इन्दिरा एकादशीका बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले भगवान् श्री कृष्णसित धर्मराज युधिष्ठिरले प्रश्न गर्दै सोध्नुभयो -
कथयस्व प्रसादेन ममाग्रे मधुसूदन
इषस्य कृष्णपक्षे तु किंनामैकादशीभवेत्
हे भगवन् ! आश्विन कृष्णपक्षको एकादशीको नाम के हो ? यसको व्रतविधि तथा फल के छ? युधिष्ठिरका प्रश्न सुनेर भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो -
आश्विने कृष्णपक्षे तु इंदिरा नाम नामतः
तस्या व्रतप्रभावेन महापापं प्रणश्यति
अधोयोनि गतानां च पितॄणां गतिदायिनी
शृणुष्वावहितो राजन्कथां पापहरां पराम्
यस्याः श्रवणमात्रेण वाजपेयफलं लभेत्
हे धर्मराज ! असोजको कृष्णपक्षमा पर्ने एकादशीको नाम इन्दिरा एकादशी हो । यस एकादशीमा शरीरमा जन्मजन्मान्तरदेखि सञ्चित रहेका पापराशिलाई नष्ट गर्ने सामर्थ्य छ र यसले आफ्ना दिवङ्गत पितृहरुलाई अधोगतिबाट मुक्ति प्रदान गर्दछ । हे राजन् ! यस एकादशीको कथा श्रवण गरेमा पनि व्यक्तिले वाजपेय यज्ञको फल प्राप्त गर्दछ । यसको महात्म्य उल्लेख भएको कथा यस्तो छ -
पुरा कृतयुगे राजन्बभूव नृपनंदनः
इंद्रसेन इति ख्यातः पुरा माहिष्मतीपतिः
स राजा पालयामास धर्मेण यशसान्वितः
पुत्रपौत्रसमायुक्तो धनधान्यसमन्वितः
माहिष्मत्यधिपो राजा विष्णुभक्तिपरायणः
धेरै धेरै वर्षपहिले सत्ययुगमा महिष्मति नामको एउटा नगरी थियो, उक्त नगरीमा इन्द्रसेन नामका धर्मात्मा राजाले शासन गर्दथे । उनी प्रतापी र प्रभावशाली शासक त थिए नै, धर्मपूर्वक आफ्ना प्रजालाई पालन गरी सन्तुष्टसमेत तुल्याएका थिए । ती राजासँग पुत्रपौत्र, धनधान्यादि र सुखसम्मृद्धिको कुनै कमी थिएन । उनी भगवान् विष्णुका परम भक्त थिए ।
एक दिन राजा दरबारको सभाकक्षमा बसी राजकाजका बारेमा छलफल गरिरहेका थिए । त्यसै समयमा विभिन्न लोकको भ्रमण गर्दै महर्षि नारद उक्त सभामा आइपुगे । आफूअगाडि अचानक देवर्षि नारदलाई देखेर राजा छक्क परे, हत्तपत्त आफ्नो आसनबाट उठेर विनम्रतापूर्वक यथोचित सम्मान गर्दै विधिपूर्वक आसन र अर्घ्यका लागि अनुरोध गरे । राजाको आतिथ्यलाई स्वीकार गर्दै मुनि नारद दिइएको आसनमा बसे र राजासित कुशलक्षेमको जिज्ञासा राख्दै प्रश्न गरे - हे राजन् ! तपाईंको राज्यमा कुनै विघ्नबाधा वा उपद्रव त भएको छैन ? के राज्यप्रशासनका समस्त क्रियाकलाप र राज्यका अङ्गहरू राम्ररी नै सुसञ्चालित छन् ? हजुरको बुद्धि धर्ममा र मन विष्णुभक्तिमा त लीन छ नि ?
