Nov 2, 2017

धनतेरस : के किन्ने ? के गर्ने ?

-  सहप्रा. कृष्णप्रसाद कोइराला
पिण्डेश्वर विद्यापीठ, धरान

कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिका दिन चिकित्सा शास्त्रका देवता धन्वन्तरीको जन्मदिन हो । यस दिन नेपालको तराई क्षेत्र र भारतभरि धनतेरस पर्व मनाउने गरिन्छ । यो पर्व नेपालीले मनाउने दास्रो ठूलो पर्व तिहारको पहिलो दिन हो । यस पर्वमा भगवान् धन्वन्तरिको पूजाआजा गर्ने विधान छ । तिहारको बजारको रौनक यसै दिनबाट सुरु हुन्छ । धनतेरसका दिन लगानी गरेको धनको तेह्र गुना प्रतिफल प्राप्त हुन्छ भन्ने आम विश्वास छ । धार्मिक परम्पराबमोजिम धनतेरसको दिन गरिएको किनमेलबाट घरमा धनधान्यको वर्षा हुने र पारिवारिक सुखसम्मृद्धि बढेर शुभफल प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । अतः यस दिन किनमेल गरिएको जुनसुकै वस्तुले घरमा शुभ शकुन भित्र्याउनुका साथै उक्त वस्तु लामो समयसम्म टिकाउ हुने कुरामा आममानिसको विश्वास छ ।

प्रत्येक वर्ष धनतेरसका दिनको गोचर कुण्डलीमा रहेका राशिस्वामी, बृहस्पति, शनिश्चर, मङ्गल आदि ग्रहको प्रभावअनुसार ज्योतिषीले भिन्नभिन्न राशिका व्यक्तिका लागि भिन्नभिन्न चिजबिज किन्ने सल्लाह प्रदान गर्दछन् र व्यक्तिले तदनुसार खरिददारी गर्ने गर्दछन् । ग्रहको उपस्थिति हेर्दा यस पटकको धनतेरसका दिन मङ्गल ग्रह बाहिर बसेको आंशिक र उल्टो (पृष्ठोदय) कालसर्प योगको ग्रहयोग देखिन्छ । तीन ठाउँमा ग्रहयुति छ, जसमा बृश्चिक राशिमा बृहस्पति र बुध, कन्या राशिमा चन्द्र र शुक्र तथा मकर राशिमा मङ्गल र केतुको युतिसम्बन्ध रहेको देखिन्छ । त्यसैले यस पटक जसले जे किने पनि ज्ञानविज्ञान, वित्तीय क्षेत्र र अचल सम्पत्तिको खरिददारीबाट सबै राशिका व्यक्तिलाई लाभ हुने विश्वास गर्न सकिन्छ । शुक्र ग्रह बक्री रहेकाले महिलाले किनेको सामाग्री लामो समयसम्म नटिक्ने हुँदा छिट्टै प्रयोगमा आउने र सिद्धिने खालका सामाग्री किन्नु राम्रो हुन्छ । जस्तै तुरुन्त उपभोग गर्न मिल्ने, खिइने, समाप्त हुने, प्रयोग गरेर सिद्ध्याउन मिल्ने, हिंड्ने, घस्रने, गुड्ने (सवारी साधन मोटरवाहनादि) चिजबिजहरू खरिद गर्नका लागि महिलाका लागि अत्यन्त शुभ मानिएको छ । सामान्यतया धनतेरसका दिन ग्रहगोचरले साथ दिए पनि वा त्यत्तिकै पनि केही न केही किन्ने दिन हो, त्यसैले चाहे महिला होस् वा पुरुष जोसुकै व्यक्तिले अब मैले बताउने चिजबिजमध्ये कुनै चिज वा सबै चिज धनतेरसका दिन किनेर घरमा ल्याउने र लक्ष्मीपूजाका दिन तिनलाई लक्ष्मीका साथमा राखी पूजा गरिदिनु वाञ्छनीय मानिन्छ ।

