Oct 15, 2017

नवरात्र पर्वको सातौं दिन : फूलपाती



दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्त्व हुने गर्दछ । आश्विन शुक्ल सप्तमीका दिन नेपाली परम्पराअनुसार घरघरमा र देशभरका शक्तिपीठमा फूलपाती भित्र्याउने गरिन्छ । शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्त्व छ र यो दसैंका लागि पूजा सामाग्री भित्र्याउने एउटा विशेष कर्म हो । दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीका रूपमा नौ किसिमका वनस्पति भित्र्याइन्छ । फूलपातीस्वरूप केरा, दारिम, धान, बेसार, माने, कर्कलो, बेलपत्र, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्र्याउने प्रचलन छ । यी हुन् नौथरीका शास्त्रसम्मत फूलपाती :-

कदली दाडिमी धान्या हरिद्रा मानकं कचुः ।
बिल्वशोका जयन्ती च विज्ञेया नवपत्रिका ।।

यी नौ किसिमका वनस्पतिमा क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्त्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।

फूलपाती हाल आफ्ना घरबारी वा बगैंचाबाट बटुलेर जम्मा पारी आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा छरेको वेदीमा चढाउने चलन भएपनि खास गरी काठमाण्डौ उपत्यकास्थित हनुमान ढोकाको दशैंघरमा भित्र्याउने क्रममा भने परम्पराका रूपमा गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौँको जमलसम्म ल्याएर गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको सो फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने गरिन्छ। यसै गरी देशभरि भिन्नभिन्न स्थानमा रहेका शक्तिपीठ र देवीस्थानमा पनि स्थानीय सैन्य निकाय गण, गुल्म, पृतना आदिबाट फूलपातीको हर्षबढाइँ गरी नवपत्रिका प्रवेश गराउने गरिन्छ। आज २०७४ साल असोज ११ गतेका निमित्त फूलपाती भित्र्याउनका निमित्त नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत बिहान ७ बजेर ११ मिनेटमा छ । व्यवहारिक कारणले उक्त समयमा फूलपाती भित्र्याउन नसक्नेले तलका समयमा फूलपाती भित्र्याए पनि शुभ नै हुनेछ :-


अमृत वारवेला : बिहान ०७:२४ देखि ०८:५४ सम्म
शुभ वारवेला : बिहान १०:२४ देखि ११:५४ सम्म


कालरात्री भगवतिको आराधना

माता दुर्गाको सातौं शक्ति कालरात्रिको नामद्वारा प्रसिद्ध छ। नवरात्री पर्व अर्थात् दुर्गापूजाको सातौं दिन माता कालरात्रिको उपासना गर्ने दिन हो । यस दिन स्थापना र प्राणप्रतिष्ठा गरिएकी कालरात्रिको भोलीपल्ट अष्टमीको मध्यरात्रीमा तान्त्रिक पद्धतिले विशेष पूजाआजा गरी विसर्जन गर्ने प्रचलन छ । आज सप्तमीका दिन साधकले मनलाई ‘सहस्रार’ चक्रमा अवस्थित तुल्याउँदछ। जसबाट उसका निमित्त ब्रह्माण्डका सिद्धिका समस्त द्वारहरू खुल्दछन्। सहस्रार चक्रमा अवस्थित साधकको मन पूर्णतः माता कालरात्रिको स्वरूपमा अवस्थित हुनपुग्छ। भगवतीको साक्षात्कारबाट प्राप्त हुने पुण्यको भागी हुने अवसर साधकले प्राप्त गर्दछ। उसका समस्त पाप र विघ्नको नाश हुन्छ। उसलाई अक्षय पुण्यलोकको प्राप्ति हुन्छ।

वर्णन

माता कालरात्रिको शरीरको रङ्ग गहिरो अन्धकार जस्तै एकदमै कालो छ। टाउकोका कपाल छरपष्ट छन्। घाँटीमा विद्युत् जस्तै चम्किलो माला छ। यिनका तीनवटा आँखा छन्। यी तीनैवटा आँखा ब्रह्माण्ड झैं गोला आकारका छन्। यी आँखाबाट विद्युत् समान चम्किला किरणहरू निःसृत हुन्छन्। आमा कालरात्रिको नाकबाट बहने श्वासप्रश्वासबाट अग्निका भयङ्कर ज्वालाहरू निस्कन्छन्। यिनको बाहन गधा(गर्दभ) हो। यिनले माथिल्लो दाहिने हातको वरमुद्राका माध्यमले सबैलाई वर प्रदान गर्दछिन्, अनि दाहिनेतर्फकै तल्लो हातमा अभयमुद्रा छ। त्यस्तै देब्रेतर्फ माथिल्लो हातमा फलामको अङ्कुश र तल्तिरको हातमा खड्ग छ।

