Nov 1, 2017

धनतेरस पर्वको परम्परा र महत्त्व

सहप्रा. कृष्णप्रसाद कोइराला
पिण्डेश्वर क्याम्पस, धरान

मिति २०७४ असोज ३१ गतेको 'नयाँ पत्रिका' दैनिकमा प्रकाशित लेख
प्रत्येक पर्वको सम्बन्ध आममानिसका दैनन्दिनी र क्रियाकलापसँग जोडिएका हुन्छन् । मानवविकासको यात्रा सुरु भएदेखि प्रचलन र परम्पराका रूपमा विकसित भएका प्रत्येक चाडपर्वले सांसारिक जीवन र जीजीविषालाई उत्साह र प्रेरणा प्रदान गरिरहेका हुन्छन्, जसको अनुसरण प्रत्येक पुस्ताले अनायासै गरिरहेको हुन्छ । सनातन संस्कृतिमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र आफूस्वयंको पूजा गरी सबै प्राणीलाई सम्मान गर्न सिकाउने पर्व तिहार प्रत्येक वर्षको कार्तिक महिनामा पर्ने यमपञ्चकमा मनाउने चलन छ । यो पर्व अँध्यारोबाट उज्यालोतिर लिएर जाने प्रकाशको उत्सव हो । जडतारूपी औंसीको रातलाई चेतनारूपी बत्ती बालेर चुनौती दिने हुनाले यस चाडलाई दीपावली, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व आदि नामबाट समेत सम्बोधन गर्ने गरिन्छ । प्रकाशको यो पर्व तिहार पनि अन्य चाडपर्वजस्तै ऋतुपरिवर्तनको खुसियालीमा मनाइने चाड हो । समय, काल र परिवेशअनुरूप भिन्नभिन्न समुदायका व्यक्तिहरूले यस पर्वलाई आफ्नो मौलिक रङ्गमा घोलेर मनाउने गर्दछन् । त्यसैले आधार र सारतत्त्व एउटै भए पनि यस पर्वलाई फरकफरक ढंगले मनाउन थालिएको हो । विधिविधान र प्रचलनमा विविधता देखिए पनि यस पर्वको सार उज्यालो, सुखसम्मृद्धि, आरोग्यता, सुख र विलासितापूर्ण आनन्दी जीवन आदिसँग जोडिएको पाइन्छ ।

तिहारको यो पर्व कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिबाट प्रारम्भ हुन्छ । हिन्दूसंस्कृतिमा यस दिन यमपञ्चक प्रारम्भ भएको दिन मानिन्छ । प्रत्येक प्राणीलाई कर्मअनुसारको फल भोगाउने काममा खटिएका यमराज यमपञ्चकको यस अवधिमा आफ्नो कामबाट पाँच दिनका लागि छुट्टी लिई चित्रगुप्तलाई आफ्नो सारा काम जिम्मा लगाएर आफ्नी बहिनी यमुनाकहाँ जान्छन् भन्ने शास्त्रीय कथा छ । त्यसैले यसलाई यमपञ्चक भनिएको हो र यसै दिनबाट पाँच दिनसम्म तिहारका विविध कृत्यहरू सम्पादन हुन्छन् । तिहारको प्रारम्भकै दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीका दिन खासगरी भारत र नेपालको सहरी परिवेशमा किनमेल गर्ने दिनका रूपमा धनतेरस पर्व मनाउने गरिन्छ । सायंकालमा किनमेल गर्न फुर्सदिलो समय हुने धारणानुरूप तिथिको घटबढका कारण कुनै वर्ष यो पर्व यमपञ्चक प्रारम्भ हुनु एक दिन अघि अर्थात् द्वादशीकै दिन पनि पर्ने गर्दछ । पारिवारिक सुखका लागि भाँडाकुडा र गरगहनाको अपरिहार्यता भएकाले हरेका गृहस्थीले धनकी अधिष्ठात्री लक्ष्मीको पूजनोत्सव मनाउने पूर्वसन्ध्यामा पर्ने धनतेरसका दिन नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । विशेष गरी सहरी क्षेत्रमा बसोबास गर्ने सबै तह र तप्काका मानिसहरूले यस परम्पराको अनुसरण गर्दै आआफ्नो गच्छेअनुसार घरायसी आवश्यकताका सरसामाग्रीको किनमेल गर्दछन् । भाँडाकुडा र गरगहनाका अतिरिक्त विलासिताका निमित्त प्रयोग हुने मोटरवाहन र इलेक्ट्रोनिक सरसामग्रीको खरिददारीका निमित्त समेत धनतेरसको यो विशिष्ट दिनको उपयोग गर्ने गरिन्छ ।

यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन । धनतेरसको सम्बन्ध धनका देवता कुबेर र आयुर्वेदका प्रवर्तक धन्वन्तरिसित रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम यो दिन यी दुबैको जन्मदिन हो । धन्वन्तरि आरोग्यका देवता तथा कुबेर धनधान्य र सम्मृद्धिका देवता भएकाले यो दिन सम्पत्ति अभिबृद्धिका निमित्त उपयुक्त ठहर्याइएको हुनुपर्छ । मूलतः धन्वन्तरिलाई आयुर्वेदका जन्मदाता मानिन्छ । उनले संसारभरिका वनस्पतिको अध्ययन र अनुसन्धान गरी राम्रो र नराम्रो प्रभाव र गुणको पहिचान गरेका थिए । उनको जन्मप्रसङ्गका सम्बन्धमा पुराणहरूमा मतमतान्तर पाइन्छ । एउटा मतमा उनी काशीका राजा धन्वका छोरा थिए, काशीका अर्का प्रतिष्ठित राजा दिवोदास यिनका नाति थिए भन्ने भनाइ छ । तर अर्को प्रसङ्गानुसार उनी समुद्रमन्थनका क्रममा भगवान् विष्णुका अंशावतारका रूपमा उत्पन्न भएका थिए । हातमा अमृतले भरिएको स्वर्णकलश लिएको स्वरूपमा उनको उत्पत्ति भएको थियो । समुद्र मन्थनकै क्रममा उनीभन्दा पहिले माता लक्ष्मी आविर्भाव भएकी हुँदा उनी लक्ष्मीका सहोदर भाइ मानिन्छन् । कतिपय प्रसङ्गमा यिनलाई आयुको छोराका रूपमा समेत चिनाइएको देखिन्छ । उनले धन्वन्तरि संहिता नामक आयुर्वेद सम्बद्ध ग्रन्थको रचना गरेका थिए अनि उनकै शिष्य परम्परामा सुश्रुत, चरक आदि आयुर्वेदका विद्वान्हरू रहेका देखिन्छन् । यिनको जीवनको सबैभन्दा ठूलो उपलब्धी भनेको जरा (बुढ्याइँ) र मृत्युको निवारण गर्ने अमृतको वैज्ञानिक प्रयोग हो । त्यसैले धन्वन्तरिको सम्बन्ध स्वस्थ र सम्पन्न जीवनसँग जोडिएको हो । अमृतले भरिएको कलश हातमा लिई धन्वन्तरिको प्रादुर्भाव भएकोले हुनसक्छ, यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

परम्पराअनुसार धनतेरसका दिन यमपञ्चक पनि प्रारम्भ हुन्छ, त्यसैले यस दिन साँझको समयमा यमराजको स्वागतार्थ एउटा दियो बाली घरको मूल दैलोबाहिर बाटोमा राख्ने चलन छ । यस दिन बहिनी यमुनाको निम्तो मान्न यमलोक (नरक) का सबै काम बन्द गरी यमराज पृथ्वीतलमा ओर्लन्छन् । बहिनीका घरतर्फ हिंडेका कालका देवता यमराज झुक्किएर आफ्ना घरमा नपसून् अर्थात् परिवारका कुनै सदस्यलाई शारीरिक रोगव्याधि र दुःखकष्ट नहोस् भनेर उनको प्रसन्नताका लागि त्यसरी घरबाहिर बत्ती बालिएको हो । धनतेरस र यमपञ्चक पर्वसँग सम्बन्धित विभिन्न लोकआहान र शास्त्रीय कथा प्रचलनमा रहेका पाइन्छन् । एउटा कथामा हिमालयपर्वतका पुत्रको मृत्यु र बुहारीको प्रयास र साधनापछि पुनर्जीवन पाएको प्रसङ्ग प्राप्त हुन्छ । कथानकअनुसार हिमालयले छोरो जन्मनासाथ ज्योतिषीको मुखबाट विवाहोपरान्त उसको मृत्यु हुने कुरा चाल पाएका थिए । पुत्रशोक ब्यहोर्नु नपरोस् भनेर उनी छोराको विवाह गराउन चाहँदैन थिए । तर एउटी यक्षकन्याका साथमा उनले प्रेमविवाह गरे । हिमालयकी नवविवाहिता बुहारीले विवाहोपरान्त चौथो दिन सर्पको डसाइबाट पतिको मृत्यु हुने भविष्यवाणि गरिएको भन्ने चाल पाईन् । त्यसपछि उनले जसरी भएपनि आफ्ना पतिलाई जीवित राख्ने प्रण गरिन् । विवाहको ठिक चार दिनका दिन उनले आफ्ना पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफु स्वयं सँगै बसेर पतिलाई निद्रा नलागोस् भनेर अनेकानेक गीत, भजन र कथा सुनाउँदै भुल्याउन थालिन् । रात्रीकालमा यमराज हिमालयका छोरालाई डँस्ने विचारले सर्पको रूप धारण गरी त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाँघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनु पर्यो । बिसाउने क्रममा उनी गीतसङ्गीतको धूनमा मन्त्रमुग्ध हुनपुगे, समय गएको पत्तो पाएनन् र उज्यालो भयो । यसरी जुन काम राती नै सिद्ध्याउने भनेर यमराज आएका थिए, त्यो पूरा हुन सकेन । परिणामस्वरूप राजकुमारको आयु लम्बिन पुग्यो । यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् ।

आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलनमा रहेको पूजाविधि नै धनतेरसका दिन पनि प्रयोगमा ल्याइन्छ । यद्यपि धनतेरसका दिन प्रातःकालमा स्नान, पूजादि नित्यकर्मबाट निवृत्त भई एउटा काठको पिर्कामा पहेंलो चामलको पिठोमा चन्दन वा केशरी मिसाई स्वस्तिक चिह्न बनाउनु पर्दछ । उक्त स्वस्तिक चिह्नको मध्यभाग (बीच) मा एउटा माटाको दियो स्थापना गर्नुपर्दछ । दियोको चारैतिर गङ्गाजल छर्केर यसको बर्तनमा बेसार राखी बातीमा चिनी राख्नुपर्छ । दियोलाई सामान्य पूजासामाग्रीहरू चन्दन, अक्षता, फूलले पूजा गरिसकेपछि बलिरहेको बत्तीमा धातुको सिक्का राख्नुका साथै फूल चढाएर नमस्कार गर्नुपर्छ । त्यसपछि घरका सबै सदस्यहरूलाई टीकाटालो लगाइदिएर दियोलाई दिनभरि पूजाकोठामा ननिभ्ने गरी राखेपछि सायंकालमा घरको मूल दैलोको सामुमा पर्ने गरी घरबाहिर लगेर राखिदिनु पर्छ । त्यसरी दियो राख्दा यसको ज्योति दक्षिण दिशामा फर्केको हुनुपर्छ । यसरी घरबाहिर दियो राखेपछि घरभित्र नयाँ खरिद गरेका भाँडाकुडा वा गहनागुरिया राखी माता लक्ष्मी र गणेशजीको पूजा गर्नुपर्छ । धनतेरसका दिन किनिएका सरसामाग्रीको लक्ष्मीपूजाका दिन पुनः पूजा गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।


धनतेरस पर्वमा सम्पादन गरिने धार्मिक र सांस्कृतिक पक्षको प्रतीकात्मक अर्थ हो – पारिवारिक सुखसम्मृद्धि र सुस्वास्थ्य । हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ । धनतेरस भनिने यमपञ्चकको पहिलो दिन नै घरायसी आवश्यकता र सम्मृद्धि झल्काउने चिजबीजहरू सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, गहनागुरिया आदि किन्ने परम्परा छ । वर्तमान परिवेशमा भौतिक सुखसुविधा र भोगविलाससँग सम्बद्ध मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरिद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको पनि देखिन्छ । रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ’धनतेरस’ पर्वले आर्थिक हैसियत र लगानीको सुरक्षणसँग पनि व्यक्तिलाई गाँसेको देखिन्छ । यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गर्दछ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द र विलासिता बढाउने प्रयास गर्दछन् भने अर्कातिर विपन्न र निम्न वर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरिद गरी यस पर्वलाई मनाउने गर्दछन् । सारांशमा आआफ्ना सामथ्र्य–अनुकूल समग्र भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाउने चलन छ । पारिवारिक खुसियाली र सुखसम्मृद्धि हरेक व्यक्तिको चाहना हुने गर्दछ, त्यसैले धनतेरसमा प्रचलित धार्मिक मान्यताले आम गृहस्थीको पारिवारिक सुखसम्मृद्धि, भोगविलास, सुस्वास्थ्य, दीर्घायुष्य र सुविधायुक्त जीवनयापनको इच्छा र आकाङ्क्षा जोडिनु स्वाभाविक हुन आउँछ ।

No comments:

Post a Comment