  • १) मसलाका रूपमा प्रयोग गरिने धनियाका दाना धनतेरसका दिन किनेर लक्ष्मीपूजाका दिन लक्ष्मीजीलाई चढाउनु शुभ शकुन मानिन्छ । त्यसरी चढाइएको धनिया आजपल्ट गाईको पूजा गरेर करेसाबारीमा छरिदिनु पर्छ र छरेको धनिया उम्रेर स्वस्थ बिरुवामा परिणत भयो भने त्यस घरमा आर्थिक स्तरमा बढावा हुने मान्यता छ, त्यस्तै सामान्य बिरुवा उम्रिएमा सामान्य आर्थिक प्रगति हुने र बिरुवा नउम्रिएमा वा उम्रिएर मरेमा त्यस घरमा आगामी वर्ष आर्थिक सङ्कट आइलाग्ने विश्वास गरिन्छ ।
  • २) धनतेरस पर्वको दिन लक्ष्मी र गणेशको मूर्ति तथा सुन र चाँदीको सिक्का आदि किन्ने चलन छ । यसरी खरिद गर्ने व्यक्तिको घरमा धन र अन्नको कमी हुँदैन । चाँदी चन्द्रमाको प्रतीक हो, धनतेरसका दिन चाँदी किनेमा घरायसी वातावरण शान्त रहन्छ ।
  • ३) धनतेरसका दिन रुद्राक्षको माला किन्ने चलन छ ।
  • ४) धनतेरसका दिन कौडी किनेर घरमा ल्याउनु पर्छ र घरमा निरन्तर धनले प्रवेश गरिरहोस् र अटूट धन प्राप्ति होस् भन्ने उद्देश्यले दीपावलीको रात्रीकालमा महालक्ष्मीको षोडशोपचार पद्धतिले पूजा गरी ती कौडीलाई केशरीले रङ्गाएर माता लक्ष्मीलाई चढाउनु पर्छ । दीपावलीपछि त्यसरी लक्ष्मीपूजामा चढाइएका कौडी पहेंलो रेशमको कपडामा बाँधेर सेफमा वा भण्डारकोठामा राख्नु पर्छ ।
  • ५) धनतेरस र लक्ष्मीपूजाका दिन नुनको पोको किनेर ल्याउनु पर्छ । त्यस्तै धनतेरस र दीपावलीका दिन घर लिपपोत र सरसफाइ गर्दा नुन मिसाएर लिपपोत गरेमा घरमा रहेको आर्थिक मन्दी र गरिबीको निवारण हुन्छ भन्ने विश्वास पनि छ ।
  • ६) कुनै उद्योगधन्दा, कलकारखाना, शेयरकारोबारमा लगानी बढाउनु छ भने धनतेरसका दिन लगानी गर्दा साइत हेरिरहनु पर्दैन, त्यस्तै कुनै बैङ्क, वित्तीय संस्था वा सहकारी संस्थामा नयाँ खाता खोल्ने दिन पनि धनतेरसकै दिन हो ।



यसपटकको धनतेरस पर्व २०७५ साल कार्तिक १९ गते सोमबार तदनुसार ०५ नोभेम्बर २०१८ का दिन परेको छ । यस दिनको चन्द्रमा कन्या राशिमा रहनेछ । यस पटक अमृत बारबेलाबाट धनतेरस पर्वको नयाँ दिनको सुरुवात भएको छ, त्यसैले यस वर्षको धनतेरसका दिन जसले पनि टिकाउ र ठोस सामाग्री किनेमा लाभ हुनेछ । 


धनतेरसका दिन गर्नमिल्ने अचुक उपाय
ऋणलाग्नु स्वाभाविक हो । तर भनेजस्तो भएन भने ऋणका कारण मानिसले अनेकानेक झमेला र तनाल झेल्नु पर्ने हुन्छ । यस पटक धनतेरस ऋणभारमा परेका व्यक्तिको उद्धारका लागि उपस्थित भएको छ । त्यसैले यस पटक आर्थिक मन्दी र ऋणभारबाट ग्रस्त भई मानसिक तनावमा गुज्रिरहेका व्यक्तिले सकेसम्म धनतेरसका दिन अथवा लक्ष्मीपूजाका दिन महिलाले लगाउने कुनै श्रृङ्गारको सामाग्री, लुगाफाटा वा गरगहना किनेर कसैले चाल नपाउने गरी नातागोता बाहेकको कुनै अविवाहित युवतिको ह्याण्डब्यागमा वा सुत्ने कोठामा लगेर सुटुक्क राखेर आएमा उसका समस्त ऋणभार एक वर्षभित्र सकिन्छन् भन्ने मान्यता पनि छ । यसरी यी सामाग्री राखेको कुरा एक वर्षसम्म कसैलाई भन्नु हुँदैन ।


यस दिन निम्न समयमा आफूले चाहेको चिजबिज किनेमा त्यसबाट राम्रो फल प्राप्त हुने देखिन्छ :-
सबैभन्दा उपयुक्त अमृत वारवेला : अमृत वारवेला : साँझ ०३:५३ देखि ०६:५३ सम्म र अन्य समयहरूमा चर वारवेला : दिउँसो ०१:०९ देखि ०२:३१ सम्म र बेलुका ०६:५३ देखि ०८:३१ सम्म, लाभ वारवेला : दिउँसो ०२:३१ देखि ०३:५३ सम्म तथा शुभ वारवेला : बिहान ०९:०२ देखि १०:२४ सम्म । हुन त धनतेरसका दिन जुन समय पनि उपयोगी नै हुन्छ, यद्यपि राहुकाल परेको वेला किनेको सामान दीर्घकालसम्म नचल्ने हुनसक्छ, त्यसैले राहुकाल बाहेकको समय रोज्नु राम्रो हुन्छ । यसपटक राहुकाल परेको छ ।

तर काल बारवेला र राहुकालको समय परेको वेला कुनै हालतमा आज धन खर्च गर्नु हुँदैन, यस वेला खर्च गरिएको धनबाट उचित प्रतिफल प्राप्त हुन सक्दैन । यस पटकको धनतेरसका दिन निम्न समयमा काल बारवेला र राहुकाल एकै पटक परेको छ :-
राहु काल : बिहान ०७:४० देखि ०९:०२ सम्म

राशीबमोजिम यस पटकको धनतेरसमा ककसले के काम गर्ने र के कुरा किन्ने ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

आठौं भावमा बृहस्पति र दशम भावमा राशिस्वामी मङ्गल भएकाले तपाईंले पिता वा पितृतुल्य कुनै व्यक्तिको सल्लाहमा घरायसी उपभोगका सामाग्री खरिद गर्नु हितकारी हुन्छ । त्यस्तै सरसामान खरिद गर्ने क्रममा जग्गाजमिन वा व्यवसाय वा पेसासम्बद्ध चिजबिजमा जोड दिनु राम्रो हुन्छ । बहुमूल्य वस्त्र, आभूषण, मोटर वाहन, आधुनिक उपकरण आदिमा धन निवेश गर्नाले त्यसबाट राम्रो प्रतिफल पाउन सकिन्छ । भाग्यमा शनिश्चर बसेकाले यस पटक मिलमेसिनरीका चिजबिज र मोटरवाहनबाट पनि तपाईंलाई लाभ हुनसक्छ । तपाईंले यस पटक तामाको जलपात्र किनेर लक्ष्मीपूजाका दिन पूजा गरी दान गर्नुभएमा अत्यन्त शुभफल प्राप्त हुने सङ्केत छ ।


आज के गर्दा शुभ हुन्छ ? :- दिनभरि कुनै विवाद हुने परिस्थितिबाट टाढा रहनु पर्छ । छोराछोरीका भावना बुझेर वा कुनै विद्यार्थीको हित हुने गरी दानादि दिनु वा उपहार प्रदान गर्नु राम्रो हुन्छ । आफ्नो वजनबराबरको चारो वा घाँस गाई पाल्ने ब्राह्मणलाई बोलाई वा गौशालामा दान गरिदिनु उचित हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

सप्तम भावमा बृहस्पति भएकाले तपाईंले पत्नी वा आमाको सल्लाहमा कुनै वस्तु खरिद गर्नु राम्रो हुन्छ । खासगरी भोगविलास र मनोरञ्जनका सामाग्रीबाट तपाईंले लाभ उठाउन सक्नुहुन्छ । तपाईंले मोती वा क्रिष्टलको माला वा हार किनेर पत्नी वा प्रेमिकालाई उपहार दिनु भएमा अत्यन्त शुभफल प्राप्त हुनेछ । त्यस्तै पञ्चम भावमा राशिस्वामी शुक्र र चन्द्रमाको युतिसम्बन्ध भएकाले तपाईंले ज्ञानविज्ञान र सिर्जनात्मक काममा सघाउ पुग्ने कुनै वस्तु खरिद गर्दा अथवा दार्शनिक वा बौद्धिक पुस्तक किन्नु र सन्ततिका इच्छा बुझेर तिनका लागि जे किने पनि अत्युत्तम हुनेछ । भाग्यको मालिक मानिने शनि अष्टम भावमा रहेकाले यस वर्ष फलाम र त्यसबाट बनेको चिजबिज मोटर, वाहन, मिलमिसिनेरीका सरसामान तथा इलेक्ट्रोनिक वस्तु किनेमा हानि ब्यहोर्ने सम्भावना भएकाले त्यता आकर्षण नदेखाउनु राम्रो हुन्छ । 

