Sep 30, 2017

जितीया पर्व (सन्ततिको भविष्यका लागि आमाहरूले पानी पनि नखाई लिइने व्रत) - JITIYA FESTIVAL


समग्र मिथिलाञ्चल प्रदेशमा मनाइने विशिष्ट पर्व हो 'जितिया पर्व' । यो पर्व चान्द्रगणनामा आधारित पात्रोअनुसार भाद्र शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) देखि आश्विन कृष्णपक्षको नवमी (मातृनवमी) सम्मको दस दिनसम्म धूमधामका साथमा मनाइन्छ । हिजोआज संक्षिप्तीकरण गरेर आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म तीन दिन मनाउने गरिएको देखिन्छ । यद्यपि यस पर्वको मुख्य दिन चाहिं आश्विन कृष्ण पक्षको अष्टमी तिथि हो, जुन दिनलाई जितिया भन्ने गरिन्छ । परिवारमा सुखसम्मृद्धिको कामना गरी मनाइने यस पर्वमा मूलतः सन्ततिको सुस्वास्थ्य, दीर्घायु र समुन्नतिको कामना गरी व्रतसम्पादन गर्ने प्रचलन छ । नेपालका पहाडे मूलका आर्यहरूले तीजको व्रत सम्पादन गर्दा जुन विधि र परम्पराको पालना गर्दछन्, त्यस्तै यस पर्वमा पनि माइती पक्षले साता/दस दिनअघि नै चेलीबेटीलाई निमन्त्रणा गर्ने, मिठोमसिनो बनाएर खुवाउने, पानीसमेत नखाई व्रत लिने र व्रतमा अटल सौभाग्य, सन्ततिको सुखसम्मृद्धि आदिको कामना गर्ने प्रचलन छ । हिन्दू धर्मावलम्बीहरूले उपवास गर्ने पर्वहरूमा सबैभन्दा बढी समयसम्म उपवासमा बस्नुपर्ने र सो अवधिमा थुक पनि निल्न नपाउने कडा बन्देजका कारण यो पर्वलाई सबैभन्दा कठोर पर्वका रुपमा पनि चित्रण गरिएको पाइन्छ ।

१. परिचय

जितिया पौराणिक पात्र जीमूतवाहनसँग जोडिएको पर्व हो । यो पर्व नेपालको दक्षिणी भूभाग र भारतको गङ्गावारिको उत्तरी विहारको भूभागमा फैलिएको मिथिला प्रदेशमा आस्था, श्रद्धा र विश्वासका साथ भक्तिभावपूर्वक मनाउने गरिन्छ । यस पर्वमा विशेषतः एउटी आमाले आफ्नो पुत्रको आरोग्य र सम्मृद्धिका लागि ब्रत बस्ने र पूजा गर्ने परम्परा छ । यस दिन सन्ततिसुख प्राप्त गर्न नसकेका वा पुत्रसन्तानको आकाङ्क्षा राख्ने स्त्रीहरूले पुत्रप्राप्तिका लागि पनि पूजा गर्ने र व्रत लिने गर्दछन् । जितिया पर्वमा थारु चेलीले सूर्यलाई जितवहान बाबाको नामले पूजा गर्ने गर्दछन् । जितिया पर्वमा व्रतसम्पादन र पूजाआजा गर्नाले आफ्ना सन्तानहरूले सधैं विजय प्राप्त गर्ने र जीवनसङ्घर्षका विविध आयाममा उनीहरूले सफलताको शिखर चुम्ने विश्वास गरिन्छ । यस व्रतको प्रभावले एकातिर सन्ततिले विजय र उच्च सफलता प्राप्त गर्दछन् भने अर्कोतिर पतिले आरोग्यरहित दीर्घ जीवन प्राप्त गर्दछन् भन्ने सामाजिक मान्यता पनि छ । विशेषतः पूर्वी नेपालको थारु समुदायमा विवाह भई पराइ घरमा पुगेका चेलीबेटीलाई माइती पक्षले निमन्त्रणा गरी यस पर्वको अवसरमा बोलाउने प्रचलन छ । त्यसैले यो पर्व माइती पक्ष र विवाह भई परगृहमा पुगेकी छोरीले एकआपसमा भेटघाट गरी सुखदुःख साट्ने तथा वर्षदिनदेखि टाढा रहेका आफन्तहरूलाई भेटघाट गराउने मिलनबिन्दु हो भन्न सकिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुटाउँछ ।

