Oct 5, 2017

मघा नक्षत्रले सोह्र श्राद्धलाई छेक्दैन (Magha Shraddha)

सामान्यतया चन्द्रमाको परिक्रमा मार्गमा आउने ताराहरुको समूहलाई नक्षत्र भनिन्छ । नक्षत्र चक्रमा जम्मा सत्ताईस वटा नक्षत्र हुन्छन् र यिनै सत्ताईस वटा नक्षत्रमध्ये एउटा नक्षत्रको नाम हो - मघा । नक्षत्र मण्डलमा मघा नक्षत्रको गणना दसौं स्थानमा हुन्छ । मघा नक्षत्रलाई गण्डमूल नक्षत्रको समूहमा रहेको मानिन्छ । त्यसैले यस नक्षत्रमा बालबालिकाको जन्म भयो भने जन्मकालको २७ दिनभित्र गण्डमूल शान्ति गर्ने प्रचलन छ । यस नक्षत्रमा जन्मिएका जातकहरू सामान्यतया प्रभावशाली हुने गर्दछन् । त्यस्तै श्राद्ध आफ्ना दिवङ्गत मातापितालगायत पूर्वजहरूको स्मरणका लागि श्रद्धापूर्वक गरिएको कर्म विशेष हो - श्रद्धया क्रियते यत् तत् श्राद्धम् । नक्षत्र विशेष मघा र पैतृक कर्म विशेष श्राद्धको सम्बन्ध भई मघा श्राद्ध पदावलीको निर्माण भएको छ र विशेषत: पितृपक्ष (सोह्र श्राद्ध) को द्वादशी वा त्रयोदशी तिथिको अवसरमा वर्षैपिच्छे कर्मकाण्डी पुरोहित र ज्योतिषी समुदायमा मघा श्राद्धको चर्चा भइरहन्छ । यसबाहेक कुसेऔंसीमा पनि कहिलेकाहिं मघा नक्षत्रको संयोग पाइन्छ । आज यस आलेखमा मघा श्राद्धको विवेचना गर्ने प्रयास गरिन्छ । 


मघा नक्षत्रमा पर्न जाने श्राद्ध विशेष कर्मलाई नै मघाश्राद्ध भनिएको हो । मघा शब्दको अभिधार्थ 'महान्' हुन्छ र यस नक्षत्रका अधिदेवता पितृदेव हुन्, त्यसैले पनि श्राद्धका लागि यो नक्षत्र विशिष्ट अवसर हो भन्ने बुझिन्छ । कारण जुन नक्षत्रका अधिदेवता नै पितृदेव हुन्छन्, त्यस नक्षत्रको योग भएका वेला श्राद्ध कर्म गर्न निषेधित भएको भए यस नक्षत्रका साथमा नाम जोडेर श्राद्धको नाम मघाश्राद्ध नै भनेर राखिंदैनथ्यो । महाभारतमा मघाश्राद्धको वैशिष्ट्य उल्लेख गर्दै बताइएको छ - अपि नः स कुले जायाद्यो नो दद्यात्त्रयोदशीम् । मघायां सर्पिषा युक्तं पायसं दक्षिणायने ॥ (मघायुक्त त्रयोदशी तिथि पर्दा र अघिपछि पनि मह र घिउले युक्त खिर वा पिण्ड दिने व्यक्ति आफ्नो कुलमा जन्मियोस् भनेर पितृहरूले कामना गरेका हुन्छन् ) । त्यसरी नै अन्य विभिन्न पुराण र धर्मशास्त्रहरूमा पनि मघाश्राद्धको वैशिष्ट्य उल्लेख गरिएको भेटिन्छ र लेखिएको पनि छ -

कृष्णपक्षे त्रयोदश्यां मघास्विन्दूः करे रविः। यदा तदा गजच्छाया श्राद्धे पुण्यैरवाप्यते॥

कृत्यचिन्तामणि 

 शरत्कृष्णत्रयोदश्यां मघायां श्राद्धवासरे। स्वधां संपूज्य यत्नेन ततः श्राद्धं समाचरेत्॥

देवीभागवत ९।४४।२१

प्रौष्ठपद्यामतीतायां मघायुक्तां त्रयोदशीम्। प्राप्य श्राद्धं हि कर्त्तव्यं मधुना पायसेन च ॥

