Sep 18, 2017

दाम्पत्य सुखवृद्धि गर्ने 'अदुःख नवमी' व्रत

अदुःख नवमी व्रत

अदुःख नवमी व्रत मुख्यतया कुनै पनि मनुष्यले दाम्पत्य सुखको अभाव झेल्नु नपरोस् भनेर लिइने व्रत हो । प्रत्येक वर्षको भाद्र महिनाको शुक्ल पक्षको नवमीलाई अदुःख नवमी भनिन्छ । अदुःख नवमी व्रत सनातन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा विशिष्ट पर्व हो । यो व्रत पति र पत्नी दुबै दम्पतिले लिने गर्दछन् । असमयमा नै विधवा वा विधुर भएका मानिसहरूले पनि आफूसँग वियोग भएका पति वा पत्नीको उत्तम गति प्राप्त होस् र जन्मजन्मान्तरमा यस जन्ममा जसरी पति वा पत्नीसित वियोग सहनु नपरोस् भन्ने उद्देश्यले पनि यो व्रत सम्पादन गर्ने गरिन्छ । यो आद्याशक्ति जगज्जननी माता पार्वतीको उपासना हो र विशेषतः नारीहरूले वैधव्यजन्य कष्ट निवारणका निमित्त माता पार्वतीको पूजा (आराधना) गर्ने गर्दछन् । यस दिनलाई अविधवा नवमी पनि भन्ने गरिन्छ । विशेषतः सनातन धर्मावलम्बी महिलाहरूले आफ्नो जीवनकालमा विधवा हुनु नपरोस् भन्ने कामनाका साथ यसै दिन व्रत सम्पादन गर्ने भएकाले यस नवमीको नाम अविधवा नवमी रहेको हुनुपर्छ ।

त्यस्तै गृहस्थाश्रममा दाम्पत्यसुखको ठूलो महत्त्व हुन्छ, दम्पतिमध्ये कुनै एकको मृत्यु भएर विधवा वा विधूर हुनु महादुःख हो, त्यसैले त्यस्तो महादुःख कसैले पनि भोग्नु नपरोस् भनेर यस दिन व्रत लिइन्छ, अतः यस दिनलाई अदुःख नवमी पनि भनिएको हो । मनुष्य मरणशील प्राणि हो, मृत्युलाई प्रत्येक जीवले वरण गर्नै पर्छ, यो प्रकृतिको शाश्वत नियम पनि हो । त्यसैले दम्पतीमध्ये संयोगवश हुने घटनाबाहेक पति र पत्नीको मृत्यु एकै साथ हुँदैन, दुईमध्ये जो भए पनि एक जनाले विधवा वा विधूर त हुनै पर्छ । तर यस व्रतको सम्पादन गरेमा पति र पत्नी दुबैले चिरकालसम्म दाम्पत्य सुख भोग गरी सँगसँगै वा छोटो समयको अन्तरालमा मृत्युवरण गर्न पाइन्छ भन्ने आम विश्वास छ । गृहस्थाश्रममा गृहसुखको महत्त्वसमेत उत्तिकै हुन्छ । अदुःख नवमीको व्रत सम्पादन गर्दा आगामी एक वर्षभरि घरपरिवारमा दुःख, दुर्भिक्ष, कलह, रोगव्याधि र कष्टको नाश हुन्छ र सुखसम्मृद्धि, सहकाल, स्वस्थ र शान्त वातावरण प्राप्त हुन्छ भन्ने मान्यता समेत रहेको देखिन्छ । यस व्रतको पालना गर्ने नरनारीले दीर्घकालिक दाम्पत्य जीवन, सुखसम्मृद्धि, सन्ततिमा आरोग्यता र श्रीसम्पत्ति प्राप्त गर्ने विश्वास गरिन्छ ।


व्रत विधान

विशेषतः पूर्वोत्तर भारतको बङ्गाल र आसामका साथै नेपालमा पनि सनातनी दम्पतिले यो व्रत लिने गर्दछन् । अदुःख नवमीको व्रत सम्पादन गर्न इच्छा राख्ने मनुष्यले यस व्रतको एक दिन अघिबाटै शुद्ध र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रतको दिन बिहानै उषाकालमा उठेर स्नानादि नित्यकर्मबाट निवृत्त भई आफ्ना इष्टदेवताको पूजादि कर्म समाप्त गर्नुपर्दछ । त्यसपछि जौ, तिल, कुश र पानी हातमा लिएर संकल्प गर्दै भन्नु पर्छ, हे गौरी भगवती, म आज तपाईंको विशेष आराधना गर्दै उपवास लिँदैछु, मेरो घरपरिवारमा देखिने दुःख, दुर्भिक्ष, कलह, रोगव्याधि र कष्टको नाश गर्दै सुखसम्मृद्धि, सहकाल, स्वस्थ र शान्त वातावरण प्रदान गर्नुहवस् र मलाई अटल सौभाग्यको प्राप्ति होस् । संकल्प गरेपछि दिनभरि निराहार बसी व्रत लिनु पर्छ । व्रतको अवधिमा भगवान् शिवजी र माता गौरी लगायत शिवपरिवारको पूजा, आराधना, भजनकीर्तन, स्तुतिपाठ र कथाश्रवण गर्नुपर्छ । बेलुका हातखुट्टा धोएर पूजाआरती समापन गरेपछि एक छाक सात्विक भोजन गर्दा हुन्छ । सक्ने दम्पतीले जागरण समेत गर्नु पर्दछ । भोलिपल्ट प्रातःकालमा स्नानादि बाट निवृत्त भएर ब्राह्मणब्राह्मणीलाई अन्नदान गरी भोजन गराउने, कुनै दीनहीन र गरिब सौभाग्यवती स्त्रीलाई सौभाग्यका सामाग्री उपहारका रूपमा प्रदान गरी पेटभरि मीठोमसिनो पकाएर खुवाउनु पर्दछ र व्रत समापन हुन्छ । व्रत लिन नसक्ने व्यक्तिले अदुःख नवमीका दिन ब्राह्मणब्राह्मणी वा दीनहीन सौभाग्यवती स्त्रीलाई सौभाग्यका सामाग्री, वस्त्राभूषण दान गर्ने र भोजनादि गराउनाले मात्र पनि अटल सौभाग्य प्राप्ति हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment