Nov 9, 2017

यमराजका सहयोगी चित्रगुप्त : जो खुसी भएमा नरक जानु पर्दैन


सनातन संस्कृतिमा पापधर्मको विवेचना गरी दण्ड दिने अधिकार भएका यमराजका लेखापाल (मुनिमजी) को नाम चित्रगुप्त हो भनिएको छ । वास्तवमा यिनी मृत्युका देवता यमराजका सहयोगी हुन् । नेपाल र भारतमा बसोबास गर्ने कायस्थहरू चित्रगुप्तलाई आफ्नो कुलप्रवर्तक वा कुलगुरु मान्ने गर्दछन् । कायस्थ समाजमा प्रत्येक वर्षको भाइटीका (कार्तिक शुक्ल द्वितीया) का दिन चित्रगुप्तको जयन्ती भव्यताका साथमा मनाउने चलन छ । कार्यक्षेत्रका हिसाबले यमराज र चित्रगुप्तको साइनो हाकिम र कारिन्दा झैं देखिए पनि यी यमराजका सहोदर भाइ पनि हुन् । उनले ब्रह्माजीबाट मर्त्यलोकका प्राणिहरूको कर्मको लेखाजोखा गरी बही राख्ने जिम्मेबारी पाएका हुन् । यिनले नै कुनै पनि मृत प्राणिको कर्मअनुसारको फलको हिसाब हेरी उसलाई स्वर्ग वा नरक कता पठाउने भनी यमराजलाई सिफारिस गर्ने गर्दछन् ।

कायस्थ समाजका कुलदेव र इष्टदेव भगवान् चित्रगुप्त हुन् । उनी परमपिता ब्रह्माको अंशबाट उत्पन्न भएका हुन् । सृष्टिको क्रम सुचारु गर्ने उद्देश्यले भगवान् विष्णुले आफ्नो योगमायाद्वारा सृष्टिको कल्पना गर्नासाथ उहाँको नाभि (नाइटो) बाट एउटा कमल उत्पन्न भयो । उक्त कमलमा चतुर्मुखी ब्रह्मा विराजमान हुनुहुन्थ्यो । उनको उत्पत्ति नै भगवान् विष्णुको कल्पनालाई साकार तुल्याउन भएको थियो । ब्रह्माले सृष्टिको रचना गरी देव, असुर, गन्धर्व, अप्सरा, स्त्रीपुरुष, पशुपक्षी आदिको सिर्जना गर्नुभयो । यसै क्रममा कालका देवता यमराजको जन्म भयो र उनलाई दण्डाधिकारीको जिम्मेबारी प्रदान गरियो । यमराजलाई धर्मराज पनि भन्ने गरिन्छ, किनभने उनले नै यावत् सृष्टिचक्रका प्राणिहरूमा धर्म र पापको विश्लेषण गर्ने गरेका छन् । पितामह ब्रह्मासित धर्मराजले एउटा योग्य र चतुर सहयोगीको खाँचो पर्ने बताएपछि ब्रह्माले दिव्य एक हजार वर्षसम्म ध्यानमुद्रामा रहेर एउटा पुरुषको रचना गर्नुभयो । त्यस्तो पुरुषको जन्म ब्रह्माको शरीर (काया) बाट भएको थियो, त्यसैले यिनलाई कायस्थ भनी सम्बोधन गरियो । कालान्तरमा तिनै कायस्थको नाम चित्रगुप्त रहन गयो ।

पद्म पुराणमा एउटा प्रसङ्गमा चित्रगुप्तका दुईवटी पत्नी थिए । यिनकी जेठी पत्नीको नाम सूर्यदक्षिणा र कान्छी पत्नीको नाम ऐरावती थियो । कतैकतै सूर्यदक्षिणाको नन्दिनी र ऐरावतीको शोभावती भन्ने नाम पनि प्राप्त हुन्छ । यिनकी जेठी दुलही सूर्यकी नातिनी र सूर्यपुत्र श्राद्धदेवकी छोरी थिईन् । त्यस्तै कान्छी पत्नी ऐरावती धर्मशर्म्मा नामका ब्राह्मणकी पुत्री थिईन् । जेठीपट्टि चार भाइ (भानु, विभानु, विश्वभानु र वीर्यभानु ) र कान्छीपट्टि आठभाइ (चारु, चित्तचारु, मतिभान्, सुचारु, चारुण, हिमवान्, चित्र र अतीन्द्रिय ) गरी यिनका बाह्र जना छोरा थिए । चित्रगुप्तका बाह्रै भाइ छोराको विवाह नागराज वासुकीका बाह्र वटी छोरीसित भएको हो । त्यसैले अहिले पनि कायस्थहरू नागलाई आफ्नो मातृकुल ठानी कुनै पनि शुभकर्म गर्दा वा प्रत्येक वर्ष पर्ने नागपञ्चमीका दिन विशेष पूजाआजा गर्ने गर्दछन् । चित्रगुप्तका यिनै बाह्र भाइ छोराहरूको वंशक्रम अहिलेको कायस्थ जाति हो भन्ने मानिन्छ । ती बाह्र भाइका आधारमा कायस्थ कुलमा जम्मा १२ वटा शाखा प्रचलनमा रहेको पाइन्छ । जस्तै - श्रीवास्तव, सूर्यध्वज, वाल्मीक, अष्ठाना, माथुर, गौड़, भटनागर, सक्सेना, अम्बष्ठ, निगम, कर्ण, कुलश्रेष्ठ ।