आज के गर्दा शुभ हुन्छ ? :- धनतेरसको दिन पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने दिन हो । त्यसैले तपाईंले माता दुर्गाको मन्दिरमा नारी श्रृङ्गारका सामाग्री दान गर्नु उत्तम हुनेछ । त्यस्तै यस दिन पीपलका पाँच वटा पात टिपेर त्यसलाई पहेंलो चन्दनले रङ्गाएर बग्दो पानीमा बगाई दिनुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

छैटौं भावमा राशिपति बुधका साथमा बृहस्पति रहेकाले तपाईंले जग्गाजमिन, घर, प्लट, वित्तीय आदि स्थिर क्षेत्रमा लगानी गर्नु फाइदाजनक हुन्छ, गहनागुरिया र लुगाफाटाबाट पनि लाभ नै हुनेछ । आमा वा मावलीकुलको सहयोग वा सल्लाह लिई तपाईंले घरायसी परिबन्दका हाँडाभाँडा र सरसफाइका सरसामान  किनेर प्रयोग गरेमा लाभ मिल्ने देखिन्छ । सिरक, डस्ना, रूवा वा उनबाट बनेका वस्तुहरूले पनि तपाईंलाई लाभ नै दिनेछ ।

आज के गर्दा शुभ हुन्छ ? :-  तपाईंले धनतेरसका दिन बिहानै शमी वा अशोकको बृक्षको पूजा गर्दा राम्रो हुन्छ । तपाईंले चाँदीको कलम (PEN) बनाउन लगाएर लक्ष्मीपूजाका दिन श्रीगणेशको प्रतिमामा चढाएर नित्य पूजा गरेमा राम्रो हुन्छ । त्यस्तै तपाईंले पन्ना वा ओनेक्सको माला वा हार बनाएर आमालाई उपहार दिएमा पनि जाति नै हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –  

तपाईंको राशिको पाँचौं भावमा बृहस्पति र तेस्रो भावमा राशिपति चन्द्रमाको वास छ । त्यसैले तपाईंले जे गरे पनि प्रेमी वा सन्ततिको चाहनालाई बुझेर खरिददारी गर्नुपर्छ । किताब वा ज्ञानगुनका सामाग्री खरिद गर्नु लाभप्रद हुनेछ । बैंक वा वित्तीय संस्थामा नयाँ खाता खोल्नु, सेयर मार्केट वा सट्टापट्टामा लगानी गर्नु एवं नयाँ वीमा प्रारम्भ गर्नु पनि राम्रै हुन्छ । राशिमा राहुको उपस्थिति भएकाले चलायमान वस्तु (मोटर र इलेक्ट्रोनिक वस्तु) बाट लाभ पाइँदैन । के किन्ने भन्ने विषयमा दुविधा भएमा खरिददारीमा सल्लाह वा सुझाव लिनका लागि यस धनतेरसका दिन सन्तानको सल्लाह लिंदा उपयुक्त हुनेछ ।

आज के गर्दा शुभ हुन्छ ? :- शिरमा राहु बसेको छ, त्यसैले धनतेरसका दिन कडा बोली बनाउनु उपयुक्त हुँदैन, सुमधुर बोलीवचनको प्रयोग गर्नु उपयुक्त हुन्छ, साथै यस पटक एउटा मोतीको माला किनेर प्रेमिकालाई उपहार दिएमा लाभ मिल्नेछ । यस दिन सायंकालमा घरको ढोकाको सामुन्ने बाटोमा तेलको वर्तन राखी तीन वा सात वटा दियो बालेर पूजा गरिदिनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