देवर्षि नारदका यस्ता विस्मित हुने प्रश्न सुनेर विचलित नभई राजाले प्रत्युत्तरमा भने -
त्वत्प्रसादान्मुनिश्रेष्ठ सर्वं च कुशलं मम
अद्य क्रतुक्रियाः सर्वाः सफलास्तव दर्शनात्
प्रसादं कुरु देवर्षे ब्रूह्यागमनकारणम्
हे मुनिवर ! हजुरको कृपाले मेरो राज्यमा सबै व्यवस्था ठिकठाक चल्दैछ, मेरो गाथमा पनि कुशलमङ्गल नै छ अनि मेरो दरबारमा ईश्वरका कृपाले सबै यज्ञयागादि र अनुष्ठानहरू सुकृतिपूर्वक सञ्चालन भइरहेका छन् । अझ आज हजुरले मेरो राजसभामा पाउ कष्ट गरी मलाई र मेरो परिजनमा कृतकृत्य तुल्याउनु भएको छ । तर यहाँ आइपुग्दा नपुग्दै यसरी प्रश्न गर्दा म छक्क परेको छु र चिन्तित बन्न पुगेको छु । पक्का पनि मेरो कल्याण र शुभताका निमित्त हजुरले मेरा विवरणहरू बुझ्न खोज्नु भएको हुनुपर्दछ, अतः हजुरको आशय र मुख्य अभिप्राय के हो ? कृपया आज्ञा गर्नुहवस् ।
राजाका यस्ता विनम्र वचन सुनेपछि देवर्षि नारदले उनका जिज्ञासालाई शान्त पार्ने उद्देश्यले भने - हे राजन् ! आश्चर्य मान्ने विषय नै छ, मेरो बानी भ्रमणशील छ भन्ने कुरा त तपाईंमा विदितै छ । केही समय पहिलेको कुरा हो, म एक पटक ब्रह्मलोकबाट दक्षिण दिशाको यात्रामा गएको थिएँ । घुम्दाघुम्दै यमलोक पुगें । त्यहाँ यमराजले श्रद्धा र भक्तिपूर्वक मेरो मानसम्मान र पूजाआजा गरे । उनको आतिथ्य पाएर म पनि प्रसन्न भएँ अनि उनको विनयशीलता र धार्मिक स्वभावको भूरिभूरि प्रशंसा गरें । यमराजबाट सम्मानित भएर फर्कंदै गर्दाको घटना हो, यमलोकको एउटा नरकमा हजुरका पिताले विभिन्न यातना भोगेर बसेको देखें, वहाँको यस्तो अवस्था देख्नुपर्दा म छक्क परें ।
बहुपुण्यप्रकर्त्ता च व्रतवैकल्यदोषतः
सभायां श्राद्धदेवस्य मया दृष्टः पिता तव
मैले वहाँले पछिल्ला जन्ममा गरेका यावत् क्रियाकलापका बारेमा जानकारी पाएको थिएँ, सांसारिक जीवन व्यतीत गर्दा गरेका वहाँका हरेक क्रियालापबाट म अनभिज्ञ थिइँन । मैले जानेसम्म वहाँ जुनसुकै दृष्टिले पनि नरकमा जाने व्यक्तिमा पर्नुहुन्नथ्यो । वहाँजस्ता ज्ञानी, परोपकारी र धर्मात्मा राजा पनि नरकमा आइपुगेको दृश्य देखेर म विस्मित हुँदै नरकको यातनाबाट छट्पटाउँदै गरेका हजुरका पिताका समीपमा पुगें र यसरी नरकको वास गर्नुपर्ने कारण के रहेछ भनी जिज्ञासा राखें । मेरो जिज्ञासाको उत्तर दिंदै वहाँले कुनै एउटा एकादशीको व्रत भङ्ग भएका कारणले यसरी नरकको यात्रा गर्न बाध्य हुनुपरेको विवरण सुनाउनु भयो । वहाँको त्यस्तो दयनीय अवस्थाको जानकारी गराउन पाए आफ्ना दिवङ्गत पिताको उद्धारका निमित्त तपाईंले केही गर्न सक्नुहुन्यो कि भनी म यहाँ यस दरबारमा उपस्थित भएको हुँ ।
