Oct 5, 2017

के हो त्रिपिण्डी श्राद्ध?

सहप्रा. कृष्णप्रसाद कोइराला
पिण्डेश्वर विद्यापीठ, धरान

१. विषयप्रवेश

विगत केही समय यता त्रिपिण्डी श्राद्धको चर्चा हुने र कतिपय ठाउँमा यसलाई ठूलो यज्ञ हो भनी बढाइँचढाइका साथमा कार्य सम्पन्न गरेको पनि देखिन्छ । यसको विधि के हो ? नजानेका वा नसुनेका गुरुपुरोहितले जिज्ञासा राख्ने गरेको र त्यसरी जिज्ञासा राख्दा उत्तर दिने पण्डितले आफूले बुझेको र गरिआएको पद्धतिसँग मेल हुने गरी व्याख्या गर्दै जाँदा यसको पद्धति र बुझाइमा फरकफरक दृष्टिकोण फेला परेको समेत देखिन्छ । नेपाली पुरोहित समाजमा त्रिपिण्डी श्राद्धका प्रसङ्गमा निम्नाङ्कित तीन किसिमका पद्धति प्रयोगमा आएको देखिन्छ । तीमध्ये कुन चाहिं वास्तविक त्रिपिण्डी श्राद्ध हो र त्रिपिण्डी श्राद्धको उद्देश्य, प्रयोजन र फलप्राप्ति के हो भन्ने विषयमा म आजको यस आलेखमा चर्चा गर्नेछु ।

१.१ हाल देखिएका त्रिपिण्डी श्राद्धको स्वरूप
१.१.१ एक थरीले यसलाई एकपार्वण श्राद्ध हो भन्ने गर्दछन् । अमावस्या, सङ्त्तःान्ति, पितृपक्ष आदिलाई पर्व दिन भन्ने गरिन्छ । यिनै पर्व दिनमा कसैका मातापिताको मृत्यु भएको रहेछ भने ती मृतपितृहरूको वर्षैपिच्छे गरिने श्राद्ध एकपार्वण श्राद्ध हो । यस श्राद्धमा दुईवटा ब्राह्मण (एक विश्वेदेव, एक पितृब्राह्मण) स्थापना गरिन्छ, साथै जसको श्राद्ध गरिंदैछ, तीसमेत तीनपुस्ताका पितृहरूको उद्देश्यले तीनवटा पिण्डको प्रयोग गरिन्छ । यहाँ त्रिपिण्डी शब्दको सामान्य अर्थ तीनवटा पिण्ड हुने भएकाले यस श्राद्धलाई पनि त्रिपिण्डी भन्ने अर्थ लगाइएको हो, तर यो त्रिपिण्डी श्राद्ध होइन ।

१.१.२ यो एकपार्वण श्राद्धजस्तै एउटा विशेष श्राद्ध हो भन्नेहरू पनि छन्, मैले एकपार्वणको अर्थ र प्रसङ्ग माथि उल्लेख गरिसकेको छु । आफूलाई टाठोबाठो र बुज्रुक ठान्ने कुनै कर्ताकै ढिपीले अथवा कतैकतै पुरोहितको निर्देशनबमोजिम एकपार्वण श्राद्धलाई पर्वदिन बाहेक पनि प्रयोग गरेको देखिन्छ र यसलाई पनि त्रिपिण्डी श्राद्ध हो भन्ने गरेको पाइन्छ । त्यसरी श्राद्ध गर्नेहरूको तर्क यस्तो छ — उहिले हाम्रा बाबुबाजेले पिता, पितामह र प्रपितामहसमेतका बाबुआमाका सबै छ वटै एकोद्दिष्ट श्राद्ध गर्ने गर्दथे, त्यसबाहेक दर्श (प्रत्येक औंसी), युगादि, मन्वादि, सङ्क्रान्ति, अष्टका, अन्वष्टका, पूर्वेद्यु आदि सबै श्राद्ध गर्ने गर्दथे, तर अहिले व्यस्त जीवनचर्या भएकाले यी समस्त श्राद्ध गर्न भ्याइँदैन, त्यसैले आफूले गर्ने पिता वा माताको एकोद्दिष्ट श्राद्धकै दिन एकपार्वण विधिले श्राद्ध गरेर तीनवटा पिण्ड दिएमा त्यसरी गर्नैपर्ने श्राद्ध नगरेकोमा दोष लाग्दैन र सबै पितृहरूको भाग पुग्छ । 
यसरी श्राद्ध गरेर झारा टार्ने काम सरासर गलत प्रक्रिया हो । यसरी श्राद्ध गर्दा तिनीहरूको उद्देश्य पूर्ण हुँदैन । अतः पण्डित्याइँ छाँट्न खोज्ने तथा कर्तव्यलाई छोट्याएर आफूअनुकूल बनाउन खोज्ने उपबुज्रुक एवं डेढअक्कली पुरोहित र जजमानको व्याख्या हो, यस किसिमको श्राद्ध । यो श्राद्ध पनि वास्तवमा त्रिपिण्डी श्राद्ध होइन ।

