सामाजिक सहयोग र सेवा भावनाका लागि सबैभन्दा उदार भावना भएको धार्मिक तथा जातीय समुदाय शिख हो भन्दा अत्युक्ति नहोला । कार्तिक महिनाको पूर्णिमा शिख धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड हो । यो दिन गुरु नानक जयन्ती हो, तर शिखहरू यस दिनलाई गुरुपूर्णिमा भन्दछन् । यसै दिन शिखहरूका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिख धर्मावलम्बीहरूले यस दिनलाई हर्ष र उल्लासका साथ मनाउँदछन् ।
विशेषगरी १५औं शताब्दीताका अर्थात् मुगलकालमा भारतमा धर्मको नाउँमा अत्याचार, अधर्म, कलह, वैमनस्यता र राक्षसी प्रवृत्ति बढेको थियो । हिन्दूभुमि भएर पनि भारतमा अज्ञानताको अन्धकारले सीमा नाघेपछि पुनः ज्ञान र धर्मको दिव्यदीपको खोजी भइरहेको थियो । यसै कालखण्डमा एक यस्ता महापुरुषको जन्म होस् भनी सर्वत्र प्रार्थना भइरहँदा विक्रम संवत् १५२६ (सन् १४६९) कार्तिक शुक्ल पूर्णिमाका दिन वर्तमान पाकिस्तान राष्ट्रको पञ्जाब प्रान्तमा पर्ने सेखुपुरा जिल्लाको तलबन्डी गाउँमा एउटा कट्टर हिन्दू परिवारमा पिता मेहता कल्याण दास वेदी र माता तृप्ता वेदीका सुपुत्रका रूपमा गुरु नानकको जन्म भएको थियो ।
गुरु नानक जन्मेकै क्षणदेखि विचित्र घटना हुन थालेको र नवजात शिशुमा महापुरुषका लक्षण प्रकट भएको पाइन्छ । एक वर्ष नपग्दै उनी हिंड्न थालेको र समकालीन बालकहरूसँग खेल्ने क्रमसँगै नानकले सबैलाई सत् कर्त्तार भनेर अभिवादन गर्ने गरेको कुरा प्रसिद्ध छ । आमाले घरमा खान दिएको खाने कुरासमेत भोकाहरूलाई बाँड्ने नानकको बाल्यकालका क्रियाकलापहरूबाट सबै आश्चर्य चकित हुने गर्दथे । उनको यस्तो चालचलन देखेर कतिले नानकलाई सिद्ध पुरुष ठाने भने कतिले उनलाई योगी माने । टाढाटाढाबाट साधुसन्त, पण्डित, महन्त र दैवज्ञहरू बालकको दर्शनार्थ आउन लागे । बालक नानकको दर्शनपछि ठूलाठूला विद्वान् र साधुहरूले के कुराको भविष्यवाणि गरे भने यो बालक बढ्दै गएपछि संसारलाई ज्ञानबाट पथप्रदर्शन गर्नेछ र मानिसलाई सही बाटो देखाउने छ । पुरोहितले बालकको निधार हेर्दै भने यस बालकको शिरमा त मोतीको झल्लर झुल्नेछ । यो हिन्दू, मुस्लिम सबैबाट पुजिने छ र जड चेतन सबै यसका नामोच्चारणले पवित्र हुनेछन् । तत्कालीन ज्योतिषी हरदयालले भने यो बालक त जगत्को प्रकाशक हो । मैले यस बालकका रूपमा साक्षात् परमात्माको नै दर्शन गरें, जसको प्रभाव अनेक देशदेशान्तरमा फैलने छ र जसलाई अनेक जाति र धर्मका मानिसहरूले सादर पुज्नेछन् तथा जसको दर्शनमात्रले आफ्ना सबै मनोकामना पूर्ण भएको ठान्नेछन् ।
यसरी बाल्यकालदेखि नै महापुरुषका लक्षणहरूले सम्पन्न नानक गाथा अनन्त छ । नानक अत्यन्तै दयालु र परोपकारी थिए । मातापिताले नानकको लालनपालन अत्यन्त माया र ममताले गरेका थिए । उनीहरूको नानकले ठूलो भएपछि घरपरिवारको र कारोबारको जिम्मा लिनुपर्छ भन्ने चाहना थियो । तर नानकको त दिनप्रतिदिन साधुको जस्तै एकान्तमा रमाउने र साधुको जस्तै बानीबेहोरा बढ्दै जान थालेको थियो । यसैबीच जब उनी सातआठ वर्षका भए, उनलाई गाउँको पाठशालामा पढ्न भर्ना गरियो । उनी