मनुः

पितरः स्पृहयन्त्यन्नमष्टकासु मघासु च। तस्माद्दद्यात् सदोद्युक्ता विद्वत्सु ब्राह्मणेषु च ॥

विष्णुधर्मोत्तर

नवोदके नवान्ने च गृहप्रच्छादने यथा । पितरः स्पृहयन्त्यन्नमष्टकासु मघासु च ॥

तिथ्यादितत्त्व

मघा वै पितृनक्षत्रं पितॄणां प्रीतिदं परम् । तत्र श्राद्धं तु प्रीणाति दत्तं पुत्रैर्मुदान्वितैः ॥


स्कन्दपुराण २।२।३४।२०

त्यसैले के बुझ्नुपर्छ भने मघाश्राद्ध एक किसिमको उत्कृष्ट श्राद्ध कर्म हो ।

अब मघा श्राद्धको वैशिष्ट्य बुझ्न हामीले ज्योतिष र नक्षत्रविज्ञानका केही प्रसङ्गहरूलाई पनि बुझ्नु आवश्यक हुन्छ, सुरुमा यो प्रसङ्ग कोट्याऔं, त्यसपछि श्राद्धको प्रायोगिक पक्षको चर्चा गर्नेछु ।

पृथ्वीमा गरिने यज्ञ आदि अनुष्ठान सूर्यमण्डलमा पुगेर त्यहाँबाट जुनजुन देवतालाई आह्वान गरिएको/दिइएको हो त्यसत्यस ठाउँमा पुग्दछ । हामीले देवताहरूलाई यज्ञमार्फत दिएका पदार्थ सूर्यद्वारा द्युलोकस्थित देवताहरूको तृप्तिका निम्ति वितरित हुन्छ, किनभने देवलोक सूर्यकक्षमा विद्यमान छ तर पितृलोक चन्द्रमण्डलमा स्थित भएको हुनाले हामीले श्राद्धमार्फत दिएका पदार्थहरू पहिले सूर्यका किरणहरूले सूर्यबाट चन्द्रमण्डलमा पुर्याउँछन्, यसपछि पितृलोकमा पुगी पितृहरूको तृप्ति हुन्छ । सुन्दा, बुझ्दा, जान्दा, पढ्दा, देख्दा हरेक हिसाबमा धर्मसँग जोडिएको देखिने हिजोआज चल्दै गरे यो सोह्रश्राद्ध धार्मिक पक्षसँग मात्र हैन ज्योतिष र विज्ञानका प्रामाणिक प्रविधिसँग पनि गाँसिएको पाइन्छ । हाम्रो सनातन संस्कृतिमा प्रत्येक वर्षको असोजको पूर्वार्द्धमा पर्ने कृष्णपक्षमा वा असोज महिनामा पर्ने औंसीअघिको पन्ध्र दिनको अवधिमा आआफ्ना पितृहरूको स्मृतिमा तिनको मरण तिथि समाती समस्त पितृ र पूर्वजहरूलाई पिण्ड, पानी, सिधा, ब्राह्मण भोजन, अतिथी सत्कार आदि कृत्यहरू सम्पादन गर्ने प्रावधान छ । स्कन्दपुराणको ब्राह्मखण्ड अन्तर्गतको सेतु माहात्म्यमा पितृपक्षको महिमाको उल्लेख छ, जसमा ‘हाम्रा छोरा–नाति हाम्रो तृप्तिका लागि सत्पात्र र ब्राह्मणहरूलाई भोजन गराउँछन् भनी प्रत्येक वर्षको पितृपक्ष आएपछि देवस्वरूप पितृहरू हर्षले नाच्न थाल्छन् र भन्दछन् - हाम्रा सन्ततिले प्रदान गरेको भोजनले गर्दा हामीले अत्यन्त दारूण नरकको क्लेश भोग्नुपर्दैन र जबसम्म सूर्य चन्द्र रहन्छन् हामी स्वर्गमा बस्न पाउँछौं' भनी लेखिएको पाइन्छ ।

