Oct 18, 2017

महानवमी : सिद्धिदात्री भगवतीको उपासना

दशैँको नवौँ दिन महानवमी पर्वका उपलक्षमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चना गरी मनाइन्छ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ। यस उपलक्ष्यमा उक्त दिन दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र पाठ गर्ने गरिन्छ। शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल चढाउने प्रचलन रहेको छ। पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय ठाउँमा त्यस दिन हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ। यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशान पूजा तथा कोतपूजा गर्ने प्रचलन छ। काठमाडौँको हनुमान ढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खोल्ने गरिन्छ। विभिन्न धार्मिक महत्वका शक्तिपीठहरुमा यस दिन दुर्गा भवानीलाई प्रसन्न पार्न भक्तिपूर्वक पूजाअर्चना गर्ने र दशैंघरमा वर्षभरि प्रयोग हुने हातहतियार, औजार र मेसिन राखेर पूजा प्रचलन छ।

महानवमी : सिद्धिदात्रीदेवी विशेष पूजा
नवरात्री पर्वको नवौं दिन महानवमीको पुण्य तिथिमा नवदुर्गा भवानीको नवौं शक्तिका रूपमा प्रकट भएकी श्री सिद्धिदात्री भगवतीको पुजा गरिन्छ । यिनी विशुद्ध सुनसमान चम्किलो देदीप्यमान वर्णकी अत्यन्त सौन्दर्यमुखी हुनुका साथै सधैं सौम्य र शान्त मुद्रामा रहन्छिन् । यिनले चार हातमा शंख, चक्र, गदा र कमलको फूल धारण गर्छिन् । राता वस्त्र पहिरी दिव्य आभूषणमा सजिएर कमलको फूलमा बसेर सिंहमाथि सवार गर्छिन्। अष्टमातृकाको नवम शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री सिद्धिदात्री भगवतीले नवदुर्गा भवानीको प्रमुख शक्तिका रूपमा श्री त्रिपुरसुन्दरी देवीको रूप धारण गर्छिन् । नवरात्री पर्वको नवौ दिन विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ।

नव कन्याहरूको पूजा गर्ने दिन : महानवमी
नवरात्रीअन्तर्गत पर्ने महानवमीका दिन अन्य नियमित पूजाबाहेक विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पूजाआजा समेत गरिन्छ। दस वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला भई किशोरवयमा प्रवेश गर्ने भएकाले तिनलाई पुज्नुहुँदैन र चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने एक वर्ष मात्र पुगेकी कन्यालाई समेत पनि पुज्नुहुँदैन भन्ने मान्यता छ। रोग नलागेकी, राम्रो अङ्ग भएकी, घाउचोट र खत नभएकी एउटै कुलमा उत्पन्न भएकी कन्याहरूलाई राम्ररी पुज्नुपर्दछ।

विशेषगरी महानवमीको पुण्य पर्वमा सनातन हिन्दु धर्मावलम्बीहरूले मन, वचन र कर्मद्वारा शुद्ध भई श्रद्धाभक्तिपूर्वक शास्त्रीय विधिविधानद्वारा आआफ्नो कुलपरम्परा र कुलाचारबमोजिम दसैं घरमा आद्याशक्ति जगन्माता नवदुर्गा भगवतीको आह्वान गरी श्री महात्रिपुरसुन्दरी स्वरूपिणी श्री सिद्धिदात्री भगवतीको महिमा झल्किने तल लेखिएका मन्त्रहरूको उच्चारण गर्दै स्तुति गरी पूजाअर्चना गर्दछन्।

दुर्गमे दुस्तरे कार्ये भयदुर्गविनाशिनीम्। प्रणमामि सदा भक्त्या दुर्गा दुर्गतिनाशिनीम्॥
सिद्धगन्धर्वयक्षाद्यैरसुरैरमरैरपि। सेव्यमाना सदा भूयात् सिद्धीदा सिद्धीदायिनी ॥

ध्यान :-
वन्दे वाञ्छितकामार्थां चन्द्रार्द्धकृतशेखराम्। पद्मस्थितां चतुर्भुजां सिद्धिदात्रीं यशस्विनीम्॥
सौवर्णीं नवमां दुर्गां निर्वाणचक्रमण्डिताम्। शङ्खचक्रगदापद्मधारिणीं त्वां भजाम्यहम् ॥
रक्ताम्बरपरिधानां नानालङ्कारभूषिताम्। मञ्जीरहारकेयूरकिङ्किणिकुण्डलान्विताम्॥
प्रफुल्लवदनां कान्तां देवीं पीनपयोधराम्। कमनीयां क्षीणकटिं निम्ननाभिं नितम्बनीम्॥
सुहास्यां पल्लवाधरां लावण्यां च नितम्बिनीम्। सिंहवाहिनीं कौमारीं सिद्धिदात्रीं नमाम्यहम्॥

स्तोत्र :-
शङ्खचक्रगदाधरां सुवर्णमुकुटोज्ज्वलाम्। स्मेरमुखीं शिवपत्नीं सिद्धिदात्रीं नमोस्तुते॥
रक्तवस्त्रपरिधानां दिव्यालङ्कारभूषिताम्। पद्मस्थितां मलिनाक्षीं सिद्धिदात्रीं नमोस्तुते॥
परानन्दमयीं देविं परब्रह्मपरेश्वरीम्। पराशक्तिं पराभक्तिं सिद्धिदात्रीं नमोस्तुते॥
विश्वकर्त्रीं विश्वभर्त्रीं विश्वहर्त्रीं महेश्वरीम्। विश्वार्चितां विश्वातीतां सिद्धिदात्रीं नमोस्तुते॥
भुक्तिमुक्तिप्रदायिनीं भक्तकष्टनिवारिणीम्। भवाब्धितारिणीं माते! सिद्धिदात्रीं नमोस्तुते॥
धर्मार्थकामदायिनीं मायामोहविनाशिनीम्। मोक्षप्रदायिनीं सिद्धिं सिद्धिदात्रीं नमोस्तुते॥

No comments:

Post a Comment