१.१.३ यो सत्व, रज र तम गुणको प्रतीकस्वरूप प्रेत मुक्तिका लागि गरिने तीनवटा पिण्डको प्रयोग गरी गरिने त्रिपिण्डी श्राद्ध हो, यो मृतपितृसँग सम्बद्ध हुँदैन । यो विशेष किसिमको श्राद्ध हो । यस श्राद्धमा आफ्ना मृतपितृहरूको नामोच्चारणसमेत हुँदैन । यो सत्व, रज र तम गुणको प्रतिनिधित्व गर्ने ब्रह्मा, विष्णु र महेश स्वरूपमा रहेका असङ्ख्य अतृप्त प्रेतको मोक्ष होस् भन्ने उद्देश्यले गरिने महाविष्णुको श्राद्ध हो । त्यसैले यस श्राद्धको विधान वैष्णवसम्प्रदायमा बहुप्रचलित देखिन्छ । हाल प्रचलनमा रहेका वैष्णव सम्प्रदायमध्ये अधिकांशको प्रारम्भ दक्षिणभारतबाट भए जस्तै त्रिपिण्डी श्राद्धको प्रयोग पनि दक्षिण भारतबाट नै भएको हो । यसको प्रयोगको पहिलो प्रसङ्ग ‘गोदायात्रा विवेकादर्श’ नामक पुस्तकमा भेटिन्छ, पछिल्लो समयमा श्राद्धपद्धतिअनुकूलको कर्मकाण्डीय पुस्तक विभिन्न प्रकाशनबाट फरकफरक ढंगले प्रकाशित भएको भेटिन्छ । वास्तवमा यही नै त्रिपिण्डी श्राद्धको वास्तविक स्वरूप हो ।

२. त्रिपिण्डी श्राद्ध

२.१ श्राद्धस्वरूप
 पितृहरूको प्रसन्नताका निमित्त वेद र धर्मग्रन्थले निर्देशन गरेको पद्धतिअनुसार श्रद्धापूर्वक हविष्ययुक्त पिण्ड दिने प्रक्रियालाई श्राद्ध भनिन्छ । श्राद्धकर्मबाट सन्तुष्ट भएका पितृहरूले श्राद्धकर्तालाई दीर्घायु, प्रसिद्धि, धनधान्य, बुद्धिविवेक, सुखसौभाग्य, पदप्रतिष्ठा र मोक्ष प्रदान गर्दछन् भन्ने गरिन्छ । श्राद्ध विभिन्न किसिमका हुन्छन्, तिनलाई नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण भन्ने गरिन्छ । तिनै श्राद्धमध्ये काम्य श्राद्धको एउटा प्रकार हो — त्रिपिण्डी श्राध्द  । नेपाली परिवेशमा यस श्राद्धको चर्चा हुन थालेको धेरै भएको छैन । खासगरी कर्मकाण्डमा व्यवसायिकता आएपछि सहरी क्षेत्रमा यस श्राद्धको चर्चा हुने गरेको पाइन्छ । त्यसैले यो पनि कर्मकाण्डको विकृतिका रूपमा मौलाउँदै गएको कार्यविशेष जस्तो लाग्न थालेको छ, तर पनि कालसर्प योगजस्तै ठगीधन्दा चाँहि त्रिपिण्डी श्राद्ध होइन, यसको विशेषता गरुडादि पुराणमा समेत उल्लेख भएकाले यो शास्त्रीय श्राद्ध नै हो ।

