Nov 7, 2017

गार्इ तिहार, म्ह पूजा र गोरु तिहार



लक्ष्मी पूजा र गार्इ तिहार
नेपालका प्रमुख पर्वहरुमध्ये गाइतिहार वा लक्ष्मीपूजा एउटा विशिष्ट पर्व हो । तिथिअनुसार सामान्यतया कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । यसै दिनलाई नेपालको तराई क्षेत्र र भारतमा 'दीपावली' वा 'दिवाली' भन्ने गरिन्छ । पूर्वी तराईमा भने सुकराइत (सुखरात्री) पनि भनिन्छ । वर्षका चारवटा महत्त्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्री भनेर शास्त्रमा नामकरण गरिएको पाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। यस दिन स्त्रीजाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ । यस दिन दिनभरि व्रत बसी साँझमा लक्ष्मीको पूजा गर्ने मनुष्यले धनधान्यबाट वञ्चित हुनु नपर्ने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको पाइन्छ :-
प्रदोषसमये विप्राः कर्त्तव्या दीपमालिका । दीपदानात् ततः पश्चाल्लक्ष्मीं सुप्तां प्रबोधयेत् ॥
त्वं ज्योतिः श्रीरविश्चन्द्रो विद्युत् सौवर्णतारकाः । सर्व्वेषां ज्योतिषां ज्योतिर्दीपज्योतिःस्थिते नमः ॥
मन्त्रेणानेन कमलां दीपहस्ताः श्रियो द्विजाः । देवीं प्रबोधयेयुश्च ततः कुर्य्युश्च भोजनम् ॥
प्रदोषसमये लक्ष्मीं भोजयित्वा भुनक्ति यः । पुमान् संवत्सरं यावत् लक्ष्मीस्तं नैव मुञ्चति 

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । त्यसैले सनातन धर्मावलम्बीहरूले गार्इलार्इ विशेष महत्त्वका साथमा पूजाअाराधना र भक्तिभाव प्रदान गर्ने गर्दछन् । लक्ष्मीपूजाका साथमा गोमाताको पनि पूजा गरिने भएकाले यस दिनलार्इ गार्इतिहार भन्ने गरिएको हो । लक्ष्मीपूजा र गार्इतिहार दुबै पर्व अाैंसीका दिन सम्पन्न गर्ने विधान छ, तर लक्ष्मीपूजा गर्न सायंकाल (प्रदोष) मा अाैंसी तिथिले छुनु अावश्यक छ भने गार्इ पूजाका लागि प्रतिपदा मिश्रित अाैंसी हुनु अनिवार्य मानिन्छ । त्यसैले लक्ष्मीपूजाको भोलिपल्ट गार्इ पुज्ने गरिएको हो । (या कुहूः प्रतिपन्मिश्रा तत्र गाः पूजयेन्नृप ! पूजामात्रेण वर्द्धन्ते प्रजा गावो महीपतेः ॥)