भगवान् चित्रगुप्तको हातमा धर्मकर्मको बही अर्थात् किताब, कलम, मसीदानी, र बांगो तलबार धारण गरिएको हुन्छ । यिनी कुशल लेखक हुन् र यिनको लेखनीबाट जीवहरूले तिनका कर्मका आधारमा न्याय पाउने गर्दछन् । कार्तिक शुक्ल द्वितीया तिथिका दिन भगवान् चित्रगुप्तको पूजा गर्ने शास्त्रीय विधान छ । खासगरी कायस्थ समाजमा यस दिन भगवान् चित्रगुप्त र यमराजको मूर्ति स्थापना गरी वा तिनको तस्बिर राखी श्रद्धापूर्वक पूजासामाग्री जुटाई  फूलपाती, चन्दन, अक्षता, धूपदीप, कुमकुम, सिन्दूर, थरिथरिका पक्वान्न, नैवेद्य र मिठाइले यिनको पूजा गरिन्छ । पूजा गर्दा यिनका भक्तले अन्त्यमा आफूले जानीनजानी गरेका भूल र अपराधप्रतिको क्षमायाचना गरेपछि पूजाको विधि समाप्त हुन्छ । यसरी जसले यमराज र चित्रगुप्तको पूजा गरी उनीहरूसँग आफ्ना नराम्रा काम र अशुभ कर्मप्रति क्षमायाचना गर्दछन्, तिनले नरक जानुपर्दैन भन्ने आमविश्वास छ । यस सन्दर्भमा एउटा लोककथा पनि प्रचलनमा रहेको देखिन्छ ।

सौराष्ट्र देशमा एक जना सौदास नामका राजाले शासन गर्दथ्यो । त्यो राजा असाध्य अधर्मी थियो, साथै हरहमेशा पापकर्ममा लिप्त रहने गर्दथ्यो । उसले आफ्नो सारा जीवनमा कुनै पनि शुभकर्म गरेको थिएन । एक पटक सिकार खेल्ने उद्देश्य घना जङ्गलमा पुगेको वेला राजाले बाटो बिर्स्यो । वनबाहिर निस्कने कुनै उपाय नभेटेपछि ऊ त्यसै वनमा वरपर भौंतारिन थाल्यो । त्यसरी वनमा यत्रतत्र भौंतारिरहेको वेलामा उसले एक जना नैष्ठिक ब्राह्मणले पूजा गरिरहेको दृश्य देख्यो । उत्सुकता बढेकाले ऊ ब्राह्मणका समीपमा गयो र ब्राह्मणलाई केको पूजा गरेको भनी जिज्ञासा राख्यो । ब्राह्मणले भने - आज कार्तिक महिनाको शुक्लपक्षको द्वितीया तिथि हो । त्यसैले म यहाँ कालका देवता यमराज र उनका सहयोगी चित्रगुप्तको पूजा गर्दैछु । यस व्रतको प्रभावले व्रतालुले नरकको ढोका देख्नु पर्दैन । आफूले जीवनभरि शुभकर्म नगरेको राजाको मनमा पनि यो व्रत लिने विचार आयो र ब्राह्मणको आज्ञा लिई उसले पनि व्रतकार्य सम्पादन गर्यो । पछि ब्राह्मणले सहर निस्कने बाटो बताएको हुँदा उनीसित छुट्टिने वेलामा यम द्वितीयाका दिन यमराज र चित्रगुप्तको केकस्तो विधिको प्रयोग गरी पूजा र व्रत गर्न जानकारी लिएर राजा दरबारमा फर्कियो । दरबारमा फर्किएपछि अरु धर्मकर्ममा मन नलगाए पनि उसले प्रत्येक वर्ष यमद्वितीयाका दिन पर्ने चित्रगुप्त जयन्तीको व्रत लिने र विधिविधानले पूजा गर्ने गर्दथ्यो । कालको गतिले एक दिन यमदूत राजाको प्राणहरण गर्न दरबारमा आए र यमपाशमा बाँधेर उसका प्राणलाई तुरुन्त यमराजको सभामा दाखिला गरे । त्यसपछि चित्रगुप्तले उसले मर्त्यलोकमा गरेका शुभ र अशुभ कर्मको फेहरिस्त सुनाउँदै यमराजसमक्ष बिन्ती गरे - हे स्वामी ! यो राजा ठूलो पापी हो, उसले जीवनकालभरि सदैव पापकर्ममात्र गरेको छ, तर यसले जीवनको उत्तरार्द्धमा हरेक वर्ष कार्तिक शुक्ल द्वितीया तिथिका दिन नियमनिष्ठाका साथ मेरो र हजुरको पूजा गरी व्रत लिएको छ । अतः धर्मानुसार उसका यावत् पापराशि नष्ट भएको छ, अव यो स्वर्गको हकदार बनेको छ ।  यमराजले चित्रगुप्तको सिफारिसलाई तुरुन्त स्वीकार गरे र यसरी सौदास राजाले स्वर्गमा बास पायो ।

No comments:

Post a Comment