२.२ त्रिपिण्डी श्राद्ध किन गर्ने ? 
हाम्रा निमित्त सद्गति प्राप्त गर्न नसकेका अज्ञात मृतपूर्वजहरू वा दुर्गतिमा रहेर आफ्ना वंशजहरूलाई कष्ट र यातना दिने पितृहरू वा भूमि, अन्तरीक्ष, आकाशादि तीनै ठाउँमा रहेका आफ्नो कुलपरम्परा वा परिवारसँग सम्बद्ध अतृप्त आत्माको सायुज्य मुक्तिका निमित्त त्रिपिण्डी श्राद्ध गर्ने पद्धति छ । 

२.२.१ लगातार तीन वर्षसम्म विविध व्यवहारिक कारणले आफ्ना पितृहरूको श्राध्द हुन पाएन भने पितृलोकमा पुगेका वा मुक्त भैसकेका पितृहरूले पुनः प्रेतत्व प्राप्त गर्दछन्, त्यसैले पुनः श्राद्धप्रारम्भ गर्नुअघि त्रिपिण्डी श्राद्ध गरिदिनु पर्दछ । 

२.२.२ जन्मकुण्डलीमा सूर्य, चन्द्रमा र बृहस्पतिको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । त्यसैले कुनै जातकको कुण्डलीमा सूर्य, चन्द्रमा वा बृहस्पतिका साथमा राहु, केतु वा शनिश्चर ग्रह सँगै बसेको छ भने पितृदोष, मातृदोष, ग्रहण योग, चाण्डाल योग आदि विविध योगको सिर्जना हुन्छ । त्यस्तै सूर्य, चन्द्रमा वा बृहस्पति नीच छ भने व्यक्तिले व्यक्तित्व निर्माण गर्न र प्रतिष्ठा प्राप्तिका लागि अनेकानेक कठिनाइ भोग्नुपर्ने हुन्छ । त्यसैले यस्तो स्थितिमा दुष्प्रभाव नाश गर्न र शुभफल बृद्धि गर्न अरु उपायका तुलनामा त्रिपिण्डी श्राद्ध विशेष उपाय हो भन्ने मान्यता छ ।

२.२.३ कहिलेकाँही आफ्ना परिवारमा लडी मर्ने, झुण्डिएर मर्ने, कर्म नचली मर्ने, भूकम्पादि प्राकृतिक प्रकोपमा परी मर्ने, हराएर उमेर पूरा भएको तर थाहापत्तो नभएर काजक्रियादि सम्पन्न नभएका वा श्राद्धादि नभएका आदि विविध परिस्थितिमा कसैको वार्षिक श्राद्धादि सम्पन्न हुन सकेको हुँदैन । कतिपय परिवारमा खासगरी तीनपुस्ताभित्र कतिपय पितृहरूको मुक्ति नभएकाले यस्तो स्थितिमा व्यक्ति वा परिवारले मानसिक अशान्ति, रोगव्याधि, अकाल मृत्यु, आर्थिक दुरवस्था, चोरभय, राजभय र अग्निभय जस्ता विपत्तिको मारमा पर्नुपर्छ, यिनै त्रुटिहरूको निवारणका लागि त्रिपिण्डी श्राद्ध गरिदिनु पर्दछ ।

२.२.४ सन्तानप्राप्तिका निमित्त, कुदृष्टिबाट जोगिन, गोहत्याको दोषको प्रायश्चित्त गर्न पनि यस श्राद्धको सम्पादन गर्ने चलन छ । त्यस्तै कुनै अशुभता, कुण्डलीजन्य दोष र विकार नहुँदा नहुँदै पनि परिवारमा सुखशान्ति हुँदैन, सन्ततिप्राप्तिमा वा तिनको उन्नतिप्रगतिमा बाधाव्यवधान भइरहन्छ, सपनादिमा पितृहरूको उपस्थिति हुने गर्दछ भने यस्ता अपशकुन दूर गर्न कुनै पनि व्यक्तिले गर्नगराउन सकिने पितृपूजाको एक किसिमको विधान पनि हो—त्रिपिण्डी श्राद्ध ।

