प्रत्येक वर्षको भाद्र महिनाको शुक्ल पक्षमा पर्ने द्वादशी तिथिलाई भगवान् विष्णुको पाँचौं अवतार वामनको जन्मदिनका रूपमा भक्तिभाव र हर्षोल्लासका साथमा मनाउने गरिन्छ । त्यसैले यस दिनलाई वामन जयन्ती भन्ने गरिन्छ । सनातन हिन्दूधर्मका पौराणिक ग्रन्थहरूमा देवताहरूकी आमा अदितिले भगवान् विष्णुको तपस्या गरेर उक्त तपस्याबाट प्रसन्न भई विष्णुले उनको पुत्रका रूपमा उत्पन्न भई अवतार लिएको कथाप्रसङ्ग उल्लेख गरिएको छ । वामनले अदितीलाई प्रदान गरेको वरदानका कारण पुत्र देवगण र राजा इन्द्रलाई असुरराज बलिका भयबाट मुक्ति प्रदान गर्न भाद्र महिनाको शुक्ल पक्षको द्वादशी तिथिका दिन कश्यपपत्नी माता अदितिका कोखबाट जन्म लिनु परेको थियो।
उहिले त्रेता युगमा हिरण्यकशिपुको पनाति, प्रह्लादको नाति र विरोचनको छोरा बलि नाम गरेको दैत्यले पाताल लोकमा शासन गर्ने गर्दथ्यो । ऊ भगवान् विष्णुको परम भक्त थियो । विविध प्रकारका वेद सूक्तहरूद्वारा विष्णुको पूजन गर्ने गर्थ्यो र नित्यप्रति ब्राह्मणहरूको पूजन तथा यज्ञको आयोजना गर्दथ्यो, तर इन्द्रसित द्वेष भएका कारण उसले इन्द्रलोक तथा सम्पूर्ण देवताहरूमाथि विजय प्राप्त गरेको थियो। देवताहरू आफ्नो अधिकार प्राप्तिका लागि चिन्तित भए र सबै एकत्र भई गहन छलफलपछि भगवान् विष्णुको धाम वैकुण्ठलोकमा गए । बृहस्पतिसहित इन्द्रादिक देवता विष्णुसमक्ष गई नतमस्तक भएर वेदमन्त्रद्वारा विष्णुको पूजा र स्तुति गर्न थाले । देवताहरूको कल्याणका लागि बलिलाई बलहीन तुल्याउन विष्णुले वामन रूप धारण गर्नुपर्यो, यो विष्णुको पाँचौ अवतार थियो, विष्णुले वामनअवतार लिई ऋषि कश्यप र देवी अदितीको पुत्रका रूपमा स्वर्गका राजा इन्द्रको भाइ (अनुज)का रूपमा छल गरी राजा बलिलाई जिते। इन्द्रको भाइ भएर जन्मिनु परेकाले उनको नाम नै 'उपेन्द्र' रहन गयो ।
बलिले तिनै लोक र चौधै भुवनमाथि आफ्नो अधिकार जमाएको थियो । उसमा ठूलो अहङ्कार र घमण्ड भरिएको हुँदा ऐश्वर्य, सम्मृद्धि र श्रीसम्पत्तिको मादकता देखिन थालेको थियो । यस्तैमा उसले एउटा ठूलो यज्ञको आयोजना गरी गरीबगुरुवा र ब्राह्मणलाई इच्छामाफिकको दान गर्ने कार्यक्रम राखेको थियो । यसै अवसरमा विष्णुले वामन रूपधारी ब्रह्मचारी भएर राजा बलिसित तीन पाइला भूमि भिक्षा मागे । बलिले त्यसरी जम्मा तीन पाइलामात्र जमिन माग्ने वामनको छद्मरूप चिनेको थिएन । थोरै मागेको देखेर त्यसलाई तुच्छ ठान्दै अझ धेरै माग गर्न सामान्य ब्राह्मण ठान्दै उसले वामनसँग प्रार्थना गर्यो, तर वामन रूप धारण गरेका विष्णुले उसलाई भने - 'म ब्रह्मचारीलाई धेरै सम्पत्ति जम्मा पारेर के काम, अन्त्यकालमा समाधि लिन तीन पाइला नै काफी हुन्छ । त्यसैले हे, राजन् ! यो तीन पाइला जमिन मेरा लागि तीनै लोकसमान हुनेछ, तिमीले त्यत्ति जमिन दान गर्न प्रतिबद्ध भए पुग्छ ।'
