Dec 3, 2017

इतिहासको साक्षी : रामधुनी मन्दिर


त्रेतायुगको रामायणको कथासँग प्रत्यक्ष गाँसिएको पवित्र तीर्थस्थल रामधुनी सुनसरी जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हो । यो मन्दिर हाल रामधुनी नगरपालिकाको वडा नं. ०४ (तात्कालिक सिङ्गिया गाविसको वडा नं. ०२) मा पर्दछ । रामधुनीमा मुख्य रूपमा धुनी मन्दिर र दरबार मन्दिर छन् ।  धुनी मन्दिरमा सधैँ एउटा साजको मुढो सल्काएर राखिन्छ र उक्त मुढो जलिरहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ ।  यसैगरी दरबार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ ।  त्यसभित्र चन्द्र, शिवलिङ्ग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन् ।  वनस्खण्डी बाबाले बोकेर हिँड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ ।

ऋषि विश्वामित्रसँग गुरुकुलमा रहेका वेला भगवान् रामचन्द्रको यस ठाउँमा आगमन भएको र यहाँ धुनी जगाएर बसेको लोकआहान छ, त्यसैले यहाँ नेपाल, भारत र भुटानका सनातन धर्मावलम्बी साधुसन्त र धार्मिक पर्यटकहरू आउने गरेका छन् ।  भारतको अयोध्या नगरका राजा दशरथका आज्ञाकारी छोरा रामचन्द्र जनकपुरका राजा जनकले आयोजना गरेको धनुषयज्ञमा भागलिन र सीतासँग स्वयंवर गर्न जाने क्रममा भाइ लक्ष्मण र ऋषि विश्वामित्रका साथमा आई रामधुनीमा विश्राम गरेको र बास बसेको किंवदन्ती रहेको छ । यसबाहेक धुनीसम्बन्धी अर्को जनश्रुति पनि प्रचलनमा रहेको छ । भगवान् रामचन्द्रले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा रामधुनी वनमा ती राजकुमारी धुनी बालेर बसेकी थिईन् । त्यहाँ रामचन्द्र एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने गरिन्छ।

सुरुमा  पौराणिक पञ्जावी शैलीको पुरानो मन्दिर संरक्षणको अभावमा जीर्ण भई भत्किएकाले त्यहाँ हाल केही वर्षपहिले कबीर पन्थी शैलीको मन्दिर निर्माण गरिएको छ । चारैतिर घनाजङ्गल र सुन्दर फूलबारीका बीचमा रहेको रामधुनी मन्दिरमा प्रत्येक वर्षको रामनवमी पर्वका दिन भव्य धार्मिक मेला लाग्ने गर्दछ । त्यसबाहेक विवाह पञ्चमी र बाला चतुर्दशीमा पनि यहाँ भक्तजनहरूको घुइँचो नै हुन्छ । त्यस्तै साउन महिनाको सोमबार बिहान पनि श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।  सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करीब १५ किलोमिटर उत्तरपश्चिममा रहेको यस स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फुलबारीका बीचमा धुनीस्थल रहेको छ । यस मन्दिरमा केही पुरातात्विक महत्त्वका वस्तु, सामाग्री र परम्परा रहेको देख्न पाइन्छ । जस्तै

०१ - अखण्ड धुनी - यहाँ अखण्ड धुनी हरहमेशा बलिरहने गर्दछ । यो धुनी नै यस मन्दिरको मुख्य आकर्षण हो । यो धुनी त्रेतायुगदेखि नै निरन्तर बलिरहेको छ भन्ने जनविश्वास छ । धरानको पिण्डेश्वर मन्दिरको भुवनेश्वरी थानमा रहेको अखण्ड बत्ती र रामधुनीमा रहेको धुनीको तादात्म्य सम्बन्ध रहेको छ भनी बुढापाकाहरूले बताउने गर्दछन् । भनिन्छ कथंकदाचित् रामधुनीको धुनी निभ्यो भने बाजागाजा र लावालस्करका साथमा पिण्डेश्वरको बत्तीको आगो ल्याई उक्त धुनी जगाउनु पर्दछ, त्यस्तै पिण्डेश्वरको दियो निभेमा त्यसरी नै रामधुनीको आगो ल्याई बत्ती बाल्नु पर्दछ । अहिले पनि रामधुनी पुग्ने भक्तहरूले प्रसादस्वरूप उक्त धुनीको भस्म (विगुत) को तिलक लगाउने र रक्षा हुन्छ भनी घरमा ल्याएर राख्ने गर्दछन् । रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पन्न विगुत लगाएमा चिताएको कुरा पूरा हुने जनविश्वास छ ।

०२ - खराउ र पाङ्ग्रो - रामधुनीमा वनबासको क्रममा सम्झनास्वरूप भगवान रामले छोडेको एकजोर खराउ र एउटा रथको पाङ्ग्रो पनि छ । कसैले उक्त रथको पाङ्ग्रोको सम्बन्ध महाभारतको कथाप्रसङ्गसित समेत रहेको भन्ने अर्को भनाइ पनि छ । १२ वर्षको वनवासको अन्त्यमा पाण्डवहरूले एक वर्षसम्म गुप्तवासमा बस्नु पर्ने थियो । यस क्रममा राजा विराटको दरवारमा आश्रय लिई उनीहरू छद्मवेषमा बसेका थिए । विराटको आश्रयमा जानुअघि पाण्डवहरूले अरुले सजिलै नचिनुन् भनी आफ्ना हातहतियार र शस्त्रास्त्र लुकाएका थिए । तिनै लुकाएका चिजबिजमध्ये पाण्डवहरूले प्रयोग गरेको रथको पाङ्ग्रो रामधुनीमा छुटेको थियो भन्नेहरू पनि प्रशस्तै भेटिन्छन् । तर उक्त रथको पाङ्ग्रोको कालीगढी र प्राचीनता विचार गर्दा यो त्यति पुरानोजस्तो देखिंदैन ।

