Nov 3, 2017

गोवत्स द्वादशी व्रत (कार्तिक १८, २०७५) - Govatsa Dwadashi


गाईको महत्व अनन्त छ। गाईबाट प्राप्त हुने हरेक वस्तु अमृतसमान हुन्छ, जुन कुरा धर्मशास्त्रमा पनि उल्लेख भएको छ। पछिल्ला दिनमा विज्ञानले पनि गाईको दूधमा विभिन्न किसिमका रोगलाई प्रतिरोध गर्नसक्ने सामर्थ्य र शक्ति हुन्छ भनेर प्रमाणित गरिसकेको छ। गाईको खुरले जमिनमा रहेको विषादितत्त्व ग्रहण गरी त्यसको नकारात्मकताको अन्त्य गर्दछ, त्यसैले त्यही खुरको स्पर्श भएको जल खानाले मान्छेको स्वास्थ्यमा सकारात्मक फाइदा पुग्दछ । गाईलाई विष पिलाए पनि उसले दूधका धाराबाट अमृत बर्साउँछ । गाईको गलामा रहेको मालमा विष ग्रहण गर्न सक्ने शक्ति हुन्छ, अर्थात् गाईले आफ्नो घाँटीमा रहेको मालको सहयोगबाट विष ग्रहण गर्ने एवम् आफ्नो शरीरका अन्य अङ्गहरूमा त्यसको असर पर्न नदिने एक किसिमको संरचना हुन्छ। गाईलाई माताका रूपमा मान्ने परम्परा हाम्रो सनातन परम्परा हो । गाईको समग्र शरीरमा समस्त देवीदेवताको निवास हुन्छ । गाईको पुच्छरलाई शेष नागको प्रतीक र दुर्इ वटा सिङलाई कुमेरु र सुमेरु पर्वत मानिन्छ । सनातन संस्कृतिमा जुनसुकै शुभकर्म सम्पादन गर्न पञ्चगव्यको अपरिहार्यता हुन्छ । पञ्चगव्यमा गाईको दुध, दही, घ्यू, गहुँत र गोबरको सम्मिश्रण हुन्छ । नियमित रूपमा गाईको दुधको सेवन गर्ने मनुष्यको स्मरण शक्ति तीक्ष्ण हुन्छ, त्यसैले दैनिक शयनकक्षमा जानुअघि एक गिलास दूध खानुपर्छ भनिएको हो । प्रत्येक गृहस्थीले गाईको केवल पालनपोषणमात्र गरे पनि अक्षय पुण्य प्राप्त हुन्छ, त्यसबाहेक उसको दैनन्दिनीमा आवश्यक अमृतसमान दुध, दही, मोही प्राप्त गर्न सक्दछ ।

गोमहत्त्वको सन्दर्भमा एउटा श्लोक यस्तो छ :-

गोस्पर्शनविहीनस्य गोदोहनमजानत । गोपोषणविहीनस्य तस्यजन्मनिरर्थकम् ॥

(गाईको संसर्ग नभएको, गाई दुहुन नजान्ने, गाईको सेवा गर्न नजान्ने व्यक्तिको जन्म निर्रर्थक हुन्छ।)

सन्तान नभएकाहरूले गाईको सेवासुश्रुषा गरे सन्तान हुने जनविश्वास छ। राजा दिलीप र सुदक्षिणा नामका दम्पत्तिले सन्तान नहुँदा नन्दिनी गाईको सेवासुश्रुषा गरी सन्तान प्राप्त गरेको प्रसङ्ग विभिन्न धर्मग्रन्थका साथै महाकवि कालिदासको रघुवंश महाकाव्यमा उल्लेख गरिएको छ । मान्छे जन्मँदा पनि गाईको गोबरले लिपेको स्थानमा जन्माउने एवम् जन्मिसकेपछि पनि जन्मेको ठाउँमा गाईकै गोबरले लिपेर चोख्याउने गरिन्छ। मान्छे मर्दा समेत मरेको एवम् काजक्रिया गरेको ठाउँमा गाईको गोबरले लिपेमा ठाउँ पवित्र हुने धार्मिक विश्वास छ। गाईले लिपेको स्थानमा कुनै पनि किटाणुको सहजै प्रवेश हुनसक्दैन र सानातिना किटाणुहरू समेत नष्ट हुन्छन् भनी विज्ञान पनि प्रमाणित गरिसकेको छ । सनातन हिन्दु धर्म संस्कारमा आधारित पद्धति हो, यसमा रहेका षोडश संस्कारको अनुसरण गरी हरेक मानिसको जन्मदेखि मृत्युपर्यन्तका कर्म सम्पादन हुन्छन् । ती समस्त १६ वटै संस्कार सम्पन्न गर्नुअघि र पछि गोविकार प्रयोग गर्नु पवित्र मानिन्छ ।

गाईबाट प्राप्त दूध मानवीय स्वास्थ्यका दृष्टिकोणले समेत अतीव स्वस्थकर हुन्छ। गाईलाई उचित स्याहारसुसार एवं संरक्षण गर्न सकेमा पारमार्थिक यश र पुण्य त प्राप्त हुन्छ नै, व्यवसायिक र निर्वाहमुखी दृष्टिले पनि एउटा गृहस्थीको सहज जीवनयापन हुन्छ । भगवान् श्रीकृष्ण स्वयं गोठालाकुलमा ग्वालबालका रूपमा अवतरित हुनुभएको थियो र उहाँको अधिकांश समय गाईको सेवासुश्रुषामा वितेको थियो । प्रत्येक वर्षको कार्तिक कृष्णपक्षको द्वादशी पर्व पशुपालन गरी कृषिमा आधारित जीविका चलाउने गोठाले संस्कृतिको प्रतिनिधि पर्व हो । यस दिन गाई र तिनका बाछा (बहर) हरूको पूजा र सेवा गर्ने गरिन्छ। यस दिन बिहानै उठेर नित्यकर्मबाट निवृत्त भई गाई र बहरको विधिवत् पूजा गर्ने प्रावधान छ । वर्तमान जीवनवृत्ति कृषिकर्ममा मात्र आधारित छैन । त्यसैले सहरी जीवन धान्ने क्रममा कतिपय व्यक्तिहरूका घरमा गाई हुँदैनन्, त्यस्ता व्यक्तिले गौशालामा वा छरछिमेकीका घरमा गएर पनि गाईको पूजा गर्नुपर्दछ भनिएको छ । घरका छेउछाउमा गौशाला पनि छैन र छरछिमेकीका घरमा पनि गाई पालिएको छैन भने माटो भिजाएर गाईको प्रतिमा बनाई वा कुनै धातुबाट निर्मित गाई र बहरको प्रतिमाको पूजा गर्दा पनि हुन्छ। यस व्रतको पालना गर्दा यस दिन गाईको दूधबाट निर्माण हुने खाद्यपदार्थ र हतियारको प्रयोग गरी तैयार गर्नुपर्ने तरकारीको उपयोग गर्न निषेध गरिएको छ।

गोवत्स द्वादशीको पूजा विधि (Govatsa Dwadashi Puja Vidhi)

बिहानै स्नानादिबाट निवृत्त भई स्वच्छ वस्त्र धारण गर्नुपर्दछ र आफुले पूजा गर्ने जीवित वा प्रतिमाको गाई र बाच्छालाई पनि नुहाई दिनुपर्छ। नुहाएपछि ती दुबै गाई र बाच्छालाई नया लुगा ओढाउनु पर्दछ, गाई र बाछा दुबैलाई फूलको माला पहिर्याउनु पर्दछ, अनि दुबैको टाउकोमा चन्दनको तिलक लगाई दिनुपर्दछ, सिङलाई सिंगारी दिनुपर्दछ। त्यसपछि गाईलाई पूजा गरी दुबै हात जोडेर प्रार्थना गर्नुपर्दछ ।


गावो मे अग्रतः सन्तु गावो मे सन्तु पार्श्वतः । गावो मे हृदये सन्तु गवां मध्ये वसाम्यहम् ॥नमो गोभ्य: श्रीमतीभ्य: सौरभेयीभ्य एव च। नमो ब्रह्मसुताभ्यश्च पवित्राभ्यो नमो नम: ॥यया सर्वमिदं व्याप्तं जगत्स्थावरजङ्गमम्। तां धेनुं शिरसा वन्दे भूतभव्यस्य मातरम् ॥त्वं माता सर्वदेवानां त्वं च यज्ञस्य कारणम् । त्वं तीर्थं सर्वतीर्थानां नमस्तेऽस्तु सदाऽनघे ॥

त्यसपछि तामाको भाँडामा सुगन्ध, अक्षता, तिल, पानी र फूल मिसाएर तलका मन्त्र पढी गाईलाई अर्घ्य प्रदान गर्दै अभिषेक गर्नु पर्दछ, मन्त्र निम्नानुसार छन :-

क्षीरोदार्णवसम्भूते सुरासुरनमस्कृते।
सर्वदेवमयि मातर्गृहाणार्घ्यं नमो नम: ॥

यस मन्त्रको अर्थ हो - समुद्रमन्थनका समयमा क्षीरसागरबाट उत्पन्न देवता र असुरहरूद्वारा नमस्कार गरिएकी देवस्वरुपिणी माता हजुरलाई बारम्बार नमस्कार छ। मैले समर्पण गरेको अर्घ्यलाई हजुरबाट स्वीकार गरियोस्।

यस कृत्यपछि गाई र बाछालाई कालो दाल (मास) मिसाएको अन्न (चामल) खाद्यपदार्थका रूपमा खान दिनुपर्छ अनि तलका मन्त्र उच्चारण गर्दै प्रार्थना गर्नुपर्दछ, मन्त्र यस प्रकार छ - 

सुरभि त्वं जगन्मातर्देवी विष्णुपदे स्थिता।
सर्वदेवमयि ग्रासं मया दत्तमिमं ग्रस ॥
तत: सर्वमयि देवि सर्वदेवैरलड्कृते।
मातर्ममाभिलषितं सफलं कुरु नन्दिनी ॥

माथिका श्लोकको अर्थ हो- हे जगदम्बे, हे स्वर्गवासिनी देवी, हे सर्वदेवमयी हजुर मैले अर्पण गरेको यस अन्नलाई ग्रहण गर्नुहोस्। समस्त देवताहरूद्वारा अलङ्कृत माता नन्दिनी! हजुरले मेरा समस्त मनोरथ पूर्ण गर्नुहोस्।

गौमाताको पूजा गरेपछि गोवत्सद्वादशीको कथा सुन्नुपर्दछ, दिनभरि निराहार व्रतसम्पादन गरी सायंकालमा आफ्ना इष्टदेव र गौमाताको बाछोसहित आरती गर्नुपर्दछ, त्यसपछि भोजनादि ग्रहण गर्नुपर्दछ।

गोवत्स द्वादशीको व्रतकथा (Govatsa Dwadashi Katha)

प्राचीन समयमा भारतवर्षको पूर्वीक्षेत्रमा पर्ने सुवर्णपुर नामको सहर थियो। त्यस नगरमा देवदानी नामका राजा राज्य गर्दथे। ती राजसँग एउटा गाई र एउटा भैंसी थिए। राजाका दुईवटी रानी थिएँ। एउटीको नाम सीता र अर्कीको नाम गीता थियो। सीताले भैंसीलाई एउटी साथी(सखी)लाई झैं प्यारो मान्ने गर्दथिन्, त्यस्तै गीता भने गाई र त्यसको बाछोलाई यसरी नै माया गर्दथिन्। एक दिन भैंसीले आफ्नी मालिक्नी सीतासँग भन्यो- गाईको बाछोसमेत भएकाले तपाईंकी सौता गीता मसँग अलि ईर्ष्या गर्दछिन्। भैंसीका यस्ता गुनासा सुनेपछि रानी सीताले असाध्यै दुःख मानिन् र आफ्नो प्यारो भैंसीलाई खुसी पार्न गीताले छोरोसरह माया गर्ने बाछोलाई काटेर गहुँको थुप्रोभित्र छोपिन्। यस घटनाको पत्तो कसैले पाएन। दिउँसो भोजनादि ग्रहण गर्ने बेलामा जब राजा भोजन गर्न बसे, अचानक खानामाथि मासु र रगतको वर्षा हुन थाल्यो। दरबारमा चारैतिर रगत र मासु देखिन थाल्यो, राजाकै भोजनपात्रमा मलमूत्र बर्सियो । यस्तो दृश्य देखेर राजा असाध्यै डराए र उनलाई ठूलो चिन्ता भयो । त्यसै समयमा आकाशवाणी भयो - 'हे राजन् ! तिम्री रानी सीताले गाईको बाछोलाई काटेर गँहुको थुप्रोभित्र लुकाएकी छन् । त्यसै अनिष्टका कारण यी घटना घटेका हुन् । संयोगले भोलि गोवत्स द्वादशीको पुण्य दिन परेको छ, त्यसैले भोलि गीताले पाल्ने गरेको भैंसीलाई सहरबाट बाहिर निकाली देऊ र गाई तथा मृत बाछालाई विधिवपूर्वक पूजा गर।  भोलि तिमीले गाईको दूध र हतियारले काटेर पकाइने फलफूल र तरकारी नखानु। यस कृत्यलाई सम्पादन गरेपछि तिम्रा र तिम्री रानी सीताका समस्त पाप नष्ट हुनेछन् अनि बाछो पनि बाच्नेछ ।

राजाले आकाशवाणीबाट व्यक्त भएका सबै कुरा निष्ठापूर्वक पालना गरे र भनेजस्तै भयो। धेरै वर्षसम्म पृथ्वीतलमा शासन गरी राजा देवदानी सपरिवार मृत्युपछि गोलोकधाममा जाँदा भए।

No comments:

Post a Comment