Sep 2, 2017

चौथी हान्ने दिन (चोरचन )

प्रत्येक वर्षको भाद्रपद शुक्लपक्षको चतुर्थी तिथिका दिन भगवान् गणेशको जन्मदिन भव्यताका साथमा मनाउने प्रचलन छ । यस पटक २०७५ साल भाद्र २७ गते बेलुका चतुर्थी तिथि परेको हुँदा चन्द्रदर्शन दोषको यो पर्व तीजकै दिन परेको छ ।

नेपाली सामाजिक जीवनमा यस दिनलाई चौथी हान्ने दिन पनि भनिन्छ। तराई मधेशमा यस दिनलाई चोरचन भन्ने गरिन्छ। चन्द्रमाको दर्शन गरेमा कलंकको भागी हुनु पर्छ भन्ने भनाइ छ, अर्थात् अपकीर्ति हुन्छ । भगवान् श्रीकृष्णले पनि सत्राजितसित भएको स्यमन्तक मणि चोरेको आरोप व्यहोर्नु परेको थियो । स्वयं रुक्मिणीपति कृष्णले यसलाई ‘मिथ्याभिशाप’ (भागवत(१०:५६:३१) भनेर मिथ्या कलंकको संकेत गर्नुभएको छ र देवर्षि नारदका भनाइमा श्रीकृष्णले भाद्र महिनाको शुक्लपक्षको चतुर्थी तिथिको चन्द्रमाको दर्शन गर्नु भएकोले व्यर्थको फत्तुर व्यहोर्नु परेको हो –

त्वया भाद्रपदे शुक्लचतुर्थ्यां चन्द्रदर्शनम् । कृतं येनेह भगवन् वृथा शापमवाप्तवान् ।।

– भागवतको श्रीधरी टीकामा स्कन्दपुराणको एउटा श्लोक उल्लेख गरिएको छ, त्यसको तात्पर्य के हो भने भाद्र महिनाको शुक्ल पक्षको चतुर्थीको चन्द्रमाको दर्शन गरेमा  कलंक नै हुन्छ, हुँदैन, त्यसको परीक्षण गर्ने कुनै नियम छैन, तर भाद्र शुक्ल चौथीको चन्द्रदर्शन त्याज्य छ । रामचरित मानसका रचयिता गोस्वामी तुलसीदासले पनि सुन्दरकाण्डको एउटा प्रसंगमा ‘चउथि के चंद नाई’ — (सुन्दरकाण्ड,३८:६) भनेका छन् ।

कलङ्कको कारण के हो त ?

गणेशजीले चन्द्रमा लाई दिनु भएको श्राप यसको कारण हो, जसको कथाप्रसंग यस्तो छ – भाद्र महिनाको चौथी तिथिका दिन गणेश जी लड्डू खाँदै आफ्नै सुरमा कतै जाँदै हुनुहुन्थ्यो, हिलोमा चिप्लिएर लड्नु भएछ, चन्द्रमाले त्यो दृश्य देखेर हाँसेछन्, लम्बोदरले रिसको झ्वाँकमा श्राप दिनुभयो, आजदेखि आजकै दिन कसैले तिम्रो दर्शन गर्यो भने दोषको भागी बन्नुपरोस् ।

स्कन्दमहापुराणमा भगवान् श्रीकृष्णले बताउनु भएको छ, भाद्र शुक्लपक्षको चन्द्रमाको दर्शन मैले गोठमा गाईको खुरमा रहेको पानीमा देखिएको बिम्बमा गरेको हुनाले मलाई स्यमन्तक मणि चोरेको आरोप लाग्न गयो –
मया भाद्रपदे शुक्लचतुर्थ्याम् चन्द्रदर्शनम् । गोष्पदाम्बुनि वै राजन् कृतं दिवमपश्यता ।।

ल भाद्र महिनाको आजको चन्द्रमालाई देख्न नचाहँदा नचाहँदै देखिहालियो भने के गर्ने त ?

१. भाद्र शुक्ल द्वितीया (दर खाने दिन) को चन्द्रमाको दर्शन गरिएको छ भने दोष लाग्दैन, भन्ने मान्यता छ ।
२. भागवतमा भएको स्यमन्तक मणिको कथा सुन्नुपर्छ ।
३. तल लेखिएको मन्त्रलाई २१ पटक जप गर्नुपर्छ –
सिंहः प्रसेनमवधीत् सिंहो जाम्बवता हतः । सुकुमारक मा रोदीस्तव ह्येष स्यमन्तकः ।।
४. माथि लेखिएका कुनै उपाय पनि अपनाउन नसकिएमा मात्र छिमेकीको गाली खाने गरी उसकै अगाडि बिगार गर्नुपर्छ, तर विगार गर्ने उद्देश्यले लुकिछिपी अर्कालाई दुःख दिने मनसायले कुनै असभ्य र अभद्र व्यवहार गर्नु हुँदैन त्यसो गरेमा झन् ठूलो दोषको भागी बन्नु पर्नेछ ।

No comments:

Post a Comment