चान्द्र महिनाका आधारमा एक महिनामा कृष्णपक्ष र शुक्लपक्ष गरी दुईवटा पक्ष हुन्छन्, तीमध्ये शुक्लपक्षको अन्तिम दिन पूर्णिमा हो । अङ्ग्रेजीमा पूर्णिमालाई Full Moon (पूर्णचन्द्र) भन्ने गरिन्छ । सनातन परम्परामा औंसी (अमावस्या) र पूर्णिमा दुबै तिथिलाई महत्त्वपूर्ण दिन मान्ने गरिन्छ । अन्धकारपूर्ण रात्री हुने भएकाले अमावस्या (औंसी) पितृहरूको रात र उज्यालो रात हुने भएकाले पूर्णिमा देवताहरूको रात मान्ने प्रचलन पनि छ । चन्द्रमाका १६ वटै कलाहरू प्रकाशित भएर रातलाई दिनको उज्यालोजस्तै झलमल्ल बनाउने भएकाले पूर्णिमा चन्द्रमाको सबैभन्दा प्रियतम तिथि हो । यस दिन चन्द्रमाले आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ ।
चन्द्रमालाई वैदिक कालदेखि नै मनको कारक ग्रह मान्ने गरिन्छ । प्रकृतिका हरेक क्रियाकलाप र परिवर्तनको मानवजीवनसँग प्रत्यक्ष सम्बन्ध हुने गर्दछ, त्यसैले पूर्णिमाको रात्रीकालमा जस्तोसुकै कठोर हृदय पनि पुलकित र रोमाञ्चित हुन पुग्दछ । वैदिक परम्परामा पूर्णिमाका दिन पर्व मानेर कुनै न कुनै धार्मिक कृत्य सम्पादन गर्ने शास्त्रीय विधान समेत उल्लेख भएको पाइन्छ । अतः हाम्रो सनातनदेखि चलेको सामाजिक र सांस्कृतिक जनजीवनमा पूर्णिमाको ठूलो महत्त्व छ । पूर्णिमाका दिन सम्पादन गरिने तलका विधिविधान र यज्ञव्रतादिले पनि यस तिथिको महत्ता र वैशिष्ट्य उजागर गरेको देखिन्छ :-
१ - यो दिन माता लक्ष्मीको कृपा र आशीर्वाद प्राप्त गर्ने विशेष दिन हो । यो तिथि लक्ष्मी माताको प्रिय तिथि भएकाले यस दिन उनको आराधना गर्नाले उपासकले यस सांसारिक जीवनमा कुनै किसिमको दुःख र दारिद्र्य झेल्नु पर्दैन, उसका जीवनमा कुनै पनि भौतिक सुखसम्पदाको अभाव रहँदैन ।
२ - शास्त्रमा उल्लेखभए अनुसार प्रत्येक पूर्णिमाका दिन बिहान करिब १० बजे (१० घटिका भुक्त भएपछि) पीपलको रुखमा माता लक्ष्मीको निवास हुन्छ । जुन मनुष्यले यस दिन बिहानै उठी नित्यकर्मबाट निवृत्त भई कुनै गुलियो नैवेद्य अर्पण गरी मह वा चिनी मिसाएको गुलियो जलले अर्घ्य दिई धूपबाती गरी माता लक्ष्मीको नामोच्चारका साथमा पूजाआजा गरेर आफ्ना निवासमा सधैं माता लक्ष्मीको बास होस् भनी प्रार्थना गर्दछ, उसले सदैव लक्ष्मीको कृपा प्राप्त गर्दछ भन्ने भनाइ छ ।
३ - प्रत्येक महिनाको पूर्णिमा तिथिका दिन १२५० ग्राम (सवा किलो) नटुक्रिएका सग्ला चामल लिएर कुनै शिवालयमा गई अञ्जुलीमा बोक्न सक्नेजति चामल झिकेर शिवलिङ्गमा चढाउने र बाँकी चामल पुजारी वा ब्राह्मणलाई भेटीका साथमा दान गर्ने विधान छ । यस उपायलाई प्रत्येक पूर्णिमा, हरेक सोमबार वा श्रावण महिनाको प्रत्येक दिन गर्नाले भगवान् शिवको कृपा प्राप्त गर्न सकिन्छ । घरपरिवारमा देखिएका समस्त आर्थिक सङ्कटहरू नष्ट हुन्छन् र कार्यक्षेत्रमा सफलता प्राप्त हुन्छ ।