ज्योतिष विज्ञान र आधुनिक खगोलशास्त्रले समस्त ब्रह्माण्डलाई बाह्र वटा राशि र सत्ताईस वटा नक्षत्रको चक्रमा विभाजन गरेको छ । सूर्यलाई केन्द्रमा राखी समस्त ग्रहहरूले यस ब्रह्माण्डको परिक्रमा गर्दछन् । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्दै जाँदा यहाँबाट देखिने ब्रह्माण्डका विभिन्न भागमा हामीले सूर्यको उपस्थिति प्राप्त गर्दछौं । यसरी सूर्यको पृष्ठभूमिमा ब्रह्माण्डको जुनजुन भागको दृश्य देखिन्छ, त्यसै आधारमा यस विश्वब्रह्माण्डको वर्ष, ऋतु, मासलगायत समस्त प्रकृतिको सञ्चालन हुने गर्दछ । यसै आधारमा हाम्रा रहनसहन, मौसम, प्रकृति, चाडपर्व र मान्यता सञ्चालित भएका हुन्छन् । यो कुनै धर्म वा समुदाय विशेषमा होइन, सबैमा लागू हुन्छ । चलन र पद्धति फरक हुनसक्छन्, तर ऋतुचक्रमा आउने यो परिवर्तनको अनुभूति सबैले आआफ्ना किसिमले गरिरहेका हुन्छन् । वैशाख महिना वसन्त ऋतुको मध्यकालमा पर्दछ, यस समयमा प्रकृतिको नवीनतम सुषमा र लावण्यको अनुभूति सबैले गर्न पाएका हुन्छन् । नयाँ उमङ्ग र उत्साहका साथमा परिवर्तन हुने प्राकृतिक सौन्दर्यमात्र होइन, पृथ्वीका यावत् चराचर सृष्टिमा वसन्तको छटा यस अवधिमा देख्न पाइन्छ । ज्योतिषशास्त्रले यस समयको सूर्यलाई मेष राशिमा रहेको मान्ने गर्दछ । जसरी दिनको सुरुवातमा मानिसमा उच्च अभिलाषा र आकाङ्क्षा जागृत हुन्छ, त्यसरी यस समयको सूर्यलाई उच्च सूर्य मान्ने गरेको पाइन्छ । ज्योतिषको समयचक्र पनि मेष राशि र अश्विनी नक्षत्रका साथमा सुरु हुन्छ । त्यसपछि सूर्यले हरेक तेह्र वा चौध दिनको अन्तरमा नक्षत्र र हरेक एक महिनाको अन्तरालमा राशि परिवर्तन गर्दछ, जसको प्रभाव मानव जीवनमा पनि पर्ने गर्दछ । पृथ्वीले सूर्यको एक परिक्रमा पूर्ण गर्दा यसले आफ्नै वृत्तमा तीन सय पैंसट्ठी (३६० ?) फन्को मारिसकेको हुन्छ । यसरी ऋतु परिवर्तनको एउटा समयावधि पूर्ण हुन्छ, जसलाई हामी एक वर्ष भएको ठान्दछौं । पृथ्वीलोकमा बस्ने भएकाले हाम्रो जीवनचक्रमा यसका गतिविधिको प्रभाव पर्ने गर्दछ । तर हाम्रा मृत पूर्वजहरू द्युलोकमा निवास गर्दछन् । पितृलोक द्युलोकको दक्षिणी दिशामा अवस्थित छ, त्यसैले पृथ्वीको एक वर्षको अवधिमा सूर्यले आफ्नो वृत्तमा केवल एक फन्को मात्र मारेको हुन्छ । अतः सूर्यका आधारमा त्यो समय त्यहाँका बासिन्दाका लागि केवल एक दिनको समय भयो । अतः मनुष्यहरूको एक वर्ष देवता र पितृहरूको केवल एक दिन हुन्छ भनिएको हो ।

वर्ष दिनको अवधिमा पनि छ महिनाका लागि सूर्यले उत्तरी दिशाको र छ महिनाका लागि दक्षिणी दिशाको यात्रा गरेको देखिन्छ । हामी पृथ्वीको उत्तरी गोलार्द्धमा बस्दछौं, यहाँ सामान्यतया माघदेखि असारसम्म उत्तरायण र साउनदेखि पुससम्म दक्षिणायन भएको देखिन्छ । उत्तर दिशामा देवता (आर्य) हरूको र दक्षिण दिशामा अनार्य (राक्षस, दैत्य र पितृ) हरूको निवास स्थल छ । हामीले गर्ने प्रत्येक कर्मका प्रत्यक्ष साक्षी सूर्य हुन् । त्यसैले हाम्रा प्रत्येक शुभ कर्महरू सूर्यको उपस्थितिमा प्राप्त हुने प्रकाशको मद्दतले दिनको समयमा गर्ने नियम छ । अतः हामीले गरेका कर्मका प्रत्यक्ष साक्षी भएका सूर्यले हाम्रा भोजन वा अन्य वस्तुको रस, रूप र गन्धको आस्वादन स्वतः गरिरहेका हुन्छन् । माघदेखि असारसम्म सूर्यले उत्तरतर्फको यात्रा गर्दा उनी ब्रह्मलोकसम्म पुग्छन्, उनी ब्रह्मलोकमा पुग्ने समय उत्तरायणको मध्यबिन्दूमा पर्ने वैशाख महिना हो । त्यसैले वैशाखका सूर्य (मेष राशिका सूर्य) लाई उच्च मानिएको हो । त्यस्तै साउनदेखि सूर्यको दक्षिणको यात्रा प्रारम्भ हुन्छ र उनी यसको मध्यकालमा पितृलोक हुँदै यमलोक अर्थात् नरकमा पुग्दछन्, उनी नरकमा पुग्ने समय कार्तिक महिना हो । त्यस वेला (तुला राशिमा सूर्य रहेको समयावधि) को सूर्यलाई नीच मानिन्छ । पितृलोक यमलोक नजिकै रहेको छ भन्ने भनाइलाई आधारमान्दा कार्तिकभन्दा ठिक एक महिनाअघि सूर्यले पितृलोकको भ्रमण गरेका हुन्छन, जुन समय असोज महिना हुन्छ । त्यसै कारणले यस सनातन संस्कारमा उत्तरायणमा देवता विशेषका लागि शुभ कर्म र दक्षिणायनमा पितृविशेषका शुभ कर्म गर्ने विधान रही आएको हो । मनुष्यको प्रकृति देवताहरूसँग मिल्दोजुल्दो भएकाले उत्तरायणमा हामी कुनै किसिमको डर, त्रास वा विघ्नद्वारा प्रताडित र सशङ्कित हुँदैनौं तर दक्षिणायनमा सूर्यले दानवलोकको यात्रा गर्ने भएकाले स्वभावतः हामी त्रसित र सशङ्कित हुने समय आइलाग्छ, अतः आशीर्वाद, शक्ति र सामर्थ्य बढाउन पूर्वज (ऋषिकुल र पितृदेवता), प्रकृति (नागदेवता, मातृशक्ति, काग, कुकुर, गाइ, गोरू आदि) र सुखसम्मृद्धि (लक्ष्मी) आदिको आराधना र भक्तिभाव गर्ने गर्दछौं । अब स्पष्ट हुन्छ, सूर्य उत्तरतर्फ गएका बेला उनको र देवताको सामीप्य हुन्छ, अनि दक्षिणतर्फ पुगेका वेला उनको र दैत्य, नाग, पितृ, यमराज आदिको सम्बन्ध कायम हुन्छ ।

