Nov 19, 2017

एकछाक अन्न नखाँदा वर्षभरि सुखसम्मृद्धि - ठूली एकादशी (मंसिर ३ गते)


प्रत्येक वर्षको कार्तिक शुक्लपक्षमा पर्ने एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ । पुराण एवं धर्मशास्त्रमा उल्लेख भएअनुसार भगवान् श्रीहरि आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ, भाद्र शुक्ल एकादशीमा दायाँतर्फ कोल्टो फर्किनुहुन्छ र आजकै दिन जाग्नुहुन्छ । भगवान् श्रीहरि शयन गर्नुहुने तिथिलाई हरिशयनी एकादशी भनिन्छ भने कोल्टो फेर्ने तिथिलाई हरिपरिवर्तिनी एकादशी र शयनावस्थाबाट जागा हुने आजको तिथिलाई हरिबोधिनी एकादशी भनेर धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । भगवानको जाग्ने दिन भएकाले हरिबोधिनी वा हरिप्रबोधिनी एकादशी भनिएको हो । यस एकादशीको व्रत लिनाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा एक हजार अश्वमेध तथा एक सय राजसूय यज्ञको फल प्राप्त हुने प्रसङ्ग विभिन्न धर्मग्रन्थमा उल्लेख भएको छ ।

तावद्गर्जंति विप्रेंद्र गंगाभागीरथी क्षितौ
यावन्नायाति पापघ्नी कार्तिके हरिबोधिनी
अश्वमेधसहस्राणि राजसूयशतानि च
एकेनैवोपवासेन प्रबोधिन्या लभेन्नरः

लक्ष्मीले एक पटक क्षीरसागरमा शयनावस्थामा रहनु भएका भगवान् नारायणको सेवा गर्दै आफ्नो जिज्ञासा राख्नु भएको थियो - 'हे नाथ! हजुर जागा रहँदा पनि वर्षौंवर्षसम्म जागै बस्नुहुन्छ र सुत्नुभयो भने पनि लाखौँ-करोडौँ वर्षसम्म सुत्नुहुन्छ । हजुर जागा रहँदा समस्त चराचर जगत् चलायमान हुन्छ, अनि शयनावस्थामा रहँदा समस्त जगतको प्रलय भई सृष्टिको विनाश हुने गर्दछ । त्यसैले हजुरले नियमित रूपमा विश्राम गर्ने व्यवस्था हुनु आवश्यक छ । त्यसरी हजुरले विश्राम गर्नुभयो भने मैले पनि केही समय फुर्सद पाउने छु ।' लक्ष्मीका कुरा सुनेर मुसुक्क हाँसेर भगवान् विष्णुले जवाफ दिनुभयो - 'हे देवी ! तिमीले ठीक भन्यौ । म जागा रहेको अवस्थामा मेरो सेवामा तल्लीन हुनुपर्ने भएकाले समस्त देवगणका साथमा तिमीले निकै खट्नु पर्छ, थकाइ मार्ने र विश्राम लिने समय नहुनाले शारीरिक र मानसिक रूपमा सबैलाई कष्ट हुन्छ।  त्यसैले, तिम्रो इच्छा पूर्ण गर्न म आजदेखि प्रतिवर्ष वर्षा ऋतुबाट प्रारम्भ गरी चार महिनासम्म शयन गर्नेछु । उक्त समयमा तिमी र समस्त देवगणले फुर्सद पाउने छन् । उक्त निद्रा मेरो अल्पनिद्राका रूपमा विख्यात हुनेछ । मेरो अल्पनिद्राको समयमा प्रलयकाल जस्तो चराचर जगतको अन्त्य हुनेछैन, यथावत् सुसञ्चालित भइरहने छ । तर जब प्रलयको समय आउने छ, त्यस समयमा मैले महानिद्रा ग्रहण गर्नेछु र महानिद्राकालमा समस्त चराचर जगत भङ्ग हुनेछ, सृष्टिको विनाश हुनेछ । मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मङ्गलकारी, उत्सवप्रद तथा पुण्यबर्द्धक बन्नेछ । मैले अल्पनिद्रा ग्रहण गरेको समयमा मेरा श्रद्धालु भक्तजनले शयनावस्थाको अनुभूति ग्रहण गर्दै मेरो आराधना र व्रत/अनुष्ठान सम्पन्न गर्नेछन् । त्यसरी मेरो भक्ति/आराधना गर्ने भक्तजनको घरमा उक्त अवधिमा म तिम्रासाथमा निवास गर्नेछु ।' भगवान् विष्णुले यसरी लक्ष्मीलाई आश्वस्त तुल्याएपछि प्रत्येक वर्ष आषाढ शुक्ल पक्षमा पर्ने एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा गई शयन गर्नुहुने र कार्तिक शुक्ल पक्षमा पर्ने एकादशीका दिन शयनावस्थाबाट जागा हुनुहुने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी र कार्तिक शुक्ल पक्षको एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ । हरिबोधिनी एकादशीलाई देवोत्थान एकादशी पनि भन्ने गरिन्छ ।

