भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पनि मनाईन्छ । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । यसरी ठडयाइएको लिङ्गोलाई 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ। त्यसबाहेक ऋषितर्पणी पूर्णिमाका दिन जूठो, सूतक वा अन्य बाधा उपस्थित भई नूतन यज्ञोपवित वा रक्षाबन्धन पर्व मनाउन वञ्चित भएका व्यक्तिले यस दिन यज्ञको आयोजना गरी नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने प्रचलन पनि छ ।
अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको पूजा, आराधना र व्रत हुने गर्दछ । यो दिन कहिल्यै अन्त्य नहुने सृष्टिका कर्ता, धर्ता र संहर्त्ता निर्गुण ब्रह्मको भक्तिको दिन हो । यो दिन व्यक्तिले सांसारिक क्रियाकलाप र मायामोहको लौकिक वृत्तिबाट पर हटेर ईश्वरभक्तिमा अनुरक्त हुने दिन हो । यस दिन भगवान् विष्णुको वैदिक पद्धतिद्वारा पूजाआजा गरी भक्तिको स्मृतितन्तु मानिने अनन्तडोरो बाँध्ने चलन छ । यस दिन धनधान्य, सुखसम्मृद्धि र पुत्रादिको कामनापूर्तिका निमित्त अनन्त व्रत लिने चलन पनि छ । पाण्डवहरूले जुवामा आफ्नो सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्टपूर्ण जीवन भोगिरहेका वेला भगवान् श्रीकृष्णले यसको महत्त्व र वैशिष्ट्यको जानकारी प्रदान गरी अनन्त व्रत लिन आग्रह गरेकाले धर्मराज युधिष्ठिरले आफ्ना भाइ र द्रौपदीका साथमा यो व्रत लिएको प्रसङ्ग महाभारतमा उल्लेख गरिएको छ । उनीहरूले उक्त क्रममा विधिविधानले भक्तिपूर्वक अनन्त भगवानको पूजाआराधना गरी अनन्तसूत्र धारण गरेका थिए । अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्ना समस्त सङ्कटमाथि विजय प्राप्त गरेको विश्वास गरिन्छ ।
मूलतः अनन्त चतुर्दशीका दिन अनन्तका रूपमा भगवान् विष्णुको पूजा गरिन्छ । रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने र नारीहरुले देब्रे हातको नारीमा अनन्त धारण गर्ने प्रचलन छ । रुवा वा रेशमको धागोलाई कुमकुमको रङ्गद्वारा रंगाउने गरिन्छ । यस पूजा र व्रतलाई आस्था र निष्ठा हुने नरनारीले व्यक्तिगत वा पारिवारिक रूपमा अायोजना गरिने अनुष्ठान हो । तर जनैपूर्णिमा वा जन्माष्टमीजस्तो यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन । अग्नि पुराणलगायत अन्य धार्मिक ग्रन्थहरूमा अनन्त चतुर्दशीको व्रत लिने विधि र महात्म्यको वर्णन गरिएको छ । यस दिन कलशको जलमा स्थापना गरिएको तथा कुशबाट निर्मित भगवान् श्रीहरिको प्रतिमाको पूजा गरिन्छ । अनन्त चतुर्दशीको व्रत लिई पूजा सम्पन्न गर्न धुप, दीप, चन्दन, अक्षता, पुष्प, नैवेद्यादिको अावश्यकता हुन्छ । व्रत लिने व्यक्तिले प्रात:कालमा स्नानादि नित्यकर्महरुबाट निवृत्त भई शुद्ध वस्त्रादि पहिरिई कुनै पवित्र नदीको तटमा वा घरभित्रकै पूजास्थलमा गई पूजावेदीको निर्माण गरी त्यसको मध्यभागमा एउटा कलशको स्थापना गर्नुपर्दछ । कलशमाथि एउटा थाली राखी त्यसमा अष्टदल कमलको रचना गरी त्यसको केन्द्रमा कुशबाट