महिमा

माता कालरात्रिको स्वरूप हेर्दा अत्यन्त भयानक देखिन्छ, तर यिनले सदैव शुभ फल मात्र प्रदान गर्दछिन्। त्यसैले यिनको अर्को नाम ‘शुभङ्करी’ हो। अतः यिनीसित भक्तहरूले कहिल्यै भयभीत अथवा आतङ्कित हुने आवश्यकता छैन। माता कालरात्रि दुष्टहरूलाई नाशगर्ने देवी हुन्। दानव, दैत्य, राक्षस, भूत, प्रेत आदि यिनलाई सम्झनासाथ भयभीत भएर भाग्दछन्। यिनले ग्रहबाट हुने अशान्ति र बाधालाई पनि नष्ट गर्दछिन्। यिनका उपासकले अग्निभय, जलभय, जन्तुभय, शत्रुभय, रात्रिभय आदि कहिल्यै ब्यहोर्नु पर्दैन। यिनै भगवतीको कृपाले ऊ समस्त भयबाट मुक्त हुनपुग्छ। माता कालरात्रिको स्वरूप वा विग्रहलाई आफ्नो हृदयमा अवस्थित गरी मनुष्यले एकनिष्ठ भावद्वारा उपासना गर्नुपर्दछ। यम, नियम, संयम आदिको पालना गर्नुपर्दछ। मन, वचन र शरीरलाई पवित्र तुल्याउनु पर्दछ। यी साक्षात् शुभफल प्रदान गर्ने देवी शुभङ्करी हुन्। यिनको उपासनाबाट प्राप्त हुने शुभफलको लेखाजोखा गर्न सकिंदैन। त्यसैले हामीले निरन्तर उनको स्मरण, ध्यान र पूजा गर्नु पर्दछ। नवरात्रिको सातौं दिन फूलपातीका दिन माता कालरात्रिको आराधना गर्ने विधान छ। त्यसदिन यिनको प्राणप्रतिष्ठा गरी पूजाअर्चना गर्नाले समस्त पापबाट मुक्ति प्राप्त हुन्छ र शत्रुहरूको क्षय हुन्छ, आफ्नो श्री, ह्री र तेजको अभिबृद्धि हुन्छ।

यिनलाई प्रसन्न तुल्याउन निम्नाङ्कित श्लोकको यथाशक्य जाप गर्नुपर्दछ :-

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।
शरण्येत्र्यम्बके गौरि नारायणी नमोऽस्तुते॥
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते॥
जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी।
जय सर्वगते देवी कालरात्री नमोऽस्तुते॥
सुखानन्दकरीं शान्तां सर्वदेवैः नमस्कृताम् ।
सर्वभूतात्मिकां देवीं शाम्भवीं प्रणमाम्यहम् ॥
चण्डवीरां चण्डमायां रक्तबीजप्रभञ्जनीम् ।
तां नमामि च देवेशीं कालिकां गुणशालिनीम् ॥
रक्ताऽब्धिपोतारूणपद्मसंस्थां पाशांकुशेष्वासशराऽसिबाणान् ।
शूलं कपालं दधतीं कराऽब्जैः रक्तां त्रिनेत्रां प्रणमामि देवीम् ॥
उद्यद्दिनद्युतिमिन्दुकिरीटां तुङ्गकुचां नयनवययुक्ताम् ।
स्मेरमुखीं वरदाङ्कुशपाशभीतिकरां प्रभजे भुवनेशीम् ॥
एकवेणीजपाकर्णपुरानानाखरास्थिता ।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यङ्गशरीरिणी ॥
वामपदोल्लसल्लोहलताकण्टकभूषणा ।
वर्द्धन्मूर्धध्वजाकृष्णा कालरात्रिभर्यङ्करी ॥

ध्यान:-

आरक्ताभां त्रिनेत्रां मणिमुकुटवतीं रत्नताटङ्करम्यां
हस्ताम्भोजैः सपाशाङ्कुशमदनधनुः सायकैर्विस्फुरन्तीम् ।
आपीनोत्तुङ्गवक्षोरुहतटविलुठत्तारहारोज्ज्वलाङ्गीं
ध्यायाम्यम्भोरुहस्थामरुणविवसनामीश्वरीमीश्वराणाम् ॥