हरिबोधिनी एकादशीका दिन व्रतालुले प्रातःकालमा ब्रह्ममुहूर्तमा निद्रा त्याग गरी स्नानशौचादि नित्यकर्मबाट निवृत्त भई भगवान् नारायणको प्रतिमासामु उपस्थित भई घण्टा ,शङ्ख, मृदङ्ग आदि बजाएर भगवान् विष्णुलाई अल्पनिद्राबाट ब्युँझाउन यी श्लोकहरू पढेर जगाउने गरिन्छ -
उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत्।।
(हे गोविन्द भगवान्, हजुरले निद्रा छोडेर अठ्नुपर्यो किनकि हजुरको सुताइमा संसारै सुत्छ र हजुर जागा हुँदा यो चराचर जगत्, ब्रह्माण्ड नै उठ्छ। अतः जगतलाई जगाउन हजुर जागा हुनुपर्यो।)
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत-वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन् त्रैलोक्ये मङ्गलं कुरु ॥

यसरी श्रीहरिलाई जागा गराएपछि स्नानादि गराई सुन्दर वस्त्राभूषणले सुसज्जित तुल्याई षोडशोपचार विधिले पूजा गरिदिनु पर्छ । त्यसपछि सम्भव भए पूर्णरूपमा निराहार रही वा फलाहार गरी व्रत लिनुपर्छ । व्रत लिन सम्भव नभए त्यस दिन चामलले बनेको पक्वान्न भए पनि त्याग गर्नु राम्रो हुन्छ । यस एकादशीका दिन जागरण गरेको राम्रो मानिन्छ । व्रतालुले रातभरि जागा रहेर हरि नामसङ्कीर्तन, अखण्ड भागवत पाठ, स्मृतिपुराणादिको कथाश्रवण गर्नाले भगवान विष्णु प्रसन्न हुनुहुन्छ भन्ने मान्यता छ ।

सनातन हिन्दू धर्मावलम्बीका समस्त वैदिक कर्म र संस्कारहरूमा भगवान् विष्णुको नामोच्चारणका साथमा सङ्कल्प गर्ने प्रावधान छ । श्रावणदेखि कार्तिकसम्मको चार महिनाको अवधि भगवान् विष्णुको शयनावस्था हुने भएकाले आषाढमा पर्ने ठूली एकादशीपछि विवाहादि समस्त माङ्गलिक कार्यको अन्त्य हुने र कार्तिकमा पर्ने ठूली एकादशीबाट ती कर्मको शुभारम्भ हुन्छ भन्ने मान्यता पनि छ ।

पद्मपुराणको उत्तरखण्डमा एकादशीको महात्म्य उल्लेख गरिएको छ । उक्त माहात्म्यअनुसार हरि प्रबोधिनी (देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा एक सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस एकादशीको व्रतले शरीरमा जन्मजन्मान्तरदेखि सञ्चित रहेका सबै पापको अन्त्य हुन्छ र व्रत लिने व्यक्तिले मरणोपरान्त वैकुण्ठलोक प्राप्त गर्दछ । यस एकादशीका दिन भक्तजनले श्रद्धाका साथ जेजस्तो जप, तप, स्नानदान र होमादि गर्दछन्, ती सबै अक्षय पुण्यदायक हुन पुग्छन् । यस एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातन धर्मावलम्बी गृहस्थीको आध्यात्मिक कर्तव्य हो भन्ने मान्यता पनि छ ।

