Oct 17, 2017

महाष्टमी पर्व : भगवतीको विशेष अनुकम्पा प्राप्त हुने दिन

बडा दशैंको आठौं दिन, नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाष्टमी पर्व मनाउने चलन छ। आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा, दशैंघर अथवा देवीमण्डपमा वैदिक विधिपूर्वक बलिसहित पूजा गरिन्छ । आश्विन शुक्लपक्षको अष्टमी र नवमीको मध्यरात्रीलाई कालरात्री पनि भनिन्छ। कालरात्रीमा बलि सहित महाकालीको पूजा गर्ने चलन छ । महाष्टमी पर्वको अवसरमा यस बिहानैदेखि देशभरी शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भीड हुने गर्दछ। काठमाण्डौ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, इन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, सङ्कटा, बगलामुखी लगायत शक्तिपीठहरुमा बलि चढाउने र पूजाआराधना गर्नेहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ । यसरी नै राजधानीस्थित हनुमानढोकाको तलेजु भवानी मन्दिरको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ । यसबाहेक उपत्यकाबाहिरका अर्घाखाँचीको सुपादेउराली, विराटनगरको कालीमन्दिर, अछामको सान्नीकोट मन्दिर, पर्साको गहवामाई र बिर्तामाई, बाराको गढीमाई, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेको पलान्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाका गोरखकाली, मनकामना, सप्तरीको छिन्नमस्ता(सखडा), सुनसरीको चाँदवेला भगवतीस्थान, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, धरानको दन्तकाली, नेपालगञ्जको वागीश्वरी, भोजपुरको सिद्धकाली, संखुवासभाको मनकामना, तेह्रथुमको सिंहवाहिनी, धनकुटाको छिन्नमस्ता, ओखलढुङ्गाको कोटकँडेनी, सोलुखुम्बुको ज्वालादेवीलगायतका शक्तिपीठहरुमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ।

भगवती महागौरी

नवरात्र पर्वको आठौं दिन महाष्टमीको पुण्य तिथिमा श्री नवदुर्गा भवानीको आठौं शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री महागौरी भगवतीको भक्तिआराधना गर्ने र महिमा गायन गर्ने विशेषता छ। यिनी अत्यन्तै कान्तिमय सेतो वर्णकी भएकी हुनाले महागौरीका नामबाट त्रिलोकमा प्रसिद्ध छन् । महागौरी भगवतीको सम्पूर्ण शरीर दूधजस्तै सेतो रङको छ । देवी भागवत एवं अन्य धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार यिनको आठ वर्षकी बालिकाको उमेर  वर्णन गरिएको छ । यिनी सेतो वस्त्र पहिरन गरी सेतै आभूषणमा सजिएर सेतो रङको साँढेमा सवार गर्छिन् । यिनले चार हातमा दायाँतर्फ अभय मुद्रा र त्रिशूल धारण गरेकी हुन्छिन् । बायाँतर्फको हातले छ भनेर डमरु र वरमुद्रा धारण गरेकी हुन्छिन्। यिनको स्वरूप अत्यन्तै शान्त र सौम्य भइरहेको हुन्छ। अम्बिका भगवतीले अत्यन्त सेतो वर्ण भएकी पार्वती रूप धारण गरी आठ वर्षकी बाल्यावस्थादेखि शिवजीलाई पतिका रूपमा प्राप्ति गर्नका निमित्त हिमालय पर्वतमा कठोर तपस्या गरेकी थिइन्।

कालरात्री

महाष्टमी र महा नवमीको मध्यरात्रीमा कालरात्री भगवतीको पूजाआराधना गर्ने र कालरात्रीका लागि पशुबली प्रदान गर्ने परम्परा पनि छ। कालरात्री देवीको सातौं शक्तिका रूपमा उत्पन्न भएकी भगवती हुन्। दुर्गा सप्तशती ग्रन्थको सातौं अध्यायमा उल्लेख गरिएअनुसार हिमालय पर्वतका शिखरमा रहेकी अम्बिका भगवतीलाई दानवराज शुम्भको आज्ञाबाट पक्रेर ल्याउनका लागि उद्यत भई असङ्ख्य दानव सेनाका साथ चण्डमुण्ड नाम गरेका दैत्य सेनापतिले अम्बिका देवीलाई चारैतर्फ घेरा हाली विभिन्न शस्त्रास्त्रद्वारा आक्रमण गर्दा अत्यन्त क्रोधित भई महासप्तमीको दिन जगदम्बा अम्बिका देवीले मुख कालोनीलो पारी विकराल स्वरूप धारण गरेकी थिइन् र अत्यन्त सौन्दर्यमुखी रूप भएकी महागौरी विचित्र खट्वाङ्गसहित तरबार, पाश आदि दिव्य शस्त्रास्त्रहरू धारण गरी तुरुन्त विकरालमुखी कालीको रूपमा प्रकट भएकी थिइन्। यिनको शरीरको मासु सुकेर केवल अस्थिपन्जरमात्र रहेको थियो । यिनको अस्थिपन्जरभित्र उज्ज्वल प्रकाश फैलिरहेको थियो । सर्वाङ्ग निर्वस्त्र भई चितुवाको छालाको साडी लगाएर घाँटीमा टाउकाका माला धारण गरेकी थिइन् । यिनको आँखा राता-राता भई भित्रसम्म दबेको थियो । मुख अत्यन्त विशाल देखिनुका साथै मुखबाट लामो जिब्रो निकालेर लपलपाई रहेकी हुनाले यिनको स्वरूप अत्यन्तै भयङ्कर देखिन्थ्यो । यिनको भयङ्कर आवाजले चारैतर्फ गुञ्जायमान हुन्थ्यो । यिनले दैत्यदानवहरूलाई क्षणभरमा बध गरी एकै गाँसमा चपाएर भक्षण गरी सम्पूर्ण दैत्यहरूको संहार गरेकी थिइन् । अत्यन्त क्रोधित कालिका देवीले चण्डमुण्डको केश समातेर तरबारले शिर (मुण्ड) काटिन् र ती दुबैको टाउकोलाई धारण गरेकी हुनाले यिनी चामुण्डादेवीको नामबाट समेत विख्यात भइन्। महाष्टमीमा भगवतीको महिमाको विभिन्न स्तुतिहरू गर्नुका साथै विशेष गरी श्री महागौरी स्वरूपिणी श्री महाकाली भगवतीको महिमा झल्किने गरी स्तुति गायन गर्न सकिन्छ ।