निर्मित अनन्त भगवान् विष्णुको प्रतिमा स्थापना गर्नुपर्दछ । यस पछि कुङ्कुम, केसरी वा बेसारबाट रंगाएर बनाएको काँचो धागोबाट १४ ग्रन्थियुक्त 'अनन्त'को निर्माण गरी त्यसैको समीपमा स्थापना गर्नुपर्दछ । त्यसपछि 'ॐ अनन्तायनम:' यस मन्त्रले भगवान् विष्णु तथा अनंतसूत्रको षोडशोपचार-विधिले पूजा गर्नुपर्दछ । पूजाको समाप्तिपछि यथोचित दानादि गरी भगवान् हरिको नामसङ्कीर्तन, मन्त्रोच्चारण र कथाश्रवण गरी दिन बिताउनु पर्दछ । व्रत सम्पादन गर्ने व्यक्तिले चामलको एक पाथी पिठोबाट तैयार गरिएका रोटीहरु भगवानलाई भोग लगाई पूजा सकिएपछि त्यसको आधा भाग ब्राह्मणलाई दान गर्दछन् र बाँकी आधा भाग स्वयं आँफैले खाने गर्दछन् । यो व्रत लिएको दिन चामल र नुन बार्ने नियम छ । यदि यस व्रतलाई लगातार १४ वर्षसम्म लिने हो भने व्रतालुले मरणोपरान्त सजिलै विष्णुलोक प्राप्त गर्न सक्दछ भनी यसको महात्म्यमा उल्लेख गरिएको छ । यस व्रतलाई सम्पादन गर्ने प्रसङ्गमा भने केही मतमतान्तर छन् - जस्तै माधवले काल निर्णयमा यो व्रत मध्याह्नकालमा सम्पादन नगरेर सूर्योदयबाट गणना गरी प्रातःकालको तीन मुहर्तसम्म लिनु उपयुक्त हुन्छ भनेका छन्, तर निर्णयसिन्धुले यस मतको खण्डन गर्दै उदय तिथि चतुर्दशी हुनुपर्ने र मध्याह्नकालसम्म चतुर्दशी तिथि भएको सर्वोत्तम हुने कुरा लेखेको छ । अनन्त चतुर्दशीमा भगवान् विष्णुको प्रार्थना गर्ने मन्त्र यस प्रकार छ :-
अनन्तं विप्रवर्गञ्च तथा कुङ्कुमवर्णकम् ।
फणासहस्रसंयुक्तं तं देवं प्रणमाम्यहम् ॥
सदा भूयात् प्रसन्नो मे भक्तानामभयङ्कर: ॥
हे वासुदेव, यस अनन्त संसाररूपी महासमुद्रमा डुबेका मानिसहरूको रक्षा गर्नुहवस् तथा तिनलाई अनन्तका रूपको ध्यान गर्नमा संलग्न गराउनुहवस्, अनन्तरूप भएका हजुरलाई नमस्कार ।
अनन्तसागरमहासमुद्रेमग्नान्समभ्युद्धर वासुदेव ।
अनंतरूपे विनियोजितात्मा ह्यनन्तरूपाय नमो नमस्ते ॥
(अग्नि पुराण १९२/९)
माथि उल्लेख गरिएको मन्त्रले भगवान् विष्णुको पूजा गरेर व्यक्तिले आफ्नो हातको पाखुरामा वा गलामा मन्त्रोच्चारणपूर्वक अनन्त भनी प्रतिष्ठा गरिएको धागो धारण गरी अनन्त चतुर्दशीको व्रत सम्पादन गरेमा सुखसम्मृद्धि, दाम्पत्यसुख, सुस्वास्थ्य, प्रसन्नता र अन्त्यकालमा मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ । यस धागोमा प्रयुक्त अनन्त शब्दले भगवान् हरिको र चौधवटा गाँठाले हरिद्वारा उत्पन्न १४ वटा स्वर्गादि लोकहरुको प्रतीकात्मक अर्थ वहन गरेको छ । हेमाद्रिको व्रत खण्डको भाग २ मा अनन्त व्रतको विवरण विशद रूपमा उल्लेख गरिएको छ ।
अनन्त चतुर्दशीको व्रतकथा
