Oct 6, 2017

सोह्रश्राद्धको सेमीफाइनल, चतुर्दशी श्राद्ध : अकालमरण भएकाहरूको श्राद्ध (Chaturdashi Shraddha)


अन्य पुराण र धर्मग्रन्थमा बाहेक गरुड पुराणमा मनुष्यको मरणोपरान्तको गति र प्रेतत्वको व्याख्यान विशद रूपमा गरिएको पाइन्छ । १८ वटा पुराणहरूमध्ये विष्णुतत्त्वको विवेचनालाई महत्त्व दिइएको गरुड पुराणलाई वैष्णव पुराण मान्ने गरिन्छ । सनातन धर्ममा मृत्युपछि सद्गति प्रदान गर्ने उपाय र महिमाको विशद वर्णन भएको यस पुराणको मृत्युपछि दशगात्र कर्म समापन गर्ने सिलसिलामा ढिकुरो उठाएपछि नफुटाउन्जेलको समयावधिभित्र अनुकूल मिलाई आशौच बारेर बसेका सन्तति र परिवारजनले श्रवण गर्ने गर्दछन् । तर त्यसरी सुनाइएको गरुड पुराण वास्तवमा समग्र पुराण होइन, त्यो त गरुड पुराणको एउटा भाग प्रेत कल्प मात्र हो । गरुड महर्षि कश्यप र उनकी पत्नी विनीताका पुत्र हुन्, उनी भगवान् विष्णुका वाहन पनि हुन् । एक पटक गरुडले भगवान् विष्णुसित मृत्युपछि प्राणीको के स्थिति हुन्छ, जीवको यमलोक-यात्रा कसरी हुन्छ, सांसारिक जीवनमा मनुष्यले गरेका विभिन्न कर्मको फल के पाइन्छ र कुनकुन कुकर्मका कारण के कस्ता नरकको यातना सहनु पर्छ जस्ता नरक, योनि र पापीजनको दुर्गतिसम्बद्ध अनेकानेक गोपनीय र रहस्यपूर्ण सोधेपछि विष्णुले उनको जिज्ञासा शमन गर्दै जुन ज्ञान र भक्तिमय उपदेश प्रदान गर्नु भएको थियो, त्यसैको लिपिबद्ध ग्रन्थ गरुड पुराण हो । भगवान् विष्णुद्वारा प्रतिपादित ज्ञानको सङ्ग्रह भएकाले यस पुराणलाई गारुडी विद्या पनि भन्ने गरिन्छ । यस पुराणको ज्ञान सर्वप्रथम ब्रह्माजीले महर्षि वेद व्यासलाई, त्यसपछि व्यासले आफ्ना शिष्य सूतजीलाई र सूतजीले नैमिषारण्यमा शौनकादि ऋषि-मुनिलाई दिइएको बताइन्छ ।

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च ।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि 

जन्मिएका समस्त चराचर प्राणिको मृत्यु निश्चित छ र मृत्युपछि पनि तिनले पुनर्जन्म लिनुपर्दछ । त्यसैले आफूले नगरी नहुने कामका निमित्त तिमीले शोक गर्नु हुँदैन भनी श्रीमद्भगवद्गीतामा कृष्णले अर्जुनलाई सम्झाउँदै माथिको श्लोक उल्लेख भएको हो । सनातन धर्मको मान्यता अनुसार मनुष्यले आफ्नो कर्मका आधारमा जन्मिनु पर्दछ र एउटा कर्म समाप्त भएपछि उसले मर्नु पर्दछ अनि पुनः अर्को जन्मका लागि तैयार हुनु पर्दछ । आत्मा कहिल्यै मर्दैन । उक्त प्रसङ्गमा भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ - नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः॥ ( यस आत्मालाई न त कहिल्यै कुनै हतियारले टुक्र्याउन सकिन्छ, न त आगोले नै डढाउन सक्छ, न त पानीले नै भिजाउन सक्छ, न हावाले सुकाउन सक्दछ ।) । शाश्वत र सनातन रूपमा रहेका भिन्न भिन्न अणुहरू आत्मा भएकाले यिनको कुनै योनिमा जन्म भएपछि यी मायाद्वारा ढाकिने गर्दछन् । मायाको पर्दाभित्र रहने भएकाले यी भगवानको सङ्गतिबाट अलग्ग हुन पुग्दछन् । जस्तै आगो र आगोको झिल्कोमा समान गुण भए पनि आगाबाट झिल्को अलग्ग हुनासाथ निभिहाल्छ । त्यसरी नै सांसारिक चक्रमा आएको जीवले चेतनाबाट विमुख भई आफ्नो छुट्टै जीवन र कर्मको भोग गर्दछ भन्ने सनातन दर्शनको आम मान्यता रहेको पाइन्छ । प्रत्येक जीवको शरीरभित्र रहेको आत्माले शरीर त्यागेपछि जीवलाई मृत ठानिन्छ । त्यही शरीरको मृतअवस्था हुने  समयलाई मृत्यु भन्ने गरिन्छ, जुन अपरिहार्य छ ।