राशिस्वामी सूर्य तृतीय भावमा र भाग्येश मङ्गल छैटौं भावमा रहेकाले यो वर्ष खासै लाभदायक समय छैन । अतः तपाईंले स्थिर सम्पत्ति र मोटर वाहन आदि विलासितासँग सम्बद्ध वस्तुमा आकर्षण नदेखाउनु उचित हुन्छ । द्वितीय भावमा रहेको चन्द्रमाको प्रभाव पनि अनुकूल नहुने भएकाले यस वर्ष धनतेरसका दिन पहेंला र पाकेका फलफूल किनेर कुनै अस्पतालमा रहेका रोगीहरूलाई वितरण गर्नु उपयोगी हुने देखिन्छ । घरमैं कुनै वस्तु खरिद गर्ने योजनामा हुनुहुन्छ भने जे किनेपनि दिदीबहिनी वा चेलीबेटीलाई अघि सारेर किनेको वस्तुले लाभ दिनेछ ।

आज के गर्दा शुभ हुन्छ ? :- अन्तर्मुखी बानी हटाउनु पर्छ, जे समस्या भए पनि परिवारमा छलफल र सार्वजनिक गर्नु उचित हुन्छ । धनतेरसका दिन तपाईंले तामाको सूर्य भगवानको प्रतिमा किनेर पूजास्थलमा प्रतिष्ठा गर्दा अत्यन्त शुभफल प्राप्त गर्नुहुनेछ । त्यस्तै डुमरीका एघार वटा पात टिपी काँचो धागोले बाँधी कुनै वटवृक्ष (बर) को रूखमा लगेर सिउरिदिनु लाभकारी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

राशिको मालिक बुधका साथमा बृहस्पति ग्रह तृतीय भावमा बसेको हुँदा यस पटक स्थिर सम्पत्तिमा जोड दिनु राम्रो हुन्छ । त्यसैले सुनका गहनागुरिया, घरजग्गा, घडेरी, सेयर आदिमा तपाईंको आकर्षण रहनु राम्रो हुन्छ । आफ्नै राशिमा चन्द्रमा रहेकाले जे गरे पनि आमा वा मातृतुल्य स्त्रीको सल्लाहमा गरेको ठिक हुन्छ । तर शनि चतुर्थ भएकाले यस पटक फलाम र मिलमेसिनसँग सम्बद्ध कुनै चिजबाट लाभ लिन सक्नुहुन्न । बृहस्पति तृतीयभावमा बसेको हुनाले सामानको खरिददारीमा सँगीसाथी र दाजुभाइको सल्लाह लिएको जाति हुन्छ । त्यस्तै यस पटक हस्तिदन्तको लकेट गलामा धारण गरेमा वर्षभरि आर्थिक मन्दी नहुने बताइन्छ ।

आज के गर्दा शुभ हुन्छ ? :- तपाईंले यस दिन कसैलाई खाली हात फर्काउनु उचित हुन्न, साथै सुनसान ठाउँमा रहेको इनार, कुवा वा नदीबाट अघिल्लै दिन पानी ल्याएर रातभरि घरमा राखी धनतेरसका दिन झिसमिसेमा उक्त पानीले स्नान गरी लड्डु वा कुनै मिठो पक्वान्न गणेश वा हनुमानको मन्दिरमा लगी चढाउनु पर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

राशिपति शुक्र ग्रह र चन्द्रमाको बाह्रौं घर व्ययस्थानमा उपस्थिति रहेकाले यो वर्षको धनतेरसमा तपाईंले ठोस र स्थिर क्षेत्रमा लगानी नगरेको जाति हुन्छ । तर परोपकार र धार्मिक क्रियाकलापमा गरेको लगानीले दोब्बर फल दिने बताइन्छ । खासगरी धनतेरसका दिन तपाईंले वाहन, बिजुलीका उपकरण, भाँडाकुँडा, काठले बनेका सरसामान, सुन, चाँदी, पित्तल, काँसो, हीरा, कम्प्युटर, मोबाइल र भाँडाकुँडा किन्नु श्रेयस्कर ठहरिने छ । तेस्रो शनिश्चर र चौथो भावको मङ्गलको प्रभावले घरजग्गा, स्थिर सम्पत्ति र फलामबाट बनेका चिजबिजबाट लाभ लिन सकिंदैन । चेलीबेटी र कुटुम्ब पक्षबाट केही रकम उधारो लिई खरिद गरेको वस्तुले दीर्घकालसम्म फाइदा हुनेछ ।