नारदले आफ्ना परलोक भएका पिताको अवस्था बताएपछि गम्भीर हुँदै इन्द्रसेनले नारदसँग अनुरोध गरे - हे ऋषिवर ! हजुर त्रिकालज्ञ हुनुहुन्छ, मेरा पिताबाट के त्रुटि भएको रहेछ र ? उहाँले नरकको यात्रा गर्नु पर्यो, उक्त कुरा तपाईंलाई थाहा नहुने कुरै भएन, अतः अब हजुरले बुवाले जानीनजानी गर्नुभएको उक्त त्रुटि के रहेछ ? बताई दोषनिवारणको उपाय पनि आज्ञा गर्नुहवस् । हजुरले आज्ञा गर्नुभएको विधि जस्तै कठोर भए पनि म पिताजीको र समस्त पितृको उद्धारका लागि जे पनि गर्न तैयार छु ।
राजाका यस्ता पिताप्रतिको प्रेम र श्रद्धाभाव देखेर नारद प्रसन्न भए र फेरि बताउन थाले - हे राजन् ! द्युमत्सेन नाम गरेका तपाईंका पिता आफ्नो जीवनकालमा पृथ्वीलोककै प्रतापी र प्रसिद्ध राजाका रूपमा गनिनु हुन्थ्यो । वहाँ प्रजालाई सन्ततिवत पालनपोषण गर्दै कुल, पितृ र देवताको पूजाआजा र परोपकारी काममा दत्तचित्त रहने गर्नुहुन्थ्यो । हरेक एकादशीको व्रत लिने वहाँको नियम नै थियो र व्रत लिंदा दशमीकै दिनदेखि विधिविधान र सम्पूर्ण नियमको पालना गरी एकादशीका दिन बिहानै उठी नित्यकर्मका साथमा आफ्ना कुलपितृ र इष्टदेवको पूजाआजा गरी दिनभरि हरिनाम सङ्कीर्तन गरी रात्रीकालमा जागरण गरी पूर्ण निष्ठाका साथमा व्रत सम्पादन गर्ने गर्नुहुन्थ्यो, साथै व्रत समापनका क्रममा द्वादशीका दिन आफ्ना राज्यका विद्वान् र योग्य ब्राह्मणलाई ब्राह्मणभोजन र दानादि गरेरमात्र वहाँले व्रतको पारणा गर्नुहुन्थ्यो । त्यस्तैमा एउटा द्वादशीका दिन ब्राह्मणभोजनका अतिरिक्त राज्यभरिका गरीवगुरुबा, विधवा, भिक्षुक र सन्यासीलाई पनि भोजन गराउने प्रबन्ध गरिएको थियो । उक्त भतेरका लागि दरबारको भान्साघर बाहिरको आँगनमा निम्तालुहरू जम्मा भएका थिए । सबैले खानेकुराका निमित्त व्यग्र प्रतीक्षा गरिरहेका थिए । त्यस्तैमा आकाशमा एउटा चिल आफ्ना पन्जाले दह्रो गरी एउटा जिउँदो सर्पलाई अँट्ठ्याएर उडिरहेको दृश्य देखियो । त्यतिवेला चिलको कब्जाबाट मुक्तिका लागि सर्पले अनेक तरहले कोसिस गरिरहेको थियो । यसरी बल गर्दा सर्पका मुखबाट विष बाहिरिंदै थियो । दरबारको भान्सामाथि आइपुगेका वेलामा पनि सर्पको मुखबाट विषका सूक्ष्म थोपा खसिरहेका थिए । त्यसरी सर्पको मुखबाट बाहिरिएको विषको एउटा थोपो कुनै एकजना ब्राह्मणका निमित्त पस्किएको खान्कीमा परेछ । यो कुरा राजा, भान्से वा ब्राह्मण कसैले पनि चाल पाएनन् । ब्राह्मणले भोजन गरे, सर्पको विषको मन्दप्रभाव उनको शरीरभित्र पस्यो । त्यसको केही दिनपछि उक्त विषको प्रभावले ब्राह्मणको मृत्यु भयो । यसरी राजाले ब्रह्महत्या गरेको पाप बोक्नु पर्यो । अनजानमा भएको गल्तीका कारण यसरी हजुरका पिता राजा द्युमत्सेनले नरकको यातना भोग्नु परेको हो । यति विवरण सुनाएपछि देवर्षि नारदले राजा इन्द्रसेनलाई पिताको कष्टनिवारण र उद्धारका लागि अवलम्बन गर्नु पर्ने उपाय पनि सुझाउँदै निर्देश गरे -
पितुः स्वर्गकृते राजन्निंदिरा व्रतमाचर
तेन व्रतप्रभावेन स्वर्गं यास्यति ते पिता