स्तुति :-

ॐ नमो: भगवती महागौरीवृषारूढे श्रीं ह्रीं क्लीं हूं फट् स्वाहा॥
सुन्दरीं स्वर्णसर्वाङ्गीं सुखसौभाग्यदायिनीम्। सन्तोषजननीं देवीं महागौरी प्रणमाम्यहम्॥
त्रैलोक्यपूजिते देवि! कमले विष्णुबल्लभे। यथा त्वमचल कृष्णे तथा भव मयि स्थिरा॥
बालव्यक्तविभाकरामितनिभां भव्यप्रदां भारतीमीषत्फुल्लमुखाम्बुजस्मितकरैराशाभवान्धापहाम्।
पाशं साभयमङ्कुशं च ‍वरदं संविभ्रतीं भूतिदां भ्राजन्तीं चतुरम्बजाकृतिकरैर्भक्त्या भजे षोडशीम्॥
श्र्वेतवृषसमारूढा श्र्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान् महादेवप्रमोददा॥

ध्यान :-

वन्दे वाञ्छित कामार्थे चन्द्रार्द्धकृतशेखराम्। सिंहारूढां चतुर्भुजां महागौरीं यशस्विनीम्॥
इन्दुनिभां महागौरीं सोमचक्रस्थिताष्टमाम्। वराभीतिशूलधरां महागौरीं भजाम्यहम्॥
डमरुधारिणीं देवीं श्रीखण्डगन्धमण्डिताम्। कमनीयां मृदुहास्यां महागौरीं भजाम्यहम्॥
पीताम्बरपरिधानां नानालङ्कारभूषिताम्। मंजीरहारकेयूरकिङ्किणिकुण्डलान्विताम्॥
शिवां प्रफुल्लवदनां पल्लवोष्ठीं महेश्वरीम्। कपोलकान्तमृणालीं महागौरीं भजाम्यहम्॥

स्तोत्र:-

सर्वसङ्कटहारिणीं धनैश्वर्यप्रदायिनीम्। ज्ञानदात्रीं वेदमयीं महागौरीं नमाम्यहम्॥
सुखशान्तिकरीं देवीं धनधान्यप्रदायिनीम्। डमरूवादनप्रियामनघे! प्रणमाम्यहम्॥
त्रैलोक्यमङ्गलां कान्तां तापत्रयविनाशिनीम्। चित्तवृत्तिस्थितां लक्ष्मीं महागौरीं नमाम्यहम्॥

समग्रमा सनातन हिन्दू धर्मावलम्बीहरूले देशदेशान्तरका विभिन्न शक्तिपीठ र दसैं घरमा  महासप्तमीको पुण्य तिथिमा श्री महाकाली भगवतीको भयङ्कर रूप श्री कालरात्रि भगवतीको प्रतिष्ठापन र पूजाआराधना गरी महाष्टमीको पुण्य पर्वमा आआफ्नो कुलपरम्परा र कुलाचारबमोजिम श्रद्धाभक्तिपूर्वक श्री महागौरी भगवतीको पूजा अर्चना गर्ने तथा विशेषतः अघिल्लो दिन प्रतिष्ठापित श्री महाकाली भगवतीको प्रसन्नताका लागि तन्त्रोक्त विधिविधानले हर्षोल्लासका साथ राँगो, बोका, हाँस, कुखुरा आदि पशुपन्छीहरूलाई देवीको चरणकमलमा बलि दिएर पशुपन्छीहरूलाई सदाका निम्ति निष्पापपूर्वक अविनाशीस्वरूपमा स्वर्गगति दिलाई मोक्ष तुल्याउने र आफ्नो आत्मालाई समेत पवित्र तुल्याउने कार्य गर्दछन्। पशुबलि नगर्नेहरू र गर्न नचाहनेहरूले कुभिन्डो, नरिवल, मूला आदिलाई पशुबलिको प्रतीकका रूपमा देवीलाई अर्पण गर्दछन्। यस पावन पुण्य तिथिमा पनि नवरात्रीका अन्य तिथिहरू जसरी नै श्री दुर्गा सप्तशती(चण्डी) र विविध देवीमहात्म्य तथा स्तुतिको पाठसमेत गरिन्छ ।

सामान्यतया प्रत्येक वर्षको श्रावण महिनाका प्रत्येक मङ्गलबारका दिन मङ्गला गौरीको व्रत लिने विधान छ । तर महागौरीको पूजाआजा गरिने दिन अर्थात् बडादसैं वा चैते दशैंको अष्टमी तिथि (महाष्टमी वा चैत्राष्टमी) का दिन पनि मङ्गला गाैरीको भक्ति र अाराधना गर्ने प्रचलन पनि देखिन्छ ।

No comments:

Post a Comment