सूर्य सौरमण्डलको आत्मा हो र यसविना सौरमंडलको अस्तित्वको सम्भावना छैन अर्थात् जीवनका निम्ति जेजति आवश्यक वस्तुहरू छन् ती सबैमा सूर्यको अधिकार हुन्छ । सूर्यको प्रभावबाट नै पृथ्वीसँग त्यो शक्ति सञ्चित छ जसका कारण वायु र जल पृथ्वीको सतहमा उपलब्ध भएका छन् र हामीलाई भोजन प्रदान गर्ने वनस्पतिसमेत यहाँ अस्तित्ववान् रहेको छ । सूर्य मनुष्य जीवनको मस्तिष्कको कारक ग्रह हो र यसले व्यक्तिको निर्णयक्षमता, सरकारी कामकाज, ऊर्जा उत्पादन, औषधीसित जोडिएका व्यवसाय, वित्तीय कारोबार, अन्नको व्यवसाय, प्रकाश प्रदान गर्ने चिजबिज आदिमा प्रत्यक्ष भूमिका निर्वाह गर्दछ । त्यस्तै चन्द्रमालाई मनको कारक मानिन्छ र यसले मनुष्य जीवनमा बुद्धि, सुगन्ध, आन्तरिक रोग, मानसिक पीडा, महिला, निद्रा, खुसी, तरल पदार्थ, दुग्धजन्य पदार्थ आदिको कारकत्व निर्वाह गरेको हुन्छ । समस्त ब्रह्माण्डमा सूर्यको अधिकार हुन्छ भने नक्षत्रमण्डलमा चन्द्रमाको स्वामित्व रहेको हुन्छ । यस नक्षत्रमण्डलमा सत्ताईस वटा नक्षत्र हुन्छन् । प्रत्येक नक्षत्रका आआफ्ना अधिष्ठाता देवता छन् । सूर्यले प्रत्येक नक्षत्रमा प्रवेश गरेका वेला ती देवताहरू र सूर्यको सामीप्य बढ्दछ । नक्षत्रहरूमध्ये भरिणी नक्षत्रका यमराज, मघा नक्षत्रका पितृदेव, उत्तराफाल्गुनी नक्षत्रका अर्यमा र उत्तराषाढा नक्षत्रका विश्वदेव अधिष्ठाता देवता हुन् । यी चारै जना अधिदेवताको कुनै न कुनै रूपमा पितृहरूसँग सम्बन्ध रहेको पाइन्छ । त्यसैले हुनसक्छ, भरिणीको छेउछाउमा सूर्य र चन्द्रमाको संयोग हुने समय मातातीर्थ औंसी, मघा नक्षत्रको छेउछाउमा सूर्य र चन्द्रको मिलन हुने समय कुसे औंसी, उत्तराफाल्गुनी नक्षत्रका साथमा सूर्य र चन्द्रमाको मिलन हुने समय जमरे औंसी र उत्तराषाढा नक्षत्रको छेउछाउमा सूर्य र चन्द्रमाको भेट हुने समय पौषे औंसी हाम्रा लागि पितृकर्म गर्ने प्रमुख समय बन्न पुगेका हुन् । ती चार जना अधिष्ठाता देवताहरूमध्ये पनि अर्यमा दिव्य पितृहरूका प्रमुख हुन् । त्यसैले सूर्य र अर्यमाको भेट हुने प्रमुख समय आश्विन कृष्ण पक्षमा पर्न जाने देखिन्छ । अतः यो सम्पूर्ण पक्ष नै श्राद्ध कर्मका लागि विशिष्ट पक्ष बन्न गएको हो ।

चन्द्रमा स्वयं प्रकाशमान पिण्ड होइन । सूर्यको सुषुम्णा नामक किरणले चन्द्रमालाई प्रकाशित गराइरहेको हुन्छ । औंसीको दिन यी दुवैको सान्निध्यताको कारण पितृहरूले हामीले दिएका पदार्थ जसरी पाउँछन्, त्यसरी नै सूर्य कन्या राशिमा हुँदा श्राद्ध गर्नु वैज्ञानिक दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ । त्यस्तै मघा नक्षत्र सिंह राशिको क्षेत्रमा पर्ने पहिलो नक्षत्र हो । सिंह राशिलाई राशिचक्रका बाह्र वटा राशिमध्ये सूर्यको आफ्नो राशि मान्ने गरिन्छ, त्यस्तै यस नक्षत्रका अधिष्ठातृ देवता पितृदेवलाई मान्ने गरिन्छ । त्यसैले मघा नक्षत्रसँग सूर्य र पितृ दुबैको प्रत्यक्ष सम्बन्ध छ । हामीले श्राद्धादिमा प्रयोग गर्ने अन्नरसादिमा सूर्यको जति बढी सान्निध्यता हुन्छ, त्यति नै बढी सूर्यले त्यसको शोषण गरी आफ्ना सुषुम्णा नामक किरणका माध्यमले चन्द्रमालाई प्रदान गर्ने हुँदा र पितृलोक चन्द्रमण्डलमा रहेकाले त्यो अन्नरसादिको मात्रा पितृलोकमा चाँडै पुग्ने सम्भावना हुन्छ । त्यसैले मघा नक्षत्रमा गरिएको श्राद्धको श्रद्धा र त्यसमा प्रयोग गरिएका द्रव्यजलादिको पोषकत्व पितृलोकमा झन् छिटो पुग्ने देखिन्छ ।