जीवनपछि मृत्यु हुनु अटल सत्य हो, मृत्युलाई जितेर मृत्युञ्जय बन्न सकेको कुनै उदाहरण भेटिंदैन । यो निर्विकल्प सत्यलाई सबैले बुझेको छ, तथापि मृत्युको नाम सुन्नासाथ सबै एक पटक गम्भीर हुने गर्दछन् । कहिले, कसरी, कहाँ र के कारणले व्यक्तिको मृत्यु हुन्छ भन्ने आकलन कसैले गर्न सक्दैन । कतिपय मानिस दीर्घायु हुन्छन्, पूरै शताब्दीसम्म बाँचेका मानिस पनि कति छन् कति ! तर कतिपय व्यक्तिहरूको भने उमेर नपुगी असमयमा नै मृत्यु हुन्छ । अल्पायुष्य भएका त्यस्ता मनुष्यको मृत्यु असाधारण तरिकाले र सोच्दै नसोचेको परिस्थितिमा हुने गर्दछ । कोही लडेर मर्दछन्, कसैलाई खोलाले बगाउँछ, कोही आत्महत्या गर्दछन्, अनि कोही दुर्घटनामा कालको ग्रास बन्ने गर्दछन् । यसरी असमयमा नै मृत्युको मुखमा पुग्नु पर्ने परिस्थितिलाई नै अकाल मरण भन्ने गरिन्छ । अनि त्यसरी अकालमा नै मरेका व्यक्तिको मरणोपरान्तको वस्तुस्थिति दुर्गतिमय हुन्छ भन्ने चलन पनि छ ।

कुण्डलीमा अकाल मृत्यु

ज्योतिषशास्त्रले जन्मकुण्डलीको विश्लेषण गरी व्यक्तिको आयु पक्षको विवेचना गरेको पाइन्छ । आयुको टुङ्गो गर्ने सूत्रमा एकरूपता छैन, त्यसैले ठोकुवा नै गरी मान्छे यति बाँच्छ भनी निर्क्यौल गर्ने प्रष्ट आधार छैन । मृत्यु नै नभए पनि ती ज्योतिषीय सूत्रले तपाईंलाई मृत्युतुल्य कष्ट भने प्रदान गरेको देखिन्छ । लापरबाही गर्दा त दीर्घायु मानिएकाहरूकै पनि ज्यान गएको उदाहरण प्रशस्त भेटिन्छ, त्यसैले आयुकै प्रश्न आएपछि त्यस्ता अनिष्टकारी योगप्रति सबैले सचेत हुनै पर्छ । कतै तपाईंको कुण्डलीमा अकाल मृत्युको योग त छैन ? कसरी अकालमा ज्यान जान सक्छ ? भनी ज्योतिषशास्त्रले निर्धारण गरेका केही सूत्रहरू यस प्रकार छन् :-

१ - जन्मकुण्डलीको लग्नको स्वामित्व भएको ग्रह र मङ्गल ग्रह कुण्डलीको छैंटौं, आठौं वा बाह्रौं भावमा सँगसँगै हुँदा अस्त्रशस्त्रको भय हुन्छ । यो अवस्था शनि र मङ्गल ग्रह छैंटौं, आठौं र बाह्रौं भावमा बसेमा पनि सिर्जना हुन्छ । जुनसुकै भावमा लग्नेश र मङ्गल वा शनि र मङ्गल सँगै बसेको छ र हिजोआज गोचरमा पनि शनि र मङ्गलको युति छ भने दुर्घटना वा अग्निप्रकोपमा परिन्छ कि भनी डराउनु पर्दछ ।