हामीले गर्ने गरेका एकोद्दिष्ट श्राद्धका कारण उद्देश्य गरेको एक पितृ, एकपार्वण श्राद्धमार्फत उद्देश्य गरिएका तीन पुस्ताका पितृहरू, महालय (पार्वण वा सोह्रश्राद्धअन्तर्गत गरिने श्राद्ध) मार्फत पितृपक्षका तीन र मातृकुलका तीन गरी छ पिंढीका पितृहरू र प्रौष्ठपदी श्राद्धमार्फत पितृकुलका सातपुस्ताभित्रका पितृहरू तृप्त हुने गर्दछन् । तर हाम्रो कुल वा पुस्तान्तरमा बितेका सातपुस्ताभित्रका वा त्यसभन्दा पनि परका अतृप्त आत्माहरू हुने सम्भावना हुन्छ, जसका कारण विविध दोष र समस्या कुण्डली आदिमा प्राप्त हुने गर्दछन्, त्यसैले त्यस्ता पुस्ताभित्रका वा पुस्तान्तरका असंख्य सात्विक, राजसी र तामसी प्रेतस्वरूपमा रहेका पितृहरूको तृप्तिका निमित्त यो श्राद्धस्वरूपको पूजा गर्ने गरिएको हो । यस पूजापद्धतिमा ज्ञातस्वरूपमा रहेका कुनै पनि पितृहरूको नामोच्चारण र तर्पणादि कृत्य हुँदैन । यसमा महाविष्णुको स्थापना गरेपछि सात्विक स्वरूपका प्रेतको प्रतिनिधित्व गरी विष्णु, राजसी स्वरूपका प्रेतको प्रतिनिधित्व गरी ब्रह्माको र तामसी स्वरूपका प्रेतको कल्पना गरी शिवको प्रतिष्ठा/स्थापना गरी पूजनोपरान्त पिण्डदान गरिन्छ ।

२.३ अब त्रिपिण्डी ’श्राद्ध हो कि पूजा’ ?
वास्तवमा त्रिपिण्डी श्राद्ध श्राद्धको प्रक्रिया अपनाएर गरिने एक किसिमको पूजाविशेष हो भन्दा अत्युक्ति हुँदैन । यसलाई प्रक्रियागत रूपमा नियाल्दा यसमा श्राद्ध गर्दा पालना गरिने केही नियमहरूको प्रयोग गरिन्छ, जस्तै—पिण्डदान, तर्पण । तर श्राद्धमा प्रयोग नगरिने केही नियमको पनि यस श्राद्धमा प्रयोग हुन्छ, जस्तै कलश स्थापना, देवस्थापना, षोडशोपचार पद्धतिको पूजादि, शङ्खको प्रयोग, रातो फूल/अक्षतादि । त्यसैले त्रिपिण्डी श्राद्ध श्राद्धजस्तै पूजापद्धति हो, यो श्राद्ध होइन । तर यस पूजाको प्रयोग अपघाती मृत्यु, प्रेत पीडा, पिशाच बाधा, शापित कुण्डली, पितृदोष आदि पीडा निवारणका निमित्त गर्ने गरिन्छ, अतः यो श्राद्धजस्तै मानिन्छ । 


२.४ त्रिपिण्डी श्राद्ध गर्ने समय र स्थान :
गयाश्राद्धपद्धति (लेखक : रुद्रदत्त पाठक) नामक ग्रन्थमा त्रिपिण्डी श्राद्ध गर्ने प्रसङ्गमा यस्तो विवरण प्राप्त हुन्छ —
वैशाखश्रावणमार्गकार्तिकफाल्गुनेषू च ।  त्रिपिण्डीश्राद्ध कर्तव्यं माघेऽपि काल उच्यते ॥१॥
अष्टम्यां वा त्रयोदश्यां पञ्चम्यामुभयोरपि । चतुर्दश्यां विशेषेण कृष्णपक्षे च कारयेत् ॥२॥
यद्यपि दोषबाहुल्ये कार्तिक्यादि चतुर्षू वा । कर्तुं शक्नोति चान्यच्च न कालः समपेक्षितः ॥३॥
कोकामुखे वेत्रावत्यां गोकर्णे त्र्यम्बकेऽपि वा । पिशाच्चमोचने काश्यां देवघट्टे विशेषतः ॥४॥
तुलसीसन्निधानौ वा कस्मिन्नपि शिवालये । अश्वत्थसन्निधौ यद्वा पवित्रनदीसङ्गमे ॥५॥
अवर्णनियो महिमा त्रिपिण्डीश्राद्धकर्मणः । उपद्रवग्रहपीडाभूतप्रेतादिशान्तये ॥६॥
प्रेताय सद्गतिं दत्वा पार्वणादि समाचरेत् । आयुः प्राकाश्यमैश्वर्यं रूपं च लभते ध्रुवम् ॥७॥