४ - पूर्णिमाका दिन शिवलिङ्गमा मह, काँचो दूध, बेलपत्र, शमीको पात र फल चढाउनाले भगवान् शिवको कृपापात्र बन्न सकिन्छ । त्यस्तै पूर्णिमाका दिन चनौटोमा घसेर बनाइएको श्रीखण्ड चन्दन र केशरी मिसाएर भगवान् शङ्करलाई चढाउँदा घरबाट कलह र अशान्ति हट्दछ ।
५ - प्रत्येक पूर्णिमाका दिन बिहान घरको मूल दैलोमा आँपको तोरण टाँग्ने र बेसारले ॐकार लेख्ने चलन पनि छ । यसो गरेमा घरभित्र शुभ शकूनहरूको प्रवेश हुन्छ भन्ने विश्वास गरिन्छ ।
६ - दीर्घकालसम्म दाम्पत्य र प्रेमजीवन सफल होस् भनी पूर्णिमाको व्रत सम्पादन गर्न सकिन्छ । तर पूर्णिमा र अमावस्याका दिन शारीरिक सम्बन्ध (मैथुन) गर्नु हुँदैन ।
७ - प्रत्येक पूर्णिमाका दिन साँझमा चन्द्रमा उदाएपछि साबुदानाको खिर पकाएर, त्यसमा मिस्री मिसाई माता लक्ष्मीलाई भोग लगाउने र त्यसलाई प्रसादका रूपमा घरपरिवारमा र छरछिमेकमा वितरण गर्दा धनागमको मार्ग खुल्ने विश्वास गरिन्छ ।
८ - पूर्णिमाका दिन कुनै प्रकारको तामसी वस्तुको उपभोग गर्नु हुँदैन । यस दिन जुवाजन्य क्रियाकलाप, मादक पदार्थ, रिसराग आदिबाट टाढा रहनु पर्दछ । बृद्धबृद्धा र स्त्रीहरूसँग वादविवाद गर्नु वा अपशब्द बोल्नु हुँदैन ।
पूर्णिमा व्रत विधि (Purnima Vrat Vidhi in Nepali)
पूर्णिमाका दिन कुलदेवताको प्रसन्नताका निमित्त व्रत लिनु पर्दछ, तर धेरजसो चन्द्रमाको प्रसन्नताका निमित्त पूर्णिमाका दिन व्रत लिने चलन पाइन्छ । चन्द्रमालाई बुद्धि, सुगन्ध, आन्तरिक रोग, मानसिक पीडा, महिला, निद्रा, खुसी, तरल पदार्थ, औंलो ज्वरो, आमा, मातृशक्ति, मोती, नुन, मस्तिष्क, छोटो समय (मुहूर्त वा ४८ मिनेटको समयावधि), दही, प्रेम, तपस्या र साधनारत व्यक्ति, रात्रीकालको अनुमान, मीठो र गुलियो भोजन, अनुहारको आभा, राम्रो फलको आशा, माछा र अन्य जलचर प्राणी, नयाँ र रेडिमेड कपडा आदिको प्रतीकका रूपमा लिइन्छ । सोमबार, कर्कट राशि, रोहिणी, हस्ता र श्रवण नक्षत्रको स्वामी चन्द्रमा हो । यस ग्रहलाई सौम्य ग्रहका रूपमा लिइन्छ, त्यसैले चन्द्रमाको प्राकृतिक फलअनुसार व्यक्तिले राज्य र पदाधिकार प्राप्त गर्दछ । चन्द्रमाको समयमा सज्जनहरुको सङ्गत हुन्छ, मन मनोरञ्जनमुखी हुन्छ, भावुकता र प्रेमको उदय हुन्छ, घरायसी खुसी र सुखसयलका लागि प्रयास गरिन्छन्, शत्रुमाथि विजय हुन्छ र मोटर, गाडी वाहनादिको प्रबन्ध हुन्छ । कुण्डलीमा चन्द्रमाको महादशाको समय वा मङ्गला योगिनीको दशावधि छ भने जसले पनि चन्द्रमाको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै मनोविकार, डिप्रेसन, अस्थिरता जस्ता समस्या भएका व्यक्तिका लागि पूर्णिमाको व्रतबाट विशेष लाभ हुन्छ । घरमा आर्थिक तनाव छ, दाम्पत्य कलह छ वा बालबालिकामा मौसमी रोगव्याधिको प्रकोप छ भने पनि पूर्णिमाको व्रत लिएमा राम्रो हुन्छ । भविष्य पुराणमा पूर्णिमा व्रत लिंदा पालना गर्नु पर्ने विधिका बारेमा उल्लेख गरिएको छ, जुन यस प्रकार छ :-