नयाँ नेपाल संवत ११३९ - म्ह पूजा (नेवारी नववर्षको प्रारम्भ)
यमपञ्चकको चौथो दिन सम्पूर्ण नेवार समुदायले मनाउने 'म्ह पूजा' नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ । शरीरको सेवाबाट स्वस्थ र पवित्र बन्न सकिने मान्यताअनुसार म्हः पूजा विभिन्न जाति र धर्ममा विभाजित रहेका सम्पूर्ण नेवारद्वारा स्वीकारिएको छ । नेपाल भाषामा म्हः को अर्थ शरीर हुन आउँछ तसर्थ यसको समग्र अर्थ शरीरको पूजा हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी ‘म’ र ‘परमात्मा’ बीच कुनै अन्तर नभएको अनुभूति गरेर शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ । ब्रह्माण्डकै स्वरूप रहेको मानवशरीरमा सबै प्रकारका धर्म र कर्म प्राप्तिका प्रमुख साधन रहेकाले विश्वका सबै धर्मले यस शरीरलाई ईश्वरसँग भेट्ने र ईश्वरलाई बुझ्ने मन्दिरका रूप लिन सकिन्छ । समग्र देवता, ऊर्जाशक्ति, विश्वब्रह्माण्ड मानव शरीरभित्र नै रहेको हुन्छ र त्यहीं परमेश्वरको निवास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफू नै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको हो। वेद, गीता, उपनिषद्, पुराण, बौद्ध दर्शन, जैन दर्शन, नेपाली तथा नेपाल भाषा वाङ्मयका साथै कुरान, बाइबल, आदि सबै धर्मग्रन्थमा आत्मोद्धारका बारेमा चर्चा गरिएको पाइन्छ । यो पर्व कहिलेदेखि सुरु भएको हो भनेर निर्क्यौल गर्ने प्रमाण त छैन तर कुनै समयमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेकाले धेरै मानिसको क्षति हुन गएको र त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास गरिन्छ । सबै प्रकारका धार्मिक, साँस्कृतिक, सामाजिक, राजनीतिक आदि कर्म गर्न सकिने स्वस्थ शरीरको आकांक्षा र कामना गरिने यस पर्वलाई यमपञ्चकभित्रकै समयमा सम्पादन गरिने हुनाले यो पर्व पनि यमपञ्चकको सुरुवातसँगै प्रारम्भ भएको हुनुपर्छ । स्वस्थ शरीरभित्रको स्वस्थ मनबाट मात्र ब्रह्मको चिन्तन हुन सक्ने हुँदा त्यसको प्राप्तिका लागि शरीरलाई शुद्ध बनाएर मनलाई स्थिर राख्नका निमित्त यो पूजा प्रचलनमा आएको हो। शरीरको अनुपस्थितिमा कुनै पनि विषयवस्तुको अस्तित्व नरहने भएकाले शरीर भित्रको चैतन्यलाई उजागर गर्ने सन्दर्भमा शरीरप्रति विशेष आस्था र भक्ति प्रकट गरिने म्हः पूजालाई नेवार समुदायमा पास्नी गरेपछि नमरुन्जेल उसको मर्यादाक्रमअनुसार पूजा गर्नुपर्छ । शरीरभित्र रहेको चेतनाको परमतत्त्वलाई प्रतिनिधित्व गराउने करिब दश इन्च लामो बत्ती बाली तान्त्रिक विधिले शरीरको आराधना गरी प्रज्ज्वलित दीपलाई मानवदेहको प्रतीकका रूपमा परिकल्पना गर्ने परम्परा छ । म्ह पूजा गर्नका निमित्त मण्डलको निर्माण गरी त्यसमा अङ्गदेवताका रूपमा ब्रह्मा, विष्णु, महेश्वर, यमराज र यमुनाको विभिन्न विशेषतः सयपत्रीको फूल र अन्य पूजासामाग्री चन्दन, अक्षता आदिले पूजा गरिन्छ र अङ्गी देवता अर्थात् मुख्य पूजा योग्य वस्तुका रूपमा आफ्नै शरीरलाई प्रतिस्थापन गरिन्छ । यस कर्मको सम्पादन गर्दा विशेषतः आफूले आफूलाई यथार्थ धरातलमा रहेको अनुभूति हुने गर्दछ । उक्त पूजाविधि सम्पादन गर्न आचार्य, पुरोहित वा बाहुनको आवश्यकता हुँदैन र निश्चित शुभसाइत पनि तोकिएको हुँदैन । म्ह पूजाका दिन हिन्दू नेवारहरूले मात्र होइन, बौद्ध सम्प्रदायभित्रका नेवार समुदायले पनि आफ्नो शरीरको विशेष पूजा गर्ने प्रचलन छ । नेवार समुदायका बौद्ध अनुयायीले गर्ने म्हपूजाको स्रोत उही र उस्तै भए पनि पूजाको शैली भने भिन्न छ । यस सम्प्रदायमा विभिन्न नौ किसिमका गेडागुडीको प्रयोग गरी मण्डल निर्माण गरिन्छ। मण्दलको मध्यभागमा सौर्यमण्डलको गोलो आकारको कल्पना गरी एउटा गेडागुडीको दानो र त्यसका आठवटा कुनामा विश्वब्रह्माण्डको प्रतिनिधित्व हुने गरी अष्ट दिकपालको प्रतिष्ठा गरी मण्डल निर्माण गरिएको हुन्छ । यसका साथै त्रिरत्न (बुद्ध, धर्म, सङ्घ), यमराज, कुलदेवता आदिको समेत स्थापना गरी बौद्ध नेवारले  म्हपूजा गर्ने गर्दछन् । त्यस्तै बौद्ध अनुयायीहरू मण्डलको दाहिनेतर्फ विशेष तरिकाले तैयार गरिएको लामो धागो राखी बालिएको तेलको दियोलाई यस पूजाको आरम्भदेखि अन्त्यसम्म अविच्छिन्नरूपमा प्रज्ज्वलित हुनु आवश्यक ठान्दछन्, अनि त्रिरत्न र लोकपालको पूजापश्चात् घरमूलीले अनिवार्य पूर्वदिशातिर फर्केर म्हःपूजा गर्नुपर्ने र अरु सदस्यले आफ्नो अनुकूलअनुसारको आसनमा रहेर शरीरको पूजा गर्ने प्रचलन रहेको छ ।


गोरु तिहार

गोरु तिहार, हलितिहार वा गोवर्द्धन पूजा तिहार चाडको चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्द्धन गोकुल नजिकै रहेको एक पर्वत हो । कथनबमोजिम कृष्ण  भगवान् गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी दाउरा दिने गोवर्द्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा बताउँछन् र सबैजना त्यसै गर्न राजी हुन्छन् अनि गोवर्द्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्द्धन पर्वतलाई पूजा गरेको देखेर इन्द्रलाई खपिनसक्नु रिस उठ्छ। रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको हात्तीसुँडे वर्षा गराउँछन् । गोकुलका ग्वालाहरू विलखबन्दमा पर्छन्, अनि भगवान् कृष्णले गोवर्द्धन पर्वतलाई दाहिने हातको कान्छी औंलाले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र लगातार सात दिन र सात रातसम्म पानी ओइर्याउँदा पनि गोकुलका गोठालाहरूलाई गलाउन नसकेपछि अन्त्यमा आफ्नो हार मानी आफुले गरेको गल्तीका निमित्त इन्द्र कृष्णसमक्ष झुक्छन् र क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्द्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाई र गोवंशले प्राप्त गरेको सम्मानलाई प्रतीकात्मक ढङ्गले प्रष्ट्याउँछ । वास्तवमा गोवर्द्धन पूजा तिहार (यम पञ्चक) को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोबरले गोवर्द्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालन गर्ने गोरुको पनि पूजा गर्दछन्।

No comments:

Post a Comment