त अरु बालबालिकाभन्दा फरक स्वभावका छात्र निस्किए । पढ्नुको अपेक्षा एकान्तमा बसेर भगवान्को भजन गाउन थाले । प्राकृतिक वस्तुहरूको निरीक्षण र साधुसन्तका उपदेशात्मक शब्दावलीमा बडबडाउन थाले । नानकको यस्तो अवस्था देखेर उनका आमाबाबुले बालकलाई के भयो भनेर आत्तिएर एक जना वैद्यलाई बोलाए । जब वैद्यले उनको परीक्षण गर्ने क्रममा नाडी(नारी) छाम्न थाल्यो, नानकले बबुरो वैद्यलाई परमात्माका लागि छटपटिएको हृदयको व्यथा के थाहा र औषधी गर्छ भन्दै वैद्यलाई घर जाने सल्लाह दिए । उनले वैद्यलाई भनेको वाणि यस्तो छ :-
वैद बुलाया वैदगी, पकड टटोले बाँह
भोला वैद न जानई, दर्द कलेजे माँह
जाहु वैद घर आपणे मेरी थाह न ले
हम स्ते शाह आपने तू किस दारु दे ।।
नानकको उमेर बढ्दै गयो, उनी अब नौ वर्षका भए । उनलाई संस्कृत भाषाको अध्ययनका लागि एउटा गुरुकुलमा लगियो । गुरुले पढाइ सुरु गर्ने उद्देश्यले सर्वप्रथम ॐ लेख्न लाउनुभयो । उनले ॐ लेख्नुअघि यसको अर्थ के हो भनी गुरुलाई जिज्ञासा राखे । गुरुले तिमी बच्चै छौ अहिले लेख्न सिक, भोलिपर्सी तिमीलाई यसको अर्थ सिकाइने छ, भन्नुभयो । नानकलाई गुरुको जवाफमा चित्त बुझेन र गुरुलाई यसको अर्थ सुनाए - ॐको अर्थ हो ईश्वर । उनको यस्तो विद्वत्तापूर्ण उत्तर सुनेपछि संस्कृतका गूरुले उनलाई पढाउन आनाकानी गर्नुभयो ।
त्यसपछि समयअनुकूल अरबी र फारसीको अध्ययन गर्नु पनि उत्तिकै वाञ्छनीय रहेकाले नानकलाई अरबी र फारसीको अध्ययनका लागि मदरसामा भर्ना गरियो । अरबीको लिपि सिकाउने क्रममा पहिलो अक्षर अलिफ लेख्न मौलबीले आदेश दिए । उनले यहाँ पनि अलिफको अर्थ जान्न चाहे । मौलबीले उत्तर दिन सकेनन् र गुरु नानकले आफैंले उत्तर दिए - अलिफ से अल्लाह सबका सिरजन हार (अलिफबाट अल्लाह वा ईश्वर बन्छ, जो सबैको सृष्टिकर्ता हो) । यहाँ पनि नानकको पढाइ भएन, मौलबीले उनलाई पढाउन सकिंदैन भनी विदा दिए ।
अब नानकलाई भैंसी चराउने काममा खटाइयो । भैंसी चराउने क्रममा उनले भैंसीलाई चौरमा छाडेर वृक्षमुनि बसेर ध्यान गर्न थाले । एक दिन रुखको छाया मुनि ध्यानमग्न भएको अवस्थामा दिन छिप्पिंदै जाँदा छाया सर्न गई यिनको शरीरमा घामको तीक्ष्ण प्रकाश पर्न गयो । त्यस समयमा एउटा सर्प आई यिनको शरीरमाथि आफ्नो फणा फैलाएर छाया पारेको दृश्य उनका गोठाला साथीहरूले देखे । यो दृश्य देखेर अत्तालिएका गोठालाहरू गाउँमा पुगेर हल्लखल्ल गर्न थाले । नानकलाई सर्पबाट जोगाउन र घटनाको निर्क्यौल गर्न गाउँले त्यहाँ पुग्दा तिनीहरूले सर्प देखेनन् । गाउँले त्यहाँ पुग्दा उनी ध्यानबाट ब्युँझी सकेका थिए ।
नानक अब किशोर अवस्थामा पुगे । उनका पिताले खेतमा काम गर्न अह्राउँदा उनले यो शरीर नै खेत हो, यसमा प्रेमको खेती गर्नुपर्छ भनेको प्रसङ्ग पनि उल्लेखनीय मानिन्छ । त्यसरी नै एकपटक उनका बाबुले व्यापारका लागि २० रुपैंया हातमा राखी नजिकैको लाहोर सहरमा पठाए र अह्राए - यो रकम प्रयोग गरी नाफा कमाएर आउनू । तर उनले लाहोर पुग्नुअघि नै उक्त रकम बाटामा भेटिएका भोकाहरूलाई भोजन गराएर सिद्ध्याए । उनका पिताले लाभहानिको हिसाबकिताब सोध्दा उनले आज सच्चाव्यापारबाट ठूलो लाभ कमाएको कुरा बताए ।