एक पटक महाराज युधिष्ठिरले राजसूय यज्ञ गरे । त्यस समयमा यज्ञ मण्डपको साजसज्जा राम्ररी गरिएको थियो । देख्दा पनि उक्त यज्ञमण्डप सुन्दर र अनुपम देखिन्थ्यो । त्यो यज्ञ मण्डपको कालिगढी यत्ति अद्भूत र मनोरम थियो, जसमा जल र स्थलको भिन्नता छुट्टिदैनथ्यो । जलमा स्थलको र स्थलमा जलको प्रतीत हुन्थ्यो । साँच्चिकै सावधानी अपनाउँदा पनि अधिकांश व्यक्तिहरू त्यहाँ पुग्दा प्रायशः झुक्किने गर्दथे । एक पटक कतैबाट घुमघाम गर्दै दुर्योधन पनि त्यस यज्ञ-मण्डपमा आइपुगे । उनी युधिष्ठिरका बडाबा धृतराष्ट्रका छोरा थिए । उनी अचम्म मान्दै त्यस यज्ञवेदीको निरीक्षण गरिरहेका थिए । यसै क्रममा उनले पानी नभएको ठाउँमा पानी छ भन्ने ठानी आफूले लगाएको धोती उचाल्नु परेको थियो भने एक ठाउँमा त पानीले भरिएको तलाउमा सामान्य जमिन ठानेर ठमठम हिंड्दा नराम्ररी पछारिनु परेको थियो । यसरी दुर्योधन हिंडेडुलेको दृश्यलाई द्रौपदीले नियालिरहेकी थिईन् । दुर्योधन पछारिएपछि उनी खित्का छाडेर हाँसिन् र 'अन्धाको छोरो अन्धो' भन्दै दुर्योधनको उपहास गर्न थालिन् । द्रौपदीको उपहासका कारण उनको हृदयमा बाण झैं बिज्न थाल्यो, उनी नराम्ररी चिढिए र उनको मनमा द्वेष उत्पन्न भयो अनि उनले पाण्डवहरूलाई द्यूतक्रीड़ामा हराएर द्रौपदी गरेको उपहास र अपमानको बदला लिने विचार गरे। अनि हस्तिनापुरमा युधिष्ठरलाई सपरिवार निमन्त्रणा गरी बोलाएर मामा शकुनीको सहायताले कल, छल र बल गरी पाण्डवहरुलाई द्युतक्रीडामा पराजित गरे । जुवामा खेल्दा गरेको बाचाबन्धनअनुसार हारेपछि पाण्डवहरूले बाह्र वर्षसम्म वनवासमा बस्नुपर्यो र किसिमकिसिमका कष्ट सहनु पर्यो । वनवासमा रहेका बेला भगवान् श्रीकृष्ण पाण्डवहरूलाई भेट्न आउँदा युधिष्ठिरले उनीसित आफ्नो दुःख सुनाए र दुःख हटाउने उपाय सोधे । त्यसपछि श्रीकृष्णले आज्ञा गर्नुभयो -'हे युधिष्ठिर ! तपाईंले विधिपूर्वक भगवान् अनन्तको व्रत गर्नुभयो भने अहिलेको दुःख र सङ्कटबाट छुटकारा पाउनु हुनेछ । तपाईंको गुमेको राज्य पुन: प्राप्त हुनेछ ।' युधिष्ठिरले व्रतको विधिविधान र नियमका बारेमा जिज्ञासा राखेपछि यस सन्दर्भमा श्रीकृष्णले एउटा कथा सुनाउँदै बताउनुभयो -
प्राचीन कालमा सुमन्त नामका एक जना तपस्वी ब्राह्मण थिए । तिनी पत्नी दीक्षा र पुत्री सुशीलाका साथमा आफ्नो गार्हस्थ्य जीवन बिताइरहेका थिए । तिनकी छोरी परम सुन्दरी, धर्मपरायण तथा ज्योतिर्मयी कन्या थिईन् । सुशीला किशोरी अवस्थाकी हुन नपाउँदै उनकी माता दीक्षाको मृत्यु भयो । पत्नीको मरणोपरान्त सुमन्तले गर्कशा नामक स्त्रीसित दोस्रो विवाह गरे । उनले समयकालमा कौण्डिण्य ऋषिका साथमा छोरी सुशीलाको पनि विवाह गरिदिए । कन्यादान गरिसकेपछि छोरीको विदाइ गर्दा सुशीलाकी सौतेनी आमा गर्कशाले केही ईंटा र ढुङ्गाका टुक्रा बाँधेर दाइजोका रूपमा छोरीज्वाइँलाई दिईन् । ससुरालीले दिएको पोको लिई कौडिन्य ऋषि दुखी हुँदै नवविवाहिता पत्नीका साथ आफ्नो आश्रम प्रस्थान गरे, जाँदाजाँदै बाटामा साँझ पर्यो । सन्ध्याकाल भएकाले ऋषि कौडिन्य नदीका तटमा सन्ध्योपासना गर्न बसे । सुशीला पतिको सन्ध्योपासनाको समाप्तिको प्रतीक्षा गर्दै थिईन् । त्यसै वेला उनले नदीको अर्को किनारमा केही स्त्रीहरू राम्राराम्रा लुगामा ठाँटिएर पूजाआजामा संलग्न रहेको दृश्य देखिन् । उनी उक्त स्थानमा गईन् र तपाईंहरूले के गरेको भनी जिज्ञासा राखिन् । ती महिलाहरूले आफूहरूले अनन्त चतुर्दशीको व्रत लिएको बताए र विधिपूर्वक उक्त व्रतको महत्ता पनि बताई दिए । संयोगले त्यही दिन अनन्त चतुर्दशी थियो, त्यसैले सुशीलाले त्यहीं बसेर उक्त व्रतको अनुष्ठान गरिन् र चौधवटा गाँठा भएको डोरो हातमा बाँधिन् र पतिभए ठाउँमा फर्किएर अाईन् । त्यसपछि उनीहरू घरतर्फ लागे र केही समयमा घर पुगे ।