हे राजन् ! यदि तपाईंले नियमनिष्ठा र विधिपूर्वक आश्विन महिनाको कृष्णपक्ष अर्थात् पितृपक्षमा पर्ने इन्दिरा एकादशीको व्रत लिनुभयो भने हजुरका पिताको उद्धार हुनेछ र वहाँ सायुज्यता प्राप्त गरी वैकुण्ठलोकमा पुग्नुहुनेछ ।
नारदका मुख बाट पिताजीको वृत्तान्त र उद्धारको उपाय सुनेर राजाले फेरि अनुरोध गरे - हे महर्षि ! हजुरले उक्त इन्दिरा एकादशीको व्रतविधि आज्ञा गर्नुहवस् । नारदजीले व्रतको नियम र विधि पनि बताइदिए -
आश्विन महिनाको कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ । यस पक्षभरि गरिएको पितृआराधनाको प्रभावले मनुष्यका आफ्ना दिवङ्गत पितापुर्खाको तृप्ति हुन्छ र ती अधोगतिमा रहेछन् भने पनि तिनले आफ्ना छोरानातिले गरेको श्राद्ध, तर्पण, ब्राह्मणभोजन लगायतका पुण्यकर्मका कारण मुक्ति प्राप्त गर्दछन् । तिनीहरूले तृप्त भएर आफ्ना सन्ततिलाई आयुष्यता, दक्षता, योग्य सन्तति, धनधान्य, सुबुद्धि र सुखसुविधा प्रदान गर्दछन् । त्यसैले यस एकादशीको ठूलो महत्त्व छ । इन्दिरा एकादशीका दिन व्रत गरी भोलिपल्ट द्वादशीका दिन आफ्ना कुलमा जीवित रहँदा नै योगी, सन्यासी वा भिक्षुक बनेका पितापुर्खालाई तर्पण गरी ब्राह्मणभोजन गराएमा अक्षयपुण्य प्राप्ति हुन्छ भन्ने मान्यता पनि छ । यस एकादशीको व्रतसम्पादनबाट आफ्ना, मावलीतर्फका र ससुराली कुलका सातसात पुस्ता गरी एक्काईस पुस्ताका पितृहरूको उद्धार गर्न सकिन्छ । त्यसैले तपाईंले पनि उक्त एकादशीको विधिपूर्वक व्रत गरी पारणा गर्नुहोस्, तपाईंका पिताको अवश्यमेव उद्धार हुने छ, वहाँले सायुज्य मुक्ति प्राप्त गर्नुहुनेछ ।
नारदजी राजा इन्द्रसेनलाई सम्बोधन गर्दै भन्दै जान्छन् - हे राजन् ! अब म उक्त एकादशीको व्रतविधिका बारेमा बताउँछु ।
आश्विनस्यासिते पक्षे दशमी दिवसे शुभे
प्रातःस्नानं प्रकुर्वीत श्रद्धायुक्तेन चेतसा
ततो मध्याह्नसमये स्नानं कृत्वा समाहितः
पितॄणां प्रीतये श्राद्धं कुर्याच्छ्रद्धा समन्वितः
एकभक्तं ततः कृत्वा रात्रौ भूमौ शयीत च
प्रभाते विमले जाते प्राप्ते चैकादशी दिने
व्रत गर्नका निमित्त सबैभन्दा पहिले तपाईंले दशमीका दिन प्रातःकालमा श्रद्धापूर्वक स्नानादिबाट निवृत्त भएर पुनः दिउँसो गङ्गामा वा कुनै गङ्गागामिनी नदीमा गई स्नान गर्नुपर्छ, अनि आफ्ना मृत पितृहरूलाई तर्पण गरी त्यस दिन केवल एक छाक सात्विक भोजन गर्नु पर्दछ । भोलिपल्ट एकादशीका दिन प्रातःकालमा दतिउन आदि गरी नित्यकर्मबाट निवृत्त भई व्रतका नियमलाई भक्तिपूर्वक ग्रहण गर्दै प्रतिज्ञा गर्नु पर्छ र भगवान् विष्णुलाई सम्बोधन गर्दै भन्नुपर्छ - ‘म आज सम्पूर्ण भोगहरूलाई त्याग गरी निराहार एकादशीको व्रत गर्नेछु । हे अच्युत ! हे पुण्डरीकाक्ष ! म हजुरको शरणमा छु, हजुरले मेरो रक्षा गर्नुहोस् ।' त्यसपछि वैदिक विधिपूर्वक शालिग्राम शीलामा भगवान् नारायणको प्राणप्रतिष्ठा गरी त्यसका सामु