Oct 4, 2017

बृहस्पति ग्रहको राशि परिवर्तन : चारवटा राशि हुनेछन् मालामाल (Scorpio Transit Of Jupiter)

२०७५ साल असोज १९ गते एकाबिहानै नेपालको परिप्रेक्ष्यमा बिहान ०५ बजेर ०९ मिनेटमा देवताका गुरु मानिने बृहस्पति ग्रहले तुला राशि त्याग गरी बृश्चिक राशिमा प्रवेश गर्नेछन् । अब यसपछि लगभग १३ महिनासम्म गुरु बृहस्पतिको तुला राशिमा परिभ्रमण हुनेछ । तर यस अवधिमा गतिमा अतिचार हुने भएकाले फाल्गुन १९ गते दिउँसो केही समयका लागि धनु राशिमा प्रवेश गरी पुनः बक्री भई २०७६ साल जेठ ०८ गते बृश्चिक राशिमा नै बृहस्पति फिर्ता आउने छन् र आगामी २०७६ साल कार्तिक १३ गतेसम्म लगातार बृश्चिक राशिमा नै गुरु बृहस्पतिको उपस्थिति रहने छ । हामीले मान्ने गरेका सूर्यबाहेकका ग्रहहरूमध्ये बृहस्पति ठूलो आकारको ग्रह हो । बृहस्पतिको एउटा राशिमा लगभग एक वर्ष (१३ महिना ?) को भोग हुन्छ । वर्षैपिच्छे बृहस्पतिले राशि परिवर्तन गर्ने भएकाले फलित ज्योतिषमा यस ग्रहको प्रभावलाई महत्त्व दिने परिपाटी रही आएको छ । आम जनमानसलगायत सामाजिक, धार्मिक, राजनैतिक वृत्तमा पनि बृहस्पतिको गोचर फलले उत्तिकै महत्त्व राखेको देखिन्छ ।


बृश्चिक राशि मङ्गल ग्रहको घर हो ।  देवगुरु यस पटक शत्रुको घर छाडी मित्रको घरमा प्रवेश गर्दैछन् । त्यसैले यस वर्ष आम मानिसहरूले विभिन्न माङ्गलिक कृत्यहरू सम्पादन गर्नेछन् । ज्ञान, विज्ञान, विद्वत्ता आदिका क्षेत्रमा खट्नेहरूले मानसम्मान र वर्चस्व कायम राख्नेछन् । शेयर मार्केट र वित्तीय क्षेत्रमा सकारात्मक सङ्केत देखा पर्नेछ । तर प्राकृतिक प्रकोप र आसुरी शक्तिमा बृद्धि हुनेछ, फलतः आगामी १३ महिना हावाहुण्डरी, बाढी, अग्निभय आदिको प्रकोप बढ्ने छ । राजनैतिक वृत्तमा पनि सकारात्मक सङ्केत हुँदैन, जनस्तरमा विभिन्न सङ्घर्ष र झैझडाको वातावरण उत्पन्न हुनेछ ।  मङ्गल ग्रहको प्रत्यक्ष सम्बन्ध राष्ट्र, राष्ट्रियता, देशभक्ति, सैन्यशक्ति, जमिन, जङ्गल, इन्धन, अग्निसम्बन्धी सामाग्री आदिमा हुने गर्दछ । त्यसैले राष्ट्रियता र देशभक्तिको विषय नै मूल मुद्दा बन्नाले आमसमुदायमा बहस, झगडा र तनाव सिर्जना हुनसक्छ । सेना, प्रहरी र अन्य सैन्यबलमा असन्तुष्टि वा विद्रोह सुरु हुनसक्छ । जग्गाजमिन, हाउजिङ, प्लटिङ र वन तथा वातावरणका क्षेत्रमा काम गर्नेहरूले नोक्सानीको सामना गर्नु पर्ने हुन्छ । सत्तापक्ष र विपक्षका बीचको दूरी बढ्ने छ ।

बृश्चिक राशिको प्रतीक चिह्न बिच्छू हुन्छ । यस राशिमा गुरु बृहस्पतिको प्रवेश भएकाले अर्कालाई लडाउने, भिडाउने, अप्ठ्यारामा पार्ने, साथीभाइका गल्ती र कमजोरी औंल्याउनु र उसलाई तल पार्न खोज्नु, कटुतापूर्ण बोलीवचन, शीघ्र क्रोध आदि बृश्चिक राशिको विशेषता हुनेहुँदा यो वर्ष जनमानसमा विद्रोहको परिस्थिति सिर्जना हुनेछ । यसअघि २०६३/६४, २०५१/५२, २०३९/४० मा पनि देवगुरु बृहस्पतिले बृश्चिक राशिमा परिभ्रमण गरेका थिए ।