२. इतिहास र परम्परा

जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि चल्यो भन्ने कुरामा यकिन छैन । तथापि थारु समाजमा यसको प्रचलन परापूर्वकालदेखि रहँदैआएको देखिन्छ । यसको इतिहास खोतल्दै जाँदा पौराणिक पात्र जीमूतवाहनसँग यस पर्वको सम्बन्ध जोडिन पुग्छ । भविष्य पुराणमा उल्लेख गरिएको छ, एकपल्ट पार्वतीले महादेवसमक्ष यस्तो कुन व्रत वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुँदैन भनी जिज्ञासा राख्नुभएको थियो । यस विषयमा महादेवले जीमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराउनुभएको सो पुराणमा उल्लेख गरिएको छ । जीमूतवाहन गन्धर्व राजकुमार थिए । यिनी उदार र परोपकारी थिए । यिनका पिताले वृद्धावस्थामा वानप्रस्थ आश्रममा प्रस्थान गर्नुअघि यिनलाई राजसिंहासनमा बसाले, तर यिनी राजकाजमा चासो दिंदैनथे । अन्त्यमा यिनले पनि राज्यभार आफ्ना भाइहरूलाई सुम्पिएर स्वयं वनमा पिताको सेवा गर्न गए । वनमा नै यिनको मलयवती नामकी राजकन्यासित विवाह भयो । एक दिन शिकार खेल्दाखेल्दै यिनी वनको मध्यभागमा पुगे । त्यहाँ यिनले एउटा दृश्य देखे, एउटा पाकरीको रुखको फेदमा बसेर एउटी वृद्धा विलाप गरिरहेकी थिइन् । जीमूतवाहनले सोधीखोजी गरेपछि ती बृद्धाले भनिन् – म नागवंशकी स्त्री हूं र मेरो एउटा मात्र छोरो छ । पक्षिराज गरुडसित नागहरूले प्रत्येक दिन तिनको आहाराका निमित्त आफूहरूमध्येबाट एउटा नाग समर्पण गर्ने प्रतिज्ञा गरेका छन् । आज मेरो छोरो शंखचूडको पालो छ र नागहरूले मेरो पुत्रलाई गरुडको आहारा बन्न बधशीलामा लिएर जानेछन् । म पुत्रविहीन हुने भएँ र बिलखबन्दमा परेर यहाँ विलाप गरेर बसेकी हुँ । बृद्धाका त्यस्ता कुरा सुनेर जीमूतवाहनलाई दया लाग्यो । तिनले बुढीआमैलाई आश्वस्त तुल्याउँदै भने – आमै नडराऊ, म तिम्रो छोरालाई बचाउने प्रयास गर्ने छु । आज तिम्रो छोराले लगाउने गरेको रातो कपडाले ढाकेर मलाई बधशीलामा लडाइ दिनू । यति भनेपछि जीमूतवाहनले शंखचूडको रातो लुगा पहिरिए र गरुडलाई आहारा सुम्पिने गरेको शीलामा गएर सुते । सधैंको समयमा आफ्नो आहारा प्राप्तिका लागि आकाशमार्गबाट वेगपूर्वक गरूड आए र रातो कपडामा बेरिएका जीमूतवाहनलाई आफ्ना पञ्जाले अँट्ठ्याएर कुनै एउटा पहाडको शिखरमा गएर बिसाए । आफ्ना पञ्जामा परेको प्राणिको आँखामा आँसु र मुखमा सधैंजस्तो चित्कार नसुनेपछि गरूडलाई आश्चर्य लाग्यो । त्यसपछि उनलाई आफ्नो शिकारसँग कुरा गर्न मन लाग्यो । उनले परिचय बताउन भने । जीमूतवाहनले सविस्तार आफ्नो परिचय बताए । वनमा बृद्धाको विलाप सुनेर उनको छोरोको सट्टामा आफूलाई बलि दिन तैयार भएको प्रसंगसमेत सुनाए । गरुडजी यिनको बहादुरी, त्याग र परोपकारी स्वभावबाट असाध्यै प्रभावित भए । गरुडले यिनलाई जीवनदान दिनुका साथै अबउप्रान्त नागहरूको बध नगर्ने प्रतिज्ञासमेत गरे । यसरी जीमूतवाहनको अदम्य साहसका कारण नाग जातिको रक्षा भयो र त्यसपछि आआफ्ना पुत्रको सुरक्षाका निमित्त जीमूतवाहनको पूजाको प्रथा सूरु भएको इतिहास प्राप्त हुन्छ ।