नेपाली परिवेशमा यस एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिन्छ । यस दिन गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह सम्पन्न गर्दछन् । आज तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी रङ्गीचङ्गी वस्त्र र फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यस एकादशीको व्रत लिने व्रतालुले तुलसीको विधिसम्मत विवाह गरिदिएर व्रत बसी फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड खाने गर्दछन् । 

कार्तिकमा भगवान् जागा भएपछि सर्वप्रथम दामोदर भगवानसँग भगवती तुलसीको विवाह गर्ने विधान छ । सम्भव भए कार्तिक शुक्ल द्वादशी तिथिमा र सम्भव नभए वा बाधा परे त्यसपछि दामोदर–तुलसी विवाह गर्नुपर्दछ । यस सन्दर्भमा विभिन्न पुराणमा एउटा कथा भेटिन्छ - उहिले एउटा जालन्धर नामको बलशाली दैत्य थियो । ऊ अधार्मिक, दुष्ट र खराब आचरणको भए पनि उसकी पत्नी वृन्दा शीलस्वभाव र सौन्दर्यमा तीनै लोकमा विख्यात थिई । उसले आफ्नो सतीत्व नष्ट नहुन्जेल अखण्ड सौभाग्यको वरदान प्राप्त गरेकी थिई । एक पटक भगवान् महादेव र जालन्धरका बीचमा ठूलो युद्ध भयो । युद्धमा कुनै तरिकाले जालन्धर पराजित भएन । उसकी पत्नीको पातिव्रत्य धर्म समाप्त नहुन्जेल जालन्धरलाई हराउन नसक्ने रहस्य थाहा पाएर महादेवले विष्णुको सहयोग लिनुपर्यो । अनि भगवान् विष्णुले  जालन्धरको रूप धारण गरी वृन्दाको सतीत्व नष्ट बनाउनु भयो । अन्ततः महादेवले जालन्धरको बध गर्नुभयो । विष्णुले आफूसित छल गरेको चाल पाएपछि वृन्दाले उनलाई श्राप दिईन् । वृन्दाको श्रापबाट विष्णुले पत्थर भएर शालिग्रामका रूपमा परिवर्तित हुनुपर्यो ।

विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरी वृन्दालाई वरदान दिनुभयो र भन्नुभयो - 'तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ, म त्यस नदीमा शालिग्राम शीलाका रूपमा सदैव तिम्रा साथमा रहने छु । अनि तिम्रो केश तुलसीका रूपमा औषधीय गुणले युक्त वनस्पति भई उत्पन्न हुनेछ । प्रत्येक गृहस्थीले तुलसीको पूजा गर्नेछन् । मेरो पूजा र भक्ति गर्दा सदैव तुलसीपत्रको प्रयोग हुनेछ र तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ । आजबाट तिमी मेरा निम्ति लक्ष्मीसरह प्रिय रहने छौ, त्यसैले तिमी हरिप्रिया नामले प्रसिद्ध हुनेछौ ।'