राताराता तीनवटा आँखा भएकी, रत्नादि र मणिमाणिक्यले झल्झलाकार देखिने मुकुट र कुण्डल धारण गर्ने, कमल झैं सुकोमल चारवटा हातमा क्रमशः पाश, अङ्कुश, कामदेवको धनु र चम्किला बाणहरू धारण गरेकी एवं ठूला र उच्च स्तनहरूमाथि झुल्दै गरेका चम्किला हार धारण गर्ने कमलको आसनमा उभिएकी सूर्यको अरुणिमाजस्तो अनुहार भएकी ईश्वरहरूकी पनि ईश्वरी भगवती दुर्गाको म भक्तिभावपूर्वक ध्यान गर्दछु ।

I meditate on Devi, shining red, with three eyes, having gem-studded crown and beautiful earrings, holding in her hands, rope, goad, the bow of Manmatha (sugarcane bow), shining with arrows, with glowing necklaces rolling on her raised large bosom, who is seated on red lotus; the Goddess of Gods.


करालवदनां घोरां मुक्तकेशीं चतुर्भुजां ।
कालिकां दक्षिणां दिव्यां मुण्डमालाविभुषिताम् ॥
सद्यश्छिन्नशिरःखड्गवामाधोर्द्ध्वकराम्भुजां ।
अभयां वरदाञ्चैव दक्षिणोर्द्धाधःपाणिकाम् ॥
महामेघप्रभां श्यामां तथा चैव दिगम्बरीं ।
कण्ठावसक्तमुण्डालीगलद्रुधिरचर्च्चितां ॥
कर्णावतंसता नीत शवयुग्मभयानकां ।
घोरदंष्ट्रां करालास्यां पीनोन्नतपयोधराम् ॥
शवानां करसङ्घातैः कृतकाञ्चीं हसन्मुखीं ।
सृक्कद्वयगलद्रक्तधाराविस्फुरिताननां ॥
घोररावां महारौद्रीं श्मशानालयवासिनीम् ।
बालार्कमण्डलाकारलोचनत्रितयान्वितां ॥
दन्तुरां दक्षिणव्यापिमुक्तालन्विकचोच्चयां ।
शवरूप महादेवहृदयोपरिसंस्थितां ॥
शिवाभिर्घोररवाभिश्चतुर्द्दिक्षु समन्वितां ।
महाकालेन च समं विपरीतरतातुरां ॥
सुखप्रसन्नवदनां स्मेराननसरोरुहां ।
एवं संचिन्तयेत् कालीं सर्वकामसमृद्धिदाम् ॥

यसरी आज आह्वान गरी उपासना गरिएकी कालरात्रीलाई भोलिपल्ट महाष्टमीको मध्यरात्रीमा बलि दिई विशेष आराधना गर्ने चलन छ ।

महासरस्वतीको आह्वान

फूलपातीका दिन ज्ञान विज्ञान कला एवं शैक्षिक र प्राज्ञिक क्षेत्रका साधकले महासरस्वतीको आह्वान गरी पुस्तक, कापी, कलम, मसीदानी, कूची, वाद्य-उपकरण आदिको पूजा गर्ने प्रचलन पनि छ। कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।

नेपाली धार्मिक तथा सांस्कृतिक जीवनमा घटस्थापनाका दिनदेखि नै दसैँ सुरु हुने भए पनि सामाजिक जनजीवनमा भने दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि मात्र सुरु हुन्छ। फूलपातीदेखि नै सरकारी कार्यालय, प्राइभेट सङ्घसंस्था र निजी तथा आवासीय विद्यालय/महाविद्यालयहरूमा विदा हुने भएकाले अध्ययन, पेसा वा व्यवसायका कारण विभिन्न स्थानमा रहेका आफन्तहरू घरघरमा फर्कने क्रम पनि यसै दिनबाट प्रारम्भ हुने गर्दछ। घरघरमा परिवारका सबै सदस्यहरू जम्मा हुने र गाउँघरमा रमाइलो र हर्षको सञ्चार बढ्ने हुनाले फूलपातीको दिनदेखि नै खासगरी ग्रामीण क्षेत्रमा जात्रा लाग्ने एवं लिङ्गेपिङ, रोटेपिङ आदि हालिने हुँदा फूलपातीकै दिनबाट दसैँको रौनक अझ थपिन्छ।

No comments:

Post a Comment