धर्मराज युधिष्ठिरले आश्विन महिनाको शुक्लपक्षको एकादशीका बारेमा जिज्ञासा राखेपछि श्रीकृष्णले पापाङ्कुशा एकादशीको व्रतको महात्म्य र कथा सुनाउनु भएको हो । भगवान् श्रीकृष्ण भन्नुहुन्छ - हे युधिष्ठिर ! आश्विन महिनाको शुक्लपक्षमा पर्ने एकादशीले जन्मजन्मान्तरदेखि शरीरभित्र सञ्चित रहेका पापराशिको नाश गर्दछ । त्यसैले यस एकादशीको नाम पापाङ्कुशा रहन गएको हो । यस एकादशीका दिन भगवान् विष्णुको त्रिविक्रम स्वरूपको उपासना गर्ने विधान छ, त्यसैले यस एकादशीको अर्को नाम पद्मनाभ एकादशी पनि हो । यस एकादशीको श्रद्धा, भक्ति र निष्ठापूर्वक गरिएको व्रतसम्पादनले शरीरभित्र रहेका यावत् पापराशिको अन्त्य भई व्रतालुका समस्त मनोकाङ्क्षाहरू पूर्ण हुन्छन् । उसले सांसारिक सुखसम्मृद्धि र भोगविलासको भरपूर आनन्द उपभोग गरी मरणोपरान्त वैकुण्ठलोक प्राप्त गरी सायुज्य मुक्ति प्राप्त गर्दछ ।
पापाङ्कुशा एकादशीको कथा सुनाउँदै श्रीकृष्ण आज्ञा गर्नुहुन्छ - हे युधिष्ठिर ! परापूर्व कालमा विन्ध्याचल पर्वतको कुनै वस्तीमा एउटा क्रोधन नामको व्याधा निरीह पशुपन्छीको बध गरी जीविकोपार्जन गर्दथ्यो । सांसारिक सुखसयल र भोगविलासमा मात्र ध्यान दिएकाले उसले जीवनमा कहिल्यै पनि कुनै परोपकारी र पुण्य कर्म गरेको थिएन । बरु ऊ नामजस्तै क्रोधी, क्रूर र अत्याचारी स्वभावको थियो र उसको आचरण पनि शुद्ध थिएन । मादक पदार्थको सेवन गर्नु, छलछाम र चोरीडकैती गर्नु, वेश्यावृत्ति र कुत्सित कामेच्छा पूर्ण गर्नु, जुवातास र सट्टाबाजीमा समय यापन गर्नु आदि उसका सामान्य वृत्ति थिए । यसरी दुष्टता र व्यभिचारले पूर्ण जीवनयापन गर्दागर्दै एक दिन उसको अन्त्यकाल आइपुग्यो । यमदूतले उसलाई तेरो मृत्यु सन्निकट छ, अब भोलि नै तँलाई हामी यमसदनमा लिएर जानेछौं भनी सूचना दिए । उसको बाहिरी प्रकृति अत्यन्त क्रूर र नरपिशाच झैं भए पनि ऊ आन्तरिक रूपमा अत्यन्त कातर र डरपोक थियो । मृत्युको सूचना पाएपछि उसले आफूले जीवनभरि गरेका पापकृत्य र दुष्ट्याइँको लेखाजोखा गर्न थाल्यो । आफ्नो जीवनवृत्तिप्रति ऊ आफैंलाई घृणा लाग्यो, नरकमा भोग्नुपर्ने अनेकौं सजाय र दण्डको कल्पना गरेर ऊ असाध्यै त्रसित भयो अनि मृत्युदेखि डराएर यत्रतत्र भौंतारिन थाल्यो । उसका भोक, प्यास, निद्रा र सांसारिक कामना सबै ओझेलमा परे । निर्जन वनमा भौंतारिंदै गर्दा अनायासै ऊ अङ्गीरा ऋषिको आश्रममा पुग्यो । क्रोधनको अनुहारमा अन्धकारको कालिमा र निराशा अनि वैराग्यका भावभङ्गिमा देखेर अङ्गीराले उसको चिन्ताको विषय के हो भनी प्रश्न गरे । सिकारीले आफ्नो चिन्ताको विषय बतायो र यस सङ्कटबाट मुक्ति पाउने उपायका बारेमा ऋषिसँग जिज्ञासा राख्यो । ऋषि अङ्गीराले सिकारीलाई सम्बोधन गर्दै भने - 'बाबु, क्रोधन ! जन्मिएका जातकले अवश्यमेव मृत्यु ब्यहोर्नु पर्छ, यो शाश्वत सत्य हो । त्यसैले ममा मृत्युलाई रोक्ने सामर्थ्य छैन । हुन त, पुण्यसञ्चय गर्न र शुभ कर्मका लागि मनुष्य योनिमा प्राणिको जन्म हुन्छ, तर पनि उसले पूर्वजन्म र प्रारब्धको भोगका आधारमा जीवन बिताउने गर्दछ । तिमी मानव भएर जन्मिए पनि कुनै शुभकर्म वा परोपकारी काममा संलग्न भएनौ । जीवको हत्या गरी जीविका चलाउने तिम्रो पारिवारिक संस्कार भए पनि तिम्रो आचरण शुद्ध भएन । अहिले तिम्रो आयु पूर्ण भएको छ । त्यसैले यस जन्ममा गरेका शुभ र अशुभ परिणामको भोग गराउन यमदूतहरू तिमीलाई लिन आउँदैछन् । तिमीले उनीहरूका साथमा जानै पर्दछ ।' ऋषि अङ्गीराबाट पनि यस्ता निराशापूर्ण उत्तर पाएपछि क्रोधनले ऋषिलाई पुनः अनुरोध