वर्तमान युगमा समस्त सनातन हिन्दु धर्मावलम्बीका साथै हरेक नेपालीका घरमा तुलसी र तुलसीको मठ अनिवार्यजस्तै नै देखिन्छ । धार्मिक दृष्टिले हेर्ने हो भने हामी सनातन धर्मावलम्बीका जन्मदेखि मृत्युपर्यन्तका प्रत्येक संस्कारमा तुलसीपत्रको गहुँत र गङ्गाजल जत्तिकै अपरिहार्यता हुन्छ । उदाहरणका लागि मृत्यु शय्यामा छट्पटाई रहेको अवस्थामा प्राण त्याग्नुपूर्व मानिसलाई तुलसीको मठमा राखिन्छ, अनि मरेपछि तुलसीको आश्रय र संसर्ग प्राप्त भएमा मोक्ष प्राप्त हुन्छ भन्ने गरिन्छ । 
दृष्टा स्पृष्टा तथा ध्याता कार्त्तिके नमिताऽर्च्चिता ।
रोपिता सेचितानित्यं पापं हन्ति युगार्जितम् ।
अर्थात् तुलसीको दर्शन गर्दा, छुँदा, ध्यान गर्दा, गृहस्थीले घरआँगनमा तुलसी रोप्दा, तुलसीको बिरुवामा नित्य सिञ्चन गर्दा, अझ कार्तिक महिनामा नमस्कारमात्र गर्दा र पूजादि गरिदिंदा युगौं युगदेखि सञ्चित समस्त पापराशिको नाश हुन्छ । बिहानै तुलसीको पूजादि गर्नाले,  तुलसीसँगको सम्पर्कले मानव जीवन निरोगी बन्दछ भने तुलसीको सम्मिश्रण भएको खाद्यान्न सेवन गर्दा मानिसले दीर्घ जीवन प्राप्त गर्न सक्छ भन्ने गरिएको हो । वास्तवमा हाम्रो दैनिक व्यवहारमा यस वनस्पतिको ठूलो महत्त्व र वैशिष्ट्य छ, त्यसैले पनि आज हरेक गृहस्थीका घरमा तुलसीको पूजा गरिएको हो । प्रत्येक सनातनी गृहिणीले आज घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तसर्थ आजको दिनलाई तुलसी विवाह भन्ने प्रचलन पनि रहेको छ । तुलसीलाई विष्णुप्रिया पनि भनिन्छ ।   तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेंलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् । धार्मिक मान्यतानुरूप कात्तिक महिनाभरि सम्पूर्ण तीर्थसहित देवताहरू तुलसीको मठमा निवास गर्दछन् । जुन घरमा तुलसीको मठ हुन्छ त्यो घर तीर्थसमान हो, त्यस घरमा कहिल्यै पनि यमदूतले प्रवेश गर्दैनन् । यस एकादशीका दिन एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गरेमा १० हजार गौदान गरे समान फल प्राप्त हुने प्रसङ्ग पद्म पुराणमा उल्लेख भएको छ । वास्तवमा तुलसी एउटा महत्वपूर्ण वनस्पति हो । हाम्रा प्राचीनतम ग्रन्थ वेद, उपनिषद्, पुराणादिदेखि लिएर प्रायः सबै पुस्तकमा औषधीय गुणले युक्त तुलसीको विशिष्ट महिमा बखान गरिएको छ । कतै तुलसीलाई प्रत्यक्ष विष्णुकै स्वरूप मानिएको छ भने कतै विष्णुप्रिया अर्थात् विष्णीकी प्रियाका रूपमा लिइएको छ । ब्रह्मवैवर्तपुराणमा तुलसीका आठवटा नामको प्रसङ्ग उल्लेख छ –
वृन्दा वृन्दावनी विश्वपूजिता विश्वपावनी ।
पुष्पसारा नन्दिनी च तुलसी कृष्णजीवनी ।।

वास्तवमा यी तुलसीका प्रत्येक नामका बेग्लाबेग्लै अर्थ र महत्त्व छ र यी सबै नामपछाडि तुलसीले लोककल्याण र मानवहीत गर्ने प्रतीकात्मकता प्राप्त हुन्छ । जसमध्ये विश्वपावनी र विश्वपूजिताको अर्थ हुन्छ – सबैका लागि हितकारी वनस्पति र सबैबाट पूजित । आयुर्वेद विज्ञानमा पनि यो वनस्पतिको विशिष्ट स्थान रहेको पाइन्छ । तुलसीका राम र श्याम गरी दुई किसिमका प्रजाति हुन्छन् भन्ने गरिन्छ, जसमध्ये राम प्रजातिको तुलसीको हरियो र ठूलो पात हुन्छ भने श्याम प्रजातिको तुलसीको पात हलुका कालो र सानो हुन्छ । व्यवहारमा दुबै प्रजातिका तुलसीलाई भगवान् विष्णुकी अर्द्धाङ्गिनी भगवती महालक्ष्मीका रूपमा उपासना गरिन्छ, यद्यपि श्याम अर्थात् कालो तुलसी विशिष्ट हुन्छ भन्ने गरिन्छ ।