हिजोआज जितिया पर्व मनाउने क्रममा विभिन्न उत्सव, मेला, सार्वजनिक कार्यक्रम पनि सम्पन्न हुने गरेका छन् । पहाडे समुदायमा एक महिनाअघिदेखि नै दर खुवाउने विकृति भित्रिएसँगै झापा, मोरङ, सुनसरी र सप्तरीलगायत तराईका सहरी क्षेत्रमा सामूहिक रुपमा ओटघन (दर) खुवाउने कार्यक्रम व्यापक रुपमा देखिन थालेको छ । यो पर्व थारुसमुदायमा मात्र सीमित छैन । हिजोआज दनुवार र अन्य मधेसीमूलका चेलीबेटीले पनि यस पर्वलाई मनाउन सुरु गरेका छन् । तराईका मूल बासिन्दा थारुहरूको यस महान् पर्वले थारु समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउँदै लगेको देखिन्छ । यो पर्व पूर्वीया थारुहरूले मात्र मनाउँछन् । कपिलवस्तुदेखि पूर्व झापासम्मका थारुले धुमधामका साथ मनाउने गरेको यो पर्वलाई पश्चिमका दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुरका थारुले मनाएको देखिंदैन । पश्चिमका थारुहरू जितियाको सट्टा अतवारी र अष्टिम्की पर्व मनाउँछन् । अतबारी र अष्टिम्की पर्वमा पनि व्रत बस्ने चलन छ र चेलीबेटीलाई उपहार दिएर मनाउने गरिएको पाइन्छ ।

