रमा एकादशी प्रत्येक वर्षको कार्तिक महिनाको कृष्णपक्षको एघारौं दिनका दिन पर्दछ । अरु एकादशीको व्रतजस्तै यस एकादशीको पनि आफ्नै वैशिष्ट्य र महत्त्व छ । यस व्रतको व्रतकथा र महात्म्य विभिन्न पुराणहरूमा बाहेक पद्मपुराणमा पनि उल्लेख गरिएको छ । प्रातःकालमा नित्यस्नान गरी भगवान् विष्णुको पूजा गरी दिनभरि निराहार बसी वा फलाहार गरी राती जागरण गरी भोलिपल्ट द्वादशीका दिन यस व्रतको पारणा हुन्छ । द्वादशीका दिन गोवत्स द्वादशी हुने भएकाले यस व्रतको समापनमा बाछोसहित गाईको पूजाआजा वा मौका परेको वेला गाई र बाछो दान गर्दा अझ ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ । यसको महात्म्य भगवान् श्रीकृष्ण र धर्मराज युधिष्ठिरको संवादका क्रममा वर्णन भएको छ । सुरुमा युधिष्ठिर भगवान् श्रीकृष्णसित जिज्ञासा राख्दछन् -
कथयस्व प्रसादेन मयि स्नेहाज्जनार्दन ।
कार्त्तिकस्यासिते पक्षे किंनामैकादशी भवेत् ॥
यसरी एकादशीका बारेमा चर्चा गर्न युधिष्ठिरले आग्रह गरेपछि भगवान् श्रीकृष्णले यसको महात्म्य र व्रतकथा बताउनु भएको हो । भगवान् श्रीकृष्णका मुखारविन्दबाट उल्लेख भएको उक्त व्रतकथा यसप्रकार छ :-
श्रूयतां राजशार्दूल कथयामि तवाग्रतः ।
कार्त्तिके कृष्णपक्षे तु रमा नाम सुशोभना ॥
एकादशी समाख्याता महापापहरा परा ।
अस्याः प्रसंगतो राजन्माहात्म्यं प्रवदामि ते ॥
मुचुकुन्द इति ख्यातो बभूव नृपतिः पुरा ।
देवेन्द्रेण समं तस्य मित्रत्वमभवन्नृप ॥
प्राचीनकालमा एकजना मुचुकुन्द नामका प्रभावशाली राजाको शासनकाल थियो । उनी पृथ्वीमा मात्र होइन, स्वर्गलोक, ब्रह्मलोक र सत्यलोकमा पनि प्रसिद्ध थिए । इन्द्र, यम, कुबेर, वरुण र विभीषण आदि दिव्यपुरुषहरू उनका मित्र र सहयोगी थिए र उनी धर्मात्मा, न्यायप्रिय र विष्णुभक्त थिए । उनी प्रत्येक एकादशीको नियम र निष्ठाका साथमा व्रत लिने गर्दथे, राज्यका समस्त नागरिकले एकादशीको व्रत सम्पादन गर्नु त स्वाभाविक नै मान्न सकिन्छ, उनको राज्यका मनुष्येतर प्राणि र पशुपन्छीले पनि एकादशीका दिन घाँसचारो त्याग गर्दथे । तिनकी चन्द्रभागा नामकी एउटी छोरी थिईन् । उनी शुद्ध आचरण भएकी धर्मपरायण र पतिव्रता स्त्री थिईन् । उनको विवाह छिमेकी राज्यका राजा चन्द्रसेनका सुपुत्र राजकुमार शोभनसित भर्खरै सम्पन्न भएको थियो । एक पटक नयाँ बेउला र बेउली ससुरालीमा आएको अवसर थियो, त्यसै वेला यो रमा एकादशीको दिन आइपुग्यो ।
राजाले अरुअरु एकादशीको अघिल्लो दिन गरेजस्तै रमा एकादशीको एक दिनअघि अर्थात् दशमीका दिन नगरभरि झ्याली पिटाएर प्रजालाई सूचित गरे - 'भोलि रमा एकादशीको पवित्र दिन हो, नगरभरिका सबै प्रजाहरूले यस व्रतको अनुष्ठान गर्नुहुन अनुरोध छ ।' उक्त सूचना ससुराली आएका नयाँ ज्वाइँ शोभनले पनि सुने । उनले अहिलेसम्म कुनै किसिमका व्रत लिएका थिएनन् र जहाँसम्म अहिलेसम्म उनले भोकै बसेको पनि थाहा थिएन । अहिलेसम्म भोक र तिर्खा