तुलसीको धार्मिक–सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व प्रशस्त पाइन्छ । यसको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औँलो आदिका लागि प्रयोग गरिन्छ । तुलसीको हावा मात्रले विषालु कीटाणु नाश हुने जनविश्वास रहेको पाइन्छ । तुलां सादृश्यं स्यति नाशयतीति तुलसी । हितकारी वनस्पतिमध्ये तुलसी, श्रीखण्ड, कुश, आदिको वर्णन स्वयं देवताहरू पनि गर्न सक्तैनन्। आयुर्वेद विज्ञानमा पनि यो वनस्पतिको विशिष्टस्थान रहेको छ । तुलसी पत्रको सेवनबाट प्राप्त हुने केही लाभहरूलाई बुँदागत रूपमा यसरी समेट्न सकिन्छ -

१. तुलसी पत्रको रस बनाएर सेवन गर्दा कडा ज्वरोको प्रकोपलाई शान्त बनाउन सकिन्छ। ज्वरो र टाइफाइडबाट ग्रस्त बिमारीले प्रत्येक दुई वा तीन घण्टामा तुलसीको रस सेवन गर्दा रोगको प्रकोपबाट जोगिन सक्दछन्।

२. कतिपय आयुर्वेदिक कफ सिरपमा तुलसीपत्रको प्रयोग गरिएको हु्न्छ, आयुर्वैदिक स्वास्थ्य उपचारका क्रममा क्षयरोग (टी.बी.),ब्रोङ्काइटिस र दम(Asthma) जस्ता रोग निवारणका निमित्त पनि तुलसी लाभदायी औषधी हो भनिएको पाइन्छ।

३. तपाईं रुँघामर्की र सर्दीबाट पीडित हुनुहुन्छ भने केवल तुलसीका सादा पत्रहरूको सेवन गर्नुहोस्, तपाईंले पक्का स्वास्थ्यलाभ गर्नुहुन्छ।

४. विषालु कीरा, फट्याङ्ग्रा र सर्पको डँसाइबाट ग्रस्त व्यक्तिले तुलसी पत्रको रस, यसको फूल र जरा मिसाएर लेप बनाई घाउ वा डँसाइ भएको स्थानमा लगाउँदा विषको फैलावट हुने क्रम र डाहालाई शान्त बनाउन सक्नुहुन्छ र आफ्नो जीवनलाई लम्ब्याउन मद्दत पुग्छ।

५. तुलसीको तेलमा भिटामिन सी, प्रोटिन, क्याल्सियम र फोस्फोरस तत्त्वको मात्रा अत्यधिक रूपमा प्राप्त हुन्छ। त्यस्तै यस वनस्पतिमा एन्टीब्याक्टेरियल, एन्टीफङ्गल र एन्टीभाइरल गुणहरू पनि विद्यमान हुन्छन्।

६. मधुमेहका दीर्घरोगी हरूले पनि तुलसीको प्रयोग गरेर लाभ प्राप्त गर्न सक्दछन्। यस वनस्पतिले पाचन प्रक्रियालाई नियमित र बलियो तुल्याउन सघाउ पर्याउँछ।

७. तुलसीको तेललाई एन्टी मलेरियल औषधीका रूपमा प्रयोग गर्न पनि सकिन्छ। एन्टीबोडी तत्त्व हुनाले तुलसीले हाम्रो शरीरको इम्यूनिटी शक्तिलाई पनि बढाउँछ।

८. तुलसीको नियमित प्रयोग गर्नाले हाम्रो स्वास्थ्य र सौन्दर्यलाई सन्तुलित तुल्याउन समेत मद्दत गर्दछ।

यसरी भगवान् विष्णुको आशीर्वाद प्राप्त गरेकै दिनदेखि तुलसीको महत्त्व बढ्न गएको हो ।

