Nov 28, 2017

बिहीबारका दिन के गर्ने र के नगर्ने ?


बिहीवारको दिनलाई सुख, शान्ति,सम्मृद्धिका साथै मनोकामना पुरा गर्न प्रयोग गर्न सकिन्छ । यहाँ केही उपायहरूको चर्चा गरिएको छ, जसले तपाईंको भाग्य परिवर्तन हुन सक्छ ।

अपनाउनुहोस् यी क्रियाकलाप -

ज्योतिषशास्त्रमा वृहस्पति ग्रहलाई 'भाग्यको कारक' मान्ने गरिन्छ । यो ग्रह धनु र मीन राशि हुनेहरूको राशिस्वामी हो भने मेष र कर्कट राशि हुनेहरूको भाग्यको मालिक तथा सिंह र बृश्चिक राशि हुनेहरूको बुद्धिको मालिक पनि हो । यसले बृश्चिक र कुम्भ राशि हुनेलाई धन प्रदान गर्दछ, कन्या र धनु राशिलाई गृहसुख दिन्छ, मिथुन र कन्या राशिको दाम्पत्यसुख अर्थात् प्रेमजीवन सफल बनाउँछ, मिथुन र मीन राशि हुनेलाई रोजगारी वा व्यवसायको सिर्जना गर्दछ भने मेष र मकर राशि हुनेहरूलाई वैदेशिक यात्राको अवसर जुटाउँदछ । त्यस्तै यसको शुभ प्रभावले वृष र कुम्भ राशि हुनेहरूले राजनैतिक प्रतिष्ठा तथा तुला र मकर राशि हुनेहरूले सामाजिक सद्भावसमेत प्राप्त गर्दछन् । त्यसैले यो त्यस्तो शुभ ग्रह हो, जसले कुनै न कुनै किसिमले हरेक व्यक्तिलाई सहयोग गरिरहेको हुन्छ । वास्तविक रूपमा यस ग्रहको के कति शुभफल प्राप्त हुन्छ भन्ने निर्क्यौल गर्न तपाईंको कुण्डली नै हेर्नुपर्ने हुन्छ, तथापि प्रत्येक हप्ताको बिहीवारका दिन तल लेखिएका उपायहरूको अवलम्बन गर्नुभयो भने पक्का पनि तपाईंको जीवनमा परिवर्तन आउन सक्छ ।

बिहीवारका दिन वृहस्पति ग्रहलाई बलियो र शुभफलदायक बनाउन अपनाउन सकिने विभिन्न उपायहरू - 

१. बिहीवार बिहान झिसमिसेमा नै अर्थात् सूर्य उदाउनु भन्दा पहिले नै उठ्नुस् र स्नानादि नित्यकर्मबाट निवृत्त भएर विधिपूर्वक भगवान् विष्णुको चोखो मनले पूजा गर्नुहोस् । जसले यस दिन सकेको सामाग्री जुटाएर भगवान् विष्णुको पूजा गर्छ ऊसँग महालक्ष्मी प्रसन्न भएर घर-परिवारमा धनधान्य र सुखसमृद्धि बढ्न थाल्दछ । भगवान् विष्णुको पूजा गरिसकेपछि गुरु वृहस्पतिको मुर्ति अथवा फोटो पहेंलो कपडामाथि राखेर पूजा गर्नुस् । पूजा गर्दा अन्य पूजासामाग्रीका अतिरिक्त केशरी, चन्दन, पहेंलो अक्षता, पहेलो फूल र नैवेद्यका रूपमा पहेंलो परिकार अथवा फलफूल चढाउनु आवश्यक छ । त्यसपछि 'ॐ वृं वृहस्पतये नम:' वृहस्पति ग्रहको यो बीज मन्त्रको कम्तीमा १०८ पटक जाप गर्नुहोस् । पूजा र जाप समाप्त भएपछि केसरीको टीका लगाउनु होस् र दिनको सुरुवात गर्नुहोस् ।

२. बिहीवारको दिन केराको बोटमुनि दियोमा घिउको वर्तन राखी पाँच जोर पाँच सुते बातीको दियो बाल्नुस्, केरा वा मौसमअनुसार पाकेका पहेंला फलफूल गरिबगुरुवा, बुढो ब्राह्मण वा केटाकेटीलाई बाँडिदिनुहोस् । बाँड्ने अनुकूलता हुँदैन भने गाईलाई खान दिनुहोस् वा मन्दिरअगाडि भेटिने भिखारीलाई दिनुहोस् ।

३. बिहीवारका दिन घरैमा बस्दा वा बाहिर कतै जाँदा सकेसम्म पहेंलो कपडा लगाउनुस् र नुन नभएको अलिनो खान्की खानुहोस् र भरिसक्य खाने कुराको रङ पनि पहेंलो नै होस्, जस्तै बेसनको लड्डु, केरा, चना वा रहरको दाल आदि । 

४. हरेक बिहीवार शिवजी लाई बेसनको लड्डुको भोग लगाएमा समेत वृहस्पति ग्रहको शुभफल प्राप्त हुन्छ ।

