Nov 9, 2017

भाइ तिहार (भाइ टीका)


यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा 'भाइटीका'लार्इ लिइन्छ। यो पर्व दिदीबहिनीले दाजुभाइलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गरी, मेवामिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने र वस्त्रअलङ्कारआदि उपहार दिने, अनि त्यसैगरी दाजुभाइले दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्राभूषण प्रदान गर्ने परम्परा छ । भाइटीकाको पौराणिक कथाअनुसार परापूर्व कालमा मृत्युलोकका राजा यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा बस्दथिन् । टाढा रहेको मृत्युलोकका अति व्यस्त आफ्ना दाजु यमराजलाई भेटघाट गर्न यमुनाले निम्तो पठाइन् । बहिनीको निम्तो स्वीकार गरी यमराज पृथ्वीतलमा ओर्लिए । त्यो बेलामा यमपञ्चक परेको थियो र यमपञ्चकका पाँचै दिन यमराज बहिनी यमुनाका घरमा बसे । भाइटीकाका दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिईन् र उनीसित आशीर्वाद लिईन् । त्यही बेलादेखि नै भाइटीकाको प्रारम्भ भएको विश्वास छ । बहिनी यमुनाले यसरी दाजु यमराजलाई विशेष मानसम्मानका साथमा पूजा गरेको धार्मिक महत्त्व र भावना यस पर्वमा अन्तर्निहित छ :-
यस्यां तिथौ यमुनया यमराजदेवः संभोजितस्त्वतिशयस्वसृसौहृदेन।
तस्यां स्वसुः करतलादिह यो भुनक्ति प्राप्नोति वित्तसुभगं धनमुत्तमं सः ॥
त्यस्तै यमपञ्चकका यी पाँच दिन इन्द्रादि दश दिक्पाल विदामा बसी पाताल लोकका राजा दानवराज बलिका निमित्त आफ्नो पदाधिकार त्याग्ने कथा पनि सुन्न पाइन्छ ।

दिदीबहिनीले भाइटीकाभन्दा पहिल्यै नै र कतैकतै त यमपञ्चक सुरु हुनु अगावै दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पानसुपारी, फूल आदि दिने चलन छ। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने भनाइ छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी आठ जनालाई अष्टचिरञ्जीवी मान्ने गरिन्छ । भाइटीकाको विधि सम्पन्न गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको माङ्गल्यको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ साथै पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाई दिएर सगुनका रूपमा दही खुवाउने चलन पनि छ । भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुष्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति बर्सिन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता समेत झल्किने गर्दछ । दिदीबहिनीले टीका लगाउने क्रम सिद्धिएपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्दछन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको प्रतीकात्मक अर्थ हो, आफ्ना दिदीबहिनी र दाजुभाइ दुबै पक्षको सुखसमृद्धि, आरोग्य एवं दीर्घायु हुने धारणा ।

No comments:

Post a Comment