आज के गर्दा शुभ हुन्छ ? :- कुनै वस्तु खरिद गरी परिवारको वयोबृद्ध सदस्यलाई उपहार प्रदान गर्नुका साथै सायंकालमा रुवाको बाती र घिउको वर्तन राखी माटोको दियो बाली कतै दोबाटोमा लगेर राखिदिनु राम्रो हुन्छ । यस दिन बिहान बृद्धाश्रम वा अनाथालयमा गई खाद्यसामाग्री वितरण गरेमा वर्षभरि धनधान्यको अभाव हुने छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

राशिपति मङ्गलका साथमा केतु तृतीय भावमा रहेकाले यस वर्षको धनतेरस तपाईंका लागि लाभप्रद देखिंदैन, त्यसैले धनखर्च गर्न बढी रौसिनु हुँदैन । तपाईंले भोगविलास र छिट्टै खिइएर सकिने वस्तुहरू मोटर, वाहन, इलेक्ट्रोनिक वस्तु, श्रृङ्गारका सामाग्री, घर सजाउने वस्तु आदि खरिद गर्न सक्नुहुन्छ । उता बाह्रौं भावमा बसेको सूर्यले घरजग्गा र स्थिरसम्पत्तितर्फ राम्रो देखिंदैन । दोस्रो भावमा बसेको शनिश्चरले फलामका सरसामान बैंक, वित्तीय क्षेत्र, शेयर मार्केट, सट्टापट्टामा लगानी गर्न निषेध गरेको छ ।

आज के गर्दा शुभ हुन्छ ? :- यस दिन बिहान तपाईंले रातो फूल फुल्ने कुनै बिरुवा घरवरपर रोपेर स्याहारसुसार गरेमा वर्षभरि कुनै किसिमको आर्थिक सङ्कट हुनेछैन । त्यसबाहेक वटवृक्ष (बर) का पाँचवटा दाना ल्याएर त्यसलाई रातो चन्दनले रङ्गाई रातै वस्त्रमा बेरेर सेफ वा दराजमा राखेमा धनसङ्ग्रहमा बाधा हुनेछैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

तपाईंका लागि यस वर्षको धनतेरस मध्यम प्रकृतिको फल लिई उपस्थित भएको छ । बाह्रौं भावमा राशिस्वामी बृहस्पतिको उपस्थिति छ, त्यसैले दीर्घकालिक प्रयोजनका काममा लगानी गर्नु उपयोगी हुँदैन । लुगाफाटा, गरगहना र खाद्य पदार्थबाटसमेत लाभ मिल्नेछ । घरजग्गा, शेयर वा कुनै व्यापारिक सङ्घसंस्थाको खरिददारी जस्ता अड्डामा पुगेर गरिने कारोबारतर्फ धनस्थानमा बसेको मङ्गलले शुभ फल दिन्छ । लग्नमा रहेको शनिले फलाम वा हातहतियारको खरिदमा रोक लगाएको देखिन्छ ।

आज के गर्दा शुभ हुन्छ ? :- यस दिन सायंकालमा पीपलको बोटमा गई एउटा माटोको दियोमा तिलको तेलको बर्तन राखी पाँच तिर फर्काई पाँचजोर बाती बालेर छाडिदिएमा धनधान्यको बृद्धि हुनेछ । पिता, अभिभावक वा हाकिमको चाहना बुझी कुनै सुनमा बनेको वा काँसोको वस्तु खरिद गरी उपहार दिएमा पनि शुभफल प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

यस वर्ष मकर राशिका जातकले स्थिर सम्पत्ति खरिद गर्न जोड दिनुपर्छ । राशिपति शनिश्चर बाह्रौं भावमा रहे पनि बृहस्पति र भाग्येश बुध राज्यस्थानमा बसेकाले तपाईंले अड्डाअदालतमा धाएर खरिद गरिने वस्तुमा आकर्षण देखाउनु राम्रो हुन्छ । खासगरी घरजग्गा, धितो, सेयर आदि कारोबारबाट लाभ मिल्नेछ । तर आद्य साढेसाती रहेकाले मेसिन र फलामले बनेका सामान खरिद गर्दा बुद्धिको उपयोग गर्नु पर्दछ, अतः ब्राण्डेड र ट्रेडमार्क भएका वा लामो समयसम्म उपभोग गर्नसकिने सामान खरिद गर्नु मुनासिब हुन्छ ।