२ - यदि तपाईंको कुण्डलीको दोस्रो, सातौं वा आठौं भावमा मङ्गल ग्रह बसेको छ र त्यसमा सूर्यको पूर्ण दृष्टि छ भने तपाईंले पटकपटक अग्निप्रकोपको सामना गर्नु पर्ने हुन्छ ।

३ - जन्मकुण्डलीको लग्न, दोस्रो भाव र बाह्रौं भावमा सूर्य, मङ्गल, शनि, राहु वा केतु एक्लै बसेको छ भने र त्यसको बाह्रौं वा दोस्रो भावमा पनि कुनै ग्रह विद्यमान छैनन् भने व्यक्ति अल्पायुष्य हुन्छ । यिनको मृत्यु शत्रुका कारणले हुने सम्भावना हुन्छ ।

४ - नवमांश कुण्डलीको दसौं भावको स्वामी र राहु वा केतुको युतिसम्बन्ध लग्नकुण्डलीमा रहेको अवस्था छ भने त्यस्तो जातकको अस्वाभाविक मृत्यु हुन्छ ।

५ - कुनै जातकको कुण्डलीमा लग्नमा मङ्गल ग्रह छ र त्यसमाथि शनि वा सूर्यको वा दुबैको पूर्णदृष्टि छ भने त्यस्तो जातकको उच्च रक्तचाप वा दुर्घटनाका कारण आकस्मिक मृत्यु हुने गर्दछ ।

६ - राहु र मङ्गलको युतिसम्बन्ध वा दुबैले समसप्तक भई बसेको अवस्थामा पनि दुर्घटनाको कारकत्व सिर्जना हुन्छ ।

७ - छैटौं भावको मालिक पाप ग्रहले युक्त भई छैंटौं वा अष्टम भावमा बसेको छ भने पनि दुर्घटनाको कारक बन्दछ ।

८ - लग्नको मालिक कमजोर छ र राशिकुण्डलीमा चन्द्रमा र शनि, राहु वा केतुको केन्द्रीय सम्बन्ध बन्दछ भने सम्बद्ध ग्रह (लग्नेश, चन्द्रमा, शनि, राहु वा केतु) को महादशामा जातकको मनमा आत्महत्याका विचार मँडारिने सम्भावना बन्दछ । सामान्यतया ती जातकहरूमध्ये मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मीन लग्नका रहेछन् भने शनिको महादशामा त्यस्तो विचार आउने सम्भावना हुन्छ भने अन्य लग्नमा चन्द्रमाको समयमा ।

अल्पायु योगको निवारण

माथिका प्रकरणहरूले आयु छोट्याउने सम्भावना हुन्छ, तर यी अवस्था भएका सबैको अल्पायुमा नै मृत्यु हुन्छ भन्ने निश्चित नियम भने होइनन् । तर असचेत र असावधान हुँदा माथिको परिस्थिति भएमा बढी जोखिम हुन्छ भन्न खोजिएको हो । त्यसैले तल केही अल्पायुष्य योग निवारण गर्न सकिने उपायहरूको विवरण छ । प्रत्येक व्यक्तिले सकिन्छ भने ती सबै उपायको वा कम्तीमा एउटा उपायको नियमित अवलम्बन गर्नु उचित मानिन्छ :-

१) लग्नेशको रत्न विधिवत् धारण गर्ने अथवा लग्नेशअनुकूलको बीजमन्त्र, कवच वा स्तोत्रको दैनिक पाठ गर्ने ।
.
२) यस्तो योग भएका सबै जातकले निम्न मन्त्रको नित्य जाप गर्ने :-

अश्वत्थामा बलिर्व्यासो हनुमांश्च विभीषणः।
कृपः परशुरामश्च सप्तैते चिरजीविनः ॥
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जितः ॥

३) मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मीन लग्नका जातकले पूर्णिमाको र बाँकीले प्रदोषको व्रत लिने । शिवभक्तिमा चित्त समर्पण गर्ने ।

४) महामृत्युञ्जय स्तोत्रको विधिवत दीक्षा लिई नित्यजाप गर्ने । आदि ......

के गर्ने आजको दिन ?