भनेको के हो भन्ने थाहा नपाएका शोभन एकादशीका दिन निराहार बस्नुपर्छ भन्ने थाहा पाएर खान्कीको अभावमा शरीरलाई कष्ट हुने र आफ्नो बेहाल हुने चिन्ताले छट्पटिन थाले । पतिको चिन्ताको विषय पत्नी चन्द्रभागालाई पनि थाहा थियो । उनी मनैमनमा सोच्न थालिन् - ' मेरा पति अत्यन्त दुर्बल छन्, भोक सहन गर्न पटक्कै सक्दैनन्, उता मेरो पिताको आज्ञा पनि अत्यन्त कठोर छ । अब भोलिको एकादशीको व्रत यिनले कसरी सम्पादन गर्लान् ?' यसरी शोचमग्न भई बसेको वेला उनका पति पनि त्यहीं आइपुगे, र आफ्नो गुनासो पोख्दै भने -
'हे प्रिये ! म के गरौ ?, मैले के गर्नु उचित हुन्छ ?, मैले भोको बस्नुपरेको अनुभव छैन, भोक सहन सक्दै सक्दिन । अब तिमीले नै कुनै यस्तो उपाय बताऊ, जसबाट मेरो प्राणको रक्षा होस् अनि व्रत लिन सजिलो पनि होस् । अहोरात्र निराहार बस्नु पर्यो भने म त मर्न बेर लाउँदिन ।' चन्द्रभागा निराश भईन्, धेरै बेरसम्म कुनै उपाय छ कि भनी घोरिईन् पनि, तर कुनै उपाय नदेखेपछि आफ्ना पतिलाई सम्झाउँदै भनिन् -
मत्पितुर्वेश्मनि प्रभो भोक्तव्यं नाद्य केनचित् ।
गजैरश्वैश्च कलभैरन्यैः पशुभिरेव च ॥
तृणमन्नं तथा वारि न भोक्तव्यं हरेर्दिने ।
मानवैश्च कुतः कांत भुज्यते हरिवासरे ॥
यदि त्वं भोक्ष्यसे कांत ततो गर्हां प्रयास्यसि ।
एवं विचार्य मनसा सुदृढं मानसं कुरु ॥
हे स्वामी ! मेरा पिताको राज्यमा एकादशीका दिन कसैले भोजन गर्दैन । मान्छेमात्र होइन, यहाँका हाती, घोड़ा, ऊँट, बिरालो, गाई र अन्य पन्छीले पनि एकादशीका दिन घाँसपानी र अन्नजल ग्रहण गर्दैनन् । त्यसैले एकादशीको व्रत यहाँको नियमितता भइसकेको छ । तपाईं बरु आजै यस देशको सीमाबाहिर जानुहोस् र भोलिको दिन बिताएर फर्कनुहोस्, त्यसबाहेक अरु उपाय छैन ।' शोभनको भर्खर विवाह भएको थियो, उनलाई पत्नीलाई छाडेर एकछिन पनि अन्त जान मन थिएन । पत्नीबाट पनि भोकबाट जोगिने कुनै उपाय पत्तो लागेन, त्यसपछि सबैले लिएको व्रत आफुले पनि लिन सकिन्छ होला भन्ने ठानेर उनले पत्नीलाई भने -
सत्यमेतत्प्रिये वाक्यं करिष्येऽहमुपोषणम् ।
दैवेन विहितं यद्धि तत्तथैव भविष्यति ॥
'प्रिये ! आखिर यहाँ सबैले व्रत लिने नै गरेका रहेछन्, म पनि व्रत लिन्छु ।'
क्षुधया पीडिततनुः स बभूवातिदुःखितः ।
इति चिंतयतस्तस्य आदित्योऽस्तमगाद्गिरिम् ॥
वैष्णवानां नराणां सा निशा हर्षविवर्द्धनी ।
हरिपूजारतानां च जागरासक्तचेतसाम् ॥
बभूव नृपशार्दूल शोभनस्यातिदुःखदा ।
रवेरुदयवेलायां शोभनः पंचतां गतः ॥
भोलिपल्ट रमा एकादशीको दिन पत्नीले बताएको विधिविधानलाई पालना गर्दै शोभनले व्रत लिए । दिन छिप्पिंदै जाँदा उनी भोक र प्यासबाट व्याकुल हुँदै गए । जसैतसै दिनभरिको समय बितेर साँझ पर्यो । सबैले भगवान् नारायणको पूजा र आरती गरे, त्यसपछि जागरणको तैयारी हुन थाल्यो । अरु सबैका लागि एकादशीको रात्रीकालमा जागरण गर्न पाउनु अहोभाग्य थियो, त्यसैले नगरका सबै नागरिक खुसी र प्रसन्न थिए, तर शोभनका लागि त्यो समय झनझन दुःखदायी र कष्टप्रद बन्दै गएको थियो । रात्रीकाल समाप्त भई उज्यालो हुन पाएकै थिएन, भोकप्यास र कमजोरीका कारण शोभन मूर्च्छित भए र केही समयमैं उनको मृत्यु भयो ।