यसको भावार्थ हुन्छ — भूत, प्रेत, पिशाचादिबाट उत्पन्न क्लेश, ज्वर, पीडादि उपद्रवको शान्तिका निमित्त त्रिपिण्डी श्राद्ध गर्नुपर्दछ । यो श्राद्ध कार्तिकादि चार महिना अर्थात् कार्तिक, मंसिर, पुस र माघ तथा वैशाख, श्रावण र फाल्गुन महिनामा सामान्यतया दुबै पक्षको पञ्चमी, अष्टमी वा त्रयोदशी तिथिमा अथवा कृष्णपक्षको चतुर्दशी तिथिमा गर्न सकिन्छ । त्यस्तै यो श्राद्ध कोकामुख (विष्णुपादुका र बराहक्षेत्र), वेत्रावती, गोकर्ण, त्र्यम्बकेश्वर, काशीको पिशाचमोचन घाट, देवघाट वा कुनै नदीको सङ्गमस्थलमा गर्न सकिन्छ । क्लेश र पीडाको अधिकता छ भने समयको ख्याल नगरी जहिले पनि तुलसीको मठ, पीपलको बोट वा कुनै शिवालयमा समेत गरे हुन्छ । ग्रहपीडा, उपद्रव, भूतप्रेतको बाधादि शान्तिका निमित्त अज्ञात प्रेतलाई सद्गति प्रदान गरी पार्वणादि सम्पन्न गरेमा श्राद्धकर्ताले आयु, प्रतिष्ठा, ऐश्वर्य, रूपलावण्य र शुभता प्राप्त गर्दछ ।

२.५ त्रिपिण्डी श्राद्ध गर्ने विधि
सर्वप्रथम ब्राह्मण र ज्योतिषीको सल्लाहमा श्राद्ध गर्ने दिन तय गर्नुपर्दछ । त्यसपछि कर्ताले आफ्नो अनुकूल हुने गरी श्राद्ध गर्ने ठाउँ रोज्नु पर्दछ । श्राद्धको अघिल्लो दिन नङ, केश गरी एकछाक हविष्यान्न खाई चोखोनीतो गर्नुपर्दछ । भोलिपल्ट तीर्थ वा पवित्र जलाशयमा गई स्नानादि गरी नयाँ र शुद्ध वस्त्र पहिरिई श्राद्धभूमिमा आएर विधिपूर्वक श्राद्धको सङ्कल्प गर्नुपर्दछ । त्यसपछि शालिग्राम शीलामा महाविष्णुको प्रतिष्ठा गरी महाविष्णुको दक्षिण तर्फ तीनवटा कलश स्थापना गरी कलशमा क्रमशः ब्रह्मा, विष्णु र महेशको स्थापना गर्नुपर्छ ।  ब्रह्मा, विष्णु र महेशको प्रतिनिधिस्वरूप कम्तीमा तीन जना ब्राह्मणको वरण र पूजा श्राद्धविधिले सम्पन्न गर्नुपर्दछ । त्यसपछि श्राद्धविधिले जौ, चामल र तिलको पिठोबाट तीनवटा पिण्ड बनाएर विधिपूर्वक पिण्डदान गर्नुपर्दछ । श्राद्धोपरान्त भगवान् विष्णुलाई तर्पण गरी ब्राह्मणहरूलाई भोजन, वस्त्र, दक्षिणादि प्रदान गरेपछि यो श्राद्धको विधि समाप्त हुन्छ । यस श्राद्धमा प्रयोग गरिने विभिन्न पिण्डको महत्त्व यस प्रकार छ —

२.५.१ जौको पिण्डको महत्त्व —
इदं यवमयं पिण्डं यवसर्पिः समन्वितम् । 
ददामि तस्मै प्रेताय यः पीडां कुरुते मम ॥
ये केचित् प्रेतरूपेण वर्तन्ते पितरो मम । 
यवपिण्डप्रदानेन तृप्तिं गच्छन्तु शाश्वतीम् ॥ 
ये केचिद्दिवि तिष्ठन्ति प्रेताः सात्त्विकरूपिणः । 
सात्त्विकपिण्डप्रदानेन तृप्तिं गच्छन्तु शाश्वतीम् ॥
जौको पिण्ड सात्विक भावमा प्राप्त भएका अज्ञात प्रेतहरूको मुक्तिका निमित्त प्रयोग गरिन्छ, त्यसैले यस पिण्डलाई धर्मपिण्ड मानिन्छ । यस पिण्डका माध्यमबाट पितृवंश वा मातृवंशमा कुनै अज्ञात पितृको श्राद्धादि पिण्डदान रोकिएको छ अथवा जो जन्मैदेखि अपाङ्गताका भएका कारणले विवाह भएको छैन, सन्तति भएका छैनन्, त्यस्ता पितृहरूको प्रेतत्व नाश होस् र सद्गति प्राप्त होस् भन्ने उद्देश्यले जौको पिण्डदान गरिन्छ ।