गर्दै सोध्यो - ' हे महर्षि ! तपाईं ज्ञानी, विद्वान् र तत्त्वदर्शी हुनुहुन्छ, यस जन्ममा त मैले कुनै शुभकर्म र परोपकारी काम गरेकै छैन, तर पूर्वजन्ममा सञ्चित थोरै शुभता मेरो शरीरमा पक्का पनि केही न केही बाँकी थियो होला, सम्भवतः त्यसैको पुण्यप्रभावले मृत्युको सन्निकट रहेको घडीमा पनि मैले हजुरको सान्निध्यता प्राप्त गर्ने अनुकूलता प्राप्त गरें । अब कृपा गरी मैले नरकको यातना भोग्नु नपर्ने कुनै उपाय छ भने आज्ञा गर्नुहवस् ।' क्रोधनका यस्ता विनम्रतापूर्ण जिज्ञासा सुनेपछि ऋषिले भने - 'आज पापाङ्कुशा एकादशीको संयोग जुरेको छ । तिमीले यस व्रतको पालना गर । यस व्रतको पुण्यप्राप्त भएमा तिमीले यमराजको यातना सहनु पर्ने छैन ।' यति भनेर ऋषिले एकादशी व्रतका नियम र विधिविधानका बारेमा बताइदिए । क्रोधन अघिल्लै दिनदेखि चिन्ता र छटपटीका कारण निराहार थियो । अङ्गीराले बताएको विधिलाई पालना गर्दै उसले त्यस दिनको पापाङ्कुशा एकादशीको व्रत लियो । मध्यरातमा उसलाई लिन यमदूतहरू ऋषिको आश्रममा पुगे, तर यमदूतले त्यहाँ अचम्मको दृश्य देखे । यमदूत पुगेकै समयमा क्रोधनका प्राणपखेरु उडीसकेका थिए, तर तिनलाई यमदूतले यमपाशले बाँध्नुअघि नै वैकुण्ठबाट आएका विष्णुदूतले दिव्यविमानमा बसालेर पीताम्बर र वनमाला पहिर्याई वैकुण्ठलोक लिएर गए । यसरी पापाङ्कुशा एकादशीको पुण्यप्रभाव प्राप्त भएकाले क्रोधन व्याधाका समस्त पापराशिको नाश भयो तथा ऊ शुद्धबुद्ध र सात्विक भावले युक्त भई वैकुण्ठलोक जाँदो भयो । यसरी क्रोधन नाम गरेको सामान्य व्याधाले यस एकादशी केवल एक पटकको व्रतसम्पादनले जीवनमरणको सांसारिक चक्रबाट सधैंका लागि मुक्त हुने अवसर प्राप्त गर्यो ।
क्रोधन सिकारी जसरी नै यस पापाङ्कुशा एकादशीको व्रत लिने सबै जीवले शुद्ध र सात्विक हृदय धारण गरी जीवनकालमा सुखसम्मृद्धि र आनन्दको उपभोग गर्दै अन्त्यमा वैकुण्ठलोक प्राप्त गर्दछ । हे नृपोत्तम ! मनुष्यजीवनको जुन काल पनि यस एकादशीको व्रतका लागि उत्तम मानिन्छ । बाल्यावस्था, युवावस्था र वृद्धावस्था जुन उमेरमा पनि जानेर वा नजानेर कुनै पनि मनुष्यले असोज महिनाको दुर्गा पक्षमा पर्ने यस पापाङ्कुशा एकादशीको व्रत लियो भने जन्मजन्मान्तरदेखि पापी र नीच कहलिए पनि आफ्ना दुर्गति नाश गर्दै सद्गति प्राप्त गर्न सफल हुन्छ र समस्त पापबाट मुक्त हुने अवसर प्राप्त गर्दछ । युधिष्ठिर ! मनुष्य जीवन पुण्यकर्म सञ्चय गर्नका लागि प्राप्त भएको हो । कुनै मनुष्यले कुनै किसिमको परोपकारी र पुण्य कर्म नगरी जीवनकाल यापन गर्दछ भने त्यसले फेरेको सास पनि कामीको खलाँती जस्तै निरर्थक हुन्छ, ऊ सजीव भईकन पनि निर्जीव मुढोजस्तै हो ।
नियम, निष्ठा, श्रद्धा र भक्तिका साथ व्रत लिनुका साथै यस एकादशीका दिन आफ्नो सामर्थ्यबमोजिम सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्ने विधान पनि छ । यस दिन गरेको दानादिको अत्यन्त महत्त्व भएकाले पापाङ्कुशा एकादशीका दिन निर्धन मनुष्यले पनि आफ्नो गच्छेअनुसार सकेको दानादि गर्नु पर्दछ । धनीमानीले त इच्छानुकूल पोखरी, धारा, तलाउ, बरबगैंचा, विश्रामालय, पाटी आदि सार्वजनिक हितका काममा धनखर्च गर्नु पर्दछ । यस एकादशीका दिन दानादि र सत्कर्ममा खर्च गरेको धन यसै जन्ममा दोब्बर भई प्राप्त भई छाड्छ, अनि त्यस्तो पुण्यकर्मको शुभप्रभावले उसको भौतिक जीवनमा सुखसम्मृद्धि, सौभाग्य, दीर्घायुष्य, सुस्वास्थ्य प्राप्त भई मरणोपरान्त यमराजको द्वारको दर्शनै नगरी सिधै वैकुण्ठलोक प्रस्थान गर्दछ । अस्तु ।
No comments:
Post a Comment