अब मघा श्राद्ध किन विशिष्ट हो भन्ने प्रसंगमा थोरै श्राद्धको प्रायोगिक पक्षलाई पनि विचार गरौं । श्राद्ध दिवङ्गत भएका मातापिता लगायतको मृत्यु भएको तिथि विशेषमा गर्ने प्रचलन छ । यो तिथि चान्द्रगणनामा आधारित पञ्चाङ्गबमोजिम निर्धारित हुन्छ । शास्त्रमा श्राद्धका अन्य धेरै भेद बताइए पनि एकोद्दिष्ट, एकपार्वण, पार्वण, आभ्युदयिक र तीर्थश्राद्ध सामान्यतः व्यवहारमा परिरहने श्राद्ध हुन् । सनातन धर्मावलम्बी गृहस्थीले दिवङ्गत पितृहरूलाई लक्ष्यित गरी प्रत्येक दिन तर्पण दिने र विभिन्न ९६ अवसरमा एक वर्षमा कम्तीमा ९६ पटक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । ती ९६ किसिमका श्राद्ध निम्नानुसार छन् :-

बाह्र महिनामा पर्ने प्रत्येक औंसीका दिन =                                                  १२ वटा श्राद्ध
सत्य, त्रेता, द्वापर र कलि युगका बेग्लाबेग्लै युगादि तिथि =                             ४ वटा श्राद्ध
चतुर्दश मन्वन्तरका मन्वादि तिथि =                                                           १४ वटा श्राद्ध
प्रत्येक महिनाको संक्रान्तिका दिन वर्षभरिमा =                                          १२ वटा श्राद्ध
प्रत्येक महिनामा पर्ने वैधृति योगका दिन गरिने श्राद्ध वर्षभरिमा =                 १२ वटा श्राद्ध
प्रत्येक महिनामा पर्ने व्यतिपात योगका दिन गरिने श्राद्ध वर्षभरिमा =            १२ वटा श्राद्ध
पितृपक्ष (आश्विन कृष्ण पक्ष, सोह्रश्राद्धमा पर्ने ) =                                        १५ वटा श्राद्ध
अष्टका श्राद्ध =                                                                                          ५ वटा श्राद्ध
अन्वष्टका श्राद्ध =                                                                                      ५ वटा श्राद्ध
पूर्वधू श्राद्ध  =                                                                                           ५ वटा श्राद्ध


यसरी वर्षभरि गर्नुपर्ने श्राद्ध ९६ वटा रहेको भए पनि यिनलाई विधिवत् सम्पादन गर्न कठिनाइ हुने भएकाले केही थोरै श्राद्धलाई गृहस्थीका लागि अनिवार्य मानिएको पाइन्छ । ती श्राद्धमध्ये बाबुपट्टिका तीन पुस्ता बाबु (पिता), बाजे (पितामह), बराजु (प्रपितामह) र आमाहरू तीनपुस्ता आमा(माता), बज्यै (पितामही) र बराज्यै (प्रपितामही) गरी ६ जना पूर्वजहरूको मृत भएको तिथि समातेर गरिने एकोद्दिष्ट श्राद्ध = ६ र महालय सोह्रश्राद्ध अन्तर्गत आश्विन कृष्णपक्ष पितृपक्षमा भएका १५ दिनमध्ये बाबु, बाजे र बराजुमध्ये कुनै एक जनाको तिथि समातेर गरिने महालय श्राद्ध = १ समेत सातवटा श्राद्ध गृहस्थीले गर्नैपर्ने चर्चा विभिन्न निर्णयग्रन्थमा गरिएको पाइन्छ । यद्यपि अहिलेको व्यस्त दिनचर्यामा सरलता ल्याउन हिजोआज पिता र माताको छिन्नेतिथिका दिन गरिने एकोद्दिष्ट श्राद्ध र एक दिन महालय समेत गरी तीनवटा श्राद्ध चाहिं गरिंदै आएको देखिन्छ । यस बाहेक घरमा विवाह, ब्रतबन्ध, पुराणादि ठूलठूला यज्ञयागादि हुनुपूर्व आभ्युदयिक (बृद्धि वा नान्दी) श्राद्ध पनि गर्ने चलन छ । भ्रमण, पर्यटन वा तीर्थाटनका अवसरमा तीर्थमा पुगेर वा पर्व विशेषका तिथि जस्तै मातातीर्थ औंसी, मातृनवमी, कुसे औंसी, पौखे औंसी विशेषमा पनि तीर्थमा पुगेर गरिने श्राद्धको चलन पनि छ । यसरी सनातन परम्परामा आफ्ना पूर्वज र दिवङ्गत पितृहरूलाई किसिमकिसिमका श्राद्धकर्मद्वारा सम्झिने चलन छ र यो अनिवार्य पनि छ, किनकि ये न्यासाद्यपहर्तारो रत्नापह्नवकारकाः। श्राद्धकर्मविहीनाश्च तेषां वंशो न वर्धते (सङ्कल्प गरी दिइएको धनहरण गर्ने व्यक्तिको, रत्न र धातु हरण गर्ने डाकाको र श्राद्धकर्मबाट विहीन व्यक्तिको वंशमा उन्नति प्रगति हुँदैन) भनिएको छ ।