२.५.२ मधुरत्रययुक्त चामलको पिण्डको महत्त्व —
इमं व्रीहिमयं पिण्डं मधुरत्रयसंयुतम् ।
तन्मुक्तये प्रयच्छामि पीडां ये कुर्वते मम ॥
ये केचित् प्रेतरूपेण वर्तन्ते पितरो मम ।
व्रीहिपिण्डप्रदानेन व्रजन्तु गतिमुत्तमाम् ॥
अन्तरिक्षे स्थिता ये च राजसा वायुरूपिणः ।
राजसपिण्डदानेन ते तृप्यन्तु मुदान्विताः ॥
राजसी भावमा विद्यमान प्रेतहरूलाई लक्ष्य गरी चामलको पिण्डदान गरिन्छ । यस पिण्डमा चिनी, मह र घिउ मिसाएको हुन्छ, त्यसैले यस पिण्डलाई मधुरत्रय पिण्ड भन्ने गरिन्छ । यो पिण्डदान गरेर अन्तरीक्षमा अद्यापि प्रेतस्वरूपमा नै रहेका ज्ञातअज्ञात प्रेतहरूको मुक्ति हुन्छ भन्ने मान्यता छ ।

२.५.३ तिलको पिण्डको महत्त्व —
इमं तिलमयं पिण्डं मधुना सर्पिषा युतम् ।
तेभ्यो ददामि प्रेतेभ्यो ये पीडां कुरुते मम ॥
ये केचित्तामसाः प्रेता भूमौ तिष्ठन्ति सर्वदा ।
तिलपिण्डप्रदानेन गतिं गच्छन्तु ते ध्रुवाम् ॥
तमोरूपाश्च ये केचिद् वर्तन्ते पितरो मम ।
पिण्याकपिण्डदानेन ते तृप्यन्तु क्षुधार्दिताः ॥
तामसी अवस्थामा पृथ्वीलोकमा नै क्षुद्र योनीमा रहेर परिवारका वंशज वा अन्यलाई कष्ट दिने ज्ञाताज्ञात पितृ र प्रेतहरूको मुक्तिका निमित्त तिलद्वारा निर्मित पिण्डको प्रयोग गरिन्छ ।


३. त्रिपिण्डी श्राद्धसम्बन्धी केही नियमहरू —

३.१ प्रेतबाधा वा क्षुद्रयोनीमा रहेका कुनै पितृको उद्धारका निमित्त त्रिपिण्डी श्राद्ध गरिएको हो भने यो श्राद्ध पितृअधिकार प्राप्त गरेका व्यक्तिले मात्र गर्न पाउँछ । यसरी श्राद्ध गर्दा श्राद्धोपरान्त पुनः एउटा तीर्थश्राद्ध गर्नु वाञ्छनीय हुनेछ ।

३.२ कसैको जन्मकुण्डलीमा पितृदोष, मातृदोष वा अन्य कुनै दोषनिवारणका निमित्त त्रिपिण्डी श्राद्ध गरिंदैछ भने यो श्राद्ध पितृअधिकार नपाएका बालक वा बालिकाले कर्ता भएर गर्दा हुन्छ । तर त्यसरी श्राद्ध सम्पन्न गर्दा पिताको उपस्थिति हुनु आवश्यक हुन्छ, पिता आउने परिस्थिति नै छैन भने कम्तीमा पिताबाट आज्ञा लिएर श्राद्ध गर्नुपर्छ । विवाहित महिलाको हकमा उनले ससुराको आज्ञा लिने वा उपस्थितिमा श्राद्ध गर्दा हुन्छ ।

३.३ नङकेश सम्बन्धमा — पितृअधिकार पाएको व्यक्तिले श्राद्ध गर्ने हो भने अघिल्लै दिन अनिवार्य रूपमा मुण्डनादि कर्म गर्नु पर्दछ, तर पितृअधिकार नपाएका व्यक्तिले कपाल नखौरिए पनि हुन्छ ।