त्यसैले यस वर्ष सामान्यतया बृष, कर्कट, बृश्चिक र मीन राशिका जातकहरूमा बृहस्पतिको अत्यन्त सकारात्मक प्रभाव देखिने छ । विवाहयोग्य उमेरका बृष, कर्कट, बृश्चिक र मीन राशिका केटा र केटीको वैवाहिक जीवन सुरु हुने सम्भावना छ, तर मेष, सिंह र धनु राशिका व्यक्तिको प्रेमसम्बन्ध टुट्नसक्छ, हुनै लागेको विवाह वा उन्नतिप्रगतिमा बाधाअड्चन आउने सम्भावना देखिन्छ, अन्य राशिका जातकमा बृहस्पतिको मध्यम प्रभाव पर्नेछ । बृहस्पतिको बृश्चिक राशिमा प्रवेश हुँदा राजनैतिक र सामाजिक क्षेत्रमा त्यति सकारात्मक संकेत प्राप्त हुनेछैन । बहस, छलफल र विचारविमर्शको वातावरण बन्द हुनेछ ।  सरकार स्वेच्छाचारी, निरङ्कुश र लापरवाह बन्नसक्छ । जनभावनाविपरीत नचिताएको र अचम्मलाग्दो सरकारी निर्णय देख्न वा सुन्न पाइनेछ । सामाजिक र पारिवारिक जीवन पनि अशान्त र कलहयुक्त देखिने छ । यद्यपि मङ्गलको राशिमा बृहस्पति आएको बेलामा समाजमा धार्मिक, सामाजिक र सामूहिक ढंगले आयोजना हुने काममा भने बृद्धि हुनेछ । प्राज्ञिक र बौद्धिक क्षेत्रका काममा उत्साहजनक सफलता र उन्नति हुनेछ । व्यक्तिले धर्म, ज्ञान र बुद्धिको प्रयोग गरी प्रशस्त धनसम्पत्ति जोड्ने अनुकूलता प्राप्त हुनेछ । तर व्यक्तिको जन्मकुण्डली र गोचरमा रहेको बृहस्पतिको अवस्थितिका आधारमा प्रत्येक व्यक्तिले बेग्लाबेग्लै प्रभाव प्राप्त गर्नेछन् । सामान्यतया गुरु बृहस्पतिले राशि परिवर्तन गर्नासाथ बेग्लाबेग्लै राशि र नक्षत्रमा जन्मिएका मनुष्यहरूमा यसको शुभ र अशुभ प्रभाव पर्ने गर्दछ, उनीहरूको जीवनचर्यामा पनि परिवर्तन आउन थाल्दछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

गोपनीय कर्म, तन्त्रसाधना, सङ्कट, दुर्घटना, चोटपटक, परदेश गमन र कामुकताको प्रभाव कुण्डलीको आठौं भावको अध्ययन गरी पत्ता लगाउन सकिन्छ । तपाईंको भाग्य र खर्चभावको मालिक मानिएको बृहस्पति ग्रहले आठौं घरमा प्रवेश गर्नु राम्रो सङ्केत होइन । यसको प्रभावले सधैं असुरक्षाको भावना विद्यमान रहने छ । मानसिक चिन्ताका कारण कष्ट हुनेछ । शरीरमा दीर्घ प्रकृतिका रोगहरू देखिन सक्छन् । मस्तिष्कलाई आराम हुनेछैन । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । रहस्य, अध्यात्म, गूढविज्ञान र परामनोविज्ञानका विषयमा रूचि बढ्ने छ वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ । तर अयाचित किसिमले धन लाभ हुने सम्भावना त छ, उता जोखिमको सम्भावना पनि उत्तिकै देखिंदैछ । नयाँ ठाउँमा लगानी गर्ने प्रयत्न नगर्दा राम्रो हुन्छ, किनभने मनले इच्छाए झैं परिणाम प्राप्त हुनेछैन । मित्र र सहयोगीले आफ्नो बाचा पूरा गर्ने छैनन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

अष्टमेश र लाभेश पदको बृहस्पतिले सप्तम भावमा प्रवेश गरेको छ । सातौं घर वैदेशिक यात्रा, साझेदारीको कारोबार, दाम्पत्य जीवन र प्रेमसम्बन्धको घर हो । त्यसैले विवाहयोग्य उमेर भएका बृष राशिका जातकको मनमाफिकको जीवनसाथी प्राप्त हुने वर्ष हो, आगामी १३ महिनाको समय । यस राशिका आमव्यक्तिले दाम्पत्य जीवनमा उतारचढावको परिस्थिति भोग्नु पर्नेछ । व्यापार वा नोकरी आदिमा उत्तरोत्तर प्रगति हुने परिस्थिति नै छ, तर साझेदारमा खटपट बढ्ने छ । पारिवारिक वातावरण सुमधुर नै रहने छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मन निडर रहने छ र शत्रुगणले सामु पर्ने हिम्मत गर्दैनन् । दर्शन एवं साहित्यमा रूचि बढ्ने छ । विद्वानसित सम्पर्क बढ्ने छ । सामाजिक सम्मान प्राप्त हुनेछ । वैदेशिक यात्रा सफल हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