सुशीलाले नदी तटमा अनन्तको व्रत लिई अनन्तसूत्रको धारण गरेकी हुनाले उनलाई माइतीले दाइजोमा दिएका ईंटा र ढुङ्गा हिराजवाहिरातका रूपमा परिणत भए एवं केही दिनमा नै तिनीहरूको घर पनि धनधान्यले भरिपूर्ण भयो । एकदिन कौण्डिन्य मुनिको दृष्टि आफ्नी पत्नीको देब्रे हातको पाखुरामा बाँधिएको अनन्त सूत्रमा पुग्यो । त्यस धागोलाई देखेर ऋषि भ्रमित भए र उनले पत्नीसित सोधे - होइन तिमीले मलाई वशमा राख्न यो सूत्र बाँध्यौ कि कसो? कौडिन्यले सुशीलासित त्यसरी पाखुरामा बाँधिएको डोराका बारेमा प्रश्न र जिज्ञासा राख्दा सुशीलाले विनम्रतापूर्वक आफूले नदीका किनारमा थाहा पाएका यावत् वृत्तान्त बताई दिईन् । ऐश्वर्यको मातमा अन्धा भएका कौण्डिन्य ऋषिलाई त्यस डोरोप्रति विश्वास भएन र उनले आफ्नी पत्नीको सही कुरालाई पनि गलत ढङ्गले बुझ्ने प्रयास गरे, अनि सुशीलाले धारण गरेको अनन्त सूत्रलाई जादुमन्त्रबाट सिद्ध गरिएको वशीकरण गर्ने डोरो ठानेर चुँडाल्दै यज्ञको आगोमा मिल्काई दिए । उनले गरेको यस दुष्कर्मका कारण भगवान् अनन्तको अपमान भयो। फलस्वरूप तुरुन्त तिनको सारा श्रीसम्पत्ति र ऐश्वर्य नष्ट भयो ।
घरमा दरिद्रता बढ्दै गर्दा खिन्न भएका ऋषिले एक दिन आफ्नी पत्नीसित खिन्नता प्रकट गरे । यसै अवसरमा सुशीलाले अनन्त भगवानको डोरो डढाएको प्रसङ्ग कोट्याईन् । ऋषिले पछुतो माने र अनन्त डोरो कसरी निर्माण गर्ने तथा यस व्रतको विधि के होला भनी उपाय खोज्न वनतर्फ प्रस्थान गरे । उनले वनमा धेरै दिनसम्म यता र उता भौंतारिनु पर्यो । अन्त्यमा अत्यन्त निराश भई निर्बल हुन पुगेका ऋषि कमजोरीका कारण जमिनमा पछरिएर मूर्च्छा परे । ऋषि पछारिएर मूर्च्छित भएको ठाउँमा अनन्त भगवान् प्रकट हुनुभयो र उनलाई सम्बोधन गर्दै भन्नुभयो - 'हे ऋषिवर ! तिमीले मेरो तिरस्कार गरेका थियौ, त्यसैले तिमीले यत्तिका दुःख र कष्ट भोग्नुपर्यो । तिमी दुःखी भयौ । अहिले तिमीले पश्चाताप गरेका छौ, त्यसैले म तिमीसँग प्रसन्न छु । अब तिमीघर गएर विधिपूर्वक अनन्त व्रत गर । चौधवर्षसम्म प्रतिवर्ष विधिविधानपूर्वक यो व्रत सम्पादन् गर्यौ भने तिम्रा समस्त दुःख नष्ट हुनेछन्, तिमी धनधान्यबाट सम्पन्न हुनेछौ । कौडिन्यले भगवन् अनन्तले बताएको विधिलाई अनुसरण गरी अनन्तको व्रत सम्पादन गरे र सारा क्लेशहरूबाट मुक्ति प्राप्त गरे ।' भगवान् श्रीकृष्णको मुखारविन्दबाट यो कथाप्रसङ्ग सुनेपछि युधिष्ठिरले पनि अनन्त भगवानको व्रत लिए र व्रतका प्रभावले पाण्डवहरू महाभारतको युद्धमा विजयी भए तथा चिरकालसम्म राज्य गर्ने अवसर प्राप्त गरे तथा अन्त्यकालमा वैकुण्ठवास भयो ।
No comments:
Post a Comment