हाम्रो परम्परा, संस्कार र धर्मशास्त्रले व्यक्तिको मृत्यु र मुक्ति वा पुनर्जन्मका माझमा असङ्ख्य आत्माहरू प्रेत वा अन्य कुनै अतृप्त अवस्थामा भौंतारिएर रहेका हुन्छन् भन्ने मान्यता राखेको देखिन्छ । आज आश्विन कृष्ण पक्षको पितृपक्षको महालय श्राद्धअन्तर्गत चतुर्दशी तिथिका दिन त्यसरी विविध कारणले अकालमा ज्यान गुमाउन पुगेका आफ्ना दिवङ्गत पितृहरूको श्राद्ध गर्ने विधान तोकिएको दिन हो । आफ्ना कुलमा लडी, झुण्डिई, विषपान गरी, खोलामा बगी, अस्त्रशस्त्रको प्रयोग भई, मोटर-जाहाज आदि वाहन दुर्घटनामा परी वा कुनै किसिमले आत्महत्या गरी वा अकालमा परी मरेका व्यक्ति छन् भने मनुष्यको सामान्य आयु पूर्ण नहुन्जेल तिनको हंसले हाम्रै वरिपरि भ्रमण गरिरहने बताइन्छ । सहज मरण भएका र मोक्ष भएका हाम्रा मृत पितृहरूले हामीसँग जसरी पिण्ड र तर्पणको आकाङ्क्षा गर्ने गर्दछन् त्यसरी नै तिनको भौंतारिएको आत्माले पनि हामीसित केही न केही आशा गरिरहेका हुन्छन् । अतः यस तिथिमा तिनको स्मृति र सम्झनामा श्राद्ध, ब्राह्मण भोजन र भेटीवस्त्रादि दान गर्नु वाञ्छनीय मानिन्छ ।

मृत्यु अवश्यम्भावी सत्य हो । तर कसैलाई पनि मृत्युको कल्पना गर्ने फुर्सद छैन । तेरो, मेरो भन्दाभन्दै सबै एक दिन कालको मुखमा पर्दछन् । आफ्ना आधारभूत काम र कर्तव्य पूरा गरी दीर्घ जीवन बाँची यावत सांसारिक कृत्य र सुखलाई भोगी मर्नुलाई सामान्य नै ठानिन्छ । तर अकालमा ज्यान गुमाउन कसैलाई पनि रहर हुँदैन । कसैले आफूखुसी आत्महत्या गर्दा पनि ऊ अतृप्त नै रहेको पाइन्छ । अझ युद्ध र दुर्घटनादिमा आकस्मिक मृत्युवरण गर्न पुगेका व्यक्तिको जिजीविषाका यावत् पक्ष अपुरा नै हुन्छन् । त्यसैले तिनको आत्माले अन्य मृतात्माले भन्दा बढी आशा र आकाङ्क्षा राख्नु स्वाभाविक हुन्छ । जीवित हुँदासम्म जससँग तिनको सामीप्यता र प्रेम हुन्छ, तिनले तिनैसँग आफ्नो तृप्तिको कामना गर्ने गर्दछन् भन्ने मान्यता छ, त्यस्तै जसको कारणले तिनले अकालमा मृत्युवरण गर्नु परेको हुन्छ, तिनको भौंतारिएको आत्माले तिनलाई नै सताउने सम्भावना हुन्छ भन्ने चलन पनि छ । जहाँ जसरी जे कारणले होस्, जोसुकै आफन्तले पनि अल्पायुष्यमा नै ज्यान गुमाएका छन् भने आज तिनको सम्झनामा श्राद्धादि कर्म गरिदिनु पर्दछ । अझ माथिको विवरणमा बताइएबमोजिम आफ्नो कुण्डलीमा अकाल मृत्युको योग भएका व्यक्तिहरूले अझ बढी महत्त्व दिई यो कर्म सम्पादन गर्नु राम्रो हो । तिनले पितृअधिकार पाएपछि वा पिताको आज्ञा लिई प्रत्येक वर्ष पितृपक्षको यस चतुर्दशी तिथिका दिन बृद्धाश्रम वा मन्दिरमा गई वा घरैमा गरीवगुरुबा जम्मा पारी पेटभरि पायस (खिर) भोजन गराई भेटीवस्त्रादि प्रदान गरेमा पनि आफ्नो आयु बढाउन सक्दछन् ।

तर आज सामान्य ढङ्गले मृतक भएका आफन्तजनको तिथि नै परे पनि श्राद्ध नगर्ने प्रचलन पनि छ । तिनको श्राद्ध अघि वा पछिको कुनै दिन सोह्रश्राद्धको सामान्य नियम पालना गरी गर्ने गरिन्छ । अस्तु ॥

No comments:

Post a Comment