Sep 11, 2017

आज दर खाने दिन

कुनै पनि देशको सभ्यता र संस्कृतिको निर्माण तथा विकासमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । आर्यसंस्कृतिमा जगद्धात्री, आद्याशक्ति, मातृत्व, स्रष्टत्वरूपा गृहलक्ष्मी महिलाहरूले आफ्नो त्याग, तप, नियम, पातिव्रत्य आदिको प्रभावले अभीष्ट वरलाई मात्र वरण गरेका छैनन्, अपितु मृत पतिलाई जीवित र स्वर्गच्युत भएका पतिलाई पनि पुनः स्वर्गमा प्रतिष्ठित गराएका छन् ।

दीनहीन पतिकुलमा विवाहित भए पनि आफ्नो शील, सौजन्य, उदारता र सहनशीलताले पतिलाई परमेश्वर र घरलाई स्वर्ग बनाएर धनधान्य र सुखसम्मृद्धिको वर्षा गराएका छन् । त्यसैले हाम्रा ईश्वर पनि अर्द्धनारीश्वर छन् भने नारीहरूले पतिलाई नै परमेश्वर मानेका छन् । तसर्थ आफ्ना अभिन्न अङ्ग, जीवनसाथी, पतिपरमेश्वरका साथमा सदासर्वदा रही सौभाग्यवती बन्ने विवाहिता महिलाहरूको मनोरथ हुन्छ भने कन्याकेटीहरूको मनोकामना इच्छित पतिपरमेश्वर पाउनु रहेको हुन्छ । अतएव कन्याकेटी र सौभाग्यवती महिलाहरूको मनोवाञ्छा पूर्ण गर्ने चाडपर्वहरूमा तीज पर्व अग्रगण्य हुन गएको छ । हाम्रो परम्परामा प्रत्येक वर्षको भाद्र महिनाको शुक्लपक्षको तृतीया तिथिका दिन हरितालिका व्रत अथवा तीज पर्व मनाउने गरिन्छ । वस्तुतः तीज पर्व भगवती पार्वतीको व्रत हो । अतएव यस दिनमा आर्यसंस्कृतिका आदर्श दम्पती शिवपार्वतीको शास्त्रविधिअनुसार पार्थिवपूजन, पुराणकथा, कीर्तन आदि गरी आआफ्नो सफल दाम्पत्य जीवनको कामना गरिन्छ । यसको महात्म्यलाई पार्वतीकै अनुरोधमा शिवजीले यसरी सुनाउनु भएको छ –
नक्षत्रहरूमा चन्द्रमा, ग्रहहरूमा सूर्य र नदीहरूमा गङ्गा, इन्द्रियहरूमा मन र पुराणहरूमा महाभारत श्रेष्ठ भए झैं व्रतहरूमा सर्वश्रेष्ठ रहेको तीज व्रतले सम्पूर्ण दुःख नाश गरी अचल सौभाग्य दिई मोक्षपद प्रदान गर्दछ । यसको व्रत लिन नसकेपनि व्रतकथा मात्र सुन्न पाउँदा समेत अश्वमेध यज्ञ गरेबराबर फल पाइन्छ । 

भविष्योत्तरपुराणअनुसार पतिरूपमा लक्षित शिवजीलाई पाउन हावा, पात आदि खाएर कठोर तपस्यामा प्रवृत्त पार्वतीलाई नारदले विष्णुका लागि माग्दा पार्वतीका पिता हिमवानले स्वीकृति दिएकोमा दुःखित पार्वतीलाई सखीहरूले भगाएर (हरण गरी) वनान्तरमा लगे । यसरी पार्वती अलि अर्थात् सखीहरूद्वारा हरित अर्थात् हरण गरिएकी हुँदा यस पर्वलाई हरितालिका पनि भनिएको पाइन्छ । पार्वतीले भाद्र शुक्ल तृतीयाको यसै दिनमा बालुवाको शिवमूर्ति बनाएर पुज्दा प्रसन्न शिवजी प्रकट भई आफूलाई पार्वतीपतिका रूपमा वरदान दिए । यसरी तीज व्रतले गर्दा नै पार्वतीको विवाह शिवजीसँग भएको तथा शिवपार्वतीको दाम्पत्यजीवन मङ्गलमय, सुखमय र सुमधुर रहेबाट पनि तीजको महत्त्व स्पष्ट भएको छ । 

यस पटक तीजको यो महाव्रत भोलि २०७५ साल भाद्र २७ गते बुधबारका दिन परेको छ । व्रत लिने सनातन धर्मावलम्बी नेपाली महिलाहरूले खासगरी खिर, ढकनी जस्ता दुग्धजन्य विभिन्न परिकार तथा मिठाईसमेत तैयार पारेर व्रतभन्दा अघिल्लो दिन द्वितीयाको बेलुका अर्थात् आज दर (विशेष दरिला परिकार) खाने प्रचलन छ । तीजको दिन महिलाहरू दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । टाढा टाढा रहेका चेलीहरू शनिबार माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन् । दर खाने दिनबाट तीज सुरू भएको मानिन्छ ।

पतिगृहमा सासुको बुहार्तनबाट शरीर क्षीण भएका छोरीचेलीलाई माइतघरमा बोलाएर एक छाक भए पनि मिठोमसिनो र पौष्टिक चिजबीज खुवाएर भोलिपल्ट पर्ने तीजको निराहार व्रतका निमित्त दरो बनाउने उद्देश्यले दर खुवाउने चलन चलेको हो । सूचना र सञ्चारसम्पर्कभन्दा टाढा रहेका दिदीबहिनीलाई दाजुभाइ गएर उनका सासुससुरा र पतिसित बिन्तीभाउ गरी माइतघरमा लिइआउने गर्दथे र दरखाने राती परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर दुःखसुखका कुराकानी गर्दै दर खाने गर्दथे । अहिले परिवेश फेरिएको छ, हिजोका बुहारीहरू झैं अहिलेका चेलीबेटीले बुहार्तन खेप्नु पनि पर्दैन र भलाकुसारी गर्न तीज कहिले आउँछ भनी कुर्नु पनि पर्दैन । त्यसैले होला, परम्परामा पहिलेपहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि हिजोआज खासगरी सहरबजारमा  आलोपालो गरी पहिलेदेखिनै दर खाने नाममा तडकभडक गर्ने चलन बसेको छ । यस प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रूपमा लिएमा राम्रो नै मान्न सकिन्छ तर पर्वको निहुँमा फजुलखर्च बढाउने र मासुमदिरा जस्ता व्रतादिमा निषेध गरिएका वस्तुको उपभोग गर्ने विकृति भित्रिनु चाहिं समुचित होइन  ।

No comments:

Post a Comment