३. व्रतको विधिविधान

यो व्रत सामान्यतया भाद्र शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) देखि नै प्रारम्भ भएको मानिन्छ । यद्यपि यस पर्वको विशेष कृत्य भनेको आश्विन कृष्ण सप्तमीका दिनदेखि सुरु हुन्छ । सप्तमीका दिन मिठोमसिनो खाएर यसको कृत्य प्रारम्भ हुन्छ । आश्विन कृष्ण अष्टमी तिथिको दिन मुख्य व्रतको दिन हुन्छ । व्रतको दिन कुशको मूर्ति बनाएर जीमूतवाहनको पूजा गर्ने चलन छ । सो क्रममा कुशको मूर्ति कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पाकरीको रुखको हाँगा गाड्नुपर्दछ । त्यसपछि, हाँगामाथि चिलको आकृति र सोमुनि एउटा पोथी स्यालको आकृति बनाएर विधिपूर्वक पूजा गर्ने गरिन्छ । यस पर्वको खास महत्वका रुपमा जितिया पर्वको कथालाई पनि लिइन्छ । टोल–टोलका व्रतालु र अन्य महिलाहरू एकै ठाउँमा भेला भएर बडो रुचि र श्रद्धाका साथमा कथा श्रवण गर्ने प्रचलन छ । यो व्रतमा नियम र निष्ठाको ठूलो महत्त्व छ । त्यस्तै यस पर्वलाई खण्डित गर्न नहुने मान्यता पनि छ । यसरी विधिपूर्वक नियमनिष्ठाका साथ व्रत गर्नाले बाँचुन्जेलसम्म माताहरूले सन्तानको सुखसम्मृद्धि, उन्नतिप्रगति र दीर्घायुष्य प्राप्त गर्ने विश्वास गरिन्छ । नेपालमा मैथिली र थारु समुदायमा विशेष प्रचलित यो व्रतलाई कठोर व्रतको रूपमा लिइएको पाइन्छ । यो पर्वको मुख्य समय आश्विन कृष्ण सप्तमीका दिन सुरु हुन्छ । सप्तमीको दिनलाई नहाय खाय भनिन्छ र यसै दिन बेलुका ओटघन (दर खाने काम) हुन्छ । यो व्रतको पहिलो दिन हो । अति नियमनिष्ठाका साथ मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूले पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जीमूतवाहन देउताको व्रतको सङ्कल्प गर्नुपर्ने हुन्छ । यसै दिन व्रतालु मैथिल ब्राह्मणीले आ–आफ्ना सन्तानको दीर्घायुका साथै दिवङ्गत सासू र आमाको मोक्षप्राप्तिका लागि अन्य गोत्रकी सधवा ब्राह्मणीलाई निम्तो दिई भोजन गराउँछन् । भोजन गर्ने ब्राह्मणीलाई पितराइन भन्ने गरिन्छ । त्यसपछि, सोही दिन सधवा व्रतालु महिलाले कोदोको रोटी साथै माछा र विधुवाहरू अरूवा अरूवाइन खाने गर्छन् । अन्य पर्वमा नहाय खाएपछि चोखो खाने कुरा खाने चलन रहे पनि यस पर्वमा माछा र कोदोको रोटी खाने चलन छ । माछमरुवा गरेकी श्रद्धालु स्त्रीले भोलिपल्ट अष्टमीका दिन विहान काग कराउनुअघि नै भगवान् जीमूतवाहनको पूजा गर्नु पर्दछ । त्यसपछि आफ्ना स्वर्गीय आमा, सासुलगायतका महिला पितृहरूलाई प्रसाद चढाउनु पर्छ । पितृ पक्षमा पुरुष पितृहरूलाई तर्पण गरिन्छ तर स्वर्गीय महिलाहरूलाई प्रसाद चढाउने परम्परा जितिया पर्वमा रहिआएको देखिन्छ । ओटघन परेको दिनदेखि नै प्रारम्भ हुने जितिया व्रत आश्विन कृष्णपक्षको अष्टमी तिथिभरि निराहार रही सम्पादन गर्नुपर्ने र नवमी तिथिको प्रवेश भएपछि मात्र जितिया पर्व पूरा हुने नियम रहेको छ । व्रतको समय पूरा भएपछि एक अन्य गोत्रको ब्राह्मणलाई निम्तो दिएर भोजन गराएर मात्र व्रत पारण गरी व्रत लिने महिलाले आफूले भोजन गर्ने नियम रहेको छ । यस व्रतमा नारीहरूले कामधन्दा गर्नु हुँदैन भन्ने चलन छ । कुनै कारणले यो व्रत सम्पादन गर्दा त्रुटि हुन पुग्यो भने व्रतालु महिलाले आजीवन यो पर्व मान्न पाउँदैनन्, त्यसैले व्रतमा कुनै किसिमको विघ्न नरहोस् भन्नाका निमित्त महिलाले यो पर्वमा काम नगरेको भनाइ छ ।