यसरी गरिने श्राद्धका दिनहरूमध्ये मघा नक्षत्रको संयोग पर्यो भने त्यसदिन ब्राह्मणहरू गम्भीर हुने गर्दछन् वा अलि हच्किने चलन पनि छ । मघा नक्षत्र परेको समयमा श्राद्ध गरेमा सन्तानहानि जस्तो अशुभ फल प्राप्त हुने कुरा धर्मशास्त्रका विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । जस्तै :-

मघायां पिण्डदानेन ज्येष्ठपुत्रो विनश्यति ॥

मलमास तत्त्वम्

मघायुक्तत्रयोदश्यां पिण्डनिर्वपणं द्विजः । ससन्तानो नैव कुर्यान्नित्यं ते कवयो विदुः ॥

बृहत्पराशरः

तत्रापि महती पूजा कर्तव्या पितृदेवते । ऋक्षे पिण्डप्रदानन्तु ज्येष्ठपुत्री विवर्जयेत् ॥

देवीभागवत


अतः सन्ततिको विस्तार र उन्नतिको आकाङ्क्षाका साथमा गरिने श्राद्धमा सन्ततिको विनाश हुने भयले मघा श्राद्धलाई हेय दृष्टिले चर्चा गर्ने गरिएको हो । तर महाभारतको अनुशासन पर्वमा स्पष्टसँग लेखिएको छ -

अपि नः स कुले जायाद्यो नो दद्यात्त्रयोदशीम् । मघासु सर्पिषा युक्तं पायसं दक्षिणायने ॥
आजेन वापि लौहेन मघास्वेव यतव्रतः । हस्तिच्छायासु विधिवत्कर्णव्यजनवीजितम्॥

(नियमपूर्वक व्रतको पालना गरेर मघा नक्षत्रमा हात्तीको शरीरको छायाँमा बसेर हात्तीकै कानद्वारा हात्तीको शीतल हावामा अन्नविशेष चामलले बनेको पायस (खीर) अथवा लौहशाकको श्राद्धको अपेक्षा पितृहरूले गर्दछन्) 

ज्योतिषशास्त्रमा र विभिन्न ज्योतिषीय प्रयोगमा समेत मघा श्राद्धको महत्त्व अझ धेरै भएको बताइएको छ । ज्योतिषशास्त्रको प्राचीन मान्यता छ, जुनसुकै मघा नक्षत्रमा गरिएको पुण्यकार्यको फल अत्यधिक हुन्छ, यसबाट जन्मजन्मान्तरदेखि सञ्चित पापराशि र कुलपितृ एवं भूतप्रेतबाधाबाट प्राप्त भएका श्रापको निवृत्ति हुन्छ । मघा नक्षत्रमा गरिएको दान एवं कर्मले पितृहरुलाई लाभ हुन्छ तथा कुल र पितृको आशीर्वाद प्राप्त भई जीवनमा सुख तथा समृद्धिको आगमन हुन्छ । जसको कुण्डलीमा सूर्य नीच घरमा छ (प्रत्येक वर्ष कार्तिक महिनामा जन्मने जातकको कुण्डलीमा सूर्य नीच हुन्छ), सूर्यका साथमा राहु, केतु वा शनिश्चर ग्रह बसेको छ वा सूर्य लग्न, चतुर्थ, अष्टम वा द्वादश भावमा बसेको छ, त्यस्ता जातकले मघा श्राद्ध गरे/गराएमा अल्पायुष्य वा अकाल मृत्युको भय नाश हुनुका साथै तत्तद् अवस्थामा प्राप्त हुने सूर्यको अरिष्ट दोषको निवारण हुन्छ । मघा श्राद्ध एक किसिमको सूर्योपासना हो, त्यसैले कसैको घरमा कोही आफन्त विषपान, आत्महत्या, जल वा अग्निप्रकोप आदि दुर्घटनामा परी मरेका छन् भने त खोजीखोजी कुनै पर्व विशेषमा वा आश्विन कृष्णमा पर्ने  मघा नक्षत्र र कुसे औंसीमा पैतृक कर्म सम्पादन गर्नु अनिवार्य मानिन्छ । कुनै पनि मघा नक्षत्रको संयोग बनाएर द्वादश ज्योतिर्लिङ्गमध्ये एक मानिने त्र्यम्बकेश्वरमा गरिएको त्रिपिण्डी श्राद्धको महत्त्व अझ बढी रहेको बताइन्छ ।