५. तपाईं बिहीवारका दिन व्रत लिन सक्नुहुन्न भने बृहस्पति ग्रहको प्रसन्नताका निमित्त पहेंलो फूलको प्रयोग गरी इष्टदेवको पूजाआजा गर्नुहोस्, पितृसूक्त, श्रीमद्भागवत, श्रीमद्भगवद्गीता वा विष्णुसहस्रनाम स्तोत्रको पाठ गर्नु होस्, गाई, गरीबगुरुबा, ब्राह्मण र बृद्धबृद्धाको सेवा गर्नुहोस् । त्यस्तै कुलदेवताको दैनिक आराधना गर्ने एवं घरका बृद्धसदस्य, अभिभावक वा आफ्ना गुरुको आशीर्वाद प्राप्त गर्ने बानी विकसित गर्नुहोस्, प्रत्येक बिहीबारका दिन पहेंलो फलफूल, रहरको दाल वा बेसार अनाथालय, बृद्धाश्रम वा मठमन्दिरमा दान गर्नुहोस्, प्रत्येक वर्षको जन्ममहिनामा कम्तीमा नौजना बृद्धबृद्धा भेला पारी पेटभरि खिर भोजन गराउनु होस्, प्रत्येक दिन घर छेउछाउमा रहेको केराको बोटलाई पूजा गरी त्यसको फेदमा शुद्ध जलले सिञ्चन गर्नुहोस् र प्रत्येक बिहीबारका दिन सन्ध्याकालमा केराको बोटमा दियो बाली दिनुहोस् । त्यसरी नै बिहीबारका दिन गहुँको पीठोको घोलमा चनाको दाल, गुड र बेसार मिसाएर गाईलाई खान दिनुहोस् । तपाईंले कुनै धार्मिक वा कुलपरम्परासँग सम्बद्ध मठ, मन्दिर वा धार्मिक/सामाजिक स्थानमा निःशुल्क सेवा गरेमा वा त्यस्तो ठाउँको जीर्णोद्धार गरेमा पनि कुलगुरु बृहस्पति प्रसन्न हुन्छन् । यस्तै बृहस्पतिलाई खुसी बनाउन तपाईंले हरेक दिन श्वेत चन्दन (श्रीखण्ड) चनौटोमा घसेर त्यसमा केसरी मिसाई निधारमा टीका लगाउँदा पनि हुन्छ । त्यस्तै यात्राका क्रममा कतै जाँदा कुनै देवस्थल, मठमन्दिर वा पुराना घर वा स्मारक भेटिएमा तिनलाई टाउको निहुर्याई प्रणाम र सम्मान गर्नु पर्दछ । 

६. बृहस्पति ग्रहको शुभफल प्राप्त गर्न एउटा पुष्पराज रत्न (कम्तीमा ५ क्यारेटको) सुन वा पञ्चधातुमा औंठी बनाएर दाहिने हातको चोर औंलामा धारण गर्दासमेत लाभ हुने विश्वास गरिन्छ । तर रत्नधारण गर्नुअघि योग्य ज्योतिषीको परामर्श लिनु आवश्यक छ ।

बिहीवारका दिन केके गर्नुहुँदैन

बिहीवारको दिन धार्मिक महत्त्वको दिन हो । बृहस्पति देवसभाका गुरु हुन्, त्यसैले यिनलाई देवगुरु वा गुरु मात्र पनि भन्ने गरिन्छ । अतः बिहीवार गरेको धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वास गरिन्छ । तर बिहीवारका दिन केही काम गर्न निषेध गरिएको छ, जुन यस्तो छ -

१. लक्ष्मीको मात्र पूजा
बिहीवारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पूजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पूजा गर्दा लक्ष्मी नारायणको पूजासँगै गर्नु राम्रो हुन्छ । यसले पतिपत्नीबीचको सम्बन्ध पनि राम्रो हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

२. कपाल नुहाउनु हूँदैन
शास्त्रमा बिहीवार कपाल नुहाउन निषेध गरिएको छ । खासगरी विशेष परिस्थितिमा बाहेक महिलाहरूले बिहीवार कपाल नुहाउनु अशुभ मानिन्छ । बिहीवार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने प्रसङ्ग शास्त्रमा उल्लेख छ ।

३. रौं काट्नु हुँदैन
बिहीवारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । बिहीवार रौं काट्दा गुरु ग्रह कमजोर हुने मानिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने कुरा शास्त्रमा उल्लेख छ ।

४. नङ काट्नु हुँदैन
बिहीवार नङ काट्नु अशुभ मानिन्छ । यस दिन नङ काटेमा पेसा वा व्यवसायमा असर पर्ने वा समस्या देखिने र पदोन्नति हुनुको साटो घटुवा हुने समेत सम्भावना हुन्छ । यस दिन कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौं काट्ने, फेसियल गर्ने कामसमेत कहिले पनि गर्नु हुँदैन । त्यस्तै घरको सरसफाइ, माकुराको जालो हटाउने काम आदि पनि बिहीवारका दिन नगर्नु नै उत्तम हुन्छ ।

५. भारी कपडा धुनु हुँदैन
बिहीवारको दिन भारी कपडा धुनु राम्रो मानिंदैन । बिहीवार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहीवारका दिन नगर्नु नै राम्रो हुन्छ ।

No comments:

Post a Comment