४. जीमूतवाहनको पूजा

आश्विन कृष्ण अष्टमीका दिन व्रतालुहरूले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ्य अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिलाहरू एकठाउँमा भेला भएर एउटी व्रतालु महिलाका मुखबाट जीमूतवाहन व्रतको महत्त्व, पर्वको शुभारम्भ, जीमूतवाहन देउताका बारेमा कथाश्रवण गर्दछन् र सबैले कथा सुनेपछि आ–आफ्ना घर फर्किन्छन् । साँझमा आआफ्नो घरको आँगनलाई गाईको गोबरले लिपेर एउटा सानो खाल्डो खनी पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोको चिलको र हाँगामुनि स्यालको आकृति बनाइन्छ । त्यहाँ जलले भरिएको कलशमा कुशको जीमूतवाहनको मूर्ति राखिन्छ र हातमा फलफूल लिएर स्तुति गर्दै जीमूतवाहनको पूजा गरिन्छ ।

५. जितियामा ओटघन

जितिया पर्वको ओटघन भनेको एक किसिमको दर खाने कार्यक्रम हो । तर यो सजिलो भने छैन । यसमा पात्रोको गणनाको विशेष भूमिका हुन्छ । ओटघन सप्तमी तिथिको उत्तरार्द्धमा मनाउने चलन छ र सप्तमीको उत्तरार्द्ध अनिवार्य रूपमा मध्यरात्रीकालमा व्याप्त हुनुपर्दछ । मध्यरातमा सप्तमी तिथि परेमा मात्र ओटघनको संयोग बन्छ नत्र ओटघनको प्रक्रियाविना नै व्रत सुरु गर्नुपर्छ । त्यसैले कतिपय वर्षमा ओटघनको साइत जुर्दै जुर्दैन । यसरी ओटघनको साइत जुरेन भने जितियाको व्रतको अवधि अझ लम्बिने गर्दछ । तिथिको समयको हेरफेर भएर ओटघनको साइत परेन भने व्रतालुहरूले लगातार ३६ घन्टासम्म निराहार बस्नुपर्ने हुन्छ । ओटघन खाएर उठेपछि फेरि पानी वा केही खान पाइँदैन । ओटघनपछि व्रत शुभारम्भ भएको मानिन्छ । आश्विन कृष्ण सप्तमी तिथिको उत्तरार्द्धमा खासगरी मध्यरात्रिको समयमा व्रतालु महिलाका साथै परिवारका सम्पूर्ण सदस्यहरू सँगै बसेर दहीचिउरा, मिठाइ, फलफूललगायतका भोजन सामग्री खाने गर्दछन् । यसैलाई ‘ओटघन’ भनिन्छ । वर्षमा एक दिन मध्यरात्रिको समयमा मिष्ठान भोजन गर्न पाइने भएकाले बालबालिकाहरू ओटघनको व्यग्र प्रतीक्षामा रहेको देख्न पाइन्छ । अष्टमी तिथिभर उपवासमा बसेकी व्रतालुले नवमी तिथिका दिन अन्य गोत्रका कम्तीमा एकजना ब्राह्मणलाई भोजन गराई दानदक्षिणा अर्पण गर्नुपर्ने हुन्छ । ब्राह्मणले भोजन गरेपछि व्रतालुलाई अन्नजल ग्रहण गर्न आदेश नदिएसम्म व्रत सम्पन्न नभएको मानिन्छ ।

६. जितिया पर्व कथा

जितिया पर्वको मुख्य प्रसंग पौराणिक पात्र जीमूतवाहनसँग जोडिएको भए पनि यस पर्वका अवसरमा श्रुतिपरम्पराबाट प्राप्त भएका विभिन्न कथा र उपाख्यान सुनाएको देखिन्छ । ती उपाख्यानमध्ये बहुप्रचलित दुईवटा कथाले यस पर्वको महत्त्व र वैशिष्ट्यको उजागर गरेको पाइन्छ ।