३.४ यो पितृहरूको श्राद्ध होइन, अपितु यो ज्ञात वा अज्ञात स्वरूपमा पृथ्वी, स्वर्ग र अन्तरीक्षमा भौंतारिई रहेका अनेकानेक प्रेतहरूको श्राद्ध हो । त्यसैले यसमा श्राद्धकर्ताले एकभक्ति गरेको दिनदेखि नै प्रेतत्व हुने भएकाले सकेसम्म उसले छोइछिटो बार्नु पर्दछ । श्राद्ध सकिएपछि नदीमा स्नानादि गरी उसले लगाएका यावत सामाग्री गङ्गामा वा कुनै गङ्गागामिनी नदीमा बगाइदिनुपर्दछ, अनिमात्र ऊ चोखिएको ठहर्दछ । तर यो आशौच केवल श्राद्धकर्ता र उसको पति वा पत्नीले मात्र बार्नु पर्दछ, अरुले छोइछिटो बार्नु पर्दैन ।

३.५ पूजासामाग्री र दानसामाग्री — यस श्राद्धमा प्रयोग भएका सामाग्री अन्न, नैवेद्यादिका साथमा कलश, थाली, प्रतिमादि पनि नदीमा सेलाउने चलन छ । यो प्रेतस्वरूप ब्रह्मादि देवताको पूजामा प्रयोग भएको सामाग्री भनी भारततिर कण्टा ब्राह्मण (ग्रहण वा एघारौं आदिमा दान लिने ब्राह्मण) ले मात्र दान लिने अरुले नलिने देखिन्छ । त्यहाँ त्रिपिण्डीको सामाग्री लिने ब्राह्मणलाई अरु यज्ञयागादिमा नचलाएको पनि पाइयो । तर वरण र दक्षिणामा प्राप्त सामाग्री ब्राह्मणले ग्रहण गरेको देखिन्छ । तर नेपालमा सबै सामाग्री कर्मकाण्ड गर्ने ब्राह्मणले नै लगेको देखिन्छ ।

४. त्रिपिण्डी श्राद्ध सम्पन्न गर्न आवश्यक सामाग्रीहरू —

४.१ श्राद्धकर्ताले श्राद्धको समयमा लगाउने पुरुष भए धोती, गम्छा, महिला भए सुतीको सारी, चोलो आदि  भित्री लुगासमेत सबै नयाँ धारण गर्नु पर्दछ र श्राद्धोपरान्त स्नान गरी यी लगाएका लुगा र भित्री लुगासमेत गङ्गा वा पवित्र नदीमा बगाई दिनुपर्छ ।

४.२ श्राद्धमा प्रयोग गरी सेलाउनु पर्ने सामाग्री — सुन, चाँदी र तामाको एक/एक वटा गरी ब्रह्मा, विष्णु र महेशका तीनवटा प्रतिमा, रातो, सेतो, कालो रंगको वस्त्र कम्तीमा एक/एक मीटर, तीनवटा कलश (सकेसम्म सुन, चाँदी र तामा गरी भिन्नभिन्न धातुको नत्र माटोको), कलशमाथि राख्ने कलशकै बनोटसँग मिल्ने थाली—३, पिण्ड मुछ्न चाहिने तिल, जौ र चामलको पिठो एक/एक पाउ, तीनवटा वेदी बनाउन आवश्यक बालुवा

४.३ श्राद्धमा प्रयोग गरिने अन्य वस्तुहरू — चन्दन, अक्षता, फूल, बाती, अगरबत्ती, पानको पात — १०, जनै कम्तीमा १० जोर, सुपारी कम्तीमा १० दाना, पञ्चरत्न, पञ्चपल्लव (आँप, वर, पीपल, समी र डुमरी), दही, दूध, घिउ, मह, चिनी, सस्र्युं, सर्वौषधि, सप्तमृत्तिका (सात ठाउँको माटो), तिल कम्तीमा आधा किलो, जौ एक पाउ, कुश दुई मुठा, दुना — ५०, टपरी — २०, धान, चामल, काँचो धागो, सेतो र पहेंलो वस्त्र, फुटकर पैसा — ५० पिस, सीधा र ब्राह्मणभोजनमा चाहिने आवश्यक वस्तु, नैवेद्यसामाग्री, छाता — १, जुत्ता — १ जोर, कुशासन — १, कमण्डलु — १, तामाको तिलपात्र — १, ब्राह्मणको संख्या हेरी आवश्यक संख्यामा वरणका लागि आवश्यक धोती, गम्छा, कमेज, टोपी, भित्री कपडा, जुत्ता, आसन, पञ्चपात्र, पाठ गर्ने पुस्तक आदि यजमानको इच्छानुकूल एकएक सेट, ऋतुअनुसारको फल (आवश्यकता अनुसार) र त्यसबाहेक ज्यामिर— १, छोकडा— १,  र मातुलिंग (गुलियो प्रकृतिको कागती जातकै कुनै फल)— १ अनिवार्य