छैठौं घर झैझगडा, तर्क, प्रतिस्पर्द्धा, न्याय र रोगव्याधिसँग सम्बद्ध भाव मानिन्छ । यस भावमा आएको सप्तमेश  र कर्मेश मानिएको बृहस्पतिको प्रभावले व्यक्तिले थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । पेसागत र व्यवसायिक परिस्थति बिग्रँदै जानेछ । स्वास्थ्य सम्बन्धी विविध समस्याले दिक्क लगाउने छ । परिजनसितको सम्बन्ध पनि राम्रो हुनेछैन । शत्रु र प्रतिस्पर्धीहरू बलिया हुनेछन् । अनावश्यक यात्राबाट जोगिनु बेस हुनेछ । त्यसो त मुद्दामामिला र अड्डाअदालतको कामका लागि राम्रो समय छ । जीवनी शक्ति र स्फूर्तिमा कमीको अनुभूति हुनाले झैझगडा र झंझटबाट टाढा रहने प्रयत्न गर्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

प्राज्ञिक क्षमता र सन्ततिसँग सम्बद्ध गृह पञ्चम भावलाई मान्ने गरिन्छ । यस भावमा प्रविष्ट बृहस्पतिको प्रभावले आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुनसक्छ । प्रणय र प्रेमसम्बन्धका निमित्त राम्रो समय छ । आफ्नो बुद्धिमत्ता र तीक्ष्ण दृष्टिकोणका कारण उचित समयमा सही निर्णय लिन सकिने छ । बन्दव्यापार वा पेसाबाट लाभ प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध बढ्ने छ । धार्मिक क्रियाकलापमा सहभागी भइने छ । मित्रवर्ग र हितैषीले पूर्ण सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

चौथो घरमा आमा, गृहसुख, वैदेशिक यात्रा आदिको सम्बन्ध हुन्छ । तपाईंको गोचरमा चतुर्थभावमा बृहस्पतिको प्रवेश भएको छ । यसको प्रभावले सुविधासम्पन्न जीवन यापन हुनेछ । पारिवारिक सुख मिल्नेछ । घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । अचानक अयाचित लाभ मिल्नेछ । उच्चपदस्थ र शक्तिशाली व्यक्तिहरूको सम्पर्कमा पुग्ने सम्भावना छ । ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ । व्यापारमा परिवर्तन हुने वा नोकरीमा बढुवा वा प्रशंसा समेत पाउने सम्भावना छ । धार्मिक क्रियाकलापप्रति झुकाव बढ्ने छ र पवित्र स्थलको भ्रमणको सम्भावना पनि छ । यस समयावधिमां मस्तिष्क सन्तुलित रहने छ र सुखभोग गर्न पाइने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

उत्साह, पराक्रम, प्रसिद्धि, दुर्घटना र दाजुभाइको सङ्केत तृतीय भावबाट हुने गर्दछ । यस भावमा बृहस्पतिको प्रवेश भएकाले तपाईंले गरेका काम र क्रियाकलापको प्रशंसा र सम्मान प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा कायम हुनेछ । आत्मविश्वास बढ्ने छ । आफ्नो क्षेत्रमा वर्चस्व स्थापना हुनेछ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । वैवाहिक जीवन वा प्रेमप्रसङ्ग सुखद हुनेछ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । कुनै मान्यजनबाट साथसहयोग प्राप्त हुनेछ । सानातिना रोगव्याधि र छुटपुट चोटपटकको प्रकोपको सङ्केत पनि छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

वाणि, भोजन, धनधान्य र सुखसम्मृद्धिको फल दोस्रो भावमा बसेको ग्रहले प्रदान गर्दछ, तपाईंको गोचरको दोस्रो भावमा बृहस्पतिले प्रवेश गरेको छ । अतः आगामी एक वर्षको अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । सामान्यतया सबै किसिमका सुखभोग प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