बसी तर्पणादि गरी ब्राह्मणलाई फलाहार भोजन गराई सीधादक्षिणादि प्रदान गर्नुपर्छ । श्राद्धादि कर्मसमेत सम्पादन गरेको खण्डमा श्राद्धमा प्रयोग भएको नैवेद्यादि सामाग्री आफूले सुँघेर गाईलाई खान दिनु पर्दछ । श्राद्धतर्पणादि सिद्ध्याएर भगवान् विष्णुलाई चन्दन, अक्षता, फूल, ध़ूप, दीप, नैवेद्य आदि षोडशाेपचार पद्धतिले पूजाअर्चना गर्नु पर्दछ। व्रतका दिन दिनभरी श्रीमद्भागवत, गीता वा भगवान् विष्णुको नामसङ्कीर्तन गरी समय बिताएर साँझमा आरती गरी रात्रीकालमा जागरणसमेत गर्नुपर्छ । भोलिपल्ट द्वादशीका दिन प्रातःकालमा नित्यकर्म सम्पादन गरी पुनः पूजाआजा गरी जोगी, सन्यासी, गरीवगुरुवा, विधवा र ब्राह्मणलाई भोजन, दक्षिणा र सीधा आदि प्रदान गरी व्रतको पारणा गरेर भोजनादि गर्नु पर्दछ । नारदजी भन्दछन् - हे राजन् ! यसरी तपाईंले आलस्यरहित भई पितृपक्षमा पर्ने इन्दिरा एकादशीको व्रत पूर्ण गर्नुभयो भने हजुरका पिताले अवश्यमेव मुक्ति पाउनु हुनेछ । राजा इन्द्रसेनलाई यत्ति कुरा भनिसकेर नारदजी सबैले देख्दादेख्दै त्यहाँबाट अन्तर्धान भए ।
केही समयपछि पितृपक्षको इन्दिरा एकादशीको तिथि आयो । मुनि नारदले बताएअनुसार राजा इन्द्रसेनले आफ्ना कुलकुटुम्ब र इष्टमित्रका साथमा विधिपूर्वक यस एकादशीको व्रत लिए । व्रतसमापन भएपछि आकाशबाट अचानक पुष्पवृष्टि हुनथाल्यो । सबैको नजर आकाशमा पर्यो, हेर्दा सबैले एकसाथ देखे - त्यस राज्यका दिवङ्गत राजा द्युमत्सेन एउटा दिव्य विमानमा प्रसन्नमुद्रामा आफ्नो पुत्र, बन्धुबान्धव र प्रजालाई आशीर्वाद प्रदान गरिरहेका थिए । उनका साथमा जय र विजयका साथमा वैकुण्ठलोकका भगवान् नारायणका पार्षदहरू फूलको वर्षा गरिरहेका थिए । यसरी सबैले पृथ्वीतलमा रहेका आफ्ना वंशज र सन्ततिलाई आशीर्वचन प्रदान गर्दै पूर्वराजा द्युमत्सेन प्रसन्नमुद्रामा विष्णुलोकतर्फ प्रस्थान गरेको अलौकिक दृश्य देख्न पाए ।
अक्षयपुण्य प्रदान गर्ने इन्दिरा एकादशीको व्रत सम्पादन गरेर राजा इन्द्रसेनले आफ्ना अधोगतिमा परेका पिताको उद्धार गरे । उक्त व्रतको पुण्यप्रभावले उनले आफुले पनि लामो समयसम्म निष्कण्टक र अखण्ड राज्यसुखको भोग गरे, बृद्धावस्था प्राप्त भएपछि आफ्ना पुत्रलाई राजसिंहासनमा राखी उनी आफूस्वयं पनि स्वर्गलोकतर्फ जाँदा भए । यस इन्दिरा एकादशीको महात्म्य र व्रतकथा सुनाउँदै भगवान् श्रीकृष्ण धर्मराज युधिष्ठिरलाई बताउनु हुन्छ - पठनाच्छ्रवणाद्राजन् सर्वपापैः प्रमुच्यते
भुक्त्वेह निखिलान्भोगान् विष्णुलोके वसेच्चिरम्
हे राजन् ! पितृउद्धारका निमित्त यस इन्दिरा एकादशीको ठूलो महिमा छ, व्रत लिने अनुकूलता नमिले पनि यस एकादशीको व्रतकथा र महात्म्य जसले श्रद्धा र भक्तिका साथमा श्रवण गर्दछ, उसका पनि अधोगतिमा परेका समस्त पितृहरूले वैकुण्ठलोक प्राप्त गर्दछन् ।
No comments:
Post a Comment