभ फल निवारण र शुभ फलको बृद्धिका लागि २, ३, ६, ७, १० वा ११ क्यारेटको नीलम रत्न चाँदीको औंठीमा बनाई दाहिने हातको माझको औंलामा धारण गर्ने प्रचलन छ ।
दानसामाग्रीहरू :– फलाम, तिल, मास (कालो दाल), तोरी वा सस्र्यूंको तेल, कालो कपडा, काली गाई, गहत, फलामको भाँडो, छाता, जुत्ता, भैंसी, कस्तूरी, सुन, नरिवल, कालो वा नीलो फूल ।


यदि व्यक्ति धार्मिक स्वभावको छ, उसको कर्म असल छ र कर्तव्य एवं संस्कारलाई उचित ढङ्गले पालना गर्दछ भने त्यसलाई शनिको अढैया र साढेसातीमा कुनै किसिमको दुष्प्रभाव पर्दैन । शनिको महादशा वा गोचरकालमा दुष्ट, पाखण्डी, भ्रष्ट र शोषकहरूले मात्र अशुभ फल प्राप्त गर्दछन् भन्ने मान्यता छ ।

No comments:

Post a Comment