अब नानकको व्रतबन्धको समय आयो । व्रतबन्ध संस्कारको यज्ञमा खटिएका पुरोहितलाई उनले त्यस्तो जनै (यज्ञोपवित) लगाइदिन अनुरोध गरे, जो दयाको कपास, सन्तोषको धागो, संयमको गाँठो र सत्यको डोराले बनेको होस् । यसरी किशोरअवस्थादेखि नै परम्परागत रुढिहरूको विरोध गर्दै उनले परोपकार, दया, सहानुभूति, समानता र एकताको जनै लगाउने शिक्षा दिएका छन् । उनी जातपात र छुवाछुत भावको विरोधमा सर्वदा दत्तचित्त रहेका महागुरु हुन् । उनले गुण र कर्ममा आधारित वर्ण र धर्मका कुराहरुको अनुसरण गरेका थिए । उनैले ईश्वर र अल्लाह एकै हुन् भनी धर्म कलहको अन्त्यका लागि उपदेश दिएर सबैभन्दा ठूलो मानव धर्मको बाटोमा लाग्नुपर्ने मार्ग प्रस्तुत गरेका थिए ।
विक्रम संवत् १५९६ (सन् १५३९ सेप्टेम्बर २२) मा यस धराधामको इहलीला समाप्त गरी मृत्यु भएका गुरु नानक शिख धर्मका संस्थापक तथा शिखहरुको आदिगुरु मानिन्छन् । नानकका अनुयायीहरु उनलाई गुरु नानक, गुरु नानक देव जी, बाबा नानक र नानकशाह आदि नामले पुकार्दछन् । गुरु नानकको जन्म भई पवित्र हुन पुगेको पाकिस्तानमा पर्ने तलबण्डी गाउँ अहिले गुरु ननकाना साहिबका नामले विश्वप्रसिद्ध छ । शिख धर्मावलम्बीहरूले यस दिन गुरु ननकाना साहेब लगायत प्रत्येक स्थानका गुरुद्वारामा गुरु ग्रन्थ साहेबको पाठ, कथापारायण, गाउँघरमा धार्मिक झाँकीहरु सहित प्रभातफेरी र गुरुको स्मरण गर्दै विशेष भजनकीर्तन र पूजापाठ गर्दछन् । शिख भक्तहरूले गुरु नानकको जन्मदिनका दिन समाजसेवा र परोपकारका काम गर्दछन्, गरिबदुःखी र असहायका लागि यस दिन लङ्गर अर्थात भोजनदान लगायतका पुण्य कार्यहरु गर्दछन् ।
‘शिख’ को शाब्दिक अर्थ ‘शिष्य’ अथवा सिक्न चाहने व्यक्ति वा गुरुका माध्यमबाट शिक्षा लिई शिक्षित र शिष्य हुनु भन्ने हो । शिख धर्मले जाति, वर्ण, सम्प्रदाय एवं उचनीच र छुवाछूतको भेदभाव अन्त्य गर्न प्रोत्साहित गर्दछ । जातिवादको अहंकार देखाउनेहरुका लागि गुरु नानकले यस्तो प्रासंगिक उपदेश दिएका छन् :-
जातका गरब न कर मूरख गँवारा ।
इस गरब ते चलहिं बहुत विकारा ।।
नेपालमा शिखहरुको प्रवेश झण्डै १५० बर्षअघि भएको मानिन्छ । खासगरी वीरगञ्ज, भैरहवा, कृष्णनगर, धनगढी लगायतका शहरहरूमा शिख धर्मावलम्बीहरूको बसोबास रहेको पाइन्छ । शिखहरूको प्राचीन बसोबासले गर्दा बाँके जिल्लाको नेपालगञ्जस्थित एउटा गाउँको नाम नै ‘सिखनपुरा’ रहेको छ । काठमाडौं उपत्यकामा शिखहरूको प्राचीन गुरुद्वारा रहेको छ । ललितपुरको कुपण्डोलमा शिखहरुको बाक्लो बसोबास रहेको छ । वि.स. २०६८ को जनगणना अनुसार नेपालमा शिखहरुको जनसंख्या ६०९ मात्रै रहेको छ । जुन नेपालकै सवैभन्दा थोरै जनसंख्या भएको धर्मिक एवं जातीय समुदाय हो । गुरु नानकको जयन्तिका अवसरमा शिखहरुले गुरु ग्रन्थसाहेबमा उल्लेख भएअनुसारका उपदेश बाचन गरी सम्झना गर्दछन् । गुरु ग्रन्थसाहेब शिख गुरु नानकका भजनहरु लेखिएको पवित्र ग्रन्थ हो । नानकलाई प्रथम शिख गुरु र शिखवादका प्रवर्तक भएको मानिन्छ ।
No comments:
Post a Comment