चेपाङ संस्कृति
चितवन र धादिङको सिमानामा रहेको कान्द्राङगढी र चितवनको उपप्रधाङगढी चेपाङ वंशको ऐतिहासिक थलो रहेको 'चेपाङ जातिको चिनारी' (२०६७) पुस्तकमा उल्लेख छ । चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । भूमिसँग अति निकट सम्बन्ध रहेको चेपाङ जातिभित्र माटोको बनोटको आधारमा उनीहरूको थर, उपथरहरूको वर्गीकरण भएको पाइन्छ । उनीहरूको मूलथलो, गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै रहेका छन् । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । चेपाङ समुदायमा नयाँ घर बनाउन घडेरीको माटो सुब्बे/फाब्बे हुने र नहुने हेर्ने काम पान्दे (चेपाङ पुरोहित) ले गर्छ । उनै पान्देले घरको मूलखम्बा कुलदेवता पुज्ने गर्छन् । जन्मदेखि न्वारन, पास्नी, छेवर, विवाहदेखि मरणसम्मको कार्यमा उनै पान्देको मुख्य भूमिका रहन्छ । चेपाङको लिखित वंशावली नभए पनि ७० भन्दा बढी थर र उपथरहरू छन् । ती थरहरू भूमिबाट उत्पत्ति भएको आधार, बसाइँ/सराइ, व्यवसाय, वैवाहिक सम्बन्ध, कामकाज आदिका आधारमा बनेका छन् । चेपाङहरू मूलतः प्रकृतिपूजक हुन्, परम्परादेखि नै हिन्दू र बौद्ध धर्मको मिश्रित प्रभावमा रहेको देखिन्छ, यद्यपि गरीबी र अशिक्षाको फाइदा बटुल्दै क्रिश्चियनहरुले यो जातीमा पनि धर्म परिवर्तनको रोगले सङ्क्रमण गरिसकेको पाइन्छ ।
चेपाङहरूको दशैं : चोनाम पर्व
भदौ महिनाको पूर्णिमाको दिन चेपाङ जातिको विशेष महत्त्वको दिन हो । यस दिनलाई यिनीहरू मुख्य चाडका रूपमा मनाउँछन् । आफ्ना पाखापखेरा र भिरालो जमिनमा उत्पादन भएका नयाँनयाँ अन्नपात जम्मा पारी यस दिन न्वाँगी खाने गर्दछन् । यस पर्वलाई चेपाङहरू चोनाम (छोनाम) भन्ने गर्दछन् । चोनामका दिन घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ । छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । मकै, धान, पिडालु, घिरौला तथा विभिन्न अमिलो फलफुलहरु र घरमा पालेका कुखुराको मासु चोनामको दिनका मुख्य खानेकुरा हुन् ।
No comments:
Post a Comment