तुलसीदलानि पुष्पाणि ये यच्छंति जनार्दने
कार्तिके सकलं वत्स पापं जन्मायुतं दहेत्
यावच्छाखाप्रशाखाभिर्बीजपुष्पदलैर्मुने
रोपिता तुलसी पुंभिर्वर्द्धते वसुधातले
तेषां वंशे तु ये जाता ये भविष्यंति ये गताः
आकल्पवर्षसाहस्रं तेषां वासो हरेर्गृहे
यत्फलं सर्वपुष्पेषु सर्वपत्रेषु नारद
तुलसीदलेन चैकेन कार्तिके प्राप्यते तु तत्
महाप्रसादजननी सर्वसौभाग्यवर्धिनी ।
आधिव्याधिहरे नित्यं तुलसि त्वं नमोऽस्तु ते ।।



आज हरिबोधिनी एकादशीका दिन के कसरी पूजादि सम्पन्न गर्ने त ?

१) सबैभन्दा पहिले ब्रह्ममुहूर्त (सूर्योदयहुनुभन्दा ५ घडी अर्थात् २ घण्टाअघि) मा शयन त्यागी उठेर गङ्गादि तीर्थमा गएर वा घरैमा स्नानादि गर्ने ।
२) घरबाहिर रहेको तुलसीको मठको सरसफाइ गरिदिने । लिप्नपोत्न मिल्ने ठाउँमा गाईको गोबरले लिपेर कमेरो माटो र गेरु रङले मठलाई सिङारेर लिङ्गो गाडी ध्वजापताका गरिदिने । लिङ्गो गाड्दा बाँस, शमी, सिमाली वा उखुका लाँक्राको प्रयोग गर्न सकिन्छ र मठको चारवटा कुनामा एकएकवटा र पूर्व दिशा (घाम उदाउने दिशा)मा बीचमा एउटा लिङ्गो ठड्याउनु पर्छ ।
३) त्यसपछि आफूले नित्यपूजा गर्ने मन्दिर वा पूजाकोठामा आएर इष्टदेवताका साथमा भगवान् नारायण (कुनै फोटो वा प्रतिमा) वा शालिग्रामादिको विधिपूर्वक पूजादि गरिदिनु पर्छ । पाद्य, अर्घ्य, आचमनादि षोडशोपचार विधिले भगवानको पूजा गरेपछि सिंहासन वा पूजाको थालीमा राखी भगवान् नारायण वा शालिग्रामको शीला शङ्ख घण्ट बाजागाजा बजाउँदै भगवान् नारायणका स्तोत्रहरूको नामोच्चारण गर्दै बाहिर तुलसीको मठमा ल्याई स्थापना गर्नु पर्दछ । 
४) त्यसपछि पुनः विधिपूर्वक पाद्य, अर्घ्यादि षोडशोपचार विधिले तुलसी र शालिग्राम वा भगवान् नारायणको प्रतिमाको पुनः पूजा गर्नु पर्दछ । पूजा गर्दा तुलसीको मञ्जरी, तिल र चन्दनको प्रयोग गर्नुपर्दछ । याद गर्नुहोला भगवान् नारायणको पूजा गर्दा अक्षताको प्रयोग गर्नुहुँदैन ।
५) अन्तिममा भगवान् नारायणलाई तुलसीको कन्यादान गरें भन्ने भावनाका साथमा यो मन्त्रको उच्चारण गर्नुपर्दछ —
देवी कनकसम्पन्नां कनकाभरणैर्युताम्।
दास्यामि विष्णवे तुभ्यं ब्रह्मलोकजिगीषया
अर्थात् सुवर्णादि अलङ्कारहरूद्वारा सुसज्जित तथा विभिन्न गरगहना तथा वस्त्राभूषणले युक्त भएकी तुलसीरूपी कन्यालाई दामोदर अर्थात् विष्णुरूपी हजुर वरसमक्ष समर्पण गर्दै छु ।
‘आजसम्म तुलसीरूपी यी कन्यालाई रोपेर, हुर्काएर, बढाएर आज यथाशक्ति अलङ्कृत गरेर दामोदररूप तपाईंलाई दिँदै छु’ भनेर भगवान् सत्यनारायणका अगाडि हातमा संकल्प लिएको जल छोड्नुपर्छ र भगवान् विष्णु प्रसन्न हुनुहोस् भन्नुपर्छ । यी मैले दिएकी तुलसीरूपी कन्या ग्रहण गर्नुहोस् भन्नुपर्दछ । तुलसीको हात सम्झिएर विष्णुमा स्पर्श गराउनुपर्छ । यो तुलसी दान गरेकाले मैले मोक्ष पाऊँ र तपाईं तुलसी मेरा चारैतिर हुनुहोस् भनी प्रार्थना गर्नुपर्दछ।
त्वं देवि मेऽग्रतो भूयास्तुलसीदेविपार्श्वतः।
देवि त्वं पृष्ठतो भूयास्त्वद्दानान्मोक्षमाप्नुयाम् ।।