आज के गर्दा शुभ हुन्छ ? :- धनतेरसका दिन दुई वटा कमलका दाना (कमल गट्टा) र दूधले बनेको कुनै मिठाइ वा पक्वान्न स्टीलको जलपात्रमा राखी माता लक्ष्मीको मन्दिरमा वा शक्तिपीठ लगेर चढाउँदा आगामी एक वर्षसम्म आम्दानीको मार्गमा बाधा हुनेछैन, साथै यस दिन बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग गरेमा रोकिएका काम फटाफट बन्न थाल्ने र भाग्योदयको मार्ग खुल्ला रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

राज्यस्थानमा रहेको राशिस्वामी शनिश्चर र कर्मक्षेत्रको बृहस्पतिको प्रभावका कारण यस पटकको धनतेरस तपाईंलाई भाग्यमानी र सबल बनाउने उद्देश्यले उपस्थित भएको छ । भविष्यसम्म काम लाग्ने स्थिर सम्पत्तिमा लगानी गर्नु तपाईंका लागि उपयोगी हुनेछ । विशेषतः ऋण काढेर भए पनि यस वर्ष घरघडेरी वा बहुमूल्य गहनागुरिया र हीराजवाहिरात खरिदमा जोड दिनु राम्रो हुनेछ । 

आज के गर्दा शुभ हुन्छ ? :- तपाईंले यमपञ्चक भरि उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण गर्नु राम्रो हुन्छ । धनतेरसका दिन प्रातःकालमा कुकुर वा कागलाई भोजन, पूजादि गर्नुका साथै लक्ष्मीपूजाको रात्रीकालमा जागरण गरी आफैं वा ब्राह्मणको सहयोगमा १०८ आवृत्ति दुर्गाकवच वा श्रीसूक्तको पाठ गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंले स्टील वा फलामबाट बनेका ११ थान भाँडाकुँडा भिखारी वा ब्राह्मणलाई दान गरेको जाति हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

भाग्यभावमा राशिस्वामी बृहस्पति र कर्मक्षेत्रमा शनिको उपस्थिति भएकाले यो वर्ष सकारात्मक वर्ष रहने छ । यस पटक तपाईंले सुनले बनेका एक जोडा माछा किनेर ल्याउनुहवस् र लक्ष्मीपूजाका दिन प्रतिष्ठा गराई सेफमा राख्नुस्, त्यसबाट विशेष लाभ मिल्नेछ । तपाईंले आफ्ना लागि भन्दा पनि अरु कसैका लागि कुनै वस्तु खरिद गरी उपहार प्रदान गर्नु यस वर्ष राम्रो हुन्छ अथवा कुनै सार्वजनिक प्रतिष्ठान वा देवालयमा भान्सामा प्रयोग हुने भाँडाकुँडा किनेर दान गर्दा राम्रो हुनेछ । आफैंले खरिद गर्ने वस्तुमा धार्मिक वा सांस्कृतिक महत्त्वका ग्रन्थहरू, परम्परा वा अध्यात्मसँग जोडिएका चिजबिजहरू र खाद्यपरिकारहरू पर्दछन् ।

आज के गर्दा शुभ हुन्छ ? :- यस पटकको धनतेरसका दिन परिवारमा अधिकतम समय दिनु वा जीवनसाथी वा छोराछोरीका भावनाहरू बुझेर खरिददारी गर्नु राम्रो हुन्छ । यस पटक धनतेरसको सन्ध्याकालमा लक्ष्मी माताको मन्दिरमा वा कुनै शक्तिपीठ/देवीद्यौरालीमा गई गरी नरिवल, मिश्री र नारी श्रृङ्गारका सामाग्री चढाउनु ठिक हुन्छ ।


द्रष्टव्य : घरजग्गा वा शेयरमार्केट आदि क्षेत्रका काम तुरुन्त सकिने काम हुँदैनन्, यिनलाई अड्डामा धाएर गर्नुपर्ने भएकाले यसै दिनमा काम पूरा नहुन सक्छ, त्यसैले माथि यी वस्तु खरिद गर्नु भनी लेखिएको छ भने कम्तीमा धनतेरसका दिन बैनाबट्टा गर्नु बुद्धिमानी हुनेछ ।


No comments:

Post a Comment