४.४ दान गर्नु नपर्ने तर प्रयोग गर्ने अन्य आवश्यक वस्तुहरू —  बस्नका लागि उचित आसन, पञ्चपात्रसहित आचमनी, दियो, खगौतो (तर्पणादि कार्यका निमित्त एउटा शङ्ख), तिलानी बनाउने तामाको भाँडो, तर्पण दिने तामा वा काँसको भाँडो, लोटा, पानी राख्ने पित्तलको बाल्टी ।

५. निष्कर्ष

हरेक धर्म र सम्प्रदायमा आफ्ना दिवङ्गत माता पिता एवं पितृहरुलाई सम्मान गर्ने र स्मरण गर्ने विधि विधान र परम्परा हुन्छ । हाम्रो देशमा मात्र होइन, संसारभरि विभिन्न जातजाति र धर्मावलम्बीले आआफ्ना ढंगले पितृको स्मरण गरी राखेका हुन्छन् । कसैले दिवङ्गत पितृलाई स्मरण गर्न प्रयोग गरेको पद्धति वा विधि निश्चित वा निर्विकल्प विधि हो भनेर दावी गर्न मिल्दैन र सकिंदैन पनि । संसारमा पितृको आशीर्वादजस्तो ठूलो चिज कुनै पनि हुँदैन । एउटा भनाई छ — पितृबाट प्राप्त गरेको वस्तु देवताबाट हरण हुन सक्दैन अनि जसले जीवित अवस्थामा हुँदा पनि सेवा गरी उहाँहरुको पीड़ा र दुखमा साथ दिएको छ र खुसी राख्न सफल भएको छ भने त उसले नपाउने चिज कुनै पनि हुँदैन । यसरी उसले प्राप्त गर्ने वस्तुहरूमा राम्रो संस्कार, सत्संगति, इच्छानुकूलका सन्तति, समुचित ज्ञान र विवेक, अनुकूल जीवनवृत्ति, सकारात्मक सोच आदि पर्दछन् । अब विचार गर्नुहोस् त, कुनै व्यक्तिको निजी जीवनमा यतिमात्र भए कस्तो आनन्दमय र सुखी जीवन हुन्थ्यो । अतः जीवनमा सर्वतोमुखी सुखशान्तिका लागि श्राद्धादि पितृपूजा गर्नु वाञ्छनीय छ र जुनप्रकारले गरिएको नै किन नहोस्, पितृ प्रसन्न नै हुन्छन्, अनि पूजापाठ, दान, तर्पण, सङ्कल्प आदिबाट खुसी भएर उनीहरुले हामीलाई आशीर्वाद दिन्छन् । (आयुः प्रजा धनं विद्यां स्वर्गमोक्षसुखानि च ॥ प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिता ॥)

नेपालमा पछिल्लो समयमा प्रचलनमा आए पनि तीर्थ श्राद्ध, नारायणवली, नागवली जस्तै एउटा काम्य श्राद्धको प्रकार हो, त्रिपिण्डी । यस श्राद्धमा श्राद्धकर्ताका मृत र ज्ञात पितृहरूको श्राद्धतर्पणादि हुँदैन, बरु यसमा अज्ञात रूपमा विविधकारणले सात्विक, राजसी र तामसी स्वरूपमा स्वर्ग, अन्तरीक्ष र भूमिमै अल्झिएर बसेका र मोक्ष प्राप्त गर्न नसकेका जन्मजन्मान्तरका अज्ञात गोत्रका अज्ञात स्वरूपका र अज्ञात पितृ/प्रेतहरूको साझा श्राद्ध र पूजा गरिन्छ । त्रिपिण्डी श्राद्धको प्रयोग र व्यवहारमा केही व्यवसायीकरण देखिन्छ, अतः व्यवसायिकताबाट सतर्क भई यसको वास्तविक तथ्य बुझेर यो पितृयाग गर्नु/गराउनु वाञ्छनीय हुनेछ । अस्तु ।

No comments:

Post a Comment