दरबार र पूरै राज्यमा शोक व्याप्त भयो । अन्ततः उनको अन्त्येष्टिको तैयारी गरियो । राजा मुचुकुन्दले गङ्गाको तटमा श्रीखण्डको सुगन्धित दाउरा जम्मा पारी चिता निर्माण गरे, भर्खरै विवाहबन्धनमा बाँधिएकी छोरी विधवा भईन्, उता के खाउँ र के लाउँ भन्ने उमेरका ज्वाइँको अन्त्य भयो, राजा मुचुकुन्दलाई खपिनसक्नुको पिर परेकै थियो, उता छोरी चन्द्रभागा पनि पतिवियोगमा रोई कराई गरिरहेकी थिईन्, अनि पतिसँगै सति जान्छु भनी जोड गर्न थालेकी थिईन् । राजाले छोरीलाई सम्झाइबुझाइ गरे र सति जान दिएनन् । अन्तत: पूर्ण राजकीय सम्मानका साथमा शोभनको अन्त्येष्टि कर्म सम्पन्न भयो ।
विधवा भएकी चन्द्रभागा माइतमा नै बस्न थालिन् । केवल एक दिन, त्यो पनि विनानिष्ठा लिएको रमा एकादशीको व्रतको पुण्यले शोभनले मृत्युपछि मन्दराचल पर्वतमा अवस्थित एउटा सुन्दर देवपुर प्राप्त गरे । त्यस पुरमा सुन्दर रत्न र वैदूर्यमणि जटित स्वर्णका खम्बामा निर्मित, किसिमकिसिमका मणिमाणिक्यको बुट्टा र रङरोगनद्वारा सुशोभित, अनुपम भवनमा बहुमूल्य वस्त्राभूषण तथा छत्र र चम्मरबाट विभूषित भई, गन्धर्व र अप्सराको सेवासुश्रुषा ग्रहण गर्दै शोभन सिंहासनमा आरूढ भई राज गर्न थाले । उनको त्यतिवेलाको मानसम्मान र प्रतिष्ठा स्वर्गका राजा इन्द्रको भन्दा कम थिएन । त्यस्तो सुख र वैभवको अधिकार पाएका शोभनको समय भने धेरै तोकिएको थिएन, किनकि उनले आर्जन गरेको पुण्य धेरै थिएन । बल्ल एकादशीको पुण्य र महत्ताका बारेमा शोभनले चाल पाएका थिए । अब देवपुरको यो अधिकार र सुविधा कसरी लम्ब्याउन सकिन्छ भनेर उनी चिन्तित रहन थाले ।
मुचुकुन्दको राज्यमा एकजना सोम शर्मा नामका ब्राह्मण निवास गर्दथे । उनी शास्त्रका ज्ञाता र ब्रह्मनिष्ठ विप्र थिए । उनमा सशरीर स्वर्ग, मर्त्य र पातालमा विचरण गर्ने सामर्थ्य थियो । एक पटक तीर्थाटनका क्रममा उनी मन्दराचल पर्वतमा रहेको उक्त देवपुरमा पुगे । त्यहाँ राज गर्ने शोभनलाई देख्दा उनी छक्क परे । शोभनले पनि ससुराली गाउँका प्रतिष्ठित पण्डितलाई नचिन्ने कुरा भएन । दुबै जनाका बीचमा भलाकुसारी भयो । सोमशर्माले शोभनलाई सबै खबर सुनाउँदै भने -
कुशलं वर्त्तते राजन्श्वशुरस्य गृहे तव ।
चन्द्रभागा कुशलिनी सर्वतः कुशलं पुरे ॥
स्ववृत्तं कथ्यतां राजन्नाश्चर्यं विद्यतेऽद्भुतम् ।
पुरं विचित्रं रुचिरं न दृष्टं केनचित्क्वचित् ॥
एतदाचक्ष्व नृपते कुतः प्राप्तमिदं त्वया ।
हे राजन् ! तपाईंको ससुरालीमा सबै राम्रो छ । चन्द्रभागा पनि कुशलताका साथमा जीवनयापन गर्दैछिन् । तर तपाईंले पो मृत्युपछि पनि यो अचम्मको लोक कसरी प्राप्त गर्नुभयो ? म छक्क परेको छु, यसको कारण बताइदिनु हुन्छ कि ?