एउटा किंवदन्ती अनुसार प्राचीनकालमा एक जना सारिबाहन (शालिवाहन ?) नामक राजाकी छोरी मसवासीले कुमारी अवस्थामै गर्भधारण गरेर एउटा बालकलाई जन्म दिन्छिन् । उक्त बालक निकै तीक्ष्णबुद्धिको हुन्छ र बलियो पनि हुन्छ । ऊ आफ्ना साथीहरूसँग कहिल्यै पराजित हुँदैन । कहिल्यै नहार्ने जित्नेमात्र भएकाले उसको नाम पनि जितुवा नै हुन्छ । उसले जताततै विजय प्राप्त गरेको र सफल मात्र भएको देखेर उसका साथीहरू उसको ईर्ष्या गर्न थाल्दछन् । अनि उसका साथीले सल्लाह गरेर उसलाई जसरी भए पनि हराउने योजना बनाउँदछन् । सल्लाहबमोजिम जितुवाका साथीहरूले उसलाई खेल्ने बहानामा एउटा पहाडको गुफामा लिएर जान्छन् र गुफाभित्र छिर्ने नियम बताउँछन् । तिनै साथीमध्ये एउटाले भन्छ, ल साथी हो यो गुफामा सबैले आआफ्नो आमाको नाम उच्चारण गर्दै प्रवेश गर्नुपर्दछ र आआफ्ना पिताको नाम उच्चारण गरी बाहिर निस्कनु पर्दछ । जो पहिला भित्र पसेर बाहिर निस्कन्छ, त्यसैले आजको खेल जित्नेछ । जितुवा प्रतिस्पर्द्धामा पछि हँट्दैनथ्यो, विचार नगरी आफ्नी आमाको नाम उच्चारण गर्दै भित्र पसिहाल्यो, तर बाबुको नाम त के उसले अनुहार नै देखेको थिएन, त्यसैले के भन्नु के भन्नु भएर अकमक्क परी गुफाभित्रै बसिरह्यो । सबै साथी आआफ्ना बाबुको नाम काढ्दै बाहिरिए । जीवनमा पहिलो पटक खेलमा जितुवाले हार्नु पर्यो । आफ्ना बाबुलाई नचिनेको, नाम थाहा नपाएको आदि कुरा सम्झिंदै खिन्न भएर जितुवा गुफाभित्र नै बसिरह्यो । सबै साथी घर गए । जितुवाकी आमाले साथीहरूलाई आफ्नो छोराका बारेमा जिज्ञासा राख्दा ऊ गुफामा पसेको र बाहिर ननिस्किएको विवरण उसका साथीहरूले सुनाए । यो कुराको जानकारी पाएपछि जितुवाकी आमा मसवासी गुफामा गएर उनको बाबुको नाम सूर्य भगवान् हो भनेर बताउँछिन र ऊ गुफाबाट बाहिर निस्कन्छ । आमाले बाबुको नाम सूर्य भगवान् बताए पनि उसलाई भने विश्वास लाग्दैन । आमालाई पुनः बाबुको नाम बताउन बारम्बार आग्रह गर्छ । बाबुको नाम सूर्य नै हो भनेपछि उसले आमालाई बाबु भेटाइदिन आग्रह गर्छ । तर आमाले बाबुलाई भेट्न जाँदा जलेर नष्ट भइन्छ भनेर बताए पनि जितुवा मान्दैन । ऊ आफ्नै जिद्दीले बाबुसँग भेट्न भनी घरबाट एक्लै निस्कन्छ । यसरी जितुवाले आमासँग जिद गरेको र बाबुको खोजीमा घरबाट बाहिरिएको कुरा सूर्यले चाल पाउँछन् र जितुवालाई भेट्न जोगीको भेषमा बाटोमा निस्कन्छन् । जितुवालाई तिमी कहाँ जाँदैछौं भनेर सोध्दा उसले बाबु सूर्यसँग भेट्न निस्केको जबाफ दिन्छ । तर सूर्य त आगोको झिल्को भएकाले जलेर नष्ट भइन्छ भन्दासमेत ऊ जोगीको कुरा नसुनी अगाडि बढ्छ । जोगीले म नै तिम्रो बुवा सूर्य भगवान हुँ भने पनि विश्वास गर्दैन, अनेक तरहले सूर्यले जितुवालाई सम्झाईबुझाई गर्दा पनि नमाने पछि उनले आफ्नो स्वरुपको दर्शन दिएर जितुवालाई विश्वस्त तुल्याउँछन् । त्यसपछि जितुवालाई तँ असाध्यै साहसी, पराक्रमी र उत्साही बालक भएको हुनाले संसारभरिका चेलीबेटीहरूले आश्विन महिनाको कृष्णपक्षको सप्तमीदेखि नवमी तिथिसम्म उपवास बसी तेरो पूजापाठ गरेमा तिनीहरूको सन्तानको विजय हुने, सर्वत्र सफलता हुने तथा दीर्घायु हुने वरदान दिएर सूर्य अन्तर्धान हुन्छन् र जितुवा घर फर्किएर आउँछ ।

