Sep 11, 2017

तीज पर्वको विशेषता र व्रतकथा

तीज सनातन धर्मावलम्बी नेपाली हिन्दू महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान् शिवको आराधना गर्नुका साथसाथै नाचगान र मनोरञ्जन समेत गर्ने गरिन्छ । महिलाहरूद्वारा स्वतन्त्र र आनन्दसँग मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

तीजको धार्मिक पृष्ठभूमि
धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको पूजा गर्न थालिन् । उनको विवाह विष्णुसँग हुँदैछ भन्ने सूचना पार्वतीले आफ्ना सखीहरूमार्फत थाहा पाएकी थिइन् र तिनै साथीहरूले लुकाएर यिनलाई वनमा पुर्याइएको थियो । संस्कृत भाषामा सँगीसाथी अर्थ बुझाउने शब्द आलिकाले अपहरण गरी वनान्तरमा पुर्याएको हुँदा यस व्रतको अर्को नाम हरितालिका पनि हो ।  पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बस्न थालिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई 'चिताएको कुरा पुगोस्' भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन गयो । कतिपय ग्रन्थमा यसरी विवाह भएको त्यो दिन पनि भाद्र शुक्ल तृतीयाकै दिन थियो, तर प्रामाणिक रूपमा शिवपार्वतीको विवाह भएको दिन अक्षय तृतीयालाई मान्ने गरिन्छ । यस परिघटनाको स्मरणमा नारीहरूले यस दिनलाई उत्सवकारुपमा मनाउन थाले र यो तीजका रूपमा मनाउने चलन पौराणिक कालदेखि नै चल्दै आएको मानिन्छ ।

व्रत बस्ने दिन

तीजको व्रत अन्य व्रतभन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ । दरमा खासगरी खीर र ढकनेका साथमा ठाउँअनुसारका मिठामिठा परिकार बनाएर खाने गरिन्छ । तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती अबेरसम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो । दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको व्रत बसिन्छ । यस दिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ।

व्रतकथा

पौराणिक कालदेखि चलिआएको तीजको व्रतकथा यसप्रकार रहेको छ -
यस व्रतको महात्म्य र कथा भगवान् शिवले नै पार्वतीलाई सुनाउनु भएको थियो - हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गङ्गातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ । उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरु चबाई दिनहरु काटेकी थियौ । माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, वैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तपायौ र साउनको मुसलधारे वर्षामा पनि खुल्ला आकाशमुनि विना अन्नपानी व्यतीत गर्यौ । तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे । एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो। तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो - हे गिरिराज ! म भगवान् विष्णुले पठाएर यहाँ आएको हुँ । तपाईंकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान् विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ । यसबारे म तपाइँको राय जान्न चाहन्छु । नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो - श्रीमान् ! यदि स्वयं विष्णु भगवान् मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन । उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ । यो त हरेक अभिभावक र पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनका साथै पति र परिवारको सुखकी कारण बनून् ।

नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान् विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो । तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ। तिम्रो दुःखको कुनै ठेगान भएन। अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरु बित्न थाले । तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्री एउटी सखीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भन्यौ - मैले मनैदेखि भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नुभयो। म विचित्र धर्मसङ्कटमा छु। अव मैले प्राण त्याग्नुबाहेक कुनै उपाय र विकल्प देखेकी छैन। तिम्री ती सङ्गिनी अति नै चङ्ख र समझदार थिइन् । उनले तिमीलाई भनिन् - प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र ? सङ्कटको घडीमा धैर्यताका साथ काम गर्नुपर्दछ । नारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई एक पटक मनैले उनीहरूले पतिका रूपमा वरण गर्दछन्, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ । दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान् पनि असहाय र किंकर्तव्यविमुढ बन्न पुग्नुहुन्छ। तसर्थ म तिमीलाई भक्ति र साधनामा विघ्न नआउने यस्तो घनघोर वनमा लिइजान्छु, जहाँ तिम्रा पिताले जतिसुकै खोजीनीति गरेपनि तिमीलाई भेट्नुहुन्न । मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य तिम्रो सहायता गर्नुहुनेछ । त्यसपछि ती साथीको कुरा तिमीले मान्यौ र घनघोर वनमा गएर एकनिष्ठा र भक्तिका साथमा मेरो आराधना गर्नथाल्यौ । यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो । उहाँ सोच्न थाल्नुभयो - मैले त मेरी पुत्रीको भगवान् विष्णुसँग विवाहको निधो गरेको थिएँ, भगवान् विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखतमा कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ, विष्णुलाई मैले के जवाफ दिने ? यती विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजीको कार्य सुरु गराउनुभयो । यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीका साथ नदीका तटमा एउटा गुफामा आराधनामा लीन भयौ।

भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ । रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ । तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामुमा म उपस्थित हुन पुगेँ र तिमीलाई वर माग्न भनें । त्यससमय आफ्नो कठोर तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफूसमक्ष देखेर हर्षित हुँदै तिमीले भन्यौ - मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेकी छु । यदि तपाई साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनुभएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुहोस् । त्यसपछि तथास्त् भनेर म कैलाश पर्वततर्फ फिर्ता भएँ । भोलिपल्ट उज्यालो हुने बितिक्कै तिमीले पूजाका समस्त सामाग्री नदीमा सेलाई आफ्नी सहेलीसहित व्रतको समापन गर्यौ ।

त्यही समय तिम्रा पिता गिरिराज हिमालय आफ्ना बन्धुबान्धवसहित तिमीलाई खोज्दैखोज्दै त्यहीं पुग्नुभयो । तिम्रो अवस्था देखेर अत्यन्त दुःखी हुँदै उहाँले तिम्रो त्यो कठोर तपस्याको कारण सोध्नुभयो । तिमीले भन्यौ - पिताजी ! मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँ । मेरो यो तपस्याको एकमात्र उद्देश्य महादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो । आज म आफ्नो तपस्याको परीक्षामा सफल भएकी छु । म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ । अब मैले हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाह गरिदिने भए मात्र म घर फर्कन्छु । तिम्रा कुरा सुनेर पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर जानुभयो । केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो । तीजको महात्म्य सुनाउँदै भगवान् शिवले थप्नुभयो - हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन व्रत बसेकी थियौ, त्यसैको परिणामस्वरुप हामी दुईको विवाह सम्भव भएको हो । यो व्रतको महत्त्व यसकारणले पनि मननीय छ । जसले यो व्रत निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ। यो व्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ। हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र साथीहरू भन्ने हुन्छ। अन्त्यमा भगवान् भोलेनाथले पार्वतीलाई भन्नुभयो - यस व्रतलाई विधिविधानपूर्वक जसले सम्पादन गर्दछ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ।

महत्त्व
हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एउटा लामो समयदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाहपश्चात् आफ्नो पतिका घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको वैशिष्ट्य रहेको पाइन्छ । तीजमा महिलाहरुलाई मीठा मीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी र तनावका साथै माइतीको सम्झनाको खाडललाई समेत कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्ने गर्दछन् भने अविवाहिता कन्याहरू सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाहरुले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणी, सधवा महिला र गरीवगुरुबालाई दानदक्षिणा गर्ने चलन रहेको छ ।

वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो । नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासकासाथ दिनभरि भोकै बसी पतिको दिर्घायुको कामना गर्नु नै तीज पर्वको विशेष सन्देश मानिन्छ । तीज व्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ। यी कुराहरू तीजको सकरात्मक पक्ष हो । हाल विदेशमा रहेका नेपाली महिलाहरूले पनि यो चाड बडो धुमधामकासाथ मनाउने गरेको पाइन्छ ।

ऋषिपञ्चमी

तीजको दुई दिनपछि पर्ने पञ्चमी तिथिलाई ऋषिपञ्चमी भन्ने गरिन्छ । यस दिन बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण यस दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले यस पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

No comments:

Post a Comment