सारांशमा मघा श्राद्ध निकृष्ट वा अधम श्राद्ध होइन, यो एउटा विशिष्ट श्राद्ध नै हो, अनि अनिवार्य अवस्थामा गर्नुपर्ने श्राद्ध परेमा मघा नक्षत्र परेको वेलामा पनि गरेमा कुनै हानिनोक्सानी ब्यहोर्नु पर्दैन पनि । तर काम्यश्राद्ध वा अन्य कुनै ऐच्छिक श्राद्धमा मघा तिथि परेमा श्राद्ध नगर्नु राम्रो हुन्छ । त्यसैले मेरो विचारमा माथिका शास्त्रीय प्रमाणलाई आधार बनाएर भन्ने हो भने मघाश्राद्ध विशेष किसिमको काम्य श्राद्ध हो, हामीले वार्षिक, एकोद्दिष्ट वा महालयादिमा गर्ने श्राद्ध त्यो विशेष मघाश्राद्ध होइन, अतः मघा नक्षत्रले छुनासाथ श्राद्ध रोक्नुपर्छ, गर्नुहुँदैन भन्नु ठिक होइन, अतः तलको अवस्थामा मघा नक्षत्र परेमा पनि सबैले (पुरोहित र श्राद्धकर्ता दुबैपक्षले) श्राद्ध सम्पन्न गरेमा कुनै किसिमको दोषको भागी बन्नुपर्दैन ।

१) माता, पिता वा कुनै व्यक्ति विशेषको मृत्यु भएको तिथिकै दिन मघा तिथि पर्यो भने एकोद्दिष्ट श्राद्ध गर्न मघा तिथिले असर पार्दैन, गरे हुन्छ ।
२) जुठोसूतकले कुनै श्राद्ध रोकिएको छ र सूतकान्त श्राद्ध गर्ने दिन मघा नक्षत्र रहेछ भने त्यस्तो श्राद्ध गर्दा मघा तिथिले असर पार्दैन, गरे हुन्छ ।
३) कुनै विशेष पर्व विशेष कुसेऔंसी आदिमा वा अन्य कुनै विशेष पर्व समातेर तीर्थमा गएर गरिने तीर्थश्राद्धका दिन मघा नक्षत्र परेको रहेछ भने श्राद्ध गर्दा मघा तिथिको संयोग पर्यो भने अझ उत्कृष्ट फलप्राप्ति हुन्छ, त्यसले कुनै असर पार्दैन ।
४) महालय श्राद्धमा सामान्यतया द्वादशी, त्रयोदशी र यदाकदा चतुर्दशी श्राद्धको समयमा मघा तिथिको संयोग जुर्दछ, तपार्इंले पिता, पितामह (बाजे) वा प्रपितामह (बराजु) को निश्चित तिथि समातेर नियमित ढंगले श्राद्ध गर्दै आउनु भएको छ र कुनै वर्ष मघा नक्षत्र पर्दछ भने तपार्इंले श्राद्ध गर्दा कुनै दोषको भागी बन्नु पर्दैन ।
५) तपाईंले संयोगवश आफ्नो जेठो छोरोको शोक व्यहोरिसक्नु भएको छ भने अब जुनसुकै मघा श्राद्ध गर्न बाधा छैन । अस्तु ।।

No comments:

Post a Comment