व्यक्तिको समग्र व्यक्तित्वको लेखाजोखा गोचरको प्रथम भावबाट निर्क्यौल गर्ने चलन छ । अहिले तपाईंको आफ्नै राशिमा बृहस्पतिले प्रवेश गरेको छ । त्यसैले आगामी एक वर्ष इच्छा, उद्देश्य र प्रतिष्ठा प्राप्तिका लागि दत्तचित्त भएर लाग्ने समय आएको छ । यस समयमा मन प्रसन्न र फुर्तिलो रहनेछ । परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । आम्दानीका मार्ग बढ्ने छन् र उच्च पदमा आसीन राजनैतिक प्रशासनिक पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ । योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । परिवारमा सुखसुविधाको जोहो हुनेछ । मन दर्शन र चिन्तनमा केन्द्रित रहने छ । मस्तिष्क पूर्णरूपेण सक्रिय रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

दान, धर्म, परोपकार, अनायास खर्च आदि बाह्रौं भावबाट हेर्ने गरिन्छ, जसमा आजबाट तपाईंको आफ्नै राशिपति बृहस्पतिले प्रवेश गरेको छ । त्यसैले तपाईंको आगामी १३ महिनाको समय अनुकूल रहने देखिंदैन । कुनै काममा पनि लगाव नहुनाले आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । असुरक्षाको भावना जाग्नेछ । व्यर्थको काममा समय र पैसा बरबाद हुनसक्छ । अर्काका लागि काम गर्नुपर्ने हुन्छ । खर्च धेरै हुनेछ । शत्रु र प्रतिस्पर्धीले तनावको सिर्जना गर्नेछन् । वैदेशिक प्रयोजनका काम र यात्राबाट पनि हानि नै हुनेछ, स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । घरपरिवारका सदस्यहरू आआफ्नै समस्याका कारण तनावग्रस्त रहने छन्, साथ पाइँदैन, चालचलनमा पनि फरक व्यवहार देखिन सक्छ । विपरीत परिस्थितिलार्ई सामना गर्न आँफूभित्र प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

सरकार, राज्यपक्ष, सामाजिक प्रतिष्ठा र अधिकारको विवेचना कुण्डलीको एघारौं भावबाट हुने गर्दछ । तपाईंको कुण्डलीको एघारौं घरमा बृहस्पतिको प्रवेश भएको छ, त्यसैले यसको प्रभावले आगामी १३ महिनाको अवधि उत्साहपूर्ण समय रहनेछ । बढुवा वा उन्नतिप्रगतिको संकेत छ, विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । नयाँनयाँ उद्यम र इलममा संग्लग्न हुनु पर्ने छ । दाजुभाइ र दिदीबहिनीका माझमा खुसीको वातावरण बन्नेछ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन गर्नुहुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । छोराछोरीले सन्तुष्ट तुल्याउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

पिता, पैत्रिक सम्पत्ति, कर्म, व्यापार आदिमा दसौं भावको महत्त्वपूर्ण भूमिका हुने गर्दछ । आजबाट बृहस्पति तपाईंको दसौं राशिमा प्रवेश गरेको छ । यसको प्रभावले व्यापार, नोकरी वा कारोबारमा गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा अधिकतम समय घुमफिरमा बित्नेछ । शत्रुको प्रतिष्ठा गिराउन सफल भइने छ । पारिवारिक जीवन सुखद हुनेछ । कर्मचारीले राम्रो फाइदा बटुल्न सक्नेछन्, इच्छाएको जिम्मेबारी प्राप्त गर्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

धर्म, परोपकार, भाग्य, ससुराली र अनायास लाभमा कुण्डलीको नवौं भावको प्रभाव हुने गर्दछ । बृश्चिक राशि तपाईंको राशिबाट नवौं राशि हो, अतः त्यहाँ उपस्थित भएको बृहस्पतिले यो अवधिलाई तपाईंको जीवनकालकै सर्वश्रेष्ठ समय प्रमाणित गर्नसक्ने सङ्केत छ । अत्यधिक सफलता र सम्मान प्राप्त हुनेछ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत यस अवधिको उपयोग गर्नुपर्छ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ । आफ्नो कामलाई पूर्ण गर्ने अत्यधिक उत्साह हुनेछ । परिवारिक वातावरणबाट पनि सहयोग मिल्नेछ । लामो यात्रा फलदायी सिद्ध हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ ।

द्रष्टव्य : जन्मकुण्डलीमा बृहस्पतिको उपस्थिति राम्रो छैन भने माथिका गोचरमा लेखिएका शुभ फलहरू आंशिक रूपमा मात्र लागु हुने गर्दछन्, अनि बलशाली बृहस्पति जन्मकुण्डलीमा रहेको छ भने अशुभ परिणाम पनि न्यूनरूपमा मात्र प्राप्त हुने सम्भावना हुन्छ । अतः समग्रतामा आफ्नो जन्मकुण्डलीमा बृहस्पति ग्रहको भूमिका र उपस्थिति विचार गरेरमात्र यस फलादेशको विचार गर्नु बेस हुनेछ ।

No comments:

Post a Comment