६) अन्त्यमा तुलसी र विष्णुप्रतिमा वा शालिग्रामलाई फूलमाला, भेटी, श्रृङ्गारसामाग्री, आरती र पुष्पाञ्जली गरेर परिक्रमा गरी ब्राह्मणभोजन र दानादि गरिदिनु पर्दछ ।

यसरी आजको हरिबोधिनी एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई स्वर्गका देवतासरह प्रसन्नता प्राप्त हुन्छ भन्ने मान्यता पनि छ ।

न्वाँगी अर्थात् नयाँ अन्न खाने दिन
हाम्रो देश कृषिप्रधान देश हो । सामान्यतया कार्तिक/मंसिर महिनामा नयाँ अन्न भित्र्याउने समय पनि हुन्छ । त्यसैले यसै हरिप्रबोधिनी एकादशीको व्रतसमापन भएपछि द्वादशीका दिन यस वर्ष फलेको नयाँ चामल भगवान् नारायणलाई समर्पण गरी गृहस्थीहरूले आफूले पनि प्रयोग गर्ने परम्परा छ । संस्कृतमा नयाँ अन्नलाई नवान्न भनिन्छ, यही नवान्न पछि अपभ्रंश हुँदै जाँदा न्वागी भएको हो । न्वागी खाने कर्मका लागि हवनादि गर्नुपर्ने भएकाले उपयुक्त समय भएकाले हरि प्रबोधिनी एकादशीको भोलिपल्ट द्वादशीका दिन तुलसाको आहुती भनी यो कर्म हरेक नेपाली गृहस्थीका घरमा सम्पन्न गर्ने पुरानो चलन छ । वास्तवमा देश, काल र भूगोलअनुसार खेतीपातीबाट यसै वर्ष प्राप्त भएको नयाँ धान, जौ आदिको उत्पत्तिपछि घरमा भित्र्याएर देवता र पितृहरूलाई चढाएर हवनादि कर्म गरी ‘आजदेखि ईश्वरको प्रसादका रूपमा यो अन्न म ग्रहण गर्दछु’ प्रार्थना गरिन्छ । यस कृत्यलाई शास्त्रमा 'आग्रायण कृत्य' भनिन्छ ।

न्वागी खाने कर्म नित्यकर्म हो । त्यसैले यस पटक बृहस्पति अस्त भए पनि द्वादशी र त्यसपछि पञ्चमीभित्र जुन दिन अनुकूल हुन्छ, त्यसदिन तुलसाको आहुती गरी नवान्न ग्रहण गर्न मिल्छ । न्वागी खाने र तुलसाको आहुती गर्ने काम यो द्वादशीदेखि आगामी मार्ग कृष्ण पञ्चमीसम्म जहिले गरे पनि हुन्छ । यस समयमा तुलसीको हवन, तुलसीको विवाह र नवान्न प्राशनका लागि शुभसाइत हेर्नु पर्दैन । तर मार्ग कृष्णपक्षको पञ्चमी बितेपछि यी कर्म सम्पादन गर्न दिन जुराएर मात्र गर्न मिल्छ ।

अस्तु ।।

No comments:

Post a Comment