१) प्रातः ब्रह्ममूहुर्तमा उठेर शौचादिबाट निवृत्त भई नजिकैको कुनै पवित्र नदी, ताल वा पोखरीमा गई स्नान गरी नित्य सन्ध्यावन्दनादि गर्नु पर्दछ । नदी वा पोखरीमा गई स्नान गर्ने अवस्था नभएमा घरकै धारामा गङ्गाजल वा गहुँतमिश्रित शुद्धजलले स्नान गर्नुपर्दछ ।
२) सन्ध्योपासनापछि पुरुष व्रतालुले आफ्ना पितृहरूलाई तर्पण गर्नु उचित हुन्छ ।
३) त्यसपछि पूजाकोठामा प्रवेश गरी इष्टदेवताको पूजाआजा गरी भगवान् भोलेशङ्करको विशेष पूजा गर्नु पर्दछ ।
४) त्यसपछि दिनभरि निराहार वा केवल फलाहारमात्र गरी समय बिताउनु पर्दछ ।
५) बेलुका प्रदोष काल (ठूलो साँझ परेपछि अर्थात् साँझबत्ती बाल्ने वेला) मा घरबाहिर तुलसीको मठमा पूर्व फर्किएर चन्द्रमालाई पाद्यअर्घ्यादि षोडशोपचार पद्धतिले पूजाआजा गर्नुपर्छ । पूजाका लागि दही, सेतो अक्षता, सेतो फूल, सेतो नैवेद्य (बाबर वा बतासा), श्रीखण्ड चन्दन आदि सेता पूजासामाग्री जम्मा गर्नु राम्रो हुन्छ । त्यसपछि मठको फेदमा गोबरको कुण्ड बनाई चन्द्रमालाई दही, दुबो, तिल, शुद्धजल मिसाएर अर्घ्य दिनु पर्दछ । अर्घ्य दिएपछि धेरैवटा प्वाल भएको कुनै वस्तुको सहयोग लिई (उदाहरणका लागि चालनीको प्वालबाट वा बाबर पकाएर बाबरको प्वालबाट) चन्द्रमाको दर्शन गर्नुपर्छ ।
६) त्यसपछि सम्भव भएसम्म एकमाला वा कम्तीमा १० पटक चन्द्रगायत्री मन्त्रको जाप गर्नु पर्दछ ।
७) पूजनोपरान्त चलनअनुसार रातै फूलअक्षताको प्रयोग गरी मान्यजन, चेलीबेटीलाई टीकाटालो गरेर प्रसाद र दक्षिणा वितरण गरी आशीर्वाद ग्रहण गर्नुपर्दछ ।
८) पूजापछि सम्भव भएसम्म तल दानसामाग्रीमा उल्लेख भएका सामाग्री जुटाएर दक्षिणाका साथमा ब्राह्मण वा गरीबगुरुबालाई दान दिएर व्रत समापन गर्नु पर्दछ ।
९) त्यसपछि सात्विक भोजन ग्रहण गर्न सकिन्छ । तर भोजन अवधिभरि मौन रहेर भोजन गर्नु अनिवार्य मानिएको छ ।
चन्द्रमाको आराधना गर्दा सम्झनु पर्ने कुराहरू :-
१) मुख्यदेवता - त्रिपुरारि भगवान् शङ्कर॥
२) पूजा गर्दा प्रयोग गरिने मन्त्रहरू :-
३) अर्घ्य दिने मन्त्र – क्षीरोदार्णवसम्भूत अत्रिगोत्रसमुद्भव । गृहाणार्घ्यं शशांकेदं रोहिण्या सहितो मम ॥
४) चन्द्रमाको दानसामाग्री – घिउ, सेतो कपडा, सुन, मोती, शङ्ख, दही, चाँदी, श्रीखण्ड, कपूर, चामल, जनै, सेतो चामर, सेतो साँढे॥
५) चन्द्रमालाई प्रसन्न तुल्याउन दैनिक पाठ गर्ने स्तोत्रहरू :-
५) चन्द्रमालाई प्रसन्न तुल्याउन दैनिक पाठ गर्ने स्तोत्रहरू :-
No comments:
Post a Comment