०३ - वनस्खण्डी बाबाको आश्रम – नेपाल ऋषिमुनि र तान्त्रिकहरूको साधना स्थल हो । गोरखनाथ सम्प्रदायका औलिया बाबाको जीवनकाल आजभन्दा करिब तीन सय वर्ष पहिले हो भन्ने अनुमान गरिन्छ, उनकै शिष्य हुन्, बाबा वनस्खण्डी । गुरु मत्स्येन्द्रनाथ र गुरु गोरखनाथकै पदचिह्नका अनुयायी बाबा वनस्खण्डीले सुनसरी जिल्लामा अवस्थित चतराधाम, पिण्डेश्वर र रामधुनीमा साधना गरेको बताइन्छ । उनको तपस्थली चाहिं रामधुनीमा रहेको थियो । अहिले पनि गोरखनाथ सम्प्रदायकै साधु यस मन्दिरको महन्त हुने नियम छ । शाहवंशअघि पूर्वी नेपालमा सेनवंशी राजाहरूको शासनकाल थियो । रामधुनी, चतरा र विजयपुरको सम्बन्ध सेनवंशी राजासित रहेको ऐतिहासिक विवरण प्राप्त हुन्छ । त्यसैले औलिया बाबा आदि सेन राज्याश्रित साधु र तान्त्रिक थिए भन्ने विश्वास गरिन्छ । राज्यद्वारा प्रदत्त र स्थानीय भक्तहरूद्वारा प्राप्त करिब १००० बिगाहा जग्गा तिनै औलिया बाबाले जुटाएका थिए भन्ने भनाइ छ । यसका साथै चतरामा अहिले पनि औलिया बाबाको आश्रम रहेको देखिन्छ । त्यस आश्रमको पनि प्रशस्त जग्गा जमिन गुठीका रूपमा रहेको थियो । तर अहिले उक्त ऐतिहासिक आश्रम र त्यसको सम्पत्ति लोपप्रायः भइसकेको छ । प्राचीन हरिद्वार मानिने चतराधाममा पछिल्लो समयमा निकै मठमन्दिर र आश्रमहरूको निर्माण भएको पाइए पनि नेपाल राष्ट्रको पौराणिक र ऐतिहासिक वैशिष्ट्य बोकेको औलिया बाबाको मन्दिर (चतराधाम) र वनस्खण्डी बाबाको आश्रम (रामधुनी) को संरक्षण, संवर्द्धनका लागि साम्प्रदायिक प्रोपोगण्डामा विश्वास गर्ने अहिलेका साधुसन्तको ध्यान पुग्न नसक्नु विडम्बना नै मान्नु पर्दछ ।

०४ - स्वर्णसरित् नदी - रामधुनी नदी सुनसरी नदीको किनारमा अवस्थित छ । नेपालमा सुनसरी र भारत प्रवेश गरेपछि सुरसन्ड नाम भएको यो नदी नै पुराणहरूमा उल्लेख भएकी स्वर्णसरित् नदी हो । यस नदीको मुहान क्षेत्रको मुख्य तीर्थ रामधुनी, शिवजटा र पिण्डेश्वर धाम हुन् । सुन झैं अन्नउत्पादन हुने र स्वर्णसरितको सिञ्चन र प्रस्रवण क्षेत्रमा रहेको भूगोल भएकाले यस जिल्लाको नाम नै यसै नदीको नामद्वार संबोधित रहेको पाइन्छ । सुनसरी नदीका मुख्य भँगालाहरूमा सेउती, सर्दू आदि नदीहरू पर्दछन् । प्रस्रवण क्षेत्रको नजिकै विशाल नदी सप्तकोशी रहेपनि सुनसरी नदी करिब १५० किलोमिटर स्वतन्त्र ढंगले बगेर अन्त्यमा कोशीमा मिसिएको देखिन्छ । सुनसरी खोलाबाट पूर्वमा रहेका कुनै पनि खोलाखोल्सी र नदीहरू कोशीमा वा सुनसरीमा मिसिएको पाइँदैन । ती सबै दक्षिणपूर्वको बहाव बनाई बुढी, रतुवा, कन्काई र महानन्दासमेतको एउटै नदी बनेर सिधै गङ्गामा मिसिएको देखिन्छ ।

रामधुनीको दर्शन गर्न चाहने तीर्थयात्रीले नेपालको पूर्वपश्चिम राजमार्गको झुम्कामा ओर्लिएर स्थानीय ट्याक्सी, टेम्पो, सार्वजनिक बस र सिटीरिक्साको सहयोग लिई जानु पर्ने हुन्छ । झुम्काबाट करिब ११ किलोमिटर पश्चिममा रहेको रामधुनी चारकोसे झाडीको बीचमा रहेको तीर्थस्थल भएको हुँदा यहाँ बास बस्ने व्यवस्था छैन । सामान्य जलपान गर्ने पसलबाहेक होटल वा भोजनालयको पनि व्यवस्था छैन । अतः भक्तहरूले दर्शन गरी बास बस्न पुनः झुम्का वा नजिकको ठूलो बजार इटहरी, इनरूवा वा धरानसम्म पुग्नुपर्ने हुन्छ ।

No comments:

Post a Comment