जितिया पर्वसँग गाँसिएको अर्को कथा पनि छ । कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रूखको फेदमा एउटा स्याल बस्थ्यो र त्यही रुखको हाँगामा चिलको बसोबास थियो । ती दुबैको बीचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिलाहरू नर्मदा नदीमा स्नान गरी त्यही रूखको फेदमा बसेर जीमूतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गर्दै थिए । व्रतालु महिलाहरूको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत सम्पादन गर्ने इच्छा जागृत भयो । दुइटैले सल्लाह गरी व्रत लिने निधो गरे । उनीहरूले व्रत प्रारम्भ गरेपछि त्यसै रातमा नर्मदा नदीको किनारमा एकजना व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांश भाग जलेपछि छोडेर घर फर्के । उनीहरू फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिई मासु पनि खायो । त्यस मासुमध्ये केही मासु स्यालले भोलिपर्सीलाई पनि चाहिन्छ भनेर लुकाएर राख्यो । राखेको दृष्य चिलले पनि देख्यो । यसरी मासु लुकाएर राखेको देखे पनि चिललाई तिर्सना जागेन । व्रत पूर्ण गरेपछि मात्र आहारा लिने भन्ने कुरामा ऊ दृढ रह्यो र मासु खाएन । तर यसरी खाने कुराको लोभ गर्नाले गर्दा त्यस स्यालको व्रत भङ्ग भयो । आयु पूर्ण भएपछि ती दुबै मित्र चिल र स्यालको मृत्यु भयो । अर्को जन्ममा दुवैको जन्म भास्कर नामक ब्राह्मणका घरमा भयो । पूर्वजन्मको चिल ब्राह्मणकी जेठी छोरी शीलावती र स्याल ब्राह्मणकी कान्छी छोरी कर्पूरावतीका रूपमा जन्मन पुगे । जेठी शीलावतीको विवाह धनमानको घरमा र कान्छी कर्पूरावतीको विवाह राजाका घरमा भयो । शीलावतीका सात भाइ छोरा जन्मिए तर महारानी भएकी कर्पूरावतीको एउटा छोरो जन्मियो, त्यो छोरो पनि अल्पायुमा नै दिवङ्गत भयो । वर्षौसम्म दिदीबहिनीको सम्बन्ध हुन सकेको थिएन । कुनै दिन कालान्तरमा दिदीबहिनीको भेट हुँदा दिदी शीलावतीले आफ्नी बहिनीलाई पूर्वजन्मको घटना स्मरण गराउँदै अघिल्लो जन्ममा व्रत भङ्ग गरेको हुनाले यस जन्ममा उनको सन्तानको मृत्यु भएको बताइन् । दिदीबाट समस्त वृत्तान्त थाहा पाएपछि बहिनी कर्पूरावतीले जीमूतवाहनको विधिवत् व्रत लिइन् । त्यस व्रतको प्रभावले उनका प्रशस्त सन्तति भए र सुखसम्मृद्धिका साथ बाँकी जीवन बिताइन् । त्यसै कारणले यो व्रत जति कठोर भए पनि व्रतलाई कसैले खण्डित गर्न चाँहदैनन् ।

No comments:

Post a Comment