राजा बलिका लागि यो कुरो सामान्य थियो, उसले याचनाको रहस्य खोतल्ने सोच राखेन । झटपट दान गर्न कुश, तिल र पानी समातेर सङ्कल्प गर्न आँट्यो, तर बलिका गुरु शुक्राचार्यले विष्णुको याचनाको रहस्य चाल पाएका थिए । आफ्ना यजमानको सर्वोपरि रक्षा गर्नु पुरोहितको कर्तव्य हुन्छ । त्यसैले सङ्कल्प गर्न ठिक्क परेको बलिलाई रोक्न खोजे । तर बलिको घमण्डका कारण बुद्धिभ्रष्ट भैसकेको थियो । ऊ सङ्कल्पबाट पछि हटेन र विष्णुलाई तीन पाइला जमिन दान गर्ने सङ्कल्प गरी छाड्यो । सङ्कल्पको कुश समात्नासाथ विष्णुले ठूलो रूप धारण गर्न थाले, विष्णुको यस रूपले तीनलोक र चौधै भुवनलाई ढाक्यो । उनको यस स्वरूपलाई त्रिविक्रम भन्ने गरिन्छ । यस त्रिविक्रम स्वरूपले भूलोकमा पद, भुवर्लोकमा जङ्घा, स्वर्गलोकमा कम्मर, मह:लोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कण्ठको स्थापना गरी सत्यलोकमा मुख, त्यस माथि आफ्नो मस्तक स्थापित गर्यो । यस स्वरूपलाई सूर्य, चन्द्रमा आदि सबै ग्रहगण, योग, नक्षत्र, इन्द्रादिक देवता र शेष आदि सबै नागगणले विविध प्रकारले वेद सूक्तद्वारा प्रार्थना गरे । अनि विष्णुले राजा बलिको हात समातेर सोधे - 'हे राजन् ! मैले पहिलो पाइलामा पृथ्वी र अर्को पाइलामा स्वर्गलोकमा कुल्चिएँ, अब तेस्रो पाउ कहाँ राखौं ?' बल्ल बलिले विष्णुको छलमा परेंछु भन्ने थाहा पायो । आफ्ना आराध्य इष्टदेवको दर्शन पाएकाले उसलाई कुनै पछुतो भएन । भगवान् वैकुण्ठनाथलाई दर्शन दिलाउन बाध्य तुल्याउन र उनको अनुकम्पा प्राप्त गर्न उसले त्यस दानयज्ञको आयोजना गरेको थियो । उसले तुरुन्त आफ्नो शिर झुकायो र तेस्रो पाइलाका लागि ठाउँ बनाइदियो । विष्णुले आफ्नो खुट्टा उसको मस्तकमा राखिदिए अनि विष्णुको त्यो भक्त पाताललोकमा गयो। उसको बिन्ती र नम्रता देखेर भगवान् विष्णुले भने - 'हे बलि ! म सदैव तिम्रा नजिकै बस्नेछु ।' विरोचनका पुत्र बलिले अनुरोध गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा विष्णुको प्रतिमा स्थापित भयो ।
बलिको पाताल गमनपछि ऋषिमुनि र देवताहरूले भगवान् वामनको पूजा र स्तुति गरे । परम्परागत रूपमा त्यसै दिनदेखि नै भाद्र महिनाको शुक्ल पक्षको द्वादशीका दिन वामनरूपी भगवान् नारायणको पूजाआजा गर्ने चलन चलेको हो । यस दिन श्रद्धालु भक्तहरू स्नान गरी शुद्ध वस्त्र धारण गरी भगवान् वामनको विधिपूर्वक पूजा गर्दछन् ।
धार्मिक मान्यताअनुसार वामन जयन्तीका दिन श्रवण नक्षत्रयुक्त हुँदा यस व्रतको महत्ता अझ बढ्न जान्छ । भक्त र श्रद्धालुहरू यस दिन भगवान् वामनको स्वर्णप्रतिमा बनाउन लगाई त्यसको वैदिक विधिपूर्वक प्रतिष्ठा गरी व्रत उपवास गर्दा सुयोग्य सन्तति प्राप्त हुने तथा भएका सन्ततिहरूको आयु, आरोग्य र सम्मृद्धिमा वृद्धि हुने साथै भगवान् वामनले तिनलाई समस्त कष्टहरूबाट त्यसरी नै मुक्त बनाउनुहुन्छ जसरी प्रभुले देवताहरूलाई राजा बलिको कष्ट निवारण गर्नु भएको थियो भन्ने कुरामा विश्वास गर्दछन् ।
No comments:
Post a Comment