शोभन उत्तम लोक प्राप्त गरे पनि चिन्तित थिए, सही र उपयुक्त अवसर ठानेर शोभनले ब्राह्मणलाई आफूले प्राप्त गरेको दिव्यलोकको विवरणका साथमा आफ्नो चिन्ताको विषय पनि बताए । उनले सुमधुर आवाजमा ब्राह्मणसित आग्रह गरे -
कार्तिकस्यासिते पक्षे या नामैकादशी रमा ।
तामुपोष्य मया प्राप्तं द्विजेंद्र पुरमध्रुवम् ॥
ध्रुवं भवति येनैव तत्कुरुष्व द्विजोत्तमः ।
'हे भूदेव ! कार्तिक कृष्णपक्षको रमा एकादशीका दिन मैले जानीनजानी गरेको व्रतको प्रभावले अहिले यो सुन्दर देवपुर प्राप्त गर्न पाएँ । तर मेरा निमित्त यो अस्थिर छ । हजुर त्रिकालज्ञ र दूरदर्शी हुनुहुन्छ, त्यसैले मेरो यो पद र सुविधालाई स्थायी बनाउने उपाय गरिदिनु होस् । मैले यस व्रतलाई श्रद्धारहित भएर लिएको थिए, त्यसैले केही समयका लागि यो वैभव त पाएँ, तर त्यस व्रतको पुण्य सकिनासाथ मेरो दुर्गति हुनेछ । अब हजुरले मेरो यो परिस्थिति मेरी पत्नी चन्द्रभागाका कानमा पुर्याई दिनुहोस् । उनले यत्तिकुरा थाहा पाएपछि मलाई विश्वास छ, मेरो यो वैभव चिरस्थायी हुनेछ ।' ब्राह्मण तीर्थयात्रा पूरा गरी आफ्नो नगरमा फर्किए र शोभनको सन्देश चन्द्रभागालाई सुनाई दिए । चन्द्रभागालाई बाहुनका कुरामा पत्यार लागेन । केही समयअघि उनको काखैमा शोभनले प्राण त्यागेका थिए । फेरि पनि उनी ब्राह्मणको शक्ति र सामर्थ्यका बारेमा जान्दथिन्, के हो के हो भन्ने ठान्दै उनले ब्राह्मणलाई भनिन् - गुरुदेव ! मलाई हजुरका कुरा सुन्दा सपनाजस्तो लाग्दैछ, यदि यो कुरो सत्य हो भने मलाई पनि त्यस ठाउँमा लिएर जानुहोस्, जहाँ मेरा पतिदेव निवास गर्दछन् । हजुरले हामी दुईको मिलन हुने काम गर्नुहोस्, वियोगीलाई भेट गराउनु महान कर्म हो र यसको पु्ण्य अक्षय हुन्छ । यदि मैले तपाईंले भनेजस्तै मेरा पतिको दर्शन पाएँ भने आफूले आर्जन गरेका समस्त पुण्य उनलाई सुम्पिएर उनको उक्त दिव्यगतिलाई चिरस्थायी तुल्याउने प्रयास गर्नेछु ।' चन्द्रभागालाई आश्वस्त तुल्याउँदै सोम शर्माले पुनः भने - 'छोरी ! मैले मन्दराचलमा तिम्रा पतिलाई प्रत्यक्ष देखेको हो, साथै कसैले पनि जित्न नसक्ने र देवताहरूको स्वर्गसमान उनको सहर पनि देखेको हो ।'
सोम शर्मामा सामर्थ्य थियो । उनी आफूसँगै जसलाई पनि तीनै लोकमा सशरीर लिएर जान सक्थे । तर उनले आफ्नो यस शक्तिको अनधिकार उपयोग गरेका थिएनन् । उनले ध्यानदृष्टिले चन्द्रभागाको जीवनीलाई नियाले । आठ वर्षको सानो उमेरदेखि नै निष्ठा र भक्तिभावका साथमा भगवद्भक्ति गरेकी र पवित्र तथा निर्मल चित्त भएकी चन्द्रभागाको शरीर जुनसुकै लोकका निमित्त पनि ग्राह्य रहेको कुरा पत्ता लगाए । त्यसपछि उनले चन्द्रभागालाई आश्वस्त तुल्याउँदै भने – 'ठिक छ, तिमी जान्छ्यौ भने म तिमीलाई शोभनले पाएको देवपुरमा लिएर जानसक्छु ।'
उचित समय र मुहूर्त आएपछि सोम शर्मा र चन्द्रभागा दुबैले मन्दराचलतर्फ प्रस्थान गरे । सुरुमा बाहुनले चन्द्रभागालाई वामदेव ऋषिको आश्रममा लगी वैदिक मन्त्रोच्चारणका साथमा अभिमन्त्रित गराए । त्यसपछि उनले दिव्य शरीर र दिव्य गति प्राप्त गरिन् । अब महावनको यात्रा प्रारम्भ भयो । केही समयपछि सोम शर्मा बाहुन र राजकुमारी चन्द्रभागा मन्दराचल पर्वतमा रहेको उक्त देवपुरमा पुगे । पृथ्वीमा मृत भई अग्निसंस्कार गरी विदा गरेका पतिलाई चन्द्रभागाले देख्न पाईन् । आफ्नी प्रियतमालाई परैबाट देखेर शोभन पनि प्रसन्न भए । नजिकै आइपुगेपछि उनले ब्राह्मणलाई प्रणामादि र स्वागतसत्कार गरी आसन ग्रहण गराए, अनि चन्द्रभागालाई अङ्कमाल गर्दै आफ्नो सिंहासनको बायाँ भागमा बसाले । यसरी सपनामा पनि पूरा हुन नसक्ने घटना चन्द्रभागाको जीवनमा घट्यो । हर्षले भावविभोर हुँदै उनले पतिलाई संवोधन गर्दै भनिन् - 'हे प्राणनाथ ! हजुरले मेरा पुण्यलाई ग्रहण गर्नुहोस् । मैले आठ वर्षको कलिलो उमेरदेखि धर्माचरण गरेकी छु, त्यतिवेलादेखि अहिलेसम्म सबै एकादशीको श्रद्धा र भक्तिका साथमा विधिपूर्वक व्रत लिएकी छु । यसरी मैले गरेको व्रत, तप र धर्मकर्मको पुण्य म हजुरलाई सुम्पन्छु । उक्त पुण्यको प्रतापबाट हजुरको यो पद र वैभव सधैंका लागि स्थिर हुनेछ । समस्त सुख, वैभव र सम्मृद्धिबाट युक्त भई हजुरको यो अधिकार प्रलयकालसम्म कायम हुनेछ ।' चन्द्रभागाको पुण्य प्राप्त गरी शोभनको सुविधा र अधिकारको स्थायित्व भयो । पतिलाई प्राप्त गरेकाले पुनः वैधव्य जीवन भोग्नुपर्ने पृथ्वीतलमा चन्द्रभागा पनि फर्किनन् । दुबै जना पतिपत्नी उक्त देवपुरमा यक्ष, गन्धर्व र अप्सराको सेवासुश्रुषामा रमाउँदै दिव्य आभूषण र उत्तम वस्त्रादिबाट सुसज्जित भई आनन्दपूर्वक सुखभोग गर्न थाले ।
रमाव्रतप्रभावेन मंदराचलसानुनि ।
चिंतामणिसमा ह्येषा कामधेनुसमाथ वा ॥
रमाभिधाना नृपते तवाग्रे कथिता मया ।
तस्या माहात्म्यमनघ श्रुतं सर्वं त्वया नृप ॥
रमा एकादशीको ठूलो महत्त्व छ । जसले यस व्रतलाई श्रद्धा र भक्तिभावका साथमा लिन्छन्, तिनका ब्रह्महत्यादि समस्त पाप नष्ट हुन्छन् । शोभन र चन्द्रभागाले प्राप्त गरेजस्तै मरणोपरान्त उत्तम लोकको प्राप्ति हुन्छ । विवशताले आजको व्रत लिन नसके पनि जसले यस एकादशीको व्रतकथा र महात्म्यलाई पढ्ने, सुन्ने र सुनाउने गर्दछन्, तिनले पनि आफ्नो शरीरमा जन्मजन्मान्तरदेखि सञ्चित रहेका पापबाट छुटकारा पाई विष्णुलोक प्राप्त गर्दछन् । जय